Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रचण्डलाई एफबिआईमा इमेल उजुरी, के हुनसक्ला यसबाट?

Posted on March 20, 2019March 20, 2019 by Salokya
अमेरिकामा प्रचण्ड। फोटो साभार : प्रचण्डको सचिवालय

प्रचण्ड आफ्नी श्रीमतीको उपचार गराउन अमेरिका पुगेको बेला मिडियामा एउटा खबर आयो- अमेरिकामा विद्यावारिधी गरी त्यहाँको केन्टकी स्टेट युनिभर्सिटीमा रिसर्च एसोसिएटका रुपमा कार्यरत तिलक श्रेष्ठले अमेरिकाको एफबीआईमा इमेलमा उजुरी दिएका छन्। सार्वजनिक भएको इमेलमा प्रचण्डलाई आतंकवादी भन्दै उनी अमेरिका आएको जानकारी मात्र गराइएको छैन, मलाई कहाँ उजुरी गर्ने थाहा छैन त्यही भएर सम्बन्धित ठाउँमा फरवार्ड गरिदिनुहोला भन्ने समेत लेखेका छन्।

के यो इमेलकै भरमा केही हुन्छ त? बारम्बार तपाईँहरुले सुनिरहनुभएको होला- अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ। अन्तर्राष्ट्रिय अदालतको ढोका ढकढकाउन जानेछौँ। के यो सम्भव छ त? आउनुस् यसबारे केही तथ्य जानौँ।

बारम्बार नेताहरुले, अधिकारकर्मीहरुले गरेका भाषणका कारण नेपालका अपराधीहरुलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउन पनि पाइँदो रहेछ भनेर सर्वसाधारणलाई पर्न सक्छ। तर वास्तवमा यो गलत कुरा हो। नेदरल्यान्डसको द हेगमा केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) कुनै पनि नेपालीविरुद्ध मुद्दा चलाउन सकिँदैन। नेपालमा भएका कुनै पनि घटनाको छानबिन गरी मुद्दा चलाएर दोषी वा निर्दोष ठहर गर्ने क्षेत्राधिकार अन्तर्राष्ट्रिय अदालतलाई छैन। किन ?

किनभने नेपालले अहिलेसम्म अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानको पक्षमा हस्ताक्षर गरेको छैन। रोम विधानको जगमा नै यो अदालत खडा भएको हो।

हस्ताक्षर नगरे पनि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले नेपाललाई सो अदालतमा पठाएको भए मुद्दा चल्न सक्थ्यो। तर त्यो पनि भएको छैन।

विश्वास गर्नुभएन ? त्यसो भए संयुक्त राष्ट्र संघ मानवअधिकार उच्चायुक्तको कार्यालयको यो रिपोर्ट पढ्नुस्। त्यसमा स्पष्ट भनिएको छ- नेपालमा द्वन्द्वकालमा भएका अपराध अन्तर्राष्ट्रिय फौजदारी अदालतको क्षेत्राधिकारभित्र पर्दैन।

अन्तर्राष्ट्रिय चासोका गम्भीर अपराधहरु जस्तै नरसंहार, मानवताविरोधी अपराध, युद्ध अपराधका लागि व्यक्तिहरुमाथि मुद्दा सुनुवाई गर्ने ठाउँ हो अन्तर्राष्ट्रिय अदालत। ६० देशले रोम विधानमा हस्ताक्षर गरेपछि सन् २००२ को १ जुलाईदेखि यो अदालत अस्तित्वमा आएको हो। अहिले रोम विधानमा हस्ताक्षर गर्ने देशहरुको संख्या १२३ पुगिसक्यो। तर छिमेकी देश चीन र भारतसहित नेपालले पनि यसमा हस्ताक्षर गरेको छैन। चीन र भारतले यसको विरोध पनि गर्दै आएको छ। हस्ताक्षर गर्ने राष्ट्रहरुको सूचि यहाँ हेर्नुस्।

हस्ताक्षर गर्ने १२३ देशहरुमा दक्षिण अमेरिकाका सबै देशहरु, युरोपका झण्डै सबै देशहरु र आधा जति अफ्रिकाका देशहरु छन्। रुससहित ३२ देशले हस्ताक्षर त गरेका छन् तर आफ्नो देशको संसदबाट त्यसलाई पारित गरेका छैनन्। अमेरिका, इजरायल र सुडानले भने आफू यो विधानको पक्षमा नरहेको बताइसकेका छन्। उनीहरुले अघिल्ला प्रतिनिधिहरुले गरेको हस्ताक्षरका कारण कुनै कानुनी बन्धन नरहने घोषणा पनि गरेका छन्। यसमा हस्ताक्षर नगर्ने ४१ देशमा नेपाल पनि पर्छ।

कर्णेल लामालाई चाहिँ किन समातेको त ?
कर्णेल कुमार लामालाई बेलायत सरकारले त्यहाँको कानुन अनुसार पक्रेको थियो। अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउन पक्रेको हैन। त्यहाँको कानुनमा यातना र युद्ध अपराधलाई विश्वव्यापी क्षेत्राधिकार (Universal Jurisdiction) अन्तर्गत राखेकोले जुनसुकै देशमा अपराध गरेको भए पनि पक्रन र त्यहीँको अदालतमा मुद्दा चलाउन मिल्छ। यस्तै कानुन बेलायतबाहेक
अस्ट्रेलिया, बेल्जियम, क्यानडा, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इजरायल, मलेसिया, स्पेन जस्ता देशहरुमा पनि छन्। युरोपेली देशहरुमध्ये सबैभन्दा कडा कानुन बेल्जियमको मानिने रहेछ। तर यस्तो क्षेत्राधिकार मान्ने र नमान्नेबीच चर्को बहस छ। Universal Jurisdiction भन्दै मलेसियाको युद्ध अपराधसम्बन्धी अदालतले तत्कालीन बेलायती प्रधानमन्त्री टोनी ब्लेयर र अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसलाई दोषी ठहर गरेको थियो सन् २०११ को नोभेम्बरमा।

Universal Jurisdiction को व्यवस्था भएका देशहरुले पनि अर्काको देशका नागरिकलाई जहाँ पायो त्यहीँ च्याप्प समात्न जाने हैन, त्यहाँको कानुनी व्यवस्था अनुसार कसैले त्यही देशमा उजुरी दिएमा र त्यही देशमा त्यो आरोपी भएमा समातेर मुद्दा चलाउने हो। कर्णेलको मामिलामा त्यही भएको हो। उनी मुद्दा चलेर छुटि पनि सके।

तपाईँलाई याद होला एकचोटी २०७३ सालमा अस्ट्रेलियामा जाने तयारीमा रहे पनि अन्तिम समयमा यस्तै उजुरी परेका कारण प्रचण्डको भ्रमण रद्द भएको थियो। अस्ट्रेलियामा Universal Jurisdiction छ।

Universal Jurisdiction को व्यवस्था भएका देशहरुमा उजुरी दर्ता गराउने मात्रै हैन कि अपराधीहरुलाई पनि समातेर त्यही देशमा पठाइदिए चाहिँ केही हुनसक्ला तर अमेरिकामा चाहिँ अर्को एउटा कारणले पनि गाह्रो छ।

अमेरिका र नेपालले bilateral immunity agreement गरेका छन्। सन् २००३ देखि यो लागू पनि भइसक्यो। यो सहमति अनुसार अन्तर्राष्ट्रिय अदालतले वान्टेड गरेको मान्छेलाई पनि त्यहाँ नपठाएर सम्बन्धित देशमा पठाउनु पर्छ। मानौँ नेपालले रोम विधानमा हस्ताक्षर गरेकै भए पनि अमेरिकाले अन्तर्राष्ट्रिय अदालतमा हैन नेपालमा फर्काउनु पर्छ। सहमतिले त्यसै भन्छ।

इमेलमा आतंकवादी भनिए पनि अमेरिकाले सन् २०१२ मै प्रचण्ड नेतृत्वको माओवादीम रहेको आतंकवादीको ट्याग हटाइसकेको थियो।

त्यो ट्याग नहट्दै बरु प्रधानमन्त्रीका रुपमा एकचोटी उनी संयुक्त राष्ट्र संघको सम्मेलनमा सहभागी हुन अमेरिका पुगिसकेका थिए।

त्यसैले त्यो इमेल खासमा प्रचारमा आउनकै लागि बाहेक अरु काममा आउने देखिन्न।

एउटा कल्पना भने गर्न सकिन्छ- प्रचण्डले भेनेजुएलाको पक्षमा वक्तव्य दिएका थिए, यही निहुँमा जाक्दिन्छ ट्रम्पले ! अहिलेलाई यही कल्पनामा रमाउन दिउँ।

8 thoughts on “प्रचण्डलाई एफबिआईमा इमेल उजुरी, के हुनसक्ला यसबाट?”

  1. Shankar says:
    March 21, 2019 at 2:50 am

    पहिले देखि ठुला ठुला पापी हरु ले पाप को उचित सजाय न पाएका देख्दा बा झन् येसो आरामको जिन्दगि बिताएको देख्दा मानिस ले पुनर्जन्म को कल्पना गरेको हुन् सक्छ र आर्को जन्म मा पाप को सजाय भोग्नु पर्छ भनिएको हुन् सक्छ |
    कसैलाई पुरा पापको सजाय भोग्न १ जन्म काफी न हुन् पनि सक्छ |
    मान्छे र प्रकृति नै हिसाब किताब मा बिस्वास गर्ने र चल्ने हुदा पाप को साजय को हिसाब किताब पनि त् होला नि |

    Reply
  2. Pingback: प्रचण्डलाई नो इन्भेस्टिगेसन सर्कुलर- हैन के रहेछ यो? खोज्दा कतै देखिएन त « Mysansar
  3. Sundar says:
    March 20, 2019 at 11:55 pm

    बीर अस्पतालमा जस्तै भीडभाड होला भनेर भातपनि नखाइ बिहानै लाइन बस्न जानुभएको जस्तो पो लाग्यो त मलाइ त। नाम लेखाउने काउंटर खुल्ने प्रतिक्षामा परिवारले फोटो पनि खिचाउन भ्याएछन्।

    Reply
  4. madan bajracharya says:
    March 20, 2019 at 9:19 pm

    दिल्ली सम्झौतानै निर्णायक मान्नेहरुले सबै उस्तै हुने पच्छिल्लो उदाहरण बनेकोछ प्रचंद्र/ प्रचंद्रले गरेको गल्तिको सजाय उसले नेपालीकै माझ पाउनु पर्छ र यस्तो गर्नु कुनै मुस्किल कार्य हुँदै होईन/ मात्र कसैले उसले दिल्ली सम्झौताको नालीमा फ्याकेको ४० बुंदे माग धोई पखाले पनि पुग्ने कुराको निमित किन अमेरिकाको यफबिआई गुहारेको होला?

    ४० बुंदे मागको निमित अपराध गर्नेलेनै ४० बुंदे मागलाई दिल्लीको नालीमा फ्याल्नेलाई जे गर्नु पर्छ त्यो गर्नेछ; अरुले केहि गर्नै पर्दैन/ तेसैले त् हो नि उ मावोबाद र मावोबादी बात टाढा टाढा हुँदै मावोबादी पार्टीनै पुरेर कहिले कांग्रेसी त् कहिले यमालेको नीतिको नकाव लगाउनेले “कसैले पनि उसको नक्कल नगरोस” भन्दै आयको/

    Reply
  5. prithvi narayan says:
    March 20, 2019 at 8:27 pm

    अमेरिका जहिले पनि फाइदा को राजनीति गर्छ, न्याय अन्याय सग खास मतलब गर्दैन, त्यो पनि अर्काको देश मा, प्रचण्ड ले असंख्य अपराध हरु गरेकै हुन् तर अमेरिकाको लागि प्रचण्ड कुनै तर्फ बाट पनि हानिकारक छैनन् भन्ने अमेरिकाले राम्रो सग बुझेको छ, प्रचण्ड ले त्यहा गएर टाइ सुट ढल्काएर भद्र भलाद्मी भएर एक एक नियम कानुन पालना गर्दै सबैको शरण पर्दै हिड्ने हुन् र अमेरिकाले अराएको जे पनि पनि मान्ने नै हुन् अनि किन समात्ने ?

    Reply
  6. Rabin shrestha says:
    March 20, 2019 at 7:24 pm

    लु मलाई चै बिश्वास लागेन है

    अबो पहिलो कुरा, कसैले FBI लै इमेल नै लेखेको हो भने पनि, त्यो इमेल कसरि सार्बजनिक भयो? इमेल गरेको प्रमाण कि त इमेल गर्ने संग हुन्छ कि त FBI संग. आबो त्यो दुइ मा कसले पो इमेल सार्बजनिक गर्यो होला त? कि कसैले इमेल हैक गर्यो? कस्तो पत्योउनै गारो कुरा..

    अर्को कुरा, अबो एक जना ले इमेल लेखेको भर मा FBI ले समात्छ होला त?

    काग ले कान लग्यो भन्दा काग को पछि पछि दगुर्ने, भनेको येस्तै हो…

    Reply
    1. Salokya says:
      March 20, 2019 at 7:32 pm

      इमेल त गर्ने मान्छेले नै प्रचार गरेको होला नि। यसमा विश्वास नलाग्नु पर्ने कुरा के छ र।

      Reply
  7. कमल says:
    March 20, 2019 at 9:55 am

    सेनाका बहालवाला कर्नेल कुमार लामालाई जेलमा जाक्ने कथित मानवअधिकारवादी मन्दिरा शर्मा यसबेला कता गई?
    १७,६०० महाकाण्डका नायके प्रचण्डका सहयात्री बाबुराम भट्टराई अस्ति मात्र बेलायत, अमेरिका मज्जाले घुमेर पनि फर्किए|
    यसमा पनि जातपात कै विभेदको खेल हो कि के हो?
    एउटा मनले लाग्छ Let bygones be bygones. नेपालीले शान्ति र मेल मिलापको बाटो रोजीसके|
    अर्को मनले सोच्छु, भविष्यमा फेरि कसैले यस्तो धृष्टता नगरोस, त्यै भएर द्वन्दका जिम्मेवारी (सेना, प्रहरी, सरकार र माओवादी) सबैलाई कारवाही हुनपर्छ| उक्त कारवाहीको पहिलो पाइलो भनेको आधा मात्र शंका भएको व्यक्तिलाई कुनै विभेद नगरी कारवाही गरिन पर्छ| विभेद नगरी भन्नाले जुन बेला आफुलाई पायक पर्दैन त्यो बेला मात्र कारवाही गर्ने पासो अघि बढाउने होइन| रायमाझी आयोगले किटेका व्यक्तिहरुको नामावली फेरी प्रकाशमा ल्याइन पर्छ|
    पश्चिमा मुलुकहरु सांचै गम्भीर छन् भने त्यस्ता संदिग्ध व्यक्तिहरु र उनीहरुका सम्बन्धितलाई भिसा रोक्का गरिन पर्छ| सम्बन्धित किन? जजस्ले उक्त व्यक्तिहरुका जागिरबाट फायदा उठाएका छन् वा लाभान्वित भएका छन|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme