सबभन्दा पहिला शीर्षकमा नझुक्किनुस् है। FBI को अर्थ अमेरिकाको Federal Bureau of Investigation हैन। यो त हाम्रो FBI हो। अर्थात् हाम्रा फेसबुके Bureau of Investigation.
हाम्रो FBI ले रवि प्रकरणमा गजब गजबको अनुसन्धान गरेर चितवन प्रहरी त के, CIB लाई समेत मात दिइसकेको छ। यही टोलीले गरेको अनुसन्धानको नतिजा फेसबुक र युट्युबमा सार्वजनिक भएपछि अहिले धेरै सर्वसाधारणमा यस्तो धारणा बनेको छ।
- शालिकराम पुडासैनी आफै झुण्डिएर मरेका हैनन्, उनको हत्या गरिएको हो।
- पुडासैनीको लिक भएको भिडियोमा उनलाई जबर्जस्ती बोल्न लगाइएको हो।
- पुडासैनीलाई रडैरडले हानेर, करेन्ट लगाएर यातना दिएर मारेपछि झुण्ड्याइएको हो।
- रवि दाइलाई फँसाउन यो सब गरिएको हो।
अनि यो धारणा दिमागमा रहेको आधारमा आएका थप जानकारीहरु फिल्टर हुन्छन्। यो धारणासँग मिल्ने छ भने स्वीकार, नभए तिरस्कार।
नेपाल प्रहरीको सिआइबीलाई फ्लप खुवाउने गरी एक घर, एक अनुसन्धानकर्ताहरु जन्मिएका छन्। अझ कतिपय ठाउँमा एक घर अनेक अनुसन्धानकर्ता पनि भए होलान्। माथिका धारणाहरुमध्ये अरु विषयलाई पछि लेख्ने गरी आज आँखामा देखिएको हत्याराबारे कुरा गरौँ।
त्यसो त कान्तिपुरमा जनकराज सापकोटाले लेखिसकेका छन् भदौ ३ मा नै आँखाबारे। तर नेपालको नम्बर वन मिडियाले लेख्दा पनि जनताले पत्याएनन्। कान्तिपुरले लेखेको भोलिपल्ट मेरो फेसबुक टाइमलाइनमा एउटा एफबिआइ अनुसन्धानकर्ता झुल्किए।
फेसबुकमा आफूलाई गायक, रचनाकार, संगीतकार भनेर चिनाउने दिनेश भुजेल नामका ती व्यक्तिले यस्तो लेखेका रहेछन्–
मेरो वालमा आइपुग्दासम्म यो ९९३ पटक सेयर र ९७१ वटा कमेन्ट रहेछ। मतलब यो भाइरल भइसकेछ। के रैछ यस्तो भनेर नजिकैको फोटो हेर्दा यस्तो थियो-
केही देख्नुभो त ? केही न केही।
तर पख्नुस्, हाम्रो एफबिआईले के के देखे, कमेन्टहरुमा छ। एक जनाले भन्छ- अँध्यारोमा हेर्नुस्, मान्छेको अनुहार छ। पुरानो जमानामा रिल धुलाएर फोटो निकालिन्थ्यो। त्यस्तै यसलाई कुन प्रक्रियाबाट सफा बनाएर हेर्न मिल्छ खोजि गरौँ।
अर्को भन्छ, ‘रूमलाई अन्धकार पारेर एकछिनसम्म हेर्नुहोस्, आउँछ केटीको आकार। ‘ अर्कोले लेख्यो, ‘पुलिसको जस्तो लुगा लगाएको देखिन्छ।’
थप्यो अर्कोले, ‘हो साँच्चिकै हो, निलो जिन्स र सेतो टिसर्ट ला’को छ। अनि हातमा लौरो जस्तो पनि छ।’
स्कूल ड्रेसमा उभिएर हातमा किताब लिएको, हरियो ज्याकेट लगाएको केटी, सेतो सर्ट लगाएको आदि इत्यादि।
अनि एफबिआइको निश्कर्ष पनि आउन थाल्छ-
दुनियाँलाई अनुसन्धानकर्ता बनाउने को रैछ त यो महानुभाव, आइजी सर्वेन्द्र खनालले तु सिआइबीमा नियुक्त गरिहाल्नुपर्ने पो देखियो भनेर फेसबुकमा खोज्दै गएको त यस्तो देखियो परिचय-
१८ हजारभन्दा बढीलाई फलोअर बनाइसकेका रहेछन्।
१८ अगस्तदेखि उनले यो हल्ला फैलाउन थालेका रहेछन् २ लाख बढी लाइक भएको सप्तकोशी फेसबुक पेजबाट।
२० अगस्तमा उनले आँखाको खोज अनुसन्धान निकै गहिराईमा पुगेको, अनुसन्धान गर्दै जाँदा मृतक पुडासैनीको आँखाको माध्यमबाट एउटा केटी पनि रहेको तस्बिर भेटेको लेखेका छन्-
त्यसको भोलिपल्ट पनि उनले फेरि केटा मान्छे देखेको भन्छन्। केटा देखेको होस् कि केटी, सेयर संख्या बबाल छ।
खेम भण्डारी भाग २
हौसिएर उनले अझ २१ अगस्तमा आफू असुरक्षित भएको समेत दावी गर्छन्। अर्थात् ठ्याक्कै निर्मला प्रकरणका खेम भण्डारी भाग २।
निर्मला प्रकरणमा पनि ज्यानकै बाजी लगाएँ अब भिआइपी हत्यारा सार्वजनिक गर्छु भन्दै लेखेका थिए फेसबुकमा। तर एक वर्ष नाघ्यो, सार्वजनिक गर्न सकेका हैनन्।
रवि प्रकरणमा पनि अर्का खेम भण्डारी निस्किएछन्। अझ भाग २ को प्रभाव धेरै देखियो खेम भण्डारीको ४८१ रियाक्सन, १६३ कमेन्ट १४ सेयरमात्रै देखिन्छ तर यिनको ७८७ कमेन्ट, २१३ सेयर, ३७ सय रियाक्सन छ। मेरो एकाउन्ट ह्याक हुनसक्छ, म सुरक्षित छैन भनेर लेखेछन् भाग २ ले। फेसबुकको अकाउन्ट कसले ह्याक गर्छ र। फेसबुकको सुरक्षा व्यवस्था त्यति खराब छ र जो पायो त्यहीले जसको मन लाग्यो त्यसको ह्याक गर्न सक्ने। खेम भण्डारी पनि बेलाबेलामा फेसबुक, युट्युब ह्याक भएको भनेर लेखिरहन्छन्।
भाग २ लाई कोबाट असुरक्षा भयो त? कसैले मार्छु भने र?
अनि अर्को नौटंकी हेर्नुस्। असुरक्षा छ भनेर लेखेको केही समयपछि अर्को स्टायटस आयो जसमा लेखिएको रहेछ-
ज्यानकै असुरक्षा भएको मान्छे अलि सुरक्षित भएर लुकेर बस्छ कि पत्रकार सम्मेलन गर्दै हिँड्छ? त्यो पनि रातको ८ बजे ! अझ हाँसउठ्दो कुरा त उनले पत्रकार सम्मेलनको फोटो भन्दै तीन जनाको फोटो हालेका छन्-
रातको साढे ११ बजे उनले फेरि आफूले ज्यानको जोखिम मोलेर काम गरिरहेको भन्दै अर्को फोटो राखे-
आँखामा के देखियो?
माथिका केही फेसबुक पोस्टहरुमा दिनेश भुजेल नामका यी व्यक्ति एटेन्सन सिकर भएको प्रष्ट हुन्छ। उनले आफू चर्चामा आउन यी सब हर्कत गरिरहेका छन्। ठूलो संख्यामा फेसबुक चलाउने नेपालीहरु उनले फैलाएको भ्रममा विश्वास गरिरहेका छन्।
यिनको अनुसन्धानको हविगत त यिनकै पेजमा देखिन्छ। यो नयाँ हल्लाको फण्डा फ्याँक्नुअघि उनको पेजले आँखामा देखिएका फोटो भन्दै यस्ता फोटो राखेको थियो-
यो चाहिँ पूरै फोटोसप गरेर आँखाको नानीमा फुटबलरको फोटो राखिएको हो। यो गलत भएको प्रचार भएपछि उनले अर्को फण्डा फ्याँके जसमा भिडियोको स्क्रिनसटलाई जुम गरिएको छ। त्यो जुम सट त्यही भिडियोकै हो कि हैन भन्ने पनि शंका छ। फोटोमा प्रष्ट केही देखिन्न। तर केही हो कि हो कि झैँ लाग्छ। बादल हेर्दा कसैले के कसैले के देखे जस्तो। प्रष्ट देखिने भए कसैले पुलिस कसैले केटी देख्दैन थिए। जे मान्छेको मनमा जे शंका छ, त्यही आकृति त्यसमा देखिएको हो।
कसरी सुरु भयो आँखाको कुरा?
जुन दिन भिडियो नेपालआजको युट्युब च्यानलमा सार्वजनिक भयो (अर्थात् अगस्त १४ मा) त्यो दिन एक घर एक अनुसन्धानकर्मी भए। फेसबुकमा इन्भेस्टिगेसन सुरु भयो। फेसबुकमा युवाको लोकप्रिय ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) मा पनि त्यही पारा थियो। हरेकका आ-आफ्नै अनुसन्धान। आफ्नै विश्लेषण। अनि दिक्दार भएर कसैले लेख्यो- शालिकरामको आँखामा १६X जुम गरेर हेर्यो भने हत्यारा देखिन्छ रे। त्यो दिन हाँसोको लागि मात्रै त्यो पोस्ट गरिएको थियो। तर पछि कसैले ख्याल ठट्टामै आँखामा एमआरआर कै एक सदस्य मनोरम जोशीको फोटो फोटोसपबाट एडिट गरेर हाले।
केही समयमै ग्रुपबाट त्यो फोटो हटे पनि त्यतिन्जेल अरु ठाउँमा कपि भइसकेको थियो। ख्यालठट्टामा राखिएको विषयलाई मान्छेले साँच्चिकै ठाने। युट्युबमा पनि त्यही बाढी आयो
खासमा मनोरम जोशीको यो फोटोलाई त्यसरी आँखामा राखिएको थियो। जोशीले पछि फेसबुकमा स्पष्टिकरणै राखे-
हुँदाहुँदा पछि होटल साहुको फोटो आँखामा देखिएको कुरा पनि फेसबुकमा आए
जबकि त्यो होटल साहुको फोटो थिएन, पूरा फोटो क्लिक गरेर हेर्ने हो भने थाहा हुन्थ्यो, त्यो त पाकिस्तान र अस्ट्रेलियाबीचको क्रिकेट खेलमा निराश पाक समर्थकको फोटो थियो।
जुन महिनाको अन्तिमतिर अन्तर्राष्ट्रिय मिडियामा यी फ्यान पनि भाइरल भएका थिए
Meet the man behind the ‘disappointed cricket fan’ meme | Samaa Digital
If you are active on social media, then you may have seen the meme of a man dressed in a flannel shirt with arms akimbo and a disappointed look on his face. The man’s reaction to Pakistani cricketer Asif Ali dropping a catch during a match against Australia has been the latest meme sensation.
यिनको प्रशस्त मिम बनेको थियो।
This guy from yesterday’s match is now an epic meme! – Diva Magazine
The internet is a funny place, one minute you’re a nobody and the very next minute you’re a legendary meme! Same happened with one of the match attendees in London during Pak vs Aus match whose reaction (other than summing up yesterday’s match) caught the attention of so many that he is now an epic meme and is all over Twitter and Faebook!
तर नेपालमा होटल साहु भनेरै पत्याइदिए।
अझ कसैले त रवि दाइ पनि देखिए भनेर पनि हाले। रविका फ्यानहरु धेरै भएकोले यो फोटो भने त्यति भाइरल भएन।
मान्छे चिनिने फोटोबाट भ्रम फैलन अलि कम भएपछि यी नयाँ पात्र जन्मिए जसले नयाँ भ्रम छर्दैछन्। त्यसलाई मान्छेले विश्वास पनि गर्दैछन्। विश्वास नगर्नेले पनि त्यसमा रियाक्ट गरेर, सेयर गरेर वा कमेन्ट गरेर त्यो भ्रमलाई फैलाउन सघाइरहेका छन्। खासमा यस्तोलाई त false news का रुपमा रिपोर्ट गर्नुपर्ने हो।
आँखामा त्यसरी मान्छे देखिन्छ त भन्या?
किन नदेखिनु, मज्जाले देखिन्छ। उदाहरणको लागि यो एउटा म्युजिक भिडियो हेर्नुस्- पूरै आँखाको नानीमा देखिने दृश्यमात्र छ यसमा।
सन् २०१३ मा युनिभर्सिटी अफ योर्कको साइकोलोजी डिपार्टमेन्टका डा. रब जेन्किन्सले एउटा रोचक अध्ययन प्रकाशित गरेका थिए, त्यो अध्ययनमा आँखाको नानीको फोटोमा देखिएको प्रतिबिम्बबाट मान्छे चिन्न सक्ने देखाएको छ। अध्ययनका क्रममा अपराध भएको बेलाको जस्तो स्थितिमा फोटो खिचेर हेरिएको थियो। प्लस वन जर्नलमा प्रकाशित रिपोर्ट
अध्ययनका क्रममा आठ जनाको फोटो खिचिएको थियो जसले क्यामेरा पछाडि रहेका चार जनालाई हेरिरहेका थिए। फोटो जुम गरेर हेर्दा मान्छे देखिएका थिए र चिनिएको पनि थियो। तर यो अध्ययनका पनि केही सीमा थिए।
एक त यो ३९ मेगापिक्सेलको क्यामेराले खिचेको हाइ रेजोल्युसन इमेज थियो। अर्को, यो अध्ययनका क्रममा फोटो खिच्दा कन्ट्रोल सिचुएसन थियो। अर्थात् लाइटिङ, फ्ल्यास त्यही अनुसारले मिलाइएको थियो। त्यस्तै पीडितले क्यामेरामा सीधा हेरेको हुनुपर्यो।
शालिकरामको केसमा फोटो हैन भिडियो हो। त्यो पनि फ्रन्ट फेस क्यामेराले खिचेको हुनाले रेजोल्युसन लो क्वालिटीकै छ। त्यसको स्क्रिनसटबाट आँखाको नानीबाट मान्छे देखिने गरी प्रतिबिम्ब निस्कन गाह्रो छ।
मैले त त्यस्तो केही देखेको छैन। तर केही झल्याकझुलुक केही देखिहाल्नुभो भने अगाडि रहेको टिभीको दृश्य हुनसक्ला। कोठामा टिभी थियो। टिभीको दृश्य देखिएको हो भने पनि अनुहार चाहिँ चिनिन्न। यत्रो हाइ रेजोल्युसनको मिलाई मिलाई खिचेको फोटोमा त यस्तो धमिलो चित्र आएको छ मान्छेको
यदि कसैको अगाडि त्यसरी बोलेको भए रवि र उसको सहकर्मी युवराजलाई मात्रै फँसाउला नि। किन दीपक बोहरा निर्दोष छन् भन्थे होला। पूरै सीधा कुरा टिमलाई नै फसाउँथ्यो होला नि। अनि त्यो रुकु भन्ने अस्मिता कार्कीलाई किन फँसाउनु पर्थ्यो?
त्यस्तै कसैले यदि त्यसरी बोल्न लगाएको हो भेडा बुद्धि नलगाई लजिक लगाउने भने यसो सोच्नु पर्ने- त्यो होटलको कोठा थियो। नजिकै अर्को कोठा हुन्छ। बसपार्क नजिकको होटल हो। चिच्याउँथे होला नि बचाऊ भनेर। अरुले सुनिहाल्थे नि। मार्न खोजिरहेको थियो भने त प्रतिकार पनि गर्ला नि।
तर हैन, दिमागमा मारेको हो भन्ने परेपछि जस्तै लजिकले पनि काम गर्दैन। एक तर्क गर्नुस्, हजार कूतर्क आउँछ। अनि त यी हल्लाबाजहरुले भाइरल हुने काम पाउँछन्। उनीहरुले भ्रमको खेती गर्न पाउँछन्। आखिर उर्बर दिमाग जो छ खेतीका लागि। गलत ठहरिए जुनसुकै सजाय भोग्न तयार छु, आत्महत्या गर्छु भनेपछि त हामी भावुक भइहाल्छौँ फेरि। यी हल्लाबाजले पनि त्यसै गरे। हजारौँलाई झुक्याए।