Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के खालको मौसम भविष्यवाणी हाम्रो? केही स्थानमा हावाहुरी आउने रे, कुन स्थान चाहिँ भन्न नसक्ने

Posted on May 11, 2019May 11, 2019 by Salokya


शनिबार साइकल चलाउन मन थियो। तर सोसल मिडिया यसो स्क्रोल गर्दा ‘मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना’ लेखेको देखेँ। नेसनल इमर्जेन्सी अपरेसन सेन्टरको ट्विटरबाट आएको ट्विटसँगै केही अनलाइनहरुमा यही शीर्षकमा समाचार देखिए। अहो, पानी पो पर्ने रहेछ। के साइकल चलाएर जानु जस्तो लाग्यो। के रहेछ भनेर सेन्टरको ट्विट खोलेर हेर्दा लेखिएको थियो- “दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। राति: देशभरि आंशिक देखि सामान्य बदलि रही केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।”

भो त अब, देशभरी भनेको देशका सबै ठाउँमा भन्ने त बुझियो। तर यो ‘केही स्थानहरु’ भनेको चाहिँ कहाँ रहेछ? स्थानै तोक्न नसक्ने भए केही स्थान भनेर हचुवा किन लेख्नु?

हावाहुरी भनेर देशैभर सतर्क हुने हो? कि केही स्थानमा मात्र हुने हो? केही स्थानमा हो भने कुन कुन स्थानमा सतर्क हुने हो?

केही पनि लेखिएकै छैन।

अनि यसको भर परेर भएन भन्ने लागेर accuweather सहित केही अन्तर्राष्ट्रिय मौसमका वेबसाइटको काठमाडौँको घण्टे पूर्वानुमान हेरेँ। दिउँसो ३ बजेतिर पानी पर्ने सम्भावना ४७ प्रतिशत देखियो। त्यस बाहेक अरु बेला निकै कम। साँझ ६/७ बजेदेखि त ० प्रतिशत रहेछ। त्यही आधारमा ल पानी नपर्ने रहेछ भन्ने ठानेर साइकलमै कुदियो।

आखिरमा पानी परेन पनि।

सेन्टरको ट्विट यस्तो थियो –

मेघ गर्जन, हावाहुरी सहित बर्षाको संभावना । pic.twitter.com/R9eGxmuOlP

— NEOC, MoHA Nepal (@NEOCOfficial) May 11, 2019

त्यो ट्विटमा संलग्न जानकारी चाहिँ मौसम पूर्वानुमान महाशाखाको रहेछ। तीन दिने मौसम पूर्वानुमानमा आइतबारकोमा लेखिएको थियो-

बैशाख २९ गते (आइतवार):

दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राति: देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

यहाँ पनि केही स्थान भनेर कुनै स्थान नतोकिएको रहेछ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्ममा कुन स्थानलाई केही स्थान भनेको?

त्यसैगरी सोमबारकोमा लेखिएको थियो-

बैशाख ३० गते (सोमबार ):

दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राति: देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

यसमा त झन् पश्चिमका थोरै स्थान र पूर्वका धेरै स्थान भनिएको रहेछ। पश्चिमका भनेका कुन कुन स्थान? थोरै भनेको कतिलाई थोरै भनिएको हो। अनि धेरै चाहिँ कतिलाई धेरै भनिएको हो? थोरै र धेरैको मापदण्ड के? यस्तो परम्परागत पाराले पनि कहीँ मौसम भविष्यवाणी हुन्छ?

पौने ६ बजेतिर ट्विटरमा भने ठाउँ तोकेर जानकारी आयो-

यतिबेला देशको दार्चुला, बैतडि, कास्कि,मनाङ, लमजुङ,संखुवासभा र ताप्लेजुङ आसपासका क्षेत्रहरुमा मेघ गर्जन,चट्याङ र हावाहुरी सहितको वर्षा भईरहेको छ र कास्कि-लमजुङ आसपासको वादल दक्षिण-पूर्व सर्ने क्रममा रहेको छ।ति क्षेत्रहरुमा सतर्कता अपनाउनुहोला। pic.twitter.com/idS3StccHw

— Nepal Weather Forecast (@DHM_Weather) May 11, 2019

1 thought on “के खालको मौसम भविष्यवाणी हाम्रो? केही स्थानमा हावाहुरी आउने रे, कुन स्थान चाहिँ भन्न नसक्ने”

  1. बासु says:
    May 12, 2019 at 10:46 pm

    ४० को दशकतिर हुनुपर्छ एकजना विशालनगरका …..बाबु ( उनको प्रकाशित पहिलो नाम बिर्सिएॅ) को गोरखापत्रको सम्पादकलाई चिठ्ठी स्तम्भमा दिनहुँ प्रकाशित हुन्थ्यो।
    एकदिन नेपालका मौसमविद्लाई ब्यङ्ग्य गर्दै ‘झ्यालबाट हेरेर मौसम अनुमान’ भन्ने शिर्षकको चिठ्ठी प्रकाशित भएपछि अहिलेको शब्दमा सो भनाई भाईरल भएको थियो।
    अझै पनि सोहि हाल छ हाम्रा मौसमविद्हरुका। बरा!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme