Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोक अल्छी भएको कि उपभोक्तालाई हेपेको?

Posted on August 15, 2019September 15, 2019 by Salokya


कोकबारे अस्ति भर्खरको ‘जिग्री क्याम्पेन’बारे ब्लग लेखिसकेको छु। फेरि कोककै बारेमा लेख्दा यसको के दुश्मनी छ कोकसँग भनेर नसोच्नुहोला। केही दुश्मनी छैन। स्वास्थ्यलाई त्यति राम्रो गर्दैन भन्ने थाहा हुँदाहुँदै पनि कोक खान मन चाहिँ पर्छ। कोकको विज्ञापन पाउने आशामा अरु मिडियाले यसबारे केही लेख्दैनन्। ब्लगलाई त विज्ञापन सिज्ञापन नआए नि केही फरक पर्दैन। त्यही भएर मज्जाले लेख्न पाइन्छ। अँ त्यो जिग्री बारे त विदेशी मिडियाले नि कोकको आलोचना गर्‍यो, नेपालीले केही नलेखे पनि। यता क्लिक गरेर पढ्नुस्। नेपाली मिडियामा भने environment-friendly, वातावरण मैत्री भएको दावी मात्रै देख्नुपर्‍यो।

अहिले लेख्न लागेको विषय चाहिँ कोकको नयाँ पार्टीइइइ क्याम्पेन बारे हो। तपाईँहरुले हेर्नुभएको होला नि टिभीतिर प्रियङ्का कार्की खुस्के जस्तो गरी पार्टीइइइ भन्दै चिच्याउँदै गरेको। छापाहरुमा पनि आएको छ त्यसको विज्ञापन।

यो नयाँ क्याम्पेन १ सेप्टेम्बरसम्मका लागि भनिएकोमा पछि समय बढाएर १५ सेप्टेम्बरसम्म तन्काइएको थियो।

यो विज्ञापनमा वाचा गरिएको छ- हरेक घण्टा LG LED TV जितिन्छ। छापा विज्ञापनमा पनि त्यस्तै वाचा गरिएको छ-

हरेक घण्टा भनेपछि त दिनमा नै २४ वटा टिभी बाँड्नु पर्ने हो। तर खै त एउटा टिभी बाँडेको पनि देखिएको छैन। छापा विज्ञापनमा मुन्तिर यस्तो लेखिएको रहेछ-

शर्तहरु जान्नको लागि कोकाकोला नेपालको फेसबुक पेज हेर्नुहोस् लेखिएको छ। के रहेछ त शर्त भनेर हेर्दा यस्तो देखियो।

न फेसबुक पेजमा, न अरु कतै- हरेक घण्टा टिभी कसले पायो त? कतै कुनै केही जानकारी नै छैन।

अझ अर्को एउटा विषयमा कोक क्याम्पेनले अल्छी गरेको छ। त्यो हो एसएमएस शुल्कबारे।

शर्तको बूँदा नम्बर ३ को (घ) मा लेखिएको छ-

पहिले पहिले भए बिर्को मुनि नै उपहार लेखेको कुरा छापिएको हुन्थ्यो। सानोमा अलि नचाहिने काम गरिन्थ्यो। बिर्को मुनि TRY AGAIN लेखिएकोमा स्पिरिटले AGAIN पूरै मेट्ने र TRY को R  र Y को तलपट्टीको धर्सो मेटेर TV जस्तो देख्ने बनाई TV पो परेछ दाइ, कहाँ लिन जाने थाहा छैन, तपाईँलाई थाहा छ भनेर सोधिन्थ्यो पसलमा। पसले बढी बाठो भएर मलाई देऊ, सय रुपैयाँ दिन्छु भन्थ्यो। हामी त्यो लिएर टाप ठोक्थ्यौँ 🙂

अचेल चैँ हामी हैन कोक बाठो हुन थालेछ। बिर्को मुनि नम्बर राखेर त्यसलाई एसएमएस गरेर उल्टै हामीबाट पैसा असुल्ने ट्रिक लगाउन थालेछ अचेल। त्यसमाथि शुल्क कति लाग्छ भन्ने पनि थाहा नदिनु चाहिँ उपभोक्तामाथि अन्याय नै हो। एउटा एसएमएस गरे वापत् कति शुल्क लाग्छ १ रुपैयाँ लाग्छ कि १० रुपैयाँ भनेर  जान्ने अधिकार पाउँछ नि उपभोक्ताले। तर कोकले लेखेको छ- यद्यपी, यी शुल्कहरु निश्चित हुँदैनन् र हरेक सहभागीको मोबाइल सेवा प्रदायकको अनुसार फरक पर्न सक्छ । सहभागीहरुलाई लाग्ने दर र शुल्कका बारेमा सम्बन्धित टेलिकम सेवा प्रदायकसँग बुझ्न अनुरोध गर्दछौं।

ए, उल्टो उसको क्याम्पेनमा सहभागी हुन हामीले पो फोन गरी गरी थप पैसा खर्च गरी गरी टेलिकम सेवा प्रदायकसँग बुझ्नु पर्ने? कति दुःख दिएको ए !

नेपालमा कति वटा टेलिकम सेवा प्रदायक छन्? नेपाल टेलिकम, एनसेल र स्मार्ट हैन? यी तीन वटासँग यो क्याम्पेन गर्दा उपभोक्ताको पैसा नलाग्ने व्यवस्था गर्न सक्दैन कोकले? मज्जाले सक्छ नि। तर गरेन। किन? उपभोक्तालाई हेप्न खोज्यो। यतिसम्म हेप्न खोज्यो कि कति पैसा लाग्छ तिमीहरुकै मोबाइल अपरेटरसँग सोध्न जाऔ बजिया हो भन्ने पाराको शर्त राखेछ।

हैट, अनि हामी उपभोक्ताले चाहिँ चुपचाप सहेर बस्नुपर्ने रहेछ। यस्तोसम्म पनि देख्ने दिन आयो बाब्बै! कोक अल्छी भएको कि उपभोक्तालाई हेपेको?

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme