मदन पुरस्कार नेपाली पुस्तक जगतमा एउटा त्यस्तो पुरस्कार हो जुन अधिकांश समयमा विवादमा आउँछ। तर त्यही पुरस्कार पाउन लेखकहरु मरिहत्ते गर्न भने छाड्दैनन्। यो पुरस्कार, पुरस्कार पाएको पुस्तकको चर्चा पनि निकै हुन्छ। ‘मदन पुरस्कार प्राप्त कृति’ भनेर लेखेपछि पुस्तकको बिक्री पनि ह्वात्तै बढ्छ। पुस्तक बिक्रीको व्यवसायिक पाटोलाई सघाउने गरी मदन पुरस्कार गुठीले २०७२ सालमा एउटा निर्णय गरेको थियो- १० वटा पुस्तकको श्रेष्ठ सूची तयार पार्ने र सार्वजनिक गर्ने। सुटुक्क गरेको निर्णय होइन, गुठीको लेटरप्याडमै हस्ताक्षरसहितको विज्ञप्ति सार्वजनिक भएको थियो। (हेर्नुस् यहाँ क्लिक गरी) तर अहिलेसम्म १० वटाको सूची सार्वजनिक हुन सकेको छैन। यसपालि पनि ८ वटा पुस्तकको सूचीमात्रै सार्वजनिक भयो।
कस्ता पुस्तक हुन् त यी?

कैरन ध्रुवसत्य परियारले लेखेको कथा संग्रह हो। उत्पीडित समुदायको मुक्तिको सपना यी कथाहरुमा छन्। सांग्रिला बुक्सले प्रकाशन गरेको यो कथा संग्रहको विमोचन २०७४ कात्तिक २५ गते भएको हो। पुस्तकको विमोचनका क्रममा आहुतिले भनेका थिए- संग्रहका सबै कथाहरू राजामहाराजाको भएको र पुँजीवादी राजामहाराजाको कथालाई पुनर्लेखन गरेर ध्रुवसत्यले जनताका कथालाई ओझमा पारेका छन्।१२ वटा कथा भएको २०० पृष्ठको पुस्तकको मूल्य २७५ रुपैयाँ छ।
नथिया सरस्वती प्रतीक्षाको पहिलो उपन्यास हो। सामली नामकी वादी समुदायकी युवतीलाई मुख्य पात्र बनाएर लेखिएको यो उपन्यासमा यौन व्यवसाय गर्ने क्रममा उनको अगाडि आएका र बिहे गरेका विभिन्न पुरुषहरुको वर्णन छ। अन्तिममा उनी एक युवकसित प्रेममा पर्छिन्, के कारणले थाहा छैन तर यस्तरी पर्छिन् कि एउटा रुखमुनि त्यो युवकलाई सम्झेरै ‘सन्तुष्ट’ हुन्छिन्। मिडियामा निकै प्रचार पाएको उपन्यासलाई बुकहिलले प्रकाशन गरेको हो। यसको मूल्य ४२५ रुपैयाँ छ।
पाठशाला तीर्थ गुरुङको उपन्यास हो। वर्ष पुस्तक समीक्षामा राम लोहनीले यो पुस्तकबारे अन्नपूर्ण पोस्टमा लेखेका थिए- ‘विषयवस्तु र शैलीको दृष्टिले यो वर्षको पृथक् उपन्यासको रूपमा रहेको छ। यसले परम्परागत शिक्षण पद्धतिप्रति ठूलो व्यंग्य गरेको छ। डब्बु मानसिक विक्षिप्त भएको तथ्यलाई प्रष्ट पार्न उसको डायरीलाई उपन्यासको रूपमा प्रस्तुत गरिएको छ।’
होस्टलमा बसेका एउटा किशोरले आफ्नो डायरीमा लेखेका विभिन्न घटनाक्रमले तपाईँलाई तान्दै लान्छ। उपन्यासको अन्त्य पनि त्यत्तिकै प्रभावशाली छ। पुस्तक पढिसिध्याएपछि पनि दिमागमा छाप मार्न सफल छ यो उपन्यास।
भुइयाँ हाल कान्तिपुर दैनिकमा कार्यरत पत्रकार यज्ञशले लेखेको कथा हो। पहिचान प्राप्तिका लागि संघर्ष गरिरहेका जाति, समुदायको कारुणिक कथा भुइँयामा समेटिएका छन्। यसमा समेटिएका ११ जना प्रतिनिधि पात्रहरुले भूइँमान्छेहरुको वर्णन गर्छ। पत्रकार भएकोले कथा पढ्दै गर्दा तपाईँलाई यो रिपोर्टिङ हो कि कथा हो जस्तो पनि लाग्न सक्छ। फाइनप्रिन्टद्वारा प्रकाशित यो पुस्तकले दुई लाख दुई हजार रुपैयाँको पहिचान पुरस्कार पाइसकेको छ। यसको मूल्य ३८८ रुपैयाँ हो।
यार नयनराज पाण्डेको आत्मसंस्मरणात्मक कृति हो। विमोचनका बेला पाण्डले भनेका थिए- ‘कहिले मलाई कमजोर गर्ने घटना हुन्थे त कहिले आशा जगाउने। ती कुरालाई मैले आफूमा सीमित राखेको थिएँ। अब भन्नुपर्छ भन्ने लागेर नै ‘यार’ लेखेको हुँ।’ यसमा उनको हिरोइनसित लभ परेकोदेखि लिएर साथीका लागि यौनकर्मी खोजिदिएकोसम्म र स्क्रिप्ट लेखेको पैसा नदिएकोमा कुटाकुट गरेकोसम्मका संस्मरणहरु छन्। २५ वटा संस्मरणको संगालो यारलाई फाइनप्रिन्टले प्रकाशन गरेको हो। यसको मूल्य ४७५ रुपैयाँ छ।
योगमाया नीलम कार्की निहारिकाको सय वर्षअघिको पात्रबारे उपन्यास हो। नीलमको चीरहरण उपन्यास यसअघि पनि मदन पुरस्कारको श्रेष्ठ सूचीमा परेको थियो तर पुरस्कार जित्न भने सकेको थिएन। राणाकालमा विभिन्न सामाजिक सुधारका माग राखेर सामाजिक आन्दोलन चलाएकी पात्र हुन् योगमाया। योगमायाका बारेमा स्थलगत रिपोर्टिङबाट तथ्यहरू संकलन गरेर साहित्यकार नीलम कार्की ‘निहारिका’ ले ‘योगमाया’ उपन्यास लेखेकी हुन् । पुस्तक विमोचनका क्रममा समालोचक प्रा. कृष्ण गौतमले नीलमले इतिहासलाई आख्यानीकरण गरेको बताएका थिए। साङ्ग्रिला बुक्सद्वारा प्रकाशित ५०४ पृष्ठको यो पुस्तकको मूल्य ५७५ रुपैयाँ छ।
लिम्बुनी गाउँ राज माङलाकको कविता संग्रह हो। कवितासंग्रहमा लिम्बू जातिको भौगोलिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक विम्ब र प्रतिकहरुलाई समेटिएको छ। साँवा खोलाको गीत’, ‘अक्षरहरूको मैलो’ र ‘समय सन्नाटामा: मध्यदिनको सडक समाधि’ गरी तीन खण्डमा विभाजित कविता संग्रह शिखा बुक्सले प्रकाशन गरेको हो। यसको मूल्य १७५ रुपैयाँ छ।
हिमाली दर्शन प्रचण्डका गुरु नेता मोहन वैद्य ‘किरण’को पुस्तक हो। साझा प्रकाशनद्वारा प्रकाशित ३१३ पेजको उक्त पुस्तकको मूल्य ४९९ रुपैयाँ रहेको छ। पुस्तकको विमोचनका क्रममा लेखक वैद्यले पूर्वीय दर्शनलाई भारतीय दर्शन भन्नुभन्दा हिमाली दर्शन भन्नु उपयुक्त रहेकोले पुस्तकको नाम हिमाली दर्शन राखिएको बताएका थिए। पश्चिमी दर्शन र पूर्वीय दर्शनको महत्त्वलाई पाठक सामू पुर्याएर त्यसभित्र रहेका विभिन्न भ्रमहरु उजागर गर्न पुस्तक लेखिएको उनले बताएका थिए।
यी मध्ये एउटा पुस्तकले मदन पुरस्कार पाउनेछ
अहिलेसम्म क-कसले पाए?
वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो।
वि.सं.२०७४: धृतराष्ट्र – घनश्याम कँडेल
वि.सं.२०७३: ऐना- रामलाल जोशी
वि सं २०७२ : खुशी- विजयकुमार पाण्डे
वि.सं. २०७१: खलंङ्गामा हमला-एउटी नर्सको डायरी – राधा पौडेल
वि.सं. २०७०: दमिनी भीर – राजन मुकारुङ
वि.सं. २०६९: सेतो धरती – अमर न्यौपाने
वि.सं. २०६८: जीवन काँडा कि फूल – झमक घिमिरे
वि.सं. २०६७: नेपालका बालीनाली र तिनको दिगो खेती – नरबहादुर साउद
वि.सं. २०६६: एक हातको ताली – युवराज नयाँघरे
वि.सं. २०६५: अन्तर्मनको यात्रा – जगदीश घिमिरे
वि.सं. २०६४: छापामारको छोरो – महेशविक्रम शाह
वि.सं. २०६३: राधा – कृष्ण धारावासी
वि.सं. २०६२: पल्पसा क्याफे – नारायण वाग्ले
वि.सं. २०६१: नयाँ ईश्वरको घोषणा – गोपाल पराजुली
वि.सं. २०५९: अभिनव संस्कृति कोष – हरिराम जोशी
वि.सं. २०५८: नेपालको सिमाना – बुद्धिनारायण श्रेष्ठ
वि.सं. २०५७: अतिरिक्त अभिलेख – दिनेश अधिकारी
वि.सं. २०५६: दु:खान्त नाटकको सृजना परम्परा – डा. केशवप्रसाद उपाध्याय
वि.सं. २०५५: विसर्जन – लोकेन्द्रबहादुर चन्द
वि.सं. २०५३: नेपाली राष्ट्रिय झण्डा – डा. दयाराम श्रेष्ठ
वि.सं. २०५३: सही शब्द – विनोदप्रसाद धिताल
वि.सं. २०५२: सही शब्द – फादर विलियम बर्क हेलिङ्गयाक्स
वि.सं. २०५१: माध्यमिक नेपाली गद्याख्यान – शरदचन्द्र शर्मा भट्टराई
वि.सं. २०५०: पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७) – डा. भवेश्वर पंगेनी
वि.सं. २०४९: पागल बस्ती – सरुभक्त
वि.सं. २०४८: मृत्युञ्जय महाकाव्य – भानुभक्त पोखरेल
वि.सं. २०४७: नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका – डा. राजेश गौतम
वि.सं. २०४५: ज्योति, ज्योति, महाज्योति – दौलतविक्रम विष्ट
वि.सं. २०४५: उत्सर्ग – राजेश्वर देवकोटा
वि.सं. २०४४: लिच्छवि संवत्को निर्णय – नयनराज पन्त
वि.सं. २०४३: वैकुण्ठ एक्सप्रेस – मोहनराज शर्मा
वि.सं. २०४२: प्रत्यागमन – कञ्चन पुडासैनी
वि.सं. २०४०: अलिखित – डा. धुवचन्द्र गौतम
वि.सं. २०३९: माधवी – मदनमणि दीक्षित
वि.सं. २०३८: नदी किनाराका माझी – मोहन कोइराला
वि.सं. २०३७: नरसिंह अवतार – जगदीशशमशेर राणा
वि.सं. २०३६: नेपालका परम्परागत प्रविधि – डा. छविलाल गजुरेल. करुणाकर वैद्य
वि.सं. २०३५: घामका पाइलाहरू – ध. च. गोतामे
वि.सं. २०३४: लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन – डा. वासुदेव त्रिपाठी
वि.सं. २०३२: आगत – भवानी भिक्षु
वि.सं. २०३०: लिच्छविकालका अभिलेख – धनवज्र वज्राचार्य
वि.सं. २०२९: आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् – इश्वरवल्लभ
वि.सं. २०२८: कर्णाली लोक संस्कृति – प्रदीप रिमाल, डा. चूडामणि बन्धु. बिहारीकृष्ण श्रेष्ठ. स्थिरजङ्गबहादुर सिंह. सत्यमोहन जोशी
वि.सं. २०२७: नेपाली निर्वाचनको रूपरेखा – महानन्द सापकोटा
वि.सं. २०२७: बेलाइततिर बरालिँदा – ताना सर्मा
वि.सं. २०२५: मङ्गली कुसुम – धर्मराज थापा
वि.सं. २०२५: टिपन-टापन – पारसमणि प्रधान
वि.सं. २०२४: नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास – ग्रीष्म बहादुर देवकोटा
वि.सं. २०२४: एब्स्ट्र्याक्ट चिन्तन : प्याज – शंकर लामिछाने
वि.सं. २०२३: मानव महाकाव्य – मोदनाथ प्रश्रित
वि.सं. २०२३: स्रष्टा र साहित्य – उत्तम कुँवर
वि.सं. २०२२: शिरीषको फूल – पारिजात
वि.सं. २०२१: वस्त्र निर्माणकला – लक्ष्मीबहादुर श्रेष्ठ
वि.सं. २०२१: प्राचीन हिन्दू अर्थशास्त्र – नवराज चालिसे
वि.सं. २०२१: प्राकृत पोखरा – मुकुन्दशरण उपाध्याय
वि.सं. २०२१: नेपाली भाषा र साहित्य – बालकृष्ण पोखरेल
वि.सं. २०२०: जोसमनी सन्त परम्परा र साहित्य – जनकलाल शर्मा
वि.सं. २०२०: नैषधीय चरित – कोमलनाथ अधिकारी
वि.सं. २०१९: आमाको सपना – गोपालप्रसाद रिमाल
वि.सं. २०१८: नयाँ सडकको गीत – रमेश विकल
वि.सं. २०१७: विस्फोट – भीमनिधि तिवारी
वि.सं. २०१७: नेपाली राष्ट्रिय मुद्रा – सत्यमोहन जोशी
वि.सं. २०१६: महाकवि देवकोटा – नित्यराज पाण्डे
वि.सं. २०१५: उद्यान – गङ्गाविक्रम सिजापती
वि.सं. २०१५: कवि व्यथित र काव्यसाधना – कृष्णचन्द्रसिंह प्रधान
वि.सं. २०१४: मृत्तिका उद्योग – करुणाकर वैद्य
वि.सं. २०१४: मन – लीलाध्वज थापा
वि.सं. २०१३: अधिकविभव स्थिरविद्युत् उत्पादक – बलराम जोशी
वि.सं. २०१३: जनरल भीमसेन थापा – चित्तरञ्जन नेपाली
वि.सं. २०१३: हाम्रो लोक संस्कृति – सत्यमोहन जोशी
नाथियाको थीम राम्रो छ तर लेखनमा २-३ जनाको शैली छ | अनि महिला लेखिकाको भाषा हुदाहुदै पनि एकदम घटियाखालको छ | अनि पुस्तकको १०% जति अंश अरुकसैको लेखनबाट हुवहु सारिएको छ |
योगमायामा चाहिं अनावश्यक सम्बाद राखेर लम्बेतान बनाइएको छ |
अरु किताब पढेको छैन |
महाकवि लक्ष्मीप्रसाद देवकोटाले नपाएको साहित्यिक पुरस्कारमा कतै न कतै खोट छ।