दुरुस्तै कुमारीको जस्तै भेषभुषा र शृङ्गार भए पनि नेपालकी जीवित देवी कुमारीको फोटो हैन यो। साउथ इन्डियन फिल्म ‘काशमोरा’मा देव कुमारीको काल्पनिक पात्रका रुपमा यी पात्र देखाइएका हुन्। अलौकिक शक्ति भएको पात्रका रुपमा फिल्ममा यसलाई देखाइएको छ। जीवित देवीको परम्परा अरु देशमा छैन, नेपालमा मात्रै हो। आज महाअष्टमिको दिनदेखि कुमारीको ठाउँ नयाँ बालिकाले लिएकी छिन्- तीन वर्षकी तृष्णा शाक्य। संयोगले आज कुमारी घरमा नयाँ कुमारीको दर्शन गर्न पाइयो।
महाअष्टमिको दिन तलेजु भवानीको पूजा गरेर नयाँ कुमारीलाई वसन्तपुरस्थित कुमारी घरमा भित्र्याइएको थियो। कुमारी तलेजु भवानीकै जीवित रुप मानिन्छ। १२ वर्ष उमेर पुगेसँगै मनिता शाक्यलाई कुमारीको पदबाट अवकाश दिएर नयाँ ल्याइएको हो। सामान्यतया रजस्वला हुने उमेरमा कुमारी फेरिन्छ।
खासमा हामी कुमारी घरमात्रै हेर्न भनी पुगेका थियौँ आज। तर दर्शन गर्न पाइने समय भएकोले उक्लियौँ। एक तलामाथि जुत्ता फुकालेर गएपछिको कोठामा कुमारीलाई आसनमा राखिएको थियो।
तीन वर्षकी भएकीले भर्खरकी थिइन् जीवित देवी। दर्शन गर्न आउनेहरु लाइनमा बसी ढोग्दै र उपहार दिँदै थिए। एक दर्शनार्थीले सोधे- कति उमेर भयो? सँगै बसेकी महिलाले जवाफ दिइन्, अहिले आसनमा बस्दा भन्न हुँदैन।
सँगैका भित्ताहरुमा ‘फोटो खिच्न हुँदैन’ लेखिएको थियो। त्यसैले क्यामेरा लगे पनि फोटो खिच्ने कुरै भएन।
दर्शनार्थीहरु खेलौना ल्याएर चढाइरहेका थिए। देउतालाई खेलौना ! एक जनाले पंखा घुमाउन मिल्ने खेलौना दिँदा कुमारीले हात बढाएर तान्न खोजिन्। आखिर कुमारीसँगै बालिका पनि थिइन्। बालसुलभ भावना त हुने नै भयो।
दशैँ अगाडि खासमा कुमारीले टीका लगाइदिनुपर्ने हो। तर आज टीका लगाइदिइरहेकी थिइनन्। दर्शनार्थीहरु कुमारीलाई लाइन बस्दै ढोग्दै थिए। हामीले पनि कुमारीको रुप लिएकी सानी बालिकाको साना खुट्टालाई ढोग्यौँ।
एएफपीका प्रकाश माथेमाले खिचेको यो फोटोमा तृष्णा आफ्ना जुम्ल्याहा भाइ कृष्ण शाक्यसँग देखिन्छिन्। दायाँ उनकी आमा सिर्जना शाक्य पनि छिन्।
इपिएका नरेन्द्र श्रेष्ठले खिचेको यो फोटोमा तृष्णा उनको घरमा देखिन्छिन्। अब केही वर्ष उनले कुमारी घरलाई नै आफ्नो घरका रुपमा बस्नुपर्नेछ। कुमारी हाँस्न, रुन नहुने, चोट पटक लाग्न नहुने आदि अनेक मान्यता रहेको छ। कुमारीको रथ यात्रा इन्द्रजात्राका बेला हुन्छ। अरु जात्राहरुमा पनि कुमारीलाई बाहिर निकालिन्छ।
भक्तपुर र पाटनमा पनि कुमारी रहेको छ। तर काठमाडौँकी कुमारीलाई प्रमुख कुमारीका रुपमा लिइन्छ।
कुमारी प्रथाको विरोध र समर्थन
सन् २००२ को सेप्टेम्बरमा तत्कालीन एमाले नेतृ विद्या भण्डारीले काठमाडौँमा एउटा प्रेस कन्फ्रेन्सको आयोजना गरेकी थिइन्। त्यसमा उनले कुमारी प्रथा खारेज गर्नुपर्ने विषयमा कडा आवाज उठाइन्। ‘यो बाल अधिकारको हनन् मात्रै हैन, महिलाको र मानवअधिकारकै हनन् हो’, उनको त्यतिबेलाको भनाई अङ्ग्रेजी साप्ताहिक नेपालीटाइम्सको आर्काइभमा सुरक्षित छ। उनले भनेकी थिइन्, ‘एउटी बालिकालाई सामान्य समाजबाट अलग्याइन्छ र केही वर्षपछि जब उनको मासिक धर्म सुरु हुन्छ, उसलाई फ्याँकिन्छ।’ उनले मनोवैज्ञानिक रुपमा पनि बालिकालाई नराम्रो असर पर्ने तर्क गरेकी थिइन्।
उनको भनाईलाई आफ्नो आस्थामाथि प्रहार गरेको भन्दै काठमाडौँका आदिवासीले रुचाएनन्। कृष्णप्रसाद भट्टराईलाई हराउने उनले त्यतिबेलादेखि काठमाडौँमा कहिल्यै पनि चुनाव जितिनन्।
तर समयक्रमले उनलाई कस्तो मोडमा पुर्याइदियो भने उनलाई व्यक्तिगत रुपमा जतिसुकै नराम्रो लागोस्, कुमारीको पूजा र प्रार्थना नगरी नहुने। राष्ट्रप्रमुखका रुपमा इन्द्रजात्राको दिन उनले कुमारीको पूजा र प्रार्थना गर्नै पर्छ। इन्द्रजात्राको सुरुको दिन राष्ट्रप्रमुखका रुपमा उनी उपस्थित भएर कुमारीको पूजा गरेपछि बल्ल कुमारीको रथयात्रा सुरु हुन्छ।
इन्द्रजात्राको अन्तिम दिन पनि कुमारीको दर्शन गरी टीका लगाएपछि जात्रा सकिन्छ। तृष्णा नयाँ कुमारीका रुपमा छानिएपछि शितल निवास लगेर राष्ट्रप्रमुखका रुपमा विद्यादेवी भण्डारीसित परिचय गराइएको थियो।
राजतन्त्र मासेको केही वर्षसम्म राजा ज्ञानेन्द्र पनि कुमारीको दर्शनका लागि पुग्थे। तर गणतान्त्रिक सरकारले सुरक्षा दिन नसक्ने बताएपछि उनी इन्द्रजात्रामा कुमारीको दर्शन गर्न पुग्न छाडे। यसरी ज्ञानेन्द्र आफैले पृथ्वीनारायण शाहदेखि चलेको परम्परा तोडे। यो वर्ष पनि स्वास्थ्य र देशको परिस्थिति भन्दै उनले दशैँका बेला शक्तिपिठ मन्दिरहरुको भ्रमण गरेनन्।
भाग्यमानी रहिछन नानी , तीन बर्षकै उमेर मा चालीस हजार मासिक को जागिर पाइन । पुजित , मान सम्मान देबि को , जय दुर्गे माता तिम्रा रुप हजार ।।।