Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दिलिपसिंह विष्टले के के भने मसितको भेटमा?

Posted on November 7, 2019February 10, 2020 by Salokya

– महेन्द्र बमको सहयोगमा कञ्चनपुरबाट फर्केर उमेश श्रेष्ठ

अस्ति भदौमा तेस्रो पटक महेन्द्रनगर जाँदा पनि उनलाई भेट्न धेरै प्रयास गरियो। निकै गाह्रो भयो। फर्कने भनेर तयार भइसकेको दिन बल्ल उनी बजार छेउकै रङ्गशालाको चौरमा रहेको जानकारी पाइयो। मौका गुमाउनु उचित लागेन।

फर्कने प्लानलाई स्थगित गरेर हामी लाग्यौँ त्यतातिर। महेन्द्रको घर डोटी। सुदूर पश्चिमेली लवज बोल्न पनि सक्ने, बुझ्ने पनि। त्यसैले उसलाई नै पहिला जान भनेँ। तर भेट्न त मलाई पनि मन लागिरहेको थियो। आखिर यति धेरै चर्चा भइरहेको पात्रलाई भेट्न त पर्‍यो नै।

महेन्द्र गएको केही समयपछि म पनि रङ्गशालाको चौरतिर लागेँ। रातो हाफ सर्ट र टोपी लगाएका दिलिपलाई टाढैबाट चिनिहालेँ। कुरा गर्दागर्दै के कारणले हो, दिलिप हिँडेछ फन्किएर। ऊ निस्कँदै गएको देखेपछि मैले यही हो मौका भन्ने ठानेँ र अगाडि बढेँ।

दिलिप चौरको गेटतिर बढ्दै थियो, म ऊतिर बढ्दै थिएँ।

‘अहो दिलिप जी नमस्ते’ भनेर मैले हात मिलाउन खोजेँ।

उनले हात मिलाउन मानेनन्। मैले तपाईँ त पूरै चर्चित हुनुहुन्छ नि भनेँ।

कसरी ?

मैले टिभी रेडियोमा उनको बारेमा सुनेको कुरा बताउन थालेँ। उनलाई खासै रुचि भएन। कुरा गर्दागर्दै चौरको गेटबाट बाहिरियौँ हामी सँगै।

गेटबाट बाहिरिए पछि लाग्यो- यत्रो समयपछि बल्ल बल्ल भेट भएको पनि केही काम लाग्ने भएन। यत्तिकै खेर जाने भयो।

यो पाराले भएन अब भन्ने लाग्यो। के होला त उनीसित कुरा गर्ने उपाय भनेर सोचेँ। झट्ट दिमागमा एउटा कुरा आयो। ट्राइ गरौँ न भनेर मैले सुटुक्क सेक्सको कुरा निकालेँ। निशाना ठाउँमै लाग्यो। दिलिप आकर्षित भयो र त्यसपछि बल्ल मसित कुरा गर्न रुचि देखाउन थाल्यो।

मैले मेरो मोबाइलमा अडियो रेकर्ड पहिले नै गरिसकेको थिएँ। तर मोबाइल मेरो जिन्स पाइन्टको पछाडिपट्टीको गोजीमा थियो। मोबाइल देख्यो भने उसले कुरै गर्न मान्दैन रे भन्ने थाहा थियो मलाई। तै आवाज अलि प्रष्ट रेकर्ड होस् भनेर मैले मोबाइललाई पछाडिको गोजीबाट निकाल्न हात के पछाडि लगेको थिएँ, उसको आँखा ठ्याक्कै त्यहाँ गइहाल्यो। त्यसपछि मैले मोबाइल निकाल्ने प्रयास गरिनँ।

उनी मलाई ‘त्यो’ गर्नलाई मिलाइदेऊ न भन्न थाले।

यही बीचमा मैले तपाईँ त क्या चलाख मान्छे है, पुलिसलाई त क्या झुक्काइदिनु भयो नि भनेर भन्दा दिलिप मुसुमुसु हाँस्यो मात्र। मुखले केही बोलेन।

अरु कुरा गर्दा आकर्षित नभएको दिलिप ‘त्यो’ (सेक्स) का कुरा गरेपछि तानिनुले उनमा यौन भोक कति तीव्र छ भन्ने देखायो। दिलिपका दाजुले भने जस्तो केटीको मामिलामा ‘गौतम बुद्ध’ जस्तो, मतलबै नभएको त पटक्कै हैन रहेछ भन्ने प्रष्टै भयो।

जाउँ त त्यहाँ चौरमा बसेर कुरा गरौँ भनेर मैले दिलिपलाई फेरि रङ्गशालाभित्रकै चौरमा लगेँ।

हेर्नुस् भिडियो-

‘पेटभरी खान दिन्न घरमा स्वास्नीले’ भनेर गुनासो गर्दै थियो ऊ। भाउजु अर्थात् दाइकी श्रीमतीलाई ऊ स्वास्नी भन्ने गर्दो रहेछ। अहिले सँगै खान जाउँला भनेपछि ऊ मसँगै चौरमा आयो।
महेन्द्रले टाढैबाट म र दिलिप कुरा गरिरहेको भिडियो खिचिरहेको थियो।

मलाई भिडियो पनि खिच्नु थियो, मोबाइल पनि अडियो सुनिने गरी रेकर्ड गर्न गोजीबाट निकाल्नु थियो। तर दिलिप बिच्किएला भन्ने डर।

अहो, कसरी कुरा फुत्काउने होला योसँग। मन ढक्क फुल्यो।

उसलाई मन पर्ने सेक्सका कुराहरु गर्दा ऊ हौसिन्थ्यो। मसित कुरा गर्ने क्रममा उसले आफ्नै परिवारका महिला सदस्यप्रति आपत्तिजनक कुराहरु भन्यो। यौन अङ्गका बारेमा पनि कुरा गर्‍यो। यौन कुण्ठाले ग्रसित रहेछ ऊ भन्ने प्रष्ट भयो।

सेक्सकै कुरा गरिरहँदा मैले फ्याट्ट सोधेँ- अनि, घाँटी थिच्दा कसरी चाहिँ मान्छे मर्छ?

‘मरिहाल्छ नि’, अहो, दिलिपले त हात मुड्की गरेर मेरो घाँटीको भोकल कर्डतिर देखाएर यसरी हान्यो भने मर्छ भनेर पो देखाए।
मलाई खासमा निर्मलाको केसको बारेमा सोध्नु थियो। तर सीधै सोध्दा बिच्किएला भन्ने डर।

तपाईँ त शायरी पनि भन्नु हुन्छ नि है, मैले फकाएँ।

म तपाईँको शायरी भिडियो खिच्छु नि ल, मैले सोधेँ।

हुन्छ। केमा खिच्ने?

मसँग क्यामेरा छ नि।

खै कहाँ छ?

यहाँ ब्यागमा।

मैले ब्यागबाट क्यामेरा निकालेर दिलिपलाई शायरी भन्न लगाएँ। उसले मस्तसँग शायरी भन्दै गयो, मैले खिच्दै गएँ।

शायरी भन्दाभन्दै बीच बीचमा म अर्कै कुराहरु सोध्थेँ। यसरी सोध्यो भने उसले कुरा फुत्काउँछ भनिएको थियो मलाई।

यस्तैमा मैले फ्याट्टै सोधिदिएँ, अनि निर्मलालाई खोलाको यता वारीबाट उता पारी चाहिँ कसरी लग्नुभएको तपाईँले?

दिलिप ‘माधुरी दीक्षित मिली रस्ते मे’ गीतलाई शायरी भन्दै सुनाउँदै थियो। उनी रोकिएनन्।

मलाई त्यो पनि अलि इन्ट्रेस्ट लाग्यो के…

…. ऊ शायरी नै गाउँदै।

त्यो नभन्ने? मैले फेरि जोड गरेँ।

….गाउँदै

त्यो एकचोटी भन्नु भन्या त।

यति सुनाएँ त दाइ, उसले भन्यो।

त्यो उता चाहिँ कसरी लगेको भनेर भन्नु न।

कता?

यता खोलाबाट उता।

खोला पारीबाट बुकु लगाएर, ठ्याक्क त्यसलाई काखीमा च्यापेँ अनि खोला तरेर लगेर जामुनको रुखमुनि…

दौडेन त?

नाइँ

अनि जामनको रुखमुनि चाहिँ के गरेको?

त्यहाँ पहिला जमानामा गरेको.. भनेर हातले माथि तलको इशारा गर्‍यो उसले।

अरु कुरामा भुलाइकन अकस्मात् सोध्दा पनि उसले भनेको कुरा प्रहरीमा दिएको बयानको भिडियोसँग ठ्याक्कै मिल्न गयो। सिआइबीका अंगुर जिसीसँगको बयानमा पनि दिलिपले त्यही भनेको भिडियो सार्वजनिक भएको छ।

प्रहरीले निर्मलाको शव भेटिएको एक महिना नपुग्दै पोहोर भदौ ४ गते नै घटनाका मुख्य आरोपीका रुपमा यिनै दिलिपसिंह विष्टलाई नै सार्वजनिक गरेको थियो। यसका लागि कञ्चनपुर प्रहरीलाई काठमाडौँ प्रहरी मुख्यालयबाट खटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले अनुसन्धानमा सघाएको थियो।

तर महेन्द्रनगरको स्थिति त्यसपछि झन् बिग्रियो। मुद्दा अदालतमा पुगेकै थिएन। अनुसन्धानकै चरणमा रहँदा दिलिप अपराधी हुन नसक्ने तर्क गरी समाचारहरु आए। त्यसमा दिलिपले यसअघि कुनै पनि महिलालाई दुर्व्यवहार समेत नगरेको, प्रहरीले भनेजस्तो बलात्कार र हत्या गर्न सक्ने शारीरिक क्षमता नै दिलिपसँग नभएको, दिलिप शारीरिक भार पर्ने कुनै पनि काम गर्न सक्षम समेत नभएको, एक अंगालो दाउरा पनि बोक्न सक्दैन थियो, सानो काम गर्दा पनि स्वाँ स्वाँ हुन्थ्यो, शारिरीक अवस्थासमेत बलात्कार गर्न सक्ने नरहेको जस्ता दावी मिडियामा गरियो।
अहिले आएर भने ती कुरा गलत साबित भएका छन्। मैले आफैले भेटेर कुरा गर्दा समेत थाहा भयो, महिला प्रति एकदमै आशक्त रहेछन् उनी। अनि शारीरिक अवस्था त्यस्तो स्वाँ स्वाँ हुने खालको छैन, हट्टाकट्टा नै छ।

पहिले मानिसहरुले दिलिपलाई नचिनिकनै हल्लामा लागेर उसले गरेकै हैन भन्ने परेको बताउँछन् अधिकारकर्मी माया नेगी। अहिले त दिलिपले लुगा खोलेर यौन अङ्ग देखायो भनेर समेत महिलाले भन्न थालेका छन्। त्यसको प्रमाण पनि प्रहरी कहाँ पुगिसकेको छ।

कटानस्थित स्कूलकी प्रधान अध्यापिक चन्द्रकला पन्तले पनि पहिले दिलिप भनेर नामले नचिनेको तर पछि समाचारहरुमा फोटो आएपछि थाहा भएको बताउँछिन्। घटना भन्दा तीन चार महिनाअघि आफ्नो स्कूलमा उसले बारी खनेको सम्झँदै त्यतिबेला नै उसले त्यसो घटना गर्न सक्छ भन्ने लागेको तर त्यतिबेलाको परिस्थितिका कारण मनैमा कुरा राखेको बताउँछिन्।
दिलिपसिंह विष्टले बलात्कार तथा हत्या गरेको प्रहरी अनुसन्धानको निश्कर्षलाई फेल बनाइदिने काम चाहिँ डिएनए रिपोर्टले गरेको थियो। डिएनए नमिलेपछि मुद्दा अदालतसम्मै नपुगी यत्तिकै

उनलाई सरकारी वकिलको कार्यालयको सहमतिमा रिहा गरिएको थियो।

निर्मलाको भेजिनल स्वाबबाट निकालिएको नमूनामा वीर्य भेटिएको र त्यसबाट पुरुषको डिएनए प्रोफाइलिङ गरिएको थियो। त्यो दिलिपको रगतको नमूनाबाट निकालिएको डिएनएसित मिलेको थिएन।

दिलिपमात्र हैन, अरु कसैसित पनि मिलेन। ७० भन्दा बढीको डिएनए नमूनासँग खोज्दा पनि कसैसित मिलेन।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व कार्यकारी निर्देशक जीवन रिजालको नेतृत्वमा डिएनएबारे सोधखोज गर्न गृह मन्त्रालयले दशैँ अगाडि एउटा तीन सदस्यीय विज्ञ टोली बनाएको थियो। त्यो टोलीले रिपोर्ट दिइसकेको छ। रिपोर्टमा भेजिनल स्वाबमा वीर्य भेटिएको कुरामै शंका व्यक्त गरेको छ। भेटिएको पुरुष डिएनए (वाई-एसटिआर) दूषणको नतिजा भएको हुनसक्ने निश्कर्ष रिपोर्टमा छ।

यसको मतलब डिएनएमार्फत् अपराधी पहिचान गर्न नसकिने स्पष्ट भएको छ। जुन डिएनए रिपोर्ट नमिलेका कारण दिलिप छुटेका थिए, त्यो नै ‘रुल आउट’ भइसकेको छ।
यसबाहेक निर्मलाकी आमा दुर्गादेवी पन्तले समेत छोरीको हत्यामा दिलिपसिंह विष्टमाथि शंका भएको भन्दै पुनः अनुसन्धान गर्न किटानी जाहेरी दिइसकेकी छिन्। अरु केसमा भए किटानी जाहेरी पर्ने बित्तिकै पक्राउ गरेर अनुसन्धान अघि बढाउने प्रहरी यो केसमा भने अहिलेसम्म चुप नै छ।

दिलिपलाई घटनाको दिन घटनास्थल नजिकैको कल्भर्टमा देख्‍ने, घटनास्थल जाँदै गरेको देख्न मात्र हैन दिलिपले अरु स्थानीयसँग पनि निर्मलाको हत्या आफूले नै गरेको भनेर स्वीकार गरेको भिडियो प्रमाणहरु तयार भइसकेको छ।

दिलिप अहिले बाठो भने भइसकेको छ। उसले मसँग कुरा गर्दा भने सीधै आफूले गरेको बताएन। तर घुमाएर सोध्दा उसले भोकल कर्डमा कसरी हानेर मान्छे मार्न सकिन्छ भन्नेदेखि निर्मलालाई खोलापारी आफूले कसरी लगेको र जामनको रुखमुनि के गरेको भन्ने समेत बतायो। प्रहरीले राम्रोसँग अनुसन्धान गर्ने हो भने अझै थप कुरा खुल्न सक्छ। आखिर दोषी हो हैन भनेर निर्क्यौल गर्ने त अदालत नै हो। यहाँ यो केसमा त अदालतसम्मै पुग्न दिइएन। अदालत नपुग्दै सबै न्यायाधीश हुन पुगे। मलाई लाग्छ, यो केसमा परिस्थितिजन्य प्रमाणहरुका आधारमा पनि कम्तिमा अभियुक्तलाई अदालतसम्म पुर्‍याउनै पर्छ। त्यसपछिको काम न्यायालयको हो।

10 thoughts on “दिलिपसिंह विष्टले के के भने मसितको भेटमा?”

  1. Santosh says:
    November 12, 2019 at 10:48 pm

    I appreciate your research and the follow-up story.

    Reply
  2. श्रीकृष्ण अधिकारी says:
    November 12, 2019 at 1:08 pm

    नेपालमा कानुनी रुपमा बैध भन्दा अबैध धन्दाहरु सुचारु रुपले चलेका छन् । दिलिपसिंह बिष्ट जस्ताको लागि ……लय खोलिरहनु पर्दैन । उस्कै गाँउ वरपर वा गाँउबाट केहि पर सिमापारी यस्ता ……लयहरु प्रशस्तै छन् ।

    Reply
  3. श्रीकृष्ण अधिकारी says:
    November 12, 2019 at 1:04 pm

    दिलिपसिंह विष्ट कसुरदार हो या होईन यो छुट्टै पाटो हो तथापी विष्टकाजी चानुचुने मान्छेचाँही पक्कै होईन । दुनियाँलाई प्रभावमा पार्न कि आँट चाहिन्छ कि गाँठ चाहिन्छ भन्ने सुनेको थिए । विभिन्न खबरमा सुने/देखे अनुसार गाँठ भएको मान्छे त पक्कै होईन तर आँटचाँही भएकै मान्छे रैछ । गैरकानुनी वा अपराधकर्म गर्नलाई यत्रो आँट गर्नेले कानुनी रुपमै कुनै काम गर्नु पर्‍यो भने झन के गर्ला । भनिए अनुसार मानसिक रुपमा केही रोगी भएका दिलिपमाथी न्याय गर्ने सन्दर्भमा यदि मेरो हातमा भैदिएको भए उसलाई जेलमा राख्‍नुको साटो सुस्ता वा कालापानी बोर्डरमा सिमा रेखदेखको जिम्मा दिने थिएँ । केहि प्रोत्साहन दियो भने २/४ जना दुश्मन त ढुंगाले हानेरै ढाल्छ ।

    Reply
  4. Rabin says:
    November 11, 2019 at 4:41 am

    Mahendra jee,
    Yes. Without any proof, but just a wild thought!!!
    There is a name to these kind of baseless thoughts. It’s called ‘Conspiracy Theory’.

    I think Umesh jee did pretty good investigative work here. He has pointed to a path to solve the mystery, with proof. Kudos to him.

    Reply
  5. Gopal Gurung says:
    November 11, 2019 at 2:27 am

    On contrary to what he sounds, I think, this interview itself is a proof, the guy is mentally unstable.

    I have never seen or heard of anyone who would incriminate himself to such a heinous crime….

    Reply
  6. Mahendra Gorkhali says:
    November 10, 2019 at 1:22 pm

    Interesting Umesh ji. But I have a wild feeling….it may be possible that Dilip outsmarted you. It might be possible there is someone who has taught Dilip how to be easily accessible to everyone and reply to their queries without hesitation in a way that his reactions and replies look believable. It’s like he is shielding someone very powerful. Sorry, just a wild thought. I may be incorrect, but in case ???

    Reply
  7. madan bajracharya says:
    November 10, 2019 at 3:00 am

    निर्मलाको अस्मिता र् ज्यान पोलिलेको आगोले धेरैलाई पोल्यो
    तर तेस्को तुलनामा कालापनि पोलेको आगोमा कमैको…..
    त्यहा र् सिमा संगै बस्नेको आफ्नै बिबसता छ् त् बोलेनन तर
    राजधानिको ज्ञान चेतनाको पहलवानहरुको पनि यो चुप्पि!!!!
    शायद यसैले होला चिन रिसायो भारत सित र् धम्क्यायो तेस्लाई
    नेपालको कालापानि तेरो हो भनि तैले तेरो सेना त्यहा राखे त्
    हामीले पनि त्यहा हाम्रो सेना राखे गर्न सक्छौ के तिमीले भनि
    त्यो पनि चाइनाको संचार माध्यमले होईन ठुलै निकायकाले..
    हेर्नुस् युतुबमा; भारतको संचार माध्यमकालेनै यो पनि भने कि
    “नेपाल सित कलापनी १०० बर्षाको निमित लिजमा लिनु पर्छ”
    नेपालको कलापआनी उस्को भनेको झ्थो हो तेसैकाले पोलेन के?
    तर पनि बोल्न सक्ने; जो बोले अरु सुन्न बाध्य् हुन्छ तेही चुप!!

    Reply
  8. Yogendra Bista says:
    November 9, 2019 at 8:05 am

    Kudos Shalokya jee. You have done a great job, hardly any individual can do.

    The informal talks there will be one of the most supportive evidences for the concerned authorities to book the culprit on the Nirmala’s case.

    Keep it up.

    Reply
  9. किरण प्रसाईं says:
    November 8, 2019 at 8:25 pm

    यो हरामी कै काम हो कि क्या हो?
    खोला पारी लगेको, बोट मुनि र घाटिमा हानेर कसरी मार्ने तेसरी भन्छ भनेत।

    Reply
  10. Bibek kunwar says:
    November 8, 2019 at 12:00 pm

    If prostitution is legalised in nepal many dilip singhs who are neither married nor can make girlfireinds will be able to satisfy their sexual desires REDUCING the number of ‘murder and rape cases’ i believe. Unfortunately current goverment of nepal thinks banning porn sites and raid in hotel where couple are living will help to reduce this numbers. May be dilip singh murdered Nirmala but why not nepal goverment’s policy also to be equally blammed for restricting sexual desires of its people.

    At the last, dear salokya stay safe. Don’t want to hear you r next victim of nirmala case. Stay alert when u visit kanchanpur next time. Pretty sure, you have already earned lots of enemies over there who think dilip didn’t kill nirmala.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme