Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजकै दिन भएको थियो एमाले-माओवादी एकताको सात बूँदे सहमति, बालुवाटारबाटै हराएको थियो बूँदा नम्बर ६

Posted on February 19, 2019 by Salokya

एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि आजकै दिन अर्थात् फागुन ७ गते सात बूँदे सहमति भएको थियो। त्यसमा एउटा बूँदा बीचैमा गायब भएको थियो। गायब भएको बूँदाको सट्टामा अर्को बूँदा थपिएको थियो। खासमा प्रचण्ड र प्रधानमन्त्री ओलीले सात बूँदे सहमतिमा ठीक साढे १० बजे हस्ताक्षर गरेका थिए एमाले नेता प्रदीप ज्ञवालीका अनुसार। राति ठीक १० बजेर ५९ मिनेटमा प्रचण्डको आधिकारिक वेबसाइट र ट्विटरमा यो सहमतिका बूँदाहरु सार्वजनिक भयो। यो विषयमा सहमति हुने भनेर लगभग कुरा भइसकेको होला। त्यसैले शायद् यसको टेक्स्ट पनि प्रचण्डको टिमसित थियो होला। हस्ताक्षर भयो भन्ने बित्तिकै त्यही सहमति होला भन्ठानेर उनीहरुले १० बजेर ५९ मिनेटमा त्यो वेबसाइटमा अपडेट गरिदिए र ट्विट गरिदिए। तर हस्ताक्षर भएको कागजमा भने सात बूँदा त सात बूँदा नै थियो, एउटा बूँदा भने हराएर अर्कै बूँदा त्यसको साटो थपिएको थियो।

यस्तो थियो प्रचण्डको वेबसाइटमा पहिले सार्वजनिक भएको सात बूँदे समझदारी-

काठमाडौं, फागुन ७ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताको ऐतिहासिक समझदारी भएको छ। नेपाली जनताको समृद्धिको चाहना र समाजवादको आधार तयार पार्ने महान उद्देश्यसहित गत असौज १७ गतेदेखि शुरु भएको एकता प्रक्रियामा आज समझदारी जुटेको हो। यो बीचमा पार्टीको वैचारिक कार्यदिशा, नेतृत्व, संगठनात्मक एकीकरणको प्रक्रिया लगायतका विषयमा दर्जनौपटक दुबै दलबीच बिभिन्न तह र चरणमा छलफल सम्पन्न भएको थियो। दुबै दलले एकता प्रक्रियामा सहमति निर्माण गर्न दुबै अध्यक्ष रहने पार्टी एकता संयोजन समिति गठन गरेका थिए।

आज बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकल सात बुँदे समझदारी गरेको छ।
१) एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।
२) पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहने छ ।
३) ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।
४. नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।
५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।
६. महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षद्वारा आलोपालो प्रणालीबाट गरिने छ । र सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणाली अपनाइने छ ।
७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।

यस्तो थियो बालुवाटारमा हस्ताक्षर भएको समझदारी-

तपाईँले देख्नुभयो होला यी दुई वटा समझदारी मध्ये ६ नम्बरको बूँदामा ‘महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षद्वारा आलोपालो प्रणालीबाट गरिने छ । र सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणाली अपनाइने’ उल्लेख थियो सुरुमा सार्वजनिक हुँदा। हस्ताक्षर भएको समझदारीमा भने ६ नम्बरको बूँदामा ‘प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै समाजिक आर्थिक रुपान्तरण मार्फत् समाजवादका आधार निमार्ण गरिनेछ’ लेखिएको छ।

आलोपालो गर्ने भन्ने कुरा यसअघि पनि सार्वजनिक भइसकेको हो। तर चुनावमा स्थिर सरकारको नारा लिएर गएको वाम गठबन्धनले सहमतिमै आलोपालो उल्लेख गर्दा आलोचनाको शिकार बन्नुपर्ने भयले हुनसक्छ लिखित सहमति भएन। तर भद्र सहमति भएको कुरा भने प्रचण्डले बालुवाटारबाट बाहिरिँदा सार्वजनिक गरे। उनले दुवै दलका अध्यक्ष एकता महाधिवेशनसम्म रहने प्रष्टै भएको बताए। पार्टीका बैठकहरुमा पालैपालो अध्यक्षता गर्ने पनि खुलाए। आलोपालो प्रधानमन्त्रीको विषयमा भने उनी हाँसे मात्रै। हाँसेर हो भन्ने संकेत गरे। यसअघि चितवनमा भाषण गर्दा उनले आफू ढिलोचाँडो प्रधानमन्त्री बन्ने भनिसकेका थिए।

संविधान बनिसकेपछि माओवादीको सहयोगमा केपी ओली प्रधानमन्त्री भएका थिए। त्यतिबेला पनि आलोपालोमा भद्र सहमति भएको भनिएको थियो। लिखित नभएकोले केपी ओलीको सरकारलाई अविश्वास प्रस्ताव ल्याएर प्रचण्डले राजीनामा दिन बाध्य पारेका थिए। यसपालि पनि लिखित भएको छैन। भविष्यमा के हुने हो, कुरौँ। भर्खर त एक वर्ष भयो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme