Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गढिमाईमा रक्तपात होइन, गौदान गर्ने चलन बसाउन सके कसो होला ?

Posted on December 12, 2014December 12, 2014 by Salokya

– साक्षात सुशील –

gadhimai3 गढीमाईको मेला सकियो । शाकाहारी र मांसाहारी बीचको वाकयुद्ध पनि राम्रैसँग हेर्न पाइयो । पश्चिमी बोक्रे पशुअधिकारीबादी र तिनीहरूविरुद्ध खनिएका लेखहरूको स्वाद पनि राम्रै चाख्न पाइयो । तर वास्तविक रूपमा हिन्दू धर्मले ईश्वरको नाममा कसैको घाँटी रेट भनेको छ कि छैन, यस तर्फ कति जनाको ध्यान गयो थाहा भएन।

कहिले मिसिनारिजको रूपमा कहिले त कहिले ब्यापारीको रूपमा छिरेर आफू भन्दा फरक समाजमाथि धावा बोल्ने मानसिकता पश्चिमी डलरवालाहरूको अझै हटेको छैन । गढिमाई मेलामा पशुअधिकार हनन भयो भनेर कुर्लिने ती पश्चिमीहरूले स्पेनको साँढेलाई भालाले घोप्न दौडिएकालाई सम्झाउन किन नसकेको ? डेनमार्कका डल्फिनमाथि प्रहार गरिने भाला किन रोक्न नसकेको ? साँझ बास बस्न लागेको चरालाई गोली हानेर खसाल्न पाउने अमेरिकी शिकारी संस्कृति किन रोक्न नसकेको ? खैर कैयौ देशमा आक्रमण गरेर नरसंहार गर्ने तेल राजनीति रोक्न छोडेर गढीमाईमा पशुअधिकारको वकालत गर्न आउनु फगत दादागिरी मात्र हो । भोलि उनीहरूको फोक्स च्यानलमा ‘विश्वलाई सभ्यता सिकाउदै’ भनेर उनीहरूकै बारेमा डकुमेन्टरी नबन्ला भन्न सकिन्न । गढीमाई मेलामा पशुअधिकार हनन भयो भनेर टाउको दुखाउनु भन्दा इराक, अफगानिस्तान, लिबियालाई अस्तब्यस्त पारेर भएको चरम मानवअधिकार हननलाई सुरुमा रोके हुन्थ्यो।

शाकाहारी भर्सेज मांसाहारी

म मांसाहारी हुँ । धर्मले हिन्दू हुँ । आत्मा साक्षी राखेर भन्दा गढीमाई मेलामा भएको पशुसंहारको फोटो देखेर स्वामी बिबेकानन्द झै उत्पात करुणा भाव पलाएर भुईमा लडिबुडी गरेर रोइन । न त धर्मको नाममा अबोध पशुको घाँटी छिनालिएकोमा महिषासुर राक्षस झै हाँसे न त रोमनी राजा निरो झै बाँसुरी बजाएर आनन्द लिएँ । तर हिन्दू दर्शनको गलत व्याख्या गरेर अज्ञानीहरूले गरेको पशुसंहार प्रति दु:ख चै पक्कै लाग्यो । संसारको प्राचिनतम ग्रन्थ ऋग्बेद हिन्दू दर्शनको मुल स्रोत हो जसले पूर्णतया हिँसालाई निषेध गरेको छ । तर हिन्दू धर्मका कतिपय ग्रन्थको गलत व्याख्या गर्दै पशुबली दिने प्रचलन अझै पनि छ । जसको निकट उदाहरण हो गढीमाईको मेला ।

हिन्दू दर्शनले अहिँसाबादी धर्म हो तर यसको अर्थ गालामा टोक्न आएको लामखुट्टेलाई सम्मानपुर्वक झ्यालबाट बाहिर पठाइदिनु भनेको पनि होईन । शरीरको रक्षा गर्नु पहिलो धर्म हो । कसैले अन्न,सागपात र फलफुल मात्र खाएर दिर्घजिबी, निरोगी र सुबिचार लिएर जिन्दगी बिताउँछु भन्ला कसैले कानुनले दिए सम्म जीवनका सबै पक्षको अनुभव लिन्छु भनेर बाँच्नको नीम्ति मांसाहार गर्छु भन्ला । त्यो पनि ठिकै छ । हिन्दू दर्शनको अक्षरश: पालना सबै हिन्दूले गर्न सक्दैनन् । तर यसको अर्थ धर्म गर्छु रे भनेर मन्दिरमा लगेर कसको घाँटी रेट्छ भने त्यो गलत हो । मन्दिर जस्तो पवित्र स्थललाई रक्ताम्य बनाउनु भनेर् हिन्दू दर्शनले भनेको छैन यो राम्रोसँग बुझौ ।

गढीमाई मेला भर्न आउने अधिकांस भारतका उत्तर प्रदेश र बिहार जस्तो पिछडिएको राज्यबाट आउँदा रहेछन भने नेपालका तराई । जहाँ चरम गरिबी र अज्ञानता ब्याप्त छ । हिन्दू दर्शनले दिएको आध्यात्मिक ज्ञानको प्राप्तिले मनमा आनन्द, शान्ति र प्रेमको अथाहा बर्षा हुन्छ तर मेला भर्ना आएकाहरूमा चामत्कारिकतामा बढी बिश्वास गर्दा रहेछन् । अध्यात्मिक केन्द्रमा आएर भौतिक उपलब्धिको आशा गर्ने त्यो पनि चामत्कारिक रूपमा । कसैलाई धनी हुनुपर्यो – पाडो काटेर चढाईदियो । अब धनी हुने पक्का । वाह ! क्या काइदा । निम्न बर्गिय मान्छेले ऋण गरेर पाडो किनेर मारेर चढाएपछी धनी भईन्छ ? पाडो काटेर प्राडो किनिन्छ कहि ? कसैलाई रोगले सताईरहन्छ भनेर पाडो काटेर लडाएर हुन्छ ? रोगले सताउछ भने प्रतिरोधात्मक क्षमता बढाउन जानुपर्यो नी पतन्जली योग शिबिर । खानु पर्‍यो नी आयुर्बेदिक खुराक । यी पनि हिन्दू धर्म कै उपलब्धि त हुन नी । कसैको मनमा शान्ति हुँदैन, जतिखेर पनि छट्पट्टी चलिरहन्छ भन्दै पशुबली चढाएर हुन्छ ? आफै हिँसामा उत्रिने अनि शान्तिको अपेक्षा गर्ने ? मनमा शान्ति आनन्द मिलेको छैन् भने जानुपर्यो नी बिपस्यना शिबिर की त ओशो तपोबन । ती पनि हिन्दू दर्शन कै उपलब्धि त हुन नी । जाँचमा राम्रो नम्बर ल्याउनु पर्‍यो भन्दै बोका बली चढाएर हुन्छ ? त्यसको लागि त पढ्नुपर्यो नी राम्रोसँग । दिमाग तिक्ष्ण छैन, आत्मबिश्वासको कमी छ भने जानु पर्‍यो नी डा योगी बिकासानन्दको मनोक्रान्ती शिबिरमा । ’सुपरसाइको साईबरनेटिक्स र सुपर लर्निङ’ भन्दै आध्यत्मिक र भौतिक परिवर्तन गर्न लागिपरेका छन उनी । हिन्दू दर्शनको महानतम उपलब्धिहरूलाई चटक्क बिर्सेर गलत व्याख्यातिर उन्मुख भएर धर्म कमाईँदैन ।

कतिपय फेसबुके मित्रले यसलाई ‘हिन्दू संस्कार’ भन्दै मान्नुपर्ने भन्दै घुमाउरो स्ट्याटस लेखेको देखे । महादेवको निन्दा सुन्न नसकी अग्निकुण्डमा हामफालेकी सतीको नाममा कैयौ विधवा नारीहरू जिउँदै जलाइए । कुन चै अजासुको लहैलहैमा लागेर सुरु भएको तथाकथित ‘संस्कार’ बल्ल बल्ल अन्त भयो । रजस्वला भएपछि गोठमा बस्नुपर्ने छाउपडी प्रथा अझै छ । बोक्सीको आरोपमा दिसा खुवाइएको घटना आइरहन्छ अखबारमा । हिन्दू दर्शनको मनलाग्दी व्याख्याबाट चलेका कैयौ संस्कारहरू छन । जसलाई आँखा चिम्लेर पालन गर्ने होईन की समय सापेक्ष परिवर्तन गरिनुपर्छ । हिन्दू शास्त्रले भन्छ जीवन आफैमा एक यज्ञ हो । यसको अर्थ हुन्छ जसरी मैनबत्ती आफू सकिएर जगतलाई प्रकाश दिन्छ, त्यसैगरी जीवनभर परिवार, समाज, राष्ट्र र विश्वप्रति योगदान गर्दै गर्दै एकदिन सकिनेछ । त्यही भनाईलाई ‘ हिन्दू धर्मले जीवन एक यज्ञ ‘ भनेको छ भन्दै भटाभट मान्छे टिप्दै आगोमा हालिदिनु भएन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पशुपति दर्शनपछि भारतीय कलाकार ओइरिएका छन पशुपतिमा । जी- २० सम्मेलनमा टर्कीका प्रधानमन्त्रीले ‘ नेपाल अध्यात्मको केन्द्र ‘ भनेर् भाषण गरेपछि विश्वले नेपाललाई हेर्ने दृष्टिकोणमा पक्कै फरक ल्याउनेछ । गौतम बुद्ध जन्मिएका र हिन्दू दर्शनका ठुला ग्रन्थ लेखिएका हाम्रो देशलाई अध्यात्मिक केन्द्र कै रुपमा अघि बढाउन सकिन्छ । गढीमाईको मेला जारी रहनुपर्छ । तर रक्तपात मच्चाएर होइन । हिन्दू धर्ममा गौदान पुण्य कार्य हो । गढीमाई मेला भर्ना आउँदा एउटा गाईको बाछी गरीब किसानलाई पाल्न दियो भने पुण्य मिल्छ भनेर् प्रचार गर्न सकियो भने सामाजिक र धार्मिक सुधार हुने थियो । आध्यात्मिक देशमा रक्तपातबाट फाइदा लिने होईन बरु हिन्दू दर्शनको गलत व्याख्या सच्याउदै गरीब किसानलाई गाईदानको प्रथा सुरु गर्न कसैले सुझाव दियौ भने आउँदो पाँच बर्षपछी गढीमाई मेलाबाटै गरीब किसानको उन्नति हुने थियो । धर्म पनि हुने अर्थोपार्जन पनि हुने । कल्पना गरौ ५ हजार पशु मारिने ठाउँमा ५ हजार गाईको बाछी गरीब किसानले पाउने छन । जसरी प्रचार प्रसारको कारण भर्खरै सुरु गरिएको चतराधाम कुम्भ मेला भब्य हुन पुग्यो । त्यसै गरी गढीमाई पनि भब्य बनाउन सकिन्छ । प्रचार प्रसारमा लाग्ने कि ?

17 thoughts on “गढिमाईमा रक्तपात होइन, गौदान गर्ने चलन बसाउन सके कसो होला ?”

  1. गगने says:
    December 13, 2014 at 5:10 pm

    भनेर भन्नलाई त जे भंदेपनी हुन्छ तर कुरो अलि सुहायन कि भन्ने पो त् कुरो!
    रागो को पाडाहरु ल्यायर बलि नामको धार्मिक आवरण वोडायर काटि धर्मकै नाममा आत्मासन्तोक्षका साथ् माशुखाने इच्छा पुरा गर्ने यो परम्परा जन्य प्रथालाई अब गाइ ल्यायर दान गरि बिस्थापित गर्ने कुरा आग्रा र गाग्राको जस्तो तन्काइ भयोकि त्?
    नेपोलियनको ‘दुनियामा असम्भव भन्नेकुरा छैन’ भनेर कुरैको लागि गर्ने हो भने त ठिकै छ मच्चिमच्चि हो हो वा वा भनौला तर त्यो पनि एक दिनको लागि र यो माइसंसारमा मात्र रहने छ!
    यो हौवा भन्दा तेसलाई र त्यो प्रथालाई कसरि ब्याबस्थित गरि समयानुकुल सुधार गर्ने कुरामा बिचार बिमर्श गरौन साथि!
    गाई पाय उनीहरु आफैले पालेर दुध पिउथेहोला! फेरी गाई दान गरेर रागोको संख्या घट्ने होइन अनि त्यो भयको रागो र पाडो लाइ चाहि क्यार्छन नि ?
    गढिमाइ मेलाले त यी मेलाजन हरुलाई एक पन्थ पांच काज बनायको छ!
    धर्म (मान्ने ले मान्छन नामान्ले को आफ्नै कुरा) पनि हुने!
    भ्रमण र मनोरंजन पनि हुने!
    मासुको आपूर्ति पनि हुने!
    गोठको अनाबस्यक र अनुपयोगी जनावरको ब्याबस्थापन पनि हुने!
    स्वोस्था सुरक्षा र सफाइको हेतु आफ्नो घर समाज परिवार सुरक्षित पनि रहने!
    यी कुराले गढिमाइ मेला निरन्तर स्थापित् चलिरहेको छ! अनि उत्तर भारतबाट बथानका बथान रागालियर मेलाजन आउछन!
    बलि हेतु ल्याइयका रागाहरु तेहा अर्पण गरि पुजा चरण गर्दै तर्पाई बलि योग्य बनाउने अनि बी स्वीकार गरियको भनेर रागोलाई टिको लगाइदियर काट्न चाहि आफ्नै समाज घर आगनमा लागि काट्न पर्ने उर्दी चलाई दियामा यो गढिमाइ मेला पहिलो पाच बर्ष त लाग्ला तेसपछी को दोश्रो मेला ९०% भन्दा कम हुने छ! अनि आफै नियोजन हुने छ!
    काट्न उनीहरु आफ्नै घरतिर नलागेपनि तेतै छेउ छाउमा ब्याबस्थित बगरे घर संचालन गरि सुल्क लियर सो बलि चडाइयका रागो काटि दिने कार्य गरेमा अझै यो परम्परा र प्रथाको पनि ब्याबस्थिकरण हुन् जान्छ!
    बरु तेता सोची बहश चलाउन हामीले!

    Reply
  2. ekraj says:
    December 13, 2014 at 8:54 am

    अति राम्रो विचार र सुजाब| Dharma को नाम मा गर्ने कुपर्चलन, संस्कार को नाम मा अन्धबिस्वास का दास ले गर्ने बिजोग, तेस्तै कुरीति को आड मा जिवानोपर्जन को बाटोको निरन्तरता दिने पाखण्डी हरुको जमात ,अनि यस्तै कुरालाई राजनीति मसला बनाएर भेडा बाख्रा माथि राज्निकिक दलाल, भ्रस्ट, जाली हरुको बोलबाला रहन्जेल, सम्माज को उत्थानको लागि ठुलै मेहनत् चाहिन्छा|
    अनेक खाल का कमेन्ट र धारणा हरु पहिले गरिएको बिबेचना हेर्दा- राजनैतिक इच्छा र सर्ब सर्ब साधारण को मनोबल ;मा ठुलै परिबर्तन हुनु पर्ने देखिन्छा|
    तर नया युबक को ठुलो संक्याले यो कुरीति लाइ हटौना लेखक को सुजाब जस्तै सकारात्मक परिबर्दन गर्नेतिर लागे भने राम्रो बाटो खुल्ने सम्बवाना देखिन्छा\

    Reply
  3. Pratigya says:
    December 12, 2014 at 7:42 pm

    दान दिने प्रचलन भनेको सबै धर्मको सबै भन्दा आदरणीय प्रचलन हो, तेसैले जनावरलाइ दुख दिएर मार्नु सट्टा कोहि गरिबको हातमा सुम्पिदिएको भए, दानको रुपमा पठाइएको जनावर र दान पाउने व्यक्ति दुवै एक अर्काको लागि जीवन जिउने आधार बन्थ्ये होला |

    Reply
  4. प्रविण कुमार के.सी. says:
    December 12, 2014 at 7:18 pm

    होचाकी जोई सबैकी भाउजु भनेको उखान त थाहा नै होला । जिउदो साँढेलाई भालाले रोप्‍ने, बास बसेका चरालाई गुलेली ए सरी गोली हानेर खसाल्ने, जिउँदो डलफिनलाई भालाले हान्ने, अनि तथाकथित आतंकवाद नियन्त्रण गर्ने आफ्नो उदेश्य प्राप्तीको लागि ईराक, अफगानिस्तान, लिबिया ईत्यादी राष्ट्रहरुमा जबरजस्ती आक्रमण गरेर मानव अधिकारको धज्जी उडाउने अधिकार प्राप्त गर्नको लागि मानव अधिकार, पशु अधिकार, जल अधिकार, मल अधिकार, खै कुनी के अधिकार अधिकार पसल खोल्नलाई प्रशस्त लगानी गरेर आफ्नो देशमा बरालिएका देशवासीहरुलाई बिदेशमा लगेर आफ्नै लगानीमा माथि उल्लेखित अधिकार पसलहरु संचालन गर्न सक्ने अार्थिक हैसियत हुनु जरुरी छ । त्यस्ता देशहरुले गरेका जुनसुकै काम कारवाही र हत्या हिंसा कुनै पनि अधिकारको हनन् नभएर विकसित देशहरुले विभिन्न अधिकार अथवा प्रकृतिको ईको सिस्टम कायम गर्नको लागि गरेको योगदान वा उक्त देशको उच्चतम र अति राम्रो सँस्कृति ठहरिने छ ।
    नेपाल जस्तो विकासोन्मुख र चरम राजनितिक अस्थिरता भएको देश जस्को बार्षिक साधारण खर्च धान्न समेत बिदेशी सहायता र ऋणको आवश्यकता पर्दछ भने त्यस्तो देशका हिन्दु धर्मावलम्बीहरुले पुजाको नाममा मुर्तिमा चढाएको चोखो पानी, अबिर केशरी आदीलाई पनि खिसिको साथ ब्याख्या गरिन्छ भने बलि दिंदा त के सम्म हुने रहेछ भन्ने कुरा गढिमाईको समर्थन र बिरोधमा प्रकाशित भएका लेख रचना र समाचारहरुले प्रस्ट पारेको छ ।
    देशभित्रको कुरिति अथवा सँस्कृति जे सुकै भए पनि त्यसलाई संचालन, परिमार्जन वा परिवर्तन गर्न देशवासीहरु आफै सक्षम हुनु पर्नेमा दाश मानसिकतालाई देखाएर बिदेशी प्रभुहरु गुहार्ने र देशको आन्तरिक मामेलामा परचक्रीलाई खेलवाड गर्न स्पेश दिने हामी जनताहरुनै बेवकुफ हौं भन्दा अत्युक्ति कदापी हुने छैन ।
    तसर्थ गढीमाईको बली प्रथा होस वा जुनसुकै राजनितिक साँस्कृतिक वा आर्थिक कार्यक्रमहरु देशवासीहरु आफै मिलेर समाधान गर्नुको साटो देशभित्रको समस्या देशभित्रै समाधान गर्ने र बिदेशी प्रभुहरुको चाकडी गर्ने प्रथालाई उन्मुलन गर्न नसकेमा आगामी दिनहरुमा नेपालीहरुको हरेक सकारात्मक वा नकारात्मक जुनसुकै कार्यलाई त्यस्ता बिदेशी प्रभुहरुले कुरितिको उपमा दिनेछन् ।

    Reply
  5. Gita Gurung says:
    December 12, 2014 at 7:01 pm

    साक्षात सुशीलजी,

    अहो! बड़ो राम्रो उपाय ल्याउनुभो यो गड़िमाइको पशुसंहार कुप्रथालाई अंत गर्ने । त्यों भन्दा पनि अझ वैदिक परंपरा पूर्ण हिन्दू धर्मलाई आफ्नो फाइदा हुने किसिमले गलत व्याख्या गरेको देखदा मेरो मन सारै कुढिन्छ । हाम्रै यो वैदिक परंपरा लाइ अंगालेर हजारौ विदेशी हरु वैष्णव भएका छन तर हाम्रै आफ्नै देशमा चाही हाम्रै जनताबाट यस्तो पाप काम भैरहेको छ ! आउनुस् केहि गरौ हाम्रो धर्म संस्कार र हाम्रो देश नेपालको नाम कलंकित हुनबाट बचाओ । पाड़ो काटने ठाउँमा वृन्दावनधाम को जस्तो गोशाला खड़ा गरौ । त्यहाँका कृषकहरुलाई सहयोग गरौ ।

    यदि तपाई आफ्नो यो उच्च विचार लाइ यहाँ केवल एउटा ओठे जवाफी लेखको रुपमा मात्र सिमित नराखी यसलाई गम्भीरतापूर्वक सोच्नु भएको छ भने तलको ईमेलमा संपर्क राख्नुस । हाम्रो देश र संस्कृतिलाई तपाई जस्तो नागरिकको सशख्त खाँचो छ |

    [email protected]

    Reply
  6. श्रीकर says:
    December 12, 2014 at 6:53 pm

    एकदम राम्रो, एकदम सकारात्मक बिचार,

    सुशीलजीलाइ नेपाल को राष्ट्रिय दैनिक पत्रिका मा येस्तै लेख हरु प्रकाशित गर्न अनुरोध गर्दछु, एकदम जरुरि छ, हिन्दुलाइ हिन्दुको ज्ञान दिन,

    धर्म(धर्म भीरु) र कु-संस्कार (पण्डित) को ब्यापारीहरुले सभ्यता को नामो निसान मेतिसके हिन्दु धर्म को नाम मा, मान्छे मा चेतना नभाको होइन, तर प्रष्ट बिचार र दिशा निर्देश गर्न सक्ने प्रतिभा पनि हुनु पर्यो, मैले त्यो येंहाको मा देखें, कृपया नेपालको राष्ट्रिय दैनिकमा पनि लेख्ने गर्नु हुन अनुरोध छ |

    Reply
  7. सुगतशरण तुलाधर says:
    December 12, 2014 at 6:10 pm

    यो विचार सामयिक र उत्तम छ .
    गौदान शास्त्र सम्मत र पुण्यदायक अनि सभ्य संस्कारको प्रतिक पनि .
    बरु , प्रत्येक पांच वर्ष मा मात्र होइन , हरेक साल नै यसको प्रचलन भए अझै राम्रो .
    यस निम्ति , नेपाल र भारतका ख्यातिप्राप्त विद्वान पण्डितवर्गले सकारात्मक हुने जरुरी .
    नेपाली संचार माध्यमहरु , खास गरी धार्मिक च्यानल र एफएमहरुबाट प्रचार गरे प्रभावकlरी
    भागवत कथा र कीर्तन आदिबाट मनग्गे यश आर्जन गरिसकेका दीनवन्धु पोखरेल जस्ता नया सोच हुने जवान पण्डितहरुले यस पुण्य कार्य सफल पार्न ठूलो योग दिन सक्षम हुनेछ.

    Reply
  8. डिल्ली says:
    December 12, 2014 at 2:23 pm

    हिन्दू धर्म भनेर बेलायतिले साम्राज्य फैलाए पछि नामाङ्करण गरिएको बैदिक सनतातन धर्म मान्ने सम्प्रदाय हो जो सिन्धु घाँटी आसपास विकसित विरासत पनि हो । यसमा सबै किसिममा मानिस सबै वर्ग अँटाउन सक्छन् । सबै सम्प्रदाय अटाउँन सक्छन् । के मांसाहारी के शाकाहारी के आस्तिक के नास्तिक सबै अटाउन सक्ने धर्म हिन्दू धर्म मात्र हो । जसले जस्तो आचरण बोके पनि हिन्दू हुन सक्छ । त्यसैले यस्मा मरेका मानिसको मासु खाने अघोरी देखि शाकाहारीसम्म रहेका छन् । हिन्दू धर्मले अध्यात्मीकतालाई जोड दिएको छ जसले परम सत्यलाई अनुभूत गर्न सक्छ र यसकालागि सात्विक भोजन र निश्काम व्यवाहार जरुरी हुन्छ । आहारले व्यक्तिले गर्न सक्ने चिन्तनलाई प्रभावित पार्ने हो ।

    अहिले गडीमाई पशुवधलाई हिन्दू धर्मका कुनै मूल ग्रन्थले सही मान्दैन र मान्न पनि सकिदैन । तर इतिहाको उल्टो दिशातर्फ लम्किरहेका हामी नेपाली ढुङ्गेयुग तिर फर्केर रकेट उडाउन खोजिरहेको अवस्थामा ठीक वेठीक र कुन ठीक भन्न सक्ने अवस्थाबाट विचलित बन्दै छौँ । जंगबहादुरले ३३ वटी रानी थुपारेकाले हामीले विहा गर्न सुयोग्य कन्या पाएनौँ भन्ने युवा माग उचाली हिड्ने हामी नेपालीले फिरन्ते सिकारी शैलीलाई उचित ठहर्याएका छौँ । अनाहकमा मारिएका आम मानिसको जीवनको तौल भन्दा हामीलाई गडीमाईको ५००० राँगाको पशु अधिकार प्यारो छ पश्चिमाको अलाम हाँ मा हाँ मिलाए पछि । मध्यपूर्वमा मारिएका मानिसको मानवअधिकार कुन चराको नाम हो थाहा छैन तर हिन्दूको पशुबली विरोधि लाखौँको नरबली दिइरहेको क्रिश्चियन अलापको पल्ला भारी बन्दै छ । जसरी ती निरिह राँगा मार्नु धर्म विपरीत हुन्छ त्यसै गरि प्रजातन्त्रको नाममा मान्छे मार्नु धर्म विपरित हुन्छ । स्पेनको साँढे तरवारले रोप्ने मनोनरञ्जन दिने “खेल” बन्छ पशुअधिकारीका आँखामा । पानी जहाजका बढेमानका कन्टेनरबाट गाइको मासु बेच्नेलाई पनि पशु अधिकारीले देख्तैन ।

    कि भन्न सक्नु पर्यो मासु व्यापार पशुअधिकारको बर्खिलाप हो । अनि भन्न सक्नु पर्यो उल्टोबाट रेटेर हत्या गर्दा पशुअधिकारको बर्खिलाप र क्रुर हत्या हुन्छ । लेखको लेख सही छ । डबलस्ट्याण्डरका कुरा नगरौँ ।

    Reply
  9. Shankar says:
    December 12, 2014 at 2:16 pm

    सुशील ज्यु
    सुन , हिरा बास्ना पनि आउने भए देखि , कति राम्रो हुन्थ्यो ?
    प्रकृति ले हिउ पार्ने सट्टा आकाश बाट पिठो खसाई दिए ! आतंक कारी ले अल्लाह को भजन , हरिको भजन मात्र गाइदिये , अमेरिका ले खरबौ डलर युद्द को साटो मानब हित मा लगानी गरे कति राम्रो हुन्थ्यो ?
    तर तेसो हुदैन |
    कुनै चिज को जन्म सगै मृत्यु पनि निश्चित हुन्छ | यो चलन पनि अतिरक्त पात कै कारण मेटिन सक्छ | तर हिन्दु देबी माता लाइ रक्त अर्पण गर्ने ,बलि दिने चलन सदियेउ देखि चलिआएको छ र यो कायम रहेसम्म सायद गढ़िमाइ मेला रोकिन्न | सरकार , हिन्दु शंघ संस्था देबी बिरुद्द जाँदा अनिस्ट को संकामा यो चलन बिरुद्द जाँदैनन अरुको धर्म काले रोक्न खोज्दा उनीहरु हस्ताक्ष्येप मन पराउदैनन |

    Reply
  10. kiranbhai says:
    December 12, 2014 at 12:53 pm

    यो लेख दह्रो लग्यो, अति उत्तम भन्दा कुनै अत्युक्ति नहोला
    धन्यवाद छ मान्यबर लाई

    Reply
  11. Umanga says:
    December 12, 2014 at 11:38 am

    तपाईंको लेख निक्कै राम्रो लाग्यो।

    तपाईंले भन्न खोजे जस्तै मैले बुझ्न सकिन कि किन सबैजना यो गढिमाइको पछाडि लाग्या छन हँ?

    यो त पाँच बर्षको अन्तरालमा आउन्छ? तर काठमाडौंमा मात्र हरेक दिन म: म:, सेकुवा आदी इत्यादीका लागि सयौंजनावर हरुको (अधार्मिक) बली दिइन्छ।

    तेती मात्रा होइन गाईले बाछि पाये घरमा राख्ने, र बाछोलाई मर्न छोडी दिने, तेही बाछिको आधा पेट खाली राखेर उस्को आमाले दिने दुधलाई पनि प्याकेटमा पोको पारेर मानब शरीरलाई चाहिने calcium को मात्रा पुराउने, आजाद भएर घुम फिर गर्नु पर्ने जनावरलाई zoo मा बन्द राखेर बदम खाँदै पिन्जडा बाहिरबाट उनिहरुलाई हेरेर मज्जा लिने संस्क्रिती छ हाम्रो.

    साँचै भन्ने हो भने यहाँ कोही पनि जनावरलाई माया गर्दैन, गर्छन् त घ्रिना धर्मलाई र माया आफुलाई, मात्र आफुलाई।

    Reply
    1. Jeevan says:
      December 13, 2014 at 12:19 am

      ओ उमंग ज्यु ,

      होइन यसो आफ्नो निधार पनि यसो रगडेर एकछिन घोत्लिने गर्नु नि लेख पढ्नु भन्दा पाहिले । यहाँ धर्मको नाममा पशुबलि को कुरा भैरहेको छ प्रत्येक दिनको खानपानको तरीकाको होइन तर तपाई चाही दिनको कति प्लेट मो: मो: खान पाउछु भन्ने कुरा लेखन माँ हतारिन पुग्नुभो ? जवाफ नै लेखने रहर छ भने यसो कुराको सार बुझने कोशिश गर्ने गर्नुस पहिला न की काठमाण्डूको कुन होटेलमा कस्तो मो: मो: खान पाईन्छ भन्ने तीर होईना |

      Reply
  12. पुष्पमणि says:
    December 12, 2014 at 11:22 am

    लेखक को सोचाई र बिचारपूर्ण लेख को म कदर गर्छु। त्यो
    गडी माई मा हुने मेला अब ऊपरान्त लेखक को बिचार अनुरुप होस् भनी सबैले आ-आफ्नो तर्फबाट हुन
    र गर्न सक्ने काम गरौँ अनि पशुनरसँघार को यस्तो जघन्य हत्या हिँसा को घोर बिरोध गरौँ। हैन हो यो सरकार पनि के हेरेर बस्छ यार। त्यो सुशिले भन्ने झुसिले को मन मा अलिकति पनि करुणा को भावना छैन भन्या ? नत्र त त्यसको जस्तो पद मा बसेर यस्तो बिषय को बारेमा परिवर्तन गर्ने गराऊने कुरा त सामान्य नै हुनु पर्ने होईन र भन्या ?

    Reply
  13. Radhe says:
    December 12, 2014 at 10:38 am

    मेरो सुझाब,
    १) गढ़िमाइ TRUST नामको सस्था खोलौ
    २) यो सस्था लाइ गाइ, भैसी, बाख्रा, सुगुर, कुखुरा, हास आदि को पालन गर्ने बनाउ
    ३) अनि पैसा, जग्गा दाङ गर्न चाहने ले त्यो नि गर्न पौने बनाम
    ४) सरकार ले पनि यो TRUST लाइ जग्गा उपलब्ध गराए हुन्छ
    एसले कृषि, पशुपालन आदि क्रान्ति गर्न सहयोग पुग्ला कि ?

    येसो गरे कसो होला ?

    Reply
  14. Suraj Maskey says:
    December 12, 2014 at 9:50 am

    बहसको लागी भने ठिक्कै छ । कुनै निचोड़मा आउन अब पाचँ बर्ष समय छ । तर मलाई के लाग्छ भने गढीमाईको मेला समाप्त भए संगै हाम्रा र बिदेश स्थित बिभिन्न अन्तरराष्ट्रीय ग़ैर सरकारी संस्था र नेपाली ग़ैर सरकारी संस्थाहरु थकाई मेट्नेमा छन् वा नयाँ स्पन्सरहरुको खोजितिर वा नयाँ बिषय तिर लाग्दैमा फ़ुर्सत छैन वा रात गयो बात गयो ।
    २७,५००,००० नेपालीहरुका लागी ३०,००० एनजिअो अर्थात ९०० नेपालीहरुलाई एक एनजिअो । हामीहरु एनजिअोमा धेरै सम्पन्न छौ । नेपालमा हरेक जिल्लाकालागी ४०० एनजिअो र हरेक गाउँ बिकास समितिकालागी ७ एनजिअो । स्कूल कलेजहरु भन्दापनि बढी एनजिअोहरु नेपालमा
    भै सक्यो जस्तो छ । एक एनजिअोको नेरु १,०००,०००/- को बार्षिक बजेट भयो भने ३० अरब रुपैया गाउँ गाउँमा जनमानसमा रकमको लगानी धेरै उत्साहवर्धक देखिन्छ ।

    गढीमाईले हाम्रो रक्षा गरुन ।

    सुरज मास्के

    Reply
  15. xyz says:
    December 12, 2014 at 7:27 am

    I think the author has little idea of animal economics. He should remember that cows are gradually replaced by buffs because they have obsolete value compared to cows.

    Reply
    1. सिर्जने says:
      December 12, 2014 at 10:20 pm

      अर्को आयो जान्ने जनावर अर्थशास्त्री: “म गर्छु ‘आगरा’ को कुरा मेरी बुडी गर्छे गाग्राको कुरा” भन्या येस्तै हो कि?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme