राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो औपचारिक राजकीय भ्रमणका लागि सोमबार भारततर्फ लागिन्। उताका राष्ट्रपति यता आउँदा विदा दिने यताका जाँदा नदिँदा अपमान हुन्छ भन्ने कूतर्क गरेरै भए पनि नेपालमा आज सार्वजनिक विदा दिइयो। यति सम्मानका साथ विदेश पठाएको, उता त जुनियर मन्त्री (महिला तथा बाल विकास राज्यमन्त्री कृष्णा राज) ले पो राष्ट्रपतिलाई रिसिभ गर्न आइन् इन्दिरा गान्धी विमानस्थलमा। यो त नेपालको अपमानै भो भनेर रोइलो छ अहिले। राष्ट्रपतिलाई तुरुन्त फर्कन सामाजिक सञ्जालमा सार्वजनिक आह्वान गर्नेहरु कति भइसके, भइसके। खुला पत्र लेखिन बाँकी छ, त्यो पनि लेखिएला भोलिसम्ममा। अपमानित मान्नेहरुले भोलि मंगलबार राष्ट्रपति भवनमा सेरेमोनियल रिसेप्सन दिनेछ भारतले बिहान नौ बजे। त्यो हेरेर मन शान्त पार्नुहोला।
खास कुरा के हो त? हाम्रा राष्ट्र प्रमुख वा सरकार प्रमुख भारत जाँदा के रहेछ त चलन? यसो खोजी गरी हेरेको त राजा ज्ञानेन्द्रदेखि पहिलो राष्ट्रपति डा. रामवरण यादवसम्मलाई एयरपोर्टमा रिसिभ गर्न राज्यमन्त्री नै आएका रहेछन्। अचम्म त राजा ज्ञानेन्द्र र राष्ट्रपति यादवलाई राज्यमन्त्रीले रिसिभ गर्दा किन यतिको रोइलो भएन भनेर पो लाग्यो त। हेरौँ न त कसले कसलाई रिसिभ गरेको रहेछ पहिलेका भ्रमणमा?
यो जुन २००२ को फोटो। राजा ज्ञानेन्द्र रानी कोमलका साथ साताव्यापी राजकीय भ्रमणका लागि नयाँ दिल्ली गएका थिए। त्यतिबेला उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रिसिभ गरेका थए रेल राज्यमन्त्री दिग्विजय सिंहले।
सन् २०१० मा नेपालका प्रथम राष्ट्रपति पहिलो औपचारिक भ्रमणका लागि भारत गए। त्यतिबेला पनि विमानस्थलमा रिसिभ गर्न आएका मन्त्री जुनियर नै थिए- विदेश राज्यमन्त्री प्रनीत कौर।
राष्ट्र प्रमुख मात्र हैन नेपालका सरकार प्रमुख भारत जाँदा पनि अक्सर राज्यमन्त्रीले नै स्वागत गर्थे, केही अपवादबाहेक। सन् २००४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा विदेश राज्यमन्त्री इ अहमदले स्वागत गरेका थिए।
सन् २००८ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री बनेका थिए। पहिलो भ्रमण चीनको गरे। त्यसपछि आएको प्रतिक्रियाबाट आत्तिएर पहिलो राजनीतिक भ्रमण भारतकै हुनेछ भने। सेप्टेम्बरमा भारत भ्रमणमा जाँदा विमानस्थलमा गृह राज्यमन्त्री सकिल अहमदले स्वागत गरेका थिए।
पशुपति, प्रधान सेनापति आदि कान्ड मच्चिएपछि प्रचण्डले राजीनामा दिए। माधवकुमार नेपाल प्रधानमन्त्री बने। उनी भारत भ्रमणमा गए सन् २००९ मा। त्यतिबेला विदेश राज्यमन्त्री प्रनित कौरले स्वागत गरेकी थिइन्।
माधवकुमार नेपालपछि झलनाथ खनाल प्रधानमन्त्री बने। तर उनलाई भारत भ्रमण जुरेन। औपचारिक निम्तो पनि पाएनन्। खनालपछि प्रधानमन्त्री बने बाबुराम भट्टराई। उनी अक्टोबर २०, २०११ मा भारत जाँदा त विमानस्थलमा राज्यमन्त्रीसम्म पनि आएका थिएनन् रिसिभ गर्न। चार दिने औपचारिक भ्रमणका लागि भारत पुग्दा विमानस्थलमा भारतीय राजदूत जयन्त प्रसाद, ज्वाइन्ट सेक्रेटरी नर्थ डिभिजनका अखिलेश मिश्र र चिफ अफ प्रोटोकल रुचिरा अम्बोजले स्वागत गरेका थिए। त्यतिबेलाको फोटो भने भेट्टाउन सकिएन।
बाबुराम भट्टराईपछि अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी भारत भ्रमण गएनन्। चुनाव पछि सुशील कोइराला प्रधानमन्त्री बने। उनलाई पनि भारत भ्रमणको औपचारिक निम्तो आएन। तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहका लागि सार्क राष्ट्रका प्रमुखहरुलाई बोलाउने क्रममा उनी पनि पुगे नयाँ दिल्ली। उनको स्वागतमा पनि राज्यमन्त्रीसम्म आएनन्। तैपनि रोइलो मच्चिएन।
सुशील कोइराला कै पालामा नाकाबन्दी भयो। केपी ओली प्रधानमन्त्री भए। नाकाबन्दी खुलेपछि ओली भारत भ्रमणमा गए। त्यतिबेला म पनि रिपोर्टिङका लागि भारत पुगेको थिएँ प्रधानमन्त्री जानुभन्दा एक दिन अगाडि नै। त्यतिबेला विमानस्थलमा स्वागतका लागि एक जना राज्यमन्त्री नै जाने जानकारी नेपाली दूतावासका अधिकारीहरुलाई दिइएको थियो। त्यही सूचनाका आधारमा राज्यमन्त्रीले स्वागत गर्ने भनी त्यताबाट समाचार पठाइयो, तर स्वागतका लागि विदेश मन्त्री सुष्मा स्वराज आफै पुगिछिन्। मैले त्यताबाट पठाएको समाचार गलत हुनपुग्यो। तर त्यतिबेला नेपाली दूतावासका अधिकारीहरुले पाएको जानकारी त्यही थियो।
ओलीपछि प्रचण्ड प्रधानमन्त्री भए दोस्रो पटक। उनी भारत भ्रमणमा जाँदा पनि विदेश मन्त्री सुष्मा स्वराजले नै स्वागत गरिन् विमानस्थलमा।
यसमा एउटा अपवाद भने छ। लोकतन्त्रको आन्दोलनपछि प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइराला सन् २००६ को जुन महिनामा भारत भ्रमणमा जाँदा उनलाई प्रधानमन्त्री मनमोहन सिंह स्वयंले स्वागत गरेका थिए विमानस्थलमा।
तर उनै कोइराला सन् २००७ को अप्रिलमा जाँदा भने भारतीय पानी मन्त्री सइफुद्दिन सोजले स्वागत गरेका थिए विमानस्थलमा।
भारतको परम्परा यस्तो छ। नेपालमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा प्रधानमन्त्री सुशील कोइराला स्वयंले विमानस्थलमा रिसिभ गरेका थिए।
दोस्रो पटक मोदी सार्क शिखर सम्मेलनका लागि आउँदा भने उपप्रम वामदेव गौतमले स्वागत गरेका थिए-
अनि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा नि? अहो त्यतिबेलाको त के कुरा गर्नु र। राष्ट्रपति स्वयं त उपस्थित थिइन् नै, उपराष्ट्रपति, प्रधानमन्त्री पनि केही काम नपाए जसो गरी त्यहीँ थिए। प्रधान सेनापतिसम्म त्यहीँ थिए।
आउँदा मात्र हैन विदाइ गर्न पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु लहरै पुगेका थिए विमानस्थलसम्म।
आफै भारत जाँदा भने राष्ट्रपति भण्डारीले यस्तो स्वागत पाइन्-
यो बेकारको हल्ला हो, भि आई पि भिजीटको प्रोग्राम बनाऊँदा कहिले देखि कहाँ ककसलाई भेट्ने र के कस्ता बिषयमा वार्ता गर्ने भनेर पहिलेनै तय गरेका हुन्छन!
के कुनै साधरण ब्यक्तिको दिल्ली सैर त होईन होला!
महिनौ लगाएर तय गरिएको हुन्छ!
रास्ट्रपति को कसलाई भेट्ने भनेर खुसि हुँदा मात्र भिजीटको तय हुनेहोला!
बेकारमा यो काम नपाएका मिडियाले खपतका लागि मात्र खबर बनाएका हुन अकु केहि होईन!
यो तर्क नगरौ कि जहिले पनि नेपालि हेपाई पर्छ किनकि बर्सौ देखि हेपिदै आएका छौ,
भविष्यमा सम ब्यबहार होस् भनेर आवाज उठाउनु राम्रो होइन र? के यो रोइलो हो? के चुपचाप राम्रो भयो भनेर बसौ त हजुर?
अरु देशक प्रमुख इंडिया जाँदा कसले लिन आउने रहेछन त? ल हेर्नुस:
Australian PM Malcolm Turnbull, April 10, 2017: Union Minister Rajiv P. Rudy
Kenyan President, Uhuru Kenyatta, Jan 10, 2017: Senior Indian Government officials and the Kenyan High Commissioner to India, Amb. Florence Weche.
So, nothing out of ordinary people.