Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आतंक फैलाउने फेक न्युज राख्‍ने अनलाइनको झुक्याउने दाउ, डट कम र डट नेटको लफडा यस्तो रहेछ

Posted on March 23, 2019March 23, 2019 by Salokya


फागुन ३० गते प्रतिबन्धित नेकपा अर्थात् विप्लव समूहको नेपाल बन्द थियो। त्यो दिन एउटा अनलाइनले आतंक फैलाउने भ्रमपूर्ण खबर राख्यो। यसको स्क्रिनसट मैले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको फेसबुक पेजमा देखेँ। के रहेछ भनेर हेरेँ। फेसबुकलाई फेक न्युज भनेर रिपोर्ट पनि गरेँ। onlineaawaj.net वेबसाइटमा यो फेक न्युज राखिएको थियो। चैत ७ गते बिहीबार रुपन्देहीको प्रहरीले यही समाचार राखेको आरोपमा एक जनालाई पक्राउ गरेको खबर आयो। तर पक्राउ चाहिँ onlineaawaj.com का सहसम्पादक गौरव खनाललाई पो गरिएको रहेछ। .com र .net दुई फरक टप लेभल डोमेन हुन्। यो भनेको kantipur.net डोमेन नेममा कसैले फेक न्युज राख्यो भनेर कान्तिपुर पत्रिकाका सम्पादकलाई पक्राउ गरे जस्तै हो। भ्रमपूर्ण समाचार राखेको भन्दै कारबाही गर्न खोज्नेहरु आफै भ्रमित भएका हुन् त? खोज्दा फरक तथ्य देखियो।

समाचार छापिएको भोलिपल्ट चैत १ गते प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भ्रमपूर्ण समाचार राख्ने वेबसाइटलाई गैर जिम्मेवारीको निम्ति २४ घण्टे स्पष्टिकरण,कानूनी प्रावधान मिचेवापत वेबसाइट बन्ददेखि अफवाह फैलाएकोमा प्रशासनिक कार्वाहीको निम्ति सम्बन्धित निकायलाई लेखी पठाउनेसमेतको एकमुष्ट निर्णय सोही दिन कार्यान्वयनमा गएको जानकारी दिएका थिए।

त्यसलगत्तै onlineaawaj.com र onlineaawaj.net दुवै वेबसाइट पोर्न साइट जसरी नेपालका आइएसपीहरुमा ब्लक भए। कुनै पनि वेबसाइट बन्द गर्ने नगर्ने निर्णय कुनै व्यक्ति वा संस्थाको निर्णयमा भन्दा पनि अदालतको आदेशबाट गर्ने व्यवस्था भए हुन्थ्यो।

अनि यो सम्बन्धमा पक्राउ पनि गरियो। तर पक्राउ चाहिँ onlineaawaj.com कालाई पो गरिएछ।

onlineaawaj.com मा सम्पर्क व्यक्तिको रुपमा अध्यक्ष, सहसम्पादक र संवाददाताको नामसहित फोन नम्बरसमेत छ।

onlineaawaj.net मा भने सम्पर्क भनी कसैको नाम राखिएको छैन। तर वेबसाइटमा विज्ञापनका लागि सम्पर्क भनी राखिएको एउटा gif मा राज निरौलाको नाम खुलेको छ।

पोखराबाट पत्रकार रञ्जन अधिकारी क्षेत्रीले बिहानै डट कम र डट नेटको लफडाबारे आफ्नो अनलाइनमा राखेको समाचारको लिङ्क पठाउँदै मेसेन्जरमा भने, ‘डटकम र डटनेट एउटै त नहुनुपर्ने।’

पढ्नुस् उनको समाचार ‘अनलाइन आवाज डट नेट’ लाई गर्नुपर्ने कारबाही ‘अनलाइन आवाज डट कम’ लाई ? प्रहरीले नबुझेको कि फसाएको ? प्रेस काउन्सिलले निर्दोष छुटाउनुपर्छ, दोषीलाई कारबाही गर्नुपर्छ

onlineaawaj.com मा पनि अनलाइन आवाज डट नेट ले राखेको समाचारको कारण प्रहरीले अन्याय गरी अनलाइन आबाज डट कमका सह-सम्पादक पक्राउ (हेर्नुहोस प्रमाणसहित) शीर्षकमा समाचार राखिएको छ-

अनलाइन आवाज डट नेट(Onlineaawaj.net) र अनलाईन आवाज डट कम (onlineaawaj.com) फरक हुन । बुटवल बाट सञ्चालन भएको अनलाईन आवाज डट कमले त्यस्तो खालको समाचार कहिल्यै पनि राखेको छैन । यसको फेसबुक एकाउन्टमा अग्रेजीमा onlineaawaj अनलाईन आवाज डट कम रहेको छ । जुन समाचार उक्त फेसबुक एकाउन्ट बाट सेयर पनि गरिएको छैन ।

तर यसो इन्टरनेटमा खोजी हेर्दा भने फरक तथ्य फेला पर्‍यो।

फेक न्युज राखिएको Onlineaawaj.net मा राज निरौलाको नाम विज्ञापनका लागि सम्पर्कमा भेटिएको छ। त्यही वेबसाइटको मुन्तिर अनलाइन आवाज टिभी भन्दै युट्युब भिडियोको लिङ्क राखिएको छ

त्यो भिडियोमा क्लिक गरी हेर्दा त्यसमा आरएन प्रोडक्सन नामको च्यानलबाट भिडियो राखेको देखियो। युट्युबमा खोली हेर्दा फोटोसमेत देखियो-

भिडियोहरु हेर्दा उनी दुबईमा छन् जस्तो देखिन्छ। आरएनको अर्थ आरबाट राज एनबाट निरौला हुनसक्छ। यहाँ पनि राज निरौलाको लिङ्क जोडियो।

अब दुवै वेबसाइट फरक हुन् कि ती दुई बीच केही सम्बन्ध पनि छ भनेर खोजौँ भनेर whois search गरियो। यस्तो नतिजा आयो-

onlineaawaj.com राज निरौलाको नाममा दर्ता भएको देखियो। दर्ता मिति २०१६ अक्टोबर २७ मा देखिन्छ। त्यस्तै भ्रमपूर्ण समाचार राख्ने onlineaawaj.net पनि राज निरौला कै नाममा दर्ता भएको देखियो। डट नेट भने डट कमभन्दा पछि अर्थात् २०१८ अक्टोबर १ तारिखका दिन दर्ता भएको देखियो। दुवै वेबसाइटको दर्ता गर्नेको नाम र एडमिन नाम मात्र हैन, नेमसर्भर पनि एउटै छ।

डट नेटको दर्ता संस्थामा अनलाइनआवाज डट कमकै नाम राखिएको छ। ठेगाना शारजाहाको राखिएको छ।

डट नेट र डट कमको सम्बन्ध रहेको whois ले भने देखाइदियो।

यस्तै दुवैको लोगो पनि एउटै देखियो।

अनलाइनआवाज डट कम लेखिएको फेसबुक पेजबाट अनलाइनआवाज डट नेटमा प्रकाशित भ्रमपूर्ण समाचार सेयर गरेको आधारमा टेकेर अहिले खनाललाई प्रहरीले पक्रेर काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ। नेपाल भर जुनसुकै ठाउँमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाउनु पर्दा काठमाडौँ जिल्ला अदालत ल्याएर गर्नुपर्छ। किनभने यो ऐन अन्तर्गतको मुद्दा हेर्ने क्षेत्राधिकार काठमाडौँ जिल्ला अदालतलाई मात्र दिइएको छ।

आतंकित बनाउने फेक न्युज राख्ने डट नेट र डट कमबीचको सम्बन्ध पहिल्याएर जथाभावी सामाग्रीलाई न्युजको आवरणमा राखेर अनलाइनकै बेइज्जत गर्ने काममा सक्रिय मुख्य दोषी कारबाहीमा पर्लान् त?

1 thought on “आतंक फैलाउने फेक न्युज राख्‍ने अनलाइनको झुक्याउने दाउ, डट कम र डट नेटको लफडा यस्तो रहेछ”

  1. bijay says:
    March 23, 2019 at 6:53 am

    चिनी पनि धेरै भयो भने तितो हुन्छ भन्थे साचिकै रहेछ
    जो पनि पत्रकार, जसको पनि news site
    सत्य समाचार के हो भनेर समेत थाहा पाउन गाह्रो हुने अवस्था आउला जस्तो छ येस्तै भैरहने हो भने

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme