पोहोर साउन महिनामा कसले कञ्चनपुरकी किशोरी निर्मला पन्तको ह त्या र ब ला त्कार गर्नेलाई अझैसम्म कानुनको कठघरामा उभ्याउन सकिएको छैन। सुरुमा प्रहरीको अक्षमता त्यसपछि फैलिएका अनेकन हल्ला र आशंकाहरुलाई मिडिया र पत्रकारहरुले वैधता दिएपछि यो केस गन्जागोल हुनपुग्यो। अनुसन्धानकर्ताहरु पनि गोलचक्करमा घुमेको घुम्यै गरिरहे। निर्मलाको भेजिनल स्वाबमा भेटिएको डिएनएलाई अचुक प्रमाणका रुपमा लिइयो। तर त्यही डिएनए कसैसँग मिल्दै मिलेन। ७० भन्दा बढीको डिएनए टेस्ट गरियो, कसैसँग मिलेन। किन यस्तो भयो त? गृह मन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक जीवन रिजालको नेतृत्वमा तीन सदस्यीय विज्ञ टोली गठन गर्यो। तिहार अगाडि यो टोलीले बुझाएको प्रतिवेदनले यी प्रश्नको उत्तर खोजेको छ।
किन फरक छ यो टोलीको प्रतिवेदन?
कसैसँग नमिलेपछि डिएनए नै खराब छ कि क्या हो भनेर त सर्वसाधारणले पनि शंका गरिसकेका हुन्। त्यसो भए यो टोलीको प्रतिवेदनमा के त्यस्तो खास छ त?
त्यसो हैन। हामीले गरेको शंका र विज्ञ टोलीले आधिकारिक रुपमा प्रतिवेदनमा उल्लेख गरेको विषय र त्यसको वैधता फरक हुन्छ। त्यसो त राष्ट्रिय मानवअधिकार आयोगको एउटा टोलीले पनि डिएनएमा शंका उठाउँदै ह्युमन इन्टेलिजेन्सको मद्दतबाट अनुसन्धान अगाडि बढाउन सुझाव दिइसकेको छ। तर त्यो टोली पूर्ण रुपमा डिएनए मात्र हेर्ने गरी बनेको टोली थिएन।
यस पटक गृह मन्त्रालयले दशैँ अगाडि गठन गरेको टोलीमा भने डिएनए विज्ञहरु छन्। जीवन रिजालसँगै राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए प्रमुख डा. दिनेश झा र फरेन्सिक डाक्टर तुलसी कँडेल पनि यो टोलीमा रहेका छन्।
यो विज्ञ टोलीले प्रहरीको ल्याबमा भएको डिएनए परीक्षणको प्रतिवेदनलाई ‘रुल आउट’ गरेको छ। अब डिएनए बाहेक अरु आधारहरुमा अनुसन्धान गरी अभियुक्त पत्ता लगाई अदालतमा पुर्याउन बाटो खोलेको छ।
के छ प्रतिवेदनमा?
प्रतिवेदन सार्वजनिक भइसकेको छैन। तर टोलीका एक सदस्यले दिएको जानकारी अनुसार प्रतिवेदनले डिएनए र डिएनए निकालेको र जाँच गरेको प्रक्रियासम्मका बारेमा विस्तृत अध्ययन गरेको छ।
‘वीर्य भेटिएको हो कि हैन नै कन्फ्युज’
महाकाली अञ्चल अस्पतालका डाक्टरहरुले निर्मलाको शवबाट निकालेको भेजिनल स्वाबलाई नेपाल प्रहरीको सामाखुसीस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएका थिए। त्यो ल्याबको बायोलोजी, सेरोलोजी युनिटले त्यसको परीक्षण गर्दा मानव वीर्य भेटिएको बताएको थियो।
त्यसपछि त्यही वीर्यबाट नै डिएनए प्रोफाइलिङ गर्न डिएनए शाखामा लगिएको थियो। त्यस क्रममा पठाइएका तीन वटै स्वाब प्रयोग गरी डिएनए प्रोफाइलिङ (Y-STR) निकालिएको थियो।
अहिले हरेक शंकित व्यक्तिको रगत नमूना निकाल्दै त्यही भेजिनल स्वाबबाट विकास गरिएको डिएनए प्रोफाइलिङसँग भिडाउने गरिएको छ, चाहे त्यो प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको होस् वा अनुसन्धान गरिरहेको जिल्लाका एसपी दिल्लीराज विष्ट होस् वा उनको छोरा र मेयरको भतिजाको होस्। अथवा प्रदिप रावल वा विशाल चौधरी। ७० भन्दा बढीको डिएनए परीक्षण गर्दा पनि त्यो मिलेन।
अहिलेको टोलीले भेजिनल स्वाबमा भेटिएको male component DNA वीर्यको नै हो भन्न नसकिएको ठहर गरेको छ। के आधारमा यस्तो ठहर भयो त?
प्रहरीको ल्याबबाट प्राप्त भएको जानकारीहरु हेर्दा त्यो वीर्य नै हो भन्न सकिने स्थिति नै नरहेको प्रतिवेदनमा उल्लेख छ।
वीर्य भेटिएको छ कि छैन भनी यकिन गर्ने सबैभन्दा विश्वसनीय परीक्षण प्रविधि स्पर्म सेल टेस्ट हो। टोलीमा सहभागी एक सदस्यका अनुसार टोलीले निर्मलाको भेजिनल स्वाबमा कस्तो स्पर्म सेल कति वटा भेटिएको हो भनेर प्रहरीको ल्याबका अधिकारीहरुलाई सोधेको थियो। तर त्यसको जवाफ ल्याबले दिएन। ल्याबको फाइलमा पनि परीषणको नतिजा बारे केही उल्लेख थिएन।
‘यही आधारमा हामीले भेजिनल स्वाबमा वीर्य भएको आधार यकिन गर्न नसकिएको लेखेका हौँ’, ती सदस्यले भने।
नभेटिएको सेल भेटियो जस्तो कसरी हुनसक्छ त? विज्ञका अनुसार sperm को head with neck and tail देखिएमा मात्रै सेल भेटिएको यकिन हुन्छ। तर sperm head मात्रै भेटिएको अवस्थामा अन्य जैविक संरचना पनि sperm head जस्तो देखिएर झुक्किन सक्छ।
पीडितको उमेरका कारण वीर्य नष्ट
प्रतिवेदनमा अहिलेसम्म नआएको एउटा नयाँ कुरा पनि उल्लेख छ। पीडितको भेजिनल स्वाबमा अपराधीको वीर्य नभेटिएको भए त्यसको कारण के हुनसक्छ त?
मृतक निर्मला पन्तको उमेर १३ वर्षको मात्र थियो र महिनावारी पनि सुरु भइसकेको थिएन। टोलीले विभिन्न वैज्ञानिक जर्नलहरुमा प्रकाशित अनुसन्धनात्मक लेख अध्ययन गर्दा यौन दुर्व्यवहारका केसहरुमा त्यस्ता prepubertal victim हरुमा शुक्रकीट चाँडै नष्ट हुने गरेको भेट्टायो।
त्यसमाथि लाश रातभर पानीमा घोप्टो परेको अवस्थामा भेटिएको थियो। यसले पानी योनीभित्र पसी वीर्य भेटिने सम्भावनालाई अझै कम गरिदिएको प्रतिवेदनमा उल्लेख छ।
भौतिक प्रमाण यथाशक्य छिटो संकलन गर्नका लागि लाशलाई उत्तानो पारी सुख्खा ठाउँमा कपडामाथि राखी जतिसक्दो छिटो पोस्टमार्टमका लागि पठाउनु पर्थ्यो। तर त्यसो हुन सकेन। दिनभर अत्यधिक गर्मीमा घाममा लाश राखियो। मिनी ट्याक्टरमा लाश राखी नाराबाजी भयो। पोस्टमार्टम गर्न लैजानुअघि नगरपालिकाको गेटमा लाश राखियो। यसरी तत्काल पोस्टमार्टमका लागि नलगिनु र घाममा रहनुले पनि योनी भित्र रहने शुक्रकीट क्षय हुने एवं बिग्रने सम्भावना उच्च रहेको पनि प्रतिवेदनमा यल्लेख छ।
त्यो भेटिएको डिएनए चाहिँ कसको त?
त्यसो भए त्यो भेटिएको डिएनए (Y-STR) चाहिँ कसको त? जुन डिएनएसित सबै शंकितको डिएनए म्याच गरिँदै थियो? यो प्रश्नको उत्तर प्रतिवेदनमा छैन। तर प्रशस्त संकेत दूषित अर्थात् contamination भएको तर्फ इंगित छ।
– भेजिनल स्वाब निकाल्नका लागि झाडुको सिन्कामा कपास बेरेर बनाइएको कटन स्वाब, प्रयोग गरिएका अन्य उपकरण तथा स्वाब राखिएको टेस्ट ट्युब दूषणमुक्त नै थियो भन्न सकिने अवस्था देखिएन भनिएको छ प्रतिवेदनमा। त्यसमा अरु कुनै पुरुषले छोएको वा अरु कुनै कारणले पुरुष डिएनए भेटिएको हो कि !
-पोस्टमार्टम गर्ने ठाउँ महाकाली अञ्चल अस्पतालमा सिमेन्ट प्लास्टर गरेर बनाइएको टेबल रहेछ। अनि पानीले पखालेर नयाँ लाश राखिने रहेछ। पानीले पखाल्दैमा डिएनए मुक्त हुने हैन। कतै त्यहीँबाट कन्टायमिनेसन भएर पुरुष डिएनए त आएन?
-intercase contamination त भएन? बायोसिरो इकाईमा एकदमै केसको चाप हुन्छ। त्यहीँ AP test लगायतका ६ किसिमका परीक्षण हुन्छन्। प्रतिवेदनले त्यस्तो अवस्थामा एकातिर स्वाबमा spermatozoa कम हुँदै जाने र अर्कोतर्फ एउटा केसको नमूना अर्को केसमा मिसिन सक्ने सम्भावना पनि उच्च हुनेतर्फ औँल्याएको छ।
अबको बाटो के?
प्रतिवेदनका ११ बूँदाको निश्कर्षले डिएनए रिपोर्टलाई रुल आउट गरेको छ। ल्याबले पुरुष वीर्य भेटेर त्यसबाट डिएनए निकालेको भने पनि त्यो डिएनएमा भेटिएको पुरुषको कम्पोनेन्ट वीर्य कै हो भन्ने विश्वसनीय आधार नै भेटिएन भनेको छ।
त्यति मात्र हैन, अहिलेसम्म हामीले डिएनए मिलेन डिएनए मिलेन भन्दै थियौँ। डिएनए मिलेको भए पनि त्यसलाई महत्त्वपूर्ण वैज्ञानिक प्रमाणको रुपमा लिन नसकिने प्रतिवेदनमा उल्लेख छ। किनभने निकालिएको Y-STR डिएनए एका पुरुष पुस्ताबीच समानता हुन्छ। व्यक्ति पहिचान गर्ने अटोजोमल डिएनए परीक्षण त गरिएकै छैन।
त्यसमाथि नमूना बिग्रने र दूषणको सम्भावना पनि उच्च रहेको हुँदा प्राप्त नतिजाको स्रोत वास्तविक अपराधी हो वा दूषणको परिणाम हो निर्विवाद पुष्ट्याइँ सम्भव हुननसक्ने अवस्था रहेकोले यसलाई एक मात्र प्रमाणको रुपमा लिन नसकिने देखिएको प्रतिवेदनको निश्कर्ष छ।
त्यसो भए अब के फेरि परीक्षण गर्न सकिन्छ त? परीक्षण पछि बाँकी रहेको नमूनामा पुनः वा थप परीक्षणको त्यो अवस्था पनि नरहेको प्रतिवेदनको ठहर छ।
त्यसैले अब हल्ला र फलानो व्यक्ति वा समूहले आन्दोलन गर्छु भनेर धम्क्याएकै भरमा कुनै निश्चित व्यक्तिलाई बाहेक गर्नुको साटो शंकित सबैलाई समावेश गरी अनुसन्धानलाई फराकिलो पार्नुपर्छ। डिएनए नमिलेकै भरमा छाडिएका माथि पुनः अनुसन्धान गरिनु पर्छ। धेरै केसहरु छन्, जहाँ पहिला अनुसन्धानको घेरामा परेर छाडे पनि पछि फेरि उनीहरु नै पक्राउ परी अदालतबाट दोषीसमेत ठहर भएका। सभामुख, गृहमन्त्रीका भाइ, रवि लामिछाने जस्तालाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको हालैको घटनाले यो घटनामा भिआइपी नै परे पनि अनुसन्धान रोकिँदैन भन्ने सन्देश दिनुपर्छ। मुख्यतः निर्मला यो संसारमा नरहे पनि उनले न्याय पाउनु पर्छ।
(कञ्चनपुरमा तेस्रो पटक गएपछि लेख्न थालेको स्थलगत रिपोर्टिङ दशैँ र तिहारका कारण बीचमा हराउन पुग्यो। अर्को पटक प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई भेटेर गरेको कुराकानीको विषयमा लेख्ने जमर्को गर्नेछु।
काल गतिले दुर्घटना मा मोरेको मदन भण्डारीको हत्या भएको भनियो ( न भए उसकै बुडी रास्त्रपती हुदा किन खोजेंन ), दिन दहाड़ेसड्यन्त्र पुर्बक हत्या भएको बिरेन्द्रको स्वचालित हतियार पड्केर मोरेको भनियो , जाहा एक दर्जनी माता हरु दिनहु नया नया भबिस्य बाणी गर्छन , दर्जनौ बाबा हरु
अरुको बबिस्य बनाउने ठेक्क्का लिएको छ , गणेस को मूर्तिले दुध पिउछ , भिमसेनको मुर्तिलाई पसिना आउछ , तेस्तो ठाम मा अब यो निर्मलाको हत्यारा पत्ता लाग्ला ?