Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

इन्द्रजात्रामा नझुक्किनका लागि जान्नै पर्ने पाँच तथ्य

Posted on September 13, 2019 by Salokya

काठमाडौँको एउटा ठूलो उत्सव हो इन्द्रजात्रा। त्यही भएर यसको मौलिक नाम नै येँयाः रहेको छ। येँको अर्थ काठमाडौँ हो। काठमाडौँमै बसेर पनि धेरैलाई यति ठूलो उत्सवबारे केही थाहा नभएकाहरु पनि छन्। अनि केही चाहिँ गलत बुझ्छन्। जीवित देवी कुमारी भनेको त थाहा छ, तर कुमारलाई कुमारी भन्ठानेर सेल्फी खिच्छन् र फेसबुकमा हाल्छन्। त्यसरी नझुक्किनका लागि थाहा पाउनै पर्ने केही जानकारी यस्ता छन्-

१) कुमारीको जस्तो पहिरन लगाउने सबै जीवित देवी कुमारी हुँदैनन्
अस्ति भर्खरै कुमारी पुजा भएको थियो। त्यसमा फोटोग्राफरहरुले पोजपोजका फोटो खिचे। मिडिया र सोसल मिडियामा निकै प्रचार भयो। धेरैलाई लाग्यो, जीवित देवी कुमारी नै त्यही हुनुपर्छ। गलत। उनीहरु कुमारीको भेषमा मात्र हुन्, साँच्चिकै जीवित देवी कुमारी हैनन्।


कान्तिपुरको पहिलो पेजमा छापिएको इलिट जोशीको फोटो।


प्रवीण रानाभाटको फोटो।

इही नगरेका नेवार समुदायका बालिकाहरुलाई सामूहिक रुपमा कुमारी पूजा गर्ने चलन छ। उनीहरु जीवित देवी कुमारी हैनन्। त्यही एक दिन मात्र उनीहरुको पूजा हुने हो।

२) काठमाडौँको जीवित देवी कुमारी बस्ने घर यो हो


राजा बस्ने दरबार भए जस्तै जीवित देवी कुमारी बस्ने यो वसन्तपुरमा छ। कुमारीहरु फेरिन्छन् समय क्रमसँगै। हरेक कुमारी आफ्नो घर छाडेर यहाँ बस्ने गर्छिन्।

३) काठमाडौँकी जीवित देवी कुमारी तृष्णा शाक्य यी हुन्


यी हुन् तृष्णा शाक्य। वर्तमान् कुमारी। २०७४ असोजमा तीन वर्षकी तृष्णा कुमारी चुनिएकी थिइन्। पोहोर उनको पहिलो इन्द्रजात्रा थियो। यसपालि दोस्रो पटक उनको रथयात्रा हुँदैछ। भक्तपुर, पाटन र नेवार समुदायमा अरु ठाउँमा पनि कुमारी पुज्ने चलन छ। तर सबैभन्दा बढी महत्व भने रोयल कुमारी भनिने काठमाडौँकी कुमारीले पाउँछिन्। राष्ट्रप्रमुखले समेत ढोग्ने कुमारी काठमाडौँकै हुन्।

४) कुमारी हैन कुमार पनि छन्, झुक्किनुहोला

रथ अनि रथभित्र उस्तै भेषभुषा। झट्ट हेर्दा कुमारी जस्तो देखिन्छ नि है। धेरै मान्छे झुक्किन्छन् यसमा। कुमारी भन्ठान्दै फोटो खिच्दै फेसबुकमा राखिरहेका हुन्छन्। तर यी कुमारी हैन गणेश हुन्। उनको पछाडि अझ भैरव छन्। यी जीवित देवी हैन, जीवित देवता हुन्। बालिका हैनन्, बालक हुन्।

धेरै मानिसलाई नेपालमा दुई जीवित देवताहरु छन् भन्ने बारे थाहै छैन। इन्दजात्राका क्रममा पहिलो र दोस्रो रथमा हुनेहरु कुमारी नभएर गणेश र भैरव हुन्। अवकाश नपाएसम्म उनीहरु पनि कुमारी झैँ देवताको भेषमा हुन्छन्, नियममा बस्छन्। फरक यति हो कि कुमारी स्थायी रुपमा कुमारी घरमा बस्छिन्, खास समयमा मात्र बाहिर निस्किन्छिन। तर गणेश र भैरवको भने स्थायी वासस्थान छैन र उनीहरुलाई सार्वजनिक रुपमा हिँड्न पनि छुट छ। केही वर्षदेखि गणेशका रुपमा पुजिएका छन् समवेग शाक्य र भैरव बनेका छन् रुजन शाक्य। दुवै १४ वर्षका भए।

गणेशका पिता विश्वप्रकाश शाक्य भन्छन्-  ‘वास्तवमा मान्छेलाई गणेश र भैरव पनि छन् भनेर थाहै छैन। अस्ति खटबाट द्य: भाजुलाई परिक्रमा गराउँदा एक जनाले कुमारी आयो भनेको सुनेँ। आफ्नो नाम भन्दा अरुको नामले बोलाउँदा सबैलाई रिस उठ्छ नि। गणेशलाई कुमारी भन्दा पहिचान नै मेटियो। शुभ कार्य गर्दा पहिले गणेशकै पुजा गर्नुपर्ने हाम्रो परम्परा छ। यसबारे सबै सचेत हुनुपर्छ।’ यसबारे सहयोग रन्जितले पोहोर तयार पारेको पहिलोपोस्टको विस्तृत रिपोर्ट पढ्नुस्।

५) कसरी चिन्ने त कुमारी हुन् कि हैनन्?

यी तीन वटा रथ ध्यान दिएर हेर्नुस्- इन्द्रजात्रामा तानिने तीन वटा रथ यिनै हुन्। यसमध्ये दुई वटा उस्तै छ भने एउटा चाहिँ फरक छ। एउटा रथमा तीन वटा प्यागोडा शैलीको छत छ। कुमारीको रथ त्यही हो। बाँकी दुई भने गणेश र भैरवको हुन्। ध्यान दिएर हेर्नुभो भने रथमा गणेश हो कि कुमार लेखेकै हुन्छ। सामान्यतया सबैभन्दा अघि गणेशको रथ हुन्छ। त्यसपछि भैरवको।

त्यसैगरी चिन्ने अर्को तरिका हो कुमारी र ‘कुमार’हरुको फरक पहिरन। कुमारीले विशेष किसिमको मुकुट लगाएकी हुन्छिन्। यस्तो खाले-

कुमार र भैरवको यस्तो हुँदैन। उनीहरुको शिरमा मुकुट त हुन्छ, तर त्यस्तो खालको हुँदैन।

यी पाँच वटा टिप्समा ध्यान दिनु भो भने तपाईँले इन्द्रजात्रामा अरु झैँ झुक्किनु पर्दैन।

सम्बन्धित भिडियो ब्लग :

1 thought on “इन्द्रजात्रामा नझुक्किनका लागि जान्नै पर्ने पाँच तथ्य”

  1. Pingback: काठमाडौँवासीलाई ‘स्वर्ग लैजान’ मध्यरातमा टोल टोल चहार्ने यो अनौठो पात्र- दागीँ « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme