Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँको मेयर मतगणनाको हालसम्मको ट्रेन्ड हेर्दा यस्तो देखिएको छ

Posted on May 21, 2017May 21, 2017 by Salokya


काठमाडौँ महानगरपालिकाको मतगणना आज शनिबार छैटौँ दिन पनि जारी छ। आज रातिसम्म ५६ हजार ४३९ मत गणना भएको थियो। आज झण्डै १८ हजार मतगणना भएको छ। हिजो पनि लगभग त्यति नै मतगणना भएको थियो। जेठ ३ गतेदेखि जेठ ६ गतेसम्मको मतगणनाको ट्रेन्ड हेर्दा नयाँ संविधान अनुसार बढी अधिकारसहितको काठमाडौँ महानगरपालिकाको पहिलो मेयर एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य हुने देखिएको छ। चार दिनको ट्रेन्डले एमाले उकालो लागेको लाग्यै देखिन्छ भने कांग्रेससँग मतअन्तर पनि बढाउँदै लगेको देखिन्छ। तर यस्तै ट्रेन्ड नहुन पनि सक्छ। किनभने करिब एक लाख साढे ३३ हजार मत गन्न बाँकी नै छ। कांग्रेसले पकड भएको दावी गरेका वडाहरु ६,७, ८, ९ लगायतका भित्री बस्तीमा सोचे अनुसार मत ल्याए यो ट्रेन्ड परिवर्तन र पासा पल्टन पनि सक्छ। तर भर नभएका एक्जिट पोलहरुभन्दा गणना भइरहेका मतको ट्रेन्डले देखाउने संकेत अर्थपूर्ण पक्कै हुन्छ।

शाक्यले मतगणनाको सुरुदेखि नै लगातार अग्रता लिँदै थिए। बीचमा एक दिन केही घण्टा कांग्रेसका राजुराज जोशीले अग्रता लिए पनि त्यो दिनको अन्त्यसम्ममा पुनः एमाले नै अग्रस्थानमा आएको थियो।

त्यसैगरी दुई नयाँ पार्टी साझा र विवेकशील मध्ये विवेकशील नै अगाडि हुने पनि अहिलेसम्मको ट्रेन्डले देखाएको छ। प्रमुख दलहरुले काठमाडौँको मेयर उम्मेदवार दिन नसक्दा सुरुमा उम्मेदवारी घोषणा गरेका यी दुई दलबीच सामाजिक सञ्जालमा पानी बाराबार होला जस्तो गरी आक्रमण प्रत्याक्रमण हुन्थ्यो। रवीन्द्र मिश्रले बीबीसीबाट राजीनामा दिएपछि भर्खरै खुलेको साझाले पूर्व सचिव किशोर थापालाई उम्मेदवार बनाएको र नेपाल बन्दको विरोध, डा. गोविन्द केसीको समर्थन लगायत एक्टिभिज्म गर्दै अघिल्लो संविधान सभा निर्वाचनमा समेत सहभागी भएको विवेकशील नेपालीले २१ वर्षीया रञ्जु न्यौपाने दर्शनालाई उम्मेदवार बनाएको थियो। सक्षम Vs युवा ऊर्जाको रुपमा सोसल मिडियामा भिडन्त भएको थियो दुई दलका समर्थकबीच। अहिलेसम्मको ट्रेन्डले युवा ऊर्जालाई नै मतदाताले बढी रुचाएको देखिएको छ। हामी स्थापित हौँ, हामी सक्षम छौँ भनेर विवेकशीललाई हेपेको साझाले यो जनमतबाट पाठ राम्रै लिन्छ होला।

चार दिनको ट्रेन्डमा विवेकशील एकोहोरो रुपमा उही गतिमा अघि बढेको देखिन्छ, साझाको त्यस्तो छैन। साझाको विवेकशीलसँगको अन्तर कहिले घट्ने कहिले बढ्ने भइरहेको छ।

दुई पार्टीले कांग्रेस र एमालेको भोट प्रशस्त काटेको छ। तर एमालेलाई राप्रपासित गठबन्धन गरेकोले राप्रपाको भोट पनि आएको छ। भलै उपमेयरको उम्मेदवारमा भने राप्रपालाई एमाले मत सोचे जस्तो नगएको देखिएको छ। यसबाहेक हार्ने उम्मेदवार भन्ने मनौवैज्ञानिक दबाबमात्र हैन कांग्रेससित तालमेल भएको भन्ने हल्लाका कारण पनि माओवादी र अन्य तटस्थ भोट जातीय सेन्टिमेन्टका आधारमा बाहिरिया जोशीलाई भन्दा रैथाने शाक्यलाई गएको देखिन्छ। यही सेन्टिमेन्टका कारण हुनुपर्छ कांग्रेसकी उपमेयर उम्मेदवार हरिप्रभा खड्गी सुरुवातदेखि नै मतगणनामा राप्रपा एमाले गठबन्धन उम्मेदवार राजाराम श्रेष्ठभन्दा निकै अगाडि छिन्।

जित्न नसक्ने दुई मेयर उम्मेदवार रञ्जु र किशोर अर्थात् विवेकशील र साझामा को बलियो भन्ने प्रमाण सुरुवाती संकेतले देखाइसकेको छ, बाँकी मत परिणामले देखाउने नै छ। ठूला र पुराना दलका जस्तो विस्तारित संगठन र तल्लो तहसम्म कार्यकर्ता नभएका यी दलहरुले देखाएको उपस्थिति प्रभावशाली नै हो। विकल्प हुने अर्थात् अहिले जस्तो मेयरमा एक भोटमात्र दिन पाइने नभई प्रत्यक्ष र समानुपातिकको समेत मत दिन पाइने आगामी प्रदेश र संसदीय चुनावमा यी दलहरुको उपस्थिति पर्यवेक्षकहरुलाई रोचक त हुने नै छ, स्थापित दलहरुलाई समेत थ्रेट हुने देखिन्छ।

कुन दिन कसको कति भोट?
जेठ ६ : आजसम्ममा ५६ हजार ४३९ मतगणना भयो। आजमात्रै १८ हजार २५४ मत गनियो। मेयरमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्य १८ हजार ३८० मत। नेपाली काँग्रेसका राजुराज जोशी १२ हजार ७६७ मत। विवेकशील नेपाली दलका रञ्जु न्यौपाने सात हजार ३३६ मत र साझा पार्टीका किशोर थापा पाँच हजार ५०४ मत। उपमेयरमा काँग्रेसकी हरिप्रभा खड्गीले १६ हजार ५९३, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले १० हजार ५१४ मत, साझा पार्टीकी निरुपमा यादवले तीन हजार ८५ मत।

आज वडा नम्बर २५ को मात्रै परिणाम घोषणा भयो जहाँ कांग्रेसका नीलकाजी शाक्य वडाध्यक्षमा विजयी भए तर पूरै प्यानल भने हैन।

वैशाख ३१ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान।

वैशाख ३१ गते आइतबार राति मतगणना भएन। राति ८ बजे बल्ल ३२ वटै वडाका मतपेटिका गणनास्थल सभागृह ल्याइपुर्‍याइयो। राति नै मतगणना गर्नुपर्नेमा सर्वदलीय बैठक बस्न सकेन। भोलिपल्ट मात्र मतगणना गर्ने निर्वाचन अधिकृतले भनेपछि केहीले सभागृह बाहिर आजै मतदान गर्नुपर्ने भन्दै नाराबाजी गरे।

जेठ १ गते सोमबार बिहान ८ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने भनिए पनि बैठक बस्न ढिला भयो। १२ बजेपछि बल्ल वडा नम्बर १ को मतपेटिका खोलेर गन्न थालियो। विद्यासुन्दर शाक्यको सुरुवाती अग्रता। किशोर थापा र रञ्जु दर्शनाको मत उल्लेखनीय। एक ठाउँमा मात्र मतगणना। थोरै मत गन्दाको परिणामलाई आधार मानेर भारी विश्लेषणहरु सुरु।

जेठ २ गते मंगलबार मतगणना जारी। वडा नम्बर ३२ को पनि गन्न थालियो। दुई ठाउँमा मतगणना।

जेठ ३ गते बुधबार वडा नम्बर १ को मतपरिणाम आयो। एमाले विजयी। वडा नम्बर २, ३ र ३२ को गणना थालियो। ११ ठाउँमा ११ वडाको गन्ने तयारी भयो। राति १० बजेसम्म कूल ५९३६ मत गनियो। खसेको झण्डै दुई लाख मत। साँझ ६ बजेदेखि वडा नं २ देखि ४ सम्म र २५ देखि ३२ सम्मका वडाका मतपत्रहरुको गणना ११ ठाउँमा भयो। राति १० बजेसम्मको परिणाम एमाले उम्मेदवार विद्यासुन्दर शाक्य २२५२, नेपाली काँग्रेसका राजुराज जोशी ११८०,विवेकशील नेपाली दलका रञ्जु न्यौपाने ८९२, साझा पार्टीका किशोर थापा ६४१ मत। उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले १५५४, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले १२५८ मत।

जेठ ४ गते बिहीबार गणना जारी। ११ ठाउँमा गणना भएकोले आज कम्तिमा वडा २ र ३२ को परिणाम आउने आशा।

जेठ ४ गते बिहीबार राति १० बजेसम्म : वडा २ अध्यक्षमा एमाले विजयी भएको अनौपचारिक जानकारी आए पनि औपचारिक घोषणा हुन सकेन। १९ हजार ७३८ मतगणना भयो। अर्थात् आज १३ हजार ८ सय मत गनियो। प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य छ हजार ६४८। नेपाली काँग्रेसका राजुराज जोशी चार हजार २२७ मत। विवेकशील नेपाली दलका रञ्जु न्यौपाने दुई हजार ७५६ मत। साझा पार्टीका किशोर थापा एक हजार १९९ मत। उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले पाँच हजार ६८७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले तीन हजार ७३८ मत।

जेठ ५ : शुक्रबार पाँचौँ दिन। शुक्रबार राति १० बजेसम्म ३८ हजार १८५ मत गनियो। हिजो यो संख्या १९ हजार ७३८ मात्र थियो। अर्थात् २४ घण्टामा झण्डै साढे १८ हजार मत गनिएछ। यो हिजोअस्तिको तुलनामा प्रगति हो। आजदेखि १३ ठाउँमा पनि गन्न थालिएछ।

१० बजेसम्मको मत परिणाम अनुसार मेयरमा एमालेका विद्यासुन्दर शाक्य १२ हजार ६८३ मत, नेपाली काँग्रेसका राजुराज जोशी आठ हजार ७३१ मत। विवेकशील नेपाली दलका रञ्जु न्यौपाने पाँच हजार ६१ मत र साझा पार्टीका किशोर थापा तीन हजार ९०८ मत।

उपमेयरमा काँग्रेसकी हरिप्रभा खड्गीले ११ हजार ५७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले छ हजार ७०३ मत।

आज वडा नम्बर २, २७ र २८ वडाको परिणाम आयो। २ र २७ मा एमाले वडाअध्यक्षमा विजयी भएका छन् भने २८ मा कांग्रेस। १ मा यसअघि नै एमाले विजयी भइसकेको छ। वडा नं ५, ६ र ७ को मतगणना गर्न आजदेखि थालिएको छ। यसअघि महानगरका वडा नं २ देखि ४ र वडा नं २५ देखि ३२ वडाका मत गनिएको थियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme