Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

४० सेकेन्डको एउटा बोली जसले कानुन मन्त्रीलाई रुँदै राजीनामा दिन बाध्य बनायो

Posted on July 25, 2018July 25, 2018 by Salokya


कानुन मन्त्री शेरबहादुर तामाङले आज राजीनामा दिए। राजीनामाको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा गला अवरुद्ध भएपछि आँखाबाट आएको आँसु पुछे पनि। यो सब कान्ड हुनुको कारण मन्त्री तामाङको ४० सेकेन्डको एउटा अभिव्यक्ति थियो जुन उनले शुक्रबार एउटा स्कूलमा आयोजित कार्यक्रममा बोलेका थिए।

प्राक्सिस इन्टरनेसनल एकेडेमीमा एसईई पास गरेका विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा मन्त्री तामाङको मुखबाट निस्केको अभिव्यक्ति सामाजिक सञ्जालमा फैलिएपछि साउन ६ गते उनले माफी मागेको विज्ञप्ति निकाले। तर यसले काण्ड साम्य भएन। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्न भनेपछि उनले साउन ७ गते पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरे। के थियो त त्यो अभिव्यक्ति?

उनले यसो भनेका थिए-

आज म कथा खोल्छु। बङ्गलादेशमा केही चेलीहरू, हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनका लागि मैले सुनेको छु, कहीँ न कहीँ उनीहरूले आफूलाई बेच्नुपर्छ। मैले सुनेको छु यस्तो मार्मिक छ कथा। उनीहरूले यहाँ खोलिरहेका छन् कथाहरू। हामी हाम्रा छोरी चेलीहरूलाई पढ्नका लागि विदेशमा पठाउँछौँ तर उसले आफूलाई त्यहाँ नसुम्पी सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन। त्यसैले ती सबैले यही मुलुकमा पढ्न पाउनुपर्छ भन्दा हामी प्लेकार्ड बोकेर बाहिर निस्कन्छौँ, पाउँदैन। हामी नै प्लेकार्ड बोकेर बाहिर निस्कन्छौँ, हुँदैन। के भन्या यो, के गर्न खोजेको यो मुलुकलाई रु त्यसैले मुलुकको समृद्धिका लागि अगाडि बढ्दाखेरि देशैभरी धेरै हाम्रा स्टुडेन्टहरू यही मुलुकमा मेडिकल शिक्षा पढेर डाक्टर बन्नुस् । हरियो पासपोर्ट बोकेर अरबमा काम गर्न जाने होइन । हामी रातो पासपोर्ट बोकेर डाक्टरहरू विश्वभरी काम गर्न जाने हुन सक्यौँ भने पैसाको कमी हुन्छ र यो मुलुकमा। तर हामी मान्छेलाई पढाएका छैनौँँ । अनि हरियो पासपोर्ट जिम्मा लाउँदै अरबमा काम गर्न पठाएका छौँ।

http://www.mysansar.com/wp-content/uploads/2018/07/h7w4v.mp4

बंगलादेशमा पढ्न जाने नेपाली चेलीहरुले आफूलाई ‘बेच्नुपर्छ’, ‘आफूलाई त्यहाँ नसुम्पी सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन’ यही दुई वटा आपत्तिजनक अभिव्यक्तिले नै उनलाई राजीनामा दिन बाध्य बनायो।

सामान्य व्यक्तिले भनेको भए यो आरोपमात्र हुनसक्थ्यो होला। तर मन्त्री जस्तो जिम्मेवार पदमा बसेका व्यक्तिले ‘मैले सुनेको छु’ भन्दै गम्भीर विषय बोले, जुन बंगलादेश सरकारले कुरा उठाए कुटनीतिक मुद्दासमेत बन्न सक्थ्यो। बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीका समस्या नभएका हैनन्, केही उजुरी परेका पनि थिए। यस्तो उजुरी परेको छ, यसमा हामी छानबिन गरिरहेका छौँ भन्ने हिसाबले सांकेतिक हिसाबले बोलेको भए कुरा बेग्लै हुनसक्थ्यो। तर उनले सीधै बोलिदिए। जनरलाइज गरिदिए विषयलाई। जसले बंगलादेशमा पढिरहेका सयौँ नेपाली चेलीहरुको बेइज्जति भयो।

अनि यसमा घ्यु थप्ने काम गर्‍यो मार्सी चामलको भात खुवाउने भनी बदनाम मेडिकल कलेज व्यवसायी, बीएण्डसी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको आपत्तिजनक बोलीले। मन्त्रीको भन्दा अगाडि उनको बोली बजारमा आएको थियो जसमा उनले सीधै करणी शब्द प्रयोग गरेका छन्। उनले भनेका थिए-

‘बंगलादेश पढ्न गएका केटाहरू पाँच वर्षमा एमबीबीएस पास गरेर आउँछन्, हाम्रा चेलीबेटीहरू किन ९ वर्षसम्म आउँदैनन्? किनभने त्यहाँका प्रोफेसरहरुले करणी गरेर राखेका छन् नेपाली चेलीहरुलाई’

बोली कै कारण मन्त्रीको जागिर गए पनि प्रसाइँलाई भने कुनै कारबाही भएको छैन।

त्यसो त मन्त्रीले हिजै माफी मागेर विज्ञप्ति निकालिसकेका थिए-

तर सरकारको बदनामी हुँदै गएपछि प्रधानमन्त्री ओलीले पत्नीसहित बालुवाटार बोलाएर मन्त्री तामाङलाई राजीनामा दिन अह्राएका थिए। माधव नेपाल गुटबाट मन्त्री बनेका तामाङलाई नेपालले पनि राजीनामा दिन सुझाएपछि उनले राजीनामा नदिई धरै भएन। आजको वक्तव्यमा उनले आफूलाई निकाल्न षड्यन्त्र भएको बताएका छन्। उनले आफूले त्यो कुरा बोलेकै हो भन्दै हिंसा भएकै छैन भनेर हामी कसरी समाधान गर्न सक्छौँ भनेर पनि सोधेका छन्।

7 thoughts on “४० सेकेन्डको एउटा बोली जसले कानुन मन्त्रीलाई रुँदै राजीनामा दिन बाध्य बनायो”

  1. रियल घले बले says:
    July 27, 2018 at 7:22 am

    नेपालमा सबै जातपातको आधारमा चलेको छ, राजनीति देखि प्रशासन सबै अंगहरु| वास्तविकता यो हो| माओवादीले यो विभेद हटाउछु भनेर सशस्त्र आन्दोलन गर्यो तर बिचैमा तुहायो र अहिले जातपातको विभेद झन् बढेको छ जँहा सम्म राजनैतिक र निजामति प्रशासनको सवाल छ|
    शेरबहादुरहरु आउछन, शेरबहादुरहरु जान्छन तर परिवर्तन कस्मेटिक मात्र हुन्छ|
    मुखले म जातपात र विभेद मान्दिन भनेर मात्र के अर्ने जब त्यसबाट हुने फायदा खुरुक्क लिईरहेका हुन्छन| यस्तै छ मित्र हाम्रा मुलुकको हाल| समुद्रपारि बाट हेर्दा अर्कै देखेको हुनसक्छ| दिनहु भोग्नेलाई र पीडित सचेतलाई थाहा हुन्छ|
    यो त घुसखोरीका सन्तानले भ्रष्टचार निर्मुल गर्नुपर्छ भनेर धुरीबाट कराएको जस्तो भयो जब घुसकै धनमा पालिएर बढेका हुन र जातिय विभेद र आफन्त नाताको लाभ लिएर जागिर खाएका हुन| त्यो चट्ट बिर्सेर जो घुसखोर र घुसखोर संस्कारमा पालिएका उसकै चर्को शोर|
    इति शुभम|

    Reply
  2. Mukhiya Ghale says:
    July 26, 2018 at 1:58 pm

    अब बोलीले अनि प्रयोग गरेको भाषाले पनि जात देखिने भयो? सहि हो ! म घले हो भनेर अब शुद्ध नेपालीमा लेख्न पनि आफ्नो जात लुकाएको भयो? धन्य मित्र! घले भएर कसरी लेख्नु पर्ने बोल्नु पर्ने रहेछ सिकाई दिनुस न साथी ! जातको कुरा किन निकाल्ने? योगदान र काबिलियतको कुरा गर्न थालौ न साथी. म सक्छु भने मैले गर्छु, जब मैले गर्न सकेर पनि पाऊँदिन , तब मात्रै मलाई अधिकारको लागि लड्न कर लग्छ | जब म गर्नै सक्दिन, म यो जात को म त्यो जात को, मैले सके पनि नसके पनि पाउनु पर्छ भनेर म आफ्नै स्वाभिमान लाई कसरी अपमानित गरूँ ?

    Reply
  3. Riyal ghale says:
    July 26, 2018 at 6:58 am

    ए हजुर, बिचरो सोझो सबैको भलो चिताउने घले मुखियाको नाम दुरुपयोग गरेर किन घले मुखियालाई बदनाम गराउन लाग्नु भो? आफ्नै जात लेख्न के को डर?
    ज्यान गए पनि नर्मल परिस्थितिमा घले मुखियाले त्यस्तो कुविचार र कुतर्क प्रस्तुत गर्न चाहदैनन्
    भन्ने बुझ्ने नसक्नेलाई के भनु?
    जुत्ताले कंहा चेप्यो लाउनेलाई थाहा हुन्छ
    सरकारी पद र ढुकुटी आफै र आफ्नैले मात्र होसरु भन्नेलाई कंहा
    हेक्का हुने भो अरुको पीडा!

    Reply
  4. Mukhiya Ghale says:
    July 25, 2018 at 11:45 pm

    तईत योञ्जन! केही नपाएर अब यता पनि जात थरको कुरा उठाउन थालेको? समाज भाँड्ने मंच कहिँ पाएनौ कि क हो? अब गल्ति गर्ने मान्छेलाई गल्ति हैन जात हेरेर सजाय गर्नुपर्ने? शेर बहादुर तामांग होस् कि हरिप्रकाश पराजुली, गल्ति गरे पछि त्यसको जिम्मेवारी पनि लिन सक्नुपर्छ अनि सजाय को लागि पनि तयार हुनुपर्छ | अलि सान्दर्भिक कुरा गर न. जातले न तिम्रो बुवा ठुलो हुनुभयो, न मेरो बुवा. मा यो जातको, मलाई यो हुनुपर्छ भन्ने कुरा त तेही “म अमेरिकन काले हुन् मैले स्टोर लुट्न पाउनु पर्छ, सजाय हुन हुन्न” भनेको जस्तो भयो.

    Reply
  5. ताम्वा says:
    July 25, 2018 at 4:38 pm

    अनि के त बंगालदेशमा नेपाली चेलीहरुको त्यस्तो घटना भएकै हो भनिन्छ|
    नत्र भन्न सक्न पर्यो त्यस्तो घटना भएकै छैन भनेर| जेनेरलाइज गर्न मिल्दैन
    तर एकका दुक्का मात्र भए पनि भएको हो भने किन कसरि भयो खोज्नपर्यो|
    फेरी नेपाली चेलीलाई बिदेशमा त्यस्तो सास्ती भोग्न नपरोस|

    शेरबहादुरलाई तामांग भनेर एमाले र माओवादीको कक्टेल सरकारले हेपेकै हो|
    माफी पनि मागे र राजिनामा पनि मागे|
    यो मुलुकमा तामांगलाई सत्तावाल र कर्मचारीले नेपाली सरह गन्दैनन|
    कहिले भोटे भन्या छ,कैले के भन्या छ| सरकारी जागिरमा त्यही हेपाई छ तामांगलाई|
    एउटा सरकारी अड्डामा काम परेर गयो भने तामांगको बिजोक हुन्छ|
    तामांगलाई नेपाली सरह किन समान अधिकार र व्यवहार गरिदैन?
    मधिसेलाई हेला गर्दा आन्दोलन गरेर हक लिएर छाडे| उनीहरुको त
    पावर पछाडी थियो तर तामांग जातिको अघि पछि कुनै पावर छैन|
    अहिले मधेस र मधेसीलाई कतिले सम्मान संग व्यवहार नगरे पनि समान व्यवहार
    चै गर्छन, डरैले भएपनि|
    ताम्सालिङ्ग चाहियो भनेर आन्दोलन शुरु गरे पछि मात्र तामांगलाई पनि
    अन्य नेपाली सरह सम्मान र समान व्यवहार गर्ने हुन्|

    Reply
  6. च्यांगबा सत्यप्रकाश योञ्जन says:
    July 25, 2018 at 7:33 am

    मुख्यत तामाङ्ग भएको कारणले र आदिवासी जनजातिको नाताले उनीमाथि सार्बजनिक रुपमा माफी माग्दा माग्दै पनि ओली सरकारको
    राजीनामाको बज्रपात पर्न गएको हो भन्ने सोच धेरैले राखेका छन| त्यसमा दम छ, हेराई र भोगाईको फरक मात्र|

    सीमान्तकृत, उपेक्षित तामाङ्ग जातिका सेफ्टीबेल्ट वा नेटका रुपमा विपद संकटमा समातने हाँगो नै छैनन| जस्तो अरुका क्रस पार्टि लाईनमा
    पनि नातागोता आफन्त रक्षक सरंक्षक फ़ाइनान्सर लब्बी छन, भन्ने सुनिन्छ देखिन्छ मेडिया देखि सरकारका बिभिन्न अंगहरुमा आफ्ना मान्छेहरु छन|

    जत्तिकै उच्च शिक्षित किन नहोऊन र उच्च पदमा किन नहोऊन, तामाङ्ग एकलो र टुहुरो हुन पुग्छन| डीबी लामा, कर्नेल कुमार लामा
    आदिको प्रकरण र नियुक्ति चयन मनोनयनमा हेर्ने हो भने राजदुतमा आशा लामा (उनलाई मेनपावरवाली भनेर लिइएन तर अर्की
    मेनपावर संग सोझै सम्बद्ध भएकीलाई ओमनको राजदुतमा नियुक्त गरियो), मुख्य सचिव नियुक्तिमा धनबहादुर तामाङ्ग आदिलाई
    आफ्नो मान्छे हद र पूर्वाग्रही लब्बी आदिलाई लिन सकिन्छ|
    जे होस्, शेरबहादुर तामाङ्गले पदमा रहदा केही शब्द बिझाउने बोलेर गल्ती नै गरेनन भन्ने होइन| तर उनको अभिप्राय गलत थिएन|
    जे भए पनि माफी मागे|
    तर माफी संगै मन्त्रि पद पनि खोसे| देशको केन्द्रिय मन्त्रि मण्डलमा भएको दुवोंको रुपमा भनौ रहेको एउटै मात्र तामाङ्ग पनि हटियो|
    यो देशमा तामाङ्गले गल्ति गर्दा माफी मागे पनि माफी पाईन्न, अरुलाई किन यस्तो हुँदैन? तामाङ्ग जातिले यस्तो प्रश्न उठाउन स्वाभाविक
    हो| तर यो प्रश्न अरु विवेकशील र पढेलेखेका पूर्वाग्रहरहित नेपालीले पनि उठाउन परने होइन र?
    तामाङ्गको छोरो, शब्दजाल, कुरो चपाएर बोल्ने, घुमाउरो भाषा र भाकाको संस्कारमा नहुर्केको| जस्तो मनमा लाग्यो तेस्तै बोलिदियो|
    कानुन मन्त्रि हो, त्यसो नगर्न परने, गरिदिए| माफी मागे तर उनलाई माफीलायक ठानिएन| तामाङ्गलाई हटाएर केहि हदसम्म बिशय
    मोडिए पनि डा. केसीको जायज मांगको गरमा गर्मी सेलाउने होइन|

    हाम्रा सचेत र विवेकशील नेपालीले शेर बहादुर तामाङ्गले उठाएका मुद्दा, जसले गर्दा उनी फायर भए, अलि नियालेर हेर्न पर्यो|
    तामाङ्गले सबैलाई मुछेका छैनन| “केहि चेलीहरु हाम्रा छोरीहरु” भनेका छन| किन कसरि सबै जुर्मुराए? केहि भन्न पनि नपाउने
    र सबै भएको ठहरिने?

    दुइटा प्रश्न:
    १. “केही” भन्दा भन्दै किन सबै तात्तिए? बंगलादेशमा गएका सबै होइनन भन्ने बुझियो| गम्भीर छ|
    भारतमा हाम्रा “केहि” चेलीहरुलाई प्रलोभन देखाई लगेर जबर्जस्त बेश्यावृत्तिमा ढकेलेका छन| यस्तो सबैले भन्दै आएका छन|

    २. त्यस्तो ज्यादती र वाध्यता बंगलादेशमा भएकै हो भने अनुसन्धान गरेर समाधान गर्न तिर लाग्नु परने होइन? कसकसलाई
    भएको हो र अहिले पनि त्यस्तै स्थिति र वातावरण छ? कसरि सुधार्न पर्ने हो?

    Reply
  7. Kamal says:
    July 25, 2018 at 6:38 am

    येस्तै हो साथि, बोली र गोली निस्किय पछी नियन्त्रन गर्न मिल्दैन तेसैले पहिला नै बिचार पुर्याउनु पर्छ । बोल्ने बेलमा चाही अफ्नो पदको मर्यदा बिर्सेर अरु (ब्यापरि) को भासा बोल्यौ, अब रोयर केही हुन्न । अर्को चोती मन्त्री हुदा चाही थुतुनु अलि बिचार गरेर चलाउनु ल ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme