नाम सुनिरहेको तर कहिल्यै नगएको जिल्ला थियो खोटाङ। गएको हप्ता त्यहाँ जाने मौका पाइयो। तर सदरमुकाम दिक्तेल भने गइएन। शुक्रबार र शनिबार खोटाङको जालपामा उल्लु उत्सव भएको थियो। आठौँ पटक यस्तो उत्सव हुँदा पहिलो पटक हेर्न गइयो। के हुँदो रैछ त उल्लु उत्सवमा हेर्न पाइयो। रमाइलो हुँदो रैछ, जता हेर्यो उतै उल्लु। उल्लु नै उल्लु। आफै उल्लु भए जस्तो लाग्ने। तर उल्लुको बारेमा धेरै जानकारी पनि पाइयो। त्योभन्दा गजब लाग्यो- त्यो ठाउँको बारेमा बुझ्न पाउनु। त्यहाँको संस्कृति र लोप हुन लागेका खेल र बाजाहरुको बारेमा जानकारी पाउनु।
प्रकृतिका साथीहरु संस्थासँग आवद्ध राजु आचार्यले धेरै पहिलेदेखि नै माइसंसारमा ब्लग पठाउने गर्थे। वाइल्डलाइफ सम्बन्धी समाचार लेख्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा भएको एउटा तालिममा पहिलो पटक आचार्यसित प्रत्यक्ष भेट भयो। त्यतिबेला नै यो लाटोकोसेरो उत्सवको बारेमा जानकारी पाइएको थियो। तर उत्सवमा जाने अवसर भने जुरेन। हरेक वर्ष फेब्रुअरीको पहिलो शुक्रबार र शनिबार हुने उत्सव यस पटक खोटाङमा हुन लागेको जानकारी पाए पनि जाने मौका जुर्ने हो कि नजुर्ने निश्चित थिएन। जान पनि के भनेर जाने, उल्लु उत्सवमा जान लागेको भनेर भन्यो भने आफैलाई उल्लु भन्लान्!
अन्यौलकै बीच बिहीबार बिहान सबेरै जिप चढ्न तीनकुने पुगियो। १२ घण्टाको यात्रापछि खोटाङको जालपा पुगियो। विक्रम राईको घरमा बसियो। परिवार रमाइलो। राई संस्कृतिको बारेमा धेरै कुरा बुझियो। गाउँ पनि अर्ग्यानिक गाउँ रहेछ- २० वर्षदेखि रासायनिक मल नभित्रिएको !
शुक्रबार उल्लु उत्सवको उद्घाटन भयो। उद्घाटनका लागि आएका थिए प्रतिनिधि सभाका सांसद विशाल भट्टराई। राईहरुको बस्तीमा भट्टराई भएका रहेछन् सांसद। मान्छे कति धेरै भेला भएका !
बालबालिकाको अनुहारमा उल्लुको चित्र। युवायुवतीको अनुहारमा उल्लुचित्र। वडाध्यक्षको अनुहारमा समेत आधा उल्लुको चित्र रङ लगाइएको थियो। अधवैँशेको अनुहारमा पनि उल्लुचित्र। नङमा समेत उल्लु चित्र। उल्लुको म्युजियम। यान्त्रिक अर्थात् रोबोट उल्लु। उल्लुको ‘डार्ट गेम’, डार्ट हान्दा उल्लुको चित्रमा पर्यो भने जरिवाना तिर्नुपर्ने।
उल्लुबारे कथा, उल्लुकै कविता। गीत पनि उल्लुकै। ‘झम्के गुलेली’ को लयमा गाइँदै थियो उल्लुको महिमागान।
जताततै उल्लु नै उल्लु !
शुक्रबार र शनिबार खोटाङ जिल्लाको जालपामा रहेको जालपा माध्यमिक विद्यालय प्राङ्गण वरपरको दृश्य उल्लुमय थियो।