Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ग्लोबल आइएमइ बैँकले मेरो चार हजार रुपैयाँ यसरी ‘गायब’ बनाइदियो

Posted on July 11, 2019July 12, 2019 by Salokya


अपडेट : यो ब्लग प्रकाशित भएकै दिन जुलाई ११ दिउँसो ४ बजे रकम फिर्ता भएको मेसेज एसएमएसमा आयो।

मूल ब्लग : ग्लोबल आइएमइ बैँक र जनता बैँकको ‘बिग मर्जर’को ‘बिग’ चर्चा मिडियामा छाइरहेको बेला एउटा समस्या मलाई परेको छ। मिडिया र बैँकका लागि त्यो एकदमै ‘स्मल’ समस्या होला, तर उपभोक्ता र म स्वयंको लागि भने त्यो पनि ‘बिग’ नै हो। हाम्रा क वर्गका बैँकहरुको प्रोफेसनलिजम कस्तो छ र टेक्निकल समस्या समाधानमा उनीहरुको हैसियत कस्तो छ, यसले प्रष्ट बनाउँछ।

गएको जुलाई ७ तारिख आइतबार दरबारमार्गको स्याम्स वन ट्री क्याफेमा बिल तिर्न ग्लोबल आइएमइको डेबिट कार्ड दिएँ। वेटरले फटाफट पिओएस मेसिनमा कार्ड घुसाए, भुक्तानी गर्नुपर्ने रकम १९८८.८० इन्ट्री गरे र मलाई पिन नम्बर इन्ट्री गर्न भने।

मैले इन्ट्री गरेँ।

‘ट्रान्जेक्सन डिक्लाइन्ड’ भयो भनेर उनले भने। स्लिप निस्केन।

वेटरले फेरि अर्को पटक इन्ट्री गर्‍यो र मलााई पिन नम्बर हान्न भन्यो।

पैसा काट्ला नि, मैले त्यतिबेला जिस्केर भनेको थिएँ।

‘काट्दैन’, उसले भन्यो र मैले फेरि पिन नम्बर थिचेँ।

फेरि पनि ट्रान्जेक्सन सक्सेसफूल भएन र स्लिप निस्केन।

अब के गर्ने त, मसँग क्यास त छैन होला भन्दै पर्स खोतलेँ। धन्न रहेछ हजारका दुई वटा नोट। त्यही दिएँ, १० रुपैयाँको नोटसहित बिल दिए।

त्यहाँबाट म ज्योति भवन, जमलमा सामूहिक विपश्यना ध्यानका लागि गएँ। साढे ५ देखि साढे ६ बजेसम्म दैनिक सामूहिक विपश्यना हुने गर्छ। हप्तामा एक दिन यसरी सँगै बसेर ध्यान गर्दा राम्रो हुन्छ भनिन्छ।

जमलबाट निस्केर पैदलै घरतिर जाँदै थिएँ, हनुमानढोकामा पुग्दा एसएमएसको नोटिफिकेसन बज्यो। के रहेछ भनेर हेर्दा त दुई वटा मेसेज रहेछ। साँझ ६ बजेर ४७ मिनेट र ६ बजेर ५० मिनेटमा गरी ग्लोबल आइएमई बैँकको दुई वटा अलर्ट मेसेज आयो।

५ बजेर ६ मिनेटमा र ५ बजेर ७ मिनेटमा गरी दुई दुई पटक १९८८ रुपैयाँ ८० पैसा मेरो खाताबाट काटिएछ।

लौ, के भएछ यस्तो? बैँकलाई जानकारी त दिनुपर्‍यो भनेर मैले तत्काल कार्डको पछाडि रहेको फोन नम्बरमा फोन गरेँ। मेरो कार्ड नम्बर, नाम सोधियो। मैले बताएँ। फोन उठाउने ग्लोबल बैँकका कर्मचारीले चार पटक ट्राइ गरिएको र दुई पटक सक्सेस भएको जानकारी दिए। मैले दुई पटक मात्र पिन नम्बर हानेको बताएँ।

तपाईँले स्लिप त पाउनु भएको छैन नि? उनले सोधे।

अहँ, मलाई दिएका छैनन्।

विक्रेताको तर्फबाट ‘क्लेम’ नआएपछि त्यो रकम स्वतः खातामा फिर्ता हुने कुरा उनले बताए।

कति समय लाग्छ फिर्ता हुन? मैले सोधेँ।

‘क्रेडिट कार्ड भए अलि समय लाग्ने हो, डेबिट कार्डको त समय लाग्दैन’, उनले थपे, ‘तपाईँको नजिक कतै ग्लोबलको एटिएम छ भने चेक गर्नुस् त अहिलेसम्म फिर्ता भइसकेको पनि हुनसक्छ। हाम्रो यहाँ अहिले सिस्टम बिग्रेकोले चेक गर्न मिलेको छैन।’

होला नि त भन्ठानेँ। ढुक्क भएर घर फर्किएँ।

तर मेरो ३ हजार ९ सय ७७ रुपैयाँ ६० पैसा फिर्ता भएन।

भोलिपल्ट सोमबार त्यतै रेस्टुरेन्टमा जाने संयोग जुर्‍यो। त्यही मौकामा मैले रिसेप्सनमा यस्तो यस्तो भयो भनेर बिल देखाएँ। रेस्टुरेन्टका कर्मचारी मिजासिला रहेछन्, ‘केही फरक पर्दैन। हामी तुरुन्तै बैँकमा फोन गरेर बताइदिन्छौँ’ भने। मेरो डेबिट कार्ड नम्बर र नाम फोन नम्बर सबै टिपे।

१५ मिनेट जति पछि ती कर्मचारीले भने, कस्टुमरले नै बैँकमा क्लेम गर्नुपर्छ भन्यो बैँकले। रेस्टुरेन्टले पिओएस मेसिन नेपाल इन्भेस्टमेन्ट बैँकको भएकोले त्यहाँ फोन गरेको रहेछ।

मलाई अब चाहिँ अति भयो भन्ने लाग्यो। मैले हिजै ग्लोबल आइएमई बैँकमा फोन गरेर कम्प्लेन गरिसकेको थिएँ। अर्बौँको नाफा गर्ने बैँकहरुले गुनासो आउँदा दर्ता गर्ने र त्यसको फलोअप गर्ने र फर्छ्यौट गर्ने के सिस्टम छ कुन्नि, नभए बनाउनु पर्‍यो। आफ्नो गल्ती नभई नभई पनि अरुको गल्तीका कारण आफ्नै पैसा हिनामिना हुँदा फिर्ता पाउन बारम्बार निवेदन दिइरहनु पर्ने ? बैँकले मेरो पैसा त्यसरी काटिएकोमा माफी मागेर रकम फिर्ता गर्नुपर्नेमा उल्टै मैले बारम्बार मेरो पैसा फिर्ता भएन भनेर मेरै खर्चमा फोन गरिरहनु पर्ने?

फेरि फोन गर्नुको साटो मैले यो सब व्यहोरा बैँकहरुको नियामक संस्था नेपाल राष्ट्र बैँकको बैँक सुपरभिजन डिपार्टमेन्टको इमेल [email protected] मा पठाएको छु।

यो ब्लग अपडेट गर्ने समय आज बिहीबार जुलाई ११, बिहान ९ बजेर ३० मिनेटसम्म रकम फिर्ता भएको छैन।

(के तपाईँले पनि बैँकहरुबाट यस्तै समस्या भोग्नुभएको छ? आफूले भोगेको कुरा तल कमेन्टमा वा [email protected] मा वा यहाँ क्लिक गरी टाइप गरी पठाउन सक्नुहुन्छ)

8 thoughts on “ग्लोबल आइएमइ बैँकले मेरो चार हजार रुपैयाँ यसरी ‘गायब’ बनाइदियो”

  1. Ramshran says:
    August 18, 2019 at 8:09 am

    सबै लुट्न बसेका लुटेरा छन् याे देशमा अनि यिनिहरुबाट सच्चा कामकाे अाश नगराै ।

    Reply
  2. srijana says:
    July 12, 2019 at 11:49 am

    मेराे त राष्ट्रिय वाणिज्य बैंकले १ हजार पैसा काट्याे माेवाइल टपअप गर्दा । रिचर्ज भएन तर पैसा काटियाे । ४ पटक बैंक धाइयाे । निवेदन दिइयाे । भएन ।

    Reply
  3. Aryan says:
    July 12, 2019 at 10:18 am

    मेरो पनि उस्तै भोगाइ हो ग्लोबल अाइएमइ बाट भाट भटेनीमा पैसा तिर्दा । सबै भन्दा झुर कार्ड सिष्टम छ यो बैक को । एटिएममा पैसा ननिस्कनु त एकदम सामान्य केस हो यो बैक को।

    Reply
  4. Basu says:
    July 11, 2019 at 5:48 pm

    ‘सिष्टम बिग्रिएको’ भन्नु समस्याबाट सजिलै पन्छिने उपाय हो। नेपालमा यो बोली सार्है लोकप्रिय छ।

    Reply
  5. l says:
    July 11, 2019 at 4:47 pm

    डल्ली शिल्पा पोखरेल ( छबि ओझा को स्वास्नी ) . शिल्पा पोखरेल ले , पत्रकार लाइ झुक्क्याउदै , घुमाउदै कुरा ग्रथियो। गाठि कुरो रहैछ , छबि ओझलाई फसाएर , छबीको भित्रिनि भनेर बसेको , अहिले फेरी खुलेर आउने किन ? श्रीमान ले यस्तो गरियो उस्तो गरियो आदि इत्यादि। पहिला बिहे गरेको कुरो , पत्रकारलाई नै नराम्रो बनाया र भन्यो , ” बाउ जस्तो उमेरको लाइ पनि तपाईं हरु , अनेक अनेक भन्ने भनेर , नाटकीय ढंग ले बोलथयो तर रहिच बिहे गरिसकेको।

    Reply
  6. आशिषजी says:
    July 11, 2019 at 1:44 pm

    सलोक्याजी ठिक यस्तै मलाई पनि भएको थियो सिद्धि पोली क्लिनिकमा उपचार गराउन जाँदा…र संयोग हो कि के हो मेरो पनि ग्लोबल IME ब्यांककै कार्ड थियो…पछि कमलादी ब्रान्चमा गएर गुनासो गर्दा फर्म भर्न लगाइयो…२-४ दिनमा तपाईंको एकाउन्टमा पैसा फिर्ता हुन्छ भनेकोमा १७-१८ दिन पछि बल्ल पैसा फिर्ता आयो…२ पटक ब्रान्चमा गएर र एक पल्ट फोन गरेर न कराएको भए सायद अहिले सम्म पनि आउथ्यो कि आउदैन थियो शंकै छ…त्यस दिन देखि मैले मेरो एकाउन्ट त बन्द गरेको छैन तर अब ग्लोबल IME ब्यांकमा कहिले पनि कारोबार न गर्ने कसम नै खाएको छु…

    Reply
  7. रामशरण कार्कि says:
    July 11, 2019 at 10:47 am

    मेरो पनि ३०,००० तपाई कै जस्तो भएको थियो, लिखित निवेदन दिएपछि ग्लोबल बैँकबाट ख़ातामा फिर्ता भयो

    Reply
  8. Chakra Gurung says:
    July 11, 2019 at 9:56 am

    ढुक्क हुनुहोस् ब्लग छापिसक्यो भरे दिउँसो तपाईलाई माफि माग्दै फोन आउछ र पैसा पनि फिर्ता आउछ, मेरो बैंकिंग समस्या पनि ब्लग छापिए पछि मात्र समाधान भएको थियो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme