फेब्रुअरी २२ मा एनसेल मुख्य कार्यालयअगाडि गराइएको बम विस्फोटमा सर्वसाधारण सिमप्रसाद गुरुङको मृत्यु भएपछि विप्लव समर्थक एउटा अनलाइनमा ‘कालले कुत्कुत्याएपछि’ भन्दै मर्नेलाई नै दोषी देखाउँदै एउटा समाचार छापिएको याद छ।
त्यसको तीन महिनापछि फेरि काठमाडौँका तीन ठाउँमा बम विस्फोट हुँदा चार जनाको मृत्यु भयो। सात जना घाइते भए। यस पटक मर्नेहरु सर्वसाधारण थिएनन्, विप्लवकै पार्टीका कार्यकर्ता, अझ विप्लवको भाषामा जनमुक्ति सेनाका कमाण्डर समेत थिए। शायद् त्यसैले यस पटक ‘कालले कुत्कुत्याएपछि’ जस्ता तुच्छ शब्द प्रयोग भएनन्। बरु ‘सहादत प्राप्त गर्ने कमरेड’, ‘सहिद’ शब्दले विभुषित गरिएको छ विप्लवले निकालेको विज्ञप्तिमा
जनता मर्दा एउटा, आफ्ना मर्दा अर्को बोली राजनीतिमा लागेकाहरुको हुँदो रहेछ।
हामी जस्ता सर्वसाधारणलाई भने जो मर्दा पनि मान्छेको ज्यान बित्थामा गएको भनेर दुःख लाग्दो रहेछ। चार चार जनाको ज्यान गयो। नजानु पर्ने ज्यान गयो। अरुलाई मार्न खोज्दा आफै मरे खुच्चिङ भन्ने खालको विचार जसको मनमा आउँछ, उनीहरु पनि कम्ता हिंसालु हैनन्। किनभने उनीहरुले पनि मनले हिंसा गरेका छन्। मनले हिंसा गर्नु र कर्मले हिंसा गर्नु- नतिजामा फरक भए पनि सार भने एउटै हो।
नेपालमा अहिलेसम्म आत्मघाती बम प्रयोग भएका छैनन्। अरु बमहरु पनि मान्छे मार्ने भन्दा तर्साउन बढी प्रयोग हुँदै आएका हुन्। विप्लवले पनि मान्छे मर्ने गरी बम पड्काएको त्यही एनसेलको घटनामा मात्रै हो अहिलेसम्म।
अर्को घटना भने आइतबार भयो। कसरी विस्फोट भयो भन्ने खुलिसकेको छैन। तर अहिलेसम्मको कुरा सुन्दा सुकेधारा, घट्टेकुलो र थानकोट तीनै ठाउँमा प्रेसर कुकर बम ओसार्न लाग्दा विस्फोट भएको बुझिएको छ।
समयको AM र PM को अलमलले १२ घण्टाअघि नै विस्फोट भएको भन्ने समाचार पनि आएका छन्। तर त्यसरी ठीक यति बजे नै पड्कने भनी टाइम नै सेट गर्ने खालको टाइम बम अहिलेसम्म आफूले नदेखेको सशस्त्र प्रहरीका एक डिस्पोजल सम्बन्धी ज्ञान भएकाले बताए। यति घण्टापछि विस्फोट हुने भनेर काउन्टडाउन टाइपको टाइमर भने सेट गर्न सकिने रहेछ।
जे जसो कारण भए पनि आफै मर्ने र घाइते हुने गरी बम पड्किएको भएर पनि विप्लवले कार्यकर्ताहरुलाई संवेदनशील विस्फोटक पदार्थ कसरी पड्काउने, कसरी सुरक्षित रुपमा ओसार्ने भन्ने बारे प्रशिक्षण नदिएको प्रष्ट भएको छ। कम्तिमा आफ्नै कार्यकर्ताको ज्यानको सुरक्षा भएमा मात्र आफ्नो भविष्य सुरक्षित हुन्छ भन्ने बुझ्नुपर्ने हो नेतृत्वले। देश बनाउने भनी ब्रेनवास गरिएका कार्यकर्ताहरुले त आफू रहे मात्र देश बनाउन सकिन्छ भन्ने बुझ्न अलि गाह्रै पर्ला। आफै मर्ने गरी बम ओसारेर एकीकृत जनक्रान्ति सफलल हुँदैन भन्ने कुरा उनीहरुलाई बुझाउने कसरी !