Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शङ्कर लामिछानेले सम्पादकलाई लेखेको अजीबको पत्र जसमा पत्रकारिता र जीवनमाथि प्रश्न छ

Posted on January 12, 2017 by Salokya

पुरानो दैनिक अखबार भन्ने बित्तिकै धेरैले गोरखापत्रलाई मात्रै सम्झन्छन्। तर निजी क्षेत्रबाट निस्किएका दैनिकहरु पनि त्यतिबेला निकै लोकप्रिय छन्। त्यसैमध्ये एक हो- समाज दैनिक। जसको सम्पादकीय नेतृत्व लामो समयसम्म मणिराज उपाध्यायले गरे। उनै उपाध्यायको ९४ वर्षको उमेरमा बुधबार बेलुका गंगालाल अस्पतालमा निधन भयो। एक पटक उनले आफ्नो दैनिक समाजका लागि विशेषाङ्क निकाल्न लागेको भन्दै शङ्कर लामिछानेसित लेख मागे। उनले के लेखेर पठाए, त्यसको संग्रह २०२४ सालको मदन पुरस्कार प्राप्त कृति ‘एब्स्ट्र्याक्ट चिन्तन: प्याज’मा छ। त्यही गजबको निबन्ध साभार गर्दै मणिराज उपाध्यायलाई हार्दिक श्रद्धाञ्जलि।

मणि दाजु,
तपाईँले भन्नुभएको छ समाजको विशेषाङ्कको निमित्त म केही लेख दिऊँ- खासगरी पत्रकारिता र त्यो पनि समाजकै समालोचना गरेर! करिब दुई घण्टादेखि समाजको मसँग भएको सङ्ग्रह पल्टाइरहेँ र सोचिरहेँ क्यै त लेख्नैपर्‍यो। तपाईँ एक मित्रको रुपमा मबाट चाहनुहुन्छ आफ्नु कलाकौशलको समीक्षा।

त, यो दुई घण्टामा म सोचिरहेँ। र केही पनि सोच्न सकिनँ। कमसेकम छाप्ने लायक त केही पनि सोच्न सकिनँ। तपाईँ भन्नुहोला छाप्ने लायक छुट्याउने अधिकार त सम्पादकमाथि पो छ। मेरो, यहाँनिर, छाप्ने लायक भन्ने शब्द प्रयोगको अर्थचाहिँ हो, त्यस्तो विषय जो मानिसले पढ्न मन पराउँछ। अब तपाईँकै पत्रिका लिऊँ न। मृत्यु, दुर्घटना, असाधारण कष्ट, पीडा इत्यादि नै त हुन् जसले त्यसमा प्रमुखता पाएका छन्। किन अर्काको कष्ट, दुर्घटना र मृत्युलाई मानिस पढ्न मन पराउँछ? (मन नपर्ने भए तपाईँको पत्रिका कहिले नै बन्द भैसक्थ्यो!)

म आजकल अनौठा पुस्तकहरु पढिरहेछु। स्टिफन ज्विगको द वर्ल्ड अफ यस्टर डे, अलबेयर कामुको मिथ अफ सिसिफस र चित्तरञ्जन नेपालीको भीमसेन थापा र तत्कालीन नेपाल। यसैबाट तपाईँ बुझ्नुहुनेछ म अलि अध्ययन गर्न खोजिरहेछु मानिसको मृत्युपट्टिको भावना।

मृत्युको अध्ययन गर्नानिम्ति आरम्भ गर्ने बिन्दु हो जीवन। कारण मृत्युको जन्म जीवनको जन्मसाथै भएको हुन्छ। त्यो क्षण जब म जन्मेँ, त्यही क्षण नै मेरो मृत्युको प्रथम क्षण, प्रथम पाइलो थियो, होइन त? त आज जीवनकै कुरा गरौँ र मृत्युलाई चिन्ने प्रयास गरौँ।

म अहिले पसलमा बसिरहेछु। पानी परिरहेछ झमझम। भर्खरै राजदूतहरु र मन्त्रीहरुको मोटरको ताँती फर्क्यो- नरप्रताप थापाको शोकसभा थियो रे रञ्जनामा…।

सडक पारिपट्टी एउटा माग्नेजस्तो मानिस गणेशथानको देवलको चौतारामा बसेर लँगौटीमा अलमलिएको जुम्रा मारिरहेछ। एउटा मानिस, म त्यसलाई चिन्दछु तर नाम जान्दिनँ, जो दिनभरि त खसीबोका बेची हिँड्दछ, अहिले भजन अलाप्दै गणेशजीकहाँ गइरहेछ, हातमा उसको थाली छ, चन्दन, अक्षता र फूलअबिरले भरेको। एउटा कुकुर आँग चिलाएकोले पेटीको भित्तामा आङ घस्रिरहेछ। एउटी कैली गाई गइन्, कसैलेको उनको निधारमा पूजा गरेको छ। केटीहरु छाता ओढेर किताब च्यापी गइरहेछन्। एउटा केटो बर्साती ओढी स्कुल जान बस पर्खिरहेछ। एउटा मानिस पिउनबुकमा खातमा खात चिठी च्यापेर दोबाटोमा कता नै जाउँ पहिलेको भावमा अलमलिरहेछ।

र, मलाई एउटा लेख लेख्नुछ। यस्तो लेख जसले नेपाली साहित्यको उत्थान गरोस्, यस्तो लेख जसले मणि दाजुको समाजको स्तर नगिरावोस्, यस्तो लेख जुन पढ्दा नेपाली जनता रमाओस्। तर मणि दाजु, म अलमलिरहेछु, मेरो मन स्थिर छैन, सबै कुरा जो आँखाअगाडि घटिरहेछन् तिनलाई म हेरिरहेछु, र बुझ्न नसक्नेछु।

म बुझ्दिनँ त्यो जुम्रा जन्म्यो नै किन जब उसलाई लँगौटीको कापमा दुई वटा औँलाको नङले पिसिएर मर्नु थियो? त्यो मानिस किन गणेशको पूजा पनि गर्दछ र खसी-बोकाको ज्यान पनि लिन्छ? त्यो कुकुर लुतो भएर मर्ने नै तर्जुमामा छ भने किन भुकी टोपल्छ? मानिस गाईलाई पूजा गर्छ भने उसको बाछीको भाग खोसेर किन दूध खान्छ फेरि? त्यो तरुनी केटी जो अग्रवालको थ्योरी अफ इकोनोमिक्स बोकेर कलेज जाँदै छ, किन त्यो पढ्छे जब उसलाई विधवा हुनुपर्नेछ, सायद् पोइल जानुपर्नेछ, सायद वेश्यावृत्ति अपनाउनुपर्नेछ सायद…….त्यो बच्चा केको आशामा अरुको छपेका विश्वासहरु बोकेर स्कुल जाँदैछ जब एक दिन उसलाई रानीपोखरीमा डुब्नु नै छ, व्यर्थ बनी, बेकार बनी, दुई-तीन छोराछोरीको पिता र एउटी स्वास्नीको पोइ र कैयन् अरु केटाहरुको प्रतिस्पर्धी बनेर ? त्यो पिउन किन ओसारिरहेछ खामबन्दी चिठीहरु जब उसलाई थाहा छैन पत्रमा के छन्? कसैको खोसुवा पूर्जी, कसैको विवाह निमन्त्रण, कसैको मृत्यु समाचार ?

बुझ्नु भो मणि दाजु, यी जम्मै चरित्र तपाईँका पत्रिकामा स्थान पाउन सक्ने पात्रका हुन्। ती आज भाद्र ३, २०१९ साल बिहान दस बजे मेरा निमित्त बनेका हेडलाइनहरु हुन्। यिनको महत्त्व, तर, तपाईँलाई छैन, कारण ती अझै जीवनमा छन्, अहिले केही गरी भाक्लाकभुक्लुक सडकमा मरुन्, या रानीपोखरीमा हामफालून् या मोटरले किल्चिउन्, तपाईँ भातको गाँस छाडेर प्रेसतिर भाग्नुहुननेछ। तपाइँको कलम कागजमा दौडिनेछ, तपाईँको कम्पोजिटरले औँलामा चाल्नेछ, तपाईँको ट्रेडलले काम पाउनेछ, पत्रिका छप्नेछ र बिक्नेछ पाँच पैसामा।

ढ्याक्क….।
ढ्याक्क….।
ढ्याक्क….।
ढ्याक्क….।

प्रत्येक पल्ट एक इम्प्रेसन र छ मृत्यु। यो यतिका जनाको जुम्रा, पुजारी, कुकुर, केटी, केटा र पिउन छ जनाको जीवनको मूल्य सिर्फ पाँच पैसामा बिक्नेछ? यिनको मृत्युको समाचार बोकेर अखबारका पानाहरु छापिनेछन्, सड्नेछन्, बिलाउनेछन्, खत्तम हुनेछन्।

मणि दाजु, के कहिले यस्तो हुन सक्दैन, तपाईँ अखबारा जन्मको मात्र खबर छाप्नुहोस्? के यस्तो हुन सक्दैन? तपाईँ भीमसेन थापाको आत्महत्याको कारण छाप्न सक्नुहोस्? के यस्तो हुँदैन कहिले त साँढे र वर्षाको सम्पादकीय त्यागेर तपाईँ आफ्नो सच्चा कथन भन्न सक्नुहोस्? के यस्तो हुन सक्दैन, कहिले आफैलाई चिरेर आफ्नू महत्व छाप्नुहोस् ?

तपाईँ आज सोच्नुहुँदो हो- पत्रिका चलाएर तपाईँ देश र जनताको सेवा गर्दै हुनुहुन्छ। तपाईँ भन्ठान्नु हुँदो हो, नेपाली इतिहासमा तपाईँको स्थान छ, सदा रहिरहनेछ, तपाईँको देन पत्रकारिता जगतले कहिले पनि भुल्न सक्ने छैन होला। मूर्ख दाजु- बेकार हो। तपाईँको नाम अखबारले त्यहाँ छापेको छ सँधै जहाँ समाचारलाई एक कालो धर्काले तपाईँबाट सीमारेखा छुट्याएको हुन्छ। थाहा छ तपाईँलाई, तपाईँको अखबारले रोजै कति कसिङ्गर र गुहु झ्यालबाट चोकमा मिल्काउँछ? थाहा छ तपाईँलाई……? थाहा छ तपाईँलाई…….? थाहा छ तपाईँलाई? तपाईँलाई केही पनि थाहा छैन। तपाईँलाई किन साँढेमाथि सम्पादकीयय लेखेँ भन्ने पनि थाहा छैन। तपाईँलाई किन भीमसेन थापामाथि सम्पादकीय लेखिनँ भन्ने पनि थाहा छैन, तपाईँलाई किन सम्पादकीय लेख्छु भन्ने थाहा छैन, तपाईँलाई किन सम्पादकीय लेख्दिनँ भन्ने पनि थाहा छैन।

अझ, मणि दाजु, तपाईँ किन सम्पादक हुनुभयो; त्यो पनि थाहा छैन तपाईँलाई, तपाईँ सम्पादक नभए के हुनुहुन्थ्यो त्यो पनि थाहा छैन तपाईँलाई।

तपाईँको पत्रिका त उ : त्यो माग्नेको लँगौटी हो जसका कापमा रोज ट्रेडलका औँलाले जुम्रा मारिरहेछन्। म सायद् त्यो लुत्याहा कुकुर हुँ, तपाईँ सायद निधारमा टीका लाएको त्यो गाई हो। अथवा तपाईँ कुकुर हो, म गाई हुँ अथवा म जुम्रा, तपाईँ नङ्ग्रा अथवा तपाईँ पुजारी म बोका अथवा तपाईँ पिउन म चिठी, अथवा तपाईँ केटी म केटा। तपाईँ जे पनि हो, म जे पनि हुँ।

तपाईँ र म जन्मनुअघि यसो सोचिहेर्नुस् त, कत्ति आशा र विश्वास र हिम्मत संसारमा जन्म्यो। खै त्यो आज खै? तपाईँ र म जन्मिनुअघि कति सहिद र कति गद्दार जन्मे, खै ती आज खै? अमरसिंहको बारेको सत्य के? इतिहासको तथ्य खै? सत्य खै, सत्यको सत्य खै? आज तपाईँ भन्न सक्नुहुन्छ इतिहासमा कहाँनिर कल्पना सुरु भएको छ, कहाँ वास्तविकता हराएको छ? भन्न सक्नुहुन्छ, तपाईँको अखबारमा छापेका आत्महत्याका खबरको वास्तविकता के थियो? किन रामेचा या कृष्णचा या क खचाले आफूलाई मार्नुअघि छोराछोरीलाई र स्वास्नीलाई मार्‍यो? भन्न सक्नुहुन्छ के त्यस्तो कारण थियो जसले ती मरे?

मणि दाजु, बेकार छ। हामी सदा नै आफूलाई छोप्न खोज्छौँ। हामी अर्काको मृत्युको समाचारबाट आफ्नू मृत्युको समाचार छोप्न खोज्छौँ। हामी अर्काको विश्वास पढेर आफ्नो विश्वास छोप्न खोज्छौँ। हामी आफ्नो मनको सत्य कुरा श्रद्धाले छोप्न खोज्छौँ। म जो ईश्वरको कल्पना गर्छु, त्यसको पूजा गर्छु, म आफ्नू औँलामा लागेको बोकाको रगतको रङलाई अबिरले छोप्न खोज्छु। तपाईँ जो साँढेमाथि सम्पादकीय लेख्नुहुन्छ, आफू गाई भएको छोप्न खोज्नुहुन्छ। मणिराज उपाध्यायलाई सम्पादक मणिराज उपाध्यायले छोपिरहेछ। शङ्कर लामिछानेलाई पति, पिता, व्यापारी शङ्कर लामिछानेले छोपिरहेछ। तपाईँ आत्महत्या गर्दै हुनुहुन्छ, म आत्महत्या गर्दै छु। तपाईँ र म नमरीकन के खबरलायक हुँदैनौँ? हाम्रो आत्महत्याको प्रोसेस के यति महत्वहीन छ हामी स्वयं त्यसबारे सोच्न लेख्न पनि चाहन्नौँ? यो सोचाइलाई छोप्नु नै हाम्रो जीवन हो त ?

मणि दाजु, यस मनोस्थितिमा म कसरी लेख लेख्न सक्छु?कसरी म साहित्यका सृजन गर्न सक्छु, कसरी म नेपाल आमाको सेवा गर्न सक्छु? कसरी म राष्ट्रियताको नारा लगाउन सक्दछु? जब मेरो नारा, मेरो भविष्य. मेरो भाग्य, मेरो विश्वास, मेरो खोसुवा पूर्जी, मेरो प्रमोसन, मेरो निमन्त्रण, मेरो मृत्यु खामबन्दी छ? जब एउटा पिउनले त्यसलाई ओसारिरहेछ, एउटा त्यस्तो पिउन जसलाई खामबन्दी चिठीको मजबुन थाहा छैन।

भो, मणि दाजू, विशेषाङ्क निकाल्ने आवश्यकता नै के छ र? तपाईँले विशेषाङ्क निकाल्ने अठोट नै गर्नुभएको छ भने म के भन्न सक्छुु र ! यत्ति हो- यस पटक म लेख दिन असमर्थ छु। सायद अर्को पटक तपाईँको पत्रिकाको हेडलाइनमा आउनबाट उम्किएँ भने- सायद अर्को वर्ष।

कृपया पत्र पढेर तुरुन्तै च्यातिदिनुहोला।

तपाईँको भाइ,
शङ्कर लामिछाने

2 thoughts on “शङ्कर लामिछानेले सम्पादकलाई लेखेको अजीबको पत्र जसमा पत्रकारिता र जीवनमाथि प्रश्न छ”

  1. बिक्रम द फटाहा says:
    January 12, 2017 at 1:28 pm

    मैले शंकर लामिछानेको केहि कृति पढेको छु| जति पढे त्यति नै म निरस हुदै रसिलो हुदै पनि गए जस्तो लागेको थियो| यो पत्र पढेपछि रसिलो भन्दा पनि निरसिलो वा निरसिलो भन्दा पनि रसिलो दुवै एकै साथ| साहित्य साहित्य मात्रै हुदैन यसले जीवनका धेरै प्रश्न र उत्तर एकै पटक दिन्छ यदि प्रश्न र उत्तर दुवै खोज्न जानियो भने —-

    यो संग मेल त खादैन तर शेयर गर्न मन लाग्यो| केहि समय अगाडी एक नयाँ सुरू भएको अनलाइन पत्रिका (जो आफुलाई नेपालको प्रथम डिजिटल पत्रिका भन्न रुचाउछ तर अहिले पाचौ बसन्त पार गर्यो कि सायद) लाइ फेसबुक मार्फत र इमेल मार्फत गरेको थिए जतिखेर उक्त पत्रिकाले आफ्नो स्थायित्वको लागि पाठकबर्ग संग केहि सहयोगको अपेक्षा गरेको थियो|

    उक्त प्रश्नको सार

    ” तपाइले पत्रिकाको लागि सहयोग पाठक वर्गबाट सहयोगको अपेक्षा गर्नु भएको रहेछ, अहिले सम्म म पनि तपाइको पाठक हो तर मैले किन सहयोग गर्नु पर्यो जब कि तपाइको “समाचार”हरु कति न कतै बाट साभार गरिएको हुन्छ र समाचारको अन्तमा लेख्नु हुन्छ “फलाना” पत्रिकामा छापिएको छ भनेर…”
    “तपाइको पत्रिका समाचार मात्रै दिने हो र केहि लेख केहि ब्लग मात्रै लेख्ने हो भने मैले किन सहयोग गर्नु पर्यो जब कि तपाइको अनलाइन पत्रिका नभएको भए पनि लेखकले अर्कोको सहयोग मा छाप्थ्यो”
    “तपाइँ अरुलाई गूगल एडसेन्सको क्लिक कुर्ने केहि ब्लग भनेर आरोप लगाउनु हुन्छ तर तपाईले अन्तमा त्यहि गर्नु भयो”

    “यदि तपाइले विकास सम्बधि विचार विमर्श शृंखलाबद्ध तरिकाले गराउनु भयो भने—
    यदि तपाइले समाजमा घटेका वा घट्न सक्ने सम्भावित घटनालाइ अनुसन्धानात्मक तवरले सम्प्रेसन गर्नु भयो भने—
    तपाईको पत्रिकाबाट केहि दिन देखि एक पक्षीय राजनीतिको गानगुण भैरहेछ यसको सट्टा पक्ष विपक्ष दुवै दिनु भयो भने —

    म सकेको आर्थिक सहयोग गर्ने छु” भनेर लेखेको थिए— केहि अपेक्षा अनुरुप आए अरु के भयो थाह छैन अचेल त्यो साभार हेर्नु भन्दा ओरिजिनल नै हेरिन्छ

    Reply
  2. Bipin Tripathi says:
    January 12, 2017 at 12:20 pm

    जीवन र जगत तिनले बुझुन जो मृत्यु को तयारी गर्न लायक छन् | धन्यवाद मेरो संसार

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme