Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

२२ घण्टा एयरपोर्ट खोल्ने भनेको दिनमै के दशा लाग्यो नि, प्लेन चिप्लिएर साढे ८ बजेदेखि नै बन्द, यात्रुको बिचल्ली

Posted on September 2, 2018September 2, 2018 by Salokya


शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाकिमहरुको व्यस्तता हेर्न लायकको थियो। आजदेखि २२ घण्टा विमानस्थल खुल्ने घोषणा थियो। यसैका लागि हाकिमहरु आफैले आफ्नै कार्यालयमा खादा लगाएर रिबन काटेका थिए। सब कुरा ठीकै चलिरहेको थियो। तयारी अनुसार आजदेखि बिहान ३ बजेदेखि ५ बजेसम्म दुई घण्टामात्र विमानस्थल बन्द हुँदै थियो।

तर राति साढे ८ बजे यति एयरलाइन्सको एउटा विमान रनवेमा चिप्लिएर घाँसे मैदानमा जोतिँदा त्यतिबेलादेखि रातभर विमानस्थल बन्द हुन पुग्यो। २२ घण्टा खुल्ने भनेको दिनै के दशा आइलाग्यो यस्तो। कसको आँखा लागेछ नि। 

जहाज तानेर पन्छाउनु भनेको रिबन काट्नु जस्तो सजिलो हुँदैन फेरि। यसअघि तीन वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थलको रनवे अवरुद्ध हुने गरी दुर्घटना भएको टर्किस एयरलाइन्सको विमान हटाउन १३ भारतीय सैनिकसहित एयरक्राफ्ट रिमुभल किट बोकेर आउनु परेको थियो। त्यतिबेला विमानस्थल चार दिन बन्द गर्नुपरेको थियो। यात्रुहरुको कम्ता बिचल्ली भएको थिएन त्यतिबेला।

फेरि अस्ति भर्खर अर्थात्  वैशाख ७ मा मालिन्दो एयरको विमान रनवेबाट चिप्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टासम्म बन्द हुन पुग्यो।

मालिन्दो एयरले दिएको दुःखको चार महिनामै फेरि यति एयरको विमान चिप्लिएर घाँसे मैदानमा पुग्यो। अघिल्ला दुई वटा ठूला विमान थिए। यति एयरको भने जेटस्ट्रिम ४१ विमान हो। यसमा ३० जनासम्म मात्रै यात्रु अटाउँछन्। भारतीय पर्यटकहरुले चार्टर गरेर नेपालगंजबाट ल्याएको विमान करिब १५ मिटर चिप्लिएर घाँसे मैदानमा पुगेको थियो। यात्रुमध्ये केहीलाई सामान्य चोटमात्रै लाग्यो।  दुर्घटनामा परेको विमानको नोज ह्विल भाँचिएको देखिएको छ। सुरक्षाकर्मीहरुको सहयोगमा तान्ने प्रयास गरिए पनि सफल भएन। त्यसमाथि पानी परेको पर्‍यै।

अनि सुरु भयो बिचल्ली। यो विमानले अरु विमानको उड्ने र अवतरण गर्ने बाटो छेक्थ्यो। त्यसैले विमानस्थलका सम्पूर्ण उडान र अवतरण बन्द भए। नेपाल वायुसेवा निगमको एयरबस ३३० दिल्ली फिर्ता पठाइयो। चाइना सदर्न एयरको विमान ढाका डाइभर्ट गरियो। फ्लाई दुबईको विमानलाई लखनउ डाइभर्ट गरियो।

राति १० बजे अवतरण गर्नुपर्ने क्याथे ड्रागनको हङकङबाट आएको विमान भने वीरगञ्ज र हेटौडाको आकाशमा होल्ड हुँदै घुमिरहे पनि अवतरण गर्न सक्ने अवस्था नदेखिएपछि मध्यरात १२ बजेपछि ढाकातिर लाग्यो। राति १ बजे अवतरण गर्नुपर्ने कतार एयरको विमान पनि भारततिरै डाइभर्ट भयो। राति १ बजे अवतरण गर्ने र २ बजे उड्ने गरी कतार एयरले आज शनिबारदेखि नै थपेको पहिलो उडानै कोलकाता डाइभर्ट हुनुपर्‍यो।

सयौँ यात्रुको बिचल्ली भयो। काठमाडौँबाट उड्नु पर्ने यात्रुहरु उड्न सकेनन्। उताबाट आउनु पर्नेहरु आउन सकेनन्। विमान कम्पनीहरुले यात्रुहरुलाई होटलमा राख्नुपर्‍यो।

धन्न विमान राति चिप्लियो। बिहानै यसरी चिप्लिएको भए आज बिम्स्टेकका लागि काठमाडौँमा रहेका भुटानका सरकार प्रमुख स्वदेश फर्कन पाउने थिएनन्। श्रीलंकाली राष्ट्रपति अझै काठमाडौँमा छन्। उनको फर्कने विमानको सेड्युल दिउँसो ३ बजेतिरको छ। त्यतिन्जेल विमान तानेर विमानस्थल खुलिसक्छ होला। यदि सकेन भने त अन्तर्राष्ट्रिय बेइज्जत हुने भयो। किनभने उनलाई श्रीलंका उडाउने विमान यताको विमानस्थलबाट टेकअफै हुन सक्दैन।

 

2 thoughts on “२२ घण्टा एयरपोर्ट खोल्ने भनेको दिनमै के दशा लाग्यो नि, प्लेन चिप्लिएर साढे ८ बजेदेखि नै बन्द, यात्रुको बिचल्ली”

  1. Kiran Rijal says:
    September 2, 2018 at 1:25 pm

    “यसैका लागि हाकिमहरु आफैले आफ्नै कार्यालयमा खादा लगाएर रिबन काटेका थिए।”
    होइन आफैले आफ़ेइलाइ खाता लगाउछन इनिहरुले ?
    चम्चा र चाकडी बाज हरु छुट्टी मा गएका थिहे कि?

    Reply
  2. Sbh says:
    September 2, 2018 at 7:31 am

    This airlines plane keeps having problems. They should ground all their jet stream plane till further investigation. Yestai Taal ho vane, European union ki black list bata niskane chat chaina.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme