प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएर शनिबार कोस्टारिका पुगेका छन्। त्यहाँ आइतबार उनलाई पिस युनिर्भसिटीले डाक्टर बनाउँदैछ। अर्थात् मानार्थ विद्यावारिधी दिँदैछ नेपालको शान्ति र लोकतान्त्रिकरणमा पुर्याएको योगदानका लागि। कोस्टा रिका पुग्ने ओली पहिलो नेपाली प्रधानमन्त्री भए पनि त्यहाँ नेपाली पुग्दै नपुगेका भने हैनन्। अवैध रुपमा अमेरिका जाने चोर बाटोमा रहेको यो देशमा पाँच वर्षअघि चार जना नेपालीले कोस्टा रिका हल्लाइदिएका थिए। त्यतिबेलाको ब्लग नपढ्नेहरु र पढेर पनि बिर्सिसकेकाहरुलाई सम्झना दिलाउन साभार गरिएको छ।
कोस्टा रिका हल्लाइदिने चार नेपाली
प्रकाशित मिति : Aug 28, 2013 @ 10:47
स्थानीय एक विश्वविद्यालयको निमन्त्रणामा गएका चार नेपालीले पूरै कोस्टा रिका हल्लाइदिएका छन्। उनीहरु एकाएक बेपत्ता भएपछि उनीहरुलाई बोलाउने युनिभर्सिटी अफ कोस्टा रिकाका रेक्टर मिडियालाई जवाफ दिँदै हैरान भइरहेका छन् भने प्रहरीले उनीहरुको खोजी तीव्र पारेको छ। झण्डै ४६ लाख मात्रै जनसंख्या भएको देशमा यसरी आप्रवासी हराएपछि निकै गम्भीर रुपमा लिइने रहेछ। त्यसैले कोस्टा रिकाको सर्वोच्च अदालतको एक इकाईका रुपमा रहेको न्यायिक छानबिन एजेन्सीले यो विषयमा छानबिन गर्दैछ। सोही एजेन्सीले माथिका फोटो सार्वजनिक गर्दै कसैले देखे खबर गर्न सबैलाई अनुरोध गरेको हो।

कोस्टा रिकाको दैनिक La Nacion का अनुसार ती नेपाली विद्यार्थी नेपालको National Institute of Natural Sciences बाट आएको कागजमा देखिएको थियो। खासमा उनीहरु दुई संस्थाबीच आपसी सहयोगको संभावना खोज्न आएका थिए रे। केको हुन्थ्यो, अवैध रुपमा अमेरिका छिर्ने महामार्गमा पर्ने ठाउँ हो कोस्टा रिका। त्यसैले मानव तस्कर दलालले ठूलै सेटिङ मिलाएर पठाएका होलान् नि। त्यसैले त पत्रिकाका अनुसार उनीहरुलाई न अङ्ग्रेजी आउँथ्यो न त्यहाँ बोलिने भाषा स्पेनिस नै। परेन त अप्ठेरो। कुराकानी गर्नै समस्या भएछ। पहिलो भेटमा यस्तो समस्या भएपछि जुलाई १५ मा फेरि भेट्ने भनेछन्। जुलाई १५ मा युनिभर्सिटीका अधिकारीहरु होटलमा जाँदा त उनीहरु कुलेलम ठोकिसकेका। जुलाई १३ मा अन्तिम पटक उनीहरु त्यहाँ देखिएको खबर आएछ।
खासमा पाँच जना आउने भनेका रहेछन्। युनिभर्सिटीले भिसाका लागि सबै कागजात नेपालमा कोस्टा रिकाको दूतावास नभएकोले भारतको दिल्लीमा पठाएको रहेछ। तर आउन चाहिँ चार जना मात्रै आएछन्।
बेपत्ता भएपछि युनिभर्सिटीले तुरुन्त अध्यागमनलाई खबर गरिहाल्यो। अनि त्यहाँको Judicial Investigation Organization (OIJ) ले ती चार जना नेपालीको फोटोसहित विज्ञप्ति जारी गरेर देवेन्द्र (सूचनामा Devendra K ALISE CHAMLAGAI DEVI PRASAD लेखिएको छ) (३९ वर्ष), फिरोज चौहान (३३ वर्ष), नरेन्द्रकुमार डाँगी (३१ वर्ष र सुभास कार्की (३० वर्ष) लाई कसैले देखे 800-8000-645 मा फोन गर्न वा [email protected] मा इमेल गर्न समेत सबैलाई अपील गर्यो। OIJ त्यहाँको सर्वोच्च अदालतको मातहत रहेको न्यायिक छानबिन इकाई हो।
पत्रिकामा ठूल्ठूलो फोटो पनि छापियो उनीहरुको
युनिभर्सिटीलाई आपत्
आफूले निमन्त्रणा गरेका चार जना यसरी गैरकानुनी रुपमा बेपत्ता भएपछि युनिभर्सिटी अफ कोस्टा रिकालाई ठूलै आपत परेको छ। मिडियाले प्रश्न उठाउन थालेपछि युनिभर्सिटीका रेक्टरले स्वीकारेका छन्- हो, हामीलाई नेपालीहरुले धोका दिए, ‘युज’ गरे। ला नेसियोँ पत्रिकासित रेक्टर हेनिङ जेन्सन् भन्छन्- “म र मेरा सहकर्मीहरुको निश्कर्ष यही रह्यो।”
हैन हौ, अनि तिमेरुले भेरिफाइ गर्न पर्छ कि पर्दैन तिनीहरु जुन संस्थाबाट आएका हुन् त्योबारे भनी सोधिएको प्रश्नमा उनले भनेछन्- “हाम्रो विश्वविद्यालयले धेरै देशका धेरै संस्थासँग एकेडेमिक रिलेसनसिप राख्छ। ३०० संस्थासँग हाम्रो सम्बन्ध छ। यो हाम्रो वैज्ञानिक कामको महत्त्वपूर्ण भाग हो। त्यसैले यस्ता काम विश्वासको आधारमा हुन्छ।”
उनले अगाडि भनेका छन्- “यदि कुनै व्यक्तिले म पाकिस्तानको नेसनल एकेडेमी अफ साइन्सको सदस्य हुँ भनेर भन्यो भने कहाँ शंका गरिराख्ने?” त्यसमाथि पहिलो पटक कुनै नेपाली संस्थाले प्रस्ताव गरेको।
ला नेसियोँका अनुसार युनिभर्सिटीको अन्तर्राष्ट्रिय सम्बन्ध तथा बाह्य सहयोग कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालीहरु आएको भनेको संस्था छ कि छैन भन्नेमा नै शंका उठ्ने प्रमाण भेटिएको तर सुरुमा भने कुनै शंका नभएको बताएको छ।
उताको युनिभर्सिटीले त्यस्तो भने पनि नेपालमा National Institute of Natural Sciences भन्ने संस्था रहेको छ। यसको वेबसाइट हेर्न यहाँ क्लिक गर्नुस्। यसको कार्यालय डिल्ली बजारको घट्टेकुलोमा रहेको छ। स्वर्गीय “उही” गोविन्दबहादुर गुरुङद्वारा सन् १९५६ मा स्थापित यो संस्थाले अनुसन्धान गर्ने उद्देश्य राख्छ।
अर्को स्पेनिस अनलाइन पत्रिका crhoy का अनुसार नेपालमा NINS का प्रमुखसँग सम्पर्क राख्दा पनि उनले बेपत्ता भएकाहरुबारे खासै चासो राखेनछन्।
पाँचौँ नेपालीको भिसा रद्द
उताको अध्यागमन निर्देशनालयले ती नेपालीहरु जुलाई १० मा युनिभर्सिटी अफ कोस्टारिकाको निमन्त्रणा देखाएर जुलाई १० मा आएको बताएको छ।
जसले निमन्त्रणा गरेको हो त्यो कार्यालयले भने ती नेपालीहरुका लागि आफूहरुले भिसाको व्यवस्था गर्न मात्र सघाएको, टिकट लगायतका सबै खर्च उनीहरु आफैले व्यहोरेको बताएको छ। भन्नु पनि पर्यो नि। आफूहरुकै खर्चमा बोलाएको भए त मिडियाले झन् नछाड्ने भए।
सँगै भिसा जारी गर्न अनुरोधसहितको प्रोसेस अगाडि बढाएको तर ती चार जनासँग नआएको पाँचौँ नेपाली पुण्यप्रसाद दङ्गालको भने भिसा रद्द गर्न अनुरोध गरिसकेको युनिभर्सिटीले जनाएको छ। हामीले अहिलेसम्म विश्वासको आधारमा यस्ता सम्बन्ध विस्तारका काम गरिआएका थियौँ। “यो अनुभवले अब त्यसरी आउन चाहने सबैलाई भेरिफाइ गर्नुपर्ने पाठ सिकेका छौँ,” युनिभर्सिटीले भनेको छ।
चुरो कुरो
मेक्सिकोबाट अवैध रुपमा अमेरिका छिर्ने स्थल बाटोमा पर्छ कोस्टा रिका। दलालहरुले सडक मार्गबाटै बिना भिसा अवैध रुपमा कोस्टा रिका छिराएर निकारागुवा पुर्याइदिन्छन्। उनीहरुको दलाल अलि बाठो भएकोले भ्यालिड भिसाबाटै कोस्टा रिका पुर्याएको हुनुपर्छ। तर त्यहाँबाट बेपत्ता हुने बित्तिकै उनीहरु अवैध भइसके। अझै पनि निकारागुवाबाट होन्डुरस अनि त्यहाँबाट पनि ग्वाटेमाला पुग्नुपर्छ अवैध रुपमा। दलालहरुले लुकाइछिपाइ लान्छन् उनीहरुलाई। ग्वाटेमालाको दलालले अमेरिका छेवैमा रहेको मेक्सिकोसम्म पुर्याइदिन्छ। मेक्सिको पुगेपछि उनीहरु कसैगरी अमेरिका छिर्ने दाउमा हुन्छन्। आतंकवादी थ्रेटका कारण कडा सुरक्षा व्यवस्था भएको अमेरिकी भूमिमा मेक्सिकोबाट अवैध रुपमा छिर्नु चानचुने कुरा हैन। तर ज्यानै जोखिममा पार्दै उनीहरु त्यहाँ जान्छन्। यी चार जना अझै पनि अमेरिका पुगे कि पुगेनन् होला। यी चार जनाले दलाललाई कति लाख तिरेका होलान् ? सामान्यतया २५ देखि ३० लाख रुपियाँ लाग्ने अनुमान छ। दलाल हेरी अलि बढी पनि लाग्न सक्छ। अमेरिका बसेका, बसेर आएकाहरुले के के न जस्तो गरेर नेपाल बसेकाहरुलाई गफ दिएकोले उनीहरु जस्ता कयौँ अमेरिकामा डलरै फल्ने जस्तो गरी अमेरिका छिर्न मात्रै पाए लाखौँ रुपियाँ दलाललाई बुझाउन मरिहत्ते गर्छन्। कतिको घरखेत बन्धकी होला, कतिको चर्को ब्याजको ऋण होला !
अध्यागमनको कुरा
यत्रो देशविदेशमा सञ्जाल भएको मानव तस्कर दलालहरुको नेटवर्क हाम्रो देशको विमानस्थलमा नहुने कुरै भएन। सेटिङ मिलाएरै उनीहरु गएको हुनसक्छ। फेरि कोस्टा रिकाको भ्यालिड भिसा नै भएकोले रोक्ने कुरा पनि भएन। तर एकछिन मानौँ उनीहरुलाई नेपालको अध्यागमनले त्यो नेपाली संस्थाको तिमीहरु सदस्य हौ कि होइनौ भनेर अलि केरकार गरेको भए हामी नै उफ्रन्थ्यौँ होला, त्यो काम तिमीहरुको हो? दूतावासले भिसा दिइसकेपछि किन बढी जान्ने हुने? अङ्ग्रेजी र स्पेनिसै बोल्न नसक्ने, संस्थाका सदस्यै नभएका ती नेपालीलाई अध्यागमन मै रोक्न सकेको भए दलाललाई जति पैसा बुझाए-बुझाए, ती नेपालीहरुको ज्यान जोखिममा पर्दैन थियो होला, थप पैसा खर्च हुँदैन थियो होला। सरकार र सरकारी निकायको कर्तव्य पनि हो आफ्नो नागरिकको सुरक्षा गर्ने।
यता नेपाल भन्ने देशकै पनि बेइज्जत भयो कोस्टा रिकामा। सुरुमा कति युरोपेली देशमा जान नेपालीलाई अग्रिम भिसा नै लिनु पर्दैन थियो, विमानस्थलमै भिसा पाउँथे। तस्करहरुका कारण अहिले सबै जसो मुलुकमा पहिले नै भिसा लिनुपर्छ। नेपाली पासपोर्टवाहकहरुले विदेशमा कस्तो व्यवहार सहनु पर्छ, त्यो त भुक्तभोगीहरुलाई थाहै होला। त्यसैले यस्ता कामहरु व्यक्तिगत रुपमा गरिए पनि त्यसले तपाईँ हामी सबै नेपालीलाई कालान्तरमा असर पारिराखेको हुन्छ।
गफ दिएर शान नदेखाऔँ
एउटा कुरा चाहिँ साथीहरुले अलि ख्याल गरिदिनु पर्यो- अमेरिका वा विदेशमा बसेका नेपालीहरुले शान देखाउन आफू बसेको ठाउँ स्वर्गै जस्तो हो भनी बढाइचढाइ गफ दिनु भएन। तपाईँका त्यस्ता कुराले अन्तर्राष्ट्रिय मानव तस्करहरुको सञ्जालको संगठित अपराधलाई अप्रत्यक्ष रुपमा बढावा दिन्छ। डलर रुखमा फल्दैन- मेहनत अनि मेहनत, कडा मेहनत गर्नुपर्छ भन्ने बुझाउनु पर्यो आफ्ना नेपालमा रहेका साथीहरुलाई। २५/३० लाख रुपियाँ चर्को ब्याजमा लिएर ज्यानै जोखिममा पारी अवैध बाटोबाट अमेरिका आएर त्यो सबै तिर्न अझ कति घोटिनु पर्दो रहेछ भन्ने बुझाउन सक्नुपर्यो। हेर्नुस्, यस्ता काम नेताले गर्दैनन्। उनीहरु हाम्रै टाउकोमा टेकी हामीलाई शासन मात्रै गर्छन्। तपाईँ हामी जस्ता अलि जान्ने सुन्ने भइखाएकाहरुले यस्तो कुरामा अग्रसरता नलिए अझै हजारौँ नेपालीले दुःख पाइरहनेछन्, त्यसरी अमेरिका छिर्न चाहनेहरु कति बाटोमै गुमनाम मृत्यु मरेका छन्, उनीहरुको आत्माले शान्ति पाउनेछ हामीले यो मानव तस्करहरुको सञ्जाललाई आफ्नै चेतनाले अलि कमजोर बनाउन मात्रै सक्यौँ भने पनि।
प्रधानमन्त्री पुगेपछि के हुन्छ?
कोस्टा रिकाको पिस युनिभर्सिटीले राखेको सूचना अनुसार प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले युपिस चार्टर साइन गर्नेछन्। यो भनेको शान्ति विश्वविद्यालय स्थापना गर्ने अन्तर्राष्ट्रिय सन्धी हो। यसका लागि संसदमा फास्ट ट्रयाकमा प्रस्ताव पारित गरिएको थियो। यो चार्टरमा सही गर्ने नेपाल ४१ औँ देश हुनेछ। अनि साइन गर्ने राष्ट्रका विद्यार्थीहरुले ३० प्रतिशत ट्युसन शुल्कमा डिस्काउन्ट पाउने छन्। यसैको फाइदा उठाउँदै कोस्टा रिकाबाट अमेरिकाको चोर बाटो मानव तस्करहरुले नढाओस्, यही कामना।
युनिभर्सिटीको विज्ञप्ति यस्तो छ-
27 September 2018. San Jose, Costa Rica – The Prime Minister of Nepal, Dr. Khadga Prasad Oli, is scheduled to visit the University for Peace (UPEACE) in El Rodeo de Mora, on Monday, 1 October 2018.
PM Oli and a delegation from Nepal travelled to the city of New York last Saturday, to participate in the 73rd Session of the United Nations General Assembly. After a week of high-level meetings with various Heads of State, including US President Donald Trump, the Prime Minister and his delegation, which includes his wife Radhika Shakya, will travel to Costa Rica for an official meeting with Costa Rican President Carlos Alvarado Quesada.
On Monday 1 October, PM Oli will visit UPEACE’s Rodrigo Carazo Campus on the southwest region of the Central Valley, where he will be awarded a Doctor Honoris Causa degree for his work to achieve peace and democratization in Nepal. During the ceremony, the Prime Minister and the Minister of Foreign Affairs of Nepal will sign the UPEACE Charter (International Treaty for the Establishment of the University for Peace), making Nepal the 41st nation to adhere to the University’s Charter.
The University for Peace (UPEACE) was established as a Treaty Organization with its own Charter in an International Agreement adopted by the United Nations’ General Assembly in its Resolution 35/55 of 5 December 1980, and has a specific mandate of “engaging in teaching, research, post-graduate training and dissemination of knowledge fundamental to the full development of the human person and societies through the interdisciplinary study of all matters relating to peace.”
Citizens of Signatory Countries, who apply to study at UPEACE, automatically receive a 30% discount on tuition fees.
म लाइ ई चार जना बारे चिन्ता र खूलदूली लाग्यो। कसैले ईनीहरू लाइ चिन्नू हून्छ? यदि चिन्नू हून्छ भने comment गर्नू होला करण म लाइ जस्तो अरू लाइ पनि जिज्ञासाहोला। के इनीहरू आफ्नो गन्तव्यमा पूगेहोलान ($ सोह्रदै छन) कि बिचारा हरू दूख पायर कतै अझ सम्म अल्पत्र परिरहेकोछन या परमधाम पूगीसके?
डा बाबुराम र डा ओलीको जुहारी अब हेर्न मजा आउछ | अब बिस्तारै दिपक मनागे , राजेन्द्र महतो , उपेन्द्र यादब , महेस बस्नेत सबलाई डाक्टर दिन पर्छ | अनि जनताको बिकास र सम्ब्र्रिदिको सपना नया डाक्टर ले पुरा गर्नेछन |