Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नक्कली नोट : कुन पासाको ‘डिमाग’ बढी लाग्यो? ‘लुट’का निर्माताको कि पुलिसको?

Posted on May 17, 2018December 27, 2021 by Salokya

‘बल हैन पासा, डिमाग लगा डिमाग’

लुट फिल्मको एकदम चलेको डायलग हो यो ‘हाकु काले’को मुखबाट बोलाइएको। फिल्ममा उसले ‘डिमाग’ लगाएर बैँक लुट्छ। पैसा हाम गर्छ। तर पुलिसको फन्दामा अर्कै पर्छ। ऊ चोख्खै भाग्न सफल हुन्छ।

फिल्ममा बैँक लुट्नेलाई प्रहरीले समात्न नसके पनि रियल लाइफमा भने प्रहरीले ‘लुट’कै निर्मातालाई समातेको छ। आरोप छ- नक्कली नोट उनको घरबाट फेला पर्‍यो। २ करोड ५२ लाख रुपैयाँ हजारका नक्कली नोटहरु। प्रहरी भन्छ- उनको इन्टेसन खराब देखियो। वाग्ले भन्छन्- मैले फिल्म सुटिङका लागि ल्याएको हो त्यो नोट।

प्रहरीले बरामद गरेर पत्रकार सम्मेलनमा देखाएको नोटमा सानो अक्षरमा गभर्नरको साइन मुनि ‘नक्कली फिल्म प्रयोजनको लागि’ लेखिएको छ। यसले निर्माता वाग्लेले मैले फिल्म सुटिङका लागि नोट राखेको भन्ने बयानलाई बल दिन्छ।

तर अब यहाँ कानुनी जटिलता आउँछ। नक्कली नोट त छाप्नै पाइन्न। नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ५२ अनुसार नोट निष्काशन गर्ने अधिकार नेपाल राष्ट्र बैंकलाई रहेको छ। तर सक्कली नोटै पनि नेपाल राष्ट्र बैँकले आफूखुशी छाप्न पाउँदैन। जति नोट छाप्नु पर्ने हो त्यति बराबरको सम्पति हामीसित छ भनी कागज बनाएपछि मन्त्रिपरिषदको बैठकबाट निर्णय पारित गराउनु पर्छ। त्यसपछि मात्र राष्ट्र बैँकले नोट छाप्न पाउँछ।

त्यसअघि नोट डिजाइन गरी राष्ट्र बैङ्कको बोर्डबाट पनि स्वीकृत गराउनु पर्छ। मन्त्रिपरिषदले स्वीकृति दिएपछि नोटमा गभर्नरको हस्ताक्षर स्क्यान गरेर राखी नोट छाप्न पठाइन्छ। नोट छाप्नुअघि ग्लोबल टेण्डर आह्वान हुन्छ र प्राविधिक र आर्थिक पक्ष सबल रहेको कम्पनीलाई नोट छाप्न दिइन्छ।

फिल्म वा अन्य प्रयोजनका लागि नक्कली नोट छाप्न पाइन्छ कि पाइन्न त?

प्रष्ट छैन व्यवस्था। पहिलेदेखि के चलिआएको हो? थाहा छैन।

कानुनी व्यवस्था हेर्ने हो भने मुलुकी ऐन खोटा चलनको महलको १ नं अनुसार सरकारी टक लागेको नोट कसैले बाहिर छाप्न, बनाउन लगाउन र बनाउन लगाउन निषेध छ। नोट छापी खोटा चलनको अपराध गर्नेलाई बिगोबमोजिम जरिवाना गरी १० वर्ष कैद सजाय हुन्छ।

निर्माता संघले विज्ञप्ति जारी गरेर त्यो नोट फिल्म प्रयोजनको लागि छापिएको, सुटिङ युनिटका कसैले नोट चलाएर फँसाएको दावी गर्दै उनलाई रिहा गर्नुपर्ने माग गरेको छ। संघ भन्छ सिनेमाको कथावस्तु अनुसार आवश्यक पर्ने नेपाली नक्कली रुपैयाँ छाप्ने प्रचलन यसअघि पनि छ।

चंगा चैट नामको फिल्मको सुटिङका लागि यो नोट छापिएको र सुटिङका क्रममै युनिटका केही सदस्यले गलत मनसाय राखेर नोट चलाएकोले त्यसमा संलग्न नभएको व्यक्ति वाग्लेलाई अभियोग लगाउन नहुने त्यसमा लेखिएको छ।

चंगा चैटका निर्देशक दीपेन्द्र के खनालले पनि आफ्नो फिल्मका लागि नोट नक्कली छापिएको बताएका छन्।

अब यहाँ डिमागै लडाउनु पर्ने हुन्छ। यो अरु जस्तो नक्कली नोटको केस हैन जहाँ नोट त नक्कली हुन्छ तर त्यसमा नक्कली भनेर लेखिएको हुँदैन। यसमा नक्कली र फिल्म प्रयोजन भनेर खुलाएरै लेखिएको छ। यस्तो नोट छाप्न पाइन्छ कि पाइन्न। पाइने भए कसको अनुमति लिएर छाप्नु पर्ने हो? छाप्दा के कस्तो उल्लेख गर्नुपर्ने हो? छापिसकेपछि प्रयोजन सकाएर कहिलेसम्म नष्ट गर्नुपर्ने हो?

कसैले यो नोट बजारमा लगेर चलाउँछ भने को-को दोषी हुने हो? चलाउने मात्र कि छाप्ने, छपाउने, राख्ने पनि दोषी हुन्छ?

फिल्मकर्मीको साथ भने निर्माता र वितरक वाग्लेप्रति नै हुने देखिन्छ।

प्रहरीका अनुसार खासमा हिजो खाजा खान जाँदा  महेन्द्र बोगटीले नक्कली नोट तिरेछन्। होटलका साहुले शंका लागेर प्रहरीलाई खबर गरे। अनि उसकोमा हेर्दा  त १ लाख २० हजार नक्कली नोट भेटियो। उनकै भनाईको आधारमा सुजित तामाङ र साजन तामाङको कोठामा पनि ७ लाख ४३ हजार भेटियो।

अनि आज प्रिन्सेस मुभिज प्रालिका सञ्चालक माधव वाग्लेको कोठामा खानतलासी गर्दा २ करोड ५२ लाख भेटियो।

यदि फिल्म प्रयोजनका लागि नक्कली नोट छापिएको हो भने यी तीन जनासँग ती नोट कसरी पुग्यो त?

प्रहरीले नक्कली नोट छाप्न दिएको भन्दै प्रकाश सुवेदी र छाप्ने जय भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक विकेश नापितलाई पनि पक्रेको छ।

नक्कली नोट छाप्न प्रेसमा प्रयोग हुने प्लेट।

प्रहरीको विज्ञप्ति

10 thoughts on “नक्कली नोट : कुन पासाको ‘डिमाग’ बढी लाग्यो? ‘लुट’का निर्माताको कि पुलिसको?”

  1. Arun says:
    May 20, 2018 at 12:36 am

    फिल्म प्रयोजन को लागि करोडऔं नोट प्रिन्ट गर्नु आबस्यक छैन | पासाले सबै लाई उल्लु बनौन खोजेको प्रस्ट छ तर डिमाग अलि पुगेन |

    Reply
  2. बनिता थापा says:
    May 18, 2018 at 8:41 am

    देसको मुद्रा आफु खुशी कसरी छाप्न पाइन्छ? मलाई थाहा थिएन भनेर उम्किने दाउ हो यो. यदी सिनेमाको सुटिङ्ग को लागि छापेको भए त्यो नोट खाजा घरमा कसरी पुग्यो? आफु अनुसार व्यख्या नगरौ. यो जघन्य अपराध हो र यसमा कडा सजाय हुनै पर्छ.

    Reply
  3. Ajay says:
    May 17, 2018 at 10:44 pm

    सहि कुरा पासा, कमेन्ट गर्न हतार नगर

    Reply
  4. subash says:
    May 17, 2018 at 8:29 pm

    “डिमाग” होइन पासा “दिमाग” !

    Reply
    1. Salokya says:
      May 17, 2018 at 9:10 pm

      पासाले फिल्म हेर्‍या रैनछ। दिमाग हो कि डिमाग फिल्म हेरेसि मात्र थाहा हुन्छ हौ 🙂

      Reply
  5. sun says:
    May 17, 2018 at 4:07 pm

    मेरो विचार मा उनलाई उनका सगयोगी ले फसाए जस्तो लागो| एस्तो रिस्क किन लिन्थे हौ

    Reply
  6. yogendra says:
    May 17, 2018 at 3:00 pm

    सबै नोटको नम्बर एकै भएकोले यसबाट कुनै ठुलो कारोबार गर्न सक्ने देखिदैन, गलत बिचार राखेर नबनाएको हुन सक्छ|

    Reply
  7. ishan says:
    May 17, 2018 at 9:55 am

    फिल्म को लागि तेत्रो रकम चाहिन्छ र? कि फिल्म नै नक्कली बनाउन लागेको हो?

    Reply
  8. Alikhit says:
    May 17, 2018 at 4:22 am

    छाप्नै नमिल्ने भए साना बिध्यार्थीहरुको किताबमा नेपाली नोटको डिनोमिनेशन चिनाउनलाई प्रयोग गरिएका स्क्यान तस्विरहरुको बारेमा कुन नियम लागू हुन्छ त ? या कानुनले नोटको एकापट्टीको भाग मात्रै जो कोहीले छाप्न पाउने भनेको छ कि वा किताबमा चांहि छाप्न पाउने भनेको छ ?

    Reply
  9. madan man bajracharya says:
    May 17, 2018 at 2:36 am

    नियत पुर्वक गरायको दुर्घटना जस्तै लाग्यो/ फिल्ममा मात्रै प्रयोग गर्नको निमित भय तल र माथि सक्कली बा सक्कली जस्तै देखिनै नपर्ने नक्कलि नोट राखेर बिचमा सादा कागजको बन्डल बनाय पुगी हाल्थ्यो/ त् किन छापे सक्कली जस्तै देखिने नोटहरू तेत्रो परिमाणमा; के उनीहरुको त्यो फिल्ममा करोडौं रुपिया दर्शकले स्क्रिनमा स्पस्ट देखिने गरि गनेरै देखाउनु पर्ने कुनै सिन छ? छैन भने उनीहरुले त्यो नोटमा हतपति कसैले पनि नदेख्ने तेती सानो सानो अछ्यरमा नक्कली फिल्मको लागि भनेको कुरा छाप्नु त् “नपकदिय मालामाल हुने पकदेमा यो त् नक्कली हो नि भनेर फुत्कन हो” भनेको कुरा उनीहरुले ती नोटहरू बजारमा प्रयोग गरे बाटै स्पस्ट हुन्छ/

    फिल्ममा देखाउनकै निमित नक्कली नोट छापेको हो बा होईन भन्ने कुरा उनीहरुले ती नोटहरू छाप्न के कस्तो कति महँगो प्रविधि अपनायको थियो र उनीहरुले ती नोतहरुमा यौटै नम्बर छापेको थियो बा अलग्ग भनेर अनुसन्धान गरे भने उनीहरुको आसयको बास्तविकता अझै स्पस्ट हुन्छ/ फिल्ममा मात्रै देखाउन महँगो प्रविधि र सबै नोतहरुमा अलग्ग अलग्ग नम्बर छाप्नु पर्दैन/ गभर्नरको सहि ठ्याक्कै मिलाउनु पर्दैन/ अरु कुरा छाडेर उनीहरुले यदि ती नोतहरुमा गभर्नरको सहि ठ्याक्कै मिलायको छ भने त्यो पनि ठुलो अपराधनै हुन्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme