Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सप्तरी घटना : सशस्त्रका एसपीको पेस्तोल खोसिएपछि चलेको थियो गोली

Posted on March 20, 2017 by Salokya

२३ फागुन २०७३ मा सप्तरीमा जे होला भन्ने सबैलाई डर थियो, त्यही भयो। एमालेको सभा भइरहेको थियो। मधेसी मोर्चाले विरोध गरिरहेको थियो। दुई पक्षबीच झडप रोक्न बीचमा सुरक्षाकर्मी थियो। गोली चल्यो। त्यो दिन तीन जनाको मृत्यु भए पनि पछि उपचार गराइरहेका दुई जनाको पनि गरी कूल पाँच जनाको मृत्यु भयो।

घटना कसरी भयो भन्ने बारे सरोजराज अधिकारीले खोज पत्रकारिता केन्द्रका लागि स्थलगत रिपोर्टिङ गरेका छन्। यो रिपोर्टिङमा हालसम्म सार्वजनिक जानकारीमा नआएको एउटा तथ्य पनि रहेको छ- घटनास्थलमा खटिएका केहि जुनियर प्रहरी अधिकृतहरुले अहिलेसम्म प्रकाशमा नआएको एउटा विवरण सुनाए । झडप चर्किंदै जाँदा प्रदर्शनकारीले सशस्त्रका एसपी जयबहादुर खड्काको पेस्तोल खोसे । सशस्त्र फौज तुरुन्तै आफ्ना एसपीको पेस्तोल फिर्ता लिन सफल पनि भयो । तर त्यसबीचमै खड्का र प्रजिअबीचको संवादपछि सशस्त्र प्रहरीले ‘फायर’ खोल्यो । घटनामा नेपाल प्रहरीका एक जुनियर अधिकृतको वाकीटकी सेट पनि खोसिएको थियो, जुन ४ चैतसम्म फेला परेको छैन ।

कसरी भयो घटना ?

पूर्वघोषित कार्यक्रम अनुसार एमालेका सबै नेताले आ–आफ्नो मन्तव्य राखिसकेका थिए । करीब पौने पाँच बजेको थियो । एमाले सचिव योगेश भट्टराईले भाषण गरिरहेका अध्यक्ष ओलीको नजिकै गएर केही अनिष्टको संकेत गरे । ओलीले पनि परिस्थिति बुझेर आफ्नो मन्तव्य छोट्याए । त्यसको केही मिनेटअघि मात्रै सुरक्षा निकायबाट गोली चलिसकेको सूचना भट्टराईसम्म पुगिसकेको थियो । गुप्तचर स्रोतका अनुसार एमालेको कार्यक्रम शुरू हुनुअघि मलेठमा करीब ३०० को संख्यामा मात्रै मोर्चासम्बद्ध प्रदर्शनकारी थिए । ओलीको मन्तव्य नजिकिंदै जाँदा ५०० को संख्यामा पुगेका प्रदर्शनकारी गोली चलेसँगै तीनै दिशामा जम्मा हुँदा १५ सयको हाराहारीमा पुगेका थिए । करीब एक हजार दक्षिणतिरको मलेठ चोकमा केन्द्रित थिए भने औद्योगिक क्षेत्र भवनको पूर्वतिरको फराकिलो गहुँबारीमा २०–२५ समूहमा छरिएर करीब ४०० र पश्चिमतर्फ करीब १०० जति थिए । गुप्तचर स्रोतका अनुसार एमाले सभामा सुनसरी र बाटोबाट समेत गरी करिव तीन हजार र सदरमुकाम राजविराज तथा आसपासका क्षेत्रबाट ५–७ सय सहभागी थिए । सभामा सहभागी हुन आएका कतिपय महिला, वृद्धवृद्धालाई मोर्चा कार्यकर्ताले कुटपिट गरी बाटोबाटै फर्काइदिएको एमालेको भ्रातृसंगठन युवा संघ केन्द्रीय सचिवालय सदस्य निरन्जन झाले बताए । उनले भने “त्यसपछि हामी युवाहरूको समूह मोर्चाको निषेध तोड्न झण्डा, झण्डाभित्र डण्डा बोकेर गयौं ।”

घटनापछि काठमाडौं झिकाइएका एसपी दिवेश लोहनीका अनुसार एमाले सभास्थल र घटनास्थलमा मात्र नेपाल प्रहरीका लगभग ७५० र सशस्त्रका ४५० गरी करीब १२ सय सुरक्षाकर्मी परिचालित थिए । सभा र प्रदर्शनलाई मध्यनजर गरेर सीमावर्ती जिल्लाबाट ७०० प्रहरी र ५०० सशस्त्र प्रहरी झिकाइएको थियो । सुरक्षा निकायलाई आत्मरक्षा गर्नुपर्ने अवस्थामा मात्र गोली चलाउनु भन्ने ‘माथि’ को आदेश थियो । मलेठ चोकमा मात्र ४५० प्रहरी र २५० को हाराहारीमा सशस्त्र प्रहरी थिए । तर प्रदर्शनकारीले त्यो सुरक्षा घेरासमेत तोडेर सभास्थल औद्योगिक क्षेत्रको पर्खाल नाघ्ने प्रयास गरेपछि ‘अप्रत्यासित’ अवस्था सिर्जना भएको लोहनीको भनाइ छ ।

घटनास्थलमा खटिएका केहि जुनियर प्रहरी अधिकृतहरुले अहिलेसम्म प्रकाशमा नआएको एउटा विवरण सुनाए । झडप चर्किंदै जाँदा प्रदर्शनकारीले सशस्त्रका एसपी जयबहादुर खड्काको पेस्तोल खोसे । सशस्त्र फौज तुरुन्तै आफ्ना एसपीको पेस्तोल फिर्ता लिन सफल पनि भयो । तर त्यसबीचमै खड्का र प्रजिअबीचको संवादपछि सशस्त्र प्रहरीले ‘फायर’ खोल्यो । घटनामा नेपाल प्रहरीका एक जुनियर अधिकृतको वाकीटकी सेट पनि खोसिएको थियो, जुन ४ चैतसम्म फेला परेको छैन ।

“पोस्टमोर्टम रिपोर्ट र छानबीन समितिले पनि पत्ता लगाउला तर मृतकमध्ये कोही पनि नेपाल प्रहरीको गोलीबाट मरेका छैनन्”, ती अधिकृतले भने । स्रोतका अनुसार प्रहरीले ९० थान रबर बुलेट लगेको थियो, त्यसमध्ये ९ वटा मात्र प्रहार भएको छ । अश्रुग्याँस भने व्यापक मात्रामा प्रयोग भएको थियो, घटनास्थलमा । कार्यक्रममा सहभागी सुनसरी–२ का एमाले सांसद् रेवतीरमण भण्डारी भन्छन्, “हामी निस्कँदा अश्रुग्याँसका कारण दक्षिणतिरकोे आकाश कुहिरीमण्डल जस्तै भएको थियो ।”

फिर्ता बोलाइएका तत्कालीन प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिनाले स्थिति नियन्त्रणबाहिर जान थालेपछि गोली चलाउनु परेको बताए । तर, कुन सुरक्षा निकायले ‘फायर’ खोलेको भन्ने सम्बन्धमा चाहिं उनले प्रतिक्रिया दिन चाहेनन् । प्रजिअ बलदेव गौतमको सरुवा भएपछि तिमिल्सिना १९ फागुनमा मात्र जिप्रका सप्तरीमा हाजिर भएका थिए ।

हिमाल खबरपत्रिका का लागि सप्तरीबाट समाचार लेख्ने श्रवण देवका अनुसार मोर्चाको आन्दोलनको नेतृत्व गरिरहेका धेरै स्थानीय नेता झडप उत्कर्षमा पुग्नुअघि नै गिरफ्तार भइसकेका थिए । उनले भने, “प्रदर्शनकारीभन्दा प्रहरी बढी थिए । गोली नै चलाउनुपर्ने स्थिति थिएन । तर किन गोली चलाइयो, मैले बुझ्न सकेको छैन ।” कान्तिपुर का सप्तरी संवाददाता अवधेश झाका अनुसार ‘पानीकै फोहोराबाट पनि भीड नियन्त्रण गर्न सकिने अवस्था थियो तर त्यसको प्रयोग भएन ।’

कार्यक्रममा सहभागी हुन पुगेका सुनसरी एमालेका अध्यक्ष द्वारिकालाल चौधरी पनि काठमाडौंबाट झिकाइएको पानीको फोहोरा फ्याक्ने उपकरण (वाटर क्यानन) को प्रयोग किन नगरिएको भन्नेमा छन् । चौधरी भन्छन्, “कार्यक्रम लगभग सकिएको थियो । प्रदर्शन दक्षिणतिर बढी केन्द्रित थियो । सहभागी सबै नेता तथा कार्यकर्ता उत्तरपट्टिबाट सुरक्षित रूपमै निस्कन सक्ने अवस्था थियो । जुन रूपमा सुरक्षाकर्मी र पानीको फोहोरासहितको बन्दोबस्तीको सामग्री उपलब्ध थियो, त्यसलाई हेर्दा गोली चलाउनुपर्ने अवस्था त थिएन ।”

काठमाडौंबाट झिकाइएको पानीको फोहोरा फ्याक्ने उपकरण (वाटर क्यानन) को प्रयोग किन नगरिएको हो त ? प्रजिअ कटवालले प्राविधिक खराबीका कारण यो प्रयोगमा आउन नसकेको बताए । तर, अहिलेसम्म पनि त्यो ‘प्राविधिक खराबी’ के थियो भन्ने खुल्न सकेको छैन । नेपाल प्रहरीसँग रहेको एक मात्र वाटर क्यानन एकदिन अघि २२ फागुन २०७३ मा मात्रै काठमाडौंबाट कार्यक्रमस्थल पु¥याइएको थियो ।

निशानामा निर्धा

घटनाका मृतकमध्ये २४ वर्षे सञ्जन मेहताको नौ महीना अगाडि मात्रै विवाह भएको थियो । पिता लक्ष्मणका अनुसार स्नातक सकेका सञ्जन सरकारी जागिरका लागि लोकसेवाको तयारी गर्दै थिए । अर्का मृतक पूर्वप्रहरी वीरेन्द्र महतो मलेठस्थित ससुरालीमा बस्दै आएका थिए । उनका तीन साना छोरी र एक छोरा छन् । उनी छोराछोरीहरूका लागि चकलेट लिन भनेर निस्केका थिए । सप्तरी घटनामा मारिएका आनन्द साह वरिष्ठ अहेब हुन् । पोलियो थोपा खुवाउने अभियान सकेर घर फर्कंदै गर्दा उनी मारिएका थिए । ५६ वर्षे पीताम्बर मण्डल ठेला चालक थिए भने इनरदेव यादव किसानी गर्थे । इनरदेवका पिता मुनरदेव यादवको मृत्यु भएको ९ दिन मात्रै भएको थियो, उनी पिताको मृत्यु संस्कारको निम्तो दिन घरबाहिर निस्किएका थिए । मलेठका बासिन्दा एमालेनिकट युवा संघका सप्तरी अञ्चल उपाध्यक्ष छोटेलाल यादवका अनुसार, सदस्यता नलिए पनि सञ्जन र वीरेन्द्र एमालेका मतदाता थिए । वरिष्ठ अहेब आनन्द साह कांग्रेसनिकट स्वास्थ्यकर्मीको जिल्लास्तरीय संगठनमा आवद्ध थिए ।


मृतक सञ्जन मेहताकी श्रीमती (बाँया)

स्थानीयको दाबीअनुसार घटनाका एक घाइतेलाई उद्धार गर्दै गर्दा सशस्त्र प्रहरीले सञ्जनलाई नियन्त्रणमा लिएर नजिकैबाट टाउकोमा गोली प्रहार गरेको थियो । घटनामा मारिएका सबैको पोस्टमोर्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । प्रतिष्ठानका फरेन्सिक विभाग प्रमुख सिवेन्द्र झाका अनुसार सबै मृतकको कम्मरमाथि गोली लागेको छ । झाले भने “सञ्जनको पोस्टमोर्टम रिपोर्टमा ब्लास्ट इन्जरी देखिएको छ ।” उनका भनाइमा नजिकबाट गोली प्रहार भएको अवस्थामा ‘ब्लास्ट इन्जरी’ हुन्छ ।
घटनाका प्रत्यक्षदर्शी स्थानीय पत्रकारका अनुसार सुरक्षाकर्मीले तैनाथ सहकर्मीले बोकेका ढाल (शिल्ड) मा छेलिएर गोली चलाएका थिए । आफ्नो परिचय नखुलोस् भनेर दुई ढालको बीचबाट बन्दूकको नाल छिराएर अन्धाधुन्द गोली चलाइएको थियो । यसरी चलाइएको कारण अग्लो रूखको टुप्पोमा समेत गोलीको दाग देखिन्छ ।

प्रत्यक्षदर्शी र सुरक्षा निकायकै कतिपय जुनियर अधिकृतसँगको कुराकानीबाट घटनाका बेला प्रदर्शनकारीकै हाराहारीमा तैनाथ सुरक्षा निकायले संयमता अपनाउन नसकेको पुष्टि हुन्छ । सुरक्षा निकायले बस्तीभित्रै पसेर स्थानीयलाई कुटपिट र गोली प्रहार गरेको थियो । घटनास्थल पुगेकी राष्ट्रिय मानवअधिकार आयोग सदस्य मोहना अन्सारीले पनि सुरक्षा निकायले संयमता अपनाउनु साटो चरम दमन गरेको बताइन् । चार दिनको अवलोकन र सरोकारवालासँगको छलफलपछि उनले भनिन्, “घटनामा जो मारिए, उनीहरूको हत्या भएको हो । यसको जवाफ सरकारले दिनुपर्छ ।”

रिपोर्ट पूरा पढ्न यहाँ क्लिक गर्नुस्

भिडियो रिपोर्ट

4 thoughts on “सप्तरी घटना : सशस्त्रका एसपीको पेस्तोल खोसिएपछि चलेको थियो गोली”

  1. GP says:
    March 20, 2017 at 2:01 pm

    एक ले अर्काको अस्तित्व स्वीकार गर्ने हो भने अकालमा कोहि मर्नु पर्ने थिएन होला तर राजनीतिका ब्यापारीहरुले आफ्नो ब्यापार गर्ने निहु मा निर्दोष जनतालाई बलिको बोको बनाइरहेका छन्/ अतिबाद अहिले सम्म सफल भएको छैन होला संसारमा…

    Reply
  2. Amit Upadhyay says:
    March 20, 2017 at 12:40 am

    yo sahi kuro ho congress ko grihamantri bha hunaale yo parinaam aako ho

    Reply
  3. Rohini says:
    March 20, 2017 at 3:45 am

    शान्तिपूर्ण सभा बिथोल्न जानु मोर्चाका कार्यकर्ताको गल्ति थियो | शान्तिपूर्ण रुपमा बिरोध गर्न पाइञ्छ तर हिंसात्मक रुपमा होइन |

    Reply
  4. Laxman Subedi says:
    March 19, 2017 at 6:35 pm

    सबै मिलेमतोमा जानाजान भयेको घट्ना हो तेस्मा एमाले र मोर्चाको अतिवाद लाई राम्रो मोहरा बनाइएको छ । एउटै सक्तिले एमाले लाई शक्ति प्रदसन गर्न उक्साउने उहीँ सक्तिले मोर्चालाइ भाड्न लगाउने गरेको जस्तो देखिन्छ। तेसैले जहाँ जहाँ अति भयो तेहा बिगृन्छ। मोर्चा र एमालेले आफ्नो अतिवाद त्यागेर सम्झौतामा आये देसलाइ हित हुन्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme