Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राजा महेन्द्रले कू गरेपछि न्युरोडमा ‘जनता जनार्दन हो, सावधान ! तानाशाही जन्म भयो’ भन्दै माइकिङ गर्ने नेताको निधन

Posted on May 6, 2017 by Salokya

(काठमाडौँका पुराना नेता मार्सल जुलुम शाक्यको आज निधन भएको छ। राजा महेन्द्रले जननिर्वाचित सरकारलाई कू गर्दा सडकमा उत्रने पहिलो नेता थिए उनी। त्यही कारण १४ वर्षसम्म जेल जीवन बिताउन बाध्य भएका थिए उनी। यो उनको त्यतिबेलाको अनुभव यहाँबाट साभार गरिएको हो।)

महेन्द्रले ‘कु’ गरेर विपीलाई पक्राउ गरेपछि ‘ल भएन अब, भनेर मैले साथीहरु जम्मा पारेर न्यूरोड गर्‍यौँ।’ हामीले जुद्धसम्सेरको दरबार पछाडि सिद्धिनारायण मानन्धरको रेडियो पसलबाट हातेमाइक लिएर गएका थियौं । तरुणदलको अधिवेशन भरी चढ्नु भनेर पार्टीले मलाई एउटा अमेरिकन जिप दिएको थियो । त्यहि जिपमा हामी चार बजे न्यूरोड पुग्यौं । मानिसहरु अफीस छुटेर जब न्युरोड आए अनि मैले माईकिङ गरेँ ‘जनता जनार्दन हो, सावधान ! देशमा तानाशाहीको जन्म भयो, प्रजातन्त्रको हत्या भयो ।’ मैले माइकिङबाट यत्तिमात्र के भनेको थिएँ, न्युरोड मान्छेको भिडले टनाटन भैसकेको थियो । मैले माइकिङ् गरेको देखेर धेरै मान्छेहरुले जिब्रो निकाले । ‘कती सूरो मान्छे भनेका होलान् ।’

हामीले न्युरोडका केही स्थानमा घुमेर माइकिङ गर्‍यौँ , साथीहरुले भने ‘तिमिलाई पक्रन्छ है, उम्किहाल !’ म त्यो रात घरमा सुत्न गइनँ । पौष एक गते बेलुका थापाथलीमै बसेर मिटीङ गर्‍यौँ । भोलिपल्ट शहरभरी माईकिङ गर्ने निधो भयो । भोलिपल्ट माईकिङ गर्न जाने कुरा हुँदै गर्दा शैलजा आचार्यले ‘म पनि जान्छु मार्सलजी भनिन् ।’ मैले शैलजालाई भनेँ, ‘अब मलाई पक्कै पनि पक्रन्छ, सबैजना एकैपटक सबै किन पक्राउ खाने, त्यसैले तपाई नजानुस् ।’ अनि मैले भेडासिंहको शंकर जोशी र कृष्णगोपाल झालाई साथी लिएर भोलिपल्ट पूरै शहरमा महेन्द्रको कदमका विरुद्ध माईकिङ गरेँ । दश बजे अफिस लाग्ने हुनाले हामी ९ बजे नैं माइकिङका लागी निस्किसकेका थियौं ।

भाषा नबुझेर होकी किन हो,मैले माईकिङ गर्दा प्रहरीहरु ट्वाल्ल परेर हेरिरहन्थे । हाम्रो जिप खिचापोखरी हुँदै पाटनतिर मोडिँदै थियो । अनि उता टुँडिखेल र टेबहालतिरबाट आएका दुईवटा हाम्रो जस्तै जिपले हामीलाई पछ्यायो । यस्सो सम्झे, भागौं कि क्याहो । ‘हैन, भाग्दा डरपोक भन्लान् भन्ने पिर पनी लाग्यो, अनि नभाग्ने निर्णय गरेँ । एउटा ईन्सपेक्टर आएर मेरो कठालो समात्दै भन्यो ‘बजियाहरु, छिटो हिँड ।’ मैले भने ‘ए ! कसलाई बजिया भनिस् ? छिटो हात हटा भनेपछि उसले हस् भनेर मेरो कठालो छाडीदियो ।’ त्यसपछि म सहित कृष्णगोपाल झा लाई मलाई हनुमान ढोकामा लगेर चार दिन थुन्यो । चार दिन पछि सुरक्षा कानुनको पुर्जी दिएर भद्रगोल जेल चलान गर्‍यो । तीन महिनापछि घोडेजात्राको अवसर पारेर मलाई छाडे । विद्यार्थी हो, अरुको हा.. हा.. मा लागेछ भनेर छाडिदिएका रहेछन् । म त्यतिबेला त्रि–चन्द्र कलेजमा आईकम पढ्दै थिएँ ।

दरवारले कदम चाल्दैछ भन्ने हल्ला ५–६ महिनाअघि देखि नै फैलिएको थियो । यस्तो हल्ला फैलिएपछी विपीले भन्नुभो ‘हल्लाको भरमा सत्ता छाडेर कता दौडनु ?’ त्यसरी सत्ता छाडेर दौडेको भए दुनियाँले महेन्द्रलाई ठिक भनिदिन्थे होलान् । नेपाली जनतामा कस्तो नकारात्मक सोच पर्न सक्थ्यो भने ‘यिनिहरु सत्ता, या देशै छोडेर भागे ।’

पक्राउ पर्नु केही दिन अघि मैले विपी बावुलाई भेटेको थिएँ । उहाँले भनेर नै मैले राजाले कदम चाल्दैछन् भन्ने कुराको जानकरी पाएको थिएँ । विपी भन्नुहुन्थ्यो ‘संसदमा बहुमत छ, हामी भागेर चिन जान पनि मिल्दैन,सत्तामा शासक भएर बसेका मान्छेहरु हल्लाको भरमा कसरी सत्ता छाडेर हिँड्नु ?’

२०१७ साल पौष १ गते हामीले थापाथलीमा रहेको तोरण शमसेरको दरबारको पटाङ्गीनीमा तरुणदलको सम्मेलन आयोजना गरेका थियौं । त्यतिबेला अहिलेको जस्तो आधुनिक हलहरु थिएनन् । तोरणशमसेर रौतहटतिर बस्ने हुनाले दरबार खाली नै थियो । सम्मेलनको मिति निश्चित भएपछि हामीले विभिन्न देशका प्रतिनिधिलाई खबर पठायौं, अनि सम्मेलन उद्घाटनका लागि तत्कालीन जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई निम्ता गर्यौँ ।

त्यतिबेला म तरुणदलमा क्रियाशिल थिएँ । मलाई पार्टीले मञ्च बनाउने, सिँगार्ने र मञ्चका लागि आवश्यक सामान जुटाउने जिम्मा दिएको थियो । विपी आउने समय हुँदै थियो, म अहिलेको त्रिपुरेश्वरको टेलिकम्युनेकशन अफिसमा टेलिफोन सेट र माइक लिन गएँ । टेलिफोन सेट हाम्रो तरुणदलको कार्यालयलाई चाहिएको थियो, माईक मञ्चको लागी । त्रिपुरेश्वरको उकालो चढ्दै थिएँ, उताबाट दुईवटा लहरीमा टन्नै भरिएर मिल्टरीहरु आएको देखेँ । म उकालो चढ्ने मिल्टरीको लहरी त्रिपुरेश्वरको ओरालो झर्ने भयो । मलाई लाग्यो ‘ल यहाँ केहि न केहि हुँदैछ ।’ टेलिकम्युनिकेशनको म्यानेजरलाई भेटेँ र आफँलाई यो–यो सामान पठाइदिनु भनेर एउटा साथीलाई जिम्मा लगाएँ । अनि तुरुन्तै म त्यहाँबाट टाप ठोकेँ ।

थापाथली पुग्दा हाम्रो सम्मेलन स्थललाई चारै तिरबाट मेल्टरीले घेरेर राखेका थिए । म हत्तपत्त भित्र पसेँ । म भित्र पस्नासाथ मिल्टरीले आदेश दियो, ‘ल अब भित्रको भित्रै बाहिरको बाहीरै ।’ भित्र साथीहरु अवाक भएर बसेका रहेछन् । मञ्चमा न विपी हुनुहुन्थ्यो न गिरीजाबाबु । अनि गणेशमान र किशुन’जी लाई हेर्न खोजेँ कसैलाई नदेखेपछि साथीहरुलाई साधेँ,के भो ? ‘विपी बाबुलाई लगिहाल्यो नी मार्शल जी !’ कोही एकजनाले काँपेको स्वरमा बोल्यो । त्यतिबेला आक्रोशले मेरो शरिर पनि काँप्न थालीसकेको थियो।

साथीहरु सुनाउँदै थिए, –‘सेनाको जर्नेल आएछ अनि विपीलाई ‘विपीबाबु यता आउनुस् त !’ भन्दै ईशारा गरेर बोलाएछ । अनि विपी मञ्चबाट तल झर्नुभएछ । त्यो जर्नेलले विपीसँग केही कुरा पनि गरेको साथिहरुले देखेका रहेछन् । कुराकानी के भयो थाहा छैन । अनि विपीलाई जिपमा हालेर लगेछन् । गणेशमान लगायत सवैलाई तल आउनुस भनेर बोलाउँदै जिपमा राख्दै लगेछन् ।

विपीलाई समात्नुअघि जर्नेलले उहाँको बडिगार्डलाई कन्ट्रोल गरेछ । विपीको बडिगार्ड ‘मिल्ट्री क्याप्टेन’ थियो, उ पूर्वतिरको क्षेत्री हो । जर्नेलले पहिला बडिगार्डको पेस्तोल खोसेछ । साथीहरु भन्दै थिए ‘खै तेरो पेस्तोल ले त भनेछ, अनि विपीलाई बोलाएछ ।’

सेनाले राउण्डअप गर्दागर्दै विपीले सम्मेलन उद्घाटन गरिसक्नुभएको थियो । म फेरी हल बाहिर निस्केर विपीलाई कहाँ लगेर राख्यो भनेर बुझ्न थालेँ । कसैले सिंहदरबारको विलियाड हलमा लगेको छ भन्थे, कसैले बरफबागमा लग्यो भन्थे । जे होस सिंहदरबारकै कुनै हलमा लगेको रहेछ भन्ने कुरामा हामी निश्चिन्त भयौं । अहिलेको राष्ट्रिय अनुसन्धान विभागको हेडअफिस लाई बरफवाग र राणाशाषकहरुले विलियाड खेल्ने ठाउँलाई विलियाड हल भनिन्थ्यो ।

राजा महेन्द्रले किन जननिर्वाचित सरकारलाई बर्खास्त गर्दैछन् भन्ने कुराको यकिन कसैलाई थिएन् । कदम चाल्ने हल्ला दरबार बाटै चलाईएको थियो । ६ महिना अघि देखि नै दरबारीयाहरु ‘राजाले कदम चाली बक्सिन्छ भनेर हिँडीरहेका थिए ।’

महेन्द्रले नेपालगंज भ्रमणका क्रममा कदम चाल्ने कुराको आधिकारिक संकेत दिएका थिए । त्यतिबेला उनले भनेका थिए ‘म पनि यो मुलुकको राजा हुँ, टुलुटुलु हेरेर बस्न सक्दिनँ ।’ उनको यो भनाइबाट हामीलाई लाग्यो ‘दालमे कुछ काला हे ।’ उनले एक्सन लिएपछि बल्ल हामी रियाक्सन लिने तयारीमा थियौं ।’

बरफवागमा विपीलाई तीन महिना राख्यो । तारीणीप्रसाद कोईराला, लोकदर्शन बज्राचार्य, प्रयागराज सिंह सुवाल र भरत शमशेरलाई अहिलेको स्थानीय विकास मन्त्रालय रहेको श्रीमहलमा लगेर राखेछ । सेनाले पुस १ गते र भोलिपल्ट धेरैको घरमा छापा मा¥यो । धेरै साथिहरु त्यतिबेला जंगल–जंगलबाट छ्रैमलेहुंदै भागेर बोर्डर क्रस गर्न सफल भए ।

त्यतिबेला कम्युनिष्ट पार्टीको अफिस वसन्तपुरमा थियो । कम्युनिष्ट पार्टीका महासचिव केशरजंग रायमाझी थिए । विपी पक्राउ परेको रात वसन्तपुरको कम्युनिष्ट पार्टीको कार्यालमा दिपावली थियो । केशरजंगले दर्जनौं प्यालामा तेल हालेर रातभर बत्ति बालेछन् ।

 

1 thought on “राजा महेन्द्रले कू गरेपछि न्युरोडमा ‘जनता जनार्दन हो, सावधान ! तानाशाही जन्म भयो’ भन्दै माइकिङ गर्ने नेताको निधन”

  1. शक्ति says:
    May 7, 2017 at 1:57 am

    काङ्रेसी देउवा र प्रचन्डको गोलमटोल खेल समाप्त हुन नपाई उंहा बित्नुभो, उंहाको आत्माले चिर शान्ती पाउन|

    महाअभियोग लाउन खोजिएका निलम्वित प्रधान न्यायधीश सुशीला कार्कीको सर्बोच्चमा फिर्ती देउवाको ठुलो हार हो, ओलिको जित हो|प्रचन्डको ढुलमुले प्रबित्तीको पनि यो अर्को एउटा ज्वलन्त उदाहरण हो|यसलाई कसैले ओली र एमालेको जित पनि ठान्दा हुन, तर यो क्षणिक मात्र हो किनभने यो सैद्धान्तिक अढान र् संस्थाको स्वतन्त्र अस्तित्व अक्षुण्ण राख्ने अभिप्रायले प्रेरित कम तर जुँगाको लढाईको रुपमा लडिएको खेल मात्र हो| यसले कुनै आगतमा निश्चित सुधारको अपेक्षा गर्नतिर औल्याउदैन|काजु कान्छा अोली भन्या कुरौटे महाराज हुन जसले बाबुरामलाई बत्तीसे बाहुन नामाकरण गरे|कुराले सागर तरने हो, सगरमाथा चढने हो तर आफ्नै भर्र्याङ् उक्लन अर्काको कम्मर समात्ने हो|
    यती गहन मुद्दामा नेपाली जनतालाई अल्मल्याएर समयको वर्वादीमा पारने यस्तो सिकौरे र खेलांची कामको जिम्मेवारी वहन गर्ने हो भने र अलिकती पनि लाज शरम बचेखुचेको छ भने देउवाले राजनीतीबाट सन्यास लिनपर्छ| सासुलाई कुनै कुत्नैतीक ज्ञान, अनुभव र कार्य कुशलताको आधार विना जापानमा राजदुत नियुक्ती दिने पनि प्रचन्ड र देउवाको खेल नै हो| माथिल्ला तहमा बसेका काङ्रेसजनले कस्ता ललीपप चुस्न पाए कुन्नी सबै नी रिह बनेका देखिए|
    रा.प्र.पा. का कमले भन्दा पनि प्रचन्ड तीन गुणा ढुलमुले देखिए, यती मुसा खाएर अब काशी जाने तरखरमा रहे हुन्छ|
    हे भगवान, हाम्रा नेता हरुलाई कस्ले सद्बुद्धी देलान जब बहाल (बबाल) वाला न्यायधीशले सतीले सरापेको बचन बोल्न थालिसके|
    जो आए नि कि बिष्णु अवतार नत्र प्रभु शरणम मात्र!
    गिरिजाको जस्तो पुत्री प्रेमरोगले प्रचन्डलाई पनि डुबाउने भयो, तर मुलुकलाई डुबाउने देखियो र पो त्राही भयो|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme