Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वाइवाइ – आखिर भएको के हो दाइ?

Posted on September 13, 2013September 13, 2013 by Salokya

भर्खरै बेस्ट ब्रान्डको अवार्ड थापेको चौधरी ग्रुपको सिजी फुड्सले उत्पादन गर्ने वाइवाइ चाउचाउबारे पछिल्ला केही दिनमा निकै कुरा सुनिएको छ। ‘नयाँ पत्रिका’ र ‘कान्तिपुर’ दैनिकले यसबारे समाचारसमेत छापे। वाइवाइ उत्पादक सिजी फूड्स आफैले पनि आजको पत्रिकामा विज्ञप्ति छापेरै यसबारे सार्वजनिक जानकारी गराएको छ। खासमा वाइवाइमा भएको चाहिँ के हो त ?

यसबारे मैले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्तासँग सोध्दा उनको जवाफ यस्तो थियो-

विभागले गत आ.व. २०६९/७० मा दायर गरेका २६७ वटा मुद्दाहरूमध्येको एक मुद्दा वाइवाइ चाउचाउसँग सम्बन्धित हो। वाइवाइ चाउचाउ फ्राइ गर्दा उही तेल धेरै पटक प्रयोग गरिएकाले (repeatedly used the same oil) चाउचाउ न्यून गुणस्तरको हुने अवस्था हो।

खास कुरो यही हो। अब पत्रपत्रिकाले कसरी छापे त्यो हेरौँ।

नयाँ पत्रिकाले यसबारे यस्तो समाचार भदौ २४ मा छापेको थियो-

चौधरीको वाइवाइ चाउचाउविरुद्ध मुद्दा
अजित अधिकारी/नयाँ पत्रिका
काठमाडौं, २४ भदौ
सर्वाधिक बिक्री हुने वाइवाइ चाउचाउको गुणस्तर तोकिएभन्दा न्यून भेट्टिएपछि सरकारले आवश्यक कारबाहीका लागि मुद्दा दायर गरेको छ । वाइवाइ व्यावसायिक घराना चौधरी ग्रुपको उत्पादन हो ।
वाइवाइ चाउचाउ उत्पादक सिजी फुड्स प्रालिविरुद्ध कारबाहीका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्दा दायर गरेको हो । विभागको मुद्दाउपर कस्तो कारबाही हुने भन्ने फैसला प्रमुख जिल्ला अधिकारीले गर्ने प्रावधान छ ।
चौधरीको ललितपुर, भैँसेपाटीस्थित उद्योगलाई विपक्षी बनाई दायर गरिएको मुद्दामा खाद्य ऐनअनुसार कारबाही गर्न विभागले सिफारिस गरेको छ । वाइवाइ चाउचाउमा प्रयोग हुने खाने तेलको गुणस्तर कम पाएपछि जनस्वास्थ्यमा खेलवाड गरेको ठहर गर्दै आवश्यक कारबाहीका लागि मुद्दा दायर गरिएको विभागका प्रवक्ता प्रमोद कोइरालाले जानकारी दिए ।
‘वाइवाई चाउचाउमा प्रयोग हुने तेलको गुणस्तर कम पाएपछि आवश्यक कारबाहीको सिफारिससहित सिडिओ कार्यालय ललितपुरमा मुद्दा दायर गरेका हौँ,’ प्रवक्ता कोइरालाले भने । विभागले मुद्दा दायर गरेको भैँसेपाटीस्थित वाइवाइ उद्योगले प्रतिमिनेट १ हजार ३ सय ५० वटा प्याकेट उत्पादन गर्ने क्षमता राख्छ ।
चौधरीको सर्वाधिक बिक्री हुने वाइवाइ चाउचाउको गुणस्तरमा सरकारी निकायले खोट लगाएको यो पहिलोपटक भने होइन । आव ०६८/६९ मा पनि विभागले वाइवाइको तेलको गुणस्तर कम रहेको खोटयाउँदै कारबाहीका लागि मुद्दा दायर गरेको थियो । त्यतिवेला चौधरी ग्रुप सामान्य जरिबाना तिरेर मुक्त भएको थियो ।
लाखौँ नेपालीले विश्वास गरेर उपभोग गर्दै आएको वाइवाइमा राखिएको न्यून गुणस्तरको तेलले पेटसम्बन्धी समस्या सिर्जना गराउने खतरा रहेको विभागले जनाएको छ । ‘वाइवाइमा कमसल तेल प्रयोग भएको पाइयो, यस्तो तेलले पेटसम्बन्धी रोग लाग्ने खतरा हुन्छ,’ प्रवक्ता कोइरालाले भने ।
चाउचाउ उत्पादनको दौरान लामो समयदेखि तताइरहेको तेलमा डुबाउने र पछि पुन: सुक्खा गर्ने गरिन्छ । विभागले लामो समयदेखि तताइने तेलमा समस्या देखाउँदै कारबाहीका लागि सिफारिस गरेको हो । धेरै बालबालिकाको रोजाइसमेत बनेको वाइवाइ न्यून स्तरको तेल प्रयोग हुँदा जनस्वाथ्यका लागि खतरा बनेको छ । वाइवाइ चिकेन र भेज २ स्वादमा ७५ ग्रामको तौलमा उत्पादन भइरहेको छ । उपभोक्तावादी संस्थाले वाइवाइको कमजोरी पत्ता लगाएर कारबाही प्रक्रिया थालिएको प्रति सकारात्मक धारणा राखेका छन् ।
‘वाइवाइ चाउचाउप्रति गुणस्तरमा पहिलेदेखि नै शंका उब्जिरहेको हो । प्रयोगशालाबाट प्रमाणित गरी न्यून गुणस्तरको उत्पादनमा कसुर ठहर्‍याई कारबाही हुन लागेको सुन्दा खुसी लागेको छ,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने ।

यस्तो हुन्छ कारबाही
लाखौँ नेपालीले उपभोग गर्दै आएको वाइवाइ चाउचाउमा तेलको गुणस्तर कम भई कारबाहीका लागि मुद्दा परे पनि चौधरीलाई ठूलो कारबाही गर्ने कानुन भने छैन । खाद्यऐन, ०२७ बमोजिम चौधरी ग्रुपलाई कारबाही हुँदा २ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिबाना वा ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । न्यून गुणस्तरको सामान उत्पादन गरी जनस्वास्थ्यमाथि गम्भीर खेलवाड गर्नेलाई योभन्दा ठूलो कारबाही खाद्य ऐनले गर्न सकेको छैन ।
ललितपुरका जिल्ला प्रशासन अधिकारीमा निहित अधिकारको उपयोग भने हालसम्म जरिबाना रकमसम्म मात्र भएको छ । चौधरी ग्रुपका पदाधिकारीलाई जेल सजाय हालसम्म गरिएको छैन । पटकपटक वाइवाइ चाउचाउको गुणस्तर सुधार्न सचेत गराए पनि चौधरीले गुणस्तर सुधार गर्नुको साटो कानुनले तोकेको सामान्य जरिबाना तिरेर उन्मुक्ति पाइरहेको छ ।
उपभोक्तावादी संस्था उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले कारबाही कमजोर हुँदा ठूला कम्पनीसमेत उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नतिर लागेको आरोप लगाए । उनले नियमनकारी निकायको उपस्थितिमा समेत कमजोरी औँल्याए ।

त्यसैगरी कान्तिपुरमा छापिएको समाचार यस्तो छ-
waiwai

आजको रिपब्लिकामा छापिएको सिजीको विज्ञप्ति पढौँ-
cg
नोटः माथिको सिजी फुड्सको विज्ञापन विज्ञप्ति यहाँ राखेवापत् माइसंसारले कुनै रकम पाएको छैन।

प्रेस काउन्सिलको आचार संहिताको बुँदा नम्बर १२ मा के भनिएको छ. त्यो पनि हेरौँ-
council1
council2

नेपाली नबुझ्नेका लागि अङ्ग्रेजी Code of Ethics
council3

जाँदाजाँदै यो पनि,

सोसल मिडियामा वाइवाईको समाचार सेयर भएका छन्-

वाइवाईसहित २६७ विरुद्ध मुद्दा अर्थ / वाणिज्य #Kantipur http://t.co/Cw0dU6bn1Y

— Suraj Kunwar (@1stNepali) September 11, 2013

गुगलमा वाइवाई सर्च गर्दा कान्तिपुरको समाचार यसरी देखाउँछ-
waiwai1

अनि त्यही लिङ्कमा क्लिक गर्‍यो भने चाहिँ पेज यस्तो आउँछ-
waiwai2
शायद् त्यसमा लेखिए जस्तो ‘तपाईँलाई यो पेज हेर्ने अधिकार नभएको हुनसक्छ’।

अनि यो पनि,

Judge for yourself. The treatment of our press. #WaiWai vis-a-vis Gundpak Stores et al.

— Arpan Shrestha (@arpan_shrestha) September 12, 2013

22 thoughts on “वाइवाइ – आखिर भएको के हो दाइ?”

  1. Cika says:
    September 15, 2013 at 4:21 pm

    म UK मा बसेको धेरै नै भयो . मेरो परिवारले waiwai धेरै मन पराउछन. केहि महिना अगाडी देखि waiwai धेरै नै गनाउने आउन थालेको छ मैले waiwai खान बन्द गरेको छु. Expire date ३ ४ महिना बाकी हुन्छ तर खादा धेरै नै गनाउने. यो बिषयमा मैले uk को कानुनी सल्लाह लिने पनि गर्दै छु . यदि सधै गनाउने waiwai आयो भने uk को health and safety लाई खबर गरिदिने छौ . UK मा waiwai बिरुद्ध मुद्दा हाल्यो भने waiwai नेपाल बाट Uk निर्यात हुन बन्द गर्न पनि सक्छ.

    Reply
  2. siddhartha says:
    September 15, 2013 at 4:07 pm

    शम्भु थापाले कर छल्नु र हाम्रा चौधरी ग्रुपले अखाद्य पदार्थ मिसाउनु उस्तै उस्तै हो किनकि पावर, पैसा ले मात्तेका छन् नि त !!

    Reply
  3. Prostyam Lyamsol says:
    September 15, 2013 at 4:49 am

    अब अरु चाउचाउहरु जस्तै वाइवाईलाई पनि सबै नेपालीले घरघरबाट बाइबाई गरिदिए कसो होला रु न रहन्छ साँप न बज्छ मुरली… अब सरकारले यो काम गर्न सक्दैन भन्ने कुरो पक्का भएकाले जनताले आआफ्नो तर्फबाट उपभोग गर्न छाड्ने हो भने त्यही नै सबैभन्दा ठूलो कारबाही हुनसक्छ ।

    Reply
  4. पुष्प says:
    September 14, 2013 at 11:18 am

    चिट्ठी काटेको मिति भन्न आनाकानी गर्नु र चिट्ठी पाएको छैन भन्नुबीच ‘तालमेल’ मिल्याजस्तो छ । अनि हेर दण्ड-जरीवानाको बिजोग ! कुन सालमा बन्या हो यो नियम ! समयानुकूल ‘अपडेट’ किन गरिँदैन हौ हाम्रा नियमकानूनहरू !

    Reply
  5. Dipak, Sydney says:
    September 14, 2013 at 11:11 am

    वाई वाई सम्बन्धि समाचार छाप्नु भएकोमा खुब खुसि लाग्यो! एउटा कुरामा हामी सबै सहमत छौ कि वाई वाई र मो मो हाम्रो नेपालीको जहाँ गए पनि सबै भन्दा मन पर्ने खाने परिकार हरु हुन्! हामि विदेशमा बसेर पनि यी कुरा हरु कहिले पनि छुतौदैनौ तर गएको २-३ बर्ष देखि अस्ट्रेलियामा पनि नेपाली समान हरु आउने भएकोले येहाका इन्डियन र नेपाली पसल हरु मा वाई वाई प्रसस्तै पाइन्छ ! मैले पनि वाई वाई किनेर लाएको छु- एउटा सानो कार्टून नै ! तर अहिले को वाई वाई नेपाल मा बनेको नभएर इंडिया को आउछ! येस्मा एक किसिमको सारै गनाउने तेल को गन्ध आउछ जसले गर्दा मुख मा राख्न नै सकिदैन! नेपाल मा बनेको र इंडिया मा बनेको मा की फरक छैन! सिड्नी मा यो नुडल ब्याण्ड नै भएको छ आखाद्य भनेर!

    Reply
    1. Rabindra Basnet says:
      September 14, 2013 at 12:33 pm

      सिड्नीमा वाइवाइ ब्यान भएको भनेको चैँ हल्ला मात्रै हो कि कुनै प्रमाण, लिङ्क पनि छ समाचार छापिएको यसबारे दीपक जी?

      Reply
  6. gyan says:
    September 14, 2013 at 7:05 am

    गुणस्तर को कुरा आफ्नो ठाउँमा छ तर हामी नेपालीहरुलाइ तेतिको मतलब को बिषय नै बन्दैन किन किन हो किन. धावा पसल हरु ( खुल्ला रुपमा म म , सेकुवा बेच्ने ) मा तेही तेलमा कति पटक फ्राई गरिन्छ गरिन्छ / अनि कति दिन तेही तेल प्रयोग गरिन्छ / खानेहरुलाइ पनि वास्ता छैन बेच्ने हरु पनि अनि नगरपालिका र अरु सम्बन्धित संथाहरुलाई पनि मतलब छैन / नगरपालिकाले उल्टै कर उठिरहेकै छ (भक्तपुर को केशमा ) / अचम्म /

    Reply
  7. Suman Gurung(UK) says:
    September 14, 2013 at 5:55 am

    खास मा गुणस्तरहीन खाद्य बस्तु उत्पादन गर्ने कम्पनि लाइ सिधै बन्द गरि , गुणस्तर मा सुधार नगरिन्जेल उत्पादन मा रोक लगाउनु पर्ने हो, यो त झन् चुनाब को बेला मा प्रचार प्रसार गरेको जस्तो होला चौधरी को. दुइटै हात मा लड्डु.

    Reply
  8. संजय झा says:
    September 14, 2013 at 4:52 am

    वाइ वाइको गुणस्तर मानव स्वास्थ्यको लागी उपयुक्त नभएको परीक्षणमा पाएर अष्ट्रेलिया सरकारले ६ महिना अगाडी आयातमा प्रतिबन्ध लगाएको थियो। यद्यपि यो वाइ वाइ कोही बिदेशीले खादैनन त्यही जाँगर नभाका नेपाली केटाकेटीले मात्रै खाने हो। केही बर्ष अगाडी मेरो क्याम्पसमा गोरे शिक्षकको अगाडी एक जना ले काँचै वाइ वाइ खाको देखेर त्यो शिक्षकले नेपालीहरु त लेखपढ गरे पनि के र कस्तो खाना खाने भनेर नसेाच्ने रहेनछन् भनेको याद आई रहन्छ मलाइ। गरीब नेपालीलाई गुणस्तरहिन वाइ वाइ बेचेर चौधरीले पैसा भारत श्रीलंका र दुबैमा लगानी गरेको मलाइ जती अरुलाई थाहा भए नेपालमा वाइ वाइको खपत आजैबाट बन्द हुन्छ!!!

    Reply
    1. Rabindra Basnet says:
      September 14, 2013 at 1:09 pm

      माथि दीपकजीले सिड्नीमा वाइवाइ ब्यान भएको भने यहाँ तपाईँले अस्ट्रेलियामा। हैन खासमा चैँ यो हल्ला मात्रै हो कि कुनै प्रमाण, लिङ्क पनि छ समाचार छापिएको यसबारे संजय जी?

      Reply
  9. Tika Ram says:
    September 14, 2013 at 3:26 am

    प्रति मिनेट १३५० पकेट उत्पादन गर्दा एक बर्समा ६९९८४०००० पाकेट उत्पादन गर्ने रहेछ एउटा काठमान्डू मा भएको कारखाना ले मात्र. एउटा पाकेट बाट २५ पैसा मात्र फाइदा लिएपनि एक बर्समा तेही एउटा कारखाना बाट उत्पादित चाउ चाउ बाट मात्र बर्षमा १७४९६०००० अर्थात सत्र करोड उनन्पचास लाख फाइदा हुने रहेछ / परासीमा रहेको झन् ठुलो कारखाना बाट हुने कमाइ त झन् कति हो कति! कम गुणस्तरको सामान बेचेर करोडौ जनताको स्वास्थ्यमा खेलवाड गर्ने र अरबौ कमाउने चौधरीलाई कारवाही गर्दा ५ हजारको जरिवाना हुनेरहेछ/ कम गुणस्तरको उत्पादनलाई बिना हिच्किचाहट निरन्तरता दिई यस्तो जरिवाना जति पटक पनि तिर्दै जान धृष्टता उसले गरेको रहेछ / कानूनमा संसोधन गरेर उद्योगहरुलाई कडा कारवाही गर्ने भनेको पुजिपतिहरुलाई जरिवाना गर्नु हो जुन नेता तथा सचिवहरुले गर्न चाहदैनन् / कानूनलाई कडा बनाएर वा जरिवानाको रकम उत्पादकले देश र जनतालाई पुर्याएको क्षेतीको पूर्ति गर्ने मात्रा सम्म बढाएर मात्र यस्ता अपराधहरूलाई नियन्त्रण गर्न सकिन्छ/

    Reply
  10. Prakash Paudel says:
    September 14, 2013 at 12:58 am

    सलोक्याजी,

    यो वाइवाइमा मात्र रहेछ कि अरुमा पनि , यो कसरी पत्ता लगाउन सकिएला । चाउचाउ नै खान नहुने भो।

    Reply
  11. Bhuwan says:
    September 13, 2013 at 10:24 pm

    जनता लाई अति आवस्यक कुरा मा चाहि ढाड सेकिने गरि ट्याक्स लिने तर गल्ति को जरिबाना चाही २-५ हजार रे , त्यो पनि खाध्यबस्तु कम गुणस्तरको बनाएकोमा / नेपाल मा निएम कानुन भएर मात्रै के गर्नु एस्तो तातो न छारो को कानुन भएपछी , येत्तिकै गरिबी र भोकमरी ले मर्दैन नेपाली जनता/ हे भगवान नेपाल क निएम कानुन बनाउनेलाई सद्बुद्धि देउ !!!!!!!!!!!!!

    Reply
  12. Nabin Adhikari says:
    September 13, 2013 at 9:53 pm

    तेत्रो भ्याट काण्ड हुदा कारबाई गर्न नसक्ने हुतिहारहरु ले चौधरीको वाइवाइ चाउचाउविरुद्ध मुद्दा हाले र केही लछारपाटो लगाउछ जस्तो लाग्दैन |
    ठुला लाइ चइन साना लाई अइन ||

    Reply
  13. Rabin says:
    September 13, 2013 at 8:55 pm

    हाम्रो कानुनै खत्तम छ के गर्ने ? कडा कानुन बनाउन पर्यो नि . जनस्वास्थ्यमाथि खेलवाड गर्ने माथि कम्तिमा पनि १० वर्ष जेल सजाय र लाखौँ जरिवाना हुनुपर्छ . कुनै उपभोक्ताले त्यस्ता खाद्य पदार्थबाट बिरामी परे मुद्दा हाल्ने व्यवस्था र दोषी ठहरे उपयुक्त छतिपुर्ति दिने व्यवस्था सहितको कानुन हुनु पर्यो क्या नेपालमा .

    Reply
  14. Suraj Shrestha says:
    September 13, 2013 at 7:34 pm

    आदरणीय पाठक ज्युहरु
    नमस्ते !

    मेरो घरमा पुड़ियाको चाउ चाउ (वाई वाई जस्तो) प्रतिबन्ध छ

    बिस्लेष्ण गरे अनुसार नेपाली सा-साना पुड़ियाको चाउ चाउ (वाई वाई जस्तै) भन्दा चिउरा, भुजा, भटमास, चना, पाउरोटी, अन्डा र समयले भ्याए भने रोटी तरकारी, अचार, बारा, चटामरी, सेल रोटी, खीर पौष्टिक र स्वास्थकलागि धेरै नै उत्तम हुन्छ

    अन्तरराष्ट्रिय अनुसन्धान अनुसार सा-साना पुड़ियाको चाउ चाउ (वाई वाई जस्तै) स्वादिलो र सुक्खा बनाउनकोलागि मिसासिएको बस्तु मन्द-बिष भनिएको छ

    बैज्ञानिक अनुसन्धान अनुसार ३ देखि १५ बर्ष सम्मका केटा केटिहरुले सा-साना पुड़ियाको चाउ चाउ (वाई वाई जस्तै) साताको ७५ देखि १२५ ग्राम २ देखि ५ बर्ष खाएमा यो मन्द-बिषको असरको लक्षण १०-१२ बर्ष पछि हाड कम्जोर हुने, सुस्त मनस्थिति, मोटोपन, आखा कम्जोर हुने, कपाल झर्ने, छालाको बिकार उत्पन्न हुने, मुटु कम्जोर हुने, पाचन शक्ति बिग्रिने र रगतको रसायन असन्तुलन हुने जस्तो लक्षण देखिएको छ

    होसियार !!!

    सुरज श्रेष्ठ

    Reply
  15. Sisir says:
    September 13, 2013 at 5:37 pm

    वाइवाई नै एस्तो हो भने अरु चाउचाउ त छुदै नछोए पनि हुन्छ, सबै भन्दा स्वादिलो र गुणस्तरीय मानिने वाइवाई चाउचाउको यो हाल छ भने नेपालका अरु चाउचाउहरुको इस्थिती झनै कस्तो होला ?नेपालमा खान र पियुन लाएक चिजको लिस्ट कसैले दिए सबैको हितमा हुने थियो ..

    Reply
    1. इश्वर चन्द्र आर. says:
      September 14, 2013 at 9:24 am

      मेरो कमेन्ट छाप्नुहुन्छ कि हुन्न कुन्नि ? अवस्य जनता को स्वास्थ्य माथि खेलवाड गर्नु हुन्न ! त्येस्तो गर्ने लाइ कारबाही गर्नु पर्छ ! मैले यहा जनाउन खोजेको कुरो “चाउ चाउ” नेपाली मा – चिनिया मा मिन्ह:, लाइ हामीले घरायेशी खाजा को रुप मा प्रयोग गर्दा अलि अतिसय को रुप मा लिने गरिन्छ ! स्वस्थ – भरपर्दो – बनाउन छिट्टो – खान मा मिठो हो चाउ चाउ ! येश्लाई खाजा को सट्टा खाना को रुप मा नि लिन सकिन्छ ! हो ओउधोगिक रुप मा उत्पादन गरिएका चाउ चाउ मा गुणस्तर मा कमि भएर खान का लागि प्रतिकुल होलान तर अवस्य यो सेल रोटि, पुरी, जलेबी, समोसा भन्दा सस्तो – छिट्टो – र स्वास्थ्य / पौष्टिक हुन्छ ! हामि ले घर मै चाउ चाउ बनाउने काइदा सिक्ने हो भने खाना मा नेपाल आत्मा निर्भर हुन्छ र अहिले कै उत्पादन मा पनि निर्यात हुन सक्छ ! चाउ चाउ लाइ लाछ्छेदार बनाएर / अलिक सुकाएर राख्ने हो भने एक पटक बनाएको ले महिना दिन सम्म खान पुग्छ ! एस्लाई फ्राई या झोल मा हालेर खान सकिन्छ ! यहा कसरि बनाउने ? यो तरिका भन्दा अलिक लामो कमेन्ट हुन जान्छ ! एस को बिषय मा पछि उल्लेख गरौला ! तर चाउ चाउ – मकै, चामल, कोदो, मैदा(गहु), काचो केरा, विभिन्न प्रकार का गेडागुडी को पिठो – तरुल आदि बाट बनाउन सकिन्छ !

      चाउ चाउ अति राम्रो, पौस्टिक, सस्तो र स्तरिय खाना हो ! बिरोध त्येश को गरोउ जसले निम्न गुणस्तर को चाउ चाउ उत्पादन गरेर ठगि रहेको छ कृपया चाउ चाउ को बिरोध चाही नगरोउ – जापान – कोरिया – चिन को प्रगति चाउ चाउ भित्र लुकेको छ !

      Reply
  16. Bimala Raut says:
    September 13, 2013 at 4:52 pm

    यो सायद पहिलो पटक होइन होला खाद्य पदार्थमा मिसावट र असुद्दता भेटिएको…..साएद हामी नेपालीले खाने खाद्य पदार्थ मा गुन्स्तारता भन्ने कुरा निकै नै न्युन होला ……तर चित्त नबुझ्दो कुरा के हो भने राज्यले अगुन्स्तर खाद्य पदार्थ बिक्करी बितवरण गर्नेलाइ दिनु पर्ने सजाय दिन सकेको छैन र पहल पनि गर्दैन……कानुन भन्ने कुरा पनि कस्तो हो कस्तो यहाको, अरबौको गुणस्तरहीन समान बेचेर जम्मा २-५ हजारको जरिवाना रे…एस्तो गरेर पनि देश कहिले उभो लाग्छ त अब…..न देश को हित, न त जनताको……सरासर सोझा जनताको स्वाथ्य माथि खेलवाड भयो यो त……

    Reply
  17. Sunil, London says:
    September 13, 2013 at 4:11 pm

    यो कम्पनी विश्व कै “अरबपति” मध्ये एक बिनोद चौधरीको हो भन्ने कुरा उल्लेखनिय छ ! जसलाई VAT काण्डमा कुनै कारवाही भएन , र जसलाई आगामी चुनाव मा एमाले ले आफ्नो तर्फ़ बाट उम्मेदवार बनाउने कुरा सार्वजनिक गरिसक्यो, के उनलाई नेपाल को कानूनले कारवाही गर्न सक्ला त ? एउटा उखान छ नि “आकाशमा थुक्यो भने अनुहारमा खस्छ” केही हुने वाला छैन बरु मुद्दा हाल्ने लाई नै मानहानी को मुद्दा लाग्ने त हैन ?

    Reply
  18. सुमित says:
    September 13, 2013 at 3:42 pm

    ल ठिकै छ नि त ! गल्ति गर्यो रे वाई वाई ले भने के त्यो ५ हजार र १ बर्ष को कैद (दुवै भएमा ) पूर्ण होला र ? यति गम्भीर कुरा मा सजाए यति राखेर के “लौ तिमीहरु जे मन लाग्छ गर हामि ले कारबाही गरे जस्तो गरुला” भनेर पिटे जस्तो र ऐया भने जस्तो नाटक गर्न लाइ बनाएको कानुन त्यो ?

    Reply
  19. Sujan says:
    September 13, 2013 at 2:47 pm

    हाम्रो देशको कानुन लाई के भन्ने खै, अरबौ कमौन्चन जम्मा २-५ हजार जरिवाना रे 🙁

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme