Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेलबारी बर्बरताः बलात्कार प्रयास गर्ने पक्राउ

Posted on July 30, 2013July 30, 2013 by Salokya

बेलबारी बर्बरताको मुख्य कारण थियो महिलामाथि बलात्कार प्रयास। त्यसो गरेको शंका ती महिलाले अर्कै पुरुषलाई गरिन्। शंका गलत ठहरियो। किनभने उनले दावी गरे अनुसार ती पुरुषको हातमा रगत आउने गरी टोकेको चिह्न केही थिएन। भोलिपल्ट गलत आरोप लगाउने भन्दै समाज बसेको ठाउँमा महिलालाई दुर्व्यवहार गरियो। बलात्कार प्रयास चाहिँ कसले गरेको थियो त ? प्रश्न अनुत्तरित नै थियो। प्रहरीले तत्काल खोज्नुपर्नेमा मिलापत्र गरेर मात्रै पठाइदियो। घटना राष्ट्रियकरण भएपछि प्रहरीलाई दबाब पर्‍यो र छानबिन अघि बढ्यो। छानबिनकै क्रममा आज कृष्णकुमार सुन्दास नामका पुरुषलाई बलात्कारको आरोपमा पक्राउ गरिएको खबर पूर्वका पत्रकारले दिएका छन्। विस्तृत विवरण आउन बाँकी छ।

बेलबारी घटनाको छानबिन गर्न पूर्व क्षेत्रीय प्रहरी प्रमुखले गठन गरेको छानबिन टोलीले स्थलगत अध्ययनपछि एउटै घटनामा चार किसिमको अपराध भएको ठहर गरेको थियो। प्रतिवेदनमा पीडित महिलालाई बलात्कार गर्ने नियतले नै कसैले एकान्त ठाउँमा मौका छोपी समाउन खोजेको उल्लेख थियो। पीडित नभएको उनले कसैकाविरुद्ध प्रहरीमा उजुरी गर्न जाने आँट नगर्ने टोलीले पाएको थियो। त्यस्तो उजुरी आए दर्ता गरेर छानविन गर्नुपर्नेमा प्रहरी चुकेको थियो।

भोलिपल्ट ती महिला र उनका सहयोगीलाई बेइज्जती गर्ने, कालो मोसो दल्ने, जुत्ताको माला लाउने जस्ता कार्य गर्नेहरूमाथि केही सार्वजनिक अपराध ऐन तथा जातीय भेदभाव तथा छुवाछुत अपराध (कसुर र सजाय) ऐन २०६८ अनुसारको कसुर गरेको देखिएको छ। यसमा मुद्दा चलाउन बाँकी छ।

बेलबारी घटनाबारे इटहरीबाट प्रकाशित हुने गणराज्य दैनिकका सम्पादक पी.बी. दियालीले माइस‌ंसारका लागि एउटा ब्लग लेखेका छन्। यो ब्लग बलात्कारको आरोपमा प्रहरीले कृष्णकुमारलाई पक्राउ गर्नुअघि लेखिएको हो।

बेलबारी घट्नालाई कसरी सम्हाल्ने?

-पी.बी. दियाली-
माया सार्कीलाई बलात्कार गर्नेको विरुद्धमा बोल्दा बेलबारी मोरङका पत्रकार मनोज विकले कालो मोसोले रंगिनु पर्‍यो। पीडित दलित महिला मायाले कालो मोसोको साथ भक्कुमार कुटाई पाएर जुत्ता चप्पलको गह्रौ मायाले सिंगारिइनु पर्‍यो।

मनोज विक दलित समुदायका मानिस हुन्। माया सार्की पनि दलित नै। दलित कसले बनायो? दलित जथाभावी गर्नु र त्यो चुपचाप सहनु दलितको नियती बनेको छ। माया सार्की श्रीमान् विदेश गएपछि गरिबी सम्हाल्न अर्काकोमा काम गर्ने श्रमजीवि महिला हुन्। मनोज विक समाजलाई आँखा देखाउने सञ्चारकर्मी हुन्। यी दुवैलाई किन हेपियो? किन कुटपिट गरेर जुत्ताको माला पहिर्‍यायो।? किन कालो मोसोले दलियो? यी कुराको उत्तर खोज्न कतै पनि मन डुलाउनु पर्दैन। मात्रै दलित हुनु हो। गरिब हुनु हो।

नेपालको सामाजिक कुलचलन र सामन्ती संस्कार, राजनीतिक अव्यवस्थाले देश र जनता भयङ्कर खतरामा उभिएका छन्। श्रमजीवी माया सार्की र कलमजीवी मनोज विक एउटा प्रतिनिधि मात्र हुन्। देशभर एक वर्ग एकजातले जनतालाई यस्तै खालको भुमरीमा लटपटाई रहेको छ। यतिबेला उच्चजातको भनिएका बेलबारी बर्खे डाँडाका भेट्वाल रुष्ट छन्। बलात्कारको आरोप लगाएको भन्ने दुःखेसो उनीहरुको छ। माया सार्कीलाई बलात्कार गर्ने को हो? साँच्चिकै उनी बलात्कृत भएकी छन् कि होइन? यो बारे छानबिन हुनुपर्छ। राज्यको पैसा खर्च गरेर सुरक्षा निकायको संगठन पालेका ठूलाठूला ज्याङ्गो कुकुरहरुको के काम? राज्यको पैसामा दुनियाँ भरिका देशमा गएर अनेकौ इन्भेष्टिगेसनका तालिम लिएका विशेषज्ञहरुको के काम? त्यो बर्खे डाँडामा माया सार्कीलाई बलात्कार गर्न कहाँको मान्छे आयो? त्यस गाउँमा माया सार्कीले औंल्याएको जीवन भेट्वाल नभए अर्को को हो त? त्यो खोजीनीति गर्ने विधि खोई?

ल जति प्रयास गर्दा पनि बलात्कारी भेटिएन। अथवा माया सार्कीलाई कसैले त्यस्तो गरेकै होइन रे? यदि त्यसो हो भने उनलाई समाजले अथवा भेट्वाल खलकले जुत्ताको माला लगाएर, कालोमोसो दलेर जसरी जुत्ताको मनलाग्यो त्यसैगरी कुट्ने, जहाँ मन लाग्यो त्यहाँ हान्ने, जेले पायो त्यसैले हान्ने अधिकार कसले दियो? हृदयविदारक ढंगले पशुभन्दा पनि तल्लो स्तरमा झरेर मारमुङ्ग्री गरेको घटना आपत्तिजनक र अत्यन्तै पापिष्ट छ।

यस घटनाबाट पीडित मनोज र माया दुवै विस्थापित छन्।

एनजीओ, आइएनजिओहरु अनेकौ रुपधारण गरेर बेलबारी ओइरिएका छन्। एक प्रकारले डलरको खेति सुरु भयो। कोही मानवअधिकारवादी, कोही महिला, कोही दलित, कोही विकासे सञ्चारकर्मी यस्तैयस्ताहरुले आफ्नो सुर्तिखेति चलाइरहेका छन् तर मुख्य पीडितहरु भात न पानी, भोक न तिर्खा भएर दुःख, अपमान र पीडाका आँसु झारिरहेका छन्। दलित र महिलाको नाम लिएर केहीले बाहुनक्षेत्रीलाई पनि चिच्याउने गरिरहेका छन्। यिनीहरु निश्चित समय बस्छन्। निश्चित पैसा सक्छन्। कमाउँछन, रिपोर्ट बनाउँछन् र जान्छन्। तर पीडित माया सार्की, मनोज विक र पीडितहरु बस्नुपर्ने ठाउँ त्यही बर्खे डाँडो बेलबारी हो।

तसर्थ, अब धेरै कुरा नगरी आन्दोलन यस्तो खालको गरौं किन जहाँ पीडित एवम् महिलाको सम्मान होस्। पाशविक यातना दिने र अराजक गतिविधि गर्ने पीडकलाई प्रहरीले समातेर कानूनको कठघरामा लगिसकेको छ। बाँकी उनीहरुका आफन्तजन त्यो ठाउँका अन्य, उनीहरुका परिवार, इष्टमित्र, नेता, समाजसेवी, महिला, बुद्धिजीवीहरु मिलेर जुन स्कुलमा घटना भयो त्यहीँ स्कुलमा भेला होउन्। उनीहरुले पीडित माया कार्की र मनोज विकलाई फूलको मालाले स्वागत् गरुन्। त्यो अवस्थामा उनीहरुले सहभोजको चुल्हो बालून्। त्यहाँ पकाइएको मेवा र मिष्ठानमा यिनै फूलको माला लगाइएर सम्मानित भएका पूर्व पीडितहरुले भान्सेको काम गरुन्। उपस्थिति सबैले त्यो भोज ग्रहण गरेर समाजमा भेदभाव नरहेको र वसुधैव कटुम्बकम्‌को नारालाई पुनः स्थापित गरुन्। यसो गरे कसो होला ?

19 thoughts on “बेलबारी बर्बरताः बलात्कार प्रयास गर्ने पक्राउ”

  1. Pingback: बेलबारी बर्बरताः घटना दबाउन एमाले र एमाओवादी संलग्न « Mysansar
  2. sifa ranapaheli says:
    July 31, 2013 at 6:59 pm

    बेलबारी को काण्ड भनेको दलितलाइ कथित ठुला जातिहरुले दिदै आएका र गर्दै आएका ज्यादती हो.यस्ता अन्याय त कत्ति भोगेकछन दलितहरुले..यसको हामी सबैले डटेर बिरोद्ध गर्न सक्नुपर्छ फेरी जातका आधारमा मान्छे माथि अमानबिय व्यवहार नहोस भन्नको लागि …जसले जे भने पनि जसले जत्ति नै खोके पनि यो बेल्बरिको काण्ड जातकै आधारमा गरिएको हो..दलितहरुलाई चुनौती दिएका छन् छेत्रिबहुन हरुले…ठुला जातिका बिरुद्ध दलितहरुले बोले या उनीहरुको कमीकमजोरीलाई ओउलाए भने दलितहरुको हालत यस्तो बनाउने छौ भन्न खोजिएको हो बेलबारी काण्डले..गल्ति गरे भनेर माफी मागी मिलापत्र गरिसके पछि किन माया र मनोजलाई मोसो दलेर जुत्ताको माला लगायो यसको मतलब क हुन्सक्छा?

    Reply
  3. kumar Gotame says:
    July 31, 2013 at 2:30 pm

    what my suggestion is to remove the cast system from the society. Remove the so-called “Thar” from individuals name and make it compulsary to include “Nepali” in each and every individuals name. God has created only two types of animals “Male” and “Female”. Who the hell is that made so many castes in the society to dominate each other.

    Reply
    1. Tenzing Gaba says:
      July 31, 2013 at 2:47 pm

      कुमारजी जदौ
      यहाले राम्रो कुरो गर्नु भयो तर आजकालको लोकतान्त्रिक युगमा “थर” नलेख भन्नु वा “नेपाली” मात्र थर लेख्न पाइने भन्नु सक्ने अवस्था छैन र त्येसो भन्न मिल्दैन पनि होला / त्येसैले थर आफूखुशी राख्ने स्वतन्त्र दिदा कसैलाई टाउको दुखाउनु पर्ने पनि हुदैन कि?
      आखिर सबै नागरिक शिक्षित,
      सबै सुन्दर-सुन्दरी,
      सबै बलियो
      भयो भने साह्रै गज्जप हुन्छ यसमा २ मत छैन
      अब सबैलाई ठुलो जात नै बनाम न के बिग्रन्छ र कि कसो ?
      …………………………………………………………. जदौ !!!

      Reply
    2. cRIS says:
      August 2, 2013 at 7:07 am

      जात नामलाई किन दोष?? सबै जातले उत्तिकै सम्मानित हुन पाउनु पर्छ| एकदिन कामि, दमाई र सार्की भन्ने सुन्दा अरु जात जस्तै साधारण र सरल सुनियोस (Normal) सुनियोस| त्यता जानु पर्छ| कुरीति भनेको जातनुसार मानिसको र समाजको सोचाई र ब्यबहार गर्ने चलनलाई चै ठहरै हुनेगरी ठोक्नु पर्छ|

      सबैले आ-आफ्नो जातमा गर्ब गर्न थालौ, शुरुवात| कसैले जातकै आधारमा फरक ब्यबहार गर्छन भने प्रतिकार गरौ, कुचलनको बिरोध गरौ|

      जात नाम भनेको नराम्रो हुने सक्दैन, किन कि यो एक पारिवारिक सम्बोधन हो| अनि यो नाम संग आ-आफ्नो पहिचान र संस्कृति पनि टाँसिएको हुन्छ|

      सहि ठाउँमा सुधार गरौ| तर अन्धाधुन्द सुधारको नाममा जे पायो तेही गर्न हुन्न| छोटो दिमाग होला नत्र| समय बदलिंदैछ, यसरी सोच्ने मान्छेहरु बढ्दैछन| सकारात्मक बनौ|

      Reply
  4. सार्थक says:
    July 31, 2013 at 12:27 pm

    अन्याय गर्नेले अन्याय गरेकै हो चाहे बलात्कार गर्न प्रयास गरेर होस् वा कुटपिट, कालोमोसो दलेर होस् । अन्याय गर्नेहरुलाई हदैसम्मको कारबाही हुनु पर्छ चाहे जो सुकै किन नहोस् । यो सबै न्याप्रेमी मान्छेहरुको साझा आवाज र बिचार हो ।

    तर यो घटनाले आवश्यकताभन्दा बढी र अनावश्यक प्रचार मात्र पाएको छ । यो घटनाको जग भित्र बिभिन्न मान्छेहरु बिभिन्न खेलहरु खेल्ने र एक आपसका ब्यक्तिगत लगायतका दुश्मनी साँध्ने अवसरको रुपमा पनि प्रयोग गरी राखेका छन भने घटनाको सुरुवात कुनै पनि किसिमको जातिय कारणले हुंदै नभएको भए ता पनि जातिय जातिय भनेर पटक पटक उछाल्ने काम भएको छ र यस काममा खै किन हो माइ संसार जस्तो प्रतिष्ठित ब्लगले पनि जानेर हो कि नजानिकनै हो हदभन्दा बढी नै स्थान दिइ राखेको छ । उदाहरणको लागि पहिले उल्लेख र उजगार भै सकेको घटनाका पहलुहरु उस्तै बिषयमा बिभिन्न ब्यक्तिको नाममा पटक पटक लेखिने काम भएको छ । कती ब्लगरहरुको त लेखन शैली र स्तर माइ संसारको स्तर सुहाउँदो पनि छैन ।

    यो घटनाको बारेमा मलाई लागेका केही कुराहरु:

    १. माया जस्ती एक्ली र श्रमजिवि महिलालाई बलात्कारको प्रयास हुनु निन्दनिय हो र अपराधी पत्ता लगाएर हदैसम्मको कानुनी कारबाही र सामाजिक कारबाही समेत हुनु पर्छ ।
    २. मायालाई बलात्कारको प्रयास जीवनबाट भएको भनेर जीवनमाथि मिथ्या आरोप लाग्नु अन्याय हो (बाउको चरित्रसँग छोरोलाई छोरोको चरित्रसँग बाउलाई जोड्नु आवश्यक छैन) तर मायाले आफूले गलत आरोप लगाएको कुरा सहज स्विकार गरेर माफि मागी सकेको तथा मिलापत्र समेत भै सकेकोले यो मामलालाई कसैले फेरि उचाली राख्नु पर्ने जरुरी छैन ।
    ३. जीवनमाथि लागेको आरोपको सम्बन्धमा जीवन आँफै र उसको परिवार समेतको उपस्थितीमा प्रहरी कार्यलय मै मायाले माफि मागी सकेको तथा मिलापत्र भै सकेकोमा पुन: दोश्रो दिन समाज बोलाउने नाममा एउटी अवला महिला माथि कुटपिट तथा कालोमोसो दल्ने लगायतका काम हुनु १०० प्रतिशत भेटवाल परिवारको गल्ती हो । कानुन हातमा लिएर आँफै न्यायधिश आँफै पुलिस जस्तो भएर अबला नारी माथि अन्याय गर्ने त्यो पनि सार्वजानिक स्थलमा यसमा तेहरो अपराध भएको छ र हदैसम्मको कारबाही र सजाय हुनु पर्छ ।
    ४. यो अन्याय हो भनेर सबै जात धर्मका मान्छेहरुले आवाज उठाएका छन । त्यसैले यो जात ऊ जात भनेर अनावश्यक ब्लगबाजी र प्रचारप्रचार, एनजिओबाजीभन्दा पनि पीडितलाई न्याय दिलाउने, ससम्मान पुनर्स्थापित गराउने र पिडकहरुलाई कडा सजाय दिलाउने तिर ठोस् कदम चालिनु पर्छ ।
    ५. यो घटनाको बहनामा बिभिना ब्यक्ती तथा समूहहरु पुरानो र यो घटनासँग असम्बन्धित आपसी बैरभाव साँध्ने ध्याउन्नमा छन् । यि यस्ता तत्वहरुले समाजलाई दिर्घ कालसम्म बिभाजित गराउने र नकारात्मक असर प्रभाव छाड्ने हुनाले सबै मिलेर यिनिहरुलाई निरुत्साहित पार्नु पर्छ र अनावश्यक र अस्वस्थ्य चलखेल गर्न दिनु हुँदैन ।

    Reply
  5. sushil paudel says:
    July 31, 2013 at 11:10 am

    मलाइ त संका नै छ है, साच्चिकै अपराधि पक्राउ परेको हो कि होइन ?,

    Reply
  6. Tenzing Gaba says:
    July 31, 2013 at 9:48 am

    साच्चै नै भन्ने हो भने जातिय छुवाछुत प्रथा हाम्रो देशमा अझै पनि बिकराल छ /
    यो कुरितिले शहर-गाउ-तराइ-पहाड सबै तिर शिक्षित-अशिक्षित धनि-गरीब सबै संक्रमित छन् / यसको उपचारमा धेरै ठुलठुला समाजसेवी-विद्वान-NGO – INGO लागेको धेरै भयो (महेन्द्रको पालामा नै औपचारिक रुपमा सुरु भएको) तर पनि सफलता अझै सम्म महेन्द्र राजमार्गको बेलबारी सम्म पनि पुगेको छैन भन्ने कुरो सबैलाई थाहा भयो !
    जति गरे पनि जस्ताको तस्तै, के यसको उपचार यति जटिल छ र ?
    हामि संग यसको सहज उपचार छैन ?
    समाधान रहित समस्या हुदैन भन्ने philosophy मान्ने हो भने येसो गरे कसो होला —

    # यदि कसैले चाहेमा आफ्नो “थर” आफुलाई मनपरेको राख्नु पाइने /
    जस्तै : खिलराज रेग्मीजी लाइ “रेग्मी” थर मन परेन रे अब उनले उनको रुचि अनुसार ” खिलराज विश्वकर्मा ” लेख्न कानूनी रुपमा नै पाउने वा “गोल्छे सार्की” जी लाई आफ्नो थर मन परेन रे अब उनले पनि “गोल्छे पौडेल” लेख्न पाइने ब्यबस्था हुनु पर्यो /
    यसो गर्दा कसलाई बेफाइदा हुञ्छ?
    …………..जदौ !!!

    Reply
    1. bibek dhakal says:
      July 31, 2013 at 10:13 pm

      मन को कुरा भनिदिनु भो!
      आज भन्दा २० बर्ष अघि नै १५ गते नामक टेलिचलचित्रमा मदन कृष्ण ले आफ्नो बाबुलाइ सम्झाउदै भनेका थिए – ” संसार मा २ वटा मात्र जात हुन्छ- एउटा आइमाई, आर्को लोग्ने! यदि बुवाले भने जस्तै आफ्नै जात्संगा मात्र बिहे गर्ने भए त लोग्ने मान्छे ले लोग्ने मान्छे संग र स्वास्नी मान्छे ले स्वास्नी मान्छे संग बिहे गर्नु पर्छ!!!”
      मेरो बिचारमा त यो ” लास्ट नेम” सिस्टम संसारबाटै लोप हुनुपर्छ….बरु त्यसको सट्टा ब्लड ग्रुप राखे हुन्छ – जस्तो ” हरि बि पोसिटिभ”, “शंकर ओ नेगेटिभ” आदि!

      Reply
  7. Jeevan Thapa says:
    July 31, 2013 at 7:05 am

    मैले भनेकै थिए लहरो तान्नु पर्छ पहरो आफै खस्छ भनेर ….अब यो काण्डले त अर्कै रुप लिग्ने भयो हैन त ?
    अब मलाई जान्न मन लागेका केहि कुरा हरु …
    १. अबला नारी लगाएत बचाउन खोज्ने हरु माथि हातपात गरियो, पिटियो , कालोमोसो र जुत्ताको माला लगाइयो.. कानुनको नजरमा यस्तो गर्ने हरु दोषी छन् र तिनी हरुलाई सजाय हुनु आबस्यक छ.
    २. पिडित महिलाले राम्रो संग नचिनी भेटवाललाइ बलात्कार को आरोप लगायिन. के यसरी जो पायो त्यहि पुरुषलाई बलात्कार गर्न खोज्यो भनेर आरोप लगाउन मिल्छ? कानुनले यो कुरालाई पनि हेर्नु जरुरि छ हैन भने कुनै महिलाको कोहि पुरुष संग रिसिबी छ भने ल मलाई बलात्कार को कोसिश गर्यो भन्दै दोष लगाउने दिन न आउला भन्न सकिदैन …

    Reply
  8. madan bajracharya says:
    July 31, 2013 at 3:46 am

    माया सार्कीलाई कालो मोसो दल्ने पिट्नेहरु यदि माया सार्कीलाई नमस्कार गरेर भोज खुवाई जेल जानु नपर्ने नमस्कात गरि भोज खाइ हाल्छ नि/ जुन हद सम्म नेपालमा हुल्मुले र जातीय दम्भ लियर अपराध गर्ने हौसियकोछ/ तेस्को निदान मिलापत्र हुँदै होइन सख्त सजाय नै हो/

    कहिले बोक्सी भनेर त् कहिले छुन नहुने जातका किन मन्दिर पसिस भनेर त् कहिले तल्ला जातका भयर माथिल्लो जातको केटि सिट बिहा गर्ने आदि भनेर हुल्मुलेहरुले गर्नु नहुने काम अति गरि सके अब तेस्ता सबैलाई दण्ड नै दिनु पर्छ/

    चाहे व्यक्तिले अपराध गरुन बा दलका कार्यकर्ताले सबै कानुनको कार्यवाहीमा ल्याउनै पर्छ/ तव शान्ति स्थापना गर्ने कामले सहि गति लिनेछ/ नभय हुल्मुले आतंकले नेपाल कहिले मुक्त हुँदैन/

    Reply
  9. Sam Sharma says:
    July 31, 2013 at 2:48 am

    I hate the discrimination based on caste system. This should be eliminated ASAP not only in constitution but for practical purpose in this 21st century. Let us inculcate good traits such as love, respect, compassion, trust, peace, wisdom, happiness etc. within us. We need to teach the new generation that the caste-based discrimination is “nothing but the way to bring disintegration in the society based on unscientific hypothesis”. More important is the amount of contribution specific citizen provides to the country. God has created a beautiful human being that is the “highest class of creature with highest class of senses”. The caste system is nothing but the system started by uneducated elite castes for their luxury. I myself am a Brahmin and respect people from any caste. Let us try to change the society “collectively” by convincing your “Self” first and then spreading the good message. Each person is biologically made with similar composition; the mind is filled with unlimited capacity no matter what caste he/she belongs to. Let us uplift the quality of our society developing positive thoughts within us that brings justice and change with positive actions.

    Reply
  10. Sunil, London says:
    July 31, 2013 at 1:01 am

    बलात्कारको कोशिश गर्ने कृष्णकुमार सुन्दास लाई के प्रमाण को आधारमा समातिएको हो ? एस घटनामा धेरै नाटकीय परिणाम हरु पहिलेनै आइसकेका छन् , प्रहरी हरुलाई नियमसंगत तरिकाले काम गर्न आग्रह गर्छु फेरी एकजना दलित लाई गलत आरोप लगाएर प्रहरीले फसायो भन्ने नारा लाग्ला ! एस घटनामा मुख्य कारण जातपात लाई बनाइनु पनि तेती उचित देखिन मैले, किन भने बदमाशी माथ्लो जातले मात्र गर्ने तल्लो जातले नगर्ने हैन साथै तल्लो जातले मात्र बदमाशी गर्ने माथ्लो जातले नगर्ने भन्ने पनि छैन, बदमाशी पनि राम्रो काम पनि दुवै थरीले गर्छन ! अब बलात्कार को आरोपमा पक्राउ पर्ने कृष्णकुमार सुन्दास पनि मेरो बिचारमा दलित नै हुन् (उनको नाम थर अनुसार)!! भन्न खोजेको कुरा माथ्लो जात का भेटवालले पनि बलात्कार गर्न भ्याए र तल्लो जातका सुन्दासले पनि बलात्कार गर्न खोजे तर उनको कुत्सित मनसाय पुरा हुन पाएन ! तेसैले माथ्ला जातिले दलित लाई आरोप लगाउने र दलित जातिले माथ्ला जातिलाई आरोप लगाउने प्रबृत्ति त्यागौ !माथिनै उदाहरण दियिसके बदमाश र असल दुवै थरीमा हुन्छन !!!!

    Reply
  11. Sandesh says:
    July 31, 2013 at 1:00 am

    कुरो गर्यो कुरेको दुख. अमेरिका जस्तो देशमा त काला जातिहरु अझ पनि अपहेलित छन्, नेपाल जस्तो देशमा तल्लो जातको मान्छेको बारेमा शिक्षा दिएर समाजलाइ सुधार्न कहिले सकिएला खोइ? एउटै चुलोमा पकाएर र खाएर कहिँ हद सम्म मनमा परिबर्तन आउला, तर दीर्घकालिन रुपमा सोच्न पर्यो! नया पुस्ताहरुले आफ्नो संकुचित सोचाईलाई परिबर्तन गरे भने अब आउने २०-३० बर्षमा चाहि केहि परिबर्तन आउने सम्भावना छ,

    Reply
  12. bek magar says:
    July 30, 2013 at 11:44 pm

    पी.बी. दियाली जी ले अन्तिम हरफमा भन्नु भए जस्तो सहभोजको आयोजनाले पनि केहि हुन्न हउ, जबसम्म कि मानिसहरु आफैले छुवाछुतलाई भित्री आत्मै देखि मनन् गर्दैन |जुन NGO वा INGO हरुले छुवाछुतको नाउमा यस्ता सहभोजहरु आयोजना गरीरहेका छन् यो त एउटा हात्तिको देखाउने दाँत जस्तो मात्रै हो| आज एक ठाउँमा यसरी दलितहरुले पकाएको ,उनीहरुकै हातले दिएको र उनीहरुसँगै बसेर खायो भोलि त्यही दलित फेरी उनीहरुको घरमा गयो भने उही बाहिरी दलान र बलेसिमै बसेर आफै जुठो भाडा माझेर आउनु पर्छ , ताकी उनीहरुको उ मीत, मीत बा र मीत आमा नै किन नहोस | हामीले त यस्ता सहभोज मात्रै हैन पहिल्यै देखि जन्तीबाख्रा समेत सँगै बसेर खाई आइरहेका छौ र देउँसी भैलो खेल्दा सँगैका दलित कथित साथीहरुलाई भित्र लान हामीले उनीहरुलाई तानेका पनि थियौ तर त्यतिखेर उनीहरु आफै भित्र जान मानेन | त्यसैले, यो कुरितीलाई जबर्जस्तीले भन्दा पनि चेतनामुलुक ढंगलेनै अन्त्य गर्नु पर्छ , जुन व्यक्ति व्यक्तिमा यस्ता जनचेतना नजगाई सम्भब देखिदैन |

    Reply
  13. पुष्प says:
    July 30, 2013 at 11:31 pm

    यदि बलात्कार प्रयास गर्ने पक्राउ परेको हो भने त यो काण्डमा पीडितहरूप्रति औंला तेर्स्याउनेहरूले आफैंलाई लोप्पा ख्वाए हुन्छ । दियालीजीको कुरो उचित लाग्यो । दोषीहरूलाई दण्डमात्र होइन, पीडितलाई पुनर्स्थापित गर्नु पनि अत्यावश्यक छ ।

    Reply
  14. Ujjwal says:
    July 30, 2013 at 10:52 pm

    गरे त ठिकै हुन्थ्यो, तर सम्भब देखिदैन! यति सजिलो संग घैटोमा घाम लाग्दैन, नेपालमा!
    आज बेलबारीमा त भोलि खर बारीमा , पर्सि घर बारीमा, येस्तो दलित माथि को ज्यादती दिनहु जस्तो हुन्छा नेपालमा, पत्रिकाहरुले त्येही भन्दछ! पत्रिकाले समेट्न नसकेको दलितमाथिको अत्याचार त कति होलान !
    त्यसैले फूलमाला र सहभोज हैन , कानूनको पालना र दण्ड सजाय दरो हुनु पर्यो!

    Reply
    1. madan bajracharya says:
      July 31, 2013 at 3:29 am

      उज्ज्वलज्यु
      तपाइंले भने जस्तै “कानुनको पालना र दण्ड सजाय दरो” बनाउने कुरा आम नागरिक माथि मात्रै लागु हुनु पर्ने भय त् ठिकै हो तर दलका नेता र कार्यकर्तालाई पनि लागु हुने भय देसमा शान्ति भंग हुन्छ (नेताहरुले भनेको है मैले भनेको होइन नि) / तेसैले माथि बेलबारीको घटनामा पनि कुनै नेता बा दलका कार्यकर्ता मुच्छेको देखिय यो कुरालाई यहि तुङ्ग्यायर भेटवाल परिवारलाई सम्मान जनक तरिकाले उन्मुक्ति दियर माया सार्कीलाई “शान्ति निरोपण र मेल मिलाप आयोग”ले जो सिट मिल भन्छ तेही सिट मिलापत्र गराउनै पर्छ; नभय शान्ति फेरी खलबलिन्छ (यो भनाइ पनि मेरो होइन है)/

      Reply
  15. s-raj says:
    July 30, 2013 at 9:34 pm

    बधाई छ नेपाल प्रहरी लाई ढिलै भयपनि आफ्नो र सस्था को इज्जत राख्न सफल रह्यो!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme