Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एउटा त्यस्तो नेपाली टिभी कार्यक्रम जुन अदालतको अन्तरिम आदेशपछि बन्द हुन पुग्यो

Posted on September 12, 2017 by Salokya

गएको हप्ता ‘नेपाल आइडल’विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा पर्दा धेरैले एउटा जाबो टिभी कार्यक्रमलाई पनि के मुद्दा हालिरहेको होला, अदालतको अरु कामै नभए जस्तो भनेर टिप्पणी भएको थियो। त्यसो त मुद्दा दर्तादेखि फास्ट ट्रयाकमा अल्पकालीन अन्तरिम आदेश र छिनोफानोसम्मका घटनाक्रम हेर्दा नियोजित नौटंकीको आशंका गर्ने पनि धेरै थिए। जेजसो भए पनि त्यो मुद्दा टुङ्गियो। नेपाली टिभी कार्यक्रमलाई अदालतमा मुद्दा परेको यो पहिलो घटना हैन रहेछ। एउटा अर्को टिभी कार्यक्रम रहेछ जुन अदालतकै अन्तरिम आदेशले बन्द समेत भएको थियो। कुन थियो त त्यो कार्यक्रम?

मदनकृष्ण श्रेष्ठले आफ्ना संस्मरणसहितको पुस्तक ‘महको म’ बजारमा ल्याएका छन्। त्यसको एउटा च्याप्टर यही टिभी कार्यक्रमबारे छ।

तपाईँहरुलाई याद होला, मदनकृष्णले एक जमानामा एउटा टिभी क्विज कार्यक्रम चलाएका थिए। हु वान्ट्स टु बी अ मिलिनियरको फ्रेन्चाइजका रुपमा भारतमा अमिताभ बच्चनले कौन बनेगा करोडपति चलाएका थिए। अहिले पनि टिभीका त्यसको अर्को सिजन सुरु भइरहेको छ।

विज्ञापन एजेन्सी चलाएर बसेका प्रताप थापाले फ्रेन्चाइज हैन तर त्यस्तै फरम्याटको नगद पाँच लाख नामको कार्यक्रम सञ्चालन गर्ने भए। त्यसका लागि उनले मदनकृष्ण श्रेष्ठलाई प्रस्ताव गरे। पुस्तकमा उनले लेखेका छन्- ‘सामान्य ज्ञान, विशेष ज्ञानसम्बन्धी प्रश्न सोधिने एक प्रकारको बौद्धिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्नु राम्रै हो र उक्त काम मलाई समयले पस्किएको जिम्मेवारी हो जस्तो लाग्यो। धेरै सोचेर मैले प्रतापको प्रस्ताव मान्ने निर्णय गरेँ।’

यो त्यतिबेलाको समय थियो जतिबेला हरिवंश तँ त साह्रै बिग्रिस् नि बद्री नामको फिल्म बनाउन व्यस्त थिए। कार्यक्रम सुरु भयो। अमिताभ बच्चन उताको कार्यक्रममा कम्प्युटर जी भनेर सम्बोधन गर्थे। यता मदनकृष्ण ‘कम्प्युटर भाइ’ भन्थे।

कार्यक्रम त भयो तर पैसा जित्नेले पैसा पायो कि पाएन भन्नेमा मदनकृष्णले आफू सतर्क भइरहेको पुस्तकमा लेखेका छन्। कार्यक्रम सुरु भएको करिब पाँच महिनापछि दुई चार जना विजेताले रकम नपाएको गाइँगुइँ उनको कानमा पर्‍यो। उनले प्रतापलाई सोधे पनि। अनि भनेछन् जुन दिन विजेता आफैले पैसा नपाएको कुरा मलाई भन्छ, त्यो दिनदेखि कार्यक्रम छाडिदिन्छु।

छैटौँ महिनाको अन्तिम साता कान्तिपुरका पत्रकारले पैसा नपाएका पीडितसँगै फोनमा कुरा गराइदिएपछि उनले कार्यक्रम चलाउन छाड्ने निर्णय गरे।

विजेताहरुलाई दिनुपर्ने पैसा नदिई कार्यक्रमलाई निरन्तरता दिन खोजेपछि पुनरावेदन अदालतमा मुद्दा दर्ता भयो। मुद्दा दर्ता गराउने मदनकृष्ण स्वयं थिए। पुस्तकमा उनले लेखेका छन्- ‘मैले पुनरावेदन अदालत पाटनमा मुद्दा दर्ता गरेँ। अदालतले कार्यक्रमको नियमबमोजिम विजेताको सबै पैसा चुक्ता नगरी कार्य्रकमको नयाँ भाग उत्पादन र प्रसारण नगर्न अन्तरिम आदेश दियो। अदालतको आदेशपछि पनि कार्यक्रम जारी राख्न अनेक प्रयास भए। केही विजेतालाई पैसा दिएको खबर पनि सुनेँ। तर कार्यक्रमको नयाँ शृङ्खलाको प्रसारण भने हुन सकेन।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme