Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गाँजा, क्रिश्चियन र सदरमुकाम : माओवादी सशस्त्र युद्ध सुरु हुनुका तीन कारण

Posted on February 13, 2015February 14, 2015 by Salokya

maoist-army-training-02 १९ वर्षअघि आजकै दिन रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी माओवादीले सशस्त्र युद्ध सुरु गरेको थियो। २०५२ सालपछि झन भन्दा झन् सोचेभन्दा छिटो देशभर माओवादी फैलिएपछि यसको मूल जड पत्ता लगाउन अमेरिकाको अन्तर्राष्ट्रिय विकास सम्बन्धी संस्था युएस एडले आफ्नो खर्चमा रबर्ट गेर्सोनीलाई कन्सलट्यान्ट बनाउँदै एउटा अध्ययन गर्न लगाएको थियो। ‘सोइङ द विन्ड : हिस्ट्री एन्ड डायनामिक्स अफ दि माओइस्ट रिभोल्ट इन नेपाल्स राप्ती हिल्स’ शीर्षकमा २००३ मा प्रकाशित प्रतिवेदनमा माओवादी जनयुद्धको उद्‍गम स्थलमा विद्रोह सुरु हुनुका विभिन्न कारण पहिल्याइएको छ। त्यसैमध्येका तीन कारण : गाँजा प्रतिबन्ध, सदरमुकाम परिवर्तन र क्रिश्चियन गतिविधि

१) गाँजा प्रतिबन्ध

४० वर्षअघि रोल्पा र रुकुम पश्चिमी पहाडका सम्पन्न जिल्ला थिए। यी ठाउँबाट उत्पादन हुने गुणस्तरीय गाँजाका कारण कमाइने पैसाले उनीहरु नून, तेल, लुगाफाटा, चाँदीको सिक्का भएका नेकलेस, सुनका गहना किन्थे। उत्तरी रुकुम, उत्तरी रोल्पा र पूर्वी सल्यान र सुर्खेतका केही भागका जंगलमा समेत गाँजा उम्रन्थे। त्यतिबेला गाँजा गैरकानुनी पनि थिएन। त्यहाँका बासिन्दाको आयको मूल स्रोत नै गाँजा थियो। तर सन् १९७६ मा सरकारले लागू पदार्थ सम्बन्धी ऐन ल्याएर गाँजाको उत्पादन, बिक्री वितरणमाथि प्रतिबन्ध लगायो। प्रहरीले प्रतिबन्धलाई कडाइका साथ लागू पनि गर्‍यो। भारतीय सीमामा गएर नून वा तेलमा गाँजा साट्न गएका सामान्य किसानहरु समेत समातिए। गाँजा रोपिएका खेतहरुलाई जंगल भन्दै सरकारी जग्गा बनाइयो।

यो स्थानका बासिन्दाहरुलाई गाँजा प्रतिबन्ध टाढाको काठमाडौँ सरकारले लादेको एउटा त्यस्तो नियम थियो जसले उनीहरुको जनजीवनलाई प्रत्यक्ष असर पार्‍यो। गाँजामा प्रतिबन्ध लगाएपछिका वर्षहरुमा (सन् १९७६ देखि १९८० सम्ममा) उनीहरु गरिबीको चक्रमा पिल्सिए। बाँच्नकै लागि समेत छिमेकीहरुसित खाना बाँड्नु पर्ने स्थिति आयो। महिलाहरुले आफ्नो गहना धितो राख्नुपर्‍यो। र, परिवारलाई पाल्न केटाहरु गाउँ छाडेर काम खोज्न हिँड्नु पर्‍यो। गाँजामा प्रतिबन्ध लगाएर सरकारले आफ्ना लालाबालाको मुखबाट गाँस खोसेको उनीहरुले महसूस गरे।

स्थानीय नेताहरुले दरबारमा बिन्ति चढाए, लौ न सरकार केही राहत वा वैकल्पिक विकासको व्यवस्था गरिबक्सनु पर्‍यो। तर सुनुवाई भएन। राजा वीरेन्द्र सन् १९८३ र १९८८ मा हेलिकप्टरमा तकसेरा आएर यो ठाउँलाई राष्ट्रिय विकासको प्राथमिकतामा राख्ने घोषणा त गरे। तर कागजमा मात्रै।

गाँजा प्रतिबन्धले यहाँका बासिन्दामा सरकारविरुद्ध तीतो छाप छोडेको थियो। माओवादी सुरुमा फैलिएका ठाउँहरु गाँजा धेरै उत्पादन हुने ठाउँहरुमा पर्छन्।

२) सदरमुकाम परिवर्तन

पूर्वी रुकुम सन् ७० को दशकभन्दा अघि बाग्लुङ जिल्लासँग जोडिएको थियो, जसको सदरमुकाम ७५ देखि ९० किलोमिटर टाढा थियो। पूर्वी रुकुमका नेताहरुले आफ्नो क्षेत्र रुकुम जिल्लासँग जोडिनु पर्नेमा जोड दिँदै आएका थिए। रुकुमको क्षेत्रीहरुको बाहुल्य रहेको सदरमुकाम रुकुमकोट त्यहाँबाट नजिकै पर्थ्यो। बाग्लुङ र पश्चिमी रुकुमका बासिन्दाहरुले भन्दा यहाँका बासिन्दाहरुले उनीहरुसित राम्रै व्यवहार पनि गर्थे। प्रशासनिक कामहरु रुकुमकोटबाटै भए उनीहरुलाई सजिलो पर्थ्यो। ७० को दशकको सुरुतिर दरबारले हालको पूर्वी रुकुमका जिल्लाहरुलाई रुकुम जिल्लामा गाभ्ने निर्णय गर्‍यो। उनीहरुको सदरमुकाम रुकुमकोट भयो।

तर पूर्वी रुकुमका मगरहरुले यो खुसियाली धेरै मनाउन पाएनन्। अधिराजकुमारी शारदाको बिहे भएको कुमार खड्ग विक्रम शाहको ठाउँ मुसिकोट र राजा महेन्द्रसँग राम्रो सम्बन्ध भएका ध्रुवविक्रम शाह र उनका छोरा सैनिक जनरल विवेक शाहको गाउँ बाफ्लिकोटको शक्तिको प्रभावले पश्चिमी रुकुमले दरबारलाई रिझाउन सफल भयो। र, सदरमुकाम रुकुमकोटबाट मुसिकोट सारियो। राजपत्रमा सन् १९७३ को अप्रिलमा यो सूचना छापिएपछि अञ्चलाधीश लक्ष्मीराज भक्तले रुकुमकोटबाट सरकारी फर्निचर र फाइल नयाँ सदरमुकाममा सार्न आदेश दिए। प्रहरी मुसिकोटका बासिन्दाहरुसहित गएर सामान सारे। यसक्रममा सानोतिनो झडप भयो।

पूर्वी रुकुमका बासिन्दाहरु यसबाट साह्रै आक्रोशित भए। त्यहाँका युवाले घर घर गएर हामीहरुको भविष्य सदरमुकाम रुकुमकोटमा फर्काउनुमा छ, त्यसैले विरोध प्रदर्शनका लागि प्रत्येक घरबाट कम्तिमा एक जना उपस्थित हुनुपर्ने उर्दी जारी गरे।

अप्रिल १३, १९७३ का दिन १० हजारभन्दा बढी संख्यामा प्रदर्शनकारीहरु मुसिकोटतिर लम्किए। उनीहरुसँग ६० वटा बन्दूक, ५० वटा खुकुरी थिए। लाठी त कति हो कति। मुसिकोटमा कर्फ्यु लगाइएको थियो। तर भिडले त्यसलाई वास्ता गरेन। सब इन्सपेक्टर नरबहादुर खड्काले हवाई फायर गरे, तर भिडले टेरेन। प्रहरी र स्थानीय बासिन्दाले गोली चलाए। रुकुमकोटका २३ वर्षीय एक क्षेत्री त्यहीँ मारिए। एक मगर महिला घाइते भइन्। पछि उनको पनि मृत्यु भयो। एक जना सन्यासी पुरुष र अर्का क्षेत्री पुरुष घाइते भए। अग्लो डाँडामा बसेका प्रहरी र मुसिकोटका बासिन्दाहरुले ढुंगामुढा गरेपछि भिड तितरबितर भयो।

सरकारले यो विरोध जुलुसका आयोजकमध्येका नौ जनालाई गिरफ्तार गर्न वारेन्ट जारी गर्‍यो। यो घटनाको एक वर्ष पुगेको दिन रुकुमकोटका युवकहरुले राजतन्त्रविरोधी पम्पलेट टाँसे। उनीहरुविरुद्ध पनि वारेन्ट जारी भयो। सरकारले कसैलाई पनि पक्रन सकेन। उनीहरु या त भूमिगत भए या भागेर भारत पुगे जहाँ उनीहरुले कम्युनिस्ट पार्टीका कार्यकर्तालाई भेटे। सन् १९७४ को कम्युनिस्ट पार्टीको चौथो महाधिवेशनले पनि रुकुमको सदरमुकामको आन्दोलनलाई सम्बोधन गरेको छ।

माओवादी सशस्त्र युद्ध सुरु भइसकेपछि पनि पूर्वी रुकुममा माओवादीको दबदबा रह्यो भने पश्चिमी रुकुममा माओवादीविरोधीहरुको।

३) क्रिश्चियन गतिविधि

पूर्वी रुकुमको एउटा केन्द्र थियो तकसेरा। विक्रम संवत् २०२५ सालमा नेपाल सरकारको अनुमति लिएर त्रिभुवन विश्वविद्यालयमार्फत् समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्स (सिल) ले नेपालका भाषा र भाषिकाहरुको वर्गीकरण गर्ने सम्झौतामा हस्ताक्षर भयो। भाषाको आवरण दिए पनि यो संस्था आदिवासी भाषाहरुमा बाइबललाई अनुवाद गर्ने एउटा मिसनरी संस्था थियो। सिलका परियोजना निर्देशक डा. डेभिड वाटर्स मुस्ताङको जोमसोम हुँदै तकसेरा र पूर्वी रुकुमका अन्य गाविसहरुमा पुगे। त्यहाँ उनले खाम मगर भाषाको अध्ययन मात्रै गरेनन्, उनी र उनको परिवार त्यहीँ घर बनाएरै बस्न थाले।

डा. वाटर्सले बाइबललाई खाम भाषामा अनुवाद गरे। यसैबीच सरकारसँग सम्झौताको अवधि सकियो र वाटर्स परिवारले तकसेरा छाडे। उनले गाउँ छाडे पनि खाम मगर बोल्ने केही स्थानीय बासिन्दाले हरेक साँझ त्यहाँ मैनबत्ती बालेर उनीद्वारा अनुवादित बाइबलका पंक्तिहरु गाउँथे। प्रतिवेदनका अनुसार, चार वर्षपछि केही सयको संख्यामा स्थानीय बासिन्दाहरु क्रिस्चियन भइसकेका थिए जुन तकसेराको कूल जनसंख्याको सानो प्रतिशतमात्रै थियो।

जिल्लाको नयाँ सदरमुकाम मुसिकोट (यसअघि रुकुमकोट थियो) मा यो खबर पुग्यो। विश्वको एकमात्र हिन्दु अधिराज्यमा धर्म परिवर्तन गैरकानुनी थियो। पूर्वी रुकुमका मगरहरुमा धर्म परिवर्तन व्यापक रहेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीले अनुसन्धानका लागि प्रहरी पठाए।

स्थानीय क्रिश्चियन नेताहरुलाई पक्राउ गर्ने आदेश दिइयो। नौ जनाले आफूले क्रिश्चियन धर्म परिवर्तन गरेको स्वीकार गरे र उनीहरुलाई एक वर्षको सजाय दिइयो। अरुलाई धर्म परिवर्तन गर्न लगाएको आरोपबाट भने उनीहरुले सफाइ पाए। सपछि पनि धेरै क्रिश्चियनहरुलाई सताउने र पक्राउ गर्ने काम भयो। पूर्वी रुकुमका गैर क्रिश्चियनहरुसमेत यसबाट आक्रोशित भए।

जेलमा रहेका नौ क्रिश्चियन नेताहरुमध्ये संगीतमा अब्बल एक जनाले क्रिश्चियन गीतहरु खाम भाषामा रचेर गुपचुप तकसेरा पठाएको र त्यसबाट थप स्थानीय बासिन्दाहरु क्रिश्चियानिटीप्रति आकर्षित भएको प्रतिवेदनमा उल्लेख छ। पक्राउ परेका यी नौ जना क्रिश्चियन नेतामध्ये एक जना माओवादी भएको बताइएको त्यसमा उल्लेख छ।

०३९ सालतिर विदेशमा रहेका क्रिश्चियनहरुले तकसेरा जेलमा रहेका बन्दीहरुको बारेमा खबर पाएपछि उनीहरुको परिवारको लागि चन्दा संकलन गर्न थाले। यति धेरै रकम जम्मा भयो कि त्यहाँका क्रिश्चियनहरुले त्यो पैसा परिवारलाई मात्र नभई त्यो क्षेत्रकै पहिलो आर्थिक विकास योजनामा लगाउने निर्णय गरे। गाउँमा लामो समयसम्मको छलफल र अध्ययनपछि उनीहरुले नदीको पानीले चल्ने स्विट्जरल्यान्डमा बनेको मिल र एउटा सानो स-मिल किन्ने निर्णय गरे।

यो समुदायको पहिलो आर्थिक विकास परियोजनाले राम्रैसँग काम गर्‍यो। यो मिलले क्रिश्चियन र गैरक्रिश्चियन दुवै समुदायलाई सेवा दिन्थ्यो। मिल रहेको घर दुई तले थियो। माथिल्लो तल्लामा चर्चको मिटिङ हल थियो।

विक्रम संवत् २०४० सालमा एक क्षेत्रीय अधिकारीले तकसेरावासीलाई मिल बन्द गर्न पत्र लेख्यो। गाउँका मुखियाले पत्र लेख्दै बन्द गर्न अस्वीकार गरे। सरकारी अधिकारीले बन्द नगरे मिल भत्काइदिने चेतावनी दिए। गैरकानुनी रुपमा क्रिश्चियन भएकाहरुले आफ्नै पहलमा यस्तो परियोजना ल्याएर राजाको भूमिकालाई अवमूल्यन गरेको आरोप थियो। भत्काइदिने चेतावनी पाएपछि क्रिश्चियनहरुले थप जोखिम मोल्न चाहेनन् र मिल बन्द गरिदिए।

तर गैर क्रिश्चियनहरुले भने बन्द गर्न नहुनेमा जोड दिए। मिल बन्द गर्न प्रहरी गाउँको बाटो आउँदै गर्दा, प्रतिवेदनका अनुसार, गैर क्रिश्चियनहरुले, एम्बुस थापे। उनीहरुका हतियार खोसे, लुगा खोल्न लगाए, जुङ्गाका रौँ उखेले र कालो मोसो दली घाँटीमा डोरी बाँधेर तान्दै गाउँ डुलाए।

8 thoughts on “गाँजा, क्रिश्चियन र सदरमुकाम : माओवादी सशस्त्र युद्ध सुरु हुनुका तीन कारण”

  1. basant aakaash says:
    February 18, 2015 at 12:01 am

    जनजाति संस्कृति र परम्परा को बिनाश हुदै छ

    क्रिश्चियन धर्म ले सबै भन्दा पहिला जनजाति हरु लाइ निर्मुल पार्दै छ ! उनीहरु लाइ बाहुन छेत्री ले आजसम्म हेपेको भन्ने कुरा मा उरालेर उनीहरुलाई इसाइकरण गर्दैछन ! बास्तव मा बाहुन छेत्रिहरुले हेपेको सत्य पनि हो, तर क्रिस्चियन हरुले आफ्नो देश मा त्यतिखेर मानिस हरुल्लाई ज्युदै जलाउदै जबर्जस्ति क्रिस्चियन बनाउने काम गरिरहेका थिए तर यता नेपाल मा भने हिन्दु धर्म ले जनजाति हरुको मूल धर्म बिनाश गरेर हिन्दु धर्म लादेको थिएन नभए आज नेपाल मा एउटा पनि जनजाति रहने थिएनन् ! हिन्दु धर्म उपनिवेशवादी धर्म नभई जुन संस्कार र पद्धति लाइ पनि बिरोध नगरे मान्दै जाने बृहद बिचार मात्र हो, यसको पनि सदुपयोग र दुरुपयोग दुवै भएको छ तर हिन्दु धर्म का दुइ चार वटा कमजोरी हरु लाइ बैशाखी बनाएर क्रिस्चियन हरुले जनजाति हरु को नेपाल मा बिनाश गर्दै छन् र यो स्वयम् जनजाति हरुले नै बुझ्न जरुरि छ

    Reply
  2. Limbu HarataraH says:
    February 14, 2015 at 9:12 pm

    युद्व शुरु हुनाको ‘कारण’ थाहा हुदै जादा र अध्यनले धर्म-सम्प्रदाय, मोनोपोली, सोसैटी आदि नै त आए! के ‘वसन्तराज’ले विचार स्यर गरे झैँ लेसन लर्न गर्ने होइन सबैले? विगत त्यति दर्दनाक छन, वर्तमान झन् पिडादाई अब नेपालीको आकासे भविश्य झन् कस्तो होला?

    Reply
  3. bibek dhakal says:
    February 14, 2015 at 8:58 pm

    तत्कालिन ‘शाही’ भनाउदो पारिवारिक शाशन व्यवस्था र त्येसको नुन को सोझो गर्ने सरकारले देशको एउटा पिछडिएको भेगको जनताहरुले नून खान पाका छन् कि छैनन् भनेर समेत वास्ता नगरेर चाहिने नाचिने रास्त्रवादी र्यालीहरुमा पैसा फाल्दै मण्डले पाल्दै गरेको करतूत हरुको परिणाम हो माओवादी द्वन्द.

    गाउँमा कति घरधुरी छन्, ति घरधुरी मध्ये कतिको जग्गा जमिन कति छ, उब्जनी के कति छ, कस कसको आय श्रोत के हो, के के चिज को अभाव छ आदि कुरा ध्यान नदिएर क्रिस्चियन हरु कति गाउँ छिरेका छन् भनेर तथ्याङ्क संकलन गर्ने हिन्दुवादी सरकारको नालायकीपन को परिणाम हो माओवादी द्वन्द.

    रजौटाहरुको सम्बन्ध भएको कुनै सदस्यको प्रभावले सदरमुकामनै सार्ने निर्णय गर्ने चरम खसवादीहरुको मनपरिको परिणाम हो माओवादी द्वन्द.

    फ्रान्समा १७९२ ( २३० वर्षा अगाडी) काम नलाग्ने भनेर जनताले हटाएको व्यवस्था , राजतन्त्र, नेपालमा भने केहि बर्ष अघि सम्म आफ्नो ‘गरिमामय’ २५० बर्ष मनाउदै गरेको परिणाम हो माओवादी द्वन्द.

    Reply
  4. इन्द्र न्यौपाने says:
    February 14, 2015 at 3:03 pm

    बिचरा नेपाल सरकार आफ्नु देशमा कुनै विदेशी इसाई धर्म पर्चारक आयेर नेपाली गरीब जन्ता लाई आर्थिक प्रलोभन देखायेर जनता लाई इसाई करन बनाउदा सम्म पनि मुकदर्शक हुनु नै आज को अवस्था आउनु हो। नेपालमा पुर्णतया इसाई तथा मुस्लिम धर्म पर्चार मा रोक लगाउनु अत्यन्त जरुरी छ नेपाल सरकार को मुख हेर्नु भन्दा नेपाली जनता आफैं सचेत हुनु जरुरी छ लोभ लालच म आफ्नु धर्म कसैले पनि न बेचौ

    Reply
  5. Shankar says:
    February 14, 2015 at 7:41 am

    हिन्दु बौद्द को समाज मा जस्बर्जस्ती घुसेर आफ्नो धर्म प्रचार गर्न खोज्नु , सामाजिक सदभाब बिथोल्न खोज्नु यो भाबि ग्रिह युद्द निम्त्याउने कुटिल चाल हो | येस्ता कुत्सित तत्त्व लाइ बेलैमा चिनेर ठेगान न लगाउने हो भने गयो नेपालि समाज |

    Reply
  6. Tika gurung says:
    February 14, 2015 at 3:04 am

    गर्नु सम्म गरेको रहेछ यो जनैबदी सरकार ले जनजाती माथि

    Reply
  7. Kedar says:
    February 14, 2015 at 1:57 am

    आफैं राज्य हुँ भन्ने मुठ्ठीभर राजतन्त्रका माफियाहरुको कारणले उत्पन्न असंतोसलाई भजाएर जन्मिएको अर्को भाँ…. माओबादिको रडाको कहिले सकिने हो थाहा छैन

    Reply
  8. बशन्त राज says:
    February 14, 2015 at 12:54 am

    धर्म र आत्तंक अनि गाजा तेस माथि सरकारी दमन यी नै रहेछ नेपालमा जनयुद्ध को कारण / हाल विदेशमा खाश गरे युरोप त अमेरीकाबाट नया मुसलमान धर्म लीनेहरु नै आत्तंका पूर्ण कार्यमा संलग्न हुने गरेको पाईएको छ / नेपाली समाजमा एक उखान छ “नया जोगीले खरानी धेरै घस्छ/” जो धर्म परिबर्तन गरेर नया धर्म लीयाको हुन्छ त्यो आफुलाई धर्मात्मा देखाउन अनेकन कुक्रीत्य गर्न पनि पछि पर्दैन / अनि आफ्नो गलत अपराध पूर्ण कार्यलाई कुनै धार्मिक श्लोक भन्दै जायज भयको दावा गर्छ / पेरीशको कार्टुनिस्ट पनि येस्तै धार्मिक कुसस्करको बिरोधमा सबै धर्मका तथाकथित संदेश बाहकको तिनका ग्रन्थको कार्टुन बनाउदै बिरोध गर्थे/ तर तथा कथित धार्मिक जेहादी हरुले त्यो कार्टुनिस्टको सबैको हत्या गरे/ अनि त्यो हत्यालाई धार्मिक खोल ओडाएर जायज ठहराउन खोजे तर त्यो बाक स्वोतान्त्रता बिरोधि कार्य थियो/ यो धार्मिक आतंकबादको आगो पुरा युरोप अमेरीका, क्यानाडा ऑस्ट्रेलीय आदि मा फैलादो छ / हरेक धर्ममा सकारात्मक अनि नकारात्मक दुई पाटा हुन्छ/ नकारात्मक पाटालाई अन्ध विश्वास भन्निछ/ त्यो नै समाज बिक्रीतीको प्रमुख कारण हो / एसको समाधान जनचेतना अनि समान रोजगारको अबसर हुनु हो / तर एसको लागि सफा राजनीतिक नेता अनि नियत हुनु पर्छ / तर नेपालमा यो नै छैन फलत एक पछि अर्को राजनीतक संकटमा फस्दै गाको छ/ मध्य पूर्व तथा अरब राष्ट्रमा पनि सन् २०११ मा एक आन्दोलन को लहर उड्यो/ एसको सुरुवात तुनिसियाको एक युवाले नगरपालिका अगाडी एक दुकान राख्न्न खोज्दा नगरपालिकाको कर्मचारीले पैसा माग्यो/ त्यो युवाले दिन मानेन अनि पुलिश लगायर त्यो युबालाई हटाए/ पछि त्यो युवाले त्यही अगाडी आफुलाई पेट्रोल छर्केर आगो लगायो / त्यो आगोले त्यो युवालाई त मर्यो नै लगतै त्यो देशको २२ बर्ष देखि एकछत्र सासन गरेको राष्ट्रपति भाग्नु पर्यो/ त्यो आगो इजिप्टको होस्नी मुबारकलाई हटायो अनि लिबियाको कर्नेल गदाफी, अनि यमन को अलि अबुद्ल्ला सलेहलाई हटाउदै सिरिया सम्म फैलियो/ तुनिसिया त निर्बाचन गर्दै संबिधान बनायर प्रजातन्त्रको बाटोमा सफल भयो/ तर बाकी अन्य राष्ट्रमा तेशाले ग्रीह युद्धमा फसे/ इजिप्टमा अर्को सैनिक सासक राष्ट्र पति बने/ तर त्यहा अन्तरिक कलहको कारण बारम्बार पुलिश र सेनामाथि आक्रमण भैरहन्छ/ लिबिया त इस्लिमिक आतंकबादीको लागि स्वोर्ग नै भएको छ / यमनमा त्यहाको रास्ट्रपतिलाई जबर्जस्ति राजिनामा गराएर अर्को संकट निम्त्याएको छ/ हालै यमनको राजनीतक संकटको कारण अमेरीका ब्रीटेन फ्रान्स जर्मन ले आफ्नो दुताबासनै बन्द गरे / सिरिया त खरानी नै भयो भन्दा हुन्छ/ यो राष्ट्रमा धर्म, सम्प्रदाय अनि तानासाही सासन नै युद्धको प्रमुक कारण रह्यो/ यो देख्दा देख्दै माओबादी एमाले अनि कांग्रेशले नेपाललाई कुन संकटपूर्ण खाल्डो हाल्न खोजेको बुज्न सकिन/ तेसमाथि त्यो बैध बुडा जहिले पनि आन्दोलन आन्दोलन भन्छ ? हैन कस्तो ग्रीह युद्दमा फसाउन आन्दोलन आन्दोलन भन्या? उता विप्लब पनि त्यही आन्दोलन आन्दोलन भन्छ के नेपाललाई सिरिया बनाउने? कि लिबिया बनाउने ? कि यमन बनाउने ? यो जातीय सम्प्रदियक राजनीतिलाई छाडेर सहमतिमा आउन सकिन्न ? त्यो अर्को ओली के भाको फेरी खाली भड्काउ भड्काउ उखान टुक्का गर्दे कहिँ सहमति बन्छ ? सबैले दलगत स्वर्थ छाड्न सकिन्न ???

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme