Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजका खबर : विप्लवलाई प्रतिबन्धको निर्णय र विप्लवको ओली, प्रचण्डलाई मार्ने माइन्युट दस्तावेज सार्वजनिक

Posted on March 14, 2019March 15, 2019 by Salokya

आज फागुन ३० गते। आज पनि विप्लवको विषय नै मुख्य चर्चामा रह्यो। आज विप्लवले नेपाल बन्दको घोषणा गरेको थियो। सरकारले प्रतिबन्ध लगाउनुभन्दा अघि नै घोषणा गरिएको यो कार्यक्रमको आंशिक प्रभावमात्र काठमाडौँमा पर्‍यो। सवारी साधनहरु प्रशस्त चलेका थिए। सार्वजनिक सवारी साधन चाहिँ अलि कम चले। पसलहरु खुलेका थिए। आजै विप्लवले सरकारी प्रतिबन्धबारे विज्ञप्ति निकालेर केपी-बादल कम्पनीले दमन गरे मुखतोड प्रतिरोध गर्ने चेतावनी दिएको छ। आजै सरकारका प्रवक्ताले प्रतिबन्धबारे औपचारिक जानकारी पनि दिएका छन्।

पत्रकार सम्मेलन । https://t.co/5Yh0ik5jVu

— Gokul Prasad Baskota (@GokulPBaskota) March 14, 2019

प्रतिबन्ध बारे सरकारी निर्णयको भाषा यस्तो छ-

विप्लव समूह भनेर चिनिने नेपाल कम्युनिष्ट पार्टी नामको समूहद्वारा सञ्चालन गरिने गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने वा सहयोग पु-याउने व्यक्ति, संस्था वा समूहलाई आपराधिक तथा विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानुनबमोजिम कारवाही गरिने निर्णय गरिएको छ। त्यसैगरी अवैध हातहतियार तथा खरखजानाको नियन्त्रण गर्न सूचना जारी गर्ने निर्णय गरिएको छ।

प्रचलित कानुन भनेको कुन भनेर प्रश्न सोध्दा सरकारका प्रवक्ताले संगठित अपराधसम्बन्धी ऐन भएको बताए।

आजको अर्को चर्चित खबर रह्यो- प्रचण्डले आफूलाई मार्न विप्लवहरुले माइन्युट नै गरेको र मान्छे खटाएको भनी पेरिसडाँडामा आयोजित कार्यक्रममा बोलेको। यसबारे भिडियोसहितको समाचार ‘विप्लवहरुले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर टिम खटाउनुभएको थाहा पाएँ, मलाई मारेर यो परिवर्तन बच्छ?’शीर्षकमा पहिलोपोस्टमा छ।

नेपालखबरले यो माइन्युटको भनी दावी गरिएको कागजातसहितको समाचार राखेको छ- ओली–प्रचण्डको ‘हत्या योजना’ खुलेपछि विप्लव समूहमाथि प्रतिबन्ध? (दस्तावेज) शीर्षकमा। विप्लव समूहको केन्द्रीय समितिको बैठक ६,७ र ८ असार २०७५ मा बसेको थियो। २२ साउनमा प्रवक्ता प्रकाण्ड हेटौँडाबाट काठमाडौँ आउने क्रममा फर्पिङमा पक्राउ परे। प्रकाण्डलाई पक्राउ गरे लगत्तै प्रहरीले कपनस्थित उनको कोठामा छापा मार्दा प्रकाण्डको डायरी बरामद गरेको थियो। त्यही डायरीमा कोड भाषा प्रयोग गरेर विभिन्न खालका कार्वाहीका योजना उल्लेख गरिएकामा ओली र प्रचण्डको ‘सेवोटेज’ गर्ने उल्लेख छ। यसमा कांग्रेस सभापति देउवाको पनि नाम छ। यसैलाई प्रहरीले ‘हत्या गर्ने योजना’ भनेर अर्थ्याएको नेपालखबरको समाचारमा छ।

नेपालखबरले सरकार झस्काउने प्रकाण्डको त्यो डायरी (दस्तावेजसहित) शीर्षकमा अर्को समाचार पनि राखेको छ जसमा ‘एकीकृत जनक्रान्ति’ मुख्य कार्यदिशा बनाउने निर्णय गरेको छ। यसका लागि ‘जनसेना विभाग’ गठन गर्ने तथा ‘जनमुक्ति सेना’ भर्ना, तालिम र बन्दोबस्ती प्रभावकारी बनाउने उल्लेख भएको भनिएको छ।

अनलाइनखबरले निर्मला प्रकरणमा निर्मलाकी आमा दुर्गादेवीले प्रहरीले पहिले अभियुक्त भनी पक्राउ गरेका तर डिएनए नमिलेको भन्दै छुटेका दीलिपसिंह विष्टलाई प्रहरीले पुनः पक्राउ गर्नुपर्ने र जेल हाल्नुपर्ने बताएको समाचार राखेको छ। विष्टले हिरासतमा परेका बेला प्रहरीलाई दिएको साविति वयानको भिडियो हेरेपछि आफू यस्तो निष्कर्षमा पुगेको उनको भनाई छ।

यो प्रकरणको अनुसन्धानमा लापरबाही गरेको आरोप लागेका ६ प्रहरीलाई धरौटीमा रिहा गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको खबर पहिलोपोस्टमा छ। अदालतले इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का र डिएसपी ज्ञानबहादुर सेतीलाइ ९ लाख रुपैयाँ, इन्सपेक्टर जगदिशप्रसाद भट्टलाई ४ लाख, सोको (सिन अफ क्राइम) अफिसर सई हरसिंह धामीलाई ३ लाख ५० हजार, स्थायी प्रहरी पोस्ट सालघारीका इन्चार्ज सई रामसिंह धामीलाई ३ लाख, जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको हो।

मधेस भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्रलाई हेर्न सर्लाहीको मलंगवामा सर्वसाधारणको घुइँचो भएको फोटोसहितको समाचार पहिलोपोस्टमा छ। अनलाइनखबरले पनि ‘राजावादी उभार’ देखेर ज्ञानेन्द्र मख्ख ! शीर्षकमा समाचार राखेको छ।

देशसञ्चारले बन्दकर्ताको निसानामा पर्ने डरले निजामती कर्मचारीहरु बिहीबार तोकिएको पोशाक बिना सिंहदरबारस्थित विभिन्‍न मन्त्रालय/कार्यालयमा उपस्थित भएको समाचार राखेको छ।

जनकपुरमै रहेका सिके राउतले अहिलेको स्वतन्त्र मधेश परिषद्को बैठक बोलाएर त्यसलाई कायम राखेर अर्को राजनीतिक दल गठनको प्रस्ताव गर्ने र त्यो सम्पूर्ण राजनीतिक कार्यक्रममा सक्रिय हुँदै स्थानीय तहको निर्वाचनदेखि सङ्घीय संसद्को निर्वाचनसम्म सहभागी हुने र वडातहसम्म कार्यालय स्थापना र सङ्गठन विस्तार गर्ने तयारी गरेको खबर पहिलोपोस्टमा छ।

अनलाइनखबरले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अन्तर्वार्ता राखेको छ जसमा उनले भनेका छन्- सिके राउत अहिले दोधारमा फसेका छन् । फ्री मधेसको मुद्दा छाडे भने उनका कार्यकर्ताले छाडेर भाग्छन् । यसको पक्षमा छु भनेपछि राज्य जाग्छ । उनको अवस्था ‘खाउँ भने दिनभरिको शिकार, नखाउँ भने कान्छा बाउको अनुहार’ जस्तो भएको छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme