सधै कृषिपानाको चौथाईमा सिमित नेपालका किसान र उनीहरुका कुराहरु यतिखेर चर्चाको शिखरमा छ । ठुला ब्रोडसिटदेखि विभिन्न अनलाइनसम्म गएको तीन सातायता मोन्सान्टो, जिएमओ, वीउविजन र खाद्यसुरक्षा सम्वन्धी बहसले भरिएका छन् । चौधरी घरानाले भित्राउनै लागेको बदनाम अमेरिकी कम्पनी मोन्सान्टोको आनुवांषिक परिवर्तन गरिएको मकैको विरोध भएपछि उक्त चर्चा एकएक चुलिएको हो । उक्त कम्पनी आनुवासिंक वीउ वेचविखन र त्यसबाट मुनाफा आर्जनको लागि जस्तो सुकै हर्कत गर्न पनि पछि नपर्ने भएकोले विश्वभरि नै बदनाम छ । तर मोन्सान्टोको विरोधको नाममा अनुवांसिक प्रविधीले उत्पादित खाद्यान्न (जिएमओ) र उक्त प्रविधीलाई राक्षसीकरण गर्ने कार्यहरु नेपाली छापामा भइरहेका छन् । त्यसले थुप्रै भ्रमहरु सिर्जना गरेको छ । जिएमओको बारेमा म पनि केहि वर्षसम्म त्यस्तै भ्रममा थिएँ।
यकिन मिति थाह भएन सायद सन् २००३ तिर हुनुपर्दछ हिमाल खबर पत्रिकामा वनस्पति विज्ञ तथा मेरा अग्रज डा तिर्थबहादुर श्रेष्ठको एउटा लेख छापिएको थियो जिएमओ सम्बन्धी।
धेरै कुरा याद नभएपनि उहाँले जिएमओले जैविक विविधता माथि असर पार्ने भन्दै अनुबासिंक प्रविधीले उत्पादित विटी मकैले मोनार्क पुतलीको लार्भालाई असर गरेको कुरा लेख्नुभएको थियो । नेपाल जस्तो जैविक विविधताले धनी देशमा जिएमओ भित्राउँदा त्यसले यहाँको जैविक विविधतामा पार्नसक्ने नकारात्मक असर उक्तलेखमा उठाइएको थियो । भर्खरै वनस्पतिसास्त्रमा एमएस्सी सकाएर जैविक विविधतामा रुची राख्ने र तीर्थ सरलाई आफ्नो आर्दश ठान्ने म उहाँको उक्त कुरा पढेपछि धेरैपछिसम्म पनि प्रभावित भइरहे । सायद जिएमओप्रतिको मेरो धारणा (नकारात्मक) को उत्पत्ति त्यतिवेलादेखि नै भएको हुनुपर्दछ । श्रोत र साधनको सिमितताको कारण तीर्थसरको उक्त लेखमा जुटाइएको प्रमाणको आधार के रहेछ भनेर खोज्न लागिएन धेरैपछिसम्म पनि । त्यसको आवश्यकता नै भएन । यसपाली समरमा अनुसन्धानको लागि नेपालमा जाँदा मेरो झोलामा द इन्फाइनाइट रिर्सोस द पावर अफ आइडियाज अन अ फाइनाइट प्लानेट भन्ने किताब थियो । पुस्तकको ग्रीनर देन ग्रीन भन्ने च्याप्टर पढेपछि र त्यसमा दिइएका सन्दर्भ सामाग्रीहरु पनि हेरेपछि जिएमओ सम्बन्धी मेरो पहिलेको धारणामा परिवर्तन भयो ।
सामाग्री खोज्दै जाँदा पत्ता लाग्यो तीर्थ सरले लेख्नु भएको जिएमओले मोनार्क पुतलीमा पार्ने प्रभावको मुहान सन् १९९९ मा प्रतिष्ठीत नेचर जर्नलमा छापिएको लेख पो रहेछ । जसको आधारमा सानफ्रान्सिको क्रोनिकलले आनुवाषिंक मकैको कारण पुतली खतरामा भन्ने समाचार छापेको थियो । समाचार छापिएपछि अन्तराष्ट्रिय संस्था ग्रीनपिसले अमेरिकी कंग्रेस अगाडि मरेको मोनार्क पुतली जस्तै पहिरन लगाएर प्रर्दशन गरेपछि संसारभरि त्यसले हलचल मच्चाएको थियो । त्यसपछिका बर्षहरुमा यसको समर्थन र विरोधमा जानेर नजानेर पछि लाग्नेहरुको ताँती अझै रोकिएको छैन । नेपालमा यसको प्रारम्भ चौधरी घरानाको वीउकाण्डबाट शुरु भएको छ । त्यसै सन्दर्भमा हिजोको नागरिक शनिवारमा छापिएको तीर्थसरको लेख पढेपछि लाग्यो, तीर्थसरले यहि वर्षको मे ८ मा नेचर वायोटेक्नोलोजी जर्नलमा प्रकाशित वृहद संलेषण अर्थात मेटाएनालाइसिस पत्रचार लेख (३५ पियर रिभ्यु लेख, ५५ अनुसन्धानको वृहद संस्लेषण) पढ्नु पाउनु भएको रहेनछ । नेचर वायोटेक्नोलोजीको उक्त लेखको निष्कर्ष छ विटी मकैले लेपिडोप्टेरा वर्गका (पुतलीवर्ग) किराहरुलाई नकारात्मक असर गर्दैन । (यो लेखको शिर्षक पनि त्यहि लेखबाट लिइएको हो ।)
यतिखेर प्रत्येक हप्ता वा महिनाजसो जिएमओ सम्वन्धी नयाँ नयाँ अनुसन्धानात्मक लेखहरु आइरहेका छन् । गत मे महिनामा प्रतिष्ठीत जर्नल नेचरले जिएमओ सम्बन्धी विषेशांक छाप्यो उक्त पत्रिकामा जीएमओ प्रविधीको बारेमा ब्रेकथ्रु छापिएको तीसवर्षको उपलक्ष्यमा । जसमा भारतिय अभियन्ता डा वन्दना शिवा जसले भर्खर नेपालमा प्रवचन दिएर जानुभयो उहाँले गर्नुभएको जिएमओ (विटी कपास) को कारण भारतमा किसानहरुले आत्माहत्या बढीरहेको दावीलाई झुटो र आधारहिन भनेको छ । डा शिवाको दावीपछि भारतमा किसान आत्माहत्या प्रकरणमा धेरै अनुसन्धान भएका छन् । गुरे र सेनगुप्ताले गरेको अनुसन्धान अनुसार भारतमा आत्माहत्याको दर सन् १९९७ मा प्रतिवर्ष १ लाखबाट बढेर सन् २००७ मा १ लाख २० हजार पुगेको छ तर किसानको आत्माहत्या प्रतिवर्ष २० हजारको वरिपरि नै छ । डा शिवाले नेचरको उक्त फिचरको जवाफमा जीएमओ कपास खेती बढिहुने महाराष्ट्र र आन्द्रप्रदेशमा किसान आत्माहत्या बढिरहेको कुरालाई नेचरले लुकाएको आरोप लगाउनु हुन्छ । डा शिवाको वीउमाथि किसानको अधिकार हुनुपर्ने माग जति तर्कसंगत छ त्यति उहाँको किसान आत्माहत्या प्रकरणको दावी फिक्का हुँदै गएको छ । डा शिवाले किसान आत्माहत्याको दावीलाई पियररिभ्यु जर्नलमा अहिलेसम्म छपाउनु भएको छैन त्यो जवाफ उहाँको एनजीओको वेभसाइटमा प्रकाशित छ ।
परम्परागत वीउ छनौट, वर्णशंकर र जिएमओ
अझैपनि खच्चरले भारी बोकिने नेपालका अधिकांश मान्छेहरुलाई थाह छ खच्चर गधा र घोडाको वर्णशंकर (हाइव्रिड) हो जुन अधिक क्षमताको भारी बोक्ने क्षमतावान हुन्छ तर आफैले सन्तान उत्पादन गर्न सक्दैन् । मान्छेहरुले आफुले चाहे अनुसारको चरित्रको विरुवा र जनावरको खोजी आधुनिक कृषीको शुरुवात भएदेखि नै गर्दै आएका हुन् । खेतिपातीको शुरुवाती क्रममा हामीले अहिले खाइरहेका खाद्य पर्दाथहरुका प्रकार (variety/cultivar) अहिले जस्तो सग्लो, राम्रो, स्वादिलो, बढि उब्जाउ हुने पक्कै थिएन । चाहेको जस्तो गुण बोकेको विरुवाको वीउ छान्ने वा दुई उच्च गुणका विच संर्सग गराउने हजारौं बर्ष पुरानो परम्परागत वीउ र माउ छनौट विधीले त्यो संभव तुल्याएको हो । अझै पनि सकेसम्म खाद्यवालीको वीउ राख्दा ठुलो, स्वास्थ, बलियो राख्ने चलन छ । त्यस्तै गाईवस्तुलाई प्रजनन गराउँदा पनि त्यस्तै किसिमको बर खोज्ने गरिन्छ । वास्तवमा यहि परम्परागत वीउ छनौट विधीको उन्नत स्वरुप अहिलेको जैविक प्रविधी मार्फत गरिने जिएमओ हो । फरक के भने परम्परागत विधीमा छनौटकर्ताले वाहिरी आवरण हेरेर छनौट गर्दछ भने यस प्रविधीमा उक्त खोजेको गुणलाई प्रभाव पार्ने डिएनए वा जीनको छनौट वा मिसावट गरिन्छ । परम्परागत प्रविधीमा डिएनएमा छनौटकर्ताको नियन्त्रण हुदैन र खोजे जस्तो नतिजा नआउने संभावना धेरै हुन्छ । अनुभवको आधारमा गरिने यस्ता प्रकृयाहरु धेरै श्रम र समय लाग्ने हुन्छ । तर जैविक प्रविधीमा वस्तुको कुनै गुणको लागि आवस्यक डिएनए वा जीन पहिचान गरेर डिएनएमा नै फेरवदल गरिने भएकोले यो विधीबाट आशातित गुण पाउन सकिन्छ । यसरी खाद्य वीउहरु उत्पादन गर्ने प्रकृयालाई जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म (जिएमओ) भनिन्छ । यो प्रविधीले उत्पादन गरिएको खाद्यान्नहरु सन् १९९२ तिर बजारमा आएपछि नै यसको समर्थन र विरोधमा विभिन्न स्वरहरु उठ्नेक्रम जारी छ । यद्यपी अहिलेको विश्वको आधुनिक कृषी प्रणालीमा यसको प्रयोग बढ्दो छ । विश्वका २८ देशका १७०.३ मिलियन हेक्टरमा (नेपालभन्दा १२ गुणा बढि) जिएमओ खाद्यान्नहरुको खेती गरिन्छ । विश्वमा उत्पादन हुने भटमासको ८१ कपासको ८१, मकै ३५ र क्यानोलाको ३० प्रतिशत जिएमओ खाद्यान्न हो । यद्यपी युरोपका धेरै मुलुकहरु जापान लगायतका देशमा यसको प्रतिवन्ध जारी छ तर युरोपमा सन् २०१० मा एम्फोल्रा भन्ने जिएमओ आलुले प्रवेश पाएपछि अन्य जिएमओ खाद्यान्नहरु भविष्यमा प्रवेश पाउनेछन् भनरे आशा गर्नेहरु धेरै छन् । किनकी सन् २०१० मा युरोपियन युनियनले गरेको वृहद अध्ययन (करिब ५०० अनुसन्धान संस्था मिलेर ज्१० वर्षको लगाएर तयार पारीएको) प्रतिवेदनले जैविक प्रविधी विषेश गरेर जीएमओ परम्परागत प्रविधी भन्दा खतरनाक होइन भन्ने निष्कर्ष निकालेको थियो । युरोपमा जिएमओ रोक्नु विज्ञानप्रति अविश्वास व्यक्त गर्नु हो भन्न थालिएको छ ( हेर्नुस् प्रतिष्ठीत साइन्स जर्नलको यो सम्पादकिय) । त्यस्तै गरि सन् २०१० मा अमेरिकाको नेसनल रिसर्च काउन्सीलले गरेको वृहद अध्ययनले जीएमओले किटनाशक औषधीको र झारपात मास्ने औषधीको प्रयोग घटाएको, कार्वन उत्सर्जन कम गरेको, माटोको बग्ने प्रकृया रोकेको र माटोको उर्वराशक्ति बढाएको दावी गरिएको छ । तर नेचर विषेशांकमा प्रकाशित लेखमा जिएमओले बलियाझार बढाएको कुरा सत्य भएको भनिएको छ ।
यसै सन्दर्भमा जिएमओ खाद्यान्नको बारेमा सधैभन्दा बढि उदाहरण दिने गरेको सन् २०१२ मा फुड एण्ड केमिकल टोक्सीकोलोजी भन्ने जर्नलमा प्रकाशित एउटा वैज्ञानिक अनुसन्धानात्मक लेख गत महिना मात्रै उक्त जर्नलले हटाएको (retraction) छ । जिएमओ खाद्यान्न खुबाएको मुसामा ट्युमर हुने दावी गरिएको उक्त वैज्ञानिक अनुसन्धानलाई उक्त निष्र्कषमा पुग्न पर्याप्त प्रयोगात्मक आधार नभएको भनेर फिर्ता गरिदिएपछि जिएमओ सुरक्षित रहेको बताउनेहरुको तर्क झनै बलियो भएको छ यतिखेर । नेपालमा प्रवचन दिने क्रममा डा वन्दना शिवाले प्राद्यापक सेरालिनीको उक्त लेख हटाउनको कारण उक्त जर्नलको वर्तमान सम्पादक मोन्सान्टोको पूर्व कर्मचारी भएको आरोप लगाउनु भएको थियो । समर्थन र विरोधमा यस्ता आवाज गुन्जिरहँदा गत सेप्टेम्वरमा साइन्स जर्नलको यो सम्पादकिय मार्फत नोवेल पुरस्कार विजेता लगायतका अन्य वैज्ञानिकहरु समेतले जिएमओ खाद्यान्नप्रति ऐक्यवद्धता जाहेर गरेका थिए । त्यसकारण वर्तमान अनुसन्धानका नतिजाहरु पढेर केहि जानकारी हासिल गरिसेकपछि सन् २००३ मा तीर्थसरको लेख पढेर जिएमओप्रति बनाएको धारणालाई जोगाइराख्न मैले भरपर्दो आधार भेटेको छैन् । भोलीका दिनमा भेटिएका त्यो अर्को कुरा हो ।
अन्त्यमा, जब देश राजनैतिक रुपमा ठुलो प्रयोगशाला बन्दछ र अर्थतन्त्र दानमा निर्भर रहन्छ तब स्वस्थ्य, कृषी र समाज सबैजस्तो क्षेत्रहरु ससाना प्रयोगशाला बनिरहने रहेछन् । मोन्सान्टोको विरोधमा उठेको आवाज जति सकारात्मक छ तर जिएमओको बारेमा नेपाली छापामा भइराखेको वहस एकतर्फि छ । विज्ञान भनेको गतिशिल हुन्छ । नयाँ नयाँ खोज र अनुसन्धानले उजागर गर्ने तथ्य र प्रमाणहरुले नयाँ मान्यताहरु समाजमा स्थापित गर्दै जान्छन् र भ्रम यर्थाथमा बढ्लिन्छ वा ठानिएको सत्य भ्रममा परिणत हुन्छ । विज्ञानको गतिशिलतामा समाजीक धारणामा निरन्तर परिवर्तन भइरहेको हुन्छ । तर जब हल्लाहरुलाई सत्य मानेर संचारजगतले प्रसारित गर्दछ तब पछिल्ला पिढीहरुलाई सत्य स्थापना गर्न र त्यसको खोजी गर्न बढि मेहनत, अनावश्यक झन्झट र प्रश्नहरुको सामना गर्नुपर्ने हुन्छ । त्यसमा पनि जिएमओ जस्तो भर्खरै बामे सर्दै गरेको गतिशिल प्रविधीमाथि कलम चलाउँदा इन्टरनेटमा आधारित (कु?)सुचनाको भन्दा बैज्ञानिक सोधमा आधारित लेख आधार बनाइनु पर्दछ भन्ने मेरो मान्यता छ । सायद अहिलेसम्मको सबैभन्दा बढि वहस भएको विज्ञानको यो क्षेत्र जसको सोझो संपर्क मानव खाद्यसँग छ यस्तो विषयमा हल्ला भन्दा तथ्यको खोजी हुन आवश्यक छ । बैज्ञानिक सुचनाको खोजीमा आग्रह र पुर्वाग्रह पालिनु हुन्न ।
GMO सम्बन्धि अध्ययन अनुसन्धान हुनु आफैमा नराम्रो होइन तर खुला रूपमा प्रायोग गर्न यसको पर्यावरणीय असर हरु बुझ्न पर्याप्त समय बितिसकेको छैन | GMO को प्राकृतिक बनस्पतिमा पर्ने असर सम्बन्धी ठोस नतीजा हरु प्राप्त नहुन्जेल experiment हरु Isolated Laboratory मा गर्न त हुन्छ तर खुला प्रकृतिमा GMO लाई expose गर्नु खतरनाक सिद्ध हुन् सक्छ किनभने प्राकृतिक प्रजाति संग परागसेचन हुनगई कालान्तरमा त्यस वनस्पतिका सम्पूर्ण प्रजाति हरु GMO मा परिणत हुन्छन | स्मरण रहोस एक पटक लोप भैसके पछि त्यो प्रजाति हामि चाहेर पनि फिर्ता ल्याउन सक्दैनौ |
लेखकले hybridization लाई Genetic Modification संग दाजेर भ्रमित पार्नुभो जस्तो लाग्यो दुवै नितान्त पृथक कुरा हुन् पहिलो चाही अन्तर जातीय विवाह जस्तो हो भने दोश्रो clonning जस्तो|
hybridization अथवा cross pollination प्राकृतिक कुरा हो यसमा एकै खालको तर भिन्न जातको (जस्तै मकैका भिन्न जात हरु ) बीच cross pollination भै वर्णशंकर निस्कने हो Genetic modification मा भने त्यसको DNA संग नै छेडछाड गरिन्छ अर्थात् मकैमा रोग वा किरा प्रतिरोधी क्ष्यमता ल्याउन माकुरा वा झिंगाको gene मिसाइएको हुनसक्छ | यो नितान्त अप्राकृतिक र अस्वाभाविक हो यसको असर तुरुन्तै थाह नहुन सक्छ तर जब थाह हुन्छ ढीलो भैसकेको हुनसक्छ |
जीव हरुको gene मा प्राकृतिक प्रकारले पनि निरन्तर परिवर्तन भै रहेको हुन्छ तर त्यस्तो परिवर्तन अत्यन्त ढीलो गतिमा लाखौ करोडौ वर्ष लगाएर हुने गर्छ | पृथ्वीको पर्यावरण र जलवायुमा हुने परिवर्तनमा घुलमिल हुन् त्यसो हुने गर्छ त्यसैले गर्दा नै जीव हरुमा Evolution हुने गर्छ लाखौ वर्ष पहिले ढेडु जस्तो जनावर बाट विकाश भै आजको मानिस बनेको हो | प्राकृतिक कारणले नै अनेकौ प्रजाति हरु लोप पनि हुने गर्छन भनिन्छ हाल पृथ्वीमा जीवित रहेका जम्मा प्रजाति हरु हाल सम्म विकाश भएका प्रजाति को १०% मात्रै हो | प्रकृति धेरै जटिल छ यसलाई पूर्ण रूपमा बुझ्न सकिएको छैन त्यसैले यस संग छेडछाड पनि गर्नु हुन्न | मानवको कारण ले कुनै प्राकृतिक प्रजाति लोप भयो भने त्यो निश्चय पनि दुख दाई हुनेछ र सम्भवतः जगतको लागि खतरनाक पनि |
यदि कुनै कुराको संसार भरि यो सार्हो चर्को बिरोध र controversy हुन्छ भने त्यसमा केहि पक्कै छ. तेसलाई शंकाको दृष्टिले हेरिनु उपयुक्त हुन्छ.
त्यसमाथि कैयौं बिकसित देशहरुले बिना कारण प्रतिबन्ध लगाएका त होइनन होला. सबै बैज्ञानिक उपलब्धिहरु मनबता र बाताबरणको लागि ठिक हुन्छन भन्न मिल्दैन. कतिपय बैज्ञानिक उपलब्धिहरु सिर्फ पैसा र राजनीतिको लागि भएका हुन्छन. के ठिक र के बेठिक वा के उचित र के अनुचित भन्ने कुराको निष्कर्ष निकाल्न खाली विज्ञानका छापाहरु हेरेर मात्र हुदैन. त्यसलाई अलि broader sense मा हेरिनु पर्छ.
यो कुरा कति ठिक हो मलाई राम्रो थाहा छैन तर मैले कहीं पढेको थिएँ मोंसान्तोका उच्च ओहोदाका अधिकारीहरु US Federal Government मा पनि काम गर्छन. उनीहरुको राजनीतिक पहुँच त्यसै बाट थाहा हुन्छ. त्यस्तै White House र Monstanto का cafeteria मा non – gmo मात्र पाईन्छ रे.
यो बहस खाली GMO vs NON GMO को मात्र होइन, यसमा पैसा, राजनीति र कन्ट्रोल लुकेको छ.
मोनसान्तोले सबैभन्दा धेरै पैसो कमाउने भाडो अनि किसानहरु लाइ सबैभन्दा ठुलो घाडो: बिउमा उनीहरुको कपिराइट र हरेक बर्ष मोनसान्तो संगै महँगो डलरमा बिउ किन्नुपर्ने बारेमा लेखकले खासै ब्याख्या गरेको देख्दिन / यो नै मेरो बिचारमा मोनसान्तोबाट जीएमो किन्नुको सबैभन्दा ठुलो समस्या हो / हाम्रै देशमा नार्कले अम्रिका वा अरु कुनै देशको सहयोगमा जीएमओका बिउहरु उत्पादन गर्ने भएको भए माथिको लेखको तर्क उपयोगी हुन्थ्यो होला /
हामी भन्दा धेरै पहिले र विज्ञानको क्षेत्रमा हामी भन्दा सयौं गुणा बिकसित सयौं देशले प्रतिबन्ध लगाउनु नै हाम्रो लागि बुझ्न काफी छ / पक्कै पनी प्रतिबन्ध लगाउने ति देशले हाम्रा देशका झाले माले पत्रिका जस्ताको लेख र समाचारको पछाडी दौडेर प्रतिबन्ध लगाका थिएनन् होला, अनुसन्धान त गरेकै थिए होलान ? कागज मै पुल, नहर, पोखरी, बाटो, कुलो बनाएर कुम्ल्याउने मध्धेका नेपाली निकाएले त कसरि अनुमति दिए त्यो त सबैले आँखा चिम्लेरै पनी बुझ्न सक्छन | झन् थेसिस, कन्ट्री रिपोर्ट, अनुसन्धानका ठेली त फोटोकपी पसल तिर छानी छानी किन्न पाइन्छ | ति देश ले पनी अन्न आयात गरिराखेका छन् र आयात गर्ने रहर कसैको हुँदैन / GMO ठिक नै भए पनी अहिलेको अबस्थामा GMO ठिक हो भन्नु भनेको Monsanto ठिक हो भन्नु नै हो र उसका नीति सहितलाई स्विकार्नु हो | तेसो हो भने के Monsanto लाइ निर्बाध भित्रिन दिने त ? के GMO उत्पादक र बितारकहरुले नेपाली किसानको घाँटी न अठ्याई बिउ बेच्ने वाला छन् त ? लेखक ज्यु ठुलो सरोकारको चासो भनेको Monsanto र उसको नीति र आक्रामक रबैया नै हो | नेपालकै आधिकारिक निकायले बिकाश गरेका बिउको आज सम्म किन कुनै बिरोध भएन त ? किनकि त्यहाँ कृषकहरु पूर्ण स्वतन्त्र र अधिकारयुक्त छन् | गोजी भर्न पाउँदा आमा पनी बेच्ने भेटिने हाम्रो देशमा अलिक सतर्क नै हुनेकी भन्ने मात्रै हो, तिनका लागि किसान त जाबो किरा फट्यांग्रा नै त हुन् नि |
उत्तम, प्रथम त धन्यबाद् खोजमुलक लेखको लागि! मसंग एस्को बिरुद्दमा बहस गर्ने यत्रो खोज र अध्ययन छैन् र यसबारेमा मेरो कुरा खासगरी अडकल बाजीमै सिमित हुने हुनाले म बहसमा होईन की यत्तिकै केही कुरा भन्दैछु! हाइब्रिड पशु (जनावर) अनि मेशिन वा यन्त्रमा प्रयोग हुन्छ जस्तो की लेखमा सुरु गर्दा भने अनुसार् खच्चड एक प्रकारको हाइब्रिड(वा लोब्रिड?) हो! अनि जहासम्म मलाइ थाहा छ जी एम ओ चाँही अन्नबाली भेजिटेबल आदि मा उत्पादनलाई उत्क्रिस्ट बनाउनको लागि गरिन्छ! खैर एहासम्म म ठीक छु? यदि एसो हो भने जिएमओ ले सिधा माटो सँग संपर्क गर्दछ र सम्बन्ध राख्दछ, हो?
यदि एसो हो भने आफ्नो माटोको सिधा संपर्क र सम्बन्ध राख्ने कुरा प्रयोग गर्ने बारेमा हामि निकै सचेत हुनुपर्दछ भन्ने लाग्छ मलाइ! प्रयोगशालामा प्रयोग गरि बिज्ञनले उचित ठहर्यायो भन्दैमा त्यो कुरा सबै भुमिमा उत्तिकै उचित हुने छ भन्ने मलाइ कदापी लाग्दैन!
मलाइ जहासममा लाग्छ जी एम ओ आफैमा नराम्रो हुँदै होईन जसरी धर्म पनि आफैमा नराम्रो छैन् तर स्थान अनुसार् र प्रयोग अनुसार् तेस्को प्रतिफल देखिन्छ, उदाहरणको लागि ईस्लाम लाई लिउ, मलाइ लाग्छ ईस्लाम आफैमा नराम्रो छैन्, तर यो बिश्वोमा हाल इस्लाम कै कारण किन बढी बिध्वन्स भै रहेको छ त? मलाइ लाग्छ यहा ईस्लाम मान्ने र अनुसरण गर्ने मुशलमान मा आधारित छ अनि समाजिकतामा पनि आधारित छ जस्तो की यो बिश्वोमा सबैभन्दा सलिम सौहार्द मित्रबत अनि आत्मिय मुशलमान सायद् नेपालको होला अनि इन्दियाको! किन त? धर्म त उही हो नी होइनर? तर माटो समाज आदिले यो प्रतिफल निकालेको छ!
अमेरिकाको कुनै प्रयोगशालामा प्रयोगगरी उचित ठहर्याइयको जिएमओ प्रबिधी नेपालि माटो सुहाउदो हुन्छ किनकी यो बिज्ञन हो सबै ठाउमा एकैनाश हुन्छ भन्न सकिन्न! बीज्ञन पनि फरक ठाउमा फरक किसीमले प्रयोग आउन सक्छ खासगरी माटोसङ सम्बन्धित भयमा!
तेसैले जी एम ओ आफैमा होनाहार र ठीक भयपनी कुनै अर्को देश् बाट भित्र्याउने जिएमओ प्रबिधिमा बनेको बिउ बिजन को बारेमा निकै गहन अध्ययन र सोच अनि अनुसन्धानको खाचो छ जस्तो लाग्छ! किनकी यदि एसले माटो बिगारे जीवन् बिगार्छ, कुनै अर्को भुमीको बिउ ल्यायर आफ्नो मात्री गर्भमा बिजारोपण गर्नु अगाडी निकै सोच्नु पर्ने हुन्छ!
जव माटो बिग्रिन्छ तेसले जीवन् बिगार्दछ जहाँ सुधार्ने कुनै गुन्जाइसै हुदैन भन्ने लाग्छ मलाई!
तेसमाथी पनि मोन्सान्टो को त बिउ मात्रै को कुरा होईन तेस्को प्रयोग गर्दा बाधिने अनुबन्धन ले किसानलाई आत्महत्या गर्न सम्म वाध्य बनायको कुरा प्रकाशनमा आयको छ!
अनि हाइब्रिद मा जन्माइएको खच्चडले केही ब्यापारीको सामान् ढुवानी गर्न भन्दा अर्को खासै कुनै काम गर्दैन अझै त्यो पर्याबरण र बातावरण को लागि झनै प्रत्युत्पादक ठहरियको छ जस्तो तेस्को आची मल बन्न सक्दैन, एसले टितानस लगायतको किताणु र भाइरस लाई अत्याधिक द्रुत गतिमा बातावरण मा प्रबाहित गर्न मद्दत् गर्दछ! खच्चड मरेपछी जहाँ फालिन्छ त्यो क्षत्रको माटोमा कुनै उर्बरता रहदैन(?)
यी कुराहरू कहि कतै कुनै किताब लेख र अध्ययन बाट साभार गरिएको नभयर जनमानसमा चलेको कुरा मेरो आफ्नै अनुभब र सोच हो तेसैले कुनै जर्नल वा विद्वान लाई उद्घ्रित गर्न असमर्थ छू!
तर पनि म जिएमओ गलत् हो भनेर बिरोध गर्दिन यस्को सहि प्रयोग गरिएमा यो बेसक उचित र जायज हो!
तर जिएम ओ भन्दैमा मोन्सान्टो लाई कुनै पनि हालतमा सहि ठहर्याउन सकिन्छ भन्ने लाग्दैन!
GMO को बारेमा जबाफदेही वैज्ञानिक सूचना खोजखबरै नगरी जवाफदेहिताविहीन श्रोतलाई आधिकारिक ज्ञान मानेर हिडिरहेका सक्रियतावादी र तिनैबाट प्रभावित र भयभित नेपाली सञ्चारमाध्यमलाई सावधान गराउन र जिज्ञासुजनका लागि समेत उपयोगी हुने सन्दर्भसामाग्री र बहसको लागि उत्तमजीलाई साधुवाद !
उत्तमजी को लेख पढे पछि खुशी लाग्यो . हामीहरुले GMO र Monsanto लाई फरक द्रिस्टीकोण ले हेर्नु जरुरी छ. Monsanto को ब्यापारिक नैतिकता (एथिक्स) राम्रो छैन होला, तर त्यो भन्दैमा GMO सबै नराम्रो भन्न जरुरी छैन. GMO नकारात्मक कुरा गर्नु अगाडी, GMO को बैज्ञानिक पृष्ठभुमि बुझ्नु आवस्यक छ. पत्रपत्रिकाको लेख र सम्पादकीय बाहेक उत्तम जीले लेख्नु भएको जस्तो बैज्ञानिक सोध पत्र (Peer reviewed ) जर्नलमा GMO को स्वास्थ्यमा पर्ने नकारात्मक असरहरुको विश्लेषण छ भने म त्यस लाई मान्न तयार छु. तर च्याउ जस्तै उम्रिएका online journal (non peer reviewed ) हरु जसमा पैसा तिरेर आफ्नो लेख छपाउन्दैमा, त्यसलाई बैज्ञानिक आधार छ भन्न मिल्दैन.
यस कमेन्टमा लिंक गरिएको video मा Mark Lynas जो शुरुमा GMO क घोर बिरोधी थिए र GMO बिरुद्ध movement नै चलाए, उनी पछि GMO पछ्यधर भए किनकि GMO को अनुसन्धान को गहिरो अध्ययन पछि मात्र बुझे GMO का सकारात्मक पछ्य हरु के के हुन् भनेर. http://vimeo.com/56745320
लेखमा उठाइएको कुरा संदर्विक लग्यो तर निकै लामो बाझिएको र भ्रमित पर्ने खालको छ GMO प्रयोग गर्ने कि नगर्ने एक्तार्फा बिस्वोकै technically निकैनै अगाडी रहेका देशहरुले प्रतिबन्धित गर्नु र अर्को तर्फा हाम्रो देशलाई प्रयोगशालाको उपमा दिनु ….सर देश गरिब होला आफ्नै ठाउमा छ तर स्वास्थ्य र हाम्रो किसानहरुको भबिष्य गरिब छैन ….आफु पनि भ्रम नापाल्नु र अरुलाई पनि नदिनु …
U just be careful about plan of big dogs. I have even heard about gmo corn that reduce your sperm count to check population growth upon consumption. One more example, why does developed country like US do not allow transportation of seeds.think why? If nepal has to use gmo seeds then it should be developed in nepal only. And the fact is we don’t need to go gmo yet. We just need to preserve our local seeds and be organic .
बिज्ञानमा ल्याबमा गरेको प्रयोगको भरमा प्रकृतिमा एकै चोटी खुल्ला छोड्नु हुन्न / नेपाल संग तेस्तो प्रबिधि दक्षता नै छैन by-change केहि भए त्यो GMO ले नै गर्दा भयको हो भन्न लाई र निदान गर्नलाई / तेहीं भयर GMO निर्बिबादित नभय सम्म हामीले प्रयोग नगर्नु नै बेश /
सर्वप्रथम त सकारात्मक बहस उठाउनुभएकोमा धन्यवाद । पक्कै पनि हामीले गर्ने विरोधहरू विज्ञान र प्रविधिको विरूद हुनुहन्न तर त्यसका साइड इफेक्ट र विज्ञान र प्रविधिलाइ प्रयोग गरेर नाफा कमाउन जस्तोसुकै नकारात्कम काम गर्न पछि नपर्ने नाफाखोरहरूप्रति लक्षित हुनुपर्छ ।
अब कुर गरू GMO को, म वैज्ञानिक हैन, तर तपाइकै शब्द सापटि लिउँ “युरोपका धेरै मुलुकहरु जापान लगायतका देशमा यसको प्रतिवन्ध जारी ” ति मुलुकहरूले विनाअधार GMO मा प्रतिबन्ध लगाएको त हैन होला नि । अनि फेरि “जिएमओले बलियाझार बढाएको कुरा सत्य भएको भनिएको छ ।”
यसको पक्ष र विपक्षमा बहस हुदै गर्दा हामीले चाहि तुरून्तै GMO प्रयोग गरिहाल्नु पर्ने अावशयकता पनि त परेन नि । GMO को विकास पक्कै पनि खराब उदेश्यले भएको होइन , तर यसका पनि त केही नकारात्कक पक्षहरू होलान । यसका सकारात्मक र नकारात्मक पक्षको विचार गरेर यो प्रयोग गर्ने कि नगर्ने भन्ने निर्णय किसान अाफैले गर्ने पाउनुपर्छ, सहयोगको नाममा भ्रम छरेर किसानहरूको निर्णयलाइ प्रभावित पर्नु हुदैन ।
अनि अर्को कुरा ‘किसान’ ले अात्महत्या गर्छ भने पक्कै पनि उनको ‘किसान कर्म’ ले धोका दिएको कारणले हुने सम्भावना धेरै हुन्छ, पक्कै पनि i phone नपाएर किसानहरूले अात्महत्या गरेरन होला । प्रतिवर्ष २० हजार किसानले अात्महत्या गर्नु के गम्भिर कुरा हैन र ?