Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

४ लाख तिरेर महिनाको हजार डलर कमाउन अफगानिस्तान हिँड्दा..

Posted on June 20, 2016 by Salokya

म सरोज, बाग्लुङको एउटा निम्न मध्यमवर्गीय परिवारमा जन्मिएको मान्छे। उमेर बढेसँगै बिस्तारै घरको जिम्मेवारी पनि बढ्दै जान थाल्यो। अनि सोच्न थालें, नेपालमा केही गरुँ, तर सकिनँ केही गर्न। युरोप जाने भनेर धेरै पैसा फँस्यो पनि। यस्तैमा साथीहरुले अफगानिस्तान बारे कुरा गरे। केही गइसकेका पनि थिए र धेरै कमाइ हुन्छ भन्ने सुनेको पनि थिएँ। अफगानिस्तान जाने आशामा झोला बोकेर हिँडे म काठमाडौँतिर।

काठमाडौँमा साथीले चिनेको एक जना मान्छे रैछ। दलाली गर्ने गर्दो रहेछ। नाम संकर उसको। ऊसँग भेट भयो। अनि उसले एउटा मेनपावर मा लिएर गयो। त्यहाँ गएपछि केही पैसा बुझाउन भन्यो। मैले ५० हजार दिएँ। अनि इन्टरभ्युको लागि खबर गर्छु भन्यो। त्यसको केही दिनमा इन्टरभ्यु छ आउनुस् भनेर फोन गर्‍यो।

इन्टरभ्यु लिने व्यक्ति विदेशी थियो। खासै केही सोधेन उसले।

“इंग्लिश जानेको छस्?”

“हल्का जानेको छु”

“अनि अफगानिस्तान किन जान लाको त?”

“गरिब छु सर, बेरोजगार छु, त्यसैले पैसा कमाउन जान लाको”

त्यसपछि खासै केही सोधेन उसले। यति भन्यो ‘काम अहिले फिक्स हुँदैन। त्यहीँ गएपछि तेरो क्षमता अनुसारको काम पाउँछस्। न्युनतम तलब १ हजार अमेरिकी डलर हुन्छ।” त्यसपछि मेनपावरको मान्छेले म कल गर्छु जानुस् भन्यो।

केही दिन पछि कल आयो- पर्सि फ्लाइट छ रेडी हुनु। पासपोर्ट, सबै कागजपत्र मेन पावरसँग थियो। अनि ४ लाख मध्ये बाँकी तिर्न भएको रकम तिरेँ मैले। फ्लाइटको दिन आयो। मनमा पैसा कमाइन्छ अब भन्ने पनि लागेको थियो। अनि भित्र-भित्र डर पनि थियो। धेरै सुनेको थिएँ अफगानिस्तान बारे।

एयरपोर्टमा सबै सेटिंग मिलेको रैछ, भिसा दुबइको टुरिस्ट रैछ। अनि दुबई पुगियो, एयरपोर्टमा त्यहाँको दलालले लिन आयो र एउटा ठाउँमा लिएर गयो। क्याम्प जस्तो थियो। त्यहाँ त नेपाली धेरै जना रहेछन् अफगानिस्तान जान भनेर बसेका। धेरै दिन त्यहीँ बसें। त्यहाँ पनि मान्छे आउने रहेछ अनि इन्टरभ्यु लिने रहेछ। सेक्युरिटी गार्ड, क्यासियर लगायत १० ओटा भन्दा धेरै इन्टरभ्यु दिएँ मैले २० दिन जति मा।
भोलि आउँछ भोलि आउँछ भिसा भन्थ्यो दलालले कहिले आएन। अनि एक्कासी एक दिन भन्यो अफगानिस्तानमा भएको तिमीहरुको एजेन्ट मर्‍यो, अब तिमीहरु इराक जानु पर्ने भयो।

म छाङ्गाबाट खसे जस्तै भएँ। सबैलाई थाहा थियो इराकमा नेपाली १२ जनालाई के भएको थियो। केही साथीहरु त फर्किए नेपाल। तर धेरै ऋण लिएको थिएँ मैले। त्यसैले ज्यानकै बाजी राखेर पनि इराक जाने निर्णय गरें।

दलालहरुले सबै सेटिंग मिलाउने रैछन् त्यहाँ पनि। भिजिट भिसा मै केही साथीहरुसहित मलाई पनि इराक लग्यो। एयरपोर्टमा एउटाले इन्टरभ्यु लियो। अनि सबैलाई एउटा कन्टेनरमा हालेर पठायो। अनि लगेर हामीलाई ट्रक जत्रो ठूलो कन्टेनर मा राख्यो। त्यस्तो गर्मी ठाउँ, हावा पनि मुस्किलले छिर्थ्यो, खाने-बस्नेको सुबिधाको त के कुरा गर्नु। एउटाको खुट्टा माथि अर्को सुत्यो, गनाएको छ, ट्वाइलेट पनि त्यही नै थियो कुनामा प्वाल बनाएको। टावल समाएर छेकिएर गर्नु पर्ने। सारै दुःख पाइयो। कहिले कुन मान्छे, कहिले कुन आउँथ्यो। दिउँसो इन्टरभ्यु लिन्थ्यो तर काम पाइएन। दिनभर कहिलेकाहीँ एक दिनको लागि काम पाए ३० डलर दिन्थ्यो। त्यो पनि कामको लागि फोन गर्दै सकिने। घरबाट लिएर हिँडेको १५०० डलर त दुबई मै सकिएको थियो।

अन्ततः करिब १ महिना जति त्यहीँ बसेपछि एउटा कम्पनीमा पास भएँ अनि त्यहाँ काम गर्न थाले। कमाइ त राम्रो नै हुन्थ्यो। दुःख धेरै नै थियो। अनि एक्कासी एक दिन हामी साथीहरु राति सुतिराखेको बेला १२ बजे तिर घरको गेट बाहिर बन्दुक पड्किएको आवाज आयो। जहिले नि बम पड्किराख्ने देश मा यो नौलो थिएन। यसो बाहिर हेरेको केही मान्छेहरु अनुहार मा मास्क लगाएर गेटको गार्डसँग बन्दुक खोसे अनि फेरि गोलि पड्काए। धन्न हाम्रो टाउको माथिबाट गयो गोली र बचियो। मान्छेहरु अगाडि बढे। हामी सबै बत्ति निभाएर कोठामा गयौँ। मैले नाइट कट्टु मात्र लगाएर सुतेको थिएँ। बाहिर त एकदम नै जाडो थियो तर कोठा न्यानो नै हुन्थ्यो। एक्कासी ढोकाहरु फोरेको आवाज आयो, म भुइँमा दबिएर थाहा नभए जसरी सुतेँ। मेरो ढोका नि हाने अनि फुटाएर भित्र पसे। पेस्तोल थियो हातमा। हात माथि गर भने, अनि घाँटीमा पेस्तोलको पछाडि पट्टिबाट एकदम नै नराम्रो सँग घाटी र कुममा हाने। असह्य पीडा भो, भएर के गर्नु ? अनि बाहिर निकाल्न लागेको थियो एउटाले भन्यो, लुगा लगा। मैले ट्राउजर र टिसर्ट हतार हतार लगाए अनि तल झारे कुट्दै। हामी करिब ५० जना जति थियौँ त्यो घरमा, सबैलाई ल्याएको रहेछ। उनीहरु करिब १०० जना। अनि कन्टेनरमा हाले कोचेर। लात्ताले पछाडिबाट हान्थे। अनि लिएर गए आँखामा पट्टी बाँधिएको थियो सबैको। कहाँ लागे भन्ने केही पत्तो हुने कुरा भएन। कुट्न त यति कुटे, आँखाबाट आँसु धाराको पानी जसरी बग्थ्यो। घर सम्झें, परिवार सम्झें, अनि इराकमा १२ जना मारिएको सम्झिएँ। अनि सोचे आज मेरो नि हालत त्यही हो। मनमा धेरै ग्लानी भो, यत्रो पैसा डुबाएर न ज्यान रहने भो न पैसा कमाइयो। मनमा धेरै कुरा खेलेको थियो, कुट्थे जसलाई जतिबेला मन लाग्छ न कारण भन्थे न केही भन्थे। एकोहोरो कुटेको कुट्यै। अब त मनको त्यो पीडाले गर्दा कुटेको पीडा नि थाहा हुँदैन थियो। अब पनि बाँचिन्छ भनेर त मनमा कहीँ कतै पनि थिएन।

“त्यहाँ तिमीहरु बसेको ठाउँबाट गोली चलेको थियो, कसले चला’को” भन भन्यो, कसैले उत्तर दिएन। थाहा पनि थिएन गोली चलेको त हामीलाई। करिब ४ घण्टासम्म कुटे कन्टेनरमा। त्यसपछि अब नेपाल जा भनेर सबैलाई छोड्यो। पछि कम्पनीको मान्छे आयो, माफी माग्यो। धेरै साथीहरु त नेपाल फर्किए। तर म फर्किन सकिनँ। २००९ को नोभेम्बरमा आएको म मार्च ४ तारिख २०१० मा यो घटना भएको थियो। ऋण बोकेर घर फर्किनु भन्दा बरु ज्यान जाला भनेर बसियो। अहिलेसम्म नि जसो तसो बसेकै छु। जसोतसो अब केही पैसा भयो भने नेपाल फर्किउँला भनेर कुरेको छु। कति बेला के हुन्छ कसैले भन्न सक्दैन यहाँ। सबै नेपालीहरु यहाँ पीडा नै पीडामा बसेका छन्। कोही १ वर्षसम्म काम नपाएर कन्टेनरमा दिनरात बिताउन बाध्य छन्। पाएकाहरुको पनि हालत उस्तै नाजुक छ। म भन्छु अब कोही पनि यस्तो नारकीय ठाउँमा नआउनू।

(नोट: अहिलेसम्म पनि उनको घर-परिवारमा कसैलाई यो घटनाबारे थाहा नभएको र थाहा भएमा हुन सक्ने मानसिक तनावलाई ध्यान दिएर पीडितको नाम परिवर्तन गरिएको छ। यो त्यतिबेलाको कुरा हो जतिबेला अफगानिस्तानमा नेपालीलाई जान प्रतिबन्ध लगाइएको थियो। अहिले भने वैधानिक रुपमा नै अफगानिस्तान जान पाइन्छ। तर पनि अनुमति नलिई अफगानिस्तान जानेहरु धेरै छन्। १२ नेपालीको मृत्यु हुने गरी सोमबार आत्मघाती बम विस्फोट भएसँगै सान्दर्भिक देखिएकोले यो ब्लग पुनः प्रकाशन गरिएको हो।)

तपाईँ वा तपाईँले चिनेका अरु कसैको यस्तै सत्य घटना छ र माइसंसारका पाठकलाई बाँड्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउनुस्

5 thoughts on “४ लाख तिरेर महिनाको हजार डलर कमाउन अफगानिस्तान हिँड्दा..”

  1. bhisma pradhan says:
    June 21, 2016 at 6:56 pm

    हैन आफ्नै गाउ घर म माछा पालन, पशुपालन, कुखुरा पालन, उन्नत खेती गरे हुँदैन? तेती पैसा ले जे ब्यवसाय पनि गर्न सकिन्छ नि, ति कुजात मुसल्टे हरु को लात खाइ खाइ मर्नु भन्दा ! हरे शिव !

    Reply
  2. zekar says:
    June 21, 2016 at 11:11 am

    This is the case of Mass Human Trafficking . The offenders should be punished according to the law. Poor people are being trafficked everyday.

    Reply
  3. zekar says:
    June 21, 2016 at 11:10 am

    यो त Mass Human Trafficking को case हो . एस्तो case लाइ कारबाही हुनु पार्छ .

    Reply
  4. sushil says:
    June 21, 2016 at 6:31 am

    ह्याँ क्या मजाको राष्ट्रवाद चल्दै छ काँ तपाईको कुरा सुन्छन?

    Reply
  5. Rohini says:
    June 20, 2016 at 10:44 pm

    आन्दोलनको देश नेपालका जनता हामी सधैको आन्दोलनले देशमै गरि खान दिएन | न त देश मा कामको अवसर छ न त आफै केहि गर्छु भन्दा देशमा काम गर्ने बाताबरण छ | महंगीले आकाश छोएको छ | सानो तिनो कमाइले खर्च धान्न सकिन्न | जसो तसो ऋण गरेर विदेश गयो कमाउन, अनि आइलाग्छ नसोचेको दुखहरु |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme