Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समयको बलिदान : #SacredGames2

Posted on August 16, 2019August 16, 2019 by Salokya


सन् २०१६ मा भिडियो स्ट्रिम गर्ने अमेरिकी कम्पनी नेटफ्लिक्सले नेपालसहित विश्वका १९० देशमा आफ्नो सेवा विस्तार गर्ने घोषणा गर्‍यो। छिमेकी देश भारतमा त कार्यालय नै खोल्यो। तर लोकल कन्टेन्ट दिएर आफ्नो सेवाप्रति आकर्षित गर्ने काम भने दुई वर्षपछि अर्थात् पोहोर सन् २०१८ मा मात्रै सुरु गर्‍यो। यसको लागि उसले बनाएको पहिलो ओरिजिनल सिरिज थियो- Sacred Games. एक महिना सित्तैमा हेर्न पाइने भएकोले नेपालमा पनि यही सिरिजका कारण नेटफ्लिक्स लोकप्रिय हुन थाल्यो।

अमेरिकी डलरमा मासिक शुल्क तिर्नुपर्ने भएकोले त्यो भुक्तान गर्न समस्या हुने भए पनि पेपाल वा विदेशमा बसेकाहरुले खोलेको अकाउन्ट आदिबाट नेपालमा पनि नेटफ्लिक्स हेर्नेहरु धेरै भइसकेका छन्।

विक्रम चन्द्राको क्राइम थ्रिलर उपन्यास सेक्रेड गेम्सलाई ८ भागको सिरिज बनाएर जुलाई २०१८ मा रिलिज गरियो। पहिलो सिरिजले निकै प्रशंसा पायो। नवाजुद्दिन सिद्दिकीले गरेको गणेश गायतोन्डेको भूमिका, ‘कभी कभी तो अपुनको लगता है अपुन ही भगवान है’ भन्ने उनको डायलगले प्रशंसा पायो। ८ भागमा प्रशस्त रहस्य, रोमाञ्च र थ्रिलर थिए। मुम्बई सहर बचाउन लागिपरेका प्रहरी सरताज सिंह (सैफ अली खान) को प्रयास त्यस्तो ठाउँमा लगेर पहिलो सिजनमा अन्त्य गरिएको थियो, जसले अर्को सिरिजका लागि प्रतीक्षा गर्ने अवस्था बनाइएको थियो। त्यतिञ्जेल दोस्रो सिजन बन्ने/नबन्ने निश्चित भएको थिएन।

अन्ततः लामो समयपछि दोस्रो सिजन बन्ने घोषणा भयो। गएको अगस्त १५ मध्यरातमा ८ भागको दोस्रो सिजन रिलिज पनि भयो। दोस्रो सिजनका प्रमुख पात्र गुरुजी बारम्बार बलिदानको माग गर्छन्। यो सिरिज हेर्दा दर्शकले पनि बलिदान गर्नुपर्छ, चानचुने बलिदान हैन, लगभग आठ घण्टा।

पूरै सिरिज हेरिसकेपछि लाग्छ- पहिलो सिजन दर्शक तान्न बनाए। त्यसमा सफल पनि भए। दोस्रो सिजन दर्शकको मागका कारण बनाए। परिणाम- अधिकांश रिभ्यु नकारात्मक आए। सामाजिक सञ्जालमा त निकै उडाएर मिमहरु बनाइए। धन्न केही दिन अघि मात्र सहनिर्देशक अनुराग कश्यपले ज्यान मार्ने धम्की आएको भन्दै ट्विटर छाडिसकेका थिए।

पहिलो सिरिजमा जस्तै यो सिरिजमा पनि प्रशस्त अश्लील संवादहरु छन्। पहिलो सिरिजमा राजीव गान्धीलक्षित संवाद विवादमा परेको थियो। यस पटक भने बलिउड निर्देशक रामगोपाल वर्मालाई उडाइएको छ। राम जी वर्मा नाम राखिएको छ, जो डनको दबाबमा फिल्म बनाउँछन्।

दोस्रो सिजनमा गणेश गायतोन्डे पहिलो सिजनमा जस्तो शक्तिशाली देखिन्नन्। उनी कहिले रको कहिले गुरुजीको कठपुतली बनिरहन्छन्। बम्बैमा जस्तै केन्यामा गणेशले आफ्नो प्रभाव फैलाउँछन्। पहिलो सिजनमा जस्तै दर्शकलाई तान्ने, उनीहरुले याद गरिरहने खालका संवाद पनि यसमा छैनन्।

पहिलो सिजनमा जस्तै हेरेपछि छाड्नै मन नलाग्ने स्थिति यस पटक छैन। यो सिजनमा पनि दुई वटा कथा समानान्तर रुपमा अघि बढ्छन्। सातौँ भागमा आएर बल्ल सरताजले ब्रेकथ्रु गर्छ। दोस्रो सिजनको सबभन्दा महत्त्वपूर्ण भाग यही हो। अर्को भाग त अन्तिम भइसक्छ। दोस्रो सिजनको अन्त्य ओपन छाडिएको छ।

१ हजार पेजको उपन्यासबाट दुई सिजन तयार भइसकेपछि अर्को सिजन आउँछ कि आउँदैन, खुलेको छैन। तर पहिलो सिजनको लोकप्रियताको तुलनामा दोस्रोले पाएको प्रतिक्रिया हेर्दा थप भाग बन्नेमा शंका देखिन्छ।

**My review**
#SacredGamesS1
Vs
#SacredGamesS2 pic.twitter.com/G79zuFWrfN

— Keshav | केशव (@aryaKeshav) August 15, 2019

#SacredGamesS2
season 1 ?
Season 2 ?? pic.twitter.com/6CYGrc3gJ6

— Rockey Bhai ?? (@yashArmy8055) August 15, 2019

Sacred games season 2#Expectations vs #Reality pic.twitter.com/rWud2FUGdT

— Too_Deep (@TooDeep12) August 15, 2019

पहिलो सिजन हेर्नुभएको छ भने दोस्रो सिजनप्रति निश्चय पनि धेरै अपेक्षा हुनसक्छ। ती अपेक्षा यो सिजनले पूरा गर्न गाह्रो छ। यो सिजन नहेर्दा पनि केही फरक नहुने खालको छ। हेर्ने निर्णय गर्नुभयो भने तपाईँले बलिदान गर्नुपर्ने हुन्छ- ८ घण्टा समयको !

नेटफ्लिक्सका दर्शकहरु नेपालमा पनि भइसके। तर नेपाली कन्टेन्टको नाममा भारतमै बनेको नेपाली भाषाको एउटा फिल्म पाहुना मात्रै त्यहाँ छ। एक जमानामा नेपाल टेलिभिजनमा स्मरणयोग्य टेलिफिल्म र सिरियलहरु बन्ने गरेकोमा अहिले त्यो क्रम लगभग बन्द भएको छ। केही कमेडी शृङ्खलाहरुमात्रै बनिरहेका छन्। नेपाली दर्शकहरु हिन्दी सिरियलमा मस्त छन्। नेटफ्लिक्सले विश्वभर छरिएका नेपाली दर्शकहरुका लागि नेपाली ओरिजिनल कन्टेन्ट पनि कहिले बनाउला?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme