Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

युट्युबरको ‘फैसला’ विपरीत अदालतले थप्यो रवि लामिछानेसहित तीन जनालाई पाँच दिनको म्याद, अबको प्रक्रिया यस्तो हुन्छ

Posted on August 20, 2019August 20, 2019 by Salokya


युट्युबरहरुले घोषणा गरिसकेका थिए- आज रवि लामिछाने छुट्ने भनेर। अझ कुनैले त आजै छुट्ने  सभामा सम्बोधन गर्ने भनेर समेत भिडियो बनाएका थिए। यी युट्युबरहरुको मनका कुरा थिए, वास्तविकता थिएन। यस्तो भइदियोस् भन्ने चाहना मात्रै थियो। वास्तविकता के भयो? अदालतले आज अनुसन्धानका लागि पाँच दिनको म्याद थप गर्‍यो। अर्थात् अझ पाँच दिनसम्म रवि लामिछाने थुनामा नै बस्नु पर्नेछ। प्रदर्शनकारीहरुको दबाबले अदालतमा चलिरहेको प्रक्रियामा कुनै असर नपर्ने सन्देश पनि आजको आदेशले दिएको छ। 

रवि लामिछाने पक्राउ प्रकरणपछि यतिबेला चितवनमा एक किसिमको तमाशा भइरहेको छ। कानुनी शासनको सिद्धान्त बुझ्ने जोकोहीलाई थाहा हुनुपर्ने विषय हो- अदालतले कुनै पनि विषयमा मुद्दा चलाउन पर्याप्त आधार छ भन्ने लागेर थप अनुसन्धानका लागि थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि सडकमा जतिसुकै उफ्रे पनि हुने त्यसबाट हुने केही होइन। तर पक्राउ परेकै दिन ब्लगमा अनुमान गरे जस्तै ‘रवि लामिछानेका समर्थकहरु आन्दोलनमा उत्रिएर एक किसिमको दबाब सिर्जना गर्ने प्रयास गरे।’ यस्ता दबाबका दुई पाटा हुनसक्छन् भन्ने चाहिँ उनीहरुले मनन् गरेको देखिएन।

एक- जनमत देखेर सम्बन्धित पक्षहरु प्रभावित हुने।

दुई- रवि लामिछाने हिरासत बाहिर रहे समर्थकको आडमा न्यायपाालिकामाथिको विश्वासमा नै प्रहार हुने गतिविधिहरु हुनसक्ने सम्भावना अदालतले देख्ने।

दोस्रो पाटोतर्फ सोच्नु पर्ने स्थिति प्रवल बन्दै गयो भने समर्थकहरुको आडमा रविलाई सहज हुने स्थिति नहुन सक्छ। हिरासत बाहिर रहँदाको स्थितिमा प्रमाणमाथि छेडखानी हुन सक्ने, समर्थकको आडमा अदालतको आस्थामाथि प्रहार हुने गतिविधि झन् बढ्न सक्छ भनेर अहिले भइरहेका गतिविधिहरुलाई प्रमाणका रुपमा अदालतमा प्रस्तुत गरियो भने के होला?

अब के होला?

रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतबाट पक्राउ पूर्जी जारी गराई गत बिहीबार राति पक्राउ गरेपछि शुक्रबार चितवन जिल्ला अदालतले पाँच दिनसम्म थुनामा राखी अनुसन्धान गर्न प्रहरीले अनुमति दिएको थियो।

त्यो दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिने कि थुना बाहिरै राखी पनि अनुसन्धान सम्भव छ भन्ने विषयमा बहस भएको थियो। प्रहरीले प्रस्तुत गरेका प्रमाणहरुका आधारमा थप अनुसन्धान गर्न योग्य छ भनी अदालतले स्वीकार गरेको अवस्था हो पाँच दिनको म्याद थप।

यो बीचमा पोस्टमार्टमको पूर्ण प्रतिवेदन पनि चितवन पुगिसकेको छ। डिजिटल फरेन्सिक ल्याबबाट मृत्यु भएका शालिकराम पुडासैनीको मोबाइलबाट भेटिएको भनिएको भिडियोको रिपोर्ट पनि आएको छ। शालिकरामले नाइलनको डोरी किन्न गएको पसलको सिसिटिभी फुटेज प्रहरीले प्राप्त गरेको समाचार पनि आएका छन्।

आरोपीहरुको बयान भएको भनिएको छ। बयान अनुसार थप अनुसन्धानका लागि समय चाहिने आधार अदालत सामु पेश गरेपछि अदालतले थप पाँच दिनको म्याद दिएको हो। वादी पक्षले थप १० दिनको म्याद माग गरेकोमा अदालतले पाँच दिनको मात्र दिएको हो।

सरकारी वकिलको महत्त्वपूर्ण भूमिका

अदालतले न्यायिक हिरासतमा पठाइसकेपछि यो मुद्दा सरकार वादी मुद्दा बनेको छ। अब अनुसन्धानका प्रत्येक पक्षमा सरकारी वकिलको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। प्रहरीको भूमिका भने त्यसपछि सहयोगी मात्र हुन्छ।

तपाईँहरुले समाचारहरुमा पढ्नु भएको होला नि धेरै ठाउँमा प्रहरीले मुद्दा दर्ता गर्‍यो भनेर। गलत हो त्यो। प्रहरीले कहिले पनि मुद्दा दर्ता गर्दैन। प्रहरीकोमा हुने जाहेरी दर्तालाई मुद्दा दर्ता भनेर बुझिने गरिन्छ। जाहेरी दर्ता भएको केस अदालतसम्म नपुग्न पनि सक्छ। प्रहरीको काम भनेको अनुसन्धान गर्ने र राय सुझाव दिने मात्र हो।

अभियुक्त हो कि हैन भनेर निर्क्यौल गर्ने काम प्रहरी र सरकारी वकिलको हो भने अपराधी हो कि हैन भन्ने निर्णय गर्ने काम अदालतको हो।

अब यो केसमा पनि प्रहरीले अनुसन्धान सकाएपछि प्रस्तावित राय सुझाव प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँछ। यसमा दुई वटा सम्भावना हुन्छ-

एक, प्रहरीले रवि लामिछानेसहित तीन जनाले शालिकराम पुडासैनीलाई मर्न बाध्य बनाएको प्राप्त प्रमाणहरुबाट पुष्टि भएको हुँदा ‘मुलुकी अपराध संहिता ऐन, २०७४’ को दफा १८५ बमोजिम हदैसम्मको सजाय हुनुपर्ने देखिन्छ भनेर प्रस्तावित राय सुझावसहितको प्रतिवेदन बुझाउने। हदैसम्मको अर्थ ५० हजारसम्म जरिवाना र पाँच वर्षसम्म कैद हो।

दुई, ऐजन ऐजन केसमा भएको अनुसन्धानमा दुरुत्साहन गरिएको प्राप्त प्रमाणहरुबाट पुष्टि नहुने देखिएको हुँदा पछि प्रमाण फेला परे बमोजिम हुने गरी हाललाई मुद्दा चलाउनु पर्ने स्थिति नदेखिएको प्रस्तावित राय सुझावसहितको प्रतिवेदन पेश गर्ने।

अघि नै भनियो, प्रहरीको भूमिका यो विषयमा सहयोगी मात्र हुन्छ। त्यसैले प्रहरीले सजाय हुनुपर्छ भन्ने प्रस्तावित राय सुझाव प्रतिवेदन प्रस्तुत गरेको भए पनि सरकारी वकिल (जिल्ला न्यायधिवक्ता वा सहायक जिल्ला न्यायाधिवक्ता वा वकिल जसलाई यो केसमा अभियोजनकर्ता तोकिएको हुन्छ, उसले) ले प्रहरीले संलग्न गरेका प्रमाणहरु मुद्दा चलाउन पर्याप्त नदेखिने भन्दै मुद्दा चलाउन आवश्यक नभएको भनेर मुद्दा अदालतमा दर्ता नगर्न सक्छ।

अथवा प्रहरीले हाललाई मुद्दा चलाउनु पर्ने स्थिति नदेखिएको प्रस्तावित राय सुझावसहितको प्रतिवेदन पेश गरे पनि सरकारी वकिलले मुद्दा चलाउन पर्याप्त आधारहरु देखिएको भन्दै मुद्दा अदालतमा दर्ता गर्न सक्छ।

सरकारी वकिलसहित संलग्न भई गरेको बयान र कागजको मात्र कानुनी मान्यता हुन्छ। अहिले आरोपीहरुको बयान सरकारी वकिलको कार्यालयमा लगेर गरिँदैछ।

त्यो सकिएपछि प्रस्तावित राय सुझावसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाउनु पर्छ। त्यसपछि सरकारी वकिलको कार्यालयले के गर्ने निर्णय गर्छ।

बयान नसकिए फेरि अदालतमा उपस्थित गराई म्याद थप गर्न अनुमति मागिन्छ। सम्भवतः आज थप पाँच दिन वा तीन दिनसम्मको म्याद अदालतले दिन्छ। यो भनेको ठ्याक्कै त्यति दिन लगाउनु पर्छ भन्ने हुन्न। त्यो भन्दा अघि नै पनि सकाउन सकिन्छ।

सरकारी वकिलको कार्यालयले अभियोगहरु उल्लेख गरी मुद्दा दर्ता गरेपछि थुनामा राखेर मुद्दा अघि बढाउने कि थुना बाहिर भन्ने विषयमा थुनछेकको बहस हुन्छ।

यो बहसको नतिजा तीन वटा हुन सक्छ-

एक, साधारण तारेखमा राखी मुद्दा पुर्पक्ष गर्ने।
दुई, धरौटी तिराएर मुद्दा पुर्पक्ष गर्ने।
तीन, थुनामै राखेर मुद्दा पुर्पक्ष गर्ने।

सामान्यतया धरौटी तिराएर छाडिन्छ र मुद्दा जारी रहन्छ। यसलाई धरौटीमा मुद्दा पुर्पक्षमा राख्ने भनिन्छ। समता अस्पतालको केसमा पनि उत्तम सञ्जेल पत्नी लगायत तीन जनालाई तीन लाख धरौटीमा छाडिएको हो।

यो केसमा बाहिर गए झन् केसलाई प्रभावित पार्ने गरी स्थिति भड्किने अवस्था हुनसक्छ भन्ने अदालतलाई लाग्यो भने वा दोषी ठहर हुने सम्भावना देखियो भने तेस्रो अवस्थाको सम्भावना हुनसक्छ। अर्थात् पुर्पक्षका लागि थुनामै राख्ने आदेश पनि हुनसक्छ। त्यसो भयो भने अहिले सडकमा उफ्रेर ‘रुल अफ ल’को उपहास गराउने समर्थकहरुकै थाप्लोमा धेरै दोष थुप्रिने स्थिति नआउला भन्न सकिन्न।

तेस्रो स्थिति भयो भने चाहिँ अभियुक्त अहिले जस्तो प्रहरी कार्यालयको थुनामा हैन, जेलमा नै जान्छन्।

सम्बन्धित ब्लगहरु
किन उर्लियो एक टेलिभिजन प्रस्तोताका लागि यत्रो भिड?

रविलाई अदालतले पाँच दिन म्याद थप्दै गर्दा बारे कसले के भने?

‘सीधा कुरा’मा खाली कुर्सी, रवि लामिछाने पक्राउ, अबको कानुनी प्रक्रिया के? कहिलेसम्म हिरासतमा?

पत्रकार पुडासैनी प्रकरण : मर्नुअघि बोलेको भिडियो सार्वजनिक, अब के हुन्छ?

नेताको नाम लिएर कोही मरे के हुन्छ? प्रतिवेदनमा कानुन दुरुपयोगको सम्भावना र नियन्त्रणका उपाय यस्तो

11 thoughts on “युट्युबरको ‘फैसला’ विपरीत अदालतले थप्यो रवि लामिछानेसहित तीन जनालाई पाँच दिनको म्याद, अबको प्रक्रिया यस्तो हुन्छ”

  1. Pingback: चितवन पुगेपछि मैले देखेको रवि प्रकरण, आज छुट्ने सम्भावना कम « Mysansar
  2. Punya says:
    August 22, 2019 at 7:17 am

    बज्राचार्य ज्यिउ,
    तपाई ले त अगि नै अगाडी को पोस्ट को कमेन्ट मा मुद्दा छिनोफानो गर्दिसक्नु भा को छ नि …
    “पुडासैनीको मृत्यु कारण उसैको असामाजिक र अनैतिक कर्तुत भयको उसैको कुराले स्पस्ट गर्छ/ ” भनेर |
    फेरी तपाई लाइ नेपाली पुलिस र प्रशासन प्रति पनि विश्वास नभएको देखिन्छा अघि अघि को तपाई को कमेन्ट बाट !
    तपाई एकोहोरो रटान दिदै हुनुन्छा …. रबि लाइ फसौना खोजेको … त्यो पुलिस प्रसशान राम्रो छैन … या त्या…
    तपाई त बबाल लामिछाने पत्रकार को अन्धभक्त भएर कमेन्ट लेख्दै हुनुन्थ्यो त .. पछौटो हुनुस त्यो तपाई को कुरा … तर एस्तो संबेदनसिल कुरा मा अलिक विचार गरेर पो कमेन्ट गर्नु पर्छ त , हैन र ?

    अब अलि अलि बुझ्दा त्यो लामिछाने को पनि कहाँ राम्रो इतिहास छ र …? स्वास्नी माथि स्वास्नी .. ल्याएको छ .. तेस्मथी अमेरिका बस्दा को गल्फ्रेंद .. के के हो के के …
    अमेरिका मा के नै नापेको थियो र सधै बस्न लाई ?? तेइ घण्टा हान्ने काम देखि वाक्क दिक्क प्याकका भएर नेपाल जानु कुनै नौलो कुरा होइन .. नेपाली को सेवा गर्नाइ को लागि नेपाल फर्केको त होइन नि .. तपाई जस्तो झुसिल्किरो लै के थाहा … येतैकी डमरु बजायो हिड्यो अनि जनमानस मा भ्रम फैलायो ….

    Reply
  3. madan bajracharya says:
    August 21, 2019 at 10:54 pm

    पुदासैनिको ….त् धेरै ……/ तर आफिले आफुलाई मारेको हो बा अर्को केहि कुरा पनि छ भन्ने कुराको खुलासा लासको पोस्तमार्तमको रिपोर्टले गर्छनै/ तर पोस्तमार्तमको रिपोर्टको बारेमा केहि कुरा बाहिर आयको छैन/ यसो किन कसरि भयको होला? पोस्तमार्तमको रिपोर्टमा कसै माथि आरोप लगायको नहुने मात्र मर्नु अघि बा मरे पछि मर्नेको शारिक अवस्थाको विवरण हुने भयकोले पोस्तमार्तमको रिपोर्ट गोप्य राख्नु पर्दैननै होला/ त् अरु पत्रकार र रवि प्रति पूर्वाग्रह नराख्ने मानवअधिकारबादीहरुले पोस्तमार्तमको बारेमा चासो राखे न्याईक प्रक्रियामा सहयोग पनि पुग्ने र यो रविलाई हिरासतमै राख्नु पर्छ भन्नेहरु र रविलाई हिरासतमै राख्नु पर्ने कुनै कारण छैन भन्ने बहस र बिबादलाई धेरै हद सम्म “ट्रयाक” राख्न सक्छ/

    भिडियोहरु हेर्दा पुडासैनीको अवस्था र उसले जसरि बोल्दै गरेको देखिन्छ त्यो कुरा अलि असामान्य भयको देखिन्छ/ यो कुरामा पोस्तमार्तमको रिपोर्ट ले धेरै कुरा स्पस्ट गर्छ/

    “झण्डा वाला झण्डा बोक्नेको कुनै पनि कुरा उनीहरुकै प्राईभेट मामिला तेस्मा अरुले चासो राखे नतिजा के हुन्छ भन्ने कुराको संकेत नहोस यो घटना/ तर कुरा तेस्तै हो भने “चासो राख्नु पर्छ; लोकतन्त्रमा यहि त् हो नागरिकको सबै भन्दा ठुलो अधिकार भन्नेहरु यक जुट होस्/

    Reply
  4. श्रीकृष्ण अधिकारी says:
    August 21, 2019 at 6:00 pm

    सवाल रबि लामिछाने लगायत ३ जनालाई पुडासैनीको हत्या/आत्महत्या प्रकरणमा छानविनको लागि प्रहरीले थुन्यो भन्दा पनि पुडासैनी मृत्यु प्रकरणलाई हत्या वा आत्महत्या के हो भन्ने छुट्याउन चाहेन र जबरजस्ती आत्महत्या हो भनेर रबि लामिछाने लगायतकालाई दोषी देखाउन खोजेको सम्बन्धमा मात्र गुनासो हो । कतै यसमा पनि ठुलै मान्छे (हत्यारा) जोगाउने चलखेल त हैन भन्ने शंका हो ।
    यदी दोषी कोही छ भने कानून अनुसार कारवाही अवश्य गर्नु पर्छ तर यो केसमा अनुसन्धानको स्टेरिङ्गनै अन्यत्र मोड्ने कोशिष पो हुँदैछ कि ?

    Reply
  5. resham says:
    August 21, 2019 at 4:34 pm

    मूलधारका संचारमाध्यमले सन्तुलित समाचार सम्प्रेष नगर्दा युटयूवमा दिएका उत्तेजित र केही गलत तस्वीर प्रयोग गरी समाचार सम्प्रेषण गरिएका घटनाले जनमानसमा गलत अफवाह पैmलिएका छन् । न्यायको निरुपण सम्मानित आदलतले गर्ला । तर समाजिक संजालमा आएका कतिपय उत्तेजक र भीडलाई तताउने समाचार आईरहँदा मूलधारका संचारमाध्यमले कम ध्यान दिएको जस्तो लागेको छ । मुलधारका संचार माध्यमबाट सत्य तथ्य समाचार जनमानसमा पुगे राम्रो हुनेथियो । खोई कसको समाचार पत्याउने? बडा गजब छ बा । अनेकथरी समाचार भाइरल भाइरहेका छन् । कुन समाचार सत्य हो? बुझनै पो कठिन भईरहेको छ । मूलधारका संचार माध्यमहरु कता हराए है ? भीड सर्मथन र विरोध पक्ष र विपक्षमा एक आपसको विरुद्धमा लागी परेका देखिन्छन् ।

    Reply
  6. PP says:
    August 21, 2019 at 8:30 am

    रबि लामिछानेलाइ पत्रकार भनेर मात्र चिन्दछु र उनको प्रोग्राम पनि हेरेको छैन । तर युट्युबर या सामाजिक संजालको दवावले हच्किने हैन भनेर देखाउन कै लागि अदालतले म्याद थप गरेको हो भने त यो राम्रो हैन । भागेर जाने सम्भावना भए या समाजको लागि खतरा भए मात्र यसरि हिरासतमा राख्नु पर्ने नत्र दुख दिन कै लागि म्याद थप त नगर्नु पर्ने । भोलि निर्दोष प्रमाणित भयो भने हिरासतमा भोगेको कस्ट मा counter sue गर्ने ? जे होस् गल्ति भएकै भए भिक्टिमले न्याय पाओस, तर कसैले पनि अनाहक मा सजाय नभोगोस ।

    Reply
  7. Silwal says:
    August 21, 2019 at 5:31 am

    My sansar always been one of the most authentic and unbiased news blog in Nepal irrespective of content and person.

    Reply
  8. purna says:
    August 20, 2019 at 7:38 pm

    नेपाल प्रकृति ले सुन्दर छ \ तर के गर्ने तेहा राज गर्ने सर्बसाधारण देखि भी आइ पी पुरै जस्तो मान्छे … को दिमाग सैतानी दिमाग छ (सब को होइन, राम्रो मान्छे हरु पनि हुनु हुन्छा ) … नेपाल बिगारेकै यिनै बरुला हरु ले हो !
    काम छैन नारा जुलुस गर्यो ,, कैले गूगल बोय … कैले के के माता … कैले कुन पार्टी, कैले पत्रकार लामिछाने … कैले के .. कैले के .. किन एस्तो सैतानी दिमाग छ हो नेपाली हरु को !
    अदालती काम अदालत लै नै जिम्मा दिए हुन्न ?? बाहिर नारा जुलुस गरेर .. होहल्ला गरेर .. के गर्न खोज्या ? जबर्जस्ति अनुसन्धान रोक्न खोज्या ? कानुन भिड bhaadd ले हात मा लिन खोज्या?

    Reply
  9. purna says:
    August 20, 2019 at 7:24 pm

    धेरै राम्रो … काम . त्यो पत्रकार लामिछाने लै अरु जति समय कानुन अनुसार हिरासत मा राख्न मिल्छ … राखेर पुरा अनुसन्धान होस् !!
    भिड मा कुकुर हरु भुक्दै मा अनुसन्धान नारोकियोस … भिड भाद गरि अनुसन्धान मा बाधा पुर्याउने अथवा पुर्याउन खोज्ने सब लाइ पनि कानुनी कारबाही होस् !

    न्यायाधिस तथा पुलिस हरु लै सहि अथवा गलत छुट्याउने सक्ति मिलोस
    दोषी देखिए मा पुरा कारबाही होस् … कुनै भिड को दवाब मा अपराधी नछुटोस … येदि दोषी नदेखिए उनि छिट्टै छुटून् !

    Reply
  10. Dev Bataju says:
    August 20, 2019 at 6:47 pm

    Thank you for the news. Was getting sick of majority of cheap youtubers.

    Reply
  11. Bibek kunwar says:
    August 20, 2019 at 6:16 pm

    SUNA KETA-KETI HO ABA DEKHI LOVE GARDA PANI DHYAN PURAYERA GARNU. YO SALIKRAM JASTAI MUKHLE EUTA BOLNE KAAMLE ARKO GARNE PSYCHO SANGA LOVE PARYO BHANE ASMITA KARKI KO JASTO NIYETI BHOGNU PARLA.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme