तपाईँहरुले कतिको सुन्नुभएको छ- पत्रिकासँग गरिने सेटिङका विषयमा। कुनै कार्यालयले नियमका कारण पत्रिकामा सार्वजनिक विज्ञापन छाप्नु पर्ने हुन्छ टेन्डरको। तर अरुलाई थाहा नहोस्, आफैलाई पार्नुपर्छ टेन्डर भनेर मिलाइन्छ सेटिङ। के हुन्छ त तरिका? विज्ञापन छाप्ने तर पाठककहाँ त्यो विज्ञापन पुग्न नदिने। उपाय के त? कम चल्ने पत्रिकाहरुमा विज्ञापन छाप्ने। त्यो दिन छापिएका सबै पत्रिका बजारबाट उठाउने। अथवा बजारमा गएका पत्रिकाको विज्ञापन छापिएको पेजै गायब बनाइदिने। ‘यस्तो हुन्छ रे’ भनी किस्सा सुनाइन्थ्यो तर हालै प्रेस काउन्सिलमा यसबारे आधिकारिक रुपमा उजुरी नै परेको सार्वजनिक भएको छ।
प्रेस काउन्सिलमा उजुरी परेको रहेछ- यही भदौ ३० गतेको नेपाल समाचारपत्र १२ पेज छापिएकोमा ५,६, ७, ८ पेज गायब बनाई ८ पेजमात्र बजारमा वितरण गरियो। त्यसैगरी असोज २० शनिबारको दिन बीचको ४ पेज गायब बनाइयो।
प्रेस काउन्सिलले यस विषयमा सम्पादकसित कात्तिक ६ गते पत्र लेखी जवाफ मागेको रहेछ।
यो पत्र सार्वजनिक भएपछि के विज्ञापन छापिएको रहेछ हेर्न मन लाग्यो। यस्तो रहेछ भदौ ३० गतेको नेपाल समाचारपत्रको सातौँ पेज।
सातौँ पेजमा दुई वटा विज्ञापन छापिएको रहेछ। दुई वटै विज्ञापन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसित सम्बन्धित छ।
एउटा विज्ञापन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमनतर्फ प्रतीक्षालयमा १० वर्गमिटर क्षेत्रफलमा चिया/कफी/पसल सञ्चालनको गर्नको लागि ३ वर्षको लागि ठेक्का आह्वान गरिएको हो। तीन वर्षको न्यूनतम ठेक्का रकम १६ लाख ७५ हजार ३१८ रुपैयाँ तोकिएको छ।
अर्को विज्ञापन (तल हेर्नुस्) अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको भूँइतल्लाको बाहिर पट्टी प्रत्येक सटरको क्षेत्रफल १८.९० वर्गमिटर भएका तीन वटा सटरहरुमा चिया/कफी, स्न्याक्स, कन्फेक्सनरी, गिफ्ट, पत्रपत्रिका, किताब तथा फूलसम्बन्धी सामाग्री बिक्री गर्ने पसल सञ्चालन गर्नको लागि ठेक्का रहेछ। यो चाहिँ तीन वर्षको लागि एक करोड २८ लाख ८५ हजार ६६० रुपैयाँको न्यूनतम ठेक्का रहेछ।
त्यसैगरी उजुरीमा उल्लेख भए अनुसार असोज २० को नेपाल समाचारपत्र हेरियो। पत्रिकाको पाँचौँ र सातौँ पेजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विज्ञापन रहेछ। हेर्नुस् पाँचौँ पेज
यो पेजको विज्ञापन विमानस्थलको आन्तरिक टर्मिनल भवनको डिपार्चर स्टेराइल हलमा बुक स्टल सञ्चालनको लागि रहेछ। तीन वर्षको न्यूनतम ठेक्का रकम ११ लाख २ हजार ५२४ रहेछ।
त्यस्तै सातौँ पेज यस्तो रहेछ-
यो पेजको विज्ञापन अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फ पहिलो तल्लामा ब्रान्डेड पसल सञ्चालनको लागि ठेक्काको रहेछ। तीन वर्षको न्यूनतम ठेक्का अंक ९९ लाख ६९ हजार ३०२ रहेछ।
यो विज्ञापन भएको पत्रिकाको पेज किन गायब पारियो त?
उजुरीमा लेखिएको छ, ‘खुल्लारुपमा बोलपत्र आव्हान गर्नुपर्नेमा पत्रकारहरुलाई हातमा लिई, पत्रिकानै आफ्नो कब्जामा लिई आफूले चाहेको व्यक्तिले मात्र बोलपत्र दर्ता गर्ने वातावरण बनाउन स्वयं निगमका प्रमुखले व्यापरीहरुसंग मोटो रकम असुलेको पाएँ। पत्रकारहरुले आफनो मर्यादालाई बिर्सेर पैसाको पछाडि लागी सिधै पत्रिकाकै बेइज्जत हुने काम भएको छ र निगमका कर्मचारीहरुले समेत स्वस्थ प्रतिस्पर्धाबाट बोलपत्र आव्हान गर्नुपर्नेमा माफियाहरुको चंगुलमा फसी सारा कर्मचारी तन्त्रलाईनै बदनाम हुने कार्य गरेकोमा यस्ता भ्रस्ट निगम प्रमुख र अन्य संलग्न कर्मचारीहरुको साथै नेपाल समाचारपत्र दैनिक पत्रिकालाई कडा भन्दाकडा सजायको माग गर्दै यो निवेदन पेश गर्दछ।’
के हुन्छ त कारबाही?
अब केही गम्भीरै कारबाही होला भनेर सोच्नु बेकार छ।
पत्रिकालाई त सजिलो छ। हामीले पत्रिका छापेर वितरणका लागि पठाएका हौँ, वितरण गर्नेले के गरे हामीलाई जानकारी भएन भनेर जवाफ पठाइदिए भयो।
निगम कर्मचारी र प्रमुखलाई त प्रेस काउन्सिलले केही गर्न सक्ने कुरो भएन। प्रेस काउन्सिलको क्षेत्राधिकार मिडियामा मात्र छ।
अब के हुन्छ त? केही हुन्न। फत्तेमानको गीतको पछाडिको लाइनलाई बिर्सेर यतिमात्र गाउँदै बस्ने – ‘यस्तो पनि हुँदो रहेछ…..’
कठै नेपाल समाचारपत्र को बिजोग, पाठकले किन्ने होइन यस्तै तिक्डम गरेर भए पनि बाँच्नु पर्यो
हैन, के जमाना आयो यस्तो ? ‘कहिँ नभएको जात्रा हाँडिगाउँमा’ लाई नै फ्लप दिने गरी
If government wants to punish the culprit, they can.
नेपाल नागरिक उड्ययन प्राधिकरण संग सम्बन्धित समाचारमा बिनाकारण नेपाल बायुसेवा निगमलाई मुछेको पटक्कै चित्त बुझेन। मानौं कि उजुरीकर्तालाई त थाहा भएन रे, प्रेश काउन्सीलले पत्रलेख्दा पनि नेपाल बायुसेवा निगम कै नाम लेख्ने? लौ मानिलिउँ, यहाँ पनि उजुरीकर्ताकै भाषा साभार गर्दा त्यस्तो हुन गयो रे तर सालोक्य जीले ब्लगमा लेख्दा त्यो गल्ती त औंल्याईदिनुपर्ने होईन र? सुगतरत्न कंसारकारको नेतृत्वमा नेपाल बायुसेवा निगमले नयाँ जहाज किनेर अरुको ब्यापारिक स्वार्थ्यमा ठेस पुगेकोले केही ब्यक्ति कसरी सुगतरत्नको बिरोध गर्ने निहुँ पाउँ भनेर खोजिरहेको बेला कतैको साईनो नभएको बिषयमा पनि उनैलाई दोषी देखाउने गरी लेखिदिनु भएन।
जालसाजी काममा नेपालीलाई नाईजेरियनले पनि सक्दैन।
तर, काउन्सिलको पत्रमा नेपाल वायुसेवा निगमको नाम कसरी आयो? सूचना प्रकाशित गर्ने त नागरिक उड्डयन कार्यालय हो। कि काउन्सिललाई यि दुईको भेद नै थाहा नभएको हो।
तर, परिणाम त केहि हुने होईन।
सालोक्य दाई,
यो त हेर्ने कथा(बीध्या दी दी को) कै पारा मा आयो त ?
(लास्ट को गीत क्या )