Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसरी होला ‘आइस ब्रेक’?

Posted on January 26, 2015January 27, 2015 by Salokya

माघ १२, २०७१ का प्रमुख घटना :

  • अघिल्लो दिन संविधान सभा अध्यक्ष सुवास नेम्वाङ आफैले प्रश्नावली निर्माण गर्न प्रस्ताव समिति गठन गर्ने प्रस्ताव राखी ध्वनि मतबाट पारित गरेलगत्तै बसेको संविधान सभा भित्र रहेका १९ दलको विपक्षी मोर्चाले सरकार, दलहरु र सभाध्यक्षसँग ‘कट्टी’ गर्ने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट संविधान सभा बाहिर रहेका दलहरु समेत गरी बनाइएको ३० दलको मोर्चाको बैठकले तीन चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्‍यो।  आन्दोलनका कार्यक्रम हेर्दा उनीहरु पर्ख र हेरको रणनीतिमा रहेको प्रष्ट हुन्छ।

  •  आन्दोलन तीन चरणको भनिएको छ। पहिलो रहेछ भण्डाफोर तथा खबरदारी अभियान। २० गतेसम्म त तयारी मात्रै गर्ने कार्यक्रम रहेछ। २१ गतेदेखि ३० गतेसम्म गाउँ, नगर, निर्वाचन क्षेत्रीय स्तरको अन्तर्क्रिया, सभा, भित्तेलेखन, पर्चा वितरणको कार्यक्रम छ। फागुन लागेपछि बल्ल प्रदर्शन लगायतका कार्यक्रम छन्। फागुन १ गतेदेखि १० गतेसम्म धर्ना, घेराउ, जनप्रदर्शन, सभा गर्ने कार्यक्रम राखिएको छ। फागुन १६ गते काठमाडौँमा विशाल जनप्रदर्शन तथा सभा गर्ने भनिएको छ।  दोस्रो चरणको ‘क्रियात्मक कार्यक्रम’ सहितको आन्दोलन फागुन १७ देखि चैत १५ सम्म हुने भनिएको छ। यो ‘क्रियात्मक कार्यक्रम’  भनेको के हो उनीहरुलाई नै थाहा होला। प्रचण्डले चाहिँ , ‘यो अवधिमा सरकार कसरी प्रस्तुत हुन्छ, त्यसैअनुसार प्रतिरोध र प्रतिवाद गर्नेछौँ’ भनेका छन्। अनि  चैत १६ देखि भने आन्दोलनलाई निर्णायक तहमा पुर्‍याउने रे।  
  • विपक्षीमात्र होइन, सत्तारुढ दल पनि गाउँ जाँदैछन्। माघ ११ गते संविधान सभाभित्रै बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी ओलीले १० दिनसम्म गाउँ र आफ्नो निर्वाचन क्षेत्रमा गएर जनतालाई बुझाउन सभासद्हरुलाई निर्देशन दिएका थिए। त्यसको भोलिपल्ट कांग्रेसले पनि आफ्ना सभासद्हरुलाई यस्तै निर्देशन दिएको छ।
  • उता सत्तारुढ दल कांग्रेस र एमालेको बैठकले भने वार्ताको ढोका पनि खुला राख्ने र प्रक्रियालाई पनि अघि बढाउने निर्णय गरेको छ। कांग्रेस एमालेले प्रक्रियाको पक्षमा रहेका दलहरुसँग मंगलबार माघ १३ गते सल्लाह गरी थप निर्णय गर्नेछन्। उनीहरुले हिजै वार्ताका लागि प्रधानमन्त्रीलाई जिम्मा दिइसकेका छन्। यसअघि प्रक्रिया अघि नबढेसम्म विपक्षीसँग वार्तासमेत नगर्ने घोषणा सत्तारुढ दलले गरेको थियो। अहिले भने विपक्षीले वार्तामा नबस्ने घोषणा गरेको छ।
  • यो बीचमा एमालेको एउटै आवाज केपी ओलीमार्फत् आइरहेको भए पनि सोमबार माधव नेपालको लाइन सार्वजनिक भयो। उनले पत्रकार सम्मेलनमा कांग्रेस एमालेको नौ बुँदे सााझा अवधारणाको प्रस्ताव हतारमा ल्याएर विपक्षी बिच्किएकोले गल्ती भएको बताए।
  • राष्ट्रपति र एमाले अध्यक्ष केपी ओलीबीच भेट भयो। राष्ट्रपतिले विपक्षीलाई पनि समेटेर लैजाने प्रयास गर्न भने।  ओलीलाई एक दिन अघि नै राष्ट्रपतिले डाकेको भए पनि भोलिपल्टमात्र गएका थिए।
  • राजनीतिक ध्रुवीकरणले टुक्रिएका तीन माओवादी एकै ठाउँमा आउने संभावना देखिएको छ। प्रचण्डको एमाओवादी र वैद्यको बि माओवादी त अस्ति बन्द गर्दा सडकमा सँगै भइ नै सके। ३० दलीय मोर्चाको आन्दोलनका कार्यक्रममा पनि सकेसम्म वैद्यलाई पनि एकीकृत गरेर लैजाने नभए एकले अर्कालाई सहयोग गर्ने भनेर त प्रचण्डले पत्रकार सम्मेलनमै भने। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको  माओवादीले भने वक्तव्य निकालेर हालको संविधान सभालाई प्रतिक्रियावादी भन्दै त्यसमा सम्भावनाको खोजी गर्ने बहाना गर्नु एमाओवादी लगायत कतिपय ‌संसदवादी वामपन्थी शक्तिका लागि मृगमरिचिकाबाहेक केही नहुने भएकोले जनताको पक्षमा संघर्ष गरेकै हो भने संसद्वादको भ्रममा नपरी राजीनामा गरी जनताको बीचमा आउन आह्वान गरे।
  • विपक्षीले विरोध गरे पनि सत्तापक्षीय सभासद्हरु मात्रै ४९  सदस्य राखेर गठन भएको प्रश्नावली निर्माणको प्रस्ताव समितिको पहिलो बैठक संविधान सभा अध्यक्षले शनिबार एक बजे डाकेका छन्।
  • प्रचण्डले कान्तिपुरसँगको अन्तर्वार्तामा ओलीको विरोध गर्दै माधव नेपालको समर्थन गरेका छन्। उनले भनेका छन्- गिरिजाबाबु नहुदा, गिरिजाबाबु बिरोधी कांग्रेसमा हावी भए, माधब नेपाल बिरोधीहरू एमालेमा हावी भए । हिजोको शान्ति सम्झौताका निम्ति र जनआन्दोलनका लागि मिहिनेत गर्ने नेताहरुमा गिरिजाबाबु बित्नुसभयो, माधव नेपाल पराजित हुनुभयो । ओलीजस्ता आन्दोलनबिरोधी मान्छेहरु र सामन्ती निरंकुशतन्त्रका पक्षपाती रहे, त्यस्ता मान्छे हावी भए । यो सम्पूर्ण प्रक्रिया लथालिंग भएकोमा म असाध्यै चिन्तित छु । शान्ति सम्झौतालाई सम्मान गर्ने प्राप्त उपलब्धी, प्रतिबद्धता पालन गरेनन् भने ठूलै आन्दोलनमा जानुपर्छ । आवश्यक पर्‍यो भने जस्तोसुकै त्याग र बलिदान हुनुपर्छ भन्ने लाग्या छ।
  • समग्रमा अहिले स्थिति मेरो गोरुको बाह्रै टका भएको छ। शनिबार बस्ने विवादित प्रस्ताव समितिको बैठकले विपक्षी बिना प्रक्रिया अघि बढाउने हो कि, त्यसअघि आइस ब्रेक हुने हो, कुर्नुपर्ने हुन्छ। अहिलेसम्म भने संवादको कुनै लक्षण देखिएको छैन। यद्यपि सरकारले वार्ता आह्वान गरिसकेको छ र प्रधानमन्त्री र प्रचण्डबीच अनौपचारिक संवाद पनि भइसकेको छ।

5 thoughts on “कसरी होला ‘आइस ब्रेक’?”

  1. Aryan says:
    January 28, 2015 at 1:55 am

    ६०१ जनालाई AC नभएको कोठामा थुनेर राख्ने अनि त्यो गर्मीले गर्दा जस्तो पनि ice break नभई सुखै छैन ! अनि उनीहरुको सहमति नभई बाहिर निस्किनै नदिने, निस्किन खोजे भने सिस्नु पानीले बाकी रहेको ice सबै झारिदिने, येसो गरे कस्तो होला 😉

    Reply
  2. shivaji says:
    January 27, 2015 at 4:36 pm

    एकदम ठिक भयो! अरु कुरा त सबै मिलेछ रे ! बाकी कुरा, जातिये राज्ये भये अग्रगमन नत्र प्रतिगमन अचम्म! 2047 सालको सम्बिधान रे! के हामी लाटा छौ र? जात जात लै राज्ये बाड्नु भनेको झन प्रतिगामी कुरा भयेन र साथी हो!

    Reply
  3. डिल्ली says:
    January 27, 2015 at 10:41 am

    कताको आइस कताको ब्रेक । सबै ब्रेक फेल भएर दुर्घटना उन्मुख छ । देश हाँक्ने र संविधान निर्माण गर्ने प्रकृयानै ब्रेक फेल गतिमा छ । नेताहरू आइस बनेर हैन खोयामा जम्न थालेका छन् । घटनाक्रम हेर्दा लाग्छ सबै गोटीहरू नचाउने अर्कै छ अँध्यारोमा बसेर चलाइ रहेका यी १९ हो कि ३० दलीय गोटी हुन् वा सरकारी गोटी अँध्यारैमा टकराब गरिरहेछन् । बार्ता गरेर मिल्ला मिल्ला जस्तो भएर उठेकाहरू बैठक कोठा बाहिर के पुग्न भ्याएको हुँदैन पानी बाराबार र आँखा झिमिक्क पारि सक्दा हानाहानको स्थितिमा पुग्छन् । दल नमिलेका पनि हैनन् । मिल्न खोजे पनि मिल्न नदिनेहरूको गोटी बनेर चलिरहेका छन् । डरले चलेका छन् कि लोभले तर जसरी भए पनि लबस्तरो बनेर चलिरहेछन् समग्र नेपालीको भविश्य धरापमा पार्दै । असहज स्थितिमाझ नेताहरू पत्कर सरह भएर पनि नेपाललाई मलजल गर्लान कि छिमेकी हलगोरु बोकेर आँगन जोत्न आउने हो समयले बताउला ।

    Reply
  4. Kamal bishwokarma says:
    January 27, 2015 at 10:31 am

    प्रचण्ड लाइ राष्ट्रपति दिन्छु भन्ने हो भने कुरो तत्काल मिल्छ! त्यसैले भोलि राष्ट्रपति देउ नदेउ तर कांग्रेश एमाले ले अहिले चाही प्रचन्डलाई राष्ट्रपति बनाउछौ भनेर सहमति गरे हुन्छ! प्रचन्डले पनि अरुलाई झुक्क्याकै हुन्!

    Reply
    1. jeevan verma says:
      January 28, 2015 at 8:54 am

      कुरो अति सहि हो. जे भए एउटा खेस्रो संबिधान बने कम्तिमा पनि अलिक स्तयित्व त हुनेथियो होला.

      आखिरी दुइ तिहाई ले फिर्ता बोलाउन सकी हलिंछा, छबिलाल दाहाल ले दुइवतै कुरा संगै गर्ने. संबिधान पारित र राष्ट्र पतिमा चुनाब | जब सम्म्बिधन मा दस्ता खत हुन्छा तब दुइ तिहाई ले राष्ट्र पति बाट फिर्ता बोलाउने अनि सिबिर मा गरेको भ्रस्ट चार काण्ड लागेर जेल हाल्ने.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme