Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बानेश्वरमा झडप भइरहँदा नेकपाका दुई अध्यक्ष आर्मी क्लबमा गुगल ब्वाइको कार्यक्रममा व्यस्त

Posted on July 21, 2018July 21, 2018 by Salokya


बिहीबार जुम्लामा अस्पतालमै टियर ग्यास र लाठी हानेर उपद्रो मच्चाएपछि आज फेरि डा. गोविन्द केसीकै समर्थनको निहुँ पारेर बानेश्वरमा झडप भयो। कांग्रेसी तरुण दलको प्रदर्शनमा हस्तक्षेप हुँदा बानेश्वरमा लाठिचार्ज भयो र टियर ग्यासका सेलहरु फ्याँकिए। प्रहरी र प्रदर्शनकारी दुवै घाइते भए। उत्तेजित प्रहरीले पेस्तोल ताक्दै हिँडेको फोटो सार्वजनिक भयो। बानेश्वरमा यति उपद्रो भइरहँदा दुई तिहाईको सरकार चलाउने सत्तारुढ पार्टीका दुई अध्यक्ष भने आर्मी अफिसर्स क्लबमा थिए। सुरक्षाको विषयमा कुरा गर्न हैन, गुगल ब्वाइ नामले प्रख्यात आदित्य दाहालको नामको एउटा पुस्तक विमोचन गर्ने कार्यक्रममा। प्रधानमन्त्री केपी शर्मा ओली अरु सब काम छाडेर त्यहीँ उपस्थित थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि अरु कामधाम छाडेर त्यहीँ उपस्थित थिए। दुईले किताब विमोचन गरेर भाषणसमेत गरे।

हेर्नुस् त प्रधानमन्त्रीको सचिवालयले पठाएको फोटोमा दुई अध्यक्षले संयुक्त विमोचन गरिरहेको किताब।

यसअघि नै गुगल ब्वाइलाई अघिल्लो पटक बनेको ओली सरकारले नै एक पटक गाडी किन्न र अर्को पटक उपचार गर्न भन्दै करोड करोडको सहयोग दुई चोटी दिइसकेको थियो। गुगल ब्वाइप्रति यी दुई नेताको विशेष मोह देखिन्छ।


‘कलियुगको आदित्य ज्योतिषपथ’ नामको किताब विमोचनको कार्यक्रम रहेछ आज। प्रधानमन्त्रीले भाषण ठोक्दिनुभो, ‘आदित्यको शारीरिक मात्र होइन ज्ञानको पनि सुरक्षा हुनु आवश्यक छ। यसका लागि सरकार सहयोग गर्न तयार छ।’

‘प्रचण्ड’ले पनि आदिमकालदेखि नै नेपाल ज्ञानको भण्डार भएको भन्दै गफ लगाए।

प्रधानमन्त्रीको सचिवालयले के के न महत्वपूर्ण कार्यक्रम जस्तो गरेर यस्तो समाचार नै बनाएर मिडियामा पठायो-

आदित्य दाहालको प्रतिभा विज्ञानको लागि खोजीको बिषय : प्रम ओली
काठमाडौं ५ साउन,आदित्य दाहालको प्रतिभा विज्ञानको लागि खोजीको बिषय भएको बताउनुभएको छ ।
आदित्य संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको कलियुगको आदित्य ज्योतिष पथ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोत विना ज्ञान आफैं आश्चर्यजनक भएको बताउनुभएको छ । आदित्यको दार्शनिक श्रृंखला,चिन्तन प्रक्रिया धार्मिक प्रक्रियासँग मेल नखाने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
आदित्यलाई आफ्नो ढंगले सोच विचार गर्न दिने र त्यो ज्ञानलाई प्रकट हुने वातावरण बनाइदिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “आदित्यको शारिरीक मात्र होइन ज्ञानको पनि सुरक्षा हुनु आवश्यक छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसका लागि सरकारले सहयोग गर्न तयार छ ।”
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आफ्ना धारणा राख्नु भएको थियो ।

अब सरकारले फेरि के के सहयोग गर्ने हो हेर्न बाँकी छ। यही मौकामा गुगल ब्वाइसम्बन्धी विज्ञान बाको पुरानो ब्लग साभार

नेपाली गुगल-बोय भनेर पनि चिनिने आदित्य दाहाल उनको असाधारण क्षमताका कारण चर्चित छन्। बिशेष दिमागी अवस्थाका या दिमागी चोट लागेका केही व्यक्तिहरुको विलक्षण गणितीय क्षमता हुन्छ जसलाई सभाण्ट सिन्ड्रोम भनिन्छ। रिपोर्टहरु हेर्दा लाग्छ, आदित्य यस सभाण्ट वर्गमा पर्दैनन्। उनी औसत भन्दा निकै मेधावी तर अरु हिसाबले सामान्य नै लाग्छन्।

उनी भर्खर ५ टेकेका बालक हुन् तर उनी त्यो उमेरका बालबालिकाको तुलनामा निकै फरक र प्रतिभावान देखिन्छन्। पत्रपत्रिका र टिभीका रिपोर्टबाट यति कुरा बुझ्न सकिन्छ कि उनी असाधारण हुन्। यसमा विमति कसैको पनि छैन होला। तर हालै उनको बारेमा कतिपय कुराहरु भने अन्तत: उनैलाई हानी गर्ने गरी उचालिएको छ। हाम्रो समाज साधारणतया अलि लहडे खालको छ र हामी थाहै नपाइ बहकिन्छौ। आदित्यको सन्दर्भमा उनको भलो नाचिताउने कोही पनि छैन होला, तर हामी थाहै नपाई उनलाई अन्याय त गरिरहेका छैनौँ? आउनुहोस् केही चर्चा गरौँ।

हालै अनलाइनमा उनका बारेमा लेखिएका केही हरफहरु अचम्म लाग्ने खालका छन्। यिनै आधारमा अब आउनुहोस् उनीमाथि गरिएका अन्याय केलाउँ।

१) भारतका कौटिल्यले आफुले पढेको देखेको र सुनेको आधारमा ज्ञानको भण्डार विकास गरेका हुन् भने आदित्यले आफूले नदेेखको, नसिकेको, नसुनेको विषयमा पनि जवाफ दिन्छन्।

उनी तिक्ष्ण दिमागका हुन् तर “सुन्दै नसुनेको, नदेेखको, नसिकेको कुरामा ज्ञान” भन्नु अतिरन्जित हो । बालमस्तिष्क बिकासको हालसम्मको अनुभवलाइ यसले सिधै चुनौती दिन्छ, जुन बैज्ञानिक भन्दा पनि प्यारानर्मल क्षमतामा पर्छ । यदि यसलाई प्रमाणित गर्न सक्नुहुन्छ भने जेम्स रयान्डी एजुकेसनल फाउन्डेसनले दस लाख अमेरिकी डलरको पुरस्कार दिन्छ । यत्रो राशीको पुरस्कार किन नथाप्ने ?

२) आदित्यमा क्रमिक रुपमा नभई साढे तीन वर्षको उमेरमा एकाएक यस्तो क्षमता उत्पन्न भएको हो ।
बाल मनोबैज्ञानिकहरुका अनुसार साधारणतया बच्चाहरु ५ महिनाको उमेर भित्र आफ्नो नाम चिन्न सक्छन भने १ बर्षको हुँदा सम्म ५० भन्दा बढी शब्द जान्दछन । १८ देखि २१ महिना तिर उनीहरुमा भाषाको बिष्फोट नै हुन्छ र दिनमै औसत ९ नयाँ शब्दहरु सिक्न सक्छन । हामि औसत बच्चाले बोलेकै सुनेर पनि यति सानो बच्चाले यस्तो कसरि भन्यो होला, या कसरि जान्यो होला भनेर धेरै पटक अचम्मित् परेका हुन्छौं । तर बच्चाहरुको भाषा सिकाइमा उनीहरुको वरपर, घरका हरुले बोलेको कुराले ठुलो असर गरिरहेको हुन्छ । उनीहरु आफ्नो वरपर मान्छेहरु कसरि बोलिरहेका छन्, के को बारेमा बोलिरहेका छन् भनेर सचेत भैरहेका हुन्छन र सिकिरहेका हुन्छन । भाषिक हिसाबले राम्रो र गहन शब्दहरु प्रयोग गरि समसामयिक कुराहरुमा छलफल चलिरहने वातावरणमा हुर्केको बच्चाहरु मा यस्तो भाषाको विकास राम्रो हुन्छ । उनीहरुले बोल्न नजान्दै पनि यति धेरै कुरा सिकिसकेका हुन्छन कि त्यो हामीलाइ अपत्यारिलो लाग्छ । करिब ३ बर्षको उमेर देखि बच्चाहरुले छोटा बाक्यहरु बनाउन सक्ने हुन्छन भने ३ देखि ५ बर्ष सम्ममा कठिन बाक्य मात्र बनाउन सक्ने नभई बाक्यहरुको भाव र अर्थ बुझ्ने र दोहोरो बात-चित गर्नमा निपुण भैसक्छन । यो भाषिक दिमाग बिकासक्रम चाही साधारण बच्चाहरुको हो, या भनौ औसत हो । यसमा पक्कै पनि केहि बच्चाहरुको विकास छिटो र तुलनात्मक हिसाबमा उच्च हुन्छ । आदित्य यस्तै वर्गमा पर्न सक्छन | उनी तिक्ष्ण दिमागका हुन् तर “सुन्दै नसुनेको कुरामा ज्ञान” भन्नु अतिरन्जित हो ।

३) आदित्यको शारिरीक दुर्वलता सुरु भएको केहि समयपछि दिमागी क्षमता उजागर भएको हो । बोल्न पनि नसक्ने उनी लेखेर मात्रै जवाफ दिन सक्छन्।

बालमनोविज्ञले अवलोकन गरेर निष्कर्ष निकाल्दा मात्र जरो कुरा थाह होला, तर एउटा सामान्य अनुमान के पनि लगाउन सकिएला भने — उनको शारीरिक समस्या शुरु हुने, बोल्न गाह्रो हुने समय, र दिमाग तेज नै रही भाषा निपुणताको समय सगै पर्नाले उनको दोहोरो बातचित या सम्बाद लेखाइ को माध्यमबाट प्रस्फुटित भएको हुन सक्छ । यहाँ निर उनको क्षमता असाधारण देखिन्छ । साधारणतया यो उमेरका बच्चाले बोलेर गर्ने दोहोरो सम्बाद लेखेर गर्न सक्नु उनको ठुलो प्रतिभा हो । बोलाईको कमजोरीलाइ पूर्ति गर्न वाक्य-लेखनको क्षमताले असाधारण गति लिएको हुन सक्छ ।

४) तर आदित्य अहिलेसम्म स्कुल भर्ना भएका छैनन् । उनले कसैको सहयोगबिनै एकाएक अक्षरहरु लेख्न थालेका हुन् । आदित्यले नेपाली तथा अंग्रेजीमा मात्रै नभएर जापानी, रसियन, चाइजिन जस्ता भाषामा पनि शब्दहरु लेखेका छन्, जून कौटिल्यको क्षमताभन्दा बाहिरको कुरा हो ।

तपाइहरु मध्य इन्टरनेटको पहुच भएका धेरैका बच्चा-बच्चीले २ वर्ष पनि नहुँदै, आफुले सिकाउंदै नासिकाइ, खरर ABCD गाउने र अक्षर चिन्ने हुन्छन । खासगरी घरमा अरुले फिटिक्क अंग्रेजी नबोले पनि यु-ट्युबमा बच्चाका भिडियो हेर्ने कतिपय ३ बर्षको बच्चाले खरर अंग्रेजी बोलेका पनि होलान । इन्टरनेट भए नभए पनि आदित्यको परिवार शिक्षित भएकोले कहिँ न कहिँ अक्षरहरु को एक्सपोजर भएको हुनु पर्छ । अर्को कुरा, आफ्नै बच्चाहरुलाई राम्रो संग नियाल्नु भयो भने थाह हुन्छ कि धेरै बच्चा हरुमा हिजो अस्ति सम्म नाबोलने, आज फरर बोल्न थाल्छन र १-२ दिन मै भाषा निखारिएर आउछ । यो यति छिटो हुन्छ कि चमत्कार नै लाग्छ । त्यो एकाएक भएको हैन कि त्यतिबेला सम्म भएको भाषिक ज्ञान बोलीको रुपमा प्रस्फुटित भएको हो । लेख्ने कुरामा चाही अघि नै भने जस्तै आदित्य मा छिटो विकास भएको देखिन्छ| शब्द पक्कै लेखे, तर कहीं कतै नदेखी, नसुनी रस्सियन, कोरियन, चाइनिज भाषामा शब्द लेख्ने भन्नु अतिरन्जित हो । उनी जे हुन्, त्यसको कीर्ति गाऔँ , उनी जे हैनन् त्यो उनीमाथि जबर्जस्ति नाथोपरौं ।

५. आदित्य भविष्यका कुराहरु माथि पनि जवाफ दिन्छन् । यद्यपि, पछिल्लो समय सुरक्षा चुनौतिका कारण भविष्यवाणी लेखाउन कम गरिएको छ |
यहाँ निर चाही उनलाई ठुलै अन्याय गरिएको छ । संविधान कहिले बन्छ ? ९ रेक्टर स्केलको भुकम्प आउँछ कि आउदैन ? जस्ता प्रश्न तेर्स्याएर भविष्यवाणी गर्न लगाउनु र त्यो सत्य हुनुपर्ने अपेक्षा गर्नु मुर्खता हो । यसले उनको क्षमता भन्दा पनि हाम्रो अन्ध-बिश्वासलाइ टड्कारो रुपमा प्रकाश पार्छ।

६) शिशु अवस्थामै आदित्यको अध्यात्ममा गहिरो रुची र दख्खल देखिन्छ । उनी मन्दिर जान रुचाउँछन् । धार्मिक अनुष्ठानहरुमा रमाउँछन् । कौटिल्यमा धार्मिक प्रवृत्ति देखिदैन ।

यो पनि अन्याय नै हो । बच्चाहरु सामाजिक संकेत बुझ्न माहिर हुन्छन । वरपरकाले आफुले के गर्दा राम्रो मानेका छन् त्यता तिर रुचि राख्छन । जब त्यो कुरा बारम्बार दोहोरिन्छ, उनीहरुको दिमागी बिकास पनि त्यतैतिर ढल्कदै जान्छ । उनलाई धार्मिक बनाउने कि अरु शिक्षातिर उन्मुख गराउने, त्यो उनको बातावरणले गराउँछ ।

७. आदित्य चेतनामूलक सन्देशहरु खुबै लेख्छन् । आफ्ना सन्देशमा उनी देशको राजनीतिक, सामाजिक र सांस्कृतिक सुधारका लागि बाटो पनि देखाउँछन्।

उनको एक्सपोजर राजनीति र धर्ममा धेरै गरिएको हुदा उनको बोलीचालीमा यस्ता कुराहरु आउनु असाधारण हैन तर ५ बर्षे बालकले चेतना दिनुपर्ने समाज चाही पक्कै असाधारण हो ।

यी त भए अनलाइनमा गरिएका चर्चा । आदित्यको बारेमा गरिएका यस्ता अनेकौ कुराहरुले उनलाई न्याय भएको छ त ? अभिभावकले पनि एक पटक गहिरिएर सोच्नु पर्ने लाग्दछ ।

अन्ध-बिस्वासले गाँजेको हाम्रो समाजमा बालकमा अलौकिक क्षमता भई देबररुपमा प्रकट भएको र उनैले देश र देशबाशीको रक्षा गर्न सक्छन जस्ता भनाइहरु सजिलै बिक्न सक्छन । खासगरी उनलाई उमेर-असंगत प्रश्नै-प्रश्न गर्ने, र दिनहु सत्संग र भजन मण्डलीमा लामालाई जसरी विराजमान गराउँदै जादा उनमा बिचलन नआउला भन्न सकिन्न।

यो कुराको छनक आउँछ “९ रेक्टरको भूकम्प आउँछ कि आउदैन” भन्ने प्रश्न र त्यसको जवाफमा । यस्ता भूकम्प जस्तो कुराको भविष्यवाणी कछुवाले विश्वकपको भबिष्यवाणी गरे भन्दा फरक हुँदैन । तर उनको जवाफ सुनेर अचम्मित परिन्छ । उनले भनेछन्, “आउदैन, म सबैको रक्षा गर्छु” । पक्कै पनि उनले धेरै पटक “रक्षा गर” भनेको सुनेको हुनुपर्छ ।

आदित्यका अभिभावकलाइ यो निर्णय गर्न कठिन पक्कै छ कि छोराको भबिष्यलाइ कता डोहोर्याउने । एकातिर उनको क्षमताले ठुलो नाम र वाहि वाहि भएको छ भने अर्को तिर उनको बालक भएर बस्न पाउने अधिकार कुण्ठित भएको छ, र तिक्ष्ण बुद्धिको दुरुपयोग भएको छ । उनलाई बिस्तारै पढ्ने, ज्ञान भण्डार गर्ने र गणितीय क्षमताको विकास गराउने तिर भन्दा पनि उनलाई धार्मिक र अन्धबिस्वासका कुरा हरु तिर ध्यान केन्द्रित गर्न खोजिदै छ । उनि अहिलेकै हिसाबले लिएर जाने हो भने भोलि गएर गुरु र बाबाको भिडमा एउटा अर्को “बाबा” बन्ने अड्कल गर्न सकिन्छ । उनका अविभावकले यहि चाहन्छन भने कुरा अर्कै हो, यस धारमा लागेर पनि नाम र पैसा भरपुर कमाएका प्रसस्तै देखिएकै छ । तर यसले न त समाजले केहि पाउँछ न त उनको क्षमताको न्याय हुन्छ । सत्य त यो हो कि मनगढ़ंते भविष्यवाणी गर्ने “बाबा” हरुले भन्दा रातो, पहेलो, र हरियो चिन्ह लगाइदिने इन्जिनियरहरुले रक्षा गर्छन भूकम्पमा ।

नाना भाँतीका प्रश्न तेर्स्याएर यो उमेरको द्रुततर बढ्दो दिमागलाइ बिचलित र संकुचित पार्नु पक्कै पनि राम्रो हैन । एउटा उदाहरण लिउँ: २८९ x १५९ = कति हुन्छ जस्ता प्रश्न अप्रत्यासित रुपमा गर्दा पनि प्रश्न भुइमा झरन नपाउंदै उत्तर दिन सक्ने सभाण्ट सिन्ड्रोमले ग्रसित ड्यानियल टामेटले एउटा अन्तर्वार्तामा भनेका रहेछन: “मेरा अभिभावकले मलाइ छिमेकीको लागि चमत्कार देखाउन कहिलै दबाब दिएनन । उनीहरुलाई थाह थियो कि मा फरक थिएँ तर सकेसम्म म सामान्य जीवन जिउन सकूँ भन्ने चाहन्थे” (हेर्नुस). उनी पछि गएर एक ठुला लेखक बने र प्रेरणादायी प्रवचक पनि । आदित्य यो वर्गमा नपरे पनि उनको तिक्ष्ण दिमागलाइ सहि मार्गमा लग्न सके उनको जीवन सजिलो र सार्थक हुन सक्छ । उनको बिलक्षण प्रतिभाको असर राम्रो भएको छ कि उनले शारिरीक उपचार पाउने भएका छन् । उनि जे छन् अरु भन्दा माथि छन् तर हाम्रो रहरले उनलाई जबर्जस्ति अलौकिक देखाइ उनको बालक भएर जिउन पाउनु पर्ने अधिकार खोस्नु पर्ने केहि छैन । अबिभावक, उनको भलो चाहने आफन्त र मिडियाले पनि यो मनन गर्नु पर्ने देखिन्छ । उनि छिट्टै ठिक भएर आउँन् र धेरै पढि देश र समाजको हित गर्न सकुन भन्ने शुभकामना ।

अन्तमा:
ठ्याकै मेल नखाने भएको तथा समयाभावले गर्दा सभाण्ट सिन्ड्रोमको बारेमा चर्चा गरिएन तर यो जर्नल आर्टिकलमा निकै राम्रो रिभ्यु गरेको रहेछ, हेर्नुस ( http://rstb.royalsocietypublishing.org/content/364/1522/1351 ) । यस्तै एक व्यक्तिको बारेमा चर्चित फिल्म रेन-म्यान बनेको छ । यस्ता मान्छेको दिमाग कसरि काम गर्छ भन्ने बल्ल अलि अलि थाह हुँदै छ, जुन यस्तै असाधारण व्यक्ति ड्यानिएल ट़ामेटको रोचक टेड टकमा हेर्न सक्नु हुन्छ (हेर्नुस https://www.ted.com/talks/daniel_tammet_different_ways_of_knowing#t-167404 ) ।

[लेखक विज्ञानमा अनुसन्धान गर्नुका साथै विश्वविद्यालयमा पढाउने एक प्राध्यापक पनि हुन्। उनी अहिलेलाई आफ्नो उपनाम ‘विज्ञान बा’ बाट मात्र परिचित हुन चाहन्छन्। माइस‌ंसारमा उनका अरु ब्लगहरु पढ्न यहाँ क्लिक गर्नुस्]

माइस‌ंसारमा आदित्यबारे पुरानो ब्लग
चार वर्षका बालकको भविष्यवाणी – भावी प्रधानमन्त्री ओली

12 thoughts on “बानेश्वरमा झडप भइरहँदा नेकपाका दुई अध्यक्ष आर्मी क्लबमा गुगल ब्वाइको कार्यक्रममा व्यस्त”

  1. राम मगर says:
    July 24, 2018 at 4:01 am

    त्यस्तो ट्यालेन्त गू ब्वाय छ भने ट्यालेन्त सोमा लगेर जाओस अमेरिकामा त्यस्को बाउ आमाले अनि देखाओस कमाल अनि भनौला। ठग बाउ आमा रहेछ यो गू ब्वायको नाममा दिएको पैसा फिर्ता गर कि ट्यालेन्त देखाओस बिश्वको अगाडी।

    Reply
  2. कमल says:
    July 23, 2018 at 11:16 am

    भनेसी ओली सरकारको अलोकप्रियता दिनहु बढ्दो छ| भ्रष्टचार निर्मुल गर्छु भन्ने वाचा बाटैमा हरायो| सुशासनको सट्टा कुशासन जनतामा लादिरहेको छ|
    आमुल सुधार ल्याउन दिनरात खटेर यतिका व्यस्त हुनपर्ने बेलामा गुगल बोइको पछि लाग्दा दुवै अध्यक्षहरुले जनतालाई के र कस्तो संदेश प्रवाह गरिराखेका छन त्यो सचेत नेपाली जनताले बुझेका छन्|
    सिटामोल किन्न सक्ने क्षमता नभएर नेपाली जनता कतिले पीडा सहिरहेका छन, कसैलाई करोड रुपिया जनताको ढुकुटीबाट|
    पैले दिएको एक करोड रुपियाले गुगल बोईले के गरे कसैले खोजी लेखा गरेर त्यो पनि बुझ्न पाए हुन्थ्यो|

    Reply
  3. KAMAL says:
    July 23, 2018 at 9:25 am

    अनि के त लास्ट चोटी के. पी. सर लाइ परधान मुनतरी को भबिस्य बाड़ि गरेको । त्यसको गुन तिर्न परेन​? एका तिर बाढि-पहिरो ले देसमा बिजोग छ्, अर्कोतिर डा. के सि. को अनसन ले सरकारमा न​ै पहिरो जाला जस्तो छ । येस्तो बेला तिमिहरु हल-गोरु लाइ चाहि ……..को पुजा गर्न जानु पर्ने? थुक्क देसमारा हरु हो….

    Reply
  4. Birkhe says:
    July 23, 2018 at 3:17 am

    उहिले उरोप्मा बद्शाको नयाँ पोशाक भन्ने कथा हामीहरुले पुरानो शिक्ष्यामा स ल सी का कक्ष मा पढन पर्थ्यो एस्तै खाले कथाहो यो पनि

    Reply
  5. samer says:
    July 23, 2018 at 3:05 am

    fully agree sir

    Reply
  6. madan man bajracharya says:
    July 23, 2018 at 3:02 am

    आदित्य को बारेमा तेतिकै केहि भन्न सकिंदैन/ उसको बारेमा बैज्ञानिक तरिकाले खोजि भयकै छैन/ इश्वर र अलोकिक शक्तिबादीहरुले धर्मको कुरा निर्विवाद तरिकाले स्विकार्ने शर्त (faith) राखेको छ/ कुरान पुराण बाईबल आदिमा जे लेखेको छ बिना बिबाद, बहस र प्रश्न “हो” भन्नै पर्छ नभय नास्तिक भनेर गालि गर्छ/ तेस्तैले आदित्यलाई औलोकिक बनायको छ र तेस्तैले आज नेपालको सबै बिचार र सिद्धान्तको राजनैतिक नेतृत्व गर्दै आयको छ/

    आफुलाई राजनीतिग्य भन्ने, आफ्नो दलको सिद्धान्तलाई मात्रै लोकतान्त्रिक भन्ने मान्ने ओली प्रचंद्र देऊपा आदि सबै अतिबादी धार्मिक नेताहरु भन्दा फरक भन्दा नाम मात्रै फरक छ/ अतिबादी धार्मिक नेताहरु उनीहरुले भने बोलेको बिना बिबाद बहस र प्रश्न स्वीकार नगर्नेलाई धर्म बिरोधि भन्छन भने ओली प्रचंद्र देउपाहरु उनीहरुले भने गरेको कुरामा बहस बिबाद र प्रश्न गरे लोकतन्त्र बिरोधि भन्छन/ तेसैले ओली प्रचंद्र देउपा बा तेस्तै कुनैले आदित्यलाई जे भने तेस्को कुनै अर्थ र माने छैन/

    आदित्यमा संच्चैनै कुनै प्रतिभा छ भने त्यो उसको मस्तिस्क सिटी मात्र सम्भंदित छ/ मानव मस्तिस्कको छ्यमता आकास जस्तै बिशाल र गहन छ/ अर्को सब्दमा भन्ने हो भने मानव मस्तिस्क सबै भन्दा शक्तिशाली कम्प्युटर जस्तै हो/ तेसैले जसरि कुनै पनि कम्प्युटर प्रोग्रामिङ्ग गरे पछि मात्रै सक्रिय हुन्छ मानव मस्तिस्क पनि देखे सिके बा अनुभूति गरे पछि मात्रै सक्रिय हुन्छ/ तेसैले आदित्यले सिक्दै नसिकेको भाषामा बोले लेखे भन्ने कुरामा बिस्वास त् के संका गर्नु मात्र पनि आफ्नो समय बर्वाद गर्नु हो/

    Reply
  7. MR says:
    July 23, 2018 at 12:48 am

    यस्तो बहुलाहा हरु प्रधानमन्त्री भएको देश कसरि उभों लाग्ला र खै.

    Reply
  8. Ram S says:
    July 22, 2018 at 11:19 pm

    मै ले सबै चारवटै कमेन्ट पढे, सबै राम्रो लाग्यो र सबैलाइ like गर्न खोजेको थिए तर कारणवस like हून सकेन। त्यसकारण मेरो उक्त comments लाइ v/v/like को साथ पूर्ण समर्थन छ।

    Reply
  9. Abishek says:
    July 22, 2018 at 10:46 pm

    को हो आदित्य दाहाल? कस्ले राख्यो गुगल ब्वाई नाम ? गिनिज बुकले कि, फोर्ब्स म्यागजिनले, कि पुरातत्व विभागले ? गूगल कम्पनिले? कि फेसबुक कम्पनिले ? दोश्रो उसले यो मुलुकको लागि के त्यस्तो योगदान गरेको छ जसको प्रतिष्ठान बनाउन पर्ने र सरकारले त्यत्रो ठुलो रकम अनुदान दिन पर्ने ? के बैशाख १२ गते भुकम्प आउछ भन्ने भविस्य वाणी गरेको थियो ? के सिन्धुपाल्चोकमा भोटेकोशीले बिनास गर्दैछ भन्ने बताएको थियो ? के रसुवामा ३७ जना मर्ने गरि बस दुर्घटना हुन्छ भनेर भविस्य वाणी गरेको थियो ? फ्रान्समा हमला हुदैछ भन्ने बताएको थियो ? बेलायत युरोपियन युनियन बाट बाहिरिदैछ भन्ने कुरा भविस्य वाणी गरेको थियो ? मुलुकको पूर्व रास्ट्रपतिको घर भाडा नतिर्ने, भुकम्प गाको 3 वर्ष हुँदा, पाल त्रिपाल कुहिदा सम्म जनता पीडाले छटपट्टिदा अनुदान नदिने ? विभिन्न आन्दोलनका हजारौ घाइते, अपाङ्ग, सहिदपरिवार, भुकम्प पिडित लाइ वास्ता नगर्ने, राष्ट्रकबि लाइ २५ हजार दिने, गाउँ गाउँ मा ईन्टरनेट जोड्ने महाबिर पुन लाई पैसा चाहिदा बजेट निकास नगर्ने आदित्य दाहाल लाइ एक करोड ? त्यस्तो आधारहिन मन गणन्ते गफ गर्ने हरु त कति छ कति रत्नपार्क तिर!!
    थुक्क माकाफुइ हरु???

    Reply
  10. Shankar says:
    July 22, 2018 at 6:01 pm

    हिजो भौतिक बाद , समाजबाद , प्रचण्ड पथ के के भन्ने हरु देउताको बिस्वास न गर्ने , बाबुको किरिया कर्म , सामाजिक चाल चलन लाइ रुदिबादी भन्ने नेपालि कम्निस्ट का सिर्स नेताहरु गुगल ब्वाई को भाबिस्यबानी मा बिस्वास गर्दा रहेछन भन्दा त्यो भन्दा लाजमर्दो कुरा के हुन्छ ?
    नेपालीले कस्ताको हात मा सत्ता को साचो दिएर बिकास निर्माण र नया नेपालको कल्पना गरेछन |

    Reply
  11. shailendra says:
    July 22, 2018 at 12:40 pm

    गुगल सुगल की होइन बक्वाश हो यो सबै. फुचे ले कलम समातेर बस्ने रहेछ अनि आमा ले चै कापी घुमौदै लेखेको जस्तो गर्ने रैछ. त्यो फटाहा सब लाइ कारबाही गरि त्यो पैसा फिर्ता माग्नु

    Reply
  12. harke says:
    July 22, 2018 at 12:30 am

    पोहोर साल पाएको करोड रुपिया सिद्धे जस्तो छ google boy को | ८ कक्षा पासलाई जे भन्दे पनि भै गो पत्याइ हाल्छ | फेरी करोड झर्छ जस्तो छ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme