Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘गार्ड अफ अनर’ टुँडिखेलमा, अब फेसबुक र ट्विटमा राज्यमन्त्रीले स्वागत गरे भन्दै हुने रोइलो रोकिएला?

Posted on March 5, 2018March 6, 2018 by Salokya


ओली प्रधानमन्त्री भइसकेपछि सरप्राइज भिजिटका रुपमा पहिलो विदेशी पाहुना बनेर आए पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकन अब्बासी। झण्डै दुई तिहाई बहुमत जितेको वाम गठबन्धनको सरकारको नेतृत्वकर्ताका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली देशमा परिवर्तन गर्न र देखाउन आतुर छन्। यो परिवर्तन पाकिस्तानी प्रमलाई स्वागत गर्ने मामिलामा पनि देखियो। उनलाई स्वागत विमानस्थलमा गरियो, गार्ड अफ अनर (सम्मान गारद) टुँडिखेलमा दिइयो। खासमा ट्विटे र फेसबुकेहरुले बेलाबेलामा यताका विशिष्टहरुको उता भ्रमण र उताका विशिष्टहरुको यता भ्रमणहरुको तुलना गर्दै तीखो आलोचना गर्नु नै यो परिवर्तनको कारण हो भन्ने हाम्लाई लाइराछ। आम्मामा, कम्ता रुवाबासी पो हुन्न थियो त हाम्रालाई राज्यमन्त्री जाबोले लिन आए भनेर सम्झनुभएको छ?


यो फोटो याद छ नि। हाम्रा राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जाँदा विमानस्थलमा स्वागत गर्न राज्यमन्त्री आएकी थिइन्। कम्ता रोइलो मच्चिएन त्यतिबेला फेसबुक ट्विटरमा। रुँदारुँदा आँसुको वागमती बग्ने खतरा देखिएपछि हाम्ले दुई वटा ब्लग लेखेका थियौँ त्यतिबेला-

  • राष्ट्रपतिलाई राज्यमन्त्रीले रिसिभ गर्दैमा केको रोइलो हो, राजा ज्ञानेन्द्रदेखि राष्ट्रपति यादवसम्मलाई राज्यमन्त्री नै आएका थिए एयरपोर्टमा
  • नरुनुस्, भारत भ्रमणमा जाँदा अरु देशलाई नै यस्तै गरेको थियो भनेर चित्त बुझाउने सात फोटो

खासमा कुरा के भने नि, हाम्रोमा विदेशी पाहुनालाई एयरपोर्टमा स्वागत गरी त्यहीँ गार्ड अफ अनर दिइन्थ्यो। गार्ड अफ अनर दिँदा समकक्षी उपस्थित हुने चलन छ। अनि हाम्रोमा जो आए पनि समकक्षी नै स्वागत गर्न गए जस्तो हुने, उनीहरुकोमा जाँदा भने एयरपोर्ट र गार्ड अफ अनर दुई छुट्टाछुट्टै कार्यक्रम।

राजा शासनदेखि नै यस्तै हुँदै आएको हो। त्यतिबेला निजी मिडिया थिएनन्, फेसबुक ट्विटर पनि थिएन। अहिले त छन्। अनि रोइलो लागिहाल्छ हाम्लाई हेप्यो हाम्लाई हेप्यो भनेर।

शायद् त्यही भएर होला ओली सरकारले फेसबुके र ट्विटेहरुको पनि स्वाभिमानको खातिर २००७ सालदेखिको एयरपोर्टमा गार्ड अफ अनर दिने परम्परालाई परिवर्तन गरिदिएको छ।

आज पाकिस्तानी प्रम अब्बासीलाई विमानस्थलमा प्लेनबाट झरेपछि अर्थमन्त्री युवराज खतिवडाले स्वागत गरे। त्यसपछि गाडीमा राखेर सहरको बीच भागमा रहेको टुँडिखेलसम्म ल्याइयो, अनि त्यहीँ बिछ्याइएको रातो कार्पेटमा हिँडाइयो। सैनिक टुकडीले सम्मान् गारद दिए। टुँडिखेल त खुल्ला ठाउँ। बाटोमा हिँड्नेहरुले देख्लान् भनेर टुँडिखेलका बारमा पालले छोपियो। जति छोपे पनि उध्रेको प्वालबाट भने देखिन्थ्यो है। फेरि पूरै टुँडिखेललाई छोप्न पाल पनि कहाँबाट पाउनु। उही विशिष्टहरु छिर्ने ठाउँको केही परसम्म छोपिएको रहेछ। अलि परबाट त तोप राखेकोदेखि अरु सब देखिहाल्दो रहेछ। फेरि वीर अस्पतालको अगाडि सहरको बीचमा त्यसरी तोप पड्काएर ध्वनि प्रदूषण गर्ने प्रचलन पनि कायमै रहेछ। ओली सरकारले त्यसलाई पनि परिवर्तन गर्लान् कि।

परिवर्तन भनेको जनताको सामान्य जनजीविकामा राम्रो प्रभाव परे राम्रो भन्न सकिन्छ। विशिष्टको सवारी एयरपोर्टदेखि टुँडिखेलसम्म चलाउँदाको जुन सकस ट्राफिक जामले हुन्थ्यो, त्यो एयरपोर्टमै भएको भए कम हुन्थ्यो होला।

पाकिस्तानी प्रमको भ्रमण त भइहाल्यो। अब भविष्यमा भारतीय प्रम वा चिनियाँ प्रधानमन्त्री (राष्ट्रपतिको भ्रमण पनि  उधारो बाँकी छ है, याद होला नि प्रचण्ड सरकारले विदा नै घोषणा गरिसकेको छ भ्रमण नहुँदै) को भ्रमण हुँदा विमानस्थलमा कसले रिसिभ गर्न जाने हुन्, त्यो रमाइलो हुन्छ। शायद् हाम्रा फेसबुके र ट्विटेको चित्त शान्त होला त्यतिबेला, बल्ल हाम्रा पनि राज्यमन्त्रीले स्वागत गर्न गए भनेर।

अब त यस्तो देखिन्न होला नि, राष्ट्रपति-उपराष्ट्रपति दोहोरिने रे। प्रधानमन्त्री र उपप्रधानमन्त्री र मन्त्रीहरु पनि देखिएका थिए हौ त्यतिबेला त भारतीय राष्ट्रपतिलाई विदाइ गर्न समेत।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme