Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के माघ २७ मा प्रधानमन्त्री नचुनिन सक्छ?

Posted on February 6, 2014February 6, 2014 by Salokya

maghचुनाव भएको मङ्सिर ४ मा। पुस सकिएर माघ पनि सकिन आँट्दा बल्ल देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ।

अब अरु चलखेल नभए माघ २७ मा प्रधानमन्त्रीको कुर्सीमा एक जना नेता बस्नेछ। प्रधानमन्त्रीको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएपछि यो निश्चित भएको हो। अहिलेसम्मको स्थितिमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार संसदीय दलका नेता सभापति सुशील कोइराला कुर्सीमा बस्ने देखिएको छ।
तर के त्यो दिन हुने चुनावमा कोही पनि प्रधानमन्त्री नचुनिन पनि सक्छ ? के छ सम्भावना ?

सुशील कोइरालालाई भारतले मन नपराएको भन्ने हल्ला बजारमा चल्ने गर्छ। ‘हल्ला’ किन भनिएको भने भारत आफैले घोषणा गरेर यो मन परेन त भन्दैन। तर कोइराला र भारतबीच सम्बन्ध चिस्सिएको चर्चा धेरै हुने गर्छ। के यसले कोइरालाको कुर्सी आरोहणलाई रोक्न सक्छ त ?

नेपालको राजनीतिमा नसोचिएका कुरा हुने गर्छन्। अघिल्लो पटकको संविधान सभामा दुई ठाउँबाट हारेका माधवकुमार नेपाल प्रधानमन्त्री बनेका थिए। संविधान सभा भाग २ मा त्यस्तो के चमत्कार हुने हो हेर्न बाँकी छ।

अहिलेलाई भने प्रधानमन्त्री निर्वाचनको लागि यही माघ २५ गते शनिबार बिहान १० बजेदेखि २६ गते आइतबार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ। आइतबार साँझ ५:३० जे उम्मेदवारको सूची प्रकाशन हुनेछ।

को को उम्मेदवार बन्ने हुन्, देखिनेछ त्यतिबेला।

मतदान व्यवस्थापिका–संसदको माघ २७ गते ११ बजे बस्ने बैठकमा हुनेछ। के अघिल्लो संविधान सभामा जस्तो ३०१ मत कसैले पुर्‍याउन नसकेर एक दर्जनभन्दा बढी पटक चुनाव भएको भयै हुने तर कोही नचुनिने यस पटक पनि होला?

त्यस्तोसम्म नहोला भन्ने आशा गरौँ। किनभने त्यतिबेला ३०१ मत पुर्‍याउन नसके प्रधानमन्त्री नै नचुनिने व्यवस्था थियो। पछि त्यो व्यवस्थालाई संशोधन गरेर संसदमा रहेको सभासदको तत्काल कायम रहेको संख्याको बहुमत भए पुग्ने बनाइयो र त्यसै आधारमा बल्ल झलनाथ खनाल प्रधानमन्त्री चुनिए।

त्यसो भए यस पटक प्रधानमन्त्री हुन कम्तिमा कति भोट ल्याउनु पर्छ त ?

संसदमा ६०१ सिट रहेको भए पनि दुई ठाउँमा निर्वाचित भएका चार उम्मेदवारले एउटा मात्र भोट हाल्न पाउनेछन्। त्यसैगरी मन्त्रिपरिषद्बाट मनोनीत हुनुपर्ने २६ जनाको स्थान पनि अहिले रिक्त छ। त्यसैले तत्काल कायम हुन आएको ५७१ सभासद् मध्ये कम्तिमा २८६ भोट ल्याउने प्रधानमन्त्री निर्वाचित हुनेछ।

संसदमा नेपाली कांग्रेसले १९६ सिट जितेको भए पनि सुशील कोइराला र शेरबहादुर देउवाले एक एक क्षेत्र छाडेपछि १९४ भोटमात्रै हाल्न पाउनेछ। त्यसैगरी एमालेको १७५ सिट रहेको भए पनि वामदेव गौतम र माधवकुमार नेपालको एक एक सिट रिक्त भएपछि १७३ भोट मात्रै खस्नेछ। ८० सिट रहेको एमाओवादी र २४ रहेको राप्रपा नेपालले प्रतिपक्षमा बस्ने घोषणा गरिसकेको छ।

यो अवस्थामा एमालेको साथ बिना कांग्रेसलाई सरकार बनाउन थप ९७ मत आवश्यक हुन आउँछ। एमांओवादीलाई फकाउन सक्यो भने १७ सिट भए पुग्छ।

गणितीय हिसाबमा एमाले, माओवादी र राप्रपा नेपालले भोट नदिए पनि कांग्रेसले सरकार बनाउन पुग्ने २८६ भोट ल्याउन सक्छ। तर त्यसका लागि संसदमा भएभरका सबै दलहरुको साथ चाहिन्छ। त्यस्तै कांग्रेसलाई बाहिर राखेर पनि अरु भएभरका सबै दल मिलेमा सरकार बन्न सक्छ। यी भए संभावनाका कुरा। केपी ओलीले नेतृत्व गर्न कांग्रेसले नसके म छु भन्नुका पछाडि यस्तै संभावनाका कुरा लुकेका हुनसक्छन्।

कस्तो अवस्थामा प्रधानमन्त्री चुनिँदैन?
माघ २७ गते हुने निर्वाचनमा कुनै पनि उम्मेदवारले २८६ भोट ल्याउन नसके कोही पनि प्रधानमन्त्री चुनिने छैन। २८६ भोट कसैले पनि ल्याउन नसकेसम्म चुनाव भएको भयै हुनेछ।

हेरौँ यससम्बन्धमा नियमावालीमा के व्यवस्था छ ?

प्रधानमन्त्रीको निर्वाचन
७. प्रधानमन्त्रीको निर्वाचन : (१) संविधानको धारा ३८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको
निर्वाचन राजनैतिक सहमतिबाट हुनेछ।
(२) उपनियम (१) बमोजिम सहमति कायम हुन नसकेमा प्रधानमन्त्रीको निर्वाचन
सभामुखले तोकेको दिन र समयमा हुनेछ र त्यसको सूचना महासचिवले प्रकाशन गर्नेछ।
(३) प्रधानमन्त्रीको निर्वाचनको लागि तोकिएको दिनको निर्धारित समयभित्र कुनै सदस्यले
कुनै अर्को सदस्यलाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना अर्को कुनै
सदस्यको समर्थन सहित महासचिवलाई दिन सक्नेछ।
(४) उपनियम (३) बमोजिमको प्रस्तावको सूचना प्रस्तावक सदस्यले सभामा प्रस्तुत
गरेपछि समर्थक सदस्यले समर्थन गर्नेछ।
(५) उपनियम (३) बमोजिमको प्रस्तावको सूचना एउटा मात्र प्राप्त भएमा समर्थक
सदस्यले बोलिसकेपछि सभामुखले प्रस्तावित सदस्य प्रधानमन्त्री पदमा निर्विरोध निर्वाचित भएको
घोषणा गर्नेछ। प्रस्तावको सूचना एकभन्दा बढी प्राप्त भएमा दर्ता क्रममा प्रत्येक समर्थक
सदस्यहरूले बोलिसकेपछि सबै प्रस्तावहरूमाथि संक्षिप्त छलफल हुनेछ र त्यसपछि सभामुखले
प्रस्तावलाई क्रमशः सभा समक्ष निर्णयार्थ प्रस्तुत गर्नेछ।
(६) एकभन्दा बढी सूचना प्राप्त भई उपनियम (५) बमोजिम निर्णयार्थ प्रस्तुत प्रस्ताव
व्यवस्थापिका–संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएमा
स्वीकृत भएको मानिनेछ।
(७) उपनियम (६) बमोजिम सभा समक्ष निर्णयार्थ प्रस्तुत एकभन्दा बढी प्रस्तावहरूमध्ये
कुनै प्रस्ताव स्वीकृत भएपछि सो प्रस्तावद्वारा प्रस्तावित सदस्य प्रधानमन्त्री पदमा निर्वाचित भएको मानिनेछ र बाँकी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने छैन।
(८) उपनियम (३) बमोजिम प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी प्राप्त प्रस्ताव
माथि व्यवस्थापिका–संसदको निर्णय मत विभाजनद्वारा हुनेछ। प्रधानमन्त्रीको निर्वाचनको लागि
निर्धारित दिनको बैठकमा निर्णयार्थ प्रस्तुत भएका कुनै पनि प्रस्ताव संविधानको धारा ३८ को
उपधारा (२) बमोजिम प्राप्त गर्नु पर्ने बहुमतबाट पारित हुन नसकेमा सभामुखले सबै प्रस्तावलाई
पुनः निर्णयार्थ प्रस्तुत गर्ने प्रयोजनको लागि अर्को बैठक बोलाउनु पर्नेछ। यस उपनियम
बमोजिमको प्रक्रिया कुनै प्रस्ताव संविधानको धारा ३८ को उपधारा (२) बमोजिम प्राप्त गर्नु पर्ने
बहुमतबाट पारित नभएसम्म जारी रहनेछ।
(९) यस नियम बमोजिम प्रधानमन्त्री निर्वाचित भएको व्यहोरा सभामुखले राष्ट्रपति समक्ष
पेश गर्नेछ।
(१०) प्रधानमन्त्री पद कुनै कारणले रिक्त भएमा यसै नियमको कार्यविधि अनुरुप निर्वाचन
गरी पूर्ति गरिनेछ ।

16 thoughts on “के माघ २७ मा प्रधानमन्त्री नचुनिन सक्छ?”

  1. shyam says:
    February 9, 2014 at 3:48 pm

    It’s highly impossible to elect new PM at one strike from Nepal’s Parliament at present configuration of party-level representation, non-sympathy towards fellow party members as well as deep division amongst major parties on major political issues. NC should agree on Prez. and Vice Prez. election asap. This will certainly create a positive vibration towards UML.NC must remember that UML also vote Ram Varan for the post of Prez. because he was a NC candidate then. Otherwise UML would have voted others.

    Reply
  2. स्वयम्भु तुलाधर says:
    February 7, 2014 at 7:15 pm

    नेवारीमा एउटा उखान छ, “िझग्वारा चाकु नयां चाकु सवा मथुम्ह” मतलव दस दल्लो चाकु खायर पनी चाकुको स्वाद थाहा नपाउने । अब हाम्रो नेताहरु यस्तै भए पंछी के गरने । िक त्यही चाकुले हान्न सक्नु पर्यो ।

    Reply
  3. योगेश आदी says:
    February 7, 2014 at 7:38 am

    सर्बोपरी हितलाई ध्यानमा राखी, एमालेले प्रजातान्त्रिक पद्धति भुलेर खुट्टा नअल्झाउने हो भने भारतले टाउको नै फोडे पनि २७ गते शुशिल कोइराला प्रधानमंत्री बन्नेछ /

    Reply
  4. Rmesh says:
    February 6, 2014 at 11:44 am

    हैन भारत् लाइ बीच मा नगुहारी केहि हुदैन कि क्या हो | आफ्नै बुहारी गति छाडा बिग्याहया छिमेकी लाइ के को दोष !!!
    यत्रैसित लौ जा ….
    आफ्नै पार्टी को देउवा लाइ चित्त बुझाउन सक्या छैन … सदाबहार आफ्नै रास्ट्रपति हुनु पर्छ भनेर खिचलो गर्या छ, समर्थन गर्न खोज्ने दल
    लाइ भड़काको छ !!! अनि दोष जति छिमेकी गुण्डा लाइ ???
    मलाइ त कोइराला लाइ भारत् ले मन नापराको भन्ने हल्ला कोइराला कै आसे पासे ले फैलाएको जस्तो लाग्छ !!!

    Reply
    1. ram prasad says:
      February 6, 2014 at 5:48 pm

      जसले जे भने पनि प्रम हुने केपी ओली हुन्. शुसिल को पक्ष मा बहुमत नै पुर्याउन दिएदैन. केपी प्रम भए पछि नम्बर १. बिद्या भण्डारी अनि तेस्पछि महेश बस्नेत, परशुराम , सुदिप बाहुन, दिनेश चरी, साजन महर्जन,कमीले ग्रुप. आयो अब चुल्ठे मुन्द्रे को दिन.

      Reply
  5. SURENDRA hongkong says:
    February 6, 2014 at 9:29 am

    यिनी हरु को ताई न तुइ को बखेडा ले न संबिधान बन्छ न प्रधानमन्त्री नै चुनिन्छ/ देश अनि जनता लाई बन्धक बनाएर कसरि सेवा सुबिधा पचाई रहने भन्ने नियत भएका भैरे हरु बाट कसले कसरि बिश्वास क साथ चुनिन्छ भनेर ठोकुवा गर्ने?मेरो विचार मा १०,१२ पटक प्रधानमन्त्रि को चुनाब गरेर भए पनि २०७१ साल सम्म को दशैं बोनस सम्म खान के बेर?

    Reply
  6. सागर says:
    February 6, 2014 at 8:13 am

    हावा कुरा मा जहिले नि विश्वास गर्ने हावादारी जनताले चुनेका हावादारी नेता ले त्येही हावा प्रधानमन्त्री (नेपाल को इतिहास मा भीमसेन बाहेक) चुन्लान भन्ने कुरो पनि हावा नै हो ! बतास चल्न नि सक्छ नचल्न नि सक्छ ! प्रधानमन्त्री बन्नु, चुनिनु, बास्तबिकता मा काम गर्नु, देश को बिकास गर्नु, जनता को आय स्तर बढाउनु जस्ता कुरा भए पो साच्चिकै प्रधानमन्त्री – यी सब कुरा हावा गफ मै सिमित हुने भएसी प्रधानमन्त्री नै हावा प्रधानमन्त्री !!! तातो न छारो !!

    Reply
  7. xyz says:
    February 6, 2014 at 7:19 am

    The election of a new PM depend on things cooking inside CPN-UML camp. If Oli-Gautam faction agree to go ahead with NC without resolving the issue of president’s election and agree sharing of ministerial portfolio, we will have a new PM. But I see remote possibility of having a new PM; what is more skeptical than this is that whoever form the government, the tenure will not be more than nine months. God Bless You.

    Reply
  8. Shankar says:
    February 6, 2014 at 7:01 am

    न चुनिन सक्छ हैन चुनिदैन | खै जितेपछि दिल्ली दर्बार दर्सन को लागि गा को ?
    नेगेटिब कुरा गर्यो न भन्नु होला ?

    एउटा बिहारी को आदत लाइ राम्ररि अध्यान गर्नु भएको छ भने इन्डियाले हामीलाई गर्ने ब्यबहार ठिक उस्तै खाल को हो | उनीहरुको हात माथि परेको छ , हाम्रो नेता हरुले मोजालाई टाउको मा लगाएको छन् , उसले एक चोटी ” नेपालि लोग कुछ नही कर सक्ता , हामी लोगोको सरकार भी बनाना पड्ता हे ” भन्ने मौका न पाउञ्जेल सरकार बन्दैन |
    तराइको नेतालाई मात्र किन दोस दिने ? कांग्रेस ,एमाले मा मात्र उनका एजेन्ट न होलान ?

    Reply
  9. DIamond sapkota says:
    February 6, 2014 at 6:41 am

    २७ गते प्रधानमन्त्री चुनिन गारो छ. किन भने एमालेको भर् छैन : यो ढुलमुले र तेस्रो लिंगी पार्टी हो …

    Reply
    1. krishna says:
      February 6, 2014 at 1:08 pm

      यो देश बिगार्न काँग्रेस को ठुलो हात छ तेसकारण एमालेको सरकार बन्न पर्छ

      Reply
  10. DIamond says:
    February 6, 2014 at 6:39 am

    २७ गते प्रधानमन्त्री चुनिन गारो छ. किन भने एमालेको भर् छैन : यो ढुलमुले र तेस्रो लिंगी पार्टी हो …

    Reply
  11. chatur rai says:
    February 6, 2014 at 5:54 am

    कहि नभएको संबिधान सभाको दोस्रो र , प्र. म .को लागि १६, र १७ पटक पनि चुनाब हुने हाम्रो देश यी देशको नेताहरु देखेर मलाई त सारै गर्व लाग्छ | चुनाब अगिसम्म बिन स्वार्थ संबिधान बनाउन तिर लाग्छु भन्नेले, आव प्र.म .रास्ट्रपति वा ठुलो मन्त्री बन्छु पो भन्न थाले गाँठे ….यहाँ समस्य मात्र उठाइयो, समधानको बाटो पनि खोज्ने होकी ?

    Reply
  12. Abhinav says:
    February 6, 2014 at 5:28 am

    चुनाव गराएको मंगसिर ४ गते , माघ २७ मा मात्र ८३ दिनहुन्छ
    चुनाव भए पछि १०० दिन मधुमास चाहियो

    फागुन १५ गते १०० दिन पनि पुग्छ शिवरात्रि पनि परेको छ
    शिवरात्रिको प्रसाद ( भांग धतुरो ) खाएर सरकार बनाउछन जस्तो लाग्छ
    कोहि रुनी कोहि हाँस्ने
    जय भोले

    Reply
  13. रविन लामा says:
    February 6, 2014 at 5:19 am

    केपी वलीले छिर्के हानेन भने शुशिल कोइराला निर्विवाद प्रधानमन्त्रीमा चुनिनेछ । छिर्के हानिहालेपनि भारतले नरूचाएको व्यक्तिलार्इ एमाअेवादीको समर्थन हुन सक्छ । हुन त राजनीतिमा सँधै एकैनासको सम्बन्ध हुँदैन जुन कुरा वामदेव र वलीको सम्बन्धले नै देखाइसक्यो । त्यस्तो कुनै अनैाठो भइदियो भने शुशिल कोइराला अभागी हुनेछन् । त्यसपछि दलहरू अघिल्लो संविधान सभामा जस्तो सत्ताको खेलमा बढी व्यस्त हुनेछन र संविधान लेखनको कार्य अेझेलमा पर्नेछ । देशको फेरी दुर्भाग्य हुनेछ । तर कामना गरैां त्यस्तो नहोस् । काँग्रेस र एमाले मिलेर सरकार बनाइ देशलार्इ एक बर्षभित्र नयाँ संविधान देउन ।

    Reply
  14. ashok says:
    February 6, 2014 at 1:31 am

    आम..म..म..कस्तो गाह्रो प्रश्न । यसको उत्तर त हाम्रा हुनेवाला भाबी प्रधानमन्त्रीलाई पनि थाह छैन होला । यो प्रश्नको उत्तर नयादिल्लीलाई मात्र थाह छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme