कञ्चनपुरमा १३ वर्षीया किशोरीको बलात्कार तथा हत्या प्रकरण किन यति विघ्न चर्कियो? के छ यसमा कारण? महेन्द्रनगरबाट फर्किएपछि पहिलोपोस्टका लागि #WhoKilledNirmala शृङ्खलामा लेखिरहेको छु। यसको आठौँ र नवौँ भागको सारांश। यो काण्ड यति धेरै चर्किनुका अरु विभिन्न कारण छन्। तर प्रहरी, गृहमन्त्री र प्रधानमन्त्रीका यी गल्ती चाहिँ सबभन्दा बढी देखिएका छन्।
१) स्थानीय प्रहरीले सुरुमै रेस्पन्स सही नगर्नु
छोरी घर नफर्किएपछि निर्मलाकी आमा दुर्गादेवी पन्त छोरीको साथीको घरमा दुई पटक जान्छिन्। साँझ ६ बजेतिर एक्लै र ७ बजेतिर छिमेकी लक्ष्मण भट्टसँग। तर, दुवै पटक दिउँसो नै घरबाट गइसकेको जवाफ पाउँछिन्। तर, घर पुगेकी हुँदिनन् निर्मला। त्यसपछि निर्मलाकी आमा प्रहरीको सहयोग खोज्न जान्छिन्। अस्थायी प्रहरी पोस्ट सल्लाघारीमा रिपोर्ट दिन पुग्दा मध्यरात भइसकेको थियो। ‘राति साढे १२ बजेतिर निर्मलाकी आमा आफै आएर घटनाबारे जानकारी गराएको हो,’यो प्रहरी चौकीका इन्चार्ज सई रामसिंह धामीले समितिलाई बताएका छन्, ‘रातिमा केटी मान्छेमात्र बसेको ठाउँमा जान नसकिने, भोलि बिहान जाउँला भनी पठाएको हुँ।’
प्रहरीले यो बिन्दुबाटै पीडितको विश्वास गुमाउन थालिसकेको थियो। धामीको बयानबाट निर्मलाकी आमाले बम दिदीबहिनीको घरमा गएर हेरिदिनु पर्यो भन्दै गुहारेको झैँ देखिन्छ। महिलामात्र बसेको घर भए महिला प्रहरी लिएर वा छरछिमेकीमार्फत् त्यो घरभित्र हेरिदिएको मात्र भए पनि पीडितको विश्वास जित्न सकिन्थ्यो।
निर्मलाको घर पर्ने वडा प्रहरी कार्यालयका इञ्चार्ज इन्सपेक्टर जगदीश भट्टले पनि गरे। भट्टको घर पनि सोही वडामा छ। उनले राति ८ बजे नै निर्मला हराएको खबर पाएका थिए। तर, चासो लिएको देखिन्न। गृह मन्त्रालयले गठन गरेको समितिको प्रतिवेदनमा उनले भनेका छन्, ‘बिहान शव भेटिएर खबर पाएपछि मात्र घटनास्थल पुगेको हुँ।’
२) एसपी विष्टको फितलो कमान्ड
कञ्चनपुर जिल्लाको जिम्मेवारी सम्हालिरहेका एसपी विष्टको कमान्ड यति फितलो थियो कि उनकै कार्यालयमा रहेका जुनियर प्रहरीहरुको समेत विश्वास उनले जित्न सकेका थिएनन्। उनका कतिपय अन्तरङ्ग कुरा त उनकै कार्यालयबाट उनकै मातहतका कर्मचारीबाट बाहिरिएको पाइएको छ। दिल्लीराज विष्टको कार्यालयको दूरी निर्मलाको शव भेटिएको ठाउँबाट करिब तीन किलोमिटर मात्रै छ। तर, पनि उनी घटनास्थलमा चार दिनपछि मात्रै पुगे। घटनास्थलबाट नजिकै रहेको निर्मलाको घरमा परिवारलाई भेट्न पनि उनी पुगेनन्।
३) घटनास्थलको भिडियोले प्रहरीको कमजोरी छताछुल्ल
फोटो र भिडियोले घटनास्थलको अनुसन्धानमा प्रहरी कति कमजोर रहेछ भन्ने छरपष्टै पार्यो। घटनास्थलमा सिन अफ क्राइम (सोको अफिसर) खटिने गर्छ। नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग (सिआइडी) मातहत सोको अफिसर रहने गर्छ। नेपाल प्रहरीले प्रत्येक अपराध अनुसन्धान गर्ने एकाईमा सोको अफिसर, प्रमाण संकलन गर्न सोको किट बक्सको समेत व्यवस्था गरेको छ। तर, भिडियो हेरेपछि प्रष्ट हुन्छ- यसको व्यवहारिक प्रयोग कति भयो?
घटनास्थलमा क्राइम सिन प्रोटेक्सन (पहेँलो) टेप लगाएर प्रवेश निषेध गर्नुपर्ने हो। त्यो छैन भने डोरी नै बाँधेर भए पनि सुरक्षित बनाउनु पर्ने हो, त्यसो गरेको देखिएको छैन। प्रहरी र सर्वसाधारण सँगसँगै उभिएर ‘तमासा हेरे जस्तो’ देखिएको छ। अझ घोप्टो अवस्थामा फेला परेको निर्मलाको शवलाई उत्तानो पार्दा गुप्ताङ छोप्न शवकै छेउमा भेटिएको उनको सुरुवाल प्रयोग गरिएको छ। त्यो पनि पानीमा चोपल्दै। सोको अफिसर हरसिंह धामी गृह मन्त्रालयको छानबिन समितिलाई भन्छन्,‘मैले त्यसो गरेको देखिनँ।’प्रमाण संकलन र घटनास्थल संरक्षणमा तालिम पटक्कै छैन भन्ने गतिलो प्रमाण यो भिडियो नै छ।
४) आइजी सर्वेन्द्र खनालको कमजोरी
एसपी विष्टमाथि अनुसन्धानमा लापरबाही गरेको र जिम्मेवारी नसम्हालेको मात्र आरोप थियो। तर, उनले आफ्नै एसपीको पनि डिएनए चेक गराउन लगाए। निर्मलाको भेजिनल स्वाबमा भेटिएको पुरुष वीर्यको डिएनएसित अरु डिएनए म्याच हुन्छ कि हुँदैन परीक्षण गरिएको हो। यस अनुसार बलात्कारमा संलग्न भएको हुनसक्नेको मात्र डिएनए परीक्षण गर्नुपर्ने हो। अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका एसपीलाई कानुन अनुसार विभागीय कारबाही गर्नुको साटो उनले शंकास्पद अभियुक्तका रुपमा डिएनए नै परीक्षण गर्न लगाए।
अपराधको अनुसन्धानमा अरु प्रमाणहरु भेटिएपछि वैज्ञानिक पुष्टिका लागि मात्र डिएनए चेक गराउनु पर्ने हो। तर, भिडको मागकै भरमा एसपी विष्टमात्र हैन, एसपी विष्टका छोरा किरण विष्ट र मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको पनि डिएनए चेक गरियो। बलात्कारको एउटै घटनामा बाबुछोरा दुवैको डिएनए चेक गरियो। चार महिनासम्म निर्मला प्रकरणमा प्रहरीको भूमिकाबारे चर्को आलोचना भइरहँदा प्रहरी हेडक्वार्टरले औपचारिक रुपमा कुनै जानकारी दिन जरुरी ठानेन। हेडक्वार्टरले अनुसन्धानबारे औपचारिक रुपमा प्रष्ट नपार्दा हल्ला र ‘रे’ ले बजार लिइरह्यो। सर्वसाधारण प्रहरीको आलोचना गर्दै थिए, आइजीले त्यसैमा हो मा हो मिलाउँदै आफ्नै सङ्गठनका व्यक्तिलाई ‘धमिरा’सम्म भन्न भ्याए। पपुलिष्ट भाषणमा नै उनी रमाए।
५) अनुभवहीन गृहमन्त्री
शव भेटिएको पर्सिपल्ट प्रतिनिधि सभामा कांग्रेसलगायत प्रतिपक्षी सांसदहरुले घटनाबारे गृहमन्त्रीले जानकारी गराउनु पर्ने माग गरिरहँदा कञ्चनपुरबाट निर्वाचित सत्तारुढ नेकपाका सांसद दीपकप्रकाश भट्टले उनीहरुलाई ‘लाशमाथि राजनीति गरेको’ आरोप लगाए। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले त्यसको पाँच दिनपछि संसदमा घटनाबारे जानकारी गराउँदै भने, ‘आफन्तले दिएको जानकारीका आधारमा दुई जनालाई पक्रिसकेका छौं- २२ वर्षका जीवन घर्ती मगर र १७ वर्षका दीपक नेगी।’ गृहमन्त्रीले पहिलो गल्ती त्यहीँ गरे। शंकाका आधारमा नियन्त्रणमा लिइएकालाई संसदको रोष्ट्रमबाट उनले अभियुक्त बनाइदिए।
पछि थाहा भयो, गृह मन्त्रीले अभियुक्त भनेर चिनाएका एक जना यौन रोगी र अर्का ‘खुकुरी हानेर निर्मलालाई मारेको हुँ’ भन्ने मानसिक सन्तुलन ठीक नभएका व्यक्ति रहेछन्। घटनामा संलग्न नभएको देखिएपछि उनीहरु रिहा त भए तर सरकारले नक्कली अपराधी खडा गर्ने प्रयास गरिरहेको सन्देश गृहमन्त्रीको त्यही वक्तव्यले दियो।
गृहमन्त्रीले असोज १० गते राज्य व्यवस्था समितिको बैठकमा दिएको अभिव्यक्तिले पनि अनुसन्धानमा झनै शंका उब्जायो। उनले प्रहरीले निर्मलाका बुबाको नक्कली औँठाछाप लिएको ‘खुलासा’ गरे।
भएको के थियो भने जुन दिन निर्मलाको शव भेटिएको थियो, त्यतिबेला निर्मलाका बुबा यज्ञराज पन्त कान्छी श्रीमतीका साथ नेपाल बाहिर थिए। साउन १२ गते यज्ञराज फर्किएपछि प्रहरीले उनलाई सनाखती मुचुल्कामा हस्ताक्षर गर्न लगायो जसको मिति भने अघिल्लो दिन अर्थात् साउन ११ गतेको थियो। सनाखती मुचुल्का भनेको घटनास्थलमा भेटिएका सामानहरु सम्बन्धित व्यक्तिकै हो कि होइन भनी गरिने सनाखत हो जुन जतिबेला गर्दा पनि हुने विषय हो। यज्ञराजले हस्ताक्षरकै मुनि मिति लेखिदिएको भए यति धेरै शंका गर्नुपर्ने थिएन। गृहमन्त्रीले सनाखती मुचुल्का भनेको के हो भन्ने मात्र बुझिदिएको भए पनि संसदीय समितिमा यो विषय उठाउनै पर्ने थिएन।
६) निजामती कर्मचारीको नेतृत्वमा उच्चस्तरीय छानबिन टोली गठन
यस्ता जघन्य प्रकृतिका अपराधको अनुसन्धानका लागि कि त न्याय क्षेत्रबाट कि अनुभवी प्रहरी अधिकृतबाट नेतृत्व गर्नुपर्ने चलिआएको अभ्यास विपरीत उनले यो समितिको नेतृत्व निजामती कर्मचारीलाई सुम्पिए। गृहमन्त्रीले बहुचर्चित ३३ किलो सुनकान्डको छानबिन पहिलो पटक निजामती कर्मचारीको नेतृत्वमा अनुसन्धान गर्न लगाएका थिए जसले न ३३ किलो सुन कहाँ गयो भन्ने पत्ता लगाउन सकेको थियो, न सुन मगाउने को हो भन्ने नै। बयान संकलनको ठेलीसहितको प्रतिवेदन कति हचुवा रहेछ भन्ने अदालतबाट प्रमाणको अभावमा अभियुक्तहरु धमाधम छुटेपछि प्रष्ट भयो। तर त्यसबाट समेत नचेती गृहमन्त्रीले दोस्रो पटक पनि निजामति कर्मचारीलाई नै यो घटनाको छानबिन गर्ने जिम्मा सुम्पिए।
७) छानबिन समितिका सदस्यको ‘प्रोपोगान्डा’
गृहमन्त्री बादलले सार्वजनिक रुपमा भन्दै हिँडे – ‘छानबिन हुँदैछ, निर्मलाको हत्यारा चाँडै पत्ता लाग्छ।’ सबैलाई लाग्यो- यही समितिले अपराधी पत्ता लगाउँछ। त्यहाँमाथि समितिका एक सदस्य उप-सचिव वीरेन्द्र केसीले जस्तो प्रोपोगान्डा गरे, त्यसपछि त सबैलाई लाग्न थाल्यो- अपराधी त निकै शक्तिशाली पो रहेछ। भदौ २५ गते रिपोर्टस क्लबमा गरिएको पत्रकार सम्मेलनमा उनले ‘शक्तिशाली अपराधीबाट मलाई जुनसुकै समयमा पनि हत्या गर्न सक्ने सम्भावना रहेकाले’ जीवन रक्षाका लागि सरकारमात्र हैन, संयुक्त राष्ट्र संघ नै समेत गुहारे। जो घटनाको छानबिन गरिरहेको छ, उसैले आफ्नो ज्यानको खतरा रहेको भनेपछि बजारमा चलेको शक्तिशाली र भिआइपी संलग्न अपराधीको हल्लालाई वैधता दिने काम भयो। तर, उनको प्रोपोगान्डाको पर्दाफास त्यतिबेला भयो, जब भोलिपल्ट उनले गृहमन्त्रीलाई भेटे र राजीनामा फिर्ता लिएको घोषणा पर्सिपल्ट गरे।
संयुक्त राष्ट्र संघसम्म गुहार्नु पर्ने गरी कसले उनलाई धम्की दिएको थियो, त्यो पनि खुल्यो।
उनले त्यही पत्रकार सम्मेलनमा भने, ‘भदौ १५ गते एक्लै निर्मलाको साइकल भेटिएको स्थानमा छानबिन गर्न गएको बेला मोटरसाइकलमा एउटा मोटो मान्छे आयो। ‘सर तपाईँको काम चाहिँ एकदमै सराहनीय छ। तर, यहाँ चाहिँ योभन्दा अगाडि पनि ट्रकमा ब्रेक फेल भयो भनेर किचेर मारेका छन्। अरू साथी खोइ तपाईँको? भनेर सोधे। मैले उहाँहरू अलिक अगाडि हुनुहुन्छ भन्ने जवाफ दिएको थिएँ। म पानी नाप्न गइरहेको थिएँ। उहाँले भन्नुभयो सार्कीलाई पनि ब्रेक फेल भनेर मारेका थिए। तपाईँ पनि ख्याल गर्नुहोस् है।’ यो सुझाव थियो कि चेतावनी थियो कि परिवारलाई समेत ज्यान मार्ने धम्की नै थियो भन्ने बारे छानबिन समितिका सदस्यले छानबिनै गरेनन्। सोमबार हामीसँग टेलिफोनमा कुरा गर्दै उनले भने, ‘अहिले यो विषयमा धेरै नभनौँ होला। त्यतिखेर धम्की आयो। अहिले भने केही छैन।’
८) हचुवा प्रतिवेदन
सार्वजनिक नहुँदासम्म प्रतिवेदनले अपराधी पत्ता लगाएको हुनुपर्ने अनुमान सबैको थियो। प्रतिवेदन सार्वजनिक नगरी सरकारले अपराधी लुकाउन खोज्यो भन्दै थप आलोचना भयो। तर, ११ दिनपछि जब प्रतिवेदन सार्वजनिक भयो, तब देखियो यसको हैसियत। अपराधी पत्ता लगाउने ठानिएको उच्चस्तरीय छानबिन समितिले अनिता भन्ने बबिता बम ट्युसन सेन्टर गएको हो कि होइन समेत पत्ता लगाउन सकेन। अन्यौल चिर्नुपर्ने प्रतिवेदनले झन् अन्यौल थप्ने काम गर्यो। शंका निवारण गर्नुपर्ने प्रतिवेदनले झन् शंका थप्ने काम गर्यो। एउटै शंकामात्र यसले निवारण गर्यो- त्यो हो बम दिदीबहिनीको घरमा नयाँ रङ लगाएकै छैन रहेछ। त्यो त हल्लामात्र रहेछ।
शव भेटिएको ठाउँ नै घटनास्थल हो कि हैन भन्नेसम्म पनि प्रतिवेदनले पत्ता लगाउन सकेको देखिएन। बयानमुखी प्रतिवेदनमा फलानोले यसो भन्यो, तिलानोले यसो भन्यो भन्नेमात्र छ। तर, क्रस भेरिफाइ गरेर हो चाहिँ के त भन्ने देखाउन सकेको छैन।
९) प्रधानमन्त्रीको बोली
भदौ २० गते ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा ओलीले प्रधानमन्त्रीका रुपमा हैन, पार्टी अध्यक्षका रुपमा आफ्नो आक्रोश पोखे। जसले यो प्रकरणलाई अझै अल्झायो र झन् झन् बल्झायो। महेन्द्रनगरमा कर्फ्यु हटेको बल्ल ८ दिन भएको थियो। अझै पनि सरकारले बलात्कारी र हत्यारा लुकाइरहेको भनेर आक्रोश कायमै थियो। प्रधानमन्त्रीले आन्दोलनकारीलाई शान्त बनाउने कूटनीतिक भाषा प्रयोग गर्नुपर्थ्यो तर एउटा पार्टीको वडा तहको नेताका शैलीमा उनले ‘कसैका बाबुआमा कसैतिर होलान्, कुनै पार्टीलाई भोट देलान्’ भन्दै आक्रोशित मुद्रामा बम दिदीबहिनीको बचाउमा लामै समय खर्चिए।
बम दिदीबहिनीहरुको बारेमा प्रहरीले गरेको अनुसन्धानको तथ्य प्रस्तुत गरेको भए स्थिति बेग्लै हुनसक्थ्यो तर प्रधानमन्त्रीले पीडित परिवार र हत्या गरिएकी किशोरी निर्मला पन्तको बारेमा एक शब्द बोलेनन्। जसले बम दिदीबहिनीहरुलाई प्रधानमन्त्रीकै संरक्षण भएको छाप धेरैमा पर्न गयो। निर्मलाका बुबा यज्ञराज पन्तले नै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीको अभिव्यक्तिले बम दिदीबहिनी झन् तगडा भएको प्रतिक्रिया दिएका थिए। बम दिदीबहिनीको बचाउको नाममा प्रधानमन्त्रीले उनीहरुलाई उल्टै संदिग्ध पात्रको रुपमा उभ्याइदिए।
१०) सरकारको व्यवहार
पछिल्लो समय जब सरकारले आफ्नो उपस्थिति देखाउन काठमाडौँका बिजुलीको खम्बा खम्बामा नयाँ युगको सुरुवात लेखिएका पोस्टर राख्यो, प्रतिवादमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका उस्तै शैलिका निर्मलाका पोस्टर टाँसिए। सरकारले पोस्टर च्यात्न थाल्यो। तर यसले सरकारलाई फाइदा हैन हानी गर्यो। झन् तीव्र गतिमा देशभर यही पोस्टर फैलिन थाल्यो। अहिले त पोस्टरबाहेक स्टिकरबाट पनि निर्मलालाई न्याय खोजिएका छन्।
सरकारले आफ्नै गतिविधिहरुका कारण यो प्रकरण बल्झिरहेको छ भन्ने महसूस गरी दुई तिहाईको दम्भ नहटाएसम्म निर्मला प्रकरण साम्य हुने देखिन्न।
#WhoKilledNirmala शृङ्खला
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने ‘आइकनिक’ फोटोमा लुकेको कथा
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्यो अनुसन्धानको घेरामा
शृङ्खला ५ : ‘रे’ मा रुमल्लिएको निर्मला प्रकरण
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई ‘अपराधी’ बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट
घटना अपराधिक थियो तर घटना पछि जे भयो जे गरीय र जे हुँदै छ त्यो अपराधीलाई समाउनु भन्दा सत्ताको आलोचना गर्ने गराउने तरिकालेनै भयकोले ई सबै सरकार असफल भयको देखाउन चाहने तत्वले आफ्नो समर्थक कर्मचारीहरुलाई प्रयोग गरेर ठुलै योजना अनुसार गरियको देखिन्छ/ नभय नेपाल प्रहरी यति साह्रो कमजोर त् छँदै छैन/ बलात्कार त् देस भित्रको बाहिरको र चिन्हेको बा नचिनेको कुनै पनि अपराधीले गर्न सक्छ तर बलात्कार पछि हत्या गर्ने त् नजिकैको बा चिनेको अपराधीले नै गर्छ/ अनि अपाराधि पत्ता लगाउने र अपराध गरेको प्रमाण जुटाउने जिम्मेवारी पायका कर्मचारीहरुले तेतिक्कै अपराधि कार्यवाहीमा ल्याउन नसकिने गरि प्रमाण लुकाउने कार्य मात्र तिन कारणहरुले गर्न सक्छन:
०१.आर्थिक प्रलोभन/ प्रहरीको तेत्रो ठुलो पदको समेत संखाको घेरामा आउने गरि जसरि प्रमाणहरु माथि खेलवाड भयको छ र जसरि निर्दोषलाई अपराधि बनायर पेस गर्न खोजेको देखिन्छ. यस्तो गर्न गराउन लाख होईन करोड रकमको प्रलोभन दिंदैमा गर्न गराउन सकिंदैन/
०२. चिनेको अपराधि/ यो अपराध प्रहरीले नै गरेकोमा बाहेक नेपाल प्रहरीले अपराधि मात्र कसैले चिनेको बा कुनै ठुला पदकाको कोहि आफन्त भयकैले आफ्नो पद र समस्त प्रहरी संस्थाकै बदनाम हुने कार्य गर्लान भनेर सोच्न पनि सकिंदैन/ घटना र आज सम्म बाहिर आयको तथ्यले यो अपराध कुनै प्रहरी बा उसको परिबारकोले गरेको देखिंदैन/
०३. सट्टा बाहिर धकेलियको राजनैतिक दल र नेताको षडयन्त्र/ कुनैको सरकार प्रति जनताको बिस्वास हुने बा नहुने सरकारी कर्मचारीले जनता माथि गरिने ब्यबहार बाटै हुन्छ/ अहिले सबै कर्मचारी निकायहरुमा यो र त्यो दलको सरकार समर्थक र बिरोधिहरुको अखडा नै बनेको छ/ हामीले बहुदल आय देखि सत्ता बाहिर रहेको दल समर्थित कर्मचारीहरु र तिनका संघ संगठनले सत्तामा रहेको दललाई असफाल र आलोचित बनाउने कार्यहरु गरिंदै आयको थियो/ यस्तो अबस्था मा जे पनि हुन्मा सक्छ जे पनि गरिन बा गराउन सक्छ/ यस्तो कुरा गरियको म आफैले देखे भोगेको प्रमाण दिन्छु/ कांग्रेसको सरकार थियो/ नेपाल बायु सेवा निगममा कांग्रेसले नियुक्त गरेको महाप्रवन्धक थियो/ उसले निगमले पहिला देखि भाडामा लियर प्रयोग गर्दै आयको हवाईजहाजको लिज सम्झौता पुरानै रेटमा नवीकरण गरेको थियो/ यसै कुरालाई लियर यमाले ले आफ्ना सबै प्रभावशाली सांसद र केन्द्रिय सदस्यहरु को नेतृत्वमा भ्रस्टाचार गरेर त्यो हवाई जहाज भाडा लिईयको र फेरी पनि भ्रस्टाचार गर्ननै लिज नवीकरण गरेको नारा लगाउंदै आफ्ना समस्त शक्ति लगायर उनीहरुको ब्ल्यु क्याप जत्था समेत लगायर निगम मा घेराउ गरेर कांग्रेसले नियुक्त गरेको महा प्रवन्धक हरिबहादुर कार्की भ्रस्ट भयको नारा लगाउंदै थियो/ म कांग्रेसलाई देश माथि गद्दारी गर्ने नै मान्छु ठान्छु/ तर यमालेले कांग्रेस बात नियुक्त गरेको महा प्रवन्धकले त्यो जहाजको लिज नविनाकरण गर्दा भ्रस्टाचार गरेको भन्ने कुरा सरासर गलत थियो/ त् मैले तेस्तो नारा लगाउने यमालेको अत्यन्त प्रभावशाली नेता मंगल सिद्धि मानन्धरलाई सिधै भने यो जहाज को लिज सम्झौता यमालेकै सरकार बन्दा भिम रावलले गरेको थियो र अहिले कांग्रेसी महाप्रवन्धकले तेही लिज सम्झौतामा कुनै पनि फेर बादल नगरी नवीकरण गरेको हो, त् तपाईं कसलाई भ्र्स्ताचारी भयको बा गरेको आरोप लगाउंदै हुनु हुन्छ आफ्नै दलको भिम रावललाई बा कांग्रेसको हरिबहादुरलाई भनेर सोधे पछि/ होत त्यो जहाजको लिज सम्झौता त्यो हाम्रै भिम रावलले गरेको हो. भन्दै अरे केटाहरु यो जहाज भाडामा लिंदा भ्रस्टाचार गरेको नारा तुरन्तै बन्द गर भनेर ठुलै स्वरमा चिच्यायो/ मलाइ त्यो घटनामा यमालेको ब्ल्यु क्याप जथ्थाले झन्डै मारेको थियो; तर यमालेको त्यो जुलुशमा धेरैले चिनेकोले बचे/ यस्तो धेरै घटना मैले देखे भोगेको छु/ के यो निर्मला काण्डमा पनि यस्तै भयको हुन् सक्दैन?
एकदम येथार्थ बिस्लेषण सालोक्य जी,
भएको येही नै हो,
अपराधि लाइ अहिलेसम्म पत्ता लगाउन नसक्नु पुलिस प्रसाशन, गृह र सम्पूर्ण सरकार को नै ठुलो गल्ति देखिन्छ,
धन्यबाद तपाइलाई .
यो घाउ निको हुने कुनै सम्भावना देखिदैन, बरु दिन दिन बढ्दो छ. ओली सरकार कानमा तेल हालेर सुतेको-सुतै छ- लाग्छ यो सरकारको मतलब को बिषय होइन. यहि घाउ को संक्रमण फैलियर ओली सरकार चट् होला जस्तो छ.
निर्मला “रेप एन्ड मर्डर केश”, कन्चनपुरको उंखुबारीभन्दा करिब पाच हजार माइल टाढा बस्ने एक युवाको मनमा उठेका केही यक्ष प्रश्नहरु। क्राइम पेट्रोल र क्राइम थ्रिलर मुभीको फ्यान हुनुले उब्जाएका कौतुहलता मात्र हुन है!
१) निर्मलाको एक्ज्याट हत्या भएको समय कति हो? यदि लास मिलेको उखुबारी नै क्राइम सिन हो भने त्यहां एक्टिभ मोबाइल क-कस्को थियो?
२) सधै सुख्खा रहने उखुबारीमा त्यसदिन पानी कसरी भरिएको थियो?नहरबाट कसैले जानीजानी पानी लगाएको त थिएन?आकाशे पानीले मात्र त्यति धेरै पानी थिग्रिन्छ?
३) निर्मलाबाट लिइएको पुरुषको डिनए कन्टामिनेट भनिएको छ।त्यसको सेलमा हुने रासायनिक गडबडीले कसैसंग म्याच नगरेको त होइन?
४) अपराध कबुलेका दिलीपसिंहलाइ डिनए म्याच नगरेर क्लिन चिट दिइयो।पागल भनियो।कुन साइकाट्रिक डाक्टरले त्यस्ता मान्छेले सोंचबिचार गरेर मर्डर गर्दैन भनेर पुर्जी दिए?
५)नजिकै घर भएका चक्र बड्डु घरमा एक्लै थिए।दुलही गर्भवति थिइन।ओत लाग्न जांदा निर्मलामाथि कुदृष्टि राखेको पनि हुन सक्छन।फर्दर अनुसन्धान नगरेर इन्डीया जान नदिनुपर्ने।
६) क्राइम सिनमा कपडा धुनेले नजानेर गरेको कि कसैको दबाबमा?
७) जुलाइ २६ गते गते भीमदत्त नगरपालिका वार्ड नम्बर २ मा अर्को ठांउबाट पाहुना को को आएका थिए?तिनलाइ नि केरकारको दायरामा ल्याउनुपर्छ।
८) जुलाइ २६ र २७ गते त्यो वार्डमा मोबाइल भएका र मोबाइल नभएका लोग्नेमान्छे कति थिए?मोबाइल हुनेको एलिबाइ चेक गर्ने,नभएकाको डिनए टेस्ट गर्न सकिन्छ कि सकिन्न?
९) लासको दाहसंस्कार गर्न मामा किन हतारिए?
१०) तिनओटी छोरी पाइ भनेर हेला गर्दै कान्छी स्वास्नी ल्याएका निर्मलाका बाबु एक्कासी कसरी बौलाए? मेडिकल चेक भयो त?
११) घट्नामा हाइ प्रोफाइलको संलग्नता रुल आउट गरिएको छैन,यस्तो अवस्थामा केवल पुलिस ल्याबमा मात्र प्रिजभ गरिएको डिनए सुरक्षित छत? बाहिरी ल्याबमा पठाएर स्याम्पल सेभ गर्न सकिन्न?
आदि आदि। #WhoKilledNirmala #JusticeForNirmala