Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बुद्ध हैन बुद्‍धु नेपालमा जन्मिएको देखाउने कार्यक्रम

Posted on March 3, 2018March 3, 2018 by Salokya


तपाईँले पनि फेसबुकको मेसेन्जरमा यस्तो मेसेज पाउनु भएको होला। केही समय अघिदेखि फेसबुकमा यस्तो मेसेज खुबै सेयर भइरहेको थियो। केहीलाई त सम्झाएँ, बुद्ध नेपालमा जन्मेको हो हैन भनी प्रमाणित गर्ने गिनिज बुक हैन। ७५ हजारलाई सेयर गर्दैमा बुद्ध नेपालमा जन्मिएको प्रमाणित हुँदैन। बुद्ध हैन बुद्‍धु नेपालमा जन्मिएको भन्ने चाहिँ पक्कै प्रमाणित हुन्छ यसो गर्दा भनेको तर भेडा बुद्धि लागेपछि कसको के लाग्छ र।

नेपाल टेलिभिजनमा प्रसारण भएको यो प्रचारको भिडियो हेर्नुस् न

राजेश हमालदेखि निखिल उप्रेति, दीपक विष्टसम्मका चर्चित व्यक्तित्वहरु यो वाहियात काममा लागेको देखियो। कसले के भनेर उचालिदिए, हो-हैन विचारै गर्नुछैन।

डा भोला रिजाल भन्छन्- ७५ हजार जना टुँडिखेलमा भेला भएर बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने आवाज गुञ्जायमान गरौँ।

राजेश हमाल त अलि बौद्धिक लागेका कलाकार हुन्। तर महानायकको उपाधि पाएर फिल्म एउटा पनि नपाएपछि उनी पनि यस्तै हौवामा लागेछन्। उनले त्यो भिडियोमा भनेका छन्- राष्ट्र गौरवका लागि, बुद्ध भूमिका लागि। Buddha was born in Nepal.

गौतम बुद्ध नेपालमा जन्मिएका हुन्। युनेस्कोले प्रमाणित गरिसक्यो। अब ७५ हजार जना भेला भएर बुद्ध वाज बर्न इन नेपाल भनेर चिच्याउँदैमा राष्ट्र गौरव कायम हुन्छ? राजेश हमालले त्यति पनि बुझेनछन्।

यही हौवामा लागे अचेलका नयाँ ‘भगवान’- रवि लामिछाने पनि। ‘भूत प्रेतमा विश्वास गर्नु हुन्न भने यो हेर्नुहोस्, क्यामेरामै रेकर्ड भयो आवाज, सिंगो टोल त्रासमा’ लेख्दै युट्युबमा राखेर त्रास फैलाएर लास्टमा फुस्सा बनाउने नौटंकी देखाएका लामिछाने पनि गिनिज बुकमा लामो समय कार्यक्रम चलाएर रेकर्ड राखेका मान्छे हुन्। त्यो रेकर्ड राखेर खासमा केही भएन। बरु सीधा कुरा कार्यक्रम चलाउन थालेपछि नै उनी चिनिए।

सबभन्दा पहिला त के बुझौँ भने गौतम बुद्ध नेपालमा जन्मिएको सर्टिफिकेट गिनिज बुकले दिनुपर्दैन। गौतम बुद्ध हाल नेपालको भूभागमा पर्ने लुम्बिनीमा जन्मिएका हुन्। ७५ हजार जना उभिएर कराउँदैमा बुद्ध नेपालमा जन्मिएको हुने हैन।

कसले यो कार्यक्रम आयोजना गरेको रहेछ भनेर खोज्दै जाँदा थाहा भयो, विश्व कीर्तिमान परिषद् नामको एउटा संस्था रहेछ, त्यसको काम रहेछ। विश्व कीर्तिमान भनेको गिनिज बुक नामको एउटा संस्थाको एउटा किताबमा छापिने अनौठा अनौठा रेकर्ड हो। यसमा नाम छापिँदैमा देशको नाम रहने, देशलाई चिन्ने, देशको गौरव बढ्ने केही पनि हैन।

विश्वमा सबभन्दा लामो नाक कसको छ थाहा छ तपाईँलाई?
थाहा छैन त।

विश्वमा सबभन्दा धेरै बेरसम्म किताब पढ्ने को हो थाहा छ तपाईँलाई ?
थाहा छैन त।

अनि यस्तो रेकर्ड कसैको नाममा रह्यो भने देशलाई कसरी सबैले चिन्छ त? देशको गौरव कसरी बढ्छ त?

खासमा यो के खालको रेकर्ड गर्न खोजेको भनेर हेरेको त Most people reading aloud simultaneously – single location को रेकर्डको प्रयास रहेछ। यसअघि भारतमा आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता पढेर रेकर्ड राखेका रहेछन्। 

Most people reading aloud simultaneously – single location यसो भन्यो भने त मान्छे आउँदैनन्। अब के गर्ने त भन्दा ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर गिनिज बुकमा रेकर्ड बस्छ भन्दिने। अनि त नेपालका भेडा बुद्धि भएकाहरुलाई पुगिगो। कुद्‍दै गइहाल्छन्। उभिन नसक्नेलाई दुई सय रुपैयाँको टिकट थमाइदिने, प्लास्टिकको कुर्सी दिइदिने। ५ हजार त्यस्ता आए भने १० लाख रकम उठिहाल्छ।

खासमा माघ २७ गते गर्न खोजिएको रहेछ यो कार्यक्रम। तर मान्छे भेला नहुने भएपछि रद्द गरियो। अनि फागुन १९ गते नयाँ मिति तोकेर नयाँ फन्डा रचिएको रहेछ।

जसलाई बुद्ध भनेको के हो थाहै छैन, गौतम बुद्ध भन्दा पहिले कति वटा बुद्ध यो संसारमा र नेपालमा जन्मिएका थिए भन्ने पनि थाहा छैन, बुद्धको शिक्षा के हो त्यो पनि थाहा छैन, बुद्धको शिक्षालाई बुझ्ने प्रयाससम्म पनि गर्दैन, यस्ताका लागि बुद्ध नेपालमा त के, उसकै जिल्लामा, उसकै टोलमा अझ उसकै घरमा जन्मिएको भए पनि के फरक पर्छ र।

बौद्ध अध्ययनमा लामो समय बिताएका वसन्त महर्जनले यही विषयमा एउटा गजबको दनक दिएर लेख लेखेका छन्। केही अंश हेरौँ-

बुद्ध र बौद्ध धर्मदर्शनप्रति खास कुनै लगाव नभएपनि यो वर्ग बुद्ध कहाँ जन्मेको भन्ने प्रसङ्गमा भने सा-है सम्बेदनशील भएजस्तो देखाउँछन् र यस सम्बन्धमा अब्बल दर्जाको राष्ट्रवादी भइटोपल्छन् । यस्तो लाग्छ, कसैलाई चटक देखाउनु छ, तर हेरिदिने कोही छैन भने उसले बुद्धको जन्मस्थलबारे बोलिदिनु मात्रै पर्छ, भलै वक्ता बुद्धका बारेमा अन्जान नै किन नहून्, यहाँ मान्छेको भीड लागि हाल्छ ।

हेक्का राख्नु पर्ने कुरा के हो भने, उक्त सिङ्गो कपिलवस्तु न भारतमा पर्दछ, न त नेपालमा नै । प्राचिन कपिलवस्तुको केही भूभाग वर्तमान नेपाली भूमिमा पर्दछ भने केही भूभाग वर्तमान भारतीय भूभागमा पर्दछ । यस सम्बन्धी विस्तृत अध्ययन भएको छैन पनि । केही भूभाग भारतमा परेकै आधारमा सिङ्गो कपिलवस्तु भारतमा रहेको वा केही भूभाग नेपालमा परेको मान्यता भारतीय पक्षको छ भने नेपाली पक्ष सम्पूर्ण कपिलवस्तु नेपाली भूभागमा परेको भ्रममा छ । यही आधारमा भारतीयले गौतम बुद्धलाई भारतीय भन्ने हुन् भने नेपालका केहीले लुम्बिनीको आधारमा र केहीले लुम्बिनी र कपिलवस्तु दुबै क्षेत्रको आधारमा नेपाली भन्ने गरेका हुन् । गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछिको अधिकांश समय वर्तमान भारतीय भूभागमा विचरन गरेको, बौद्ध धर्मको प्रसारप्रसार भारतबाटै अन्यत्र भएको तथा बौद्ध पुनर्जागरणपछि पनि भारतले यसबारे क्रेडिट लिँदै आइरहेको कुरा यहाँ स्मरणमा राख्नु पर्दछ । बुद्ध र बौद्ध धर्मका सवालमा भारतले प्राथमिकता दिंदै आएको समयमा नेपालका शासक तथा उनका आसेपासेहरु बौद्ध धर्मको विरुद्ध कतिसम्म लागिपरेको थियो भन्ने सन्दर्भमा भिक्षु भएकै आधारमा जेलमा कोच्ने, शासना दिने, देशनिकाला गर्नेलगायतका कर्तूतहरु गरेबाट छर्लङ्ग हुन्छ । ती शासकहरु बुद्धलाई बुद्ध भन्न चाहँदैनथे बरु ‘बाँडा देवता’ भनी होच्याउँथे । यस्तो अवस्थामा बुद्ध र बौद्ध धर्मलाई नेपालको सन्दर्भमा विश्वले कसरी हेर्छ भनेर सजिलै अनुमान गर्न सकिन्छ । उहिलेको कुरा खुइलियो नि भनेर तर्क गर्नेहरु पनि छन् तर यसै विषयवस्तुमा काम गरिरहेका हामीले त्यसमा तात्विक भिन्नता पाउन सकिरहेका छैनौं ।

बुद्ध र बौद्ध धर्मका सम्बन्धमा सामान्य जानकारी पनि नराख्ने वा नकारात्मक नै हुने तर “बुद्ध वाज बर्न इन नेपाल’ भनेरै हिड्न मन पराउनेहरुलाई नियाल्दा यस्तो लाग्छ, यी विचराहरुको आधा जीवन यही नारा फलाक्दै बित्छ र बाँकी आधा जीवन यसअघि नै बितिसकेको हुन्छ । विस्तृत पढ्न क्लिक गर्नुस्

यस्ता ताइँ न तुइँका रेकर्डहरु राख्न नेपालीमात्र हैन दक्षिण एसियालीहरुलाई नै साह्रै फूर्सद छ जस्तो छ। हेर्नुस् एउटा उदाहरण-


२००२ को अक्टोबरमा पाकिस्तानीहरुले रेकर्ड राखे २४ हजार जना भेला भएर राष्ट्रिय झण्डा बनाएर


२०१३ को डिसेम्बरमा २७ हजार जना भेला भएर पाकिस्तानको रेकर्ड तोडे


त्यसको दुई महिनामै २०१४ को फेब्रुअरीमा २७ हजार जना भेला भएर बंगलादेशको रेकर्ड तोड्दै पाकिस्तानीले रेकर्ड राखे।


२०१४ कै अगस्तमा ३५ हजार नेपाली भेला भएर झण्डा बनाउँदै पाकिस्तानको रेकर्ड तोडे।


नेपालको त्यो रेकर्डलाई भारतले ४३ हजार ८३० भेला भएर चार महिनामै तोडिदियो। अहिलेसम्म त्यो रेकर्ड कायम छ।

अब यो शनिबार हुन लागेको ७५ हजार (खासमा ४७ हजार जना भेला भए पनि रेकर्ड त तोडिन्छ) को भिड जम्मा भएर जे वाचन गरे पनि बस्ने उही एउटा रेकर्ड हो। त्यो तोडिन गाह्रो पनि छैन। त्यो रेकर्ड बसेर हुने पनि केही हैन। त्यो रेकर्ड बसेर बुद्ध नेपालमा जन्मिएको प्रमाणित हुने पनि हैन। त्यसैले बित्थामा समय नष्ट गर्न टुँडिखेलमा जानुहुन्छ भने जानुस्। तपाईँको इच्छा। तर त्यो समय बुद्धको शिक्षा व्यवहारिक रुपमा बुझ्न लगाउनु भयो भने तपाईँको दुःखकष्ट हट्न सक्छ भन्ने मात्रै चाहना हो मेरो।

16 thoughts on “बुद्ध हैन बुद्‍धु नेपालमा जन्मिएको देखाउने कार्यक्रम”

  1. गगन says:
    March 5, 2018 at 8:40 pm

    त्यसभे के यो नौटंकी रु २० दिएको बराबर भयो त? गजबको कुरा|
    देशै रकमी कुरामा अल्झाउनेहरुले चलाउदै आएको छ| त्यस्ता रकमी कुराले पार लाग्दैन|

    Reply
  2. Raj says:
    March 4, 2018 at 4:58 pm

    भेडाचेतहरुको नायक राजेश हमाल येस्तै येस्तै बेम्कम्फुसे हैज्जाहरु जम्नले गर्दा आज नेपालको एस्तो दुर्दशा भएको हुन् | गौतम बुद्ध नेपालमा जन्मेको हो भनेर यो पहिला पुस्टि भैसकेको हो | यस्तै हैजा र कपुतहरु ले गर्दा आज नेपालको नामनै लिंदा पनि लाज मान्ने दिन आएको छ

    Reply
  3. prithvi says:
    March 4, 2018 at 4:28 pm

    बुद्ध नेपाल मा जन्मेका होइनन, लुम्बिनी लाइ एकिकरण गरेर पृथ्वी नारायण शाह ले बुद्ध लाइ आधुनिक नेपाल को सिमा भित्र जन्माइदियेका हुन् ! भारत द्वारा संचालित माओबादी को बहकाव मा लागेर पृथ्वीनारायण शाह को शालिक तोड्ने भेडा जनता लाइ अहिले किन बुद्ध चाहियो? एकिकरण को चाहि बिरोध गर्ने अनि बुद्ध चाहि नेपाल मै जन्मिनु पर्ने?

    Reply
  4. Ramesh says:
    March 4, 2018 at 1:08 pm

    As far as my understanding goes, the program at Tundikhel was not to prove that Lord Buddha was born in Nepal but to advertise that Lord Buddha was born in Nepal and I don’t see it as nautanki or drama as my other friends are interpreting it. Well…. I may be wrong….

    Reply
  5. B. Khanal says:
    March 4, 2018 at 10:09 am

    बुद्ध नेपाल मा जन्मिए पनि अमेरिका मा जन्मिए पनि कुरा उस्तै हो| जब सम्म आफु भित्र अलि कति पनि बुद्ध पन को बिजारोपण हुदैन केहि हुने वाला छैन| बुद्ध पुरुष कहाँ जन्मिए भन्ने कुरा तेती महत्वपुर्ण हैन अर्थात् महत्वहीन कुरा हो | महत्वपुर्ण कुरा हामीमा बुध्हत्व पन कति छ वा छ कि छैन भन्ने कुरा हो| हाम्रो पुस्ता येस्तै अर्थहीन कुरामा टाउको दुखाएर जाने भो| मलाई त बुद्ध नेपालमा जन्मिएका थिए वा भारत मा जन्मिएका थिए केहि मतलब छैन| मतलब येत्ति कुराको छ कि बुद्ध साच्चिकै महामानब हुन् र उनको उपदेश अलिकति पनि पालन गर्न सके यो जीवन धन्य हुने थियो | बुद्धम शरणं गच्छामी धम्मं शरणं गच्छामी |

    Reply
  6. कमल says:
    March 4, 2018 at 8:50 am

    यी सब वाहियात हुन, टोटल्ली वाहियात| फुर्सदे र सस्तो छिटो नाउँ कमाउनेहरुको जमात| आफु बौद्ध परिवारमा जन्मेर पनि यस्तो भन्नपर्यो| खुशी लाग्यो डा गोविन्द केसी थिएनन|
    वुद्ध नेपालमा जन्मेको त के सगरमाथा बाटै कराए पनि केहि हुने वाला छैन| आआफ्नै धुरी बाट कराए भैगो| बरु यो जमातले मन वचन चिन्तन परिष्कृत गरने र गर्नतिर सहयोग प्रेरणा दिए सो कार्य ठिक हुने थियो|
    १. मुलुकमा एक लाख मुद्दा अदालतमा पेण्डिङ्ग छन|
    २. धुलो र धुँवाले शहर खत्तम छ, प्रत्येक सेकेण्ड स्वाथ्यमा हानी गरिरहेको छ |
    मेलम्चीको पानी कुरेको १८ बर्ष भयो, एउटा पुस्ता पानी खान नपाई वितेर गए|
    (नेपाली योजनाविद र इम्प्लिमेण्टरहरु झुर छन, अमेरिका, युरोप, जापान आदिको
    डिग्री र सेमिनार तालिम पाएका, तर काम जिरो, लाज पचेका छन, गफ दिन मात्र
    जान्दछन, तर यो एडीबी भन्ने पनि कस्तो अजीब संस्था हो, नेबिल इत्यादि र नेपालमा आजभोली च्याउसरी पल्हाएका बैंकहरु भन्दा केहि फरक देखिएन, मेलम्चीको पानी ल्याउन कसरि यति दशकौ लाग्यो, कुन राजनीतिग्य र ब्युरोक्राटहरु जिम्मेवारी छन र थिए, र कसको अकर्मण्यता, लापरवाही, ढिलाई र उदासीनताले मुलुकलाई यसरि डुबायो खुलाउन पर्यो|
    अब डोनर र ऋणदाता संस्थाहरु प्रति पनि नेपाली जनताले सोझै प्रश्न उठाउन पर्ने दिन आयो|
    अहिले भैरहेको भीड र ट्राफिक जाम धुलो मुलो धुँवालाई अझ बढ्ने भन्ने जान्दा जान्दै पनि किन विश्व बैंकले चावेलमा कन्फरेन्स हल बनाउने? शहरदेखि अलि पर लागे कसो होला, कि बाटो धेरै चौढा गर्न पर्यो|
    ३. फोहोर बढ्दो छ शहरमा|
    ४. महानगर पालिका छैन भने नी हुन्छ| खालि राजनीति गर्ने मात्र काम हो जस्तो छ| एनजीओ ले आयोजना गरेको कार्यक्रममा गफ दियो, वस त्यतिमै| हिड्नलाई फुटपाथ छैन, जग्गा ओगट्नेले स्वाहा पाराका छन| साइकल पसले बाटामा प्रतिबन्द लगाइनु पर्छ र तोकिएका स्थानमा मात्र दिईनु पर्छ| महानगरपालिका अन्धो नै देखिन्छ| मानौ जताततै लालबाबु पण्डित जस्ता व्यक्तित्वको अभाव छ| रानीपोखरी निर्माण गर्न विवाद खडा छन, काम कैले सक्ने हो थाहा छैन|
    ५. रानीपोखरी वारिको आकाशेपुलको भर्यांगमा ताछिएको डडेलो देखाएर माग्ने बसेका छन, विचरो, कसरि उद्दार सहयोग गरिदिने हो| ठिक त्यही तरिकामा तर सबल शरीर हुँदा हुँदै पनि हाम्रो मुलुकका हर्ताकर्ताले भुकम्पले भत्किएका धरोहरहरु देखाएर पैसा उठाए तर तीन बर्ष लाग्दा समेत बनाउने केहि सारसुर छैन| नारान्यणहिटिको गेटको साइड भित्र लुगा सुकाएको हुन्छ, घेरो हालेको पर्खालमा इँट ढलेको देखाएर पिडलो देखाएको जस्तो छाडिदिन्छ| नारायणहिटी कै जयनेपाल नजिकको गेटमा भग्नावशेषले जिस्काईरहेको मुनि सेनाका पहरेदार खडा छन| दश जना सिपाहीका हाकिमको तलब दिनु सट्टा घेरो र गेट मर्मत गरे पुग्दैन? विचल्ली डडेलो देखाउने परने? मुलुकको सम्पति सिंहदरवारको घेरो पर्खाल भूकम्पले लडेको ईंट समेत सुधारने मिलाउने बारे कसैले सोचेका सम्म देखिएन| राजनीतिग्य, मुख्य सचिव, प्रधान न्यायधीश सबै त्यही बाटो गाडीमा सवार भएर जाँदा आँखाले देख्छन तर डोनर कुरेको हो वा के हो थाहा छैन, टुरिस्ट गाइडहरुले पर्यटकहरुलाई गाडी स्लो गरेर मच्ची मच्ची शोर गरेर देखाउछन, अनि ती मध्ये एउटा पर्यटकले सोध्छन, तीन बर्ष भइसक्दा पनि ती भत्केका पर्खाल समेत किन नबनाएको? गाईड सिधै जोक पारामा भन्छन, वर्ल्ड ब्याङ्क संग वार्ता चलिरहेछ|
    ६. लास्ट बट नट द लिस्ट, जनतालाई सफा सुघर सौचालयको व्यवस्था गर्ने कुरै नगरौ, सरकारी अड्डाहरु र काठमान्डू महानगरपालिका अन्तर्गतको शौचालयको दुर्गन्धमय र सोचनीय अवस्थाको यहा बयान नगरे पनि हुन्छ| त्यहा काम गर्ने र नीति निर्माण गर्नेहरुको एट्याच बाथ रुम भएर हो कसैले ध्यान दिएका छैनन्| सबै अभ्यस्त छन| मुलुकको स्वास्थ्य को जिम्मा लिएका स्वास्थ्य मन्त्रालय र विभाग अन्तर्गतको ट्वाइलेटले पनि फोहोर र दुर्गन्धमा वाहियाते जमातको सरह गिनिस बुकमा रिकर्ड पाउदो हो|
    हामी नेपालीको स्तर दिनदिन खत्तम हुँदै गएको हो कि यस्तै हो भन्दै कसैले ध्यान नदिएको?

    यी माथिका वाहियाते गिसिस बुक जमातले माथिका कुराहरुमा ध्यान दिए कसो होला?

    Reply
  7. madan bajracharya says:
    March 4, 2018 at 3:42 am

    गौतम बुद्ध भारतमा जन्मेको भन्ने भारतकों दावी त् झुठो हो / यसको प्रतिबाद त् गर्नै पर्छ/ हिमाल देखि कन्या कुमारी सम्म हजारौ जातजातीय र अनेकौं धर्म मान्नेको अनेकौं नामहरु भयको देसहरु भयको यसिया उपमहाद्वीप हो/ भारत भनिने देस त् लगभग ५५० भन्दा बढी अंग्रेजको गुलामी गर्ने सानो ठुलो जात जातीय तथा अनेकौं धर्म मान्ने देसहरु मिलायर अंग्रेजले सन् १९४५मा मात्रै स्थापना गरेको देसहो/ अंग्रेजको हुकुमत मान्ने ती ५५० देसहरुमा नेपाल पर्दैन/ भारत देस स्थापना गर्दा अंग्रेजले लिखित रुपमै नेपाल स्वतन्त्र र सारव्भौम सट्टा सम्पन्न देस भयको मानि सकेको थियो/ र अंग्रेजको गुलामी स्विकार्ने कथित भारतको ती ५५० भन्दा बढी संख्याको जात जातीय र अनेकौं धर्म मानेहरुको अलग अलग्ग गौतम जन्मेको बेला स्वतन्त्र देस भयको लुम्बिनी र नेपाल पर्दैन/ तेसैले गौतम बुद्ध भारतमा जन्मेको भन्ने दावी झुठो मात्रै होईन बिस्वभरिको बुद्धको अरवौ अनुयाईहरुलाई झुक्याउन्दै उनीहरु बात डलर ठग्ने भारतको कुचाल पनि हो/ फेरी हामीले यो पनि भुल्नु हुँदैन कि जुन बेला बिस्वको मानवहरुले बुद्धलाई मान्दै आयको बेला भारतको हिन्दु अतिबादिहरुको कथित सबै भन्दा ठुलो पुजारी शंकराचार्यले सम्पूर्ण भारत र नेपालमा समेत बुद्ध धर्म मास्ने अभियान नै चलायको थियो/ भारतको शंकराचार्यले बुद्ध धर्म र बुद्धधर्म मान्नेहरुको कुन हद सम्म दवाउन खोजेको थियो भन्ने कुराको कयौं उदाहरण र प्रमाण आज पनि भारत र नेपालमा कसैले देख्न सक्छ/
    आज बुद्ध नेपालको लुम्बिनीमा जन्मेको सत्य तथ्य मान्नेहरुको दुर्भाग्य नै हो कि नेपालमा रहेको जात जातीय राज्यहरु यकिकरण गरेर आजको नेपालको सिमाना कोर्ने राजाहरु पनि बुद्ध र बुद्धको अनुयाईहरु मास्न खोज्ने भारत परास्त भयको बा भारत बाटै आयकाहरु भयको कारणले केहि दसक अघि सम्म पनि नेपालको सरकार चलाउने राजाहरु नेताहरुले नेपालमा बुद्ध धर्म को उचित सम्मान मात्रै नगरेको थियन उनीहरुले बुद्ध धर्म र बुद्धको अनुयाईहरुलाई दुरुत्साहि गर्न कुनै पनि प्रयास छोडेको पनि थियन/ आज बुद्धले जुन सम्मान पायको छ त्यो देसमा भारत पनि पर्दैन नेपाल पनि पर्दैन/ जुन बेला बुध्ह जानेको थियो त्यो बेला बुद्ध जन्मेको देस भारत र नेपालको कुनै पनि सम्राट बा राजाको अधीनता स्विकार्ने देस थियन/ बुद्ध जन्मेको बेला बुद्धको देस यौटा स्वतन्त्र देस नै थियो र बुद्ध जन्मेको त्यो लुम्बिनी भनिने देस अहिले नेपालको भूभाग भित्र पर्छ भारत भित्र पर्दैन/ सत्य यहिनै हो/

    अहिले बुद्धलाई बिस्वले मानेको छ र बिस्व भरि बुद्धको अरवौ अनुइयाईहरु छन्/ बिस्व भरिछरेर बसेको अरवौ बुद्धको अनुयाईहरु जिवनमा यक चोटी भय पनि बुद्ध जन्मेको लुम्बिनीमा आउन चाहन्छन/ अरवौंको संख्यामा रहेको बुद्धिस्तहरुको यो धार्मिक पर्यटन बात खरावौँ को आम्दानि हुन् सक्छ/ उहिले सकेमा बुद्ध र बुद्धिस्ट मास्न खोज्ने शंकराचार्यको भारत र आफ्नो यकलौति राज चलेको बेला बुद्धिस्टहरुलाई मास्ने प्रयास गर्ने नेपालको राजाहरु र तेस्तै नेताहरुले अहिले बुद्ध यहा जन्मेको त्याहा जन्मेको भनेर कराउनुको स्वार्थ मात्र बिस्व भरि छरेर बसेको अरवौ बुद्धिस्तहरुलाई भ्रमण गरायर हुने खरावौ फाइदा कुम्ल्याउन मात्रै हो/

    बुद्धलाई बुद्धकै रुपमा मानेमा मात्रै बुद्धिस्ट हुन् सक्छ/ बुद्धले अरुको व्यक्तित्व, सम्पदा श्रोत र सिमानाको सम्मान गर्ने आफ्नो स्वार्थको निमित आफु भन्दा कमजोर व्यक्ति बा मुलुकलाई दवाउने बा आफ्नो फाइदाको निमित अरु लाई अहित हुने कार्य नगर्ने मात्रै सिकायको छ/ यो कुरालाई लियर अहिले बुद्ध भारतमा जन्मेको भन्ने भारतको मुल्यांकन गर्ने हो भने भारत भन्ने देस बुद्ध र बुद्धिस्ट बिरोधि भयको देखाउंछ भने तिनै भारतको दलाली गरेर नेपालमा आफ्नो सट्टा चलाउने कमाउन खोज्नेको बुद्ध भक्ति मात्र उनीहरुको नौटंकी हो/

    Reply
  8. Yogendra Paudyal says:
    March 4, 2018 at 1:25 am

    गर्नु पर्ने अरु धेरै काम छ भन्ने बित्तिकै यो काम चाही गर्नु नै हुदैन भन्ने मानसिकतामा मैले कमजोरी देखे | हामि संग धेरै प्राथमिकताहरु हुन्छन तर केहि न्युन प्राथमिकता भएका कामहरु पनि गर्ने पर्ने हुन्छ जसले हामीलाई खुशी दिन्छ| जस्तो कि तपाइँ संग ५०,०० छ, ब्यबसाय गर्न अरु ५०,००० को तपाइलाइ खाचो छ| ५०,००० उल्टै चाहिराखेको बेला एउटा दुखि माग्ने आयो र २० रुपैया माग्यो | तपाइलाइ उल्टै पैसाको आबश्यक भैरहेको बेला उसलाई तपाइले नदिनु पर्ने हो तर २० रुपैया तपाइले दिनु भयो भने के बिग्रिन्छ ? तपाईलाइ मनको शान्ति हुन्छ, माग्नेलाइ एकछाक हुन्छ | न्युन प्रथामिकातामा भएका सम्पूर्ण कामहरु खराब हुन्नन्| यो कार्यक्रममा सरिक नहुदैमा देश बनिहाल्दैन, भत्केको सबै ठिक भै पनि हाल्दैन | बिरोधको लागि मात्र बिरोध नगरौ||

    Reply
  9. Rabikiran says:
    March 3, 2018 at 8:40 pm

    आध्यात्मिक रुपमा हेर्ने हो भने बुद्द भारतको बोद्गायामा जन्मेका हुन् अनि नेपालको कपिल बस्तुमा शिदर्थ गौतम मात्र जन्मेका हुन् >> बरु budda was born भन्ने नारामा हामी भुलिनु भन्दा पनि ति सिमा रेखाहरु जोगाऊ जहाँ बाट हाम्रो सिमा स्तम्भहरु हराउदै नेपालको आकार सानो बन्दैछ, नेपाललाई चिनौन बुद्द हैन सगरमाथा जोगाऊ , नेपाली सम्पदाको समरक्षन गरौ अनि क्रिकेट खेलाडी सन्दिप लामिछाने र म्याराथन दावीका मिरा राई जस्ता धेरै नेपाली सपुतहरुलाई प्रोत्साहन दिउ किन कि देश चिनाउने त यिनीहरुले नै हुन् , गिनिज बुक को रेकोर्ड ले हैन

    Reply
  10. Vishwaraj says:
    March 3, 2018 at 8:32 pm

    यतिको कसरत र मेहनत पछि के अब प्रमाणित भयो कि Buddha Nepal मै जन्मिएको हो ? के अब India ले दुइ लाख मानिस जम्मा गर्न सक्दैन ? यो केटा केटि खेल खेलेर के फायिदा भयो र कसलाई भयो थाहा भएन . यस्तो खेलबाड मा सरिक भएर नरेद्र मोदी लाई मात गरे भन्ठानेको जस्तो लाग्यो ओली ले .उहाँ का सल्लाहकार हरु लाई पनि सलाम नै गर्नु पर्ला जस्तो छ . सल्लाहकार हरुको येस्तै सल्लाह रह्यो भने हाम्रो स्थिर सरकार आउने आस पनि अब न गरे पनि हुञ्छ . अब यो देश लाई भगवान बुद्ध ले नै रछ्या गरुन !

    Reply
  11. SUSHAN says:
    March 3, 2018 at 6:27 pm

    One of the insightful article I have been saying these since ages….do some constructive like cleaning volunteering nepalese for a god shake…khokro Rastriyata badi vo desh ma

    Reply
  12. Dinkar S says:
    March 3, 2018 at 6:02 pm

    जब हामीले ‘बुद्ध नेपाल जन्मेका हुन्’ भन्ने कुरा प्रमाणित गर्न गानो जानेगरी चिच्याउनु पर्ने अवस्था आउँछ तेस्ले हामी भित्र रहेका insecurities लाई दरो संग झल्काउँछ, त्यसको साटो ‘बुद्धं शरणं गच्छामि।धर्मं शरणं गच्छामि।’ मन्त्र नै सामुहिक उच्चारण गर्न लगाएको भए पनि त केहि अर्थ हुन्थ्यो |

    दुखः को कुरा त, बुद्ध को जन्मेको देशले बुद्ध को ध्यान बिधि लाई बिस्व मा चिनाउने अवस्थामा पुग्न छोडेर हामी बुद्ध को जन्म मिति प्रुभ गर्न हाम्रो अमुल्य समय खेर फलेको जस्तो लाग्छ |

    बुद्ध लाई बिस्व ले चिन्नु कारण भनेको बुद्ध ले रि-इन्भेंट गरेको प्राक्टिकल मेडिटेसन टेक्निक को कारण ले नै हो, र बुद्ध ले आफ्नो मिर्त्युको कै समय अगि सम्म पनि टेक्निकनै सिकैरहेका थिए| यदि हामीले बुद्ध को मेसेज र टेक्निक लाई स्वदेश र विदेश मा प्रचार गर्न सके बुद्ध नेपाल मा जन्मेको कुरा – atmosphere ले automatically प्रुभ गर्छ, हाम्रो energy तेस्मा लगाउनु जरुरि हुन्दैन |

    Reply
  13. मनिष says:
    March 3, 2018 at 3:53 pm

    जब देश गरिबहुन्छ कसैले गन्दैन अनि जनतामा इन्फेरियोरिटि कम्प्लेक्स भरिएकोहुन्छ अनि मान्छेहरुलाई यस्ता – यस्ता आइडिया आउछन्|
    बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा रहेको भनेर बिश्व सम्पदा सुचीमा युनेस्कोले राखीसकेपछि केको रुवाबशी| जहाँसम्म प्रचारप्रसारको कुरा छ, यदी राष्ट्रपतिका दाबेदार झलनाथ खनालका सुपुत्रले समयमै भैरहवा अन्तराष्ट्रिय विमानस्थल सम्पन्न हुन दिए भने धेरै भन्दा धेरै बिदेशीलाइ लुम्बिनी घुमाउने अनि यो ठाउँ कहाँ छ भनेर सबैलाइ चिनाउने| तर मलाई अझै अचम्म लाग्छ यो झलनाथको छोरो कहिले देखि ३-३ अर्बको ठेक्का लिन सक्ने भयो?? था हुनेले सिकाईदिनु होला|

    Reply
  14. Sandesh says:
    March 3, 2018 at 11:16 am

    Very well said Umesh jee. Nepal and Nepalese only have either Everest or Buddha to introduce to the world which was gifted by nature.What else do we have ? Waste of time and effort to so call prove Buddha was born in Nepal which is already proved. Better follow Buddha’s teachings and learning,have we ?

    Reply
  15. Navin Rayamajhi says:
    March 3, 2018 at 7:49 am

    मेरो बिचारमा यो “बुद्ध वाज बर्न इन नेपाल” भन्ने नाटक नै बेकार हो, कहिले नरेन्द्र मोदीले प्रमाणित गर्नु पर्ने. अहिले ७५ हजार मान्छे जम्मा भएर बुद्ध नेपालमा जन्मेको रेकर्ड राख्दा भोलि भारतले ७५ हजार एक जना जम्मा पारेर रेकर्ड राख्न सक्छ? यदी सक्दैन भने काम छैन यदी सक्छ भने त् बेकार नै भयो. यो उपलब्धिहीन कार्य हो. त्यस्तै राजेस हमाल बास्तव मै शिक्षित नै हुन् कि अँग्रेजी राम्रो सँग बोल्न जाँदा शिक्षित जस्तो देखिएका हुन्?

    Reply
  16. Milan says:
    March 3, 2018 at 6:54 am

    कुरा सहि हो/ मलाई मन पर्यो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme