केही दिनदेखि सन्चो थिएन। नियमित काम गर्न र ब्लग लेख्न पनि सकिरहेको थिइनँ। सोमबार बिहानै धुलिखेल अस्पतालमा पुगी विभिन्न जाँच गर्न जानु पर्ने भएकोले एटिएम घोट्नु पर्ने थियो। तीनधारा मार्गस्थित कमलादीको ग्लोबल बैँकको एटिएम सबभन्दा नजिक। त्यहाँ तीन वटा एटिएम बुथ छ। बायाँबाट पहिलोमा एटिएम बुथै छैन। मैले सुरुमा दोस्रो रोजेको थिएँ। तर त्यसको ढोका खुल्दै खुलेन। अनि सबभन्दा छेउको बुथमा पसेँ। पस्ने बित्तिकै एटिएम बुथको मुनि एटिएमबाट निस्किएका कागज फालेको थुप्रोमा एउटा ठूलो आकारको पर्स देखेँ। सुरुमा त कसैले फालेको जस्तो लाग्यो। खुरुखुरु आफ्नो पिनकोड हालेर नोट निकालेँ। साढे सात बजेको थियो रातको। निस्कन लाग्दा फेरि त्यही पर्समा आँखा गयो। फेरि शंकालु मनले आजभोलि देखिएका शंकास्पद वस्तु छुन हुन्न भन्ने पनि दिमागमा आयो। फेरि सोचेँ, कसैले भित्र भएका पैसा वा अन्य बहुमूल्य सामान सबै निकालेर फ्यालेको रहेछ भने बेकारमा दोष मलाई आउँछ। तत्काल फेरि क्राइम फिक्सनतर्फ मोडियो दिमाग- कसैले कसैको अपहरण गरेर लगेको। अपराधीले पर्स चाहिँ त्यता फालेको।
दिमागले थप कुरा सोच्नुभन्दा अघि पर्स टिपेँ र हिँडिदिए। अलि पर श्रीमतीजी पर्खिरहनुभएको थियो गाडीमा। भित्र बसेर पर्स खोलेर हेरेँ। सबभन्दा माथि नै पासपोर्ट देखेँ। मधु केसी नामको पासपोर्ट रहेछ। चाइनिज भिसाको स्टिकर पनि टाँसिएको रहेछ। काभ्रेबाट जारी भएको नागरिकता पनि रहेछ। पर्सको अर्को भागमा दुई वटा बैँकका एटिएम कार्ड रहेछन्। जिपर खोलेर हेर्दा प्रशस्त विदेशी नोट रहेछ- चाइनिज युआन, अमेरिकी डलर।
मान्छे धेरै टाढा नगएको भए फोन गरेर बुझाइदिन हुन्थ्यो जस्तो लाग्यो। तर पर्समा पहिचान खुल्ने कागजातहरु नागरिकता र पासपोर्ट भए पनि अरु केही रहेनछ। पासपोर्टमा फोन नम्बर हुँदो रहेनछ। अगाडि नभए पनि पछाडिका पानामा रहेको नेपालमा रहेको सम्पर्क व्यक्तिको नाम ठेगाना लेख्ने ठाउँमा फोन नम्बर हुन्छ जस्तो लागेको थियो, त्यहाँ पनि नहुने रहेछ भन्ने बल्ल पो चाल पाएँ।
लौ अब कसरी बुझाउने हो त। आपतै पर्यो। सामान हराउँदा कस्तो हुन्छ भनेर त मैले अस्ट्रेलियामा क्यामेरा हराउँदा भोगिसकेको थिएँ। महानगरीय प्रहरी कार्यालयको लस्ट एन्ड फाउन्ड सेलमा बुझाइदिने कि आफैले खोजेर जसको हो उसलाई बुझाइदिने- के गर्ने होला? जसको हो उसैलाई बुझाइदिन पाए छिटो र सजिलो हुने थियो। तर कसरी?
फेसबुक ! फेसबुकमा खोज्दा कसो होला? फेसबुक खोलेर टाइप गरेँ नाम मधु केसी। पाँच जना देखियो। त्यसमा पनि Works at मा चाइनिज अक्षर, पासपोर्टमा चाइनाको भिसा अनि पासपोर्टको फोटो र फेसबुकमा प्रोफाइल पिक्चर मिल्ने जस्तो लागेर एउटा मधु केसीको प्रोफाइलमा क्लिक गरियो। फेसबुकमा वास्तविक नाम राख्नुको फाइदा यही हो। आफ्नो वास्तविक नाम बिगारेर अरु नै नाम फेसबुकमा राखेको भए यसरी भेटिन गाह्रै पर्थ्यो।
फेसबुकमा फ्रेन्ड नभएपछि पठाउने म्यासेज पनि पुग्दैन। त्यसैले पहिला फ्रेन्ड रिक्वेस्ट नै पठाउनु पर्ला भनी रिक्वेस्ट पठाएँ। उनको फेसबुक साथीमध्ये दुई जना म्युचुअल फ्रेन्ड रहेछन्। अर्थात् उनको फेसबुकको साथीको सूचीमा रहेका र मेरो पनि फेसबुकको साथी। दुवै फेसबुके साथीमात्र। चिनजान नभएको। अहिलेसम्म कुराकानी पनि नभएको। तीमध्ये एक जना ध्रुव पौडेल पूर्व पत्रकार पनि रहेकोले मैले उनलाई मेसेज पठाएँ- एउटा सहयोग गर्नुस् न, मधु केसीको नम्बर पठाइदिनुस् न।
उनले नम्बर खोजेर पठाइदिए। मैले उहाँको पासपोर्ट र नागरिकतासहितको पर्स भेटेको छु भनेर जानकारी गराएँ। उनले फोन गर्दा मधुको नम्बर उठेनछ। श्रीमतीको नम्बर पनि उठेनछ।
ध्रुवजीसँग फोनमा कुरा भयो। दुवै मिल्ने साथी पनि रहेछन्। भोलि सोमबार दरबारमार्गस्थित मेरो अफिसमै भेट्ने कुरा भयो।
तर त्यस्तो जानकारी दिँदा पनि सोधखोज केही नगरी फोनसमेत नगरेपछि मैले आफै दिउँसो मधुजीको नम्बरमा फोन गरेँ। फोन उठ्यो। मैले तपाईँको पर्स भेट्टाएको थिएँ, कहिले लिन आउनु हुन्छ भनेर सोधेँ। उनले आफू दरबारमार्गमै रहेको बताएपछि ल तुरुन्त आइहाल्नुस् न भनेँ।
एकछिनमै ध्रुवजी र मधुजी दुवै अफिसमा आइपुगे। दुई जनासितै रमाइलो गफगाफ भयो। फोटोसोटो खिचेर रमाइलो गरियो। आफ्नो पर्स फिर्ता पाएपछि मधुजीले भनेको एउटा कुरा ज्यादै घतलाग्दो थियो- इमानले कमाएको धन भएकोले हराउँदा पनि फिर्ता पाइयो।
‘तपाईँको साटो एटिएम बुथमा अर्कै मान्छे पसेको भए कहाँ फिर्ता पाइन्थ्यो र!,’ उनले भने। त्यो चाहिँ नहुन पनि सक्छ। अरु कसैले भेट्टाएको भए पनि फिर्ता हुन पनि सक्थ्यो। आखिर बेइमानहरुले मात्र भरिएको छैन है हाम्रो समाज।
यो प्रसंगबाट मैले पाएको ज्ञान – पर्समा आफ्नो सम्पर्क नम्बर राख्ने हो भने कसैले फर्काउन खोजे सजिलो हुने रहेछ। अर्को, फेसबुकमा सक्कली नाम राखेमा खोज्न धेरै सजिलो हुने रहेछ।
बाँकी त मधुजीले पासपोर्ट र नागरिकता हराएको भए प्रतिलिपि बनाउन भोग्नुपर्ने सास्ती सम्झँदा त्यसबाट मुक्त भएकोमा खुसी लाग्यो। सबको जय होस्!
इमान्दारिता काँहा सकिएको छ र ! धन्यवाद तपाईलाई !!
हजुर को जय हॊस
उमेश जिको कार्य राम्रो लाग्यो, धेरै पुण्य कमाउनु भयो .
”
‘तपाईँको साटो एटिएम बुथमा अर्कै मान्छे पसेको भए कहाँ फिर्ता पाइन्थ्यो र!,’ उनले भने। त्यो चाहिँ नहुन पनि सक्छ। अरु कसैले भेट्टाएको भए पनि फिर्ता हुन पनि सक्थ्यो। आखिर बेइमानहरुले मात्र भरिएको छैन है हाम्रो समाज।
”
यो हो नि त काइदा । ईमानको बिऊको खडेरीनै चाहि परेको छैन है। जय होस् ।
Salokyaji ko jai hos
तपाईको जय होस् /
सारांस
विदेशी मुद्रासहितको पर्स भेट्दा, आतंकित भएको मेरो दिमाग
विदेशी मुद्रासहितको पर्स ,पर्स धनीलाई फर्काउदा शान्त भयो |
दुबिधामा थियो मन , कसोगरु , के गरि गरु ?
फेस बुक बाट याड्रेस पाउदा , बडो हाइ सन्चो भयो |