यो फोटो सम्झनुभएको छ ? १२ वर्षअघि आज अर्थात् सेप्टेम्बर ११ का दिन वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी आक्रमणपछि त्यो गगनचुम्बी भवनबाट हाम्फाल्दै गरेको फोटो हो यो। फोटो पछाडिको कथा झन् रोचक छ, फोटो खिच्ने फोटोग्राफर आफै एउटा इतिहास हुन्, आलोचना पनि चर्को खेप्नु पर्यो यो फोटोले, हाम्फाल्ने को हो भनेर पत्ता लगाउन पत्रकारहरुलाई कति गाह्रो भयो, यो सब इतिवृत्तान्त एसक्वायर म्यागेजिनमा सन् २००३ मा प्रकाशित भएको थियो। यहाँ त्यसैको केही प्रमुख अंशको अनुवाद राखिएको छ।
फोटोमा देखिने मान्छे खसेको हैन उडेको जस्तो देखिन्छ। उनी शान्त छन्। अरु सबै यस्तै हाम्फाल्नेहरुको फोटोमा कुनैमा सर्ट नभएको, कुनैमा जुत्ता पनि उडेको देखिन्छ। यसमा भने उनी सीधा तल झरिरहेको देखिन्छ। पछाडिको भवनको लाइनहरु र उनको जिउको लाइन एकैनासको देखिन्छ। स्थानीय समय अनुसार बिहानको ९ बजेर ४१ मिनेट जाँदा खिचिएको यो तस्बिरपछि १५० माइल प्रति घण्टाको गतिमा उनी तल खसे र गायब भए।
*********
फोटो खिच्नेको इतिहास
यो खिच्ने इतिहासमा अपरिचित हैनन्। रिचर्ड ड्रयुले खिचेका हुन् यो फोटो। त्यो घटनाका उनी एक प्रत्यक्षदर्शी हुन्। उनी २१ वर्षका हुँदा बबी केनेडीको हत्या भएको थियो। त्यतिबेला उनी केनेडीको ठीक पछाडि थिए। टाउकोमा गोली हानी केनेडीको हत्या हुँदा उनको ज्याकेटमा रगतै रगत लागेको थियो। तर उनी उफ्रिएर टेबलमा गए र केनेडीको फोटो खिचे, उनको खुला र विस्मयादिबोधक आँखा प्रष्टै देखिने गरी। त्यसपछि उनी इथेल केनेडीको फोटो खिच्न थाले, जो आफ्ना पतिलाई सहारा दिँदै फोटोग्राफरहरु र उनलाई फोटो नखिच्न अनुरोध गर्दै थिइन्।
रिचर्डले कहिल्यै त्यसो गरेनन्। उनले केनेडीको रगत लागेको ज्याकेट सुरक्षित राखेका छन्। तर फोटो नखिच्ने काम उनले कहिल्यै गरेनन्। उनी एसोसिएटेड प्रेस (एपी) मा काम गर्छन्। उनी पत्रकार हुन्। आफ्नो फ्रेममा पर्ने दृश्यलाई अस्वीकार गर्न उनी सक्दैनन्। क्यामेराले शरीर जिउँदो हो कि मृत हो छुट्याउँदैन। र, उनी शरीर खिच्ने व्यवसायमा छन्।
र त्यो दिन पनि उनी शरीरकै फोटो खिच्दै थिए। सेप्टेम्बर ११ को बिहान एपीले उनलाई ब्रायन्ट पार्कमा गर्भवती मोडलहरुको फेसन सोको फोटो खिच्ने असाइनमेन्ट दिएको थियो। ५४ वर्षका यी बूढा फोटोग्राफर फोटो खिच्दै थिए, अचानक सिएनएनका क्यामेराम्यानको इयरपिसमा उत्तरी टावरमा प्लेन ठोक्किएको खबर आयो। त्यसको केही बेरमै सम्पादकले पनि उनलाई फोन गरे। जागिर न पर्यो, आफ्ना सामान प्याक गरे र लम्किए सबवे डाउनटाउनतिर।
त्यहाँ पुग्दा त दुईवटै टावरबाट धुँवा उडिरहेको। आफ्नो सामान निकाल्दै उनी पश्चिमतिर लागे जहाँ एम्बुलेन्सहरु रोकिएका थिए। उनी किन पनि त्यहाँ गएका थिए भने सामान्यतया उद्धारकर्मीहरुले आफूहरुलाई हटाउँदैनन्। अहो अहो भनी मान्छेहरु कराएको उनले सुने। उनीहरु भवनतिर हेर्दै कराउँदै थिए। मेरी आम्मै ! त्यो गगनचुम्बी भवनबाट मान्छेहरु हाम्फाल्दै थिए। उनले आफ्नो २०० एमएमको लेन्स निकाले र खिच्न थाले। उनी एक जना प्रहरी र एक आपत्कालीन् प्राविधिकको बीचमा थिए र प्रत्येक पटक एक जना कराउँथे। “ऊ अर्को” उनको कयामेराले एउटा खस्दै गरेको व्यक्ति भेट्टायो र नौदेखि १२ वटा सटको सिक्वेन्स उनले खिचे। त्यस्तै १० देखि १५ वटा फोटो खिचेपछि उनले दक्षिणी टावर भत्किएको आवाज सुने। उनले एम्बुलेन्सबाट एउटा मास्क लिए र उत्तरी टावर च्याउ जस्तै देखिने गरी विस्फोट भएको फोटो खिचे। व्यवसायिक जिम्मेवारी पूरा गरेको महसूस गरे र त्यहाँबाट हिँड्दै आफ्नो कार्यालय पुगे।
एपीको कार्यालयमा कुनै आतंक वा अन्यौल थिएन। सबै आफ्नो काम गरिरहेका थिए। उनले पनि आफ्नो डिजिटल क्यामेराबाट डिस्क निकाले र आफ्नो ल्यापटपमा राखे। एकैछिनमा उनको क्यामेराले मात्रै देखेको एउटा दृश्य देखियो- मान्छे खसिरहेको। उनले त्यही सिक्वेन्सका अरु फोटोहरु पनि हेरेनन्।
त्यो फोटो उनले एपीको सर्भरमा पठाइदिए। भोलिपल्ट बिहान द न्युयोर्क टाइम्सको पेज सातमा यो फोटो छापियो। त्यतिमात्र हैन, देश अनि विदेशमा सयौँ पत्रिकाहरुले त्यो फोटो छापे। फोटोमा देखिएका ती व्यक्ति को थिए भन्ने चाहिँ कसैलाई थाहा थिएन।
****************
मान्छेहरु फुत्त फुत्त हाम्फालेको फाल्यै
पहिलो विमान उत्तरी टावरमा ठोक्किएर आगो लागेको धेरै समय नबित्दै उनीहरु हाम्फाल्न थालेका थिए। यो क्रम टावर ध्वस्त नहुँदासम्म जारी थियो। उनीहरु पहिल्यै भाँच्चिएका झ्यालहरुबाट हाम्फाल्दै थिए, हाम्फालेर उनीहरु आफै पनि भाँच्चिदै थिए। उनीहरु आगो र धुँवाबाट बच्न हाम्फाल्दै थिए; टाउकोमाथिबाट सिलिङ खस्न थालेपछि र खुट्टामुन्तिरको भूँइ खस्कन थालेपछि उनीहरु हाम्फालेका थिए। उनीहरु मर्नुअघि एक पटक श्वास फेर्न हाम्फालेका थिए। उनीहरु भवनको चारै कुनाबाट हाम्फालेको फाल्यै गरेका थिए। डेढ घण्टासम्म एकपछि अर्को गर्दै उनीहरु हाम्फाल्दै रहे। यस्तो लाग्थ्यो मानौँ कसैलाई कोही हाम्फालिसकेपछि मात्रै हाम्फाल्ने आँट आएको होस्। हाम्फालेपछि उनीहरु मुश्किलले १० सेकेन्डमात्रै बाँचे होलान्। निश्चय पनि खसेपछि उनीहरुको मृत्यु मात्र भएन, उनीहरुको शरीर टुक्राटुक्रा भयो। एक जना त उद्धारकर्मीमाथि बज्रिए र उसको पनि मृत्यु भयो।
हे भगवान् उनीहरु हाम्फाल्दै छन्। प्लिज उनीहरुको आत्माको रक्षा गर, एक महिला त्यहाँ कराउँदै थिइन्। विश्वको इतिहासको एउटा क्रुर आतंकवादी आक्रमणको प्रतिक्रिया त्यहाँ त्यसरी दिइँदै थियो ।
****************
फोटोको आलोचना र रहस्य पत्ता लगाउने जमर्को
रिचर्ड ड्र्युले खिचेको यो फोटो अमेरिकाका अधिकांश पत्रिकाहरुमा छापियो र सबैले आफूलाई यस्ता आरोपहरुको बचाउ गर्दै हिँड्नु पर्यो- मान्छेको मृत्युलाई शोषण गरेको, सम्मानजनक मृत्युबाट वञ्चित गरेको, मृतकको गोपनीयताको हनन् गरेको, दुर्घटनालाई अश्लीलतामा बदलिएको..!
गुनासोका धेरै चिट्ठीहरुमा एउटा चासो थियो, फोटो हेर्नेले मृतकलाई प्रष्टै चिन्नेछन्। तर ९/११ को घटनाको एउटा आइकोनिक फोटो भए पनि खासमा त्यो फोटो कसको थियो अझैसम्म पनि कसैलाई पत्तै थिएन।
टोरन्टो ग्लोब एन्ड मेलका सम्पादकले पिटर चेनी नामका एक रिपोर्टरलाई यो रहस्य सुल्झाउने जिम्मेवारी दिए। सुरुमा त चेनीलाई सुरुमा कसरी यो काम फत्ते गर्ने भन्ने लाग्यो। पछि उनले हराएका र मरेका सबै अनुहारहरुको फ्लायर्स भेला पारे। अनि उनले त्यो हाम्फालेको फोटोलाई एउटा पसलमा ठूलो पारेर छाप्न दिए। त्यसबाट बल्ल थाहा भयो हाम्फाल्ने मान्छे कालो नभई कालोकालो देखिने छाला भएको संभवतः ल्याटिनो हुनसक्छ। उसले गोटी लगाएका थियो। फोटोमा उसको कालो प्यान्टबाट उडिरहेको देखिने सेतो सर्ट वास्तवमा सर्ट नभएर ट्युनिक वा त्यस्तै रेस्टुरेन्ट कामदारले लगाउने खालको ज्याकेट हो।
उत्तरी टावरको टपमा विन्डोज अन द वर्ल्ड नामको रेस्टुरेन्ट थियो, जसका ७९ कर्मचारी त्यो घटनामा हराएका थिए। साथमा ९१ ग्राहक पनि। फोटोमा देखिएका मान्छे उनीहरुमध्ये एक हुने संभावना देखियो। तर खासमा को थिए त ?
हराइरहेकाहरुको फोटो अझै पनि त्यहाँ जताततै देख्न सकिन्थ्यो। ती मध्ये एक जनालाई उनले ध्यान दिएर हेरे। त्यो रेस्टुरेन्टमा पेस्ट्री सेफका रुपमा काम गर्ने, सेतो ट्युनिक, गोटी लगाएका र ल्याटिनो। उनको नाम नोर्बर्टो हर्नान्डेज थियो। क्विन्स निवासी। रिचर्डले खिचेको फोटो ठूलो पारेर प्रिन्ट गरेको उनको साथमा थियो, त्यही बोकेर उनि हर्नान्डेजका दाजु र बहिनीकहाँ गए। उनीहरुले भने, हो, यो नोर्बर्टो नै हो। बहिनी मिलाग्रोसले त्यो दिन बिहान मान्छे हाम्फाल्दै गरेको टेलिभिजन भिडियो पनि हेरेकी थिइन्। उनले एक जना हाम्फाल्नेलाई ओलम्पिक डाइभर जस्तै देखेर चिनेकी थिइन्, त्यो उनको दाजु नै हुनुपर्छ। अब यो फोटो देखेपछि उनी झन् प्रष्ट भए।
अब चेनीको काम सजिलो भयो। उनले अब नोर्बर्टोकी पत्नी र तीन छोरीबाट पहिचान पु्ष्टि गराउनमात्रै बाँकी थियो। तर उनीहरु बोल्न चाहिरहेका थिएनन् नोर्बर्टोको एउटा पाखुराको डिएनएबाट पहिचान हुने गरी उनको अस्थि भेट्टाइसकिएको थियो। त्यसैले उनी अन्त्येष्टि कार्यक्रममा गए। उनले त्यही फोटो बोकेर गएका थिए। नोर्बर्टोकी तीन छोरीमध्ये जेठी ज्याक्वेलिन हर्नान्डेजलाई उनले फोटो देखाए। एकैछिन फोटो हेरेपछि उनले चेनीलाई त्यहाँबाट तुरुन्तै जान अह्राए। चेनी उनले रिसाउँदै कराएको सम्झन्छन्- “ड्याट पिस अफ सिट इज नट माइ फादर”
**************
सत्यबाट भाग्ने प्रयास
त्यो फोटोको सत्यबाट भाग्ने प्रयास त उतिबेलैदेखि भएको थियो। जब उनीहरु हाम्फाल्दै थिए, बाटोमा एक आमाले आफ्नो बच्चालाई सम्झाइरहेकी थिइन्, “त्यो त चरामात्र हुनसक्छ छोरा”
बिल फिहान अग्नि नियन्त्रण विभागका सेकेन्ड इन कमान्ड थिए। आफ्नो भिडियो क्यामेराले हाम्फाल्नेहरुलाई जुम गर्दै खिचिरहेकाहरुलाई लखेट्दै उनले नखिच्न हकारिरहेका थिए, मानवीयता छैन तिमीहरुको भन्दै। बिचरा आफै भवन भत्किएपछि किचेर मरे। विश्वको इतिहासमै सबैभन्दा बढी फोटो खिचिएको र भिडियो खिचिएको दृश्य थियो त्यो, मान्छेहरु हाम्फाल्दै गरेको। तत्काल टेलभिजन च्यानलहरुले यस्तो डरलाग्दो दृश्य टेलिभिजनमा नदेखाउने निर्णय गरे। सार्वजनिक रुपमा मृत्युवरण गरिरहेकाहरुको परिवारको सम्मानमा त्यस्तो निर्णय गरिएको थियो।
द न्युयोर्क टाइम्सले आफ्ना प्रत्यक्षदर्शी संवाददाताहरु र संकलन गरिएका दृश्यहरु हेरेर त्यसरी हाम्फाल्नेहरु ५० जना भएको अनुमान निकाल्यो। युएसए टुडेले भने प्रत्यक्षदर्शीहरु र फरेन्सिक प्रमाण र भिडियोसमेत गरेर कम्तिमा २ सय जना हाम्फालेर मरेको लेख्यो। यो सङ्ख्यालाई सरकारी अधिकारीहरुले पनि नकारेनन्। त्यो दिन मर्नेहरुमध्ये ७ देखि ८ प्रतिशत हाम्फालेर मरेका थिए। उत्तरी टावरमा यो संख्या झण्डै ६ जनामा एक जना थियो।
**************
फोटोले झुटो बोल्छ
हजुर, उत्कृष्ट फोटोहरुले पनि। अझ विशेष गरी उत्कृष्ट फोटोहरुले। रिचर्ड ड्र्युको त्यो फोटोमा मान्छे जसरी खसिरहेको छ, त्यो एक सेकेन्डको केही पलमा मात्र हो। त्यसपछि उनी खस्ने क्रम जारी रह्यो। फोटोमा सरल रेखा जस्तो गरी खसेको देखिएको छ। वास्तवमा त्यसरी वाणको तिर जसरी पनि मान्छे खस्दैन न ओलम्पिक डाइभर जसरी। त्यो मान्छे पनि अरु मान्छेहरु जसरी नै खसेको थियो। त्यो एउटा फोटोमा मात्रै भवनमा लाइनहरुसँगै खस्ने मान्छै देखिएको छ। बाँकी ११ वटा फोटोमा त्यस्तो छैन। दुई वटा फ्रेममा खस्ने मान्छेको अनुहारै क्यामेरामा देखिएको छ। खसेपछि उनको सेतो ज्याकेट च्यातिएको देखिन्छ।
फोटोमा सेतो टपभित्र सुन्तले रङ्गको सर्ट पनि लगाएको देखियो। कसैले त्यो दिन त्यो रेस्टुरेन्टमा गएका व्यक्तिले सुन्तले रङ्गको टिसर्ट लगाएको परिवारका कसैले याद गर्न सके मान्छे पत्ता लाग्ने देखियो।
*****
मेरो लोग्नेले हाम्फाल्दैन
क्याथरिन हर्नान्डेजले आफ्ना पिताको अन्त्येष्टिका क्रममा एक पत्रकारले लिएर आएको फोटो हेरेकै थिइनन्। न उनकी आमा युलोजियाले नै हेरेकी थिइन्। दिदी ज्याक्वेलिनले हेरेकी थिइन्। अनि उनलै रिसाएर गाली गरेर पत्रकारलाई लखेटेकी थिइन्। तर त्यो फोटोले क्याथरिन र युलोजिया अनि पूरै हर्नान्डेज परिवारलाई लखेटिरह्यो। नोर्बर्टोको आदर्श वाक्य थियो- सँधै सँगै। तर फोटोले अहिले उनीहरु सँगै थिएनन्। फोटोले उनीहरुलाई अलग्याइदियो। फोटो नोर्बर्टो हैन भन्ने उनकी पत्नी र छोरीहरु पत्रकारले हो भनेपछि हो कि भनी संभावना देखाउनेहरुबाट अलग्गिए। नोर्बर्टो जिउँदै छँदा उनीहरु सबै क्विन्समा बस्ने गर्थे। अब युलोजिया र उनकी छोरीहरु लङ्ग आइल्यान्डको घरमा बस्न गए। किनभने १६ वर्षकी तातियाना जो नोर्बर्टो जस्तै देखिन्छिन्, ले घरमा आफ्ना पितालाई देखे जस्तै लाग्यो भनिरहन्थिन् र झ्यालबाट हाम्फालेर मरेको भनेर कानमा कसैले सुनाएको जस्तै लाग्थ्यो।
कसरी ऊ झ्यालबाट हाम्फालेर मर्न सक्छ।
तर पिटर चेनीको समाचार पड्ने विश्वका सबैले नोर्बर्टो झ्यालबाट हाम्फालेर मरेको कुरामा विश्वास गरे। मान्छेहरु हर्नान्डेजहरुलाई फोन गरेर पैसा दिन खोज्थे, चन्दाका लागि वा अन्तर्वार्ताका लागि। किनभने उनीहरुले नोर्बर्टो झ्यालबाट हाम्फालेर मरेको सुनेका थिए। तर उनी झ्यालबाट हाम्फाल्न सक्दैन थिए। उसको परिवारलाई थाहा थियो, उनी झ्यालबाट हाम्फाल्दै फाल्दैन थिए।
“उहाँ घर आउने कोशिशमा हुनुहुन्थ्यो,” एक दिन बिहान क्याथरिनले आफ्ना पिताको फोटो सजाएर राखेको कोठामा बसेर भनिन्, “उहाँ हामीसँग घरमा आउने कोशिशमा हुनुहुन्थ्यो र उहाँलाई थाहा थियो उहाँ झ्यालबाट हाम्फालेर आउनु हुन्न।” उनकी आमा युलोजियाले आधा समय अङ्ग्रेजी त्यसपछि निराश भएर स्पेनिसमा परर बोल्थिन् जसलाई उनकी छोरी अनुवाद गरेर सुनाउँथिन्। “मेरी आमा भन्नुहुन्छ कि उहाँलाई थाहा छ जब उहाँको मृत्यु भएको थियो, उहाँले हामीलाई सम्झिरहनुभएको थियो। मलाई थाहा छ यो सुन्दा अचम्म लाग्छ, तर आमाले उहाँलाई चिन्नुहुन्छ। उहाँहरु १५ वर्षदेखि सँगै हुनुहुन्थ्यो।”
उनले चिनेका नर्बर्टो हर्नान्डेज मर्दा उनको आँखामा उनको मुटुमा रहेका पत्नी र छोरीहरुको अनुहार थियो, खुला आकाश हैन। यो विश्वास थियो युलोजियाको।
उनले कतिको राम्ररी चिन्थिन् त नर्बर्टोलाई ? “म उहाँलाई लुगा लगाइदिन्थेँ” युलोजियाले अङ्ग्रेजीमा भनिन्। यसो भनिरहँदा उनको अनुहारमा मुस्कार र आँखाबाट आँसु एकैपटक टिलपिल गरेको थियो। “हरेक बिहान। त्यो बिहान म सम्झन्छु, उहाँले ओल्ड नेभी अन्डरवेयर लाउनुभएको थियो। हरियो। कालो मोजा लगाउनु भयो। हरियो प्यान्ट, जिन्स। क्यासियो घडी। ओल्ड नेभी सर्ट लगाउनु भयो। निलो। चेक भएको।
क्याथरिनका अनुसार रेस्टुरेन्टमा उनले लुगा फेर्थे। क्याथरिन पनि आफ्ना पितासँगै विन्डोज अन दि वर्ल्ड रेस्टुरेन्टमा काम गर्थे। उहाँ पेस्ट्री सेफ हुनुहुन्थ्यो त्यसैले सेतो प्यान्ट वा सेफको पयान्ट लगाउनु हुन्थ्यो कालो र सेतो चेक। सेतो ज्याकेट। त्यसमुनि सेतो टिसर्ट।
अनि सुन्तले रङ्गको सर्ट नि ?
“अहँ”, युलोजियाले भनिन् “मेरो श्रीमानसँग सुन्तला रङ्गको सर्ट छैन।”
फोटोहरु छन् नि। खसिरहेको मान्छेका फोटोहरु। हेर्नुहुन्छ ?
क्याथरिनले आफ्नी आमाको तर्फबाट भनिन्, “मेरी आमाले हेर्नुहुन्न” तर त्यसपछि अगाडि आएर उनले भनिन् मलाई देखाउनुस् त। छिटो। आमा आउनुअघि।
उनले १२ फ्रेमको सिक्वेन्स फोटो हेर्ने बित्तिकै छक्क परेर आमालाई बोलाइन्। तर युलोजिया पहिले नै उनको काँध पछाडिबाट फोटो हेरिरहेकी थिइन्। विजयी भावमा एकपछि अर्को फोटो हेर्दै उनले भनिन्, यो मेरो श्रीमान हैन। फोटो फिर्ता दिँदै उनले भनिन्, देख्यौ, मैले मात्र नोर्बर्टोलाई चिन्छु।
फेरि उनले फोटो हेरिन् ध्यान दिएर हेरेपछि टाउको हल्लाइन्। फोटोमा भएको मान्छे कालो छ। फोटोको प्रति भए आफूलाई दिन अनुरोध उनले गरिन् ताकि जजसले नोर्बर्टो हाम्फालेको भन्ने विश्वास गर्थे, उनीहरुलाई देखाउन सकून्।
“उनीहरु मेरा बाबा झ्यालबाट हाम्फालेकोले नर्कमा गए भन्छन्। इन्टरनेटमा उनीहरुले मेरा बाबालाई शैतानहरुले नर्कमा लगेको लेखेका छन्। मलाई थाहा छैन फोटोमा उहाँ नै हुनुभएको भए म के गर्थेँ। म नर्भस ब्रेक डाउन हुन्थेँ होला। मलाई पागलखानामा भेट्नुहुन्थ्यो होला।”
उनकी आमाले गर्वका साथ तर उदास मुद्रामा भनिन्, कृपया मेरो पतिको नाम हटाइदिनुहोला।
*****
आखिर को हो त हाम्फाल्ने?
ट्रिङ ट्रिङ
कनेक्टिकटमा एउटा फोन बज्यो। महिलाले जवाफ दिइन्। अर्को छेउमा भएको मान्छेले द न्युयोर्क टाइम्समा सेप्टेम्बर १२, २००१ मा छापिएको एउटा फोटो चिन्न चाहेको बताउँदै थियो।
मलाई भन्नुस् त्यो फोटो कस्तो थियो, उनले सोधिन्।
त्यो प्रख्यात फोटो क्या त, त्यो मान्छेले भन्यो—मान्छे खसिरहेको चर्चित फोटो।
रटेन डट कममा भएको स्वान डाइभको फोटो? महिलाले सोधिन्।
हुनसक्छ, त्यो मान्छेले भन्यो।
हो, त्यो मान्छे मेरो छोरा हुनसक्छ, महिलाले भनिन्।
उनले आफ्ना दुवै छोरा सेप्टेम्बर ११ मा गुमाएकी थिइन्। उनीहरु सँगै क्यान्टोर फिजेराल्डमा काम गर्थे। इक्विटिज डेस्कमा काम गर्थे उनीहरु। सँगसँगै काम गर्थे। हैन, फोनको अर्को छेउमा भएको मान्छेले भन्यो, फोटोमा भएको मान्छे संभवतः फूड सर्भिस वर्कर हुनुहपर्छ। उसले सेतो ज्याकेट लाएको थियो। उनी अपसाइड डाउन थिए। “त्यसो भए त्यो मेरो छोरा हैन.” उनले भनिन्, “मेरो छोराले डार्क सर्ट र खाकी प्यान्ट लगाउँछ।
सेप्टेम्बर ११ पछि उनले पत्रिका पढ्न छाडिसकेकी थिइन्। टिभी हेर्न बन्द गरिसकेकी थिइन्। एक दिन नयाँ वर्षको पूर्वसन्ध्यामा उनले द न्युयोर्क टाइम्सको वर्षको समीक्षा फोटो देखिन्। त्यसमा उनका छोराहरुले काम गर्थे कम्पनीका कर्मचारीहरुको फोटो र त्यो भवनको फोटो थियो। उनलाई त्यसमा आफ्ना छोराहरु छ जस्तो लाग्यो। त्यसैले फोटोग्राफरलाई फोन गरी ठूलो पारेर फोटो देखाउन माग गरिन्। आखिरमा उनले सोचे जस्तै फोटोमा उनका दुई छोरा रहेछन्। एउटा झ्याल नजिकै उभिएका अर्को भित्र। त्यसपछि के भयो भनेर उनलाई भनिरहनु परेन।
फोनमा भएको मान्छेले तपाईँका छोराहरुले हाम्फाल्यो त भनेर सोध्ने आँट गर्न सकेन। आखिरमा उनले जवाफ पनि त दिइसकेकी थिइन्।
उता क्याथरिन हर्नान्डेजको विचारमा उनले त्यो हाम्फाल्ने मान्छेलाई चिन्छिन्। उनको साथमा त्यो बिहान एक बहिनी थियो। उसले आफ्नी आमालाई बहिनीको हेरविचार गर्ने बताएको थियो। बहिनीलाई एक्लै छाडेर उनले हाम्फाल्नु नपर्ने हो। त्यो मान्छे इन्डियन हो भनेर उनले भनिन् तर नाम बताउन चाहिनन्।
इन्डियन भनेपछि हामीलाई खोज्न पनि सजिलो भयो। उनको नाम सिन सिंह थियो। तर सिन खसिरहेको मान्छेभन्दा निकै सानो थियो। रेस्टुरेन्टको अडियोभिजुअल डिपार्टमेन्टमा काम गर्थ्यो त्यसैले सेतो सर्ट लगाएको हुनुपर्छ। रेस्टुरेन्टका कुनै पनि कर्मचारीले खस्ने मान्छे सिन सिंह जस्तो नदेखिने बताए।
त्यसबाहेक उनकी एक बहिनी पनि त थिइन्। उनलाई एक्लै कसरी छाड्थिन् र।
रेस्टुरेन्टका म्यानेजरले फोटोहरु हेरेर त्यो मान्छे वाइल्डर गोमेज हुनुपर्ने बताए। केही दिनपछि अझ ध्यान दिएर हेरेपछि अर्कै कपाल, अर्कै लुगा अर्कै जीउडाल। यो त चार्ली माउरो जस्तो छ भने। यस्तै जुनियर जिमेनेजको पनि नाम आयो। तर चार्ली पर्चेजिङमा काम गर्ने, सेतो ज्याकेट लाउने कुरै भएन। त्यसबाहेक उनी ठूलो जिउका पनि थिए।
फोर्टी फूड अर्को कम्पनी थियो। त्यहाँका पुरुष कर्मचारीहरु किचेनमा काम गर्थे। जसको अर्थ हुन्थ्यो उनीहरुले कि चेक कि सेतो प्यान्ट लाउँथे। कसैलाई पनि सेतो सर्भिङ कोटको भित्र सुन्तले सर्ट लाउन अनुमति थिएन।
जोनाथन ब्रिली विन्डोज अफ वर्ल्डमा काम गर्थे। उनका केही सहकर्मीहरुले फोटो हेरेर उनी खस्ने मान्छे हुन सक्ने सोचे। ४३ वर्षका थिए। काला। जुङ्गा थियो। हिलारी नामकी पत्नी थिइन्।
जोनाथनका पिता जीवनै येशुमा समर्पित गर्ने व्यक्ति थिए। सेप्टेम्बर ११ पछि परिवारको भेलामा उनले भगवानलाई आफ्ना छोरा कहाँ छ बताउन भने। हैन: उनले माग गरे। उनले यस्तो शब्द प्रयोग गरे: भगवान, मेरो छोरा कहाँ छ भन्ने जानकारी दिन म माग गर्छु।” लगातार तीन घण्टासम्म गहिरो आवाजमा उनले प्रार्थना गरिरहे।
त्यसको भोलिपल्ट एफबीआइको फोन आयो। यनीहरुले छोराको शरीर भेट्टाएछन्। चमत्कार थियो साँच्चिकै।
उनका कान्छा छोरा टिमोथी दाजुको सनाखत गर्न गए। जुत्ताबाट उनको पहिचान भयो। ब्ल्याक हाइ टप्स जुत्ता। एउटा जुत्ता उनले आफै बोकेर आए र ग्यारेजमा राखे। सम्झनाका लागि।
टिमोथीलाई हाम्फाल्ने मान्छेको बारेमा थाहा थियो। उनी माउन्ट भर्मन, न्युयोर्कमा पुलिस थिए। दाजु मरेको हप्ता कसैले लकर रुममा सेप्टेम्बर १२ को पत्रिका छाडेर गएका थिए। फोटोमा खसिरहेको मान्छे देखेपछि रिसले उनले फेरि हेरेनन्। तर उनले त्यसलाई फाल्न पनि सकेनन्। लकरको मुनि राखे। जसरी ग्यारेजमा त्यो कालो जु्त्ता सँधैका लागि राखेका छन्।
जोनाथनकी दिदी ग्वेनडोल्योनलाई पनि हाम्फाल्ने मान्छेको बारेमा थाहा थियो। उनले छापिएकै दिन फोटो हेरेकी थिइन्। उनलाई थाहा थियो जोनाथनलाई दम थियो। त्यसैले धुँवा र आगोले श्वास फेर्न उनले…..
टिमोथी र ग्वेनडोल्योन दुवैलाई जोनाथनले धेरैजसो के लुगा लगाउँथे थाहा थियो। सेतो सर्ट, कालो प्यान्ट, हाइ टप ब्ल्याक सुज। टिमोथीलाई जोनाथनले कहिलेकाहीँ सर्टभित्र सुन्तला रङ्गको टिसर्ट लगाउने पनि थाहा थियो। जहिले पनि लगाउँथे। टिमोथीले त कहिले यो सुन्तले टिसर्ट छाड्छौँ हँ भनेर उडाउँथे पनि।
तर जब जोनाथनले आफ्ना दाजुको सनाखत गर्नुपर्यो, कालो जुत्ता बाहेक अरु केही चिनिने अवस्थामा थिएन। अनि सेप्टेम्बर ११ को बिहान काममा जाँदा उनी बिहानै गएका थिए। पत्नी सुतिरहेकी थिइन्। त्यसैले उनले कस्तो लुगा लगाएको भनेर थाहा हुने कुरै भएन।
के जोनाथनै त्यो फोटोमा खसिरहेको मान्छे थियो त ? हुनसक्छ।
सेप्टेम्बर ११, २००१ को ९ बजेर ४१ मिनेट १५ सेकेन्ड जाँदा रिचर्ड ड्रयु नामका फोटोग्राफरले आकाशमा खस्दै गरेको एक जना मान्छेको फोटो खिचे। फोटो ससार भर छायो अनि हरायो। मानव इतिहासको एउटा चर्चित फोटो मध्ये एकमा को थियो अझै प्रष्ट थाहा छैन। रिचर्डको यो फोटो युद्धमा मरेका अज्ञात सिपाहीहरुको स्मृतिमा बनाइने स्मारक जस्तो रहेको छ। हामी त्यसलाई हेर्छौँ र घटना सम्झन्छौँ।
खसिरहेको मान्छेको बारेमा हामीलाई थाहा भएको कुरा यति मात्रै हो।
-एन्ड्र्यु चाइभकिस्कीको सहायतामा टम जुनोडको रिपोर्टिङ
[त्यो दिन भएको आक्रमणको खबर तपाईँले कसरी थाहा पाउनु भएको थियो ? सुरुमा थाहा पाउने बित्तिकै तपाईँको प्रतिक्रिया कस्तो रह्यो? आफ्नो अनुभव तलको कमेन्टमा लेख्नुहोला।]
अमेरिका फेरिएको एक दर्जन वर्षपछि फर्केर हेर्दा
कुख्यात सेप्टेम्बर ११ मा भएको दुर्घटनाताका म आर्लिंगटन काउन्टीको बलस्टन नामक टोलमा बस्थें | ९-११ मा शिकार भएको अर्को थलो पेन्टागनबाट ४ माइल भन्दा कमको दूरीमा थियो मेरो एपार्टमेन्ट | त्यस दिनको बिहान म सुति नै रहेको थिएँ | छोरीले उठाई | वर्ल्ड ट्रेड सेन्टरमा आगो लाग्यो, टिभीमा आइ रहेकॊ छ भनि | तिनलाई पनि मेरी श्रीमतीले कामबाट फोन गरेर भनेकी रहिछिन | म चाहिं कामबाट बिहानीपखमात्र घर आएकोले ढिलोसम्म सुति नै रहेको थिएँ | आगोको कुरा सुन्ने बित्तिकै दौडिएर लिभिंग रुममा भएको टिभीमा आइ रहेको दृश्य देख्ने बित्तिकै पहिलो शव्द मेरो मुखबाट निस्कियो “अग्गेन?” अर्थात फेरी ? अर्थात् सन् १९९३ मा त्यही वर्ड ट्रेड सेन्टरमा भएको बम घटनालाइ सम्झिँदै आतंककारीले फेरी त्यहाँ आक्रमण गरेछन भन्ने मेरो आशय थियो | स्पष्ट कारण भने पछिमात्र थाहा भयो |
त्यसपछि टिभीको अगाडी बसेर हेर्न बसेको कति घण्टा बित्यो पत्तो नै भएन | सोफामा बसेर न्यु योर्कको यो घटना हेरी रहेको बेलामा आफु बसेको एपार्टमेन्ट नराम्ररी हल्लियो | मैले मनमनै छिमेकीले अघि पछि भन्दा आज ढोका बेस्सरी लगाएछ भन्दै मनमनै मुर्मुरिएँ | तर होइन रहेछ, टिभीमा हेर्दा हेर्दै थाहा भयो झन्डै चार माइल भन्दा कम दूरीमा रहेको पेन्टागनमा प्लेन पो बजारिएको रहेछ | अर्थात् आतंकवादको तेश्रो प्लेन आफु बसेको नजिकै पो आक्रमणको हतियार भएर बज्रिएको रहेछ |
यति बेलासम्म आतंकवादको हमला भन्ने टुँगो लागि सकेको थियो | तर धनजनको क्षतिको गणना नै गर्न नसकिने भै रहेको थियो | ट्विन टावरमा हेर्दा हेर्दा अर्को प्लेन गएर ठोक्कियो | सुइरो जस्तो टावरबाट कोहि ज्यानको मायामा ज्यानै बिर्सेर हाम्फालेको दृश्य हृदय विदारक थियो | हुने भए गएर थपक्क हातमा लिएर भुँईमा अवतरण गराउँ जस्तो | तर उत्तिनैखेर कस्तो मूर्खता गरेको होलान जस्तो पनि लाग्थ्यो | तर परिस्थितिको सामना गर्ने उनीहरुको मनस्थितिको मूल्याँकन गर्नु पनि गलत ठहरिने छ |
हेर्दा हेर्दै दोश्रो प्लेनद्वारा आक्रमित टावर चारैतिर धुलो फाल्दै र बिचमा ठुलो खाल्डो उत्पन्न गर्दै जमिनमा मिसिन आयो | यो टावरमा आफु एक पटक चढिसकेको थिएँ | यस टावरमा चढेर न्यु योर्कको विशाल र विहंगम दृश्य अवलोकन गरेको थिएँ | अब सम्झनामामात्र रहने गरि भुइमा मिसिएर विलिन हुन आयो | कति मानिस यसमा परे तत्काल थाहा नभएपनि पछि सुन्दा कहाली लाग्दो थियो |
यसैविच पेन्सिलभेनियाको श्यांकभिलमा अर्को प्लेन दुर्घटनामा पर्यो रे भन्ने समाचार प्रसार भएपछि चै अलिकति मनमा चिसो पस्न थाल्यो डर र त्रासको | अब आउँदो पल र क्षण के होला या कस्तो होला भन्ने अनुमान गर्नै नसकिने थियो |
झन् आफु बसेको नजिकै र संसारको सबैं भन्दा सुरक्षित र अभेद्द ठानिएको पेन्टागनमा नै आक्रमण भै सकेपछि त मन आत्तिने नै भयो | तर निरुपाय | केहि घण्टापछि काममा पुग्नु छ | कसरी पुग्ने होला, जानु पर्ला-नपर्ला भन्ने अनेक शङ्का उपशंका, आशा र निराशाका बिच झुलीई रहियो | मैनेजरलाइ फोन गरेर बुझ्दा आउनु पर्ने जानकारी दिईन | त्यतिखेर म मूभी थिएटरमा सहायक मैनेजर थिएँ | र ड्युटीमा पर्नेहरूमध्ये मपनि एक थिएँ |
झन्डै दुइ बजे कामकोलागि निस्कें | मनमा अनिश्चितता, चिन्ता र उथलपुथल लिएर गाडीमा जाँदा बाटो झन्डै सुनसान थियो | सधै हुने ट्राफिक जामको नाम निशान थिएन | अक्सर ट्राफिकले दिक्क बनाउँथ्यो, आज ठिक्क भएछ भनेर खुशी पनि मनाउने ठाउँपनि छैन |
यसैविच फाट्टफुट्ट चलेका कुनै गाडीमा चर्को आवाजमा गीत बजाएको छ भने असभ्य र असंवेदनशील लाग्न थाल्यो | किनभने यस्तो दुखद घडीमापनि कसरी सम्वेदनशील हुन नसकेको होला भन्ने लाग्थ्यो | अर्थात् देश आक्रमित भएको बेलामा यो राष्ट्रिय शोक हो र सबैले शोक मनाउनु पर्छ भन्नेजस्तो सोच बनेको थियो | तर त्यस व्यक्तिलाई दुर्घटनाको बारेमा थाहा नभएकोपनि हुन सक्छ | तर दोश्रो हुन असम्भव प्राय थियो |
जता हेरेपनि प्लेन र प्लेनले छोडेको धुँवाको मुश्लोले भरिएको देखिने अमेरिकी आकाश आज सफा थियो | मौसम चहकिलो र घमाइलो भए पनि दिनले शोक मनाएको अनुभव हुन्थ्यो | चरा चुरुंगीका चिरविर पनि शोकपूर्ण धून लाग्थे |
जे होस् काममा पुग्दा अन्य सहकर्मी, मैनेजर र हामी यस्तै विषयमा अल्झिदै काम सुचारु गर्यौं | ‘यस्तो आतंकित र शोकको दिनमा को सिनेमा हेर्न आउला र’ भन्ने शंकाको विपरित १३ वटा थिएटरमा जम्माजम्मी ८-१० दर्शक थिए | दर्शक भएपनि नभएपनि १३ वटै हलका पर्दामा सिनेमा दगुरी रहेको थियो | अनि हामीलाइ चाहिं ति दर्शकहरु सम्वेदनहीन जस्ता लाग्ने थाले | तर गर्न र बोल्ने केहि अधिकार थिएन | सिवाय आफ्नो काम जारी राख्ने | केहि घण्टापछि भर्जिनिया राज्यले ६ बजे बेलुका देखि कर्फ्यु लगाउने समाचार आउनाका साथै हाम्रो डिस्ट्रिक्ट अफिसबाट पनि थिएटर बन्द गर्नु भन्ने निर्देशन आयो | त्यसपछी हतार हतार थिएटर नियमनुसार बन्द गरेर ६ बजे भन्दा अगाडी घर पुगियो र फेरी टिभीको अगाडी त्रासदी दृश्यहरु अपत्यारिलो किसिमले हेर्न बसियो |
तर त्यसदिन देखि अमेरिका १८० डिग्रीले घुम्यो | जहाँ जता पनि निर्वाध र निर्धक्क पुग्न घुम्न सकिने सार्वजनिक स्थलहरुमा कडाई थालियो | जस्तो उदाहरणकोलागी पहिले कसैलाई एयरपोर्टमा पुर्याउन जाँदा डिपार्चर लन्जको ढोकासम्म पुग्न सकिन्थ्यो | अर्थात प्लेनको झन्डै ढोकासम्मै | हामी निर्धक्क बोर्डिंगकोलागी कल नआएसम्म बोर्डिंग गेट नजिकै बसेर गफ गर्थ्यौं | र जाने यात्रु साथी बोर्डिंगको एनाउन्स भएपछी उ भित्र हामी घरतिर लाग्थ्यौ | मलाई त्यसरी आउजाउ गर्दा कता कता कोहि मानिस कसै गरि छिर्यो भने के होला भन्ने मनमा तरँग आउँथ्यो |
त्यस्तै ह्वाइट हाउस टूरकोलागीपनि पूर्व अनुमतिको जरुरी थिएन | विशेष गरि क्रिश्मसताका हुने ह्वाइट हाउसको क्यान्डल लाइट टूरकोलागी सरासर लाइनमा गएर बस्यो, भित्र गयो, घुम्यो अनि निस्कियो | यो पनि मैले गरिसकेको छुँ |
तर अब ति सुबिधा हरण भयो | सुरक्षाको कमजोरी नभई एक प्रकारको विश्वास थियो त्यो | तर त्यही विश्वासप्रति नौ एघारमा आतंकवादीहरुले घात गरे र सुतेको बाघलाई जगायो | त्यस ९-११ मा झन्डै ३००० मानिस प्रत्यक्ष मरे भने त्यसैको कारणले अफगानिस्तान र इराकमा लाखौं मान्छे मरे | अझ त्यस युद्धमा विपूल धनराशिको क्षतिका अलावा भएका मानवीय क्षतिमा घाइते, मानसिक विक्षिप्तता, अनाथ, विधवा जस्ता अप्रत्यक्ष नोक्सानको त लेखाजोखा नै छैन | र यसले अझ कति पुस्तासम्म असर पर्ने हो भने भविष्यले बताउला | तर यसदिन देखि अमेरिका त्यो अमेरिका रहेन |
त्यतिबेला म महेन्द्रनगरमै थिएँ, स्कुलबाट घर फर्किसकेपछि रेडियोमा यो समाचार सुनें….एकदमै मर्माहत भएँ, पछि टिभीमा हेरें झन् मर्माहत भएँ, सबैजना एकदमै आक्रान्त देखिन्थे, र म पनि के-भयो-कसरि-भयो-किन भयो? को असमन्जसमा हराइरहे केहि दिनसम्म…
केहि शक्तिशाली व्यक्ति हरु को शक्ति स्वार्थ, प्रतिशोध र दम्भको कारणले सर्वसाधारणले अनाहकमा जिउ, धन, परिवार सब गुमाउनु पर्यो – इराकमा, अमेरिकामा, अफगानिस्तानमा, फेरी इराकमा….यदि चाहेको भए ९/११ मा आक्रमण गर्ने ले पनि बिसुद्ध सैनिक क्षेत्रमा वा प्रसाशनिक व्यक्ति लक्षित गरि गर्न सक्थे होलान र अमेरिकाले पनि सोझै सद्दाम हुसेन वा आतंककारी हरु को मुख्य मान्छेलाई गिरफ्तार गर्न वा मार्न सक्थ्यो होला….जिहाद, आतंकवाद बिरुद्दको आन्दोलन, प्रजातन्त्र आदि अनेक नाम दिएर घिनलाग्दो नरसंहार जुन रचियो, यदि बुद्ध धर्मको “karma ” को फिलसफि सहि हो भने, सबले सजाय भोग्नेछन ….सबले!!! जुनसुकै प्रिटेक्स्ट दिएर भएपनि सिमित स्वार्थको लागि गराइएको सर्वसाधारणको हत्या, बलात्कार र अंगभंग को जिम्मेदार सबै दोषीले कठोर सजाय पाएको देख्न पाउँ !
मैले यो जुस्त २ हप्ता अगाडी हेरेको documentry हो youtube बाट name is, the falling man ,it was really hard to watch
जब यो घटना भयो म थाइलेडं मा थिए | सुरुमा त विश्वास नै लागेन तर पछि CNN र BBC News Channel हेरेपछि मात्र गम्भीर भए | I don’t know it is real or not I got to read some news that terrorists got idea from the movie “CONAIR” which played by Nicolas Cage. In the end of that movie, the plane lands in the crowded city. After reading this I watched that movie too but I still don’t know it’s true or not for inspiring terrorists.
RIP to all those people who lost their lives.
मलाई पनि पटकै विश्वास लाग्दैन यो आतंकबादी हमला हो भने र… एउटा नाटक रचेर गरेको नेयोजित घटना हो जस्तो राजदरबार हत्याकाण्ड | One World Government (World Company) को नारा लगाउने Bilderberg Group, Elite Global Group र CIA को मिलेमातो मा भएको घटना हुन सक्छ?
Please visit the URL to know about Bilderberg Group http://www.globalresearch.ca/the-true-story-of-the-bilderberg-group-and-what-they-may-be-planning-now/13808
यो प्रकरण संग निकै हद सम्म मिल्दो कथा हो –
एक जोगीले एक तुच्छ मुसोलाइ विश्वास गरी क्रमश: बाघ बनाएको…अनि त्यही बाघले आफ्नो अतीत बिर्सेर जोगीलाइ आक्रमण गर्न खोज्दा ‘पुनर मुषको भव: ‘ भनी मन्त्रोच्चारित पानीले छ्याप्ता मुसो को मुसो नै भए पछि दुलो भित्र भागेको…अमेरिकी साम्राज्यवाद जोगी हो भने बिन लादेन र तालिवानहरु उनैको छत्र छायामा हुर्केको मुसाहरु हुन्.
सापलाई दुध खुवाएर पाल्ने अमेरिकालाई एक दिन तेही साँपले आफुलाई पनि डस्न सक्छ भन्ने हेक्का हुनु पर्ने हो , आखिर बिन लादेन र अल्कयेदा अमेरिकी उत्पादन नै हो , चाहे सद्दाम हुसेन नै किन नहोश .. सबै made by USA हुन्.. परिणाम धेरै निर्दोषको अकाल मृतु .. जब सम्म सक्ति(हतियार) र सम्पतिको बर्चास्वबादी, साम्राज्यबादी र बिस्तारबादी राजनीति हुनेछ तब सम्म यो चलिनै रहनेछ .. धेरै निर्दोषले ज्यान गुमाई रहनेछन .. इरान , उत्तर कोरिया , सिरिया(हालमा) अमेरिकी हित लिस्टमा छन्.. इराक र अफगान दमनमा उसको अर्थतन्त्र डामाडोल न हुदो हो त कुनै एउटालाई हानी सक्ने थियो , आफ्ना केहि पुराना हतियारको अन्त्यस्टि र केहि नया हतियारको परिक्ष्यद पनि गर्ने थियो .. यी सब दानबलाई सदबुद्दि दियुन ताकी यो संसारमा सबै मिलेर बसौ.
Mr धर्म शाही,
1. इट्स freaking न्युयोर्क सिटी. There are cameras, reporters, media people every where.
2. The airport security was pretty lax before 9/11.
3.George W Bush was not on vacation on that day. He was in a primary school in Florida reading to grade school kids. If you know anything about the US, the Presidents and the politicians visit schools and universities all the time.
4. While there may be missiles around Pentagon that can shoot down any incoming planes right now, I doubt there were any in alert state on Sept 11, 2001.
Your comments are totally ignorant, even 9/11 conspiracy theorists will laugh at your childish reasoning.
gy जी, तपाइले आफै भन्दै हुनुहुन्छ कि There are cameras, reporters, media people every where अनि आफैले दोस्रो प्वाइन्टमा आफ्नो कुरा काट्दै हुनुहुन्छ | ९/११ भन्दा पहिला एयरपोर्टमा सुरक्षा व्यवस्था कमजोर थियो भनेर | जब त्यस्तो संवेदनशील ठाउमा त सुरक्षा व्यवस्था कमजोर थियो भने सिटिमा क्यामरा, पत्रकार, मिडियाहरु सबै कसरि हुन् सक्छन ? अनि के तिनीहरुले पहिले नै क्यामरा ओपन गरेर बसेका थिए कि कति खेर जहाज आउनेछ र टावर धवस्त गर्नेछ भनेर ? नत्र कसरि तिनीहरुले क्यामरामा कैद गर्न सके ? जब जहाज टावरमा ठोकियो अनि तिनीहरुले क्यामरामा कैद गरिरहेको बेला अर्को दुर्घटना भएको दृश्य कैद गर्नु बेग्लै हो तर यहाँ त् दुवै दृश्य स्पष्ट रुपमा कैद गरिएका छन् |
ल मैले माने कि बुश फ्लोरिडाको स्कुलमा (मैले विदामा गएको भनेको थिए)गएको थियो तर के त्यस अफिसका सम्पूर्ण कर्मचारी स्कुलमा गएका थिए ? नत्र किन ह्वाइटहाउस खालि गरिएको थियो ? वास्तवमा योजना भनेको ह्वाइटहाउसमा आक्रमण गराउने थियो |
यो भन्दा पहिला पनि अमेरिकाले आफ्नै देशको ‘पर्ल हार्बर’ नामक स्थानमा केहि जापानीहरुलाई जहाजमा लगेर आक्रमण गराएको थियो | यसबारेमा त् केहि मुख खोल्नु भएको छैन नि, किन ? जसरि यसको पर्दाफास भएको थियो त्यसरी नै छिट्टै नै पेन्टागनको रहस्य पनि पर्दाफास हुनेछ |
धर्म जी
“केहि जापानीहरुलाई जहाजमा लगेर पर्ल हार्बरमा आक्रमण गराएको थियो ”
भन्ने कुरो चाही मलाइ थाहा थिएन,
लौ न अलिक बिस्तारमा बताई दिनुस न /
——————————————————–
मैले सुने-बुझे अनुसार त्
१. जापानले प्यासिफिक थिएटर / क्षेत्रमा अधिपत्य जमाउनुको निमित्त गरेको एउटा भिषण आक्रमण थियो /
२. Allies (ब्रिटिस-सोभियत) हरुलाई axis power (जर्मनी-इटाली) को बिरुद्द logistic supply गरेको रीस थियो जापानलाइ त्येसैले /
——————————————————–
अमेरिकाले अरु देशको समर्थन प्राप्त गरेर युद्दमा प्रवेश गर्न “केहि जापानीहरुलाई जहाजमा लगेर पर्ल हार्बरमा आक्रमण गराएको थियो ” भन्नु भएछ
मेरो केहि प्रश्न :
# कुन देशको समर्थन प्राप्त गर्न त्येसो गरेका रहेछ अमेरिकाले ?
सबै रास्ट्र्ले (allies हरुले) उनलाई युद्दमा समर्थन मात्र होइन, सहभागी नै भएर सहयोग गर्न त् घुडा टेकेर बिन्ती नै गरिरहेको थिए नि /
# कुन रास्ट्रले अमेरिकालाई युद्दमा नहोमिन भनेको थियो ?
# त्येस बेला अमेरिका युद्दमा बिना कारण होमिएको भए कसले बिरोध गर्न सक्ने अवस्था थियो ?
छोटकरीमा लेख्दैछु: अमेरिकाको मुख्य व्यवसाय भनेको युद्ध सामग्री निर्माण हो, जसले अमेरिकाको अर्थतन्त्र धानेको छ | पहिलो विश्व युद्ध पछी अमेरिका मन्दीमा डुबीरहेको थियो र उसले आफुलाई मन्दीबाट निकाल्न खोजिरहेको थियो | उसले धेरै राष्ट्रहरुको सहानुभूति र सहयोग त् पाउने नै भयो साथमा उनीहरुको तर्फबाट युद्ध गर्ने राष्ट्रहरुले ऊ संग नै हथियार किनेर उसको समर्थनमा लड्ने थिए | जसले गर्दा उसको हथियार पनि बिक्री हुन्थ्यो र युद्धमा खर्च भएको कुल खर्चलाई उसको पक्षबाट सामेल हुने सम्पूर्ण राष्ट्रले बेहोर्थे | जब जब अमेरिकामा मन्दी आएको छ तब तब अमेरिकाले कुनै न कुनै देशमा युद्ध गराएको छ | इराक र इरानको युद्ध गराउने को ? अमेरिका |
अमेरिकाले चाहेको भए के एक्लै अफगानिस्तानमा हमला गर्न सक्दैन थियो ? उसले त् चाहेमा पुरा पृथ्वीलाई नै एक दुई होईन पुरा ३०० चोटी ध्वस्त गर्न सक्ने क्षमता राख्छ ऊ संग त्यति आणविक हथियार छ तर पनि उसले किन अरु देशको पनि समर्थन लियो किनकि उसले मिलेर युद्ध गर्दा आफ्नो हथियार बिक्रि पनि हुने र युद्धमा भएको खर्च बराबरी बाडिने | नाटो नामक उनीहरुको एउटा संगठन छ, जसको उसले समर्थन लिन चाहन्छ र युद्धमा लाग्ने खर्च बराबरी बाड्न चाहन्छ | युद्धमा आवश्यक पर्ने हथियार बिक्रि गरेर आफ्नो अर्थतन्त्र उकास्न चाहन्छ |
म त ताप्लेजुङमा थिए । हुनत इन्स्टिच्यूट चलाएर बसे पनि दुर्गम ठाउँमा इमेल इन्टरनेट थिएन । रेडियो टिभी हेर्ने फुर्सद थिएन । साँझ ८ बजेतिर होटलमा खाना खान जाँदा बिबिसीले देखाई रहेको रहेछ । करिब ८ बजे पछिमात्र थाहा पाएँ ।
फोटोग्राफी को लागि येति राम्रो article पोस्ट गरेको मा खुसि लाग्यो
र धन्यवाद पनि
येसरी फोटोग्राफी सम्बन्धि रोचक खुराकहरु अरु पनि आउन
मेरो कामना
R.I.P. The 2976 American people that lost their lives on 9/11 and R.I.P. the 48,644 Afghan and 1,690,903 Iraqi and 35000 Pakistani people that paid the ultimate price for a crime they did not and hundreds and thousannds of palestinians who experience this everyday. Americans 9/11 is their 24/7
अरु कसैले राखेको comments लै हुबहु कपी paste गरेर येहा टास्ने प्रकाश जी हजुर पनि RIP!!
त्यो दिन बेलुकी तेही ६.३० ७ बजे तिर होला घरमा टेलिभिजन हेर्दै थिए | स्टार वर्ल्डमा खै के पो प्रोग्राम हेर्दा हेर्दै अचानक धुवाको मुस्लो उडेको अग्लो घर देखायो | अचानक के देखाको होला अचम्ममा परियो | के रहेछ बुझ्नलाई CNN लगाइयो अनि बल्ल थाहा भयो आतंकबादी हमला | केहि मिनट पछि फेरी दोस्रो आक्रमण पनि देखियो | मान्छेहरु चिच्याउदै भागेको अनुहारमा आतंक र त्रास प्रस्ट देखिन्थ्यो | समाचार च्यानलहरु तेही समाचारलाई पछ्यौना ब्यस्त थिए | हमलाको १-२ घण्टा पछि इराकका राष्ट्र पति सद्दाम हुस्सैनको बिज्ञप्ति भनेर CNN को मुनि पनि scroll मा आयो – अमेरिकाले आफ्नो कर्तुतको फल पाए भन्ने आसयको |
एक छिन् यो घटनाको अर्को पाटो हेर्ने हो भने यो अमेरिकाकै नियोजित घटना हो भन्ने हरु पनि धेरै छन् | कतिपय कुरा हेर्दा त हो कि जस्तो पनि लाग्छ | तेती ठुलो दुश्मनलाई मार्यो चै भन्ने तर केहि भुत्लो नदेखाउने कारणले शंका झन् बढ्ने आधार बन्छ | २१ औ सताब्दी को सुरुवात रक्त पात पूर्ण नै भयो उक्त घटनाले | उक्त घटनामा ज्यान गुमाउने हरु त छदै छ, सो घटनाले गर्दा अफघानिस्तानमा लाखौले ज्यान गुमाउनु पर्यो | आगामी दिन शान्ति विश्वको लागि शान्ति पूर्ण होस् | अमेरिका अहिले सिरियाको पछाडी लागेको छ फेरी | तर पछिल्लो समाचार अनुसार हाललाई अमेरिका आक्रमणको योजनाबाट पछाडी हटेको छ | अमेरिकाको दादागिरी बन्द भए विश्वले अलि सुख र शान्ति पौथ्यो कि ?
“अमेरिकाको दादागिरी बन्द भए विश्वले अलि सुख र शान्ति पौथ्यो कि ?”
——————————————————————————–
धन जी
२ प्रश्न कहिले काही आफैले आफैलाई सोध्छु,
# अहिले अमेरिकाको जे जति धन-शक्ति छ, त्येतिकै नै हाम्रो छिमेकी अनि केहि अरबी रास्ट्रको पनि भयो भने यो संसारमा के के हुन्छ होला ?
# सबै भन्दा उत्तम मानिएको शहर मुम्बईमा मात्र हरेक दिन ६५ लाखले बाटोमा हग्दै गर्दा त् यस्तो फाईफुट्टी लाउछन यिनीहरु भने उ पनि अम्रिका जस्तो भए भने के हुन्छ होला विश्वको ?
…………………. एकछिन गम खाने कि ?
मुम्बई सबै भन्दा उत्तम सहर रे !!
“इंडियाको” भनेर लेख्न छुटाउनु भो कि ? 🙂
दोस्रो कुरा इंडिया त अलि माथि नै भो, नेपालीले त बाकी राख्दैनन् कसैलाई | यु ट्युब फेसबुक तिर देख्नु भाकै होला | नेपाली एस्तो, नेपाली उस्तो, गोर्खे, सबै भन्दा बलियो हामी, सुरो हामी , राम्रो हामी, अनि खैरेलाई पनि गाली गरेकै छ, छिमेकि देश्कलाई पनि सत्तो सराप गरेकै छ | अनि लास्टा कुरो तेही त हो दिनको १६ घण्टा लोद्शेदिंग खाऊ, पानीको सत्ता धारामा हावा खाऊ , बाटोमा हडतालको ढुंगा खाऊ के कुरा गर्नु र भनि साध्य छैन |
मेरो माथिको कुरा चै तपाइको इंडियाको प्रश्नको जवाफ | मुख्य कुरा के हो भने चाहे जुन सुकै दर्शन तन्त्र र राजनैतिक व्यवस्था आओस यो संसारमा दिर्घकालिन शान्ति सम्भब नै छैन – मानब इतिहासका महान मानो विश्लेषक sigmund frued ले तेसै भनेका छन् | किनकि अन्य मानबिय गुणहरु जस्तै हिम्सा पनि उनले लिएरै आएको हुन्छ जन्मजात, जुन सुसुप्त अवस्थामा हाम्रो अबचेतनमा सधै अबस्थित हुन्छ | कि त सबै बुद्ध नै हुनु पर्यो | त्यो त एक जुगमा २-४ जना जन्मिने कुरा सम्भव नै भएन |
अब अहिलेको संसारमा प्राक्टिकल भएर हेर्ने हो भने त दादा अमेरिका नै देखिन्छ नि हैन र ? अल कायदा उसकै रसिया बिरोधि अविस्कार हो | कुनै दिन सद्दाम हुस्सेंलाई अमेरिका कै कखाई थियो | मध्यपुर्बमा हेर्ने हो भने साउदी,कतार, दुबई आदि अमेरिकी पुच्छर बाहेक उसले कसलाई बाकी राखेको छ र ! गद्दफिलाई खत्तम पारे | सिरिया पछिल्लो टार्गेट भै हाल्यो | सद्दाम हुस्सेंलाई उदाई हाले | १९९० मा कुवैत माथि पनि जाइ लागेकै हुन् | प्यालेस्तैन उसको टार्गेटमा परेको धेरै भै सक्यो | अल्कयेदको नाममा अफ्घनिस्तन्मा नरसंहार मचयेकै हो | छाडा मातेको गोरु जस्तो जसलाई पनि मार्दै हिन्ने अमेरिकाको आलोचना नगरी त्यो कथित उत्तम ( तपाइको भनाइको ) सहर अनि देशको मानिसको गर्नु त ?
भबिस्यमा उनीहरुको हातमा सुपर पावर आए के होला त्यो त भाबिसय्ले नै देखाउने छ | कम से कम अहिलेको अहिलेको लागि अमेरिकी नीति प्रति आखा चिमलन र कान थुन्न चै सकिन्न !
9-11 काण्ड अघि सम्म
“मर्न र मार्न” पनि पछि नपर्ने योद्दाहरु साच्चै नै “बहादुर” हुन् भन्ने सोच राख्दथे
तर
आज भोलि त्येस्ता “मार्न-मर्न” तम्सनेहरु त् केवल “कायर” हरु हुन् भन्ने सोच राख्दछु /
…… जगत हसाउने-खुशी बनाउने पो बहादुर
…… अरुलाई काट्ने-मार्ने-रुवाउने हरु के को बहादुर ? त्यी सबै कायरहरु हुन् !!!
त्यो दिन म नाइजेरियाबाट दुबई हुदै नेपाल फर्कने कार्यक्रम थियो म नाइजेरियामा थिए अमेरिकामा भएको घटना टिभीमा देखे दिमाग सुन्य भयो तर त्यस्पछी भने मलाइ नेपाल फर्कदा धेरै गारो भयो एयरपोर्टमा , कति चेक जाच , सोध पुछ साध्य भएन जब नेपाल पुगियो बल्ल मन शान्त भयो तर अनेकन पिडामा
यो सबै अमेरिका द्वारा सोची सम्झी बनाएको योजना मात्र हुन् सक्छ किनकि उसले आफ्नो देशमा मन्दी आउना साथ त्यसलाई पूर्ति गर्नको लागि यस्तो चाल चलिरहन्छ | यो भन्दा पहिला पनि अमेरिकाले आफ्नै देशको ‘पर्ल हार्बर’ नामक स्थानमा केहि जापानीहरुलाई जहाजमा लगेर आक्रमण गराएको थियो, त्यसैको प्रतिकार स्वरूप केहि देशको समर्थन पाएर दोश्रो विश्व युद्ध शुरु भएको थियो र त्यहि समयमा जापानको हिरोसिमा, नागशाकीमा अणु बम खसालिएको थियो | अहिले पनि योजना अनुरुप नै भएको थियो भन्ने धेरै प्रमाण छन्:
१) दुर्घटना हुनु पुर्व नै टेलिभिजनका क्यामरामेनहरु त्यहाँ कसरि पुगे ?
२) विमान अपहरण कसरि भयो ? जबकी विश्वको सबैभन्दा मजबुत सुरक्षा भएका एयरपोर्ट नै अमेरिकाका लस एन्जेलस्, क्यालीफोर्निया, वाशिंगटन डीसी हुन् | विमान अपहरण भएको १ घण्टा सम्म त्यो विमान अमेरिका भित्र नै उडीरह्यो तैपनि विमान कहाँ छ भन्ने कसैलाई पत्तो भएन गरे !!! त्यसोभए त्यहाँ रडारमा बसेका कर्मचारीले माखा मरिरहेका थिए ? प्रत्यक विमान उड्ने एउटा वेग्लै केभ “गुफा’ हुन्छ र त्यस विमानले स्थान परिवर्तन गर्नुपर्दा राडरका कर्मचारीलाई सोध्नुपर्ने हुन्छ |
३) जुन दिन यो घटना भयो त्यो दिन जर्ज डब्लु बुश फ्लोरिडामा गएको थियो | त्यहाँ जानुपर्ने कुनै कारण नै थिएन किनकि उसले लगभग १ महिना पहिला नै Holiday मनाएर आएको थियो | वास्तवमा त्यो घटना ह्वाईट हाउसमा गराउने योजना अनुसार नै खाली गरिएको थियो | त्यहाँ जर्ज डब्लु बुश त छुट्टी गएको थियो गरे तर अरु कर्मचारी पनि के छुट्टीमा थिए त् ? किन त्यो दिन खाली थियो ह्वाईट हाउस ? किन अफिस समय शुरु हुनु अगावै आक्रमण गरियो ? आक्रमण पछी बुशको अनुहार देख्नु भएको थियो भने याद होला उसको अनुहारमा कुनै चिन्ता देखिदैन थियो | कसैको देशमा अचानक यत्रो घटना घट्दा त्यस देशको राष्ट्रपतिको अनुहार किन्चित मात्र पनि दुखित नदेखिनु पनि यो आक्रमण योजना अनुरुप नै भएको प्रमाण हो | वास्तवमा उसको अनुहार त् पाकिस्तानमा जनरल प्रवेश मुसर्रफको जसो हुनु पर्ने थियो |
४) पेन्टागनको चारैतिर स्वचालित गणहरु छन्, जसले आकाशमा कुनै जहाजहरु पेन्टागन तिर आउनला’को देख्यो भने २ किलोमिटर सम्मको दुरीमा नै आक्रमण गर्न सक्छ तर त्यो दिन किन आक्रमण गरेन ? ल मानौ एउटा बिग्रियो होला, दुईटा बिग्रियो होला तर के सबै बिग्रिए होलान !! यदि बिग्रिएका थिए भने त्यहाँ बसेका कर्मचारीले के झिंगा मरिरहेका थिए ?
यस्ता कैयौ प्रश्न छन् जसलाई प्रमाणको रुपमा लिन सकिन्छ कि यो अमेरिका द्वारा आफ्नो देशको मन्दी हटाउने बनाएको चलाखपूर्ण योजना थियो |
त्यो वर्ष मा कहिले भुल्न सक्दिन..जेठ १९ को बिहान हाम्रो डिवी को दोस्रो लेत्टर आयको थियो ,त्यहि राती राजदरबार काण्ड भयो ,त्यसपछि हामी श्रावन १० ,july को २७ तिर अमेरिका ayou ,यहाँ आयको १ महिना पछि नै sep ११ को त्यो आतंककारी घटना भयो,नेपाल मा पनि राती फोन aouda बिस्वाश नै भयन राजदरबार मा त्यस्तो भयो होला भनेर ,यहाँ आयर पनि त्यस्तो सुन्दा विश्वास नै भयन.. म त काम मा बिदा भयकोले ढिला सम्म सुतिरहेको थिय ,साथीले नेपाल बाट call गरेर सबैजना कहाँ chou ,ny मा twintower नै udaisakyo ,अझै कतिवटा प्लेन bomb लियर thauthau मा उडेको छ भन्दा त joke जस्तै लाग्यो,तर पछि tv हेर्दा त sanchai रहेछ.
I was in my Calculus class at Louisiana state university.Professor told us that there was a plane crash in New York. It had hit the world trade center. Then continued teaching!
सेप्टेम्बेर ११ ,
प्रबिण गीरी समाचार पढ्दै थे,
”———-अमेरिकी रास्ट्रपति जर्ज बुश ले भन्नु भो ”आतंकबादी लाइ विश्वको जुन कुनामा लुके पनि खोजेर निकाल्ने र दण्ड दिने |”
अल इन्डिया रेडियो
सितम्बर ११ ,
”—–लगातार को आतंक बादी हमलाके बाद अमेरिका काप उठा”
प्लेन लाइ नै बम बनाएर हान्ने क्या खतरा को प्लान बनाएछ जस्तो लाग्यो |अन्तत अम्रिका ले डरलाग्दो बदला लियो |
उमेशजी, मैले यस बारेमा एउटा लेख लेखेकी थिएँ, जुन सेप्टेम्बर ११, २०११ को नेपालीपोष्ट डट कममा छापिेको थियो| त्यसैको सानो अँशः “त्यो दिन अमेरिकावासी धेरैले ती ह्रिदयबिदारक दृष्यहरु टेलिभिजनको पर्दामा नाङ्गा आँखाले हेरिरहेका थिए; जुन तथ्यलाई चलचित्रमा देखाएको भए पनि यस्तो पनि हुन्छ होला र? भनेर टिप्पणी गरिन्थ्यो होला तर त्यस घडिमा बिश्वकै बिकशित र प्रसिध्द शहर न्युयोर्कमा शताब्दिकै भयावह घटना घटिरहेको थियो | त्यसबाट पुगेको मानशिक असरलाई मष्तिषकले आत्मसात गर्न नपाउँदै फेरि अर्को खबर आउंछ, नौ बजेर अठ्तीस मिनेट जाँदा अमेरिकन एयरलाइन्सकै फ्लाइट नम्बर सतहत्तरली अमेरिकी सैनिक कार्यालय पेन्टागनमा हानिसकेको हुन्छ | भयाबह घटनाको श्रृंखला अझै सकिएको थिएन; युनाईटेड एयरलाइन्सको नेवार्क इन्टरनेसनलबाट स्यान्फ्रान्ससिसको उडेको फ्लाइट ९३ अपहरण हुन्छ र भाग्यले गर्दा त्यसमा उडिरहेका यात्रुहरुले अपहरणकारीहरुलाई उनिहरुको गन्तब्यमा पुगन दिँदैनन | भनिन्छ, त्यो प्लेनलाई अमेरिकाको राजधानी वासिंङटन डीसी पुर्याउने या ह्वाईट हाउसतिर लैजाने योजना थियो तर त्यस भित्र रहेका चार जना साहसी यात्रुहरुको कारणले त्यो उडान पेन्सिल्भिनियाको सानो शहर स्याङ्ग्सभिलमा गएर खरानिमा परिणत हुन्छ; त्यस भित्र यात्रा गरिरहेका अठतीस जना यात्रु,पाँच जना फ्लाइट एटेन्डेन्ट र दुई पाइलटको अस्तित्व केवल जलेर बाँकिरहेको खरानी मात्र हुन्छ | तर त्यो उडानका यात्रुहरुले देखाएको बहादुरी ईतिहासमा सदा कायम रहनेछ|………यसरी एक पछि अर्को गर्दै धमाधम अमेरिकी भूमीमै, अमेरिकन एयरलाइन्सहरुकै साहारा लिएर अमेरिकनहरुलाई नै हमलाको तारो बनाईएको घटनाको साक्षी पूरा विश्व समूदाय बनिरहेको हुन्छ | मानवताको यो भन्दा ठूलो उपहास अरु के हुन सक्थ्यो होला !
बिना कुनै अपराधमा कसैका छोराछोरि, कसैका बाबु आमा, कसैका पति पत्नी गुमेका थिए; सोच्नु र समझनुको बीचको दूरी नै तय नगर्दै मानव मष्तिष्कमा भूँईचालो गैरहेको थियो | मानिसहरु ट्विन टावरको एक सय एकदेखि लिएर एक सय पाँच तलामाथिबाट हाम्फालिरहेका देखिन्थे, मानौँ त्यहाँ मानवको रुपमा चराहरु उडिरहेछन ! युएसए टुडेका अनुसार कम्तिमा पनि दुई सय मानिसहरु ट्विन टावरबाट हाम्फालेर मरे | तिनीहरु मध्ये धेरै नर्थ टावरका थिए, किनकि, सबैभन्दा पहिले बिमानले त्यसैलाई हानेको थियो | केवल एक दर्जन जति मात्र साउथ टावरका भएको अनुमान गरिएको छ | सम्बन्धित पक्षका अनुसार त्यसरी हाम्फाल्नेहरुलाई जमीनमा पुगेर बज्रिन केवल दश सेकन्ड मात्र लागेको थियो, ती मध्ये कोहि जोडी बाँधिएर, कोही समूहमा र कोही एक्लै हाम्फालेका थिए |………त्यो दिन, त्यस स्थानमा अनाहकमै ज्यान गुमाउने अधिकाँश अमेरिकी परिवारहरुका साथै बिश्वका धेरै मानिसहरुले प्रत्यक्ष रुपमा कल्पना नै नगरिएको दृष्य र घटनाको घटना स्थलमा मात्रै होईन टेलिभिजन मार्फत पनि साक्षि हुनुपर्ने बाध्यतालाई अँगिकार गरे | ती मध्ये यो पँक्तिकार पनि एक थियो | जुन बेला पहिलो प्लेनले टावरमा हिर्काएको थियो, त्यस क्षण काम बिशेषले यो पँक्तिकार अम्बल, टेक्ससस्थित बैँक अफ अमेरिका पुगेको थिएँ | त्यहाँ पुग्दा बैँकका कर्मचारीहरु टेलिभिजनमा टाँसिएर बसेका थिए; कसैलाई पनि तत्काल थाहा थिएन त्यो पूर्वनियोजित बिध्वँस मचाउने घटना थियो भनेर | तर केही घन्टा पछि नै फेडरल एभिएसन एड्मिनिस्ट्रसनले सबै बिमानहरुलाई उड्नमा रोक लगायो | त्यो दिन छ हजार पाँच सय उडानका करडौँ यात्रुहरु अलपत्र परेका थिए | कतिपय ब्यापारिक निकायहरु धमाधम बन्द गरिए; यो पँक्तिकार पनि छोरा पढ्ने स्कुलमा गएर उसलाई घर ल्याएपछी पूरै दिन टेलिभिजनमा आँखा टाँसेर बसेकी थिएँ | त्यसपछिका धेरै समयसम्म मुस्लिम भन्ने बित्तिकै अर्कै दृष्टिकोणले हेर्न थालियो | त्यहि निहुँमा कतिपय ब्यक्तिको हत्या पनि भयो | कतिपय समुदाय र समाजमा आप्रवासीहरुले घ्रीणा र अबिश्वासको पनि सामना गर्नु पर्यो |……”