Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रोटोकलको ख्याल गरेर बस्नुपर्छ भन्ने सिकाउने कोही भएन : प्रमका प्रेस संयोजक

Posted on October 11, 2014October 11, 2014 by Salokya


प्रधानमन्त्रीको अमेरिका भ्रमणताका सार्वजनिक भएका फोटोहरुबारे नयाँ पत्रिकामा प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारी र जनसम्पर्क सल्लाहकार मृदुला कोइरालाको भनाई छापिएको छ। कुटनीतिक मर्यादा (प्रोटोकल) बारे बल्ल उहाँहरुलाई ख्याल भएछ। आशा गरौँ, अबका भ्रमणहरुमा यसबारे ख्याल गरिनेछ र देशका प्रधानमन्त्रीको बेइज्जत हुने गतिविधि हुने छैन।

प्रकाश अधिकारी भन्छन्-
हो, त्यो भेटघाटको फोटो मैले नै खिचेको हुँ । होटलको कोठा सानो थियो । सल्लाहकारज्यूलाई बस्ने कुर्सी पुगेन, त्यसैले उभिनुपर्‍यो । चर्चा भएजस्तो उहाँले कट्टु लगाएर उभिनुभएको होइन । तलसम्म आएको टिसर्ट कट्टुजस्तो देखिएको हो । आइमाईले लाउने कट्टु त्यस्तो हुन्छ ? फेरि त्यत्तिका भिआइपीहरू भएको ठाउँमा कट्टु लगाएर बस्ने भन्ने त प्रश्नै हुँदैन ।

मैले तत्कालै मिडियामा सूचना पुगोस् भनेर त्यो फोटो मेल गरेको हुँ । फोटो छान्दा मृदुलाजीपट्टि मेरो ध्यान गएन । मलाई त्यही राम्रो लाग्यो र पठाएँ । त्यो फोटो पठाउनुमा मेरो अरू केही दुराशय छैन । पछि त्यसैले हंगामा भएपछि मलाई टर्चर भयो । यसैले गर्दा मृदुलाजीसित मेरो सम्बन्ध चिसियो । मृदुलाजीले मलाई तस्बिरबारे प्रकाशित समाचारको खण्डन गर्न दबाब दिनुभयो ।

तर, के भनेर खण्डन गर्ने ? समाचार बनाउनेले कट्टु नै हो भनेर ठोकुवा गरेको थिएन, ‘कट्टुजस्तो देखिने’ भनेर जोगिन खोजेको थियो । त्यसैले मलाई खण्डन गर्न अप्ठ्यारो पर्‍यो । फेरि मृदुलाजीले खुट्टा किन कैँचीजसरी बटारेर उभिएको भनेर पनि प्रश्न उठ्यो । जवाफ दिएर साध्य नै भएन । यो घटनाले एउटा पाठचाहिँ सिकाएको छ कि, महत्त्वपूर्ण भेटघाटमा प्रोटोकलको ख्याल गरेर बस्नुपर्छ भन्ने । त्यतिबेला सिकाउने कोही भएन ।

प्रधानमन्त्रीले कन्याइरहेको अर्को फोटो पनि फेसबुकमा छरिएको रहेछ । त्यो फोटोचाहिँ हामीलाई पनि आपत्तिजनक लागेको छ । फोटो खिच्नेहरूले कम्तीमा प्रधानमन्त्रीलाई राम्रो लुगा लगाउने मौका दिनुपर्ने । किन त्यस्तो हतार गर्नुभयो कुन्नि ? प्रधानमन्त्रीको सरलपनाको गलत फाइदा उठाउने काम भयो ।

म पनि पत्रकार नै हुँ । पत्रकारले समाचार लेख्दा कम्तीमा सम्बन्धित पक्षको भनाइ राख्नुपर्ने आधारभूत मान्यता हुन्छ । तर, यसमाथि समाचार बनाउनेहरूले त्यो आधारभूत मान्यतासमेत आत्मसात् गरेनन् । यसमा मलाई बडो दु:ख लागेको छ ।

मृदुला कोइरालाले भनेकी छिन्-
‘अमेरिकाको हायात होटलमा हामी बसेका थियौँ । अमेरिकी परराष्ट्र मन्त्रालयका अधिकारीहरू प्रधानमन्त्री बसेको रुममै भेट्न आएका थिए । म पनि होटलमै थिएँ । मैले त्यतिवेला स्किन कलरको कट्राइज पाइन्ट लगाएकी थिएँ । माथि कालो रङको तिघ्रासम्म आउने टिसर्ट र त्यसमाथि सेतो स्विटर पनि लगाएकी थिएँ । फोटोलाई जुम गरेर राम्रोसित हेर्नुभयो भने पाइन्ट प्रस्टै देखिन्छ ।

देशको प्रधानमन्त्री र त्यत्रा भिआइपीहरू भएको कोठामा कट्टु लगाएर बस्ने म के बहुलाही हुँ ? मेरो कमन सेन्स छैन ? अनि पत्रकारिताको चाहिँ कुनै धर्म हुँदैन ? कुरोको चुरोमा नपुगीकन, अर्को पक्षको भनाइ नराखीकन समाचार बनाउन पाइन्छ ? हावादारी समाचारले अरूको प्रतिष्ठामा कति हानि हुन्छ भन्ने सोच्नुपर्दैन ? एउटा टेलिभिजनले यसलाई विषय बनाएर दिनभरि डिबेट नै चलाएछ । एउटी महिलाको यसरी बेइज्जत गर्नुअघि सयचोटि सोच्नुपथ्र्यो । यो प्रकरणले मलाई भित्रैबाट दुखित तुल्याएको छ । उहाँहरू अचानक आउनुभयो । अब, होटलभित्र बस्दा कोट–पाइन्ट लगाएर त बसिँदैन नि । मैले लुगा चेन्ज गरिरहनु आवश्यक पनि सम्झिनँ ।

त्यो फोटो प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले खिच्नुभएको हो । मिडियाहरूलाई पठाउनुभएको पनि उहाँले नै हो । गलत मनसायले पठाउनुभएको थिएन होला । तर, गलत नियत भएकाहरूले यसलाई हल्का ब्लर गरेर मिडियामा फैलाए । सामाजिक सञ्जालमा पनि कुरै नबुझी मलाई गाली गरियो ।

अमेरिकामा भए यस्तो इस्युमा मुद्दा हालेर मिलियन्स डलर क्षतिपूर्ति भराउन सकिन्थ्यो । नेपालमा पनि साइबार क्राइममा मुद्दा हाल्न सक्ने व्यवस्था छ । मैले पहिले सोचेकी पनि थिएँ । तर, मलाई नजिकका मान्छेहरूले के सल्लाह दिनुभयो भने मुद्दा हाल्दा झनै प्रचार हुन्छ । विषय लम्बिन्छ । यसमा चुप बस्नु नै ठीक छ भनेर मैले कुनै कदम नचालेकी हुँ ।

प्रधानमन्त्रीका अरू दुईवटा अमर्यादित फोटा पनि सामाजिक सञ्जालमा आए । त्यसमध्ये एउटा फोटो निकै पुरानो थियो । प्रधानमन्त्रीले लुंगी लगाएको अवस्थामा एकजना कांग्रेस कार्यकर्तासित खिचेको फोटोलाई लिएर पनि निकै टिप्पणी भए । तीन–चार वर्षअघि उहाँ लन्डन जाँदा खिचिएको फोटो हो त्यो । त्यस भ्रमणमा पनि म सहभागी थिएँ । हामी झापाका कांग्रेस कार्यकर्ता विज्ञान प्रसाईंका घरमा बसेका थियौँ । फोटोमा भएका व्यक्ति पनि उनै हुन् । जसको घरमा बसेको छ, उसले फोटो खिच्न आग्रह गरेपछि उहाँले नमान्ने भन्ने कुरा हुँदैन । फेरि सुशीलदा एकदमै सरल स्वभावको हुनुहुन्छ । कार्यकर्तालाई आफ्नै परिवारसरह मान्नुहुन्छ । जस्तो अवस्थामा पनि कार्यकर्ताले आग्रह गरेपछि फोटो खिच्न तयार भइदिनुहुन्छ । हामीले रोक्न खोज्यौँ भने उल्टै हप्काउनुहुन्छ ।

अर्को सुशीलदाले गर्दन कन्याइरहेको फोटो पनि आएको छ । त्यो फोटोचाहिँ अमेरिकाकै हो । फोटोमा भएका व्यक्ति कांग्रेसको जनसम्पर्क समिति सिकागो च्याप्टरका अध्यक्ष हुन् । नामचाहिँ बिर्सेँ । उनले प्रधानमन्त्रीलाई अँगालो मारेको जस्तो देखिए पनि खासमा सोफामा हात राखेका थिए । फोटो खिच्ने वेला सुशीलदालाई चिलायो होला । बुढो मान्छे, कन्याइदिनुभयो । फोटो खिचिरहेको भनेर हेक्का गर्नुभएन होला । त्यस्तो अमर्यादित फोटो फेसबुकमा हाल्नु नहुने थियो । तर, उनलाई पनि प्रधानमन्त्रीसित खिचेको फोटो अरूलाई देखाउन मन लाग्यो होला ।

19 thoughts on “प्रोटोकलको ख्याल गरेर बस्नुपर्छ भन्ने सिकाउने कोही भएन : प्रमका प्रेस संयोजक”

  1. pramod karki says:
    October 15, 2014 at 2:07 pm

    कस्ता हावादारी मान्छे हुन् । यहाँ कटटु लगाएको वा पाइन्ट लगाएको भन्ने तर्क नै होइन । दुई मुलुकबीचको वार्तामा औपचारिक पोशाक नलगाई बस्नु भनेको सिरक ओढेर बसेपनि कटटु लगाए सरह नै हो । त्यसैले कटटु होइन पाइन्ट लगाको भन्नुको कुनै अर्थ छैन ।कुनै काम नै नगरी अमेरिकाबाट आएका अमेरिकी नागरिकले यहाँ तर मार्न पाइन्छ भनेर जे पनि बोल्ने ? यस्तालाई तुरुन्तै किन प्रधानमन्त्रीले घोक्रेठ्याक नलगाएका ?

    Reply
  2. Roshan says:
    October 14, 2014 at 4:07 pm

    के कोइराला थर भयेकै कारण ले यिनेले जागिर पयेका हुन ? नभये लुगा को त कुरै छाडौ सम्मानित प्र म को अगाडी यसरी अशोभनिय रुप मा हात बाधेर बस्नु पनि सिस्टाचार बिपरित हो ।

    Reply
  3. Jeevan says:
    October 13, 2014 at 7:36 am

    फोटो खिच्ने वेला सुशीलदालाई चिलायो होला । बुढो मान्छे, कन्याइदिनुभयो । फोटो खिचिरहेको भनेर हेक्का गर्नुभएन होला । हाहा हाहा कति हास्नु हो ….

    Reply
  4. विष्णु मगर,न्यु योर्क I says:
    October 13, 2014 at 3:31 am

    आफ्नो कमजोरीलाई स्वीकार्न नसक्नु हामी नेपालीको आम बानी हो भन्ने कुरा यसबाट पनि प्रष्ट हुन्छ I लौ वहाहरुको ईस्पस्तिकरंलाई मानौ रे I तर वहाहरुलाई मेरो प्रस्न : तेती सार्हो किन हतारिनु परेकोनि ? भेट्न आउदा एकैचोटी ढोका ढक ढकाउन आएका त पक्कै होइनन होला Iउभिदा भित्तामा किन अडेस लाउनुपरेकोनि ?हातको क्रसिंग किन नमिलेको नि ?खुट्टा किन क्रस गर्नु परेको नि ?देशको बहालवाला प्रधानमन्त्रिको सल्लाहाकार भएपछी सामान्य प्रोटोकलको हेक्का त हुनु पर्ने हो नि होइन र ?तेसैले त सामान्य जीबन र बिशिस्ट जीबन मा फरक हुन्छ नि होइन र ?अनि छ्यतिपूर्तिको कुरा चाही “नाङ्ग्लो ठटाएर हाती तर्साउन” खोजेको जस्तो लाग्यो I आफ्नो पेशा पेशेवर तरिकाले गर्न नआउने वा नगर्ने को लागी चाही अमेरिकामा के छ्यतिपूर्ती हुन्छ त्यो पनि बताइदिनु हुन्छ कि ?

    Reply
  5. Milan says:
    October 12, 2014 at 9:38 pm

    कुटनीतिक प्रोटोकल सम्बन्धि केहि ज्ञान नभएको मान्छे हरुले यस्तो पोस्ट मा कसरि जागिर पायो ? देशकै बेईजत गर्ने यी दुबैले तुरन्त राजिनामा गर्नु पर्छ अन्यथा बर्खास्त गर्नु पर्छ /

    Reply
  6. shree basanta says:
    October 12, 2014 at 8:34 pm

    नगर्नु गल्ति गरेपछी किन नेपालीहरु गल्ति स्विकार्दैनन ? बरु जनिएन बुझिएन माफी चाहन्छु भन्नु कता हो उल्टै किन अनेक कुरा गरेर धम्कि पनि दिन्छन ? प्रधानमन्त्रीको
    व्यक्तित्व नै खस्काउने र हामि नेपालीको स्तर जमिनमा पुर्याउनेलाई कारबाही हुनु पर्ने हो तर तक्मा पाउन बेर छैन हाम्रो नेपालमा / जय नेपाल मृदुला माता /

    Reply
  7. सवल says:
    October 12, 2014 at 4:33 pm

    ब्लगमा प्रधान मन्त्रि संगको भेटमा ड्रेसकोडको यतिका चर्चा परिचर्चा चलिरहेको बेला आजको नेपालन्यूज डट कममा प्रधान मन्त्रीको भारतीय पुर्बमन्त्रि संगको फोटोमा एकजनाले घुंडा धसकेको जीन प्यान्ट्समा फोटो खिचाएका छन्|
    हाम्रा प्रधान मन्त्रिज्युलाई पनि जाडोको मौसम करिब शुरु भएको बेलामा दौरा सुरालले दिक्क लागेको जस्तो छ|
    प्रधान मन्त्रीको शिष्टाचार हेर्ने नभएको बेला परेछ केरे| कठैबरा शिष्टाचार र ड्रेसकोड!

    Reply
  8. Rajan says:
    October 12, 2014 at 11:09 am

    कसैको सामुन्ने उपस्थित हुँदा भद्र देखिने लुगा लाउनु भनेको, ‘तपाईंको उपस्थिति मेरोलागि सम्मानजनक छ, म तपाईको सम्मान गर्दछु’ भन्ने सांकेतिक शिष्टाचार हो. त्यसो नगर्नु आफ्नै अपमान हो. झन् सरकार प्रमुख सम्मुख पर्दा त्यो निर्वाह गर्नु त नियम नै हो. यसमा तपाइँ चुक्नु भयो मृदुला जी. बरु आइन्दा यसो नगर्नुस.

    Reply
  9. Bimal says:
    October 12, 2014 at 9:49 am

    फोटोग्राफी बिज्ञान र कलाको समिश्रण हो l यो फोटोमा कलाको समिश्रण देखिएन l यो फोटो खिच्न को लागि मात्रै खिचियो तर फोटो खिच्नेले आफुले खिच्न लागेको फोटोको गाम्भीर्यता बारे सचेत नभएको स्पष्ट हुन्छ l यसैले फोटो खिचाईमा पनि कमजोरी भएकै हो l

    अब उप्रान्त प्रधानमन्त्रिको कुनै पनि कार्यक्रममाको फोटो खिच्ने कार्यको जिम्मा ब्यबसायिक फोटोग्राफरलाई दिनु उचित हुन्छ l

    Reply
    1. Bayan says:
      October 12, 2014 at 5:52 pm

      के गर्ने बिमल सर, प्रधानमन्त्रीका प्रेस संयोजक, पी ए र सल्लाहकारहरु सम्बन्धित बिसयका बिज्ञहरु नियुक्त गरे त यस्तो समस्या कमै हुन्थ्यो होलानी/ चुनाबमा कल्ले कति चन्दा दिन सक्यो, कति मान्छे काट्यो, कतिको टाउको वा हात भाँच्न सक्यो भन्ने आधारमा नियुक्त गरे पछि नतिजा यस्तै हो, राम राम भन्नु बाहेक हामीले केहि गर्न सकिन्न/

      Reply
  10. Hari says:
    October 12, 2014 at 9:21 am

    यो सानो कुरालाइ लिएर येति ठूलो हल्लीखल्ली गरेको देखेर मलाइ अचम्म लागिरहेको छ.
    पोशाक भन्ने कुरा आफुलाई जस्तो सजिलो लग्यो र मन पर्यो त्यस्तै लगाउने हो, बस समाज ले नापचाउने नहोस.
    येहा एउटा पुरुष ले कथित अनुसार नलगाएको भए पनि कसैले केहि भन्दैनथ्यो होला. तर जब महिला को बिषय आउँछ सबै को ध्यान कस्तो लगाई, के लगाई, यो लुगा पहिले कहिले लगाई ? छोटो लगाई कि बुर्का जस्तै पुरै छोपिने गरि लगाई, आदि नानाभांती का वाहियात कुरा हरु गरिन्छा.

    Reply
  11. तुयू भाजु उदास says:
    October 12, 2014 at 9:09 am

    सबैले आफ्नो पद, मर्यादा,कर्तव्य र मुलुकको इज्जतको ख्याल राखेको भए यस्तो स्थिति किन आउदैन थ्यो होला . आखिर यी जिम्मेवार हरुको ध्यान के मा केन्द्रित छ भनि बुझ्न त्यति कठिन भए जस्तो लाग्दैन…अबको दिनमा चेते यही उपलब्धि हुनेछ!

    Reply
  12. suryaman says:
    October 12, 2014 at 8:22 am

    खासै कुरा के भने हाम्रा पत्रकार बन्धु हरु ले कहिले कहिँ आफ्नो पत्रिका बिकौना अनेक बहाना गर्नु हुन्छा तर बास्तव मा फोटो मा कट्टु छैन. सबैले zoom गरेर हेर्नुस फोटो ले दुध को दुध पनि को पनि हुनेछ . वास्तव मा मृदुला जी को ड्रेस कोड नमिलेको कुरा ठिक हो तर कट्टु होइन. उहाको पाइन्ट मा त्यो कट्टु जस्तो देख्ने त् t shirt ho jun पातलो स्विटर ले ढाकेको देखिञ्छ. I think
    whoever made the issue should be sued. I am sure the original picture is with the owner which can be reprinted with high resolution and presented to the court. मैले धेरै पटक नियाले तर हाफ पाइन्ट देखिन बरु . उहाले पाइन्ट लगाउनु भने देखिछा जुन घुंडा nora खुम्चेको पनि छ पाइन्ट. अनि पैंत को माथि gray color जस्तो देखिञ्छ juba t-shirt ले छोप्नु भनेको छ अनि तेस माथि स्वेटर …

    Reply
  13. Ghising Tamang says:
    October 12, 2014 at 4:48 am

    यो संसारका मानिसलाई थाहा भएकै कुरा हो बस्त्र भित्र के हुन्छ भन्ने कुरा तर समय अनुसारको पोसक किन चाहियो भने तपाईंले भेट्ने व्यक्तिकोसम्मान गर्नको लागि अनुकुल अनुसारको पोसकमा आफुलाई उपस्थित गर्न लै नै सभ्य मानिन्छ | झन् सरकारी व सरकार प्रमुखले त शिस्ताचार महापालको आदेशलाई नै मान्नु पर्छ | Chief of protocol काम अतिनै गाह्रो काम हो |

    Reply
  14. सवल says:
    October 12, 2014 at 3:58 am

    “उहाँहरू अचानक आउनुभयो । अब, होटलभित्र बस्दा कोट–पाइन्ट लगाएर त बसिँदैन नि। मैले लुगा चेन्ज गरिरहनु आवश्यक पनि सम्झिनँ|”
    मृदुलाजीको यो भनाईसंग सहमत हुन् सकिन्न| यसमा अपरिपक्कता, अनुभवहीनता, कुतर्क र arrogance झल्कन्छ| देशको प्रधान मन्त्रीको जनसम्पर्क सल्लाहकार र प्रेस संयोजकले सामान्य प्रोटोकोलको ख्याल नराखेको हो कि ज्ञान नभएको हो? सायद दुइटै होला| तलब भत्ता र सुबिधा नलिने गरेर परिवारको सदस्य भएर प्र. म. संग यात्रा गरेको हो भने भिन्नै कुरो हो, सो पनि उल्लेख गर्नुहोला|
    पाहुनाहरु पुर्ब appointment नलिई आएको हो वा दिएको समय अघि नै आए भने जनसम्पर्क सल्लाहकार र प्रेस संयोजक साथमा रहनुको मतलब के हो? के बिदेशीको टोलीले नेपालीलाई मिच्ने मनसायले वा मन जितेर पुर्ब appointment नलिई आएको हो वा प्रधान मन्त्रीको समयको पर्वाह नगरी समय दिएको अघि नै देखा परे? खुलाउन पर्यो|
    अमेरिकामा मुद्दा हालेर मिलियन्स डलर क्षतिपूर्ति लिन सक्ने तर्क दिनेलाई आफ्नो जिम्मेवारीवोध र त्यति सामान्य प्रोटोकोल बारे थाहा नभएको प्रस्ट छ वा अवहेलना गरेका हुन्| ह्याट होटलमा कुर्सिको अनिकाल परेको थिएन होला| टोलि सदस्य बसेका अर्को कोठाबाट कुर्सी ल्याउदा केही बित्ने थिएन होला|
    पद प्रेस संयोजक, उँहाको फोटोग्राफी सेन्स पनि देखियो, कसले नियुक्ति दिएको हो बिदेशमा कसरि चल्नपर्छ भनेर कमान सेन्स पनि नदेखाउनेलाई? कि जनसम्पर्क सल्लाहकारलाई हिच्याउन जानाजानी गरेका हुन्?
    हाम्रो देशको सबैभन्दा ठुलो समस्या प्राबिधिकको अभाव होइन, व्यवस्थापन हो| जनसम्पर्क सल्लाहकार र प्रेस संयोजक द्वय बीच पहिले संयोजन हुन् पर्छ र व्यवस्थापन कुन चरीको नाउँ हो त्यो थाहा भएर व्यवहारमा ल्याईनु परो| अरुलाई दोष दिएर भएन|
    आत्माग्लानी र दायित्वबोध गर्नु हो भने दुवैले तुरन्त राजीनामा दिनपर्छ|

    Reply
  15. Suresh says:
    October 12, 2014 at 3:22 am

    कोइरालाको भनाइ हास्यास्पद देखिन्छ । उहाँहरू अचानक आउनुभयो रे यो हुनै सक्दैन। प्रम लाई भेट्न कोहि अचानक आउछ, वाहियात । अनि भित्तामा अडियर, हात बाधेर, खुट्टा तेर्स्यारा बसेको स्पस्टिकरण खोइ । अझ मिडियालाई मुद्दा हाल्ने धम्की । बरु सल्लाहकार पदबाट खुरुक्क नैतिकताको आधारमा राजिनामा दिनु यदि होइन भने सो पदबाट हटाउनु पर्छ । आगामी दिनहरुमा अरुलाई शिक्षा हुन्छ । कमन सेन्सको कुरा गर्न सिपालु तर कमन सेन्स अनुसार काम नगर्ने ।

    Reply
  16. dk says:
    October 12, 2014 at 2:36 am

    प्रोटोकलको ख्याल गरेर बस्नुपर्छ भन्ने सिकाउने कोही भएन भनेर कहाँ हुन्छ हो …..आफुलाई गतिलो काम गर्न आउदैन ,आफ्नो ढंग पुग्दैन भने अरुलाई सो काम गर्न दिनु पर्छ, नेपालमा आजकल एक से एक योप्गेता अनि छेमता भएका मान्छेहरु छन्…प्रम को सलाहकारले आरुलाई सिकाउने पर्छ न कि उनिहरुलाई आरुले सिकाउने हो …..नंच्न्ना जान्दिन बुहारी आगन तेडो भन्छे ….कति हास्नु हो

    Reply
  17. kedar says:
    October 11, 2014 at 9:20 pm

    त्यति छोटो देखिने कुनै स्कर्ट नै हुनु पर्छ वा हाफ पैन्ट | दर्जीले सिलाएका इंजारवाला ठुला ठुला कट्टु लगाउन बानी परेका हामी नेपालीलाई कट्टु जस्तो देखिनु स्वाभाविक नै हो | पश्चिमा देशहरुमा प्रायश तेती धेरै छोटो स्कर्ट वा हाफ पैन्ट कुनै टाइट पैन्ट वा छालाको रंग जस्तो देखिने टाइट ट्राउजरको माथि लगाउने गर्छन केटीहरुले | अरु केहि नलगाई तेती छोटो स्कर्ट लगाउने हो भने केटाहरुको धमिला आँखाले पनी दुरबिनको काम गर्छ |

    Reply
  18. बादेश says:
    October 11, 2014 at 8:53 pm

    फोटो खिचेपनि नखिचेपनि गल्ति भएकै हो भन्न सकिन्छ | हाइ प्रोफाइल व्यक्तिहरुसंगको भेटमा त्यस्तो पोशाक कदापी उचित होइन | भित्र कोठामा जसले जे गरोस् न तर भेटघाटमा सरिक हुनकोलागि ड्रेसकोडको मान्यता राख्नै पर्थ्यो |
    प्रकाशजीको भनाइ अनुसार यदि त्यहाँ बस्ने ठाउं थिएन भने उभिनु परेको ठिकै छ | तर त्यो भेटघाटमा सरिक हुन ड्रेसकोडको ख्याल राख्नै पर्थ्यो | त्यो भेटघाट कुनै बेडरुम अनि अप्रत्याशित भएको थिएन | कार्यक्रम अनुसार नै भएको थियो होला |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme