Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्र बैँकले प्रतिबन्ध लगाएको बिटकोइन र अन्य क्रिप्टोकरेन्सीबारे जान्नै पर्ने तथ्य

Posted on November 11, 2017 by Salokya

-सानु भट्ट-

नेपाल राष्ट्र बैंकले यही साउन २९ गते डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) बिटकोइनलाई नेपालमा मुद्राको रुपमा कानुनी मान्यता प्राप्त नभएको तथा यसको कारोबार पूर्ण रुपले गैरकानुनी भएको सूचना प्रकाशित गरेपछि नेपाल र नेपाल बाहिर रहेका थुप्रै बिटकोइन उत्साहीहरुको ध्यानाकर्षण भएको थियो। त्यसको लगत्तै बिटकोइनको अवैध कारोबारमा संलग्न भन्दै केही ब्यक्ति पक्राउ परेको समाचार छापियो। कतिपय मिडिया र सामाजिक सञ्जालहरुमा बिटकोइनलाई गोल्डक्वेष्ट र युनिटी जस्ता ठगी प्रकरणसँग पनि तुलना गरेर चर्चाहरु भए।

बिटकोइन र अन्य क्रिप्टोकरेन्सी हालै धेरै चर्चामा आउनुको ठूलो कारण यिनको बजार मूल्य तीव्र रुपले आकासिनु हो। एक अनुमान अनुसार सन् २०१० मा १०० अमेरिकी डलर बराबरको बिटकोइनको मूल्य आजको दिनमा ७ करोड ५० लाख अमेरिकी डलर हुन आउँछ। यस्तै गरी अन्य घेरै क्रिप्टोकरेन्सीहरुको मूल्य पनि अचानक आकासिएकोले संसार भरी यसको चर्चा चुलिएको छ।


नेपाल राष्ट्र बैँकको सूचना (माथि) र सिआइबीको प्रेस विज्ञप्ति (तल)

संसारमा हाल रहेका सम्पूर्ण बिटकोइनको बजार भाउ झण्डै ७० अरब डलर छ। यो कुनै चानचुने संख्या होइन। यो नेपालको चालु आ.व. को बजेटको सात गुणा हो। त्यसैगरी अरु क्रिप्टोकरेन्सी समेतको बजार जोडदा झण्डै १२० अरब डलर हुन आउँछ।

बिटकोइनको मूल्यवृद्धि

(Source : www.coinmarketcap.com)

यसरी अचानक बजार भाउ बढदा छिट्टै पैसा कमाउने प्रलोभन देखाएर ठगीहरु पनि भएका छन्। यसरी ठगी हुनुको मूल कारण बिटकोइन प्रविधिबारे आम जनमानसमा जानकारीको कमि हो। यसबारे नकारात्मक हल्लाहरु फैलिनुको कारण यही हो।

के हो त बिटकोइन ?

बिटकोइन एक प्रकारको आभासी वा भर्चुअल (Virtual) मुद्रा हो। यसको प्रयोग एक आपसमा कम्प्युटरको माध्यमबाट मुद्रा लेनदेनको लागि हुन्छ। यस प्रकारका मुद्राहरुलाई क्रिप्टोकरेन्सी पनि भनिन्छ।

बिटकोइन संसारको पहिलो क्रिप्टोकरेन्सी हो। यसको आविस्कार २००८ मा ‘सातोशी नाकामोटो’ ले एक शोधपत्रद्वारा गरेका थिए। सातोशी नाकामोटो को हुन भन्ने परिचय अहिलेसम्म खुल्न सकेको छैन। सातोशी व्यक्ति हुन वा समूह भन्नेबारे पनि थुप्रै अड्कल काटिन्छ।

बिटकोइनमा कुनै राष्ट्र, कम्पनी वा समूहको स्वामित्व छैन। यो सम्पूर्ण रुपले उपभोक्तामा निहित छ। बिटकोइन आदान-प्रदान गर्ने र त्यो किनबेच गर्न निम्ति कमप्युटर नेटवर्क चलाउनेहरु यसका प्रमुख पात्र हुन्। बिटकोइनको आदान-प्रदानको सम्पूर्ण लेखाजोखा कमप्युटर नेटवर्कमा एक खुल्ला बहिखातामा सँधैको लागि सुरक्षित रहन्छ। यस बहिखातालाई ‘ब्लकचेन’ भन्दछन् र यो नेटवर्क चलाउने सबैलाई उपलब्ध हुन्छ।

बिटकोइन आदान-प्रदान गर्न चाहिने नेटवर्क चलाउने सबैले नेटवर्क चलाउन एउटै कम्युटर कोड (code) चलाउँदछन्। यसरी नेटवर्कलाई सघाए वापत कोडले उपहार स्वरुप बिटकोइन प्रदान गर्छ। यस प्रक्रियालाई ‘माइनिङ’ वा उत्खनन् भन्दछन्।

बिटकोइनको जम्मा संख्या केवल २ करोड ३० लाख मात्र हो जसमध्ये झण्डै १ करोड ७० लाख उत्खनन् भैसके। प्रत्येक पटक नयॉं बिटकोइन उत्खनन् हुनासाथ यसको उत्खनन् गर्ने प्रक्रिया झन् गाह्रो हुँदै जान्छ। यसरी उत्खनन् गर्न समय र बिजुली दुबै खर्च हुने हुनाले यसबाट पैदा हुने बिटकोइन मूल्यवान मानिन्छ।

कसरी प्रयोग गर्ने बिटकोइन?

बिटकोइन वा अन्य क्रिप्टोकरेन्सीहरु भर्चुअल भएको हुनाले तपाईले भौतिक रुपमा केही पाउनु हुँदैन। उत्खनन् प्रकियाबाट प्राप्त केही अंक र अक्षरहरले बनेको शब्द नै बिटकोइन हो। भौतिक मुद्रा झैँ यो शब्द जससँग हुन्छ बिटकोइन उसैको।

तर आत्तिनु पर्दैन। यसलाई मुद्रालाई सुरक्षित राख्न र एक आपसमा आदान-प्रदान गर्न डिजिटल वालेट (Wallet) चाहिन्छ। बिटकोइन सुरक्षित रुपले राख्न मिल्ने थुप्रै निःशुल्क ‘डिजिटल वालेट’ सुविधा प्रदायकहरु छन्। यी डिजिटल वालेटहरु फोनमा वा कमप्युटरमा एप (App) झै प्रयोग गर्न सकिन्छ।

यो डिजिटल वालेटमा रहेको ठेगाना तपाईले बिटकोइन पाउन वा तिर्न प्रयोग गर्ने ठेगाना पनि हो। यो तपाईको बैंक अकाउन्ट सरह हो। यसलाई ‘पब्लिक’ ठेगाना भनिन्छ।

भनौँ तपाईले कतै चिया खानु भो, आफ्नो फोनमा रहेको बिटकोइनबाट चिया बेच्नेको वालेट ठेगानाको बारकोड स्क्यान गर्नुस, अनि परे जति बिटकोइन तिर्नुस्। चिया बेच्नेले पनि तुरुन्त आफ्नो ठेगानामा गएर बिटकोइन पाएको हेर्न सक्छ। यस उदाहरणझैं तपाई संसार भर तुरुन्त कसैलाई पनि कुनै बैंक वा तेस्रो ब्यक्तिको मद्दत बिना तुरुन्त पैसा पठाउन सक्नुहुन्छ। तपाईको र पाउनेको नाम कतै नहेरिने हुँदा यो पूर्ण रुपले गोपनीय हुन्छ।

कुन ब्यक्तिले कसलाई बिटकोइन पठाएको भन्ने कुरा गोपनीय रहे पनि कुन ठेगानाबाट अर्को ठेगानामा कति बिटकोइन गए, कुन ठेगानामा कति बिटकोइन छन् र कुल कति बनेका छन् र कति बन्दैछन् आदि सबै जानकारी बहिखाता ब्लकचेनमा सँधैको लागि रहिरहन्छ। यसलाई जसले पनि हेर्न सक्छ।

यसले बजार नियमनमा मद्दत गर्छ र अस्वभाविक रुपले माग बढाएर कालो बजारी गर्ने संभावना न्युन हु्न्छ।

कसरी हुन्छ बिटकोइनको मूल्य ?

बिटकोइन आफैमा एक मुद्रा हो। संसारमा हाल रहेका मुद्राहरु (जस्तै रुपैया, डलर आदि) कुनै न कुनै राष्ट्रले वा राष्ट्रहरुको समूहले जारी गरेका हुन्। ती मुद्राको ग्यारेन्टी जारी गर्ने राष्ट्रले लिएका हुन्छन् भने तिनको क्रय शक्ति वा बजार भाउ अर्थशास्त्रको ‘माग र आपुर्ति’ को सिध्दान्तमा आधारित हुन्छ। राष्ट्रको अर्थव्यवस्था र शक्ति बढदै जाँदा त्यसको मुद्राको माग र साथै क्रय शक्ति पनि बढदै जान्छ भने कुनै राष्ट्रको अर्थव्यवस्था खस्किँदा मुद्राको माग र क्रय शक्ति पनि खस्किन्छ। बिटकोइनको हकमा पनि यसको मूल्य पनि यसको मागको आधारमा नै हुन्छ।

बिटकोइनको मूल्य आकासिनुको प्रमुख कारण यसको गोपनियता र प्रयोगको सुलभता हो।

संसार भरी बिना कुनै तेस्रो माध्यमको प्रयोग गरी सजिलै आर्थिक कारोबार गर्न दिने छुटले नै बिटकोइनलाई आकर्षक बनाउँछ। इन्टरनेट प्रविधिको क्षेत्रमा कामगर्ने देखि वैदेशिक व्यापार गर्ने सबैलाई यो अत्यन्त आकर्षक मुद्रा हुन जान्छ।

प्राय: क्रिप्टोकरेन्सीहरुको संख्या पूर्व आधारित हुन्छ। बिटकोइन २ करोड १० लाख मात्र हुने छन्, जसमध्ये झण्डै १ करोड ७० लाख जन्मिसके (माइन भइसके)। यस प्रकारको सीमित संख्याले पनि यसको भाउ बढाउन मदत गर्छ। जति जति बिटकोइन बारे ज्ञान बढ्दै र यसको प्रयोग बर्ने ठाउँहरु बढ्दै जान्छ, त्यतिनै स्वत: मॉग बढ्छ। अनि यो सरकारी मुद्रा झै असीमित छापिइरहने होइन।

हरेक रुपैयाँ सय पैसाले बने झै बिटकोईनको इकाईलाई ‘सातोशी’ भनिन्छ। एक बिटकोइनमा एक अरब सातोशी हुन्छन्। अहिले एक बिटकोइनको मूल्य झण्डै नेपाली साढे चार लाख रुपैयाँ छ। तपाईले पूरै किन्नु पर्छ भन्ने छैन। सातोशीहरुमा पनि आदान-प्रदान गर्न सकिन्छ।

किन हो क्रिप्टोकरेन्सी इन्टरनेटको भविष्य ?

अहिले क्रिप्टोकरेन्सीहरुबारे धेरै मानिसलाई खासै जानकारी छैन केहीले मात्र बिटकोइनको नाम सुनेका छन् वा अलि बुझेका छन्।

बिटकोइन आफैमा एक भर्चुअल मुद्रा मात्र भए पनि गर्ने त्यसको आधारमा रहेको ‘ब्लकचेन’ प्रविधिले भने इन्टरनेटलाई विकेन्द्रित बनाउने ढोका खोलिदिएको छ। याद गर्नुहोस् जब इन्टरनेटको सुरुमा आविष्कार भयो, तब यो केवल सूचना आदान-प्रदान गर्ने (ईमेल वा च्याट) माध्यमको रुपमा हेरिन्थ्यो तर अहिले इन्टरनेट हाम्रो जीवनको अभिन्न अंग भैसक्यो।

बिटकोइन जस्तै ब्लकचेन प्रविधिमा आधारीत इथेरियम, नियो, स्ट्राटिस जस्ता अरु क्रिप्टेकरेन्सीले यसरी संसार भर छरिएका रहेका प्रयोगकर्ताको नेटवर्कको माध्यमबाट विकेन्द्रिकृत इन्टरनेट बनाउनतर्फ उन्मुख छन्। विकेन्दिकृत इन्टरनेट भनेको इन्टरनेटको समाजवाद हो।

यसलाई सबभन्दा सजिलो बुझ्ने तरिका भनेको अहिले रहेका सबै फेसबुक, यु-ट्युब, ट्विटर आदि सबै वेबसाइट र एपहरु केन्द्रिकृत एप हुन्। यिनको स्वामित्व यिनलाई चलाउने व्यक्ति वा कम्पनीसँग हुन्छ। ती कम्पनीले यसमा रहेका तपाई-हाम्रो सबै जानकारी हेर्न पाउने र इच्छा अनुसार बदल्न पाउँछन्। तपाईँ – हामी केवल सामान्य प्रयोगकर्ता मात्र हुन्छौं ।

तर यही कुरा विकेन्द्रिकृत प्लेटफर्ममा बन्दा यसमा एक कसै व्यक्ति वा कम्पनीको स्वामित्त्व रहँदैन। त्यस इन्टरनेट नेटवर्कका सबै पात्रहरु त्यसका सहभागी हुन्छन र स्वामित्त्व स्वत: प्रयोगकर्ता र नेटवर्कमा सहभागीहरुमा हुन्छ। यी विकेन्द्रिकृत एपहरुमा सम्पूर्ण विवरण सदैवको लागि ब्लकचेनमा सुरक्षित रहन्छ र सबैले हेर्ने गरी पारदर्शी रहन्छ। कुनै एक ब्यक्ति वा संस्थाले त्यसलाई परिवर्तन गर्न सक्दैन।

विकेन्द्रिकृत इन्टरनेटको यही शक्तिले गर्दा माइक्रोसफ्ट, मास्टरकार्ड, सामसंग, टोयोटा जस्ता कयौं ठूला कम्पनीहरुले ‘इथेरियम एलायन्स’ बनाएर यो प्रविधि प्रयोगमा अघि बढ्दैछन्।
यस प्रविघिले बैंकिक क्षेत्रलाई सबभन्दा ठूलो असर पार्नेछ। ब्लकचेनको प्रयोगले बैंकिङ सुबिधाबाट वञ्चित रहेका संसारका थुप्रै गरिब नागरिक पनि केवल एक फोनको प्रयोगले अनलाइनमा सामान किनबेच गर्न सक्नेछन्। अनलाइन किनबेचको लागि बैंकद्वारा दिइने क्रेडिट वा डेविट कार्डको भरपर्नु पर्ने छैन।

साथै रेमिटेन्सको लागि पनि कुनै वित्तीय संस्था आवश्यक हुने छैन। यही सम्भावनाहरु देखेर संसारका ठूला बैंकिङ संस्था बार्कलेज बैंक र जेपी मोर्गेन चेज बैंकले ब्लकचेन अपनाउने काम थालिसकेका छन्।

मेडिकल रेकर्ड र ईन्सुरेन्सको क्षेत्रमा ब्लकचेनले अर्को महत्वपूर्ण प्रभाव पार्नेछ। संसार भर कतैबाट पनि यी रेकर्ड उपलब्ध हुने छन्, ह्याक गर्न नमिल्ने वा कसैले पनि परिवर्तन गर्न नमिल्ने गरी।

रसिया र थाइल्यान्ड जस्ता राष्ट्रहरुले आफ्नो मुद्रा पारदर्शी बनाउन ब्लकचेनमा राख्ने तयारी थालेका छन्। भविष्यमा भोटिङदेखि लिएर वैज्ञानिक शोध सबै ब्लकचेनमा राख्न तयारी भैरहेको छ।
ब्लकचेनको प्रविधिले केही अत्यन्त जटिल समस्याहरु पनि समाधान गर्न कार्य भैरहेको छ। टेस्ला कम्पनीका मालिक इलोन मस्क विद्युत वितरणमा ब्लकचेन प्रविधि प्रयोग गर्ने तयारीमा छन्। गोलम र सबस्ट्रेटम भन्ने कम्पनीहरु तपाईको घरमा रहेका कम्प्युटर चलाएको बेला ब्लकचेन नेटवर्कमा राखेर सुपर कमप्युटरको रुपमा प्रयोग गर्ने योजनामा छन्। यसले घर-घरमा रहेका कम्प्युटर खाली समयमा आयश्रोत हुने छन्। त्यसरी नै सियाकोइन भन्ने कम्पनीले तपाईको कम्प्युटरको हार्डडिस्क भाडामा लिएर विकेन्द्रिकृत क्लाउड बनाउने तयारी गर्दैछ। टेनएक्स जस्ता कम्पनीले यी सबै क्रिप्टोकरेन्सीलाई कुनै पनि पसलमा खर्च गर्न मिल्ने गरी डेविट कार्ड बनाउँदै छन्। भविष्यमा फोन नेटवर्कदेखि लिएर वेब ब्राउजर सबै विकेन्द्रिकृत इन्टरनेटमा आधारित हुने छन्।

अगाडिको बाटो

यहॉं प्रस्तुत केही उदाहरण मात्रै हुन्। आउँदो समयमा ब्लकचेन र विकेन्द्रिकृत इन्टरनेटले त्यही प्रकारको ‘बुम’ ल्याउने छ जुन ९० को दशकमा डटकमले ल्याएको थियो। त्यसबेला नेपाल र नेपालीले खासै फाइदा उठाइन सकेनन्। हाम्रा दुबै छिमेकी आईटी ‘पावर हाउस’ भए।

अहिले पनि नेपाल सरकारले बिटकोइन अवैध बनाउनु साटो चॉंडो भन्दा चॉंडो यस सम्बन्धी कारोबार गर्न कानुन बनाउन आवश्यक छ। नेपालमै यस क्षेत्रमा जनशक्ति तयार गर्नेदेखि लिएर सर्वसाधारणलाई यसबारे उचित जानकारी दिनु पर्छ। सरकारले अवैध घोषणा गर्दा प्रविधि विकास निरुत्साहित हुन्छ। अर्कोतिर अवैध रुपमा रातारात धनी बनाउने भन्दै गरिने ठगी धन्दा पनि मौलाउँछ। संसारभर ब्लकचेन प्रविधि फस्टाउँदै गर्दा हामीले त्यसलाई अवैध भनेर बस्नु भन्दा भोलिको दिनमा कसरी यसबाट फाइदा लिन सकिन्छ भन्दै तयारी गर्नु बेस होला।

सावधान हुनुपर्ने केही कुरा

कुनै पनि नयॉं क्षेत्र फस्टाउँदा त्यहाँ ठगी पनि मौलाउँछ। छोटो समयमा बिटकोइन र अन्य कोइनहरुको भाउ बढेको देखाएर मान्छे लोभ्याउन सजिलो छ। त्यसैले नयॉं नयॉं कोइन बनाउँदै त्यसको भाउ आकाशिन्छ भनी बेचेर भाग्ने र ठगी गर्ने थुप्रै काम भैरहेका छन्। नयॉं कोइन बनाउन अत्यन्तै सजिलो छ। नेपालमा त अहिले अवैध छ तर अन्य देशमा रहेका साथीहरुले यस क्षेत्रमा लगानी गर्ने हो भने केवल नाम चलेका र प्रयोग हुने क्रिप्टोकरेन्सी मात्र किन्नु होला। अनि किन्दा केवल प्रतिष्ठित बेवसाइटबाट मात्र किन्नु होला। कुनै ब्यक्तिबाट इमेलमा पठाइएका प्राईभेट किहरु नपत्याउनु भएकै बेस।

बिटकोइन र अन्य क्रिप्टोकरेन्सी एकदम नयॉं प्रविधि हुन्। यिनको मूल्य रातारात आकासिने वा रातारात गिरावट आउने सामान्य हो। कति क्रिप्टोकरेन्सी राम्रै कन्सेप्ट भए पनि सफल नहुन सक्छन्। त्यसैले लगानी गर्दा होशियार हुनु होला।

डिसक्लेमर : यो ब्लग प्रविधि बारे जानकारी मात्र हो, क्रिप्टोकरेन्सीमा लगानी गर्ने सुझाव होइन।

(थप जानकारीको लागि मलाई [email protected] मा मेसेज गर्नु होला वा ट्विटरमा @Sanubhatta_ मा फलो गर्नु होला )

1 thought on “राष्ट्र बैँकले प्रतिबन्ध लगाएको बिटकोइन र अन्य क्रिप्टोकरेन्सीबारे जान्नै पर्ने तथ्य”

  1. मनिष says:
    November 11, 2017 at 4:49 am

    “पैसा छाप्नको लागि सुन धरौटी राख्नुपर्ने नियम जबदेखि हट्यो तेस्पछि हामीले प्रयोग गर्ने सरकारी बैंक ले जारीगरेको पैसा कागजको खोस्टोमात्र हो| सरकारप्रति हाम्रो विश्वासले मात्र त्येसलाइ पैसा मानेको हो| तेसैले भबिस्यमा पैसा सुरक्षित पैसा भनेकै cryptocurrency हुने छ| ” cryptocurrency का कट्टर समर्थकहरु एस्तो विश्वास राख्छन| म बस्ने देशम़ा शेयेर कारोबारगर्दा d-mat account खोलेजस्तै कानुनी रूपमा आफ्नो कागज-पत्र बुझाएर Cryptocurrency कारोबार गर्न सकिन्छ|
    जहासम्म नेपालको कुरा छ, आयातकर्ता, विदेशमा पढ्ने बिधार्थी अथवा पर्यटक आदि बाहेकले विदेशमापैसा पठाऊन पौदैना तेसैले बिटकोइन् को खरिद गर्नु गैर कानुनी हो|
    तर Bitcoin mining गर्नेलाइ पक्रनु पुलिसको ज्यादती अथवा अनपढ गवारपन हो, एकताका पुलिसले अरुसबै काम छोडेर लामोकपाल पाल्ने र मुन्द्र लगाउने लाई समात्नहिडे जस्तो|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme