Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१६ वर्षको मौनता किन तोडिन् मोनिका लेविन्स्कीले?

Posted on May 7, 2014May 7, 2014 by Salokya

monica
१६ वर्षअघि काठमाडौँमा एफएम रेडियो निकै लोकप्रिय थियो। फोनमा स्रोताहरुसँग तत्काल अन्तर्क्रिया लोकप्रियताको एउटा कारण थियो। हावा प्रश्नहरु अनि हावा जवाफ- रमाइलो। म पनि फोन गर्दै बस्थेँ काम नपाएर। एक दिन एक कार्यक्रम प्रस्तोताले सोधे- अर्को जन्ममा के भएर जन्मन चाहनु हुन्छ?

‘मोनिका लेविन्स्की,’ मैले दिएको जवाफले प्रस्तोता र अरु स्रोता पनि छक्क परे। त्यतिबेला अमेरिकी राष्ट्रपति बिल क्लिन्टनसित सेक्स स्क्यान्डलमा जोडिएको मोनिकाको नाम जताततै छाएको थियो। उतिबेला फेसबुक र ट्विटर पनि थिएन। तर आज १६ वर्षपछि फेरि मोनिका लेविन्स्कीको नाम ट्विटरमा ट्रेन्डिङ भइरहेको छ। कारण ? यत्रो वर्षको मौनतापछि उनले ‘भ्यानिटी फेयर’म्यागेजिनमा पहिलो पटक एक्सक्लुसिभ लेखेकी छिन्- क्लिन्टनसँगको त्यो अफेयरबारे।

यत्रो वर्ष कहाँ हराइन् त मोनिका ? के हल्ला चले जस्तै बिलकी पत्‍नी हिलारीले चुप बस्न रकम दिएकी हुन् ?

भ्यानिटी फेयरको त्यो एक्सक्लुसिभ लेख अनलाइनका ग्राहकलाई मे ८ मा र पत्रिका बजारमा मे १३ मा आउने रहेछ। अहिले भने केही अंश भ्यानिटी फेयरको साइटमा राखिएको छ।

सन् १९९८ मा यो स्क्यान्डल मच्चिँदा मोनिका भर्खर २४ वर्षकी थिइन्। इन्टर्नमा ह्वाइट हाउस छिरेकी मोनिकाको विश्वका शक्तिशाली राष्ट्रपति बिल क्लिन्टनसितको सेक्स स्क्यान्डल मिडियामा निकै छायो। ‘ग्राफिक डिटेल’समेत रहेको छानबिन प्रतिवेदनको पूरै अंशसमेत इन्टरनेटमा राखिएको थियो। भलै इन्टरनेट त्यतिबेला अहिले जस्तो सर्वसुलभ थिएन। बिल क्लिन्टन महाभियोग प्रस्तावबाट बचे, समझदार पत्‍नी पाएकीले परिवारसमेत टुक्रनबाट बच्यो। अनि मोनिका नि ? उनको त कुनै खबर नै आएन।

अहिले उनी ४० वर्षकी भइन्। बिलमात्रै हैन, उनकी पत्‍नी पनि अहिले सत्तामा छैनन्। हिलारी अघिल्लो कार्यकालमा विदेशमन्त्री थिइन्। राष्ट्रपतिका लागि उम्मेदवार पनि भएकी थिइन्।

आज उनले लेखेकी छिन्- I, myself, deeply regret what happened between me and President Clinton. Let me say it again: I. Myself. Deeply. Regret. What. Happened.

क्लिन्टनहरुले रकम दिएर मुख थुन्न लगाएको भन्ने हल्लाको उनले खण्डन गरेकी छिन्।

‘सहमतिमा भएको’

तत्कालीन राष्ट्रपति बिल क्लिन्टनसँगको सम्बन्ध दुई वयस्कबीचको सहमतिमा भएको सम्बन्ध भन्दै उनले बचाउ गरेकी छिन्।

‘हो, मेरो बोस (राष्ट्रपति)ले मबाट फाइदा उठाएका थिए, तर म सँधै यो कुरामा अडिग छु कि यो सहमतिमा भएको सम्बन्ध थियो। उनको शक्तिशाली पोजिसन बचाउन मलाई बलिको बोका बनाइएपछि ‘दुर्व्यवहार’ सुरु भयो,’ उनले लेखेकी छिन्। उनका अनुसार यो कुरा सार्वजनिक भएपछि क्लिन्टन प्रशासन, छानबिन आयोग, दुवैतर्फको राजनीतिक स्वार्थ र मिडियाका कारण उनी पीडित भइन्। उनलाई एक किसिमको ब्रान्ड बनाइयो। शक्तिसँग सम्बन्धित भएकोले त्यो ब्रान्ड उनको नाममा जोडिएरै रह्यो।

काम खोज्दाको दुःख

स्क्यान्डलपछि लेविन्स्कीलाई एक करोड डलरभन्दा बढी कमाउने कामको अफर आएछ। तर उनले त्यस्तो काम गर्न उचित ठानिनन्। अमेरिकाबाट लन्डन लागिन्। त्यहाँ सोसल साइकोलोजीमा मास्टर्स डिग्री गरिन्। त्यसपछि फेरि लस एन्जलस, न्युयोर्क, पोर्टल्यान्ड, ओरिगनमा बसाइ सरिरहँदा धेरै पटक कामको लागि इन्टरभ्यु दिइन्। तर उनको विगत बाधक बन्यो। कुनै पनि नयाँ कामका लागि उनी त्यो अफिसको कार्यक्रममा सहभागी हुनुपर्थ्यो। अनि त्यस्तो कार्यक्रममा प्रेस पनि नपुग्ने त कुरै भएन। समस्या त्यहीँ थियो।

आत्महत्या गर्नेसमेत सोचेकी थिइन्

मोनिकाले आफूले कहिल्यै आत्महत्याको प्रयास नगरेकी भए पनि गरौँ कि जस्तो चाहिँ निकै पटक भएको बताएकी छिन्। यस्तो उनलाई यो स्क्यान्डल सार्वजनिक भएपछि अनुसन्धानको क्रममा र त्यसपछि पनि एक दुई पटक भएको थियो रे।

त्यस्तो अवस्थामा उनलाई उनकी आमाले धेरै साथ दिएकी रहिछिन्। रातरात भर उनकी आमा उनको बेड नजिकै बस्दिरहिछिन्। आत्महत्या गर्लिन् कि भन्ने डर उनमा रहेछ।

किन मुख खोलिन्?

अहिले उनले यी सब कुरा किन सार्वजनिक गरिरहेकी छिन् त ? एउटा घटनाले उनलाई छोएको रहेछ- सन् २०१० को सेप्टेम्बरमा १८ वर्षकी टाइलर क्लेमेन्टीले अर्को केटासँग किस गर्दै गरेको भिडियो वेबक्यामबाट सार्वजनिक भएपछि आत्महत्या गरेकी थिइन्। यो थाहा पाएर उनी निकै रोइन्।

यो घटनापछि उनले आफूले भोगेको पीडालाई पनि एउटा फरक अर्थमा लिइन्। आफ्नो कथा सार्वजनिक गर्दा घोर अपमानित हुनुपर्दाका जीवनकै काला क्षणहरु भोगिरहेका अरुहरुलाई केही सहयोग पो हुने हो कि भन्ने उनको सोच रहेछ।

अनि यसमा टाइलरसितको के सम्बन्ध त ?

सम्बन्ध छ। मोनिका लेविन्स्की हाम्रो युगकी त्यस्ती पात्र हुन्, जो इन्टरनेटबाट विश्वव्यापी रुपमा अपमानित हुन पुगेकी थिइन्। उनको राष्ट्रपतिसितको सेक्स स्क्यान्डललाई विश्वभर फैलाउने काम इन्टरनेटले गरेको थियो।

मिसन मोनिका

अब उनले आफ्नो वर्तमान लक्ष्य स्पष्ट पारेकी छिन्- ‘अनलाइन दुर्व्यवहार र अपमानका पीडितहरुका पक्षमा हुने काममा संलग्न हुने, यो विषयमा सार्वजनिक मञ्चहरुमा बोल्न थाल्ने’

हुन पनि हो नि, अहिले हेर्नुस् त कति विकृत मानसिकताका मान्छेहरु हाम्रा वरपर छन्! के झोँक चल्छ र फेसबुकतिर आफ्नै केटी वा केटा साथीहरुको लाजमर्दा फोटोहरु हालेर दुःख दिन्छन्। युट्युबतिर भिडियो हालिदिन्छन्। नेपालमै पनि यस्ता दुर्व्यवहार धेरै भइरहेका छन्।

के मोनिका लेविन्स्कीको यो नयाँ अवतारले यस विषयमा चेतना फैलाउन सक्ला ?

4 thoughts on “१६ वर्षको मौनता किन तोडिन् मोनिका लेविन्स्कीले?”

  1. धौलबीर राई says:
    May 9, 2014 at 6:37 pm

    सही निर्णय गरेकी छिन मोनिकाले l समयसंगै च्यातीयर हराई सकेको इतिहासको यो पाना पुनर्लेखन भएमा यसले अन्य मोनिकाहरुको असहीय पिढामा मल्हमको काम गर्नेछ ll

    Reply
  2. bibek dhakal says:
    May 8, 2014 at 3:55 pm

    १८ बर्षकी टाइलर क्लिमेंती हैन, १८ बर्षका हुनुपर्ने!

    Reply
  3. ramesh says:
    May 7, 2014 at 11:19 pm

    मोनिका को शायद पैसा सकियो, त्यो कमाउन लाइ फेरि मिडिया मा आएकी हुन्.”आत्महत्या गर्नेसमेत सोचेकी थिइन्” यो भन्द बक्वास केहि होइन, एक पल्ट पेरिस हिल्टन को बारे मा पढेको थिए, सानो गल्ति को लागि एक महिना को जेल सजाय पाएकी रहिछन, जेल पनि कस्तो भन्दा ५ स्टार होटेल जस्तो, उनले भनेकी थिएअन कि यो १ महिना उनको निम्ति hell रहयो रे, किन भन्दा उनको छनोट को ब्रेकफास्ट भएन रे! लन्च ढिलो भयो रे! उनको ब्याए फ्रेन्ड संग सम्पर्क हुन् सकेन रे! मानौ माओबादी काल मा भैरव नाथ गद क बन्दि भन्दा उनले बढी यातना पाएकी छन्. मोनिका को कुरा पनि तेस्तै हो, मोनिका को खर्च सकियो शायद, त्यो कमाउन लाइ उनि मिडिया मा आएकी हुन्, अब बेलायत को sun पत्रिका जस्तै अमेरिका को कुनै पत्रिका ले उनले क्लिन्टन संग कति चोटी, कुन पोजिसन मा , कुन दिन कति बजे सेक्स सम्बन्ध राखे भन्ने कथा को लागि मिलियन डलर दिन्छ र एसको प्रयोजन पनि तेही को निम्ति हो.

    Reply
  4. achut says:
    May 7, 2014 at 10:27 am

    थाहा भएन उन को क्लिन्टन संग को सम्बन्ध कहाँ बाट वा कसले लिक गर्यो तर अमेरिका जस्तो देश मा त तेती सारो विभेद हुदो रहेछ संसार को राजधानी,सम्पन्न जीवन जिउने हरु को मानसिक दरिद्रता… /हामी कहा नम्रता , पुजा …… हरु लाई कति गार्हो भो होला? ‘ग्रान्ड सल्युट’ ति नेपाली चेली हरु लाई जो फेरी यो समाज मा आफ्नो स्थान बनाएर पुनरागमन गर्न सफल भएका छन…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme