Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपतिको बचाउमा राससको हाँसउठ्दो समाचार

Posted on November 29, 2018November 29, 2018 by Salokya


राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना बढेको बढ्यै छ। कहिले दशैँको टीका लगाउनेलाई घुँडा टेकायो भनेर आलोचना हुन्छ, कहिले महँगो गाडी किन्न लाग्यो भनेर। रासस भनेको सरकारी समाचार एजेन्सी। सरकारको पक्षको न्युज त लेख्नुपर्‍यो। तर न्युज ढंग पुर्‍याएर नलेख्दा के हालत हुन्छ भन्ने चाहिँ बुधबारको समाचार देख्दा लाग्छ।

‘राष्ट्रप्रमुखको सुरक्षाका लागि सवारी साधन खरीद गर्न लागिएको हो’ शीर्षकको समाचारको लिडलाइनै हाँसउठ्दो छ। राष्ट्रपतिका लागि १८ करोडको एउटै गाडी किन्न लागेको हैन भन्ने तथ्य बुझाएर लिडलाइनलाई प्रभावकारी रुपमा प्रस्तुत गर्न सकिन्थ्यो। तर लेखिएको छ- ‘राष्ट्रपति, उपराष्ट्रपतिजस्ता सम्मानित पदमा नेपाली जनताका छोराछोरी जो कोही पनि पुग्न सक्छन् । यस्ता संस्था लोकतान्त्रिक गणतन्त्रका आधार स्तम्भ हुन्।’

दोस्रो लाइनमा झन् रमाइलो छ-

जनताको त्याग, बलिदानबाट प्राप्त संस्थालाई संस्थागत गराउनु सरकार र नागरिकको दायित्वसमेत हो । सोही दायित्वलाई पूरा गर्ने लक्ष्यका साथ सरकारले चार थान सवारी साधन खरीद गर्न लागिएको सरकारले दावी गरेको छ ।

यो १८ करोडको गाडी चाहिँ जनताको त्याग र बलिदानबाट प्राप्त संस्थालाई संस्थागत गराउन चाहिँ किन्न लागिएको रे। नयाँ गाडी किनेर चढे ‘संस्थागत’ हुने, नकिने नहुने कस्तो खालको संस्था रहेछ है यो ! गाडीबाटै संस्थागत हुनुपर्ने रे। त्यसलाई संस्थागत गराउनु तपाईँ नागरिकको पनि दायित्व हो रे त- राससले उपदेशै दिइसक्यो।

अर्को लाइन पनि पढ्नुस्-

सरकारले राष्ट्रप्रमुखको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर केही थान सवारी साधन खरिद गर्न लागेको स्पष्ट पारिसकेको छ । संस्था बलियो भएमात्रै व्यवस्था बलियो हुनसक्छ र नागरिकका अधिकार सुरक्षित हुन सक्छन् भन्ने मान्यतालाई सरकारले आत्मसात् गरेको छ ।

तपाईँ नागरिक हैन? हो नि। तपाईँको अधिकार सुरक्षित चाहिँ कसरी हुन्छ थाहा छ? माथि राससको समाचार पढ्नुस्। राससका अनुसार संस्था बलियो भएमात्र व्यवस्था बलियो हुन्छ रे। अनि संस्था बलियो कसरी गर्ने भन्दा त राष्ट्र प्रमुखका लागि केही थान सवारी साधन किनेर।

जति धेरै सवारी साधन किन्यो त्यति बलियो हुने रहेछ यो राष्ट्रप्रमुख भन्ने संस्था। त्यो बलियो भएपछि व्यवस्था बलियो हुने रहेछ अनि चाहिँ नागरिकका अधिकार सुरक्षित हुने रहेछन्।

निर्मला नामकी बहिनीले न्यायको अधिकार नपाएको त्यही संस्था बलियो नभएर रहेछ। अर्थात् नयाँ गाडीहरु नभएर। गाडीहरु भएको भए संस्था बलियो हुन्थ्यो। संस्था बलियो भएपछि व्यवस्था बलियो हुन्थ्यो। अनि व्यवस्था बलियो भएपछि निर्मला त नागरिकता पाइसकेकी थिइनन्, उनकी आमा दुर्गा नागरिक हुन्। दुर्गाको न्याय पाउने अधिकार सुरक्षित हुने रहेछ गाडीहरु भएको भए।

यस्तो छ पूरा समाचार

राष्ट्रप्रमुखको सुरक्षाका लागि सवारी साधन खरीद गर्न लागिएको हो’
2018-11-28 17:53

काठमाडौँ, १२ मङ्सिर (रासस) : राष्ट्रपति, उपराष्ट्रपतिजस्ता सम्मानित पदमा नेपाली जनताका छोराछोरी जो कोही पनि पुग्न सक्छन् । यस्ता संस्था लोकतान्त्रिक गणतन्त्रका आधार स्तम्भ हुन् ।

जनताको त्याग, बलिदानबाट प्राप्त संस्थालाई संस्थागत गराउनु सरकार र नागरिकको दायित्वसमेत हो । सोही दायित्वलाई पूरा गर्ने लक्ष्यका साथ सरकारले चार थान सवारी साधन खरीद गर्न लागिएको सरकारले दावी गरेको छ ।

सरकारले राष्ट्रप्रमुखको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर केही थान सवारी साधन खरिद गर्न लागेको स्पष्ट पारिसकेको छ । संस्था बलियो भएमात्रै व्यवस्था बलियो हुनसक्छ र नागरिकका अधिकार सुरक्षित हुन सक्छन् भन्ने मान्यतालाई सरकारले आत्मसात् गरेको छ ।

राष्ट्रिय आवश्यकता तथा राष्ट्र प्रमुखको सुविधालाई ध्यानमा राखेर सरकार आफैँले नै उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले त सरकार आफँैले नै राष्ट्र प्रमुखप्रतिको दायित्व पूरा गर्न सरकारले सवारी साधन खरिद गर्न लागेको यसअघि नै स्पष्ट पारिसक्नुभएको छ ।

देशभित्र राष्ट्रपतिको सहज आवागमनका लागि सरकारले आवश्यक ठानेर ती सवारी साधन खरीद गर्ने निर्णय गरेको हो । ती सवारी साधन अन्तर्राष्ट्रियसभा सम्मेलन आयोजना हुँदा आमन्त्रण गरिने विशिष्ट पाहुनाका लागिसमेत उपयोग गरिने सरकारको सोच छ । विगतमा नेपालमा भएका अन्तर्राष्ट्रिय महत्वका कार्यक्रममा आमन्त्रित अतिथिले नै आफैँ सवारी साधन लिएर आएको उदाहरण छ ।

सरकारले एमएस वोरा इन्टरटे«ड कम्पनी लिमिटेड थाइल्याण्डको नाममा प्रतितपत्र खोलेको छ । उक्त प्रतितपत्र खोल्ने निर्णय यही मङ्सिर ८ गते भएको हो । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको लामो समय भएको छैन ।

अर्थ मन्त्रालयले गत साउन १४ गते नै सवारी साधन खरिदका लागि आवश्यकपर्ने रु १४ करोड १३ लाख बजेट उपलब्ध गराएको छ । सो बजेटबाट एक थान बुलेट प्रुफ जिप, स्कर्टिङमा प्रयोग हुने दुई थान जिप र एउटा बस रहेको छ । ती सवारी साधन खरीदका लागि अमेरिकी डलर १२ लाख ३४ हजार ४६८ बराबरको प्रतितपत्र यही मङ्सिर ५ गते खोलिएको छ ।

गणतन्त्रात्मक संस्थालाई बलियो बनाउने, ती संस्थाको गरिमा र मर्यादा बढाउने दायित्व परिवर्तनकामी सबैको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा गणतन्त्रणका संस्थामाथिको आक्रमण सभ्यताहिन आक्रमणको सङ्ज्ञा दिनुभएको थियो ।

राष्ट्रपति र उपराष्ट्रपतिलाई जोडेर गरिएका प्रचार र आलोचना सामान्य आलोचना नभई गणतान्त्रिक संस्थालाई कमजोर पार्ने उद्देश्यले अन्तरनीहित रहेको प्रधानमन्त्रीको भनाइ थियो । पछिल्ला दिनमा राष्ट्र प्रमुखलाई विलासी सवारी साधन खरीद गर्न लागिएको भन्दै आलोचना भएको छ । तर सरकार आफैँले नै राष्ट्रप्रमुखलाई त्यस्तो सवारी साधनको व्यवस्था गर्न लागेको यसअघि नै स्पष्ट पारिसकेको छ ।

रक्षा मन्त्रालयबाट प्राप्त एक विवरणअनुसार सवारी साधन खरीदका लागि आवश्यक बजेट व्यवस्था गर्न आर्थिक वर्ष २०७३÷७४ मा नै रक्षा मन्त्रालयबाट अर्थ मन्त्रालयमा अनुरोध भएको हो । यस्तै २०७३ साउन नौ गते रक्षाले नेपाली सेनालाई खरीद प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको थियो ।

सेनाले २०७३ असार १३ गते बुलेट प्रुफ ल्याण्ड क्रुजुर जिप एक थान, अगुवा, पछुवा ल्याण्ड क्रुजुर जिप दुई थान, २९ सिटे मिनिबस एक थान र एम्बुलेन्स एक थान खरीद सहमति उपलब्ध गराउन रक्षा मन्त्रालयमा अनुरोध गरेको थियो ।

यस्तै २०७४ साउन २५ गते रु १६ करोड १३ लाख ११ हजार ८०३ को सीमाभित्र रही पाँच थान सवारी साधन खरिद गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको थियो । तर गत असार २६ गते चार थानमात्रै सवारी साधन खरीदका लागि सेनाले रक्षा मन्त्रालयमा अनुरोध गरेको छ । त्यसमा बुलेट प्रुफ जिपको पाँच लाख ६८ हजार अमेरिकी डलर, स्कर्ट जिप चार लाख ६३ हजार २८० अमेरिकी डलर र बसको दुई लाख तीन हजार १८८ अमेरिकी डलर गरी कूल १२ लाख ३४ हजार ४६८ अमेरिकी डलरको मात्रै प्रतितपत्र खोलिएको छ ।

राष्ट्रपति कार्यालयले ती सवारी साधन खरीद कारवाही रक्षा मन्त्रालयमार्फत अगाडि बढाई खरीदपश्चात् हस्तान्तरण गर्न पत्राचार भने गरेको थियो ।

4 thoughts on “राष्ट्रपतिको बचाउमा राससको हाँसउठ्दो समाचार”

  1. madan bajracharya says:
    November 30, 2018 at 1:46 pm

    रास्ट्रपति नै हो भने किन नहुने कुरामा पनि हुन्न भन्न नपाउने? रास्ट्रपति नै हो भने किन मात्र गहना जस्तै मात्र? रास्ट्रपति जनताले पनि मान्ने पर्ने पाल्ने पर्ने हो भने किन नागरिकहरुले चुनेको नहुने? दलकाले दलकालाई नै रोजेको मात्रै रास्ट्रपति हुने हो र दलकाले जे निर्णय गर्छ तेसैलाई मान्नै पर्ने हो भने दलले उठाउने लेभी चन्दा संकलन आदि बात बाटै तलव भंत्ता गाडी आवाशको खर्च नव्यहोर्ने?

    Reply
  2. दिपक लिम्बु says:
    November 29, 2018 at 4:41 am

    हामी जनताले चुनेर बनाएको रास्ट्र प्रमुख होर ?अनि महङ्गा गाडी किनेर चड्दा चाहिँ संस्था बलियो हुने भए किन गाडी हेलिकप्टर वा निजि विमान नै किनौ न सरकार ।हा हा हा हा हा कति वजन हिन समाचार हरु आउछन हो आजको जमानामा पनि ।

    Reply
  3. prabhat says:
    November 29, 2018 at 2:12 am

    मेरो पृस्न छ । रास्त्रपती ठिक कि ceremonial king थिक ?

    Reply
  4. Shankar says:
    November 29, 2018 at 2:07 am

    ”मिया कि दौड मस्जिद तक” यो पाखे चोर हरुले देश बनाउने हैन , अगाडी इन्डियाको बिरोध जस्तो गर्ने , सत्तामा जाने अनिफेरी त्यहि इन्डियाको दलाली गर्ने , नेपाल लाइ सक्दो लुट्ने |
    भ्रास्ताचार चरम सिमा मा , बिमान बाडी काण्ड , तेत्रो सुन काण्ड लुकाए ,( इन्डियन गुण्डा पप्पुको सायाद ) पप्पु कन्स्ट्रक्सन बिबाद | हिजो सौन्दर्य प्रतियोगिताको को बिरोध गर्ने , सामन्तीको बिरोध गर्ने आज यिनकै छोरी हरु सामन्ती , सौन्दर्य प्रतियोगिता गर्ने कति नौटंकी कति ?
    माले बाद , मालेमा बाद ,नौलो जान बाद , बहुदलीय जनबाद , प्रचण्ड पथ यो सब पाखेबाद , बाँदर तन्त्र सिवाय केहि हैन | अब कुनै पाखे ली आखा चिम्म पारेर भासन दिन थाल्यो भने बेसरी कसेर चाक् मा लात दिए हुन्छ |
    पहिला यिनीहरुलाई काठमान्डू बात धपाएर जुन गाउ बाट आयो तेही गाउमा पठाउन सक्यो भने मात्र नेपाल बन्छ | हुन् त् गाउघर सब धोस्त पारेर काठमान्डू छिरेका हुन् यिनीहरु |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme