२०७६ सालको पहिलो दिन नै समिट एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटनाबाट सुरु भयो। यो दुर्घटनामा तीन जनाको मृत्यु भयो भने तीन जना घाइते भए। दुर्घटनाका केही अनौठा संयोग यस्ता छन्-
संयोग १ : समिट एयरको जुन विमान वैशाख १ गते दुर्घटना भएर कामै नलाग्ने भयो, त्यही अर्थात् 9N-AMH कल साइनको विमान अघिल्लो वर्ष अर्थात् २०७५ सालको वैशाख ३ गते पनि दुर्घटनाबाट जोगिएको थियो। त्यतिबेला काठमाडौँबाट १८ जना यात्रु लिएर उडेको विमान लुक्ला अवतरण गर्ने क्रममा प्राविधिक समस्यामा परेको थियो। ह्विल लक भएको विमान रनवेको दायाँ पट्टी चिप्लिएको थियो। घटनामा कसैलाई केही भएन। तर यो वर्ष भने यो विमान दुर्घटनाबाट जोगिन सकेन।
संयोग २ : को-पाइलटको मृत्यु, पाइलट जोगिए
दुर्घटनामा समिट एयरको विमानका को पाइलट सुजित ढुंगानाको मृत्यु भयो भने पाइलट रविन्द्रबहादुर रोकाया सामान्य औषधोपचारपछि आइतबार नै घर फर्किए।
संयोग ३ : लुक्लाको इतिहासकै ठूलो दुर्घटनामा पनि जोगिएका थिए पाइलट
लुक्ला विमानस्थलको इतिहासमा नै सबैभन्दा ठूलो मानवीय क्षति भएको दुर्घटना सन् २००८ को अक्टोबर ८ मा भएको थियो। यति एयरलाइन्सको 9N-AFE कलसाइनको ट्विनअटर विमान दुर्घटना भएर आगो लाग्दा त्यसमा सवार १८ यात्रु र चालक दलका सदस्यको मृत्यु भएको थियो। यो दुर्घटनामा जोगिने एक मात्र व्यक्ति पाइलट थिए।
संयोग ३ : ड्युटीमा रहेका दुई सुरक्षाकर्मीको गयो ज्यान
वैशाख १ गतेको दुर्घटनामा ज्यान गुमाउने अरु दुई जना भने विमानमा वा हेलिकप्टरमा रहेका नभई विमानस्थलमा ड्युटीमा रहेका सुरक्षाकर्मी थिए- असई रामबहादुर खड्का र असई रुद्रबहादुर श्रेष्ठ।
संयोग ४ : हेलिकप्टरका पाइलट घाइते
रनवेको दायाँ छेउमा रहेको हेलिकप्टर पार्किङ गर्ने ठाउँमा भर्खर ल्यान्ड भएको थियो मनाङ एयरको हेलिकप्टर। समिट एयर एक्कासी गुडेर जोतिन आउँदा हेलिकप्टर पनि कामै नलाग्ने गरी क्षति भयो। हेलिकप्टरका चालक चेतबहादुर गुरुङको काठमाडौँको अस्पतालमा उपचार भइरहेको छ भने हेलिकप्टरमै रहेका कर्मचारी लाक्पा शेर्पा भने सामान्य औषधोपचार पछि आइतबार नै घर फर्किसकेका छन्।
संयोग ५ : एयरहोस्टेस सकुशल
समिट एयरको दुर्घटना भएको विमानमा तीन जना मात्र थिए- पाइलट, को पाइलट र एयरहोस्टेस। सिजनको बेला लुक्लाबाट किन यात्रु नराखी खाली उडेको भन्ने लाग्यो होला तपाईँलाई। अहिले लुक्लामा पर्यटक आउनेको सिजन हो, फर्कनेको हैन। काठमाडौँमा बिहान ८ बजेपछि बल्ल विमानस्थल खुल्ने भएकोले अहिले लुक्लाका धेरै फ्लाइट रामेछापबाट हुने गरेको छ। जतिसक्दो छिटो यात्रु लुक्ला पुर्याउने अनि फर्किएर फेरि अर्को खेपमा पर्यटक लिएर आउने गरिएको थियो। त्यसै क्रममा रामेछाप जान लागेको विमानमा रहेका को पाइलटको मृत्यु भयो भने पाइलट घाइते भए। एयरहोस्टेसलाई भने केही पनि भएन।
संयोग ६ : समिटकै लुक्लामा भएको अर्को दुर्घटनामा पनि एयरहोस्टेस सकुशल
समिट एयरको लुक्लामै २७ मे, २०१७ मा कार्गो फ्लाइट अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो। विमानमा पाइलट पारसकुमार राई, को पाइलट सृजन मानन्धर र एयर होस्टेस प्रज्ञा महर्जन थिइन्। दुर्घटनापछि तीनै जनाको जीवित उद्दार गरिएकोमा पारस र सृजनको उपचारका क्रममा मृत्यु भयो। प्रज्ञाले भने मृत्युलाई जितिन्।
पढ्नुस प्रज्ञाबारे यो पुरानो स्टोरी : विमान दुर्घटनामा परेर पनि मृत्युलाई जितेकी एयरहोस्टेस प्रज्ञाको अठोट – ‘अझै माथि उड्छु’
संयोग ७ : लुक्लामा ११ दुर्घटना, सातमा मानवीय क्षति भएन
लुक्लामा सन् १९७३ यता अहिलेसम्म भएका ११ वटा दुर्घटनामा सात वटामा कुनै मानवीय क्षति भएन। बाँकी चार वटा दुर्घटनामा २६ जनाको मृत्यु भएको छ।