Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

MySansar Exclusive: खोज (भाग ३)

Posted on September 9, 2012September 9, 2012 by Salokya

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ माइसंसारमा प्रकाशन गर्न दिएको अनुमति अनुसार हरेक आइतबार राख्न थालेको छु। आजदेखि खोजको सुन्ने किताबको अंश पनि राख्‍न थालेको छु। सुन्ने किताबको अडियो यो ब्लगको सबैभन्दा पुछारमा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ

लुकेका प्रतिभा
-कर्ण शाक्य-
राजीव गान्धी क्यान्सर अस्पतालको बिछ्यौनामा लम्पसार परिरहँदा शारीरिक र मानसिक पीडालाई बिर्सन मैले मनमा कल्पनाका लहरहरू ल्याएँ र योजनाका अनेक खँकाहरू बनाएँ। विचारका क्रममा उत्पन्न भएका ज्वारभाटाले मेरो पीडालाई केही हदसम्म मत्थर पारे। भावनाको पोखरीमा मैले जानी–नजानी पौडी खेल्ने कोसिस गरेँ। शारीरिक पक्षलाई बिर्सेर राम्रा कुरामा ध्यान केन्द्रित गर्न खोजेँ। कोसिस गर्दागर्दै मनमा त साँच्चै नौलो परियोजनाको स्वरूप पो सलबलाउन थाल्यो। नेपालमा कृषि, उद्योग, यातायात, संरक्षण, स्वास्थ्य, शिक्षा आदि थुप्रै क्षेत्रमा उदाहरणीय बन्न सकेर पनि कतिपय उद्यमशील व्यक्ति र उनीहरूका सिर्जनशील क्रियाकलापहरू लुकेर बसिरहेका छन्। यदि ती लुकिरहेका विकासप्रेमी उद्यमीहरूको विवरण सङ्कलन गरेर सूची तयार पारी एउटा सानो पुस्तिका निकाल्न पाएको भए कति राम्रो हुन्थ्यो भन्ने सोच आयो।

त्यही सोचको क्रममा मैले आफ्नो मनलाई नेपालको सकारात्मक प्रगतितर्फ लगेँ। वास्तवमा विगतका विषम परिस्थितिहरूमा पनि नेपालले थुप्रै उपलब्धि हासिल गरेको छ र ठूला–साना थुप्रै उद्यमीहरूले मिहिनेत गरेर धेरै कामहरू गरी नेपाललाई सघाएका छन्। तरकारी बजारमा जाँदा जब त्यहाँ सयौँ ट्रक तरकारी बिक्री भइरहेको देखिन्छ र जब बजारका गल्लीगल्लीमा दूधका प्याकेटहरू र क्रेटका क्रेट फूलहरू बिक्री गरिएको पाइन्छ, अनि त्यस बेला आशाको किरण जाग्छ।

विगतका दिनहरूमा जब त्रिभुवन राजपथमा चक्काजाम भएको थियो र राजनीतिक पार्टीहरूले बन्द घोषणा गरेका थिए, त्यो बेला गाउँघरबाट दूध र तरकारीहरू राजधानीमा आउन बन्द भएको थियो। नेपाल बन्दका कारण गाउँको दूध र तरकारी बेच्न नपाएपछि गाउँलेहरूलाई ठूलो मर्का पर्‍यो। आफूले उत्पादन गरेका कृषिजन्य वस्तुहरू कहाँ बेच्ने? गाउँमा त त्यस्ता वस्तुहरूको खपत हुँदैन! त्यही बेला टेलिभिजनको समाचारमा सारा राजमार्गको चौडा बाटोमा रिसले तिल्मिलाएका कृषकहरूले ट्रकका ट्रक दूध सेताम्य पोखिदिएको दृश्य देखियो। ठाउँठाउँमा बन्दा, काउली र गोलभेडा सडकभरि छरिदिएका थिए। दूध पोखेको देखेर म चकित परेँ र मेरो सम्पूर्ण परिवार पनि आश्चर्यचकित भयो। मेरो मनमा चोट लाग्यो — कति मिहिनेत गरेर ती बिचरा कृषकहरूले यी वस्तुहरू उत्पादन गरेका होलान्! आज कुन मुटुले उनीहरूले आफैँले उत्पादन गरेका दूध र तरकारीहरू फ्याँक्न सकेका होलान्? यसो गर्नुपर्दा उनीहरू कति मर्माहत भए होलान्?

जुन बेला म अस्ट्रेलियामा पढ्न गएको थिएँ, त्यस बेला अस्ट्रेलियाको सरकारले गाईको दानाको भाउ बढायो, मासुको भाउचाहिँ बढाएन भनेर विरोधका रूपमा किसानहरूले ठाउँठाउँमा गाई–बाख्रा मारेर जमिनमुनि गाडेको दृश्य टेलिभिजनमा हेरेको थिएँ। त्यस बेला पहिले त मलाई लोभ लागेको थियो, ‘हरे, बाख्राको मासु यस्तो महँगो छ, तर यिनीहरू त्यसै काटेर फ्याँकिदिन्छन्!’ त्यो बेला अस्ट्रेलिया कति धनी देश होला जस्तो लागेको थियो। तर जब आफ्नै देशमा ड्रमका ड्रम दूध पोखेको देखेँ, त्यो बेला मनमा चोट लागे पनि केही सन्तुष्टिको अनुभव गरेँ, ‘वा! मेरो देश पनि अब गरिब रहेनछ। सारा राजमार्गलाई दूधले नुहाइदिन सक्ने भएछ।’

यी सकारात्मक उपलब्धिहरू देखेपछि ‘हाम्रो देशमा पनि कसै न कसैले केही न केही काम गरिरहेको त छ नि!’ भन्ने सन्तुष्टि जाग्छ। धेरैजनाले सिर्जनशील कामहरू गरेर समाजमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले परिवर्तन ल्याइरहेका छन्। को हुन् तिनीहरू? न त राज्यले उनीहरूलाई चिनेको छ, न त समाजले न त आम जनताले। उनीहरूको सिर्जनशील एवम् उद्यमशील प्रयासले आफूलाई मात्र होइन, पूरै समुदायलाई नै मद्दत पुर्‍याइरहेको छ। ती लुकिरहेका प्रतिभाहरू याने अनसङ हिरोजहरूलाई सूचीकरण गर्दै उनीहरूका नवीनतम परियोजनाका खाकाहरू सङ्कलन गरी ‘सफलताको कथा’ नामक पुस्तिका निकाल्ने विचार त्यही अस्पतालको खाटमा जब आयो, कल्पनाको ज्यावलले मेरो अवधारणाको मन्दिरलाई तरास्न पुग्यो।

यदि नेपालका लुकेका प्रतिभाहरूलाई सूचीकृत गरी एउटा सानो पुस्तिका प्रकाशन गर्न सकियो भने यो प्रयासले छायामा परिरहेका उद्यमशील प्रतिभाहरूलाई मात्र उत्साहित गराउँदैन, स्रोत भएर साधन नभएका र साधन भएर स्रोत नभएका व्यक्तिहरूलाई पनि व्यावहारिक मार्गदर्शन दिन सक्छ।

‘नेपालमा केही हुँदैन र केही गर्न सकिँदैन’ भन्ने निराशावादी मनस्थिति हावी भइरहेको बेलामा ती अनसङ हिरोहरूका सफलताका कथाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्नेछन्। त्यसले सरकारलाई पनि धरातलीय योजनाहरू तर्जुमा र कार्यान्वयन गर्न मद्दत पुर्‍याउन सक्छ।

अस्पतालको खाटमा बस्ताबस्तै दिमागमा यो अवधारणाको बीजारोपण भएपछि यही परियोजनामा जानी–जानी अरू विस्तृत विवरणहरू थ्ापेर दिमागको कागजमा कोर्न थालेँ। यसो गर्दा बीच–बीचमा पेट दुखेको ‰वाट्ट याद आउँथ्यो, फेरि केही क्षणमै त्यो परिकल्पनाको लहरमा डुबुल्की मार्दा पीडा हराएर जान्थ्यो। यो अवधारणालाई प्रोजेक्टमा रूपान्तरण गर्न म उत्साहित भएँ र यसलाई अगाडि कसरी लिएर जाने भन्ने योजनामा म चुर्लुम्म डुबेँ। मनको सूक्ष्म क्यामेराले ओझेलमा परेका तर उज्यालो विकासका तस्बिरहरू खिच्न थालेँ।

वनमाराबाट ब्रिकेट बनाउने, अल्लोबाट कपडा बनाउने, गाउँघरमा साना जलविद्युत परियोजना सञ्चालन गर्ने, रासायनिक मल र कीटनाशक औषधि प्रयोग नगरी अर्गानिक फार्मिङ गर्ने वा स्ट्रबेरी, स्याउ, एभोकाडो, च्याउजस्ता नगदेबाली उत्पादन गर्ने वा रेन्बो ट्राउटका माछा उत्पादन गर्ने, बेल वा गुराँसका फूल वा डालेचुकको जुस बनाउने, लप्सीका विभिन्न खाद्य पदार्थ बनाउने, जटामसीको तेल, हर्बल चिया आदि–इत्यादि रैथाने वस्तुहरूबाट व्यवस्थित ढङ्गले साना उद्योग सञ्चालन गरी आफूलाई मात्र होइन समुदायलाई समेत सहयोग पुर्‍याउने सिर्जनशील उद्यमीहरूको पहिचान गराई प्रोत्साहन दिन सकिने सम्भावनाले मेरो मन अझ बढी उत्साहित भयो।

‘अनसङ हिरोज’हरूका बारेको पुस्तिका प्रकाशन गर्ने यो परियोजना वास्तवमा त्यस्तो ठूलो काम होइन। न त यसमा धेरै जनशक्तिको आवश्यकता पर्छ, न थुप्रै लगानी नै। तर यो सानो प्रयासले सिर्जनशील उद्यमीहरूको पहिचान हुन्छ र उनीहरूको प्रयासबाट अरूले धेरै सिक्न सक्छन्। साथै, राष्ट्रिय योजना आयोगलाई पनि धरातलीय र व्यावहारिक योजनाहरू त्ार्जुमा र कार्यान्वयन गर्नमा यसले मद्दत पुर्‍याउन सक्छ।

अस्पतालको खाटमा बसी–बसी ‘म यो गर्छु, म त्यो गर्छु’ भनेर विस्तृत योजनाका खाकाहरू तयार पारिरहँदा मैले घाउ दुख्ने र दिसा–पिसाबले च्याप्ने वेदना चटक्कै बिर्सेँ। मलाई लाग्यो योभन्दा ठूलो अर्को पेनकिलर के हुन सक्छ? यसले मेरो दुःख मात्र कम गरेन, क्यान्सरबारेका नकारात्मक सोच र विचारहरूलाई बिर्साउन सञ्जीवनीको कामसमेत गर्‍यो।

सास मात्र फेरेर जिन्दगी जिन्दगी हुँदैन। जिन्दगी बाँच्नका निमित्त हामीलाई केही न केही आधार चाहिन्छ। जब बाँच्ने एउटा आधार हुन्छ, अनि जिन्दगी बाँच्न सजिलो हुन्छ। एउटा रूखको पनि बाँच्ने आधार छ। हिउँदमा नाङ्गो भए पनि त्यो रूख वसन्तको पातलाई पर्खेर बसिरहेको हुन्छ। अनि जब त्यसमा फूल फुल्छ, फेरि त्यो रूख फलका लागि पर्खिरहेको हुन्छ। हामीले पनि आफ्नो जिन्दगीमा बाँच्नका लागि केही न केही उद्देश्य बनाउनैपर्दाे रहेछ। कमसेकम एउटा गमलामा फूलको बिरुवा रोपेर फूल फुल्ने प्रतीक्षा त गर्न सकिन्छ! बारीमा तरकारी रोपेर हरियो सागपातका निमित्त पर्खेर त बस्न सकिन्छ! शरीरले साथ दियो भने हामीले श्रमदान दिएर बाटोघाटो त बनाउन सक्छौँ! सकेनौँ भने पनि कमसेकम छोराछोरी र नातिनातिनालाई असल नागरिक बनाउने गरी हुर्काउन त सक्छौँ! यसरी कुनै राम्रो उद्देश्य लिएर जिन्दगी बाँच्न सकियो भने रमाइलो मात्र होइन, अर्थपूर्ण पनि हुन्छ। सकिन्छ भने ठूलो काम गरौँ, सकिँदैन भने भान्छामा गएर खाना पकाउन त सकिन्छ नि! मानिसको जिन्दगीमा सबैभन्दा डरलाग्दो रोग क्यान्सर हो भन्छन्, तर वास्तवमा त्यसो होइन। निराश भएर शून्य जीवन बाँच्नु नै मानवजातिको सबैभन्दा ठूलो रोग हो।

क्यान्सर रोगको उपचार गर्ने क्रममा पनि जब नयाँ काम गर्ने प्रेरणा जागृत भयो, मलाई अरू बाँच्ने रहर जाग्यो। यी सकारात्मक कल्पनाले मलाई ऊर्जा दिए। त्यो बेला विगतमा कमाएको पैसाले मलाई गौरवान्वित बनाएन, बरू मेरो जिन्दगीमा गरेका केही सानातिना समाजसेवा र उपकारका कामहरूले गौरवान्वित बनाइदियो, स्वाभिमानी बनाइदियो। अनि त्यही स्वाभिमानयुक्त अर्थपूर्ण जिन्दगीलाई अगाडि बढाउन म थप जाँगरिलो हुन पुगेँ। मैले निर्णय गरेँ, ‘अस्पतालबाट घर जाने बेलामा सोचेको यो परियोजनालाई बिर्सने छैन र यसलाई कार्यान्वयन गर्न यथासम्भव कोसिस गर्नेछु।’

मलाई लाग्छ इतिहास दुई किसिमका हुन्छन् — एउटा लिखित र अर्को अलिखित। लिखित इतिहास किताबका पानामा लेखिन्छन् र अलिखित इतिहास विकासका लहरहरूमा। म यहाँ अलिखित इतिहासका पानाहरूलाई पल्टाउन खोजिरहेको छु। अलिखित इतिहासका थुप्रै नायक र पात्रहरूलाई म लुकेका प्रतिभाहरू भन्न मन पराउँछु। अझ स्पष्ट रूपले भन्ने हो भने उनीहरू नै हाम्रो यो राष्ट्रका अनसङ हिरोज हुन्। उनीहरू नाम कमाउने होडवाजीमा हुँदैनन्, बरू देशविकासका क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आ–आफ्ना भूमिका मात्रै खेलिरहन्छन्। सायद उनीहरूलाई कसैले पनि चिनेको नहुन सक्ला, यद्यपि ती व्यक्तिहरू अलिखित इतिहासका पात्र मात्र होइन, नायकहरू नै हुन्। उनीहरूको योगदान नपाउने हो भने देशले उन्नति गर्न सक्दैन, उन्नति मात्र होइन समाजले जीविकोपार्जन गर्न पनि पाउँदैन।

विदेशमा पाइरहेको सुविधा र सम्पन्नतालाई त्यागेर एउटा नेपाली डाक्टर रामकण्ठ माकजू श्रेष्ठले समुदायलाई परिचालन गरी धुलिखेलमा उत्कृष्ट अस्पताल सफलतापूर्वक सञ्चालन गरेका छन्। डा. सुरेशराज शर्माले आफ्नै विशिष्ट शैक्षिक चिन्तन बोकेर धुलिखेलमा विश्वस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने काठमाडौँ विश्वविद्यालय बनाएका छन्। काठमाडौँकी लिली थापाका श्रीमान् द्वन्द्वमा मारिए, तर उनले आफूलाई कहिल्यै बेसहारा ठानिनन्, बरू एकल महिला समूहको संस्थागत विकास गरेर द्वन्द्वबाट उत्पीडित महिलाहरूको उत्थान गर्न पुगिन्। विराटनगरकी सीता पोखरेलले र उनका श्रीमान्ले आÏनो पुर्ख्यौैली सम्पत्ति र जागिरबाट आएको सम्पूर्ण उपदान लगानी गरेर पूर्वाञ्चल अनाथाश्रम निर्माण गर्नु माइक्रोसÏट कम्पनीका संस्थापक बिल गेट्सले अरबौँ डलर समाजसेवामा लगाएको भन्दा कम छैन। विस्तारै जब उनीहरूको योगदानले समाजमा केही परिवर्तन ल्यायो, अनि बल्ल उनीहरूलाई समाजले चिन्यो। तैपनि उनीहरूलाई देशले आवश्यक सम्मान दिन सकेन। यस्ता उदाहरणहरू खोज्यो भने थुप्रै भेटिन्छन्।

साधारण र अर्धनग्न, हेर्दा अलिअलि बहुलीपन भएजस्ता देखिने सेवाइलाल थारू सधैँ खाली जग्गा पाइयो भने रूखै मात्र रोपी हिँड्छन्। हजारौँ रूख रोपे उनले आफ्नो जिन्दगीमा। तर कसैलाई थाहा भएन। उनले रोपेका रूखहरूले हजारौँ नेपालीलाई सास फेर्नका निमित्त अक्सिजन प्रदान गरिरहेछन्। तर जुत्तासमेत नलगाई एउटा लीको भरमा हिँड्ने ती जन्मजात संरक्षकलाई कसैले चिनेनन्। देख्नेहरू पनि सायद उनलाई बहुला नै भन्थे होलान्। वास्तवमा समाजका यी अदृश्य नायकहरू असाधारण नै हुन्छन्।

असाधारण व्यक्ति मेरा लागि ती महिला पनि हुन्, जसले तीनवटी छोरी जन्माएपछि उनका श्रीमान्को युवा अवस्थामै देहावसान भयो। तर घरका मान्छेले ‘यसले हाम्रो छोराको टाउको खाई’ भनेर ती पीडित महिलालाई घरबाट निकालिदिए। तीनजना ससाना बच्चालाई खुवाउन उनले भीख पनि मागिन्। तर दुई–तीन दिनपछि नै उनलाई आभास भयो कि मैले यो जीवनमा सङ्घर्ष गरिनँ र मागेर खान लागेँ भने मेरा यी नाबालक बच्चाहरू पनि भविष्यमा मगन्ते नै हुनेछन्। तत्पश्चात् उनले आफ्नै गाउँमा गएर एकजना मान्छेको दुई

रोपनी जग्गा बहालमा लिई तरकारी खेती सुरु गरिन्। परिश्रम र मिहिनेत गरेर खेतबाट तरकारी बेच्तै उनले आफ्नो र आफ्ना बच्चाहरूको जीविकोपार्जन गरिन्। आफ्नो उद्यमशीलतालाई उजागर गर्दै ती महिलाले कीटनाशक औषधि र अन्य फर्टिलाइजर प्रयोग नगरी अर्गानिक फार्मिङ सुरु गरिन् र त्यहाँबाट उत्पादन गरेका तरकारीहरू होटल–होटलमा बेचेर आर्थिक उन्नति गरिन्। आज ती महिलाको स्थिति धेरै सुधि्रएको छ। उनी पनि हुन् हाम्रो समाजका ‘अनसङ हिरो’।

अमेरिकामा उच्च शिक्षा हासिल गरेका महावीर पुन त्यहाँको उज्यालो भविष्य र सुखद् जिन्दगी परित्याग गरेर नेपालको गाउँमा आए र गाउँलाई संसारको प्राविधिक नेटवर्कमा जोड्न खोजे, जोडे पनि। उनलाई हामीले पहिले चिनेनौँ। विश्वप्रसिद्ध म्यागासेसे पुरस्कार पाएपछि मात्र उनलाई सबैले चिने। यस्ता महावीरहरू हाम्रो देशमा कम छैनन्, जो चुपचाप आफ्नो कर्तव्यमा निष्ठापूर्वक लागिरहेका छन्। यस्ता थुप्रै महावीरहरूलाई उजागर गरेर अरूहरूका निम्ति पनि प्रेरणाको स्रोत बनाउनु र उनीहरूलाई हौसला दिनु राज्यको मात्र होइन, नागरिक समुदायको पनि कर्तव्य हो।

एकचोटि म तिलगङ्गा आँखा अस्पतालमा आँखा जँचाउन गएको थिएँ। त्यहाँ देशका कुनाकाप्चाबाट हजारौँ मानिसहरू आँखा जँचाउन आउँदा रहेछन्। रिसेप्सन काउन्टरमा गएर जँचाउने प्रक्रिया बुझेपछि कुनै झन्झटविना मैले आँखा जँचाउन पाएँ। बिरामीहरूको ठूलो चाप हुँदाहुँदै पनि त्यहाँ कुनै झन्झटिलो नियम रहेनछ। अस्पताल अत्यन्तै सफासुग्घर र व्यवस्थित रहेछ। कर्मचारीहरू पनि त्यस्तै मिलनसार। मिनेट–मिनेटमा डाक्टरहरूले आँखा जाँच्दा रहेछन्। डेढ घन्टाभित्र मैले आँखाको प्रेसरदेखि मोतियाविन्दु र पावरसमेत जचाउन पाएँ। त्यो पनि सय रुपियाँभन्दा कम शुल्क तिरेर। अन्यत्र कहाँ पाइन्छ यस्तो उत्कृष्ट सेवा! नेपालमा केही पनि काम हुँदैन र गर्न सकिँदैन भन्ने नकारात्मक मनस्थिति बोकेका मानिसलाई त्यहाँ एकचोटि हेर्न पठाउनैपर्छ।

विभिन्न डाक्टरहरूसित आँखा जँचाउँदा–जँचाउँदै अन्तमा म डा. सन्दुक रुइतको कोठामा पुगेँ। ‘रमण मेगासेसे’ जस्तो गरिमामय पदक पाएर पनि डा. रुइत अत्यन्त सरल पाएँ, चाहिनेभन्दा बढी पटक्कै नबोल्ने। उनले मेरो आँखामा नानी फुलाउने औषधि राखेर ‘पाँच मिनेट आँखा चिम्लिई बसिराख्नुस्’ भनेपछि म त्यहाँ आँखा चिम्लेर केही क्षण बसेँ। अस्पतालको सक्षम व्यवस्थापनबाट म कति प्रभावित भएँ भने मेरो ‘सोच’ किताबको नाफाबाट एक लाख रुपियाँ अस्पताललाई प्रदान गर्ने विचार गरेँ र तत्कालै दिएँ पनि। हुन त यति

व्यवस्थित भइसकेको अस्पतालका लागि मेरो सानो रकमले त्यति ठूलो अर्थ नराख्ला। यद्यपि मजस्ता केही ‘हुनेखाने’ उद्यमी–व्यापारीहरूले तिलगङ्गा आँखा अस्पतालजस्तो प्रतिष्ठानलाई सक्दो आर्थिक एवम् भावनात्मक सहयोग गरे भने डा. रुइतज्ास्ता सक्कली समाजसेवीहरूलाई उत्साहित बनाउनेछ। कसले सोचेको थियो होला नेपालजस्तो अविकसित मुलुकबाट पनि आँखाको कृत्रिम रेटिना बनाएर विकसित देशहरूमा समेत निर्यात गरिन्छ होला भनेर! उनीजस्ता कर्मशील धर्तीपुत्रहरू न्ोपालमा अरू पनि होलान्। सौभ्ााग्यले उनको पहिचान भयो। तर नेपालमा लुकिराखेका अरू प्रतिभा र पौरखीहरूलाई खोज्ोर तरास्नु हाम्रो समाजको कर्तव्य हो।

प्ाचासौँ वर्ष भयो वनमारा भन्ने एउटा आगन्तुक झारले नेपालका सारा वनजङ्गल सखाप पार्दै लगेको। कस्तो यो झार, दन्त्यकथाको राक्षसजस्तै! यो झारलाई काटेर फ्याँक्यो भने झन् बढ्दै जान्छ। यो झारका हाँगाबिँगा र जराहरू वनजङ्गलमा यस्तो किसिमले फैलिएर जान्छन् कि त्यहाँ कुनै पनि अन्य बिरुवाहरूको बिउसमेत उमार्न सकिँदैन। उमि्रहाल्यो भने पनि बिरुवा माथि बढ्न सक्तैन। वनविज्ञानका निमित्त यो सबैभन्दा ठूलो अभिशाप हो। न त यसलाई मार्ने कुनै रासायनिक पदार्थ छ, न त यसलाई भौतिक रूपले उन्मूलन नै गर्न सकिन्छ। बस्, यो राक्षसी झार फैलियो भने हात बाँधेर किंकर्तव्यविमूढ हुनुबाहेक अर्काे उपाय नै छैन। तर केही युवाहरूले यो वनमारा झारलाई काटेर आधी बालेर यसलाई पेल्दै वैकल्पिक ऊर्जाका रूपमा ब्रिकेट बनाए। अहिले तराई भेगका केही युवक र महिलाहरू ब्रिकेट बनाउने उद्योगमा लागेका छन्। वनमाराबाट ब्रिकेट बनाउने यो प्रविधिले वनलाई मात्र जोगाएन, एउटा ठूलो इकोलोजिकल समस्याको समाधान भएको छ। त्यसबाहेक गाउँका थुप्रै मानिसले काम पाए र गरिबी–निवारणमा समेत केही हदसम्म यसले टेवा पुर्‍यायो।

यस्तैयस्ता थुप्रै अदृश्य नायकहरूको अर्को उदाहरणका रूपमा नुवाकोट ककनीका माहिला लामा सधैँको फुस्रो र धूलो उड्ने भिरालो जमिनमा देशकै एक मात्र स्ट्रबेरी भिलेज बनाउन लागिपरिरहेका छन्। ललितपुर चापागाउँकी गोमा लम्सालले १५ वर्षदेखि च्याउ–व्यवसाय गरेर आफ्नो च्याउ सहकारी संस्थामार्फत् बिक्री गरी गाउँमा च्याउको उत्पादन गर्ने कार्यमा भ्याई–नभ्याई काम गरिरहेकी छन्। उनको सहकारीमा अहिले १६० जना च्याउ–उत्पादकहरूको संलग्नता छ। उनले आफ्नो सहकारीका लागि सबैसँग मासिक रूपमा रु. १०० उठाएर १२ प्रतिशत ब्याजमा त्यही रकमलाई परिचालन पनि गरेकी छन्। उमरापोखरा पर्वतकी जसुदा बस्यालले घरमा पालिने

वस्तुभाउहरूको गोठबाट निस्कने गहुँत सङ्कलन गरी आफ्नो बारीमा मलका रूपमा प्रयोग गरेर बिक्रीसमेत गर्ने गरेकी छन्। पहिले उनको कामलाई नराम्रो मान्नेहरूसमेत अहिले उनीकहाँ गहुँत खरिद गर्न जान्छन्। पर्वतको कुस्मा शिवालयका नीलराज पुरीले गँड्यौलालाई आफ्नो आम्दानीको स्रोत बनाइरहेका छन्। उनी एकपटक जागिर खान साउदी अरब गई फर्केर आएका हुन्।

दाङका केही थारू युवाहरू कपाल काट्ने पेसामा सफल भएका छन्। यो उनीहरूको पुर्ख्यौली पेसा होइन। तैपनि उनीहरू अहिले कपाल काट्ने पेसामा सफल भएका छन्। दिपायलको सरकारी विद्यालयका विद्यार्थीहरूले आफ्नो पढाइसँगसँगै साबुन बनाएर आर्थिक उपार्जन गरिरहेका छन्। फुर्सदको समयमा गफ गर्नु, खेल्नु वा अन्य कुनै अनुत्पादक कार्य गर्नुभन्दा उनीहरू स्वरोजगारतर्फ लागेका छन्। म्याङलुङ तेह्रथुमका रामसिंह आलेमगर लगायत कतिपय कर्मचारीहरू जागिर छोडेर ढाका कपडा उद्योगमा रमाएका छन्। जागिरे पतिको मृत्यु भएपछि म्याङलुङकी उज्ज्वलता सुब्बाले अहिले उज्ज्वलता ढाका कपडा उद्योग सञ्चालन गरेर असहाय १ सय महिलालाई रोजगारी पनि दिएकी छन्।

एकचोटि लम्ाजुङमा बस्ने वीरबहादुर घले भन्ने एउटा व्यक्ति दुर्गम क्षेत्रको एउटा गाउँमा जाँदा किसानको एउटा घरमा बत्ती बलेको देखेर असाध्यै चकित भए। बिजुली कसरी बल्यो भनेर खोजतलास गर्दा किसानले आफ्नो घट्टेखोलाबाट घरायसी पाङ्ग्रा घुमाई बिजुली निकाली आफ्नो घरमा बालेको थाहा पाए। पछि वीरबहादुर घलेले लमजुङमा गएर आफ्नै लगानीबाट सानो हाइड्रोपावर जडान गरे र गाउँमा बिजुली वितरण गरे। यस्ता आँटिला, जोसिला र सिर्जनशील व्यक्तिहरूलाई राष्ट्रले प्रयोग गर्न नसक्नुभन्दा ठूलो दुःखको कुरो अर्को के हुन सक्छ? यस्ता प्रतिभाहरू त नेपालमा थुप्रै छन्।

ग्रामीण पूर्वाधार विकास समूह नेपाल (ग्रिड नेपाल) का अध्यक्ष गुणराज ढकालको अगुवाईमा स्वदेशमै अध्ययनरत २५ जना युवा इन्जिनियरहरूको सहयोग लिई स्थानीय स्तरमा उपलब्ध स्रोत–साधन र जनशक्तिको अधिकतम उपयोग गर्दै खोला तर्नका लागि रोपवे (मेकानिइज्ा ब्रिज), तुइन, घिर्लिङ् जस्ता इनोभेटिभ कार्यहरू गरिएका छन्। दक्ष र अर्धदक्ष जनशक्तिसँगको सहकार्यमा नेपाली प्रविधि र श्रमको प्रयोग गरी नेपालमा केबलकार तथा रोपवे विकासका लागिसमेत यसले कोसेढुङ्गाको काम गरेको छ।

हलचोककी सुनीता श्रेष्ठ, कान्छा पुतुवार तथा सूचना विभागका पुराना फोटोपत्रकार विष्णुनरसिंह राणा आफ्नो जमिनमा फूलहरू फुलाएर बिक्री गरी आम्दानीमा वृद्धि गराइरहेका छन्। बारीमा धेरै फूलहरू उमारेकाले एक्लैले फूल टिप्न नभ्याएर अरूलाई पनि रोजगारी दिएका छन्। तनहुँ गुणादीका एक किसानले मकै लगाउने बारीमा घाँस रोपेर वार्षिक ९० हजार रुपियाँ आम्दानी गरिरहेका छन्। उखेलेर फाल्नुपर्ने घाँस बारीमा रोपेकाले सुरुका वर्षमा छिमेकीले उनलाई ‘मगज खुस्केको’सम्म भनेका थिए। नेपालका जुम्ल्याहा वैज्ञानिक राम–लक्ष्मणले लोडसेडिङको समयमा पनि बत्ती बाल्न सकिने यन्त्रको विकास गरेका छन्। उनीहरूले बनाएको टाइम लोडमिटरबाट घरमा निश्चित मात्रामा सधँैभरि विद्युत आपूर्ति भइरहन्छ।

चितवन कल्याणपुरका नगेन्द्र शाहले कम लागतमा बाली झार्ने र बत्ताउने मेसिन बनाएर सबै गाउँलेलाई गुन लगाएका छन्। ठमेल गल्कोपाखाका सानुकाजी श्रेष्ठले ग्यासविना नै खानेकुरा पकाउने प्रविधि पत्ता लगाएका छन्। उनले सौर्य ऊर्जालाई इन्धनको वैकल्पिक स्रोतका रूपमा प्रयोग गर्न फ्याँकिएका सिसा, प्लास्टिक र टिनबाहेकका घरमै उत्पादन हुने सबै किसिमका फोहोरहरूलाई प्रयोग गरी सूर्यको तापबाट आधा खर्चमा नै ऊर्जा निकाल्ने प्रविधि निकालेका छन्। इटहरीका रोजन राईलेे नदीले बगाएर ल्याएका काम नलाग्ने रूखका जरा र फेदमा कलाकृतिहरू तयार पारी व्यावसायिक उत्पादन गर्न सफल भएका छन्। यिनले बनाएको जराकला प्रधानमन्त्रीनिवासदेखि सामान्य मजदुरका घरसम्म सजावटका आकर्षक वस्तु बन्न सकेका छन्। उनले आफ्नो घरलाई नै ग्यालरी बनाउनुका साथै विभिन्न समूहलाई यससम्बन्धी तालिम पनि दिइरहेका छन्।

पोखराको हेम्जा गाउँका विष्णु पौडेल र लेखनाथ पौडेलले गाउँकै गौरीशङ्कर माध्यमिक विद्यालयको १५ रोपनी जग्गा भाडामा लिई कृषिमा आधुनिकीकरण गर्नुका साथसाथै बहुआयामिक कृषिजन्य विकास गरेका छन्। फर्ममा तरकारीहरू मात्रै उत्पादन नगरी १५ वटा दुहुना गाई र ६ हजारवटाजति कुखुरा पालेर विकासे घाँस पनि उमारिरहेका छन्। उनीहरूको लगनशीलता देखेर धेरै गाउँले छक्क पर्छन्। प्युठान मरन्ठानानिवासी दिनबहादुर जीसीले अचम्मै लाग्ने गरी एउटै गोरुबाट पनि आफ्नो खेतबारी जोत्न सकिने नौलो तरिकाको विकास गरेका छन्। एउटा मात्रै गोरुलाई लाग्ने जुवा र हलोसमेत उनले तयार गरेका छन्। साना गरा तथा साना–साना सुर्का हुने ठाउँका लागि यो तरिका वरदान नै सावित भएको छ।

कालिकोट मान्माका कृष्ण चौलागाईँलेे तत्कालीन समयमा सबैभन्दा बढी द्वन्द्व हुने र हिंसाग्रस्त ठाउँ भनेर चिनिएको कालिकोटमा पनि बैङ्कबाट २ लाख रुपियाँ ऋण काढेर आफ्नै घरमा एउटा गेस्टहाउस सञ्चालनमा ल्याए। सङ्कटको घडीमा आफूले रगत–पसिना बगाएर ठड्याएको त्यस गेस्टहाउसमा कालिकोट जाने देशी–विदेशी व्यक्तिहरू खाने–बस्ने गर्छन्। जिल्ला सदरमुकाम मान्माको त्यस होटलमा मात्र आधुनिक शौचालय र बाथरुमको उपयोग गर्न पाइन्छ। चितवन शक्तिखोरका चेपाङ समुदायका केही जुझारू युवाहरू मिलेर एउटा संस्थामार्फत् त्यस भेगमा आकर्षक पर्यटकीय गन्तव्यस्थल बनाउन चार गाउँलाई समेटी पैदल मार्ग निर्माण गरेका छन्। यो पैदल मार्गले गर्दा सिराइचुलीबाट सूर्याेदयको दृश्य, हिमालको अवलोकन, तीन सय वर्षपुरानो उपर्दाङगढी, चेपाङ सङ्ग्रहालय, झर्ना र गुफालगायतका ठाउँहरू देख्न पाइन्छन्।

पोखरा अर्चलाबोटका महिलाहरूले गहुँको छ्वालीबाट विभिन्न प्रकारका वस्तुहरू बनाएर कुटीर उद्योग सञ्चालन गरिरहेछन्। उनीहरू मुना छ्वाली बटुलेर टोकरी, चकटी, ब्याग, बास्केट, डालो, गमला, ढकी आदि तयार पार्छन्। भोजपुर दिङलाको केउरेनीपानी र मूलपानीका कृषकहरूले आफ्ना बारीमा रुद्राक्षको खेती गरी घरमा सोलार राखेका छन् र गुजराती भैँसी किनेर दुग्धविकासमा समेत लागेका छन्। प्रत्येक घरमा १५ देखि २० वटा रुद्राक्षका रूखहरू छन्।

डडेलधुरा वन उपभोक्ता महासङ्घका प्रकाश साउद र अदुवा प्रशोधन उद्योगका सञ्चालक तुलबहादुर अधिकारी सिजनमा १० हजार बोतल लालीगुराँस सर्वत उत्पादन गर्दछन्। पाल्पा र डडेलधुरामा बनेको लालीगुराँस र अदुवाको सर्वत अहिले राजधानी भित्रिएको छ। मकवानपुर लोथरका तुलसी लामिछाने घुम्ती मौरीपालन व्यवसाय सुरु गरेपछि लाखौँ रुपियाँ आम्दानी गर्न सक्षम भएका छन्। उनी यसका लागि ७ महिना आफ्नो जिल्ला नै छाडेर मौरी चराउन मकवानपुर र सर्लाही जान्छन्। उनी जुन फूल मौरीले बढी मन पराउँछ, उक्त फूल कुन क्षेत्रमा पाइन्छ भनी बु‰दै हिँड्छन् र त्यहीँ गएर मौरी चराउने काम गर्दछन्। उनी वर्षको ५ महिना घरमै मौरी राखेर मह काढ्छन्।

ललितपुरस्थित नख्खु कारागारका एकजना बन्दी जीवन लामिछानेले आफू बन्दी भए पनि कारागारभित्रका सबै बन्दीहरूको रहनसहन र बानीव्यहोरामा धेरै परिवर्तन ल्याइदिएका छन्। उनले कारागारभित्र पत्रपत्रिका पढ्ने वातावरण मिलाइदिने, विभिन्न सामानहरू बनाउने सीपमूलक तालिम दिने, सामानहरू बेच्ने आदि कामहरू गरिरहेका छन्। अहिले त्यहाँका बन्दीहरू ढाकाटोपी, मफलर, रुमाल आदि बुन्ने काम गरेर बस्तछन्। उनले त्यहीँभित्रै विद्यालय पनि स्थापना गरेका छन्। त्यति मात्र होइन, उनले बन्दीहरूका अदालती काम–कारवाहीलाई प्रभावकारी र छिटो–छरितो बनाउन एडभोकेसी फोरमको सहयोगमा कानुन व्यवसायी झिकाई बन्दीहरूलाई कानुनी सहयोग पनि उपलब्ध गराउँदै आएका छन्।

पर्वत पाङराङका ताराप्रसाद पौडेल आफ्नो विद्यालयमा पढाउने काम गरी अतिरिक्त समयमा बिउव्यापारमा समेत संलग्न भएका छन्। यसबाट उनले विद्यालयले दिने तलबभन्दा चार गुणा बढी आम्दानी गरिरहेका छन्। उनलाई विद्यालयको समयबाहेक अरू बेला उनको बारीमा मात्रै भेट्न सकिन्छ। विद्यालयको समयबाहेक अरू समय उनी आफ्नै बारीमा गोडमेल र खनजोतमा व्यस्त हुन्छन्। उनीे यसै कामबाट दुुई छोरा र एक छोरीलाई आवासीय विद्यालयमा पढाएर पनि थप पैसा जम्मा गर्न सफल भएका छन्।

गोरखा नारेश्वर दुम्सरीकी कमला विश्वकर्माले सधैँ पुरुषले मात्रै गर्दै आएको भाँडाकुँडा बनाउने काम गरेर आफ्ना पाँचजना छोराछोरी पढाउने र परिवार सबैको गुजारा गर्ने काम गरिरहेकी छन्। काँचो फलामलाई हिर्काई विभिन्न आकारमा बदलेर धेरै थरीका भाँडाकुँडा निर्माण गर्नु वास्तवमै एउटी महिलाका निमित्त सजिलो काम होइन। त्यसै गरी कैलाली फूलबारीकी २१ वर्षीया पार्वती चौधरी धनगढीमा मजदुरी गरेर इँटा बोक्ताबोक्तै मिस्त्री बन्न सफल भएकी छन्। मिस्त्री भएपछि अन्य महिला साथीहरूलाई पनि मिस्त्री बनाउन उनी मद्दत गरिरहेकी छन्।

फ्रान्स पुगेर चिजमेकरको २० दिने तालिम लिई फर्केका अशोक सिंह ठकुरीले चित्लाङमा घरैमा पालेका बाख्राको दूधबाट पनि चिज बनाएर मनग्गे आम्दानी लिन सकिन्छ भन्ने सिकाएका छन्। यस परियोजनामा अहिले गाउँका थुप्रै परिवारहरू संलग्न भएका छन्। यस कारखानामा नरम र कडा गरी दुई प्रकारका चिजहरू उत्पादन हुने गर्दछन्। त्यसै गरी त्यहाँका वासिन्दाले चित्लाङ चन्द्रागिरी चिज–उत्पादन समूह गठन गरी चिज–उत्पादनकार्य गरिरहेका छन्। त्यहाँको चिज अचेल विदेशमा समेत निर्यात गरिन्छ।

भोजपुरका बुद्धिमान राई र मीना राईले खुर्सानीबाट अचार बनाउने उद्योग सञ्चालन गर्न थालेपछि उनीहरूको आम्दानी आकासिएको छ। यी दम्पती पेसाले शिक्षक हुन्। उनीहरूले ज्योति अचार उद्योग भन्ने नाउँमा उद्योग दर्ता गरेर आफ्नो उद्योग सञ्चालनमा ल्याएका हुन्। उनीहरू गाउँमै फल्ने अकबरे नामको खुर्सानीबाट अचार बनाउने गर्दछन्।

हेटौँडा मकवानपुरका कृषकहरू आफ्नो बारीमा लाग्ने जीवहरूलाई नष्ट गर्दैनन्, बरू यसैबाट विभिन्न फाइदा लिन्छन्। कुन जीव वा कीरा खेतबारीका लागि राम्रो हुने मित्रजीव हो र कुन जीव वा कीरा शत्रुजीव हो भन्ने कुराका बारेमा उनीहरूलाई राम्रोसँग थाहा छ। पहिले–पहिले उनीहरू आफ्नो खेतबारीमा कीरा–फट्याङ्ग्रा देख्नेबित्तिकै कीटनाशक विषादि हालिहाल्थे, जसले गर्दा उनीहरूको पैसा खर्च हुनुका साथसाथै मित्रजीवसमेत नष्ट हुन्थे अनि अन्नबालीमा समेत नराम्रो असर पर्न जान्थ्यो।

तनहुँ बन्दीपुर याम्पाका कृषक केशवप्रसाद भट्टराईले अरूको जग्गा भाडामा लिएर गाईपालन व्यवसाय गरिरहेका छन्। यस व्यवसायबाट उनी मासिक २ लाख २५ हजार रुपियाँजति आम्दानी गर्दछन्। यसका लागि उनले १ सय ६७ रोपनी जग्गा वार्षिक ३ लाख रुपियाँ तिर्ने गरी भाडामा लिएका छन्। उक्त जग्गामा उनले होलेस्टिन, जर्सी, ब्राउनस्विचजस्ता अत्यन्तै उन्नत जातका ७० वटा गाईहरू पालेका छन्। उनले आफूले लिएको जग्गामध्ये ६५ रोपनी जग्गामा घाँस मात्रै लगाएका छन्।

पर्वत कुस्मा मुडिकुवा गाविसका किसानहरू रिाको व्यावसायिक खेती गर्दछन्। रिो एक प्रकारको वनस्पति हो। मुडिकुवाका थानेश्वर भुसालले यस खेतीबाट वार्षिक ७० हजार रुपियाँजति कमाउँछन्। यति मात्रै होइन, जिल्लाका मुडिकुवा, शङ्करपोखरी, खानीगाउँ, देवीस्थान आदि ठाउँमा यसको व्यापक रूपमा व्यावसायिक खेती गरिन्छ। सेम्पो, साबुन तथा अन्य महŒवपूर्ण चीज बनाउने उद्योगहरूले रिाको प्रयोग कच्चा पदार्थका रूपमा गर्दछन्।

माथि उल्लिखित उद्यमी र उद्यमशीलताका उदाहरणीय प्रस्तुतीकरण मैले विभिन्न सञ्चार–माध्यमहरूबाट सङ्कलन गरेको हुँ। नेपालका सञ्चार–माध्यमहरूबाट यस्ता सकारात्मक कुराहरू आउनुपर्छ भन्ने विचारधारा र लेखहरू मैले समय–समयमा प्रस्तुत गरेको थिएँ। हुन त अहिले पनि कतिपय सञ्चार–माध्यमहरूले नकारात्मक खबरहरू मुखपृष्ठमा छापी सकारात्मक खबरहरू भित्री पृष्ठहरूमा छाप्ने गर्छन्। तर यसपालि सेती नदीको खेचमा खसेकी सानी बालिका आराधना प्रधानलाई बचाउने १२ वर्षीय बहादुर कमल नेपाली र उनलाई साथ दिने क्यानोनिङ व्यवसायी युवाहरूको उत्साहजनक खबर सम्पूर्ण पत्रपत्रिकाहरूको मुखपृष्ठमा पढ्न पाउँदा धेरै खुसी लाग्यो।

कमल नेपालीलाई प्रोत्साहन दिने क्रममा निजी क्षेत्रदेखि सरकारले समेत आर्थिक अनुदान दिएका छन्, यसलाई धेरै राम्रो भन्न सकिन्छ। मलाई लाग्छ कमल नेपाली एउटा असाधारण बच्चा हुन्। १२ वर्षको कलिलो उमेरमा अरूलाई बचाउन अदम्य साहस देखाउने उनीजस्ता प्रतिभालाई हामीले यदि भविष्यको रेस्क्यू अप्रेसन क्रियाकलापमा प्रयोग गर्न सक्यौँ भने त्यसले हाम्रो जस्तो हिमाली राष्ट्रको सर्वाधिक महŒव बोकेको गन्तव्यस्थलमा एउटा गजबको दक्ष सुरक्षाकर्मी जनशक्ति पैदा गर्न सक्छ।

नेपाल माउन्टेनरिङ एसोसिएसन र हिमालयन रेस्क्यू एसोसिएसनजस्ता सङ्घसंस्थाहरूले कमल नेपालीलाई अहिले उच्चस्तरीय शिक्षा प्रदान गर्दै भविष्यमा विदेशमा पठाएर अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक रेस्क्यू अप्रेसनको शिक्षा र तालिम प्रदान गर्ने व्यवस्था मिलाउन सके भने सायद उनी विश्वको एउटा महान् रेस्क्युयर बन्न सक्छन्।

वास्तवमा खोज्ने हो भने लुकेका प्रतिभाहरू गाउँ–गाउँमा पाइन्छन्। तर उनीहरूलाई खोजेर मात्र पुग्दैन। उनीहरूका सिर्जनशील एवम् उद्यमशील क्रियाकलापहरूलाई सरकारले अध्ययन गरेर, अनुगमन गरेर उनीहरूलाई हौसला प्रदान गर्दै उनीहरूको ट्य्राकलाई समयमै मूल्याङ्कन गरेर सुव्यवस्थित गरिदिनुपर्छ। राजनीतिलाई मात्र महŒव दिएर देशको विकास हुँदैन। गरिबी–निवारण गर्न न त कुनै सूत्र छ न त दर्शन नै, न त यस्ता कुराहरू पञ्चवर्षीय गुरुयोजनाको खाकामा नै पाइन्छन्। देशको विकास धरातलीय एवम् व्यावहारिक प्रविधि र परियोजनाबाट मात्रै सम्भव हुन्छ। यस्ता परिकल्पना गर्ने र मिहिनेत गरेर कार्यान्वयन गर्ने प्रतिभाहरूलाई जबसम्म राष्ट्रले परिचालन गर्न सक्तैन, तबसम्म राष्ट्रिय योजना आयोगका पञ्चवर्षीय गुरुयोजनाले मात्रै केही हुँदैन।

लम्ाजुङको सदरमुकाम बेसीसहरमा पुलचोक क्याम्पसबाट पास भएका एकजना युवा इन्जिनियरले स्थानीय समुदायलाई सहभागी बनाई ३.५ मेगावाटको सानो जलविद्युत आयोजनाबाट बिजुली उत्पादन गरे, वितरण गरे र महसुलसमेत उठाए। स्थानीय स्तरबाटै उत्प्ाादन गरिएको यो जलविद्युत आयोजनाले बेँसीसहरमा मात्रै होइन, सँगै जोडिएका पहाडी जिल्लाहरूमा समेत विद्युत् वितरण गर्छ। राजधानी काठमाडौँमा दिनहुँजसो लोडसेडिङ हुन्छ, तर लम्ाजुङमा हप्ताको एकचोटि मात्र बत्ती निभ्छ रे। तर त्यो झिलिमिली बत्तीपछाडिको कथा कसैलाई थाहा छैन। लमजुङलाई झिलिमिली पार्ने व्यक्ति को हो? त्यो समुदाय कुन हो? त्यसका बारेमा थाहा पाउन सबै विकासप्रेमी नेपालीहरू इच्छुक हुनुपर्छ। सीमित स्रोत र साधनबाट ती सिर्जनशील युवा र समुदायले केही हदसम्म मात्र त्यो गाउँमा विकासको बत्ती बाल्न सक्छन्, तर सरकारले उनीहरूलाई टेवा दिने हो भने त्यसभन्दा बढी बिजुली पैदा गरेर अरू थ्ाप योगदान दिन सक्छन्।

हालै मात्र मुम्बईमा आयोजना गरिएको एउटा अन्तर्राष्ट्रिय यान्त्रिक मेलामा नेपाली युवा वैज्ञानिकहरूले च्ाौथो स्थान प्राप्त गरे, जबकि त्यो बेला भारतभरिबाट पचासभन्दा बढी वैज्ञानिक समूहहरूले भाग लिएका थिए। जापानको अन्तर्राष्ट्रिय रोबोट प्रतिस्पर्द्धामा नेपाली टोली दोस्रो भएको थियो। उनीहरूलाई प्रोत्साहन गर्ने त कुरै छाडौँ, कसैले जिज्ञासासमेत राखेन। अब उनीहरूलाई के गर्ने? यदि समयमै उनीहरूलाई प्रयोग गर्न सकिएन भने प्रतिभाको पलायन भएर देशलाई मात्र नोक्सान हुँदैन, एउटा सिर्जनशील युवाको मनमा आफ्नो मातृभूमिप्रति वितृष्णा जाग्रत हुन सक्छ। त्यस्ता युवाहरूको सीप र श्रमलाई चिनेर सदुपयोग गर्न सकिएमा नयाँ नेपाल बनाउन धेरै समय कुर्नुपर्ने छैन।

एक समयमा स्याङ्जाका युवा साथीहरू स्याङ्जामा कसरी पर्यटन–उद्योग सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्न म्ोरो घरमा आएका थिए। पर्यटकीय दृष्टिकोणले स्याङ्जा एउटा आकर्षक ठाउँ हो। तर नेपालमा यस्ता आकर्षक स्थलहरू ध्ोरै छन्। पर्यटकीय गन्तव्यस्थल बनाउने हो भने ती स्थानहरुलाई आफ्नै तरिकाले ब्रान्डिङ गर्नुपर्छ। स्याङ्जामा अर्गानिक फार्मिङ सुरु भइसकेको छ। स्याङ्जाको पर्यटकीय सुनमाथि सुगन्ध बनाउन एग्रो टुरिजमको छाप र छविलाई नै ब्रान्डिङ बनाउनुपर्छ। अर्गानिक फार्मिङलाई लक्ष्य बनाएर स्याङ्जालाई आकर्षक आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यस्थल बनाउन सकियो भने यहाँका बासिन्दाहरू स्वच्छ, स्वस्थकर, हरित बासस्थानमा बसेर गर्वका साथ आर्थिक उपार्जन गर्न सक्तछन्। स्याङ्जाले यसैमा आफ्नो आधिपत्य ९ःयलयउयथि० जमाउनुपर्छ ताकि स्याङ्जाको तरकारी भन्नासाथ सबै ग्राहक हुरुक्क होऊन्। एकचोटि यसले विश्वसनीयता कमाउन सक्यो भने अन्तर्राष्ट्रिय बजारमा पनि स्याङ्जाको तरकारी र अन्य कृषिजन्य वस्तुहरूको माग बढ्छ। अरब र अन्य विकसित मुलुकमा त यसको बजार अपार छ। संसार अहिले स्वास्थ्यप्रति सम्वेदनशील भइरहेकोे हुँदा समयसापेक्ष यो उद्योग सफल भयो भने स्याङ्जाको मुहार फेरिनेछ र भविष्य उज्ज्वल हुनेछ।

यान्त्रिक र रासायनिक आतङ्कबाट त्रसित आधुनिक विकसित मुलुकमा अर्गानिङ फार्मिङ प्रविधिको ठूलो माग छ। आजकाल अत्यधिक रासायनिक मल र कीटनाशक औषधिले सम्प्ाूर्ण खेतहरू विषयुक्त बनाइसकेका छन्। त्यसैले विदेशमा खाद्यपदार्थहरू झिकाइँदा निर्यातकर्ताले रासायनिक पदार्थहरू नमिसाइएको भनी प्रमाणित गर्नुपर्छ। हालसालै मात्र केही युरोपीय मुलुकहरूले नेपालबाट मह झिकाउन बन्द गरेछन्, किनभने नेपालमा मौरीहरू प्रदूषित खेतबारीमा जान्छन् रे। विगत केही दशकदेखि ‘जिन्दगीका लागि खाना होइन, खानाका लागि मात्र जिन्दगी’ भनेजस्तै हामीले प्रदूषित वस्तुहरू खाँदा–खाँदा क्यान्सरजस्ता डरलाग्दा रोगहरू निम्त्याइसकेका छौँ। त्यसैले अर्गानिक फार्मिङबाट उत्पादित सागसब्जी र फलफूलहरूको माग विदेशमा मात्र होइन, काठमाडौँमा समेत दिनप्रतिदिन बढ्दैछ। विदेशी पर्यटक र कूटनीतिज्ञहरू साधारण सागसब्जीलाई भन्दा अर्गानिक फार्मिङबाट उत्पादन गरिएको तरकारीलाई तीन गुणा बढी पैसा तिरेर किन्छन्। आजकाल थुप्रै विकासोन्मुख देशहरूले समेत अर्गानिक फार्मिङबाट उत्पादित प्राकृतिक वस्तुहरू निर्यात गरेर आफ्नो अर्थतन्त्रलाई टेवा पुर्‍याउँदैछन्।

अर्गानिक फार्मिङ भनेको विश्वसनीयताका आधारमा मात्र विकसित हुने उद्योग हो। यसमा स्याङ्जावासीले बडो होस पुर्‍याउनुपर्छ। पहिले–पहिले ठिमीको तरकारी भनेपछि मानिसहरू हुरुक्क हुन्थे। अचेल ठिमीमा अनियन्त्रित विकासका कारण खेतीयोग्य जमिन हराउँदैछ र जहाँ अलिअलि खेत छ, त्यहाँ पनि बढी तरकारी उत्पादन गर्न अत्यधिक रासायनिक मल र कीटनाशक औषधि प्रयोग गरिएको छ। त्यसैले अचेल ठिमीको तरकारीको परम्परागत नाम र महŒव बाँकी छैन।

स्याङ्जावासीले पनि क्षणिक लोभमा लागेर अर्गानिक फार्मिङलाई प्रदूषित गर्न खोजे भने यो उद्योग जन्मनुभन्दा पहिले नै मर्नेछ। विश्वसनीयता कमाउन धेरै समय लाग्छ, मिहिनेत गर्नुपर्छ। बढी कमाउने र बढी उत्पादन गर्ने लोभमा अर्गानिक फार्मिङको भविष्य खतम गर्नु हुँदैन।

एकताका मलेखुमा नदीको माछा खान यात्रीहरू हुरुक्क हुन्थे। जोसुकै पनि त्रिभुवन राजपथबाट यात्रा गर्दा मलेखुमा रोकिई एक–दुई प्लेट माछा खाएर नै जान्थे। तर अचेल जनकपुरको विकासे माछालाई पनि रैथाने माछा हो भन्दै बेचेर ग्राहकलाई ठग्न थालेपछि मलेखुमा माछा खानेहरूको ताँती कम भएको छ। कमसेकम म खान्नँ। विकासे माछा नै खानुछ भने मलेखुमा नखाई काठमाडौँैको पुरानो भन्सारमा माछा किनेर घरमै पकाए पनि भइहाल्यो नि! यदि अचेल पनि स्थानीय रेस्टुरेन्टहरूमा व्यापारीहरूले झूटो बोल्दै व्यापार गर्ने हो भने एक दिन मलेखुको माछाबजारको जस्तै साख खस्केर जानेछ। यस्तो नहोस् स्याङ्जामा।

बीस वर्षपहिले पाटनमा सबै धातुका मूर्तिहरूमा सुनले मोलम्बा गर्थे। ीयह ७ ध्बह : भतजयम को प्रक्रियाबाट ढलौटका वस्तुहरू ढाल्ने र ती मूर्तिहरूलाई कुँदेर सुनले मोल्ाम्बा गर्ने विधि नेपालमा मात्र छ। कलापारखीहरू न्ोपालमा बनेका सुनले मोल्ाम्बा गरेका ती मूर्तिहरू किन्न धेरै पैसा खर्च गर्छन्। तर केही लोभी व्यापारीहरूले ती धातुकलाहरूमा सुनले मोलम्बा गर्नुको सट्टा कम खर्चबाट इलेक्ट्रोप्लेटिङ गरेर बेच्न थाले। पहिले त ती व्यापारीहरूले धेरै पैसा कमाए, तर पछि जब ग्राहकले यो त सक्कली सुनले मोलम्बा गरेको होइन इलेक्ट्रोप्लेटिङ पो गरेको हो भनी थाहा पाए, अनि नेपालको मूर्तिउद्योग धराशायी भयो। एक–दुईजना अदूरदर्शी लोभी व्यापारीहरूका कारणले परम्प्ारागत मूर्ति बनाउने कलाकारहरूको पेटमा लात्ती बजि्रएको थियो। यस्तो अदूरदर्शी कार्य नहोस् स्याङजा र मलेखुमा। यस्ता अवाञ्छनीय गतिविधिमा रोक लगाउन सरकारले वातावरणीय एवं पेसागत औद्योगिक नीति नै ल्याउनुपर्छ।

नेपालमा औद्योगिक एवं आर्थिक विकासका निमित्त व्यावहारिक नीति निर्माण गर्नुका साथै डा. सन्दुक रुइत र महावीर पुनजस्ता दक्ष जनशक्तिलाई खोज्न र नेपालमै काम गर्नका लागि उत्साहित गर्न सक्यौँ भने नेपालबाट दिनप्रतिदिन अथाह प्रतिभाहरू विदेशमा पलायन हुने क्रम रोकिनेछ। छोराछोरीहरूलाई विदेशमा उच्च शिक्षा पढाउन हुँदैन भन्न खोजिएको होइन, यदि आÏनो आर्थिक क्षमताले भ्याउँछ भने विदेशमा उच्च शिक्षाका लागि पठाउन सकिन्छ। उच्च शिक्षा हासिल गरेर यदि नेपालमा फर्किई काम गर्ने हो भने यसले देशलाई अवश्य पनि मद्दत गर्नेछ। तर अधिकांश नेपालीहरू एकचोटि विदेश गएपछि विदेशको सुनौलो भविष्यको मृगतृष्णाले आÏनो देशलाई बिर्सिदिन्छन्, आÏनो देशलाई मात्र होइन, आफूलाई जन्म दिएका आमाबाबुलाई पनि बिर्सिदिन्छन्।

दुःख लाग्छ, आजकाल नेपालमा आफ्नो घरजग्गासमेत बेचेर, ऋण काढेर छोराछोरीहरूलाई विदेशमा पढ्न पठाएको देख्ता! के हाम्रो देशमा उज्ज्वल भविष्यको सम्भावना खत्तम नै भएको हो त? ताजुब लाग्छ, कसरी ती शिक्षित युवाहरूले आफूलाई जन्माएका आमाबाबुलाई दरिद्र आर्थिक हविगतमा पुर्‍याएर विदेशमा पढ्न जान सकेका होलान्! बिचरा आमाबाबुहरू आफ्नो भएभरको सम्पत्ति खर्चिई धेरै आशा राखेर छोराछोरीलाई विदेशमा पठाउँछन्, ठूलो मान्छे हुन्छ भनेर सोच्छन् र पैसा कमाएर पठाउँछ भन्ने आशा गर्छन्, तर कतिपय युवाहरू अमेरिका, अस्ट्रेलिया र युरोपको आधुनिक जीवनशैलीमा हराउँछन्। न उनीहरू त्यहाँ सफल हुन सक्छन्, न त नेपालमै फर्किन्छन्, बाबुआमाको सपना त कहाँ हो कहाँ!

यस्ता दुःखद उदाहरणहरू नेपालमा अहिले छ्याप्छ्याप्ती पाइन्छन्। आजकाल नेपालमा पारिवारिक सम्बन्धको अवमूल्यन द्रूत गतिले भइरहेको छ। छोराछोरीले आमाबाबुलाई बिर्सने मात्र होइन, उल्टो कहिलेकाहीँ आफ्नो अधर्मीपन लुकाउन स्वयम् आमाबाबुलाई नै अनेक लान्छना लगाएर दोषी बनाउन पनि खोज्छन्। मलाई लाग्छ, मानवजातिको नाट्यसंसारमा जन्म दिने आमाबाबु छोराछोरीका लागि दुष्ट कहिल्यै हुन सक्दैनन्। खराब बरू छोराछोरी हुन सक्छन्, बुहारी–जुवाइँ हुन सक्छन् अनि उनीहरूलाई उक्साउने अरू तŒव पनि। तर आफ्ना सन्तान हुर्काउने आमाबाबु कहिल्यै खराब हँुदैनन्। परिस्थिति र परिबन्दले यदि जन्म दिने आमाबाबु खराब देखिए भने पनि सन्तानले त्यसलाई स्वीकार्नुपर्छ।

जन्म दिने आमाबाबुले जिन्दगीभर आशीर्वादको हात बढाउँछन्, सम्झौतामा हात बढाउने पालो सन्तानको हुन्छ। यो मानिस मात्रको जन्मसिद्ध कर्तव्य हो। आमाको दूध पचाउने र बाबुको गुण चपाउनेलाई पशुसमेत भन्न मिल्दैन। त्यो त मात्र बिच्छी हो। जन्माउनेको छाती सधैँ सागर हुन्छ, जहाँ सबै छोराछोरीका फोहोर थुपारिन्छन्। सन्तान पानीका बाफ हुन्, उनीहरू कसिँगर र फोहोर सागरमा थुपार्दै आफू बादल बनी आकाशमा उडिरहन्छन्। तसर्थ बादलरूपी सन्तानसँग सागररूपी आमाबाबुलाई गाली गर्ने अधिकार छैन।

नेपाली समाजमा कपूत सन्तान मात्र होइन, सपूत छोराछोरीहरूको पनि कमी छैन। केही दिनअघि मलाई विराटनगरमा बस्ने एउटा साधारण व्यक्ति पवन श्रेष्ठले पठाएको एउटा बडो मार्मिक पत्रका कुराहरू यहाँ प्रस्तुत गर्न चाहन्छु। उनका दुईवटा छोरा छन्। ठूला छोरा १२ कक्षामा पढ्दै थिए, साना विद्यालयमा पढ्दै थिए। छोराहरूको उमेर बढ्न थालेपछि पवन आत्तिन थाले। जेठा छोरालाई १२ कक्षासम्म जसोतसो खाई–नखाई सापटी लिई पढाएर भए पनि राम्रै श्रेणीमा पास गराए। तर अब अगाडि पढाउने कसरी? कहाँ पठाउने? उनी सधैँ आफ्ना छोराहरूलाई भन्ने गर्थे, ँबाबु! धेरै पढेर ठूलो मान्छे हुनुपर्छ। डाक्टर, इन्जिनियर, पाइलट बन्नुपर्छ।ँ

बाबुको आशाअनुरूप छोराहरूले पनि पढे। तर जब छोराहरूले राम्रो नतिजा ल्याएर पढ्न थाले, पवन छटपटिन थाले। अब अगाडि पढाउन पैसा कहाँबाट ल्याउने? सम्प्ात्ति केही थिएन। सुब्बा स्तरको जागिरको आम्दानीले परिवार पाल्ने कि छोराछोरीको पढाइमा खर्च गर्ने? त्यही मौकामा संस्थानबाट स्वेच्छिक अवकाशको सूचना निस्कियो। अवकाश लिँदा पवनको हातमा ६–७ लाख रुपियाँ आउने भयो। अब के थियो, ‘नेत्रहीनलाई के चाहियो, दुई आँखा’ भनेजस्तै भयो। पवनले छोराको पढाइका निमित्त छ–सात लाख रुपियाँ खर्च गर्ने आँट गरे। तर छोराले बाबुलाई भने, ँतपाईँको जिन्दगीभरिको कमाइ मेरो पढाइका निमित्त खर्च गर्ने हो भने तपाईँहरूले के खाने र सानो भाइलाई कसरी पढाउने?ँ छोराको आफूप्रतिको र आफ्नो भाइको भविष्यप्रतिको मायारूपी त्यो भावुक प्रश्नले पवनलाई किंकर्तव्यविमूढ बनायो।

जब पवनले पठाएको पाँच पृष्ठको हस्तलिखित पत्र पढँे, छाती ढक्क फुलेर आयो। उनीहरूलाई मैले कहिल्यै देखेको छैन। तैपनि पवनको पत्र पढ्दापढ्दै ती भावुक दृश्यहरू फिल्ममा हेरेजस्तै मेरा आँखासामु झल्झली आउन थाले र पढ्दापढ्दै खुसीले आँखा विस्तारै रसाउन थाले। पछि छोराको कुरा सुनेर पवनले विराटनगरमा एउटा सानो किराना पसल खोल्ोछन् र त्यसैबाट आएको आम्दानीले परिवारको जीविकोपार्जन गर्दै छोराहरूलाई उच्च शिक्षा दिने विचार गरेछन्। पवनका छोराले विदेशमा पढ्न जाने कुरा कहिल्यै गरेनन्। अहिले उनी नेपालमै इन्जिनियरिङ पढ्दैछन्। हुन त छोरालाई डाक्टरी पढाउने ठूलो सपना थियो पवनको। तर सपना सधँै साकार हुँदैन।

अहिले पवनका जेठा छोरा ख्वपः इन्जिनियरिङ कलेज भक्तपुरमा पढ्दैछन्। त्यहाँ पढ्न चार वर्षका लागि एक लाख नब्बे हजार रुपियाँ तिर्नुपर्ने रहेछ। अहिले पवनको स्थिति धेरै राम्रो छ। उनको आकाङ्क्षा धेरै ठूलो छैन। उनी सन्तुष्ट छन्। जिन्दगीभर ताप्लेजुङमा सुब्बा भएर काम गरी जागिरबाट अवकाश प्राप्त गरेपछि पनि उनी परिश्रम गर्नबाट पछि हटेनन्। विराटनगरमा किराना पसल राम्ररी चलिरहेको छ। साना छोराले यसपालि प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका छन्। पत्र पढ्दापढ्दै मैले विराटनगरमा पवनलाई टेलिफोन गरँे, र कुनै बेला काठमाडौैँ आउँदा मेरो घरमा आउन आमन्त्रण गरेँ। यो एउटा सानो कथा हो तर यो कथाभित्र थुप्रै मर्म लुकेका छन्।

बाबुको बाध्यतालाई बुझेर नेपालमै सम्भावना खोज्ने पवनका ती छोराहरू मलाई लाग्छ नयाँ नेपालका सक्षम सन्तान हुन्। नेपालमा यस्ता धर्तीपुत्रहरूको कमी छैन जो देशमै बसेर देशका निमित्त केही गर्न चाहन्छन्। तर हामी उनीहरूलाई चिन्दैनौँ र चिन्न पनि कोसिस गर्दैनौँ। जुन बेलासम्म हामी ती सम्भावित र सिर्जनशील वैज्ञानिक र उद्यमीहरूलाई उत्साहित गर्दैनौँ, उनीहरूको मिहिनेत र विवेकको सह्राहना गर्दैनौँ र उनीहरूको उद्यमशीलतालाई टेवा र सहयोग दिँदैनौँ, तबसम्म देशको विकास हुन सक्तैन। उनीहरूलाई राज्य र सञ्चारले पनि महŒव दिनुपर्छ। ‘फलाना नेताले फलाना कार्यक्रममा यो भन्यो, त्यो भन्यो’ भन्ने भाषणहरू छाप्नुको सट्टा उद्यमीहरूको मिहिनेत, श्रम र उद्यमशीलताका बारेमा दुई–चार शब्द प्रचार गर्दा के नै बिग्रिन्छ र? युवा वैज्ञानिकहरू विदेशमा गई पुरस्कार जित्ोर ल्याउँछन् तर उनीहरू नेपालकै ज्ञान–विज्ञानको अँध्यारो कोठामा हराउँछन्, जबकि कहिल्यै जिम्मेवारी नबोकेका र जिन्दगीमा सिन्ंकै नभाँच्ने व्यक्तिहरूका खोक्रा मन्तव्यहरू पत्रपत्रिकाको पहिलो पृष्ठमा र टीभीको प्ा्राइम टाइममा सम्प्रेषण भइरहेका हुन्छन्। उनीहरूले के नै गरेका छन् र? जसले आफ्नो साधारण कर्तव्य त पालना गर्न सक्तैन, उसले अरूलाई के सहयोग पुर्‍याउला? बरू यसको सट्टा ती गलकगलन जभचयभक हरूलाई महŒव दिइएको भए राज्यले चाँडै विकास गर्न सक्थ्यो होला।

यस्ता थुप्रै कुराहरूलाई ध्यानमा राखी म दिल्लीबाट काठमाडौँ फर्केको थिएँ। पछि मैले मेरा मित्र अनील चित्रकारलाई ‘अनसङ हिरो’हरूको पुस्तिका तयार गर्ने कार्यमा सहयोग गर्नका लागि अनुरोध गरेको थिएँ। अनील चित्रकार यो देशका एउटा सिर्जनशील व्यक्ति हुन्। उनको दिमागले सधैँ केही न केही उपायहरू सोचिरहेको हुन्छ। उनले यस देशमा संरक्षण र व्यवस्थापनका क्षेत्रमा ठूलो बौद्धिक योगदान पुर्‍याएका छन्। केशव स्थापित काठमाडौँ महानगरपालिकाका मेयर भएका बेलामा अनील चित्रकारले उनलाई ठूलो सिर्जनात्मक सहयोग प्रदान गरेका थिए। म अनील चित्रकारलाई सधैँ श्रद्धा गर्छु र कुनै पनि नयाँ काम गर्दा उनीसँग सम्पर्क राख्ने गर्छु। ‘अनसङ हिरो’ हरूबारेको किताब तयार गर्ने क्रममा पनि उनी र डा. तीर्थबहादुर श्रेष्ठसँग मैले सम्पर्क राखेको थिएँ। तर दुवैजना आ–आफ्ना काममा धेरै व्यस्त भएका हुँदा उनीहरूले चाहँदाचाहँदै पनि यस कार्यक्रममा सहभागी हुन सकेनन्। तैपनि मैले यो प्रयासलाई जारी नै राखेँ।

[प्रतिभाको खोजी नामको सो पुस्तक माइसंसारले चार वर्षअघि विश्वभरका पाठकका लागि रिलिज गरेको थियो। तपाईँ यहाँ क्लिक गरी सो किताब पढ्न र डाउनलोड गर्न सक्नुहुन्छ]

खोज सुन्ने किताब

आजदेखि हामी खोजको सुन्ने किताबका अंश पनि राख्दैछौँ। सुमन खरेलको कर्णप्रिय स्वरमा पहिलो भाग सुन्न तल क्लिक गर्नुस्।


डाउनलोड गर्न यहाँ राइट क्लिक गरी ‘सेभ टार्गेट एज’ क्लिक गर्नुस्

14 thoughts on “MySansar Exclusive: खोज (भाग ३)”

  1. Pingback: पुस्तक अंशः खोज (भाग ८) « Mysansar
  2. Pingback: पुस्तक अंशः खोज (भाग ६) « Mysansar
  3. Pingback: पुस्तक अंशः खोज (भाग ४) « Mysansar
  4. Chandra Karki,London says:
    September 15, 2012 at 11:10 pm

    कर्ण शाक्य ज्यु को देश बिकाश अनि नया नेपाल निर्माणका लागि गरिएको योगदान लै कुनै पनि राजनिती कर्मी को भन्दा ज्यादै उच्च तथा अर्थपूर्ण छ /
    देस लाई साच्चिकै विकास गर्ने हो भने बकम्फुसे नेता को झूट को खेति लाई संचार माध्यमले प्रचार गरेर जनता लाई irritate गर्नु भन्दा कर्मशील नेपाली को पौरख लाई महत्वो दिएर अरुलाई पनि प्रेरणा दिने काम गर्नेव्हो भने साच्चै नै नया नेपाल बन्न धेरै समय लाग्ने थिएन. /
    नेपाली संचार मध्यम ले एस प्रति जिम्मेबार बन्नु पर्यो /
    देस का नेता तथा मन्त्रि का लागिकहिल्येई माथि न उठ्ने मेरा हात हरु बाट तपाई हरु जस्ता hero लाइ सलाम /

    Reply
    1. Suman Gurung (UK) says:
      September 17, 2012 at 5:48 am

      एस्तो सकारात्मक कमेन्ट लाइ मन नपराउने को पापी देश द्रोही परेछ, ति सबै कुनै पार्टी को झन्डा मुनिका अन्धभक्त हरु होलान. हेर्दै जाउ मेरो मा कति उधोमुंटे बुढी औला देखिने हो.

      Reply
    2. aditya khanal says:
      September 20, 2012 at 4:33 am

      चन्द्र सर हरु विदेश मा नै हराए पछि देश लै चाहिने जनसक्ति उत्पादन गर्ने जनसक्ति नेपाल लाई चाहिएको छ. कृपया विदेश मा आफ्नो पहिचान नै gumne गरि नहारौनु होस् सर. देश तपाई हरु जस्ता जनसक्ति लाई स्वागत गर्न आतुर छ. सर लण्डन बाट आउदा नेपाल को लागि उपुक्त स्किल लिएर औनुहुन्छा भन्ने आशा छ.

      Reply
  5. krishna says:
    September 11, 2012 at 2:30 pm

    व्यक्ति बिकाश, समाज बिकाश, राष्ट्र बिकाशको लागि कर्ण शाक्यको खोजले उत्प्रेरित गर्ने छ / यो लेख भावनात्मक पनि छ; आँखानै रसाएर आयो ,

    Reply
  6. santosh guragain says:
    September 10, 2012 at 3:03 pm

    कर्ण शाक्य को “सोच” भाग १ मैले आज भर्खर पढे, तर पहिलो भाग मै मलाई वहा ले आफु ले गरेको कुरा सबै सहि गरेको ठान्नु हुदो रैछा जस्तो लग्यो, किनकि वहा संग आफ्नो श्रीमती को उपचार को लागि सहयोग माग्न जो मानिस आयको थियो उ संग वहा लाइ शंका लागेको थियो भने वहा ले उसको श्रीमती लै कुन होस्पितल मा राखेको छ त्यो होस्पितल को नाम र वार्ड र बेड नम्बर सोधेर त्यो हस्पिटल मा फोन गरेर तेस्को जानकारी लिन सक्नु हुने थियो , तेती गरे पछी त थाहा भै हाल्ने थियो नि. किन त्यो बिचरा दुखि लाइ नाना थरि को कुरा गरेर अझै दुखि बनाएर पठाउनु , मलाई लाग्छ यदि त्यो मान्छे को श्रीमती साचिकै हस्पिटल मै भयको पनि हुन सक्छ, उसले कर्ण शाक्य जस्तो ठुलो दान्बिर मान्छे को मा केहि आस लियर गयको थियो होला तर कर्ण शाक्य ले पनि केहि रकम सहयोग गर्नु को साटो स्टोभ, चिया पकाउने भाडो , गिलास आदि किनिदिन्छु भने पछी त्यो मान्छे लै आस मरो यो मान्छे ले सहयोग नगर्ने रैछा बरु अरु संग नि माग्छु भनेर फेरी वहा लाइ भेट्न आएन , म भएको भए पनि फेरी तेती भनेर फर्काउने मान्छे संग फेरी माग्न जाने थिएन, के सानो मान्छे को चै इज्जत सम्मान नि हुदैन कि क्याहो?

    फेरी कस्तो नमिल्ने कुरा गरेको ? हस्पिटल मा श्रीमती रुगेर बस्ने मान्छे ले कहिँ चिया पकाउदै बेच्दै गर्न मिल्छा र भन्या? हस्पिटल भित्र स्टोभ बाले पछी अरु बिरामी मान्छे लाइ कति असर गर्छ ? बिचरा त्यो मान्छे, उसले पनि सोच्यो होला १,२ पैसा दिने भय दिनु नदिने भय नदिनु नि किन बाह्र थरि कुरा गरेर टार्नु भन्ने सोच्यो होला तेसैले फेरी माग्न आएन.

    यो बिल्कुलै मेरो सोचाई हो है कर्ण सर
    ( त्यो मान्छे साचिकै फटाहा पनि हुन सक्थियो तर तपाइले पनि तेती कुरा पत्ता लगाउन मैले माथि भनेको उपाय गर्न सक्नु हुने थियो.)

    Reply
  7. Birkhe says:
    September 10, 2012 at 12:18 pm

    “निराश भएर शून्य जीवन बाँच्नु नै मानवजातिको सबैभन्दा ठूलो रोग हो।”- मन मस्तिस्कलाई बेस्सरी हल्लाई दिए तपाईंका शब्दहरुले।

    Reply
  8. thapa rajbarsingha / canada says:
    September 10, 2012 at 11:37 am

    यौटा सच्चा नेपाली ,,,कर्ण साक्य लाई सलाम छ ….भित्रि हृदय देखि मैले रेस्पेक्ट गर्ने नेपाली मा कर्ण साक्य पनि यौटा हुनुहुन्छ …..

    Reply
  9. arun says:
    September 10, 2012 at 6:18 am

    कर्ण जी
    मलाइ तपाईं को लेख को तल को एउटा हरफ ले ज्यादै नै खुल्दिली बनायो ,
    “हेर्दा अलिअलि बहुलीपन भएजस्ता देखिने सेवाइलाल थारू सधैँ खाली जग्गा पाइयो भने रूखै मात्र रोपी हिँड्छन्। हजारौँ रूख रोपे उनले आफ्नो जिन्दगीमा। तर कसैलाई थाहा भएन। उनले रोपेका रूखहरूले हजारौँ नेपालीलाई सास फेर्नका निमित्त अक्सिजन प्रदान गरिरहेछन्। तर जुत्तासमेत नलगाई एउटा लीको भरमा हिँड्ने ती जन्मजात संरक्षकलाई कसैले चिनेनन्। देख्नेहरू पनि सायद उनलाई बहुला नै भन्थे होलान्। वास्तवमा समाजका यी अदृश्य नायकहरू असाधारण नै हुन्छन्।”

    हो अहिले बजार मा धेरै नै विद्वान भनाउदा बाताबरणविद हरु जो स्वेदेश र बिदेस बाट उच्च सिक्क्षा हासिल गरेका हरुले पनि गर्न नसकेका कामहरु सेवाइलाल थारू जस्ता साधारण व्यक्ति ले गरेकाछन/ यदि येस्ता मानिसहरु नाभैदेको भए सायद तपाईं ले भनेको जस्तो हाम्रो विकास को भोक को खोज को अध्याय धेरै अगाडी नै सकिन्थियो होला / सेवाइलाल थारू ले गर्दा नै हो तपाईं लाइ सात पुस्ता सम्म लाइ पुग्ने सम्पति दिने / तपाईं होटेल थप्नुहुन्छ, झ्याल, ढोका, खाट, पलंग,कुर्सि, सोफा, दराज अरु धेरै कुराहरु होलान काठ बाट बन्ने बस्तु हरु जुन तपाइंलाई उपभोग गर्न रोक्दैन र सबै चिज बन्ने भनेको तेही रुख नै हो / तपाईं आँफै विचार गर्नुहोस तपाईं को भनाइ अनुसार नै तपाईं को सात पुस्ता लाइ पुग्ने सम्पति जोड्दा कति वोटा रुख सक्नु भयो होला / तेस बाट बातावरण मा कति समस्या पर्न गयो , लेखा जोखा गर्नुहोस /

    तेसै गरि कति खानेपानी का मुहान सुकेर तेस वरिपरी बसोबास गर्ने जीव जन्तु हरु मा नकारात्मक असर पर्यो कि परेन होला हिसाब लागाउनुहोस/ deforestration को लागि कतिको योगदान गरियो आफैले मुल्यांकन गर्नुहोस् त ? अहिले एक खाले विकास को परिभासाले गर्दा काठमाडौँ देखि सगरमाथा सम्म फोहोर को थुप्रो सोहोर्दै को हैरान हुनु परेको छ पर्यटक भित्राउने नाममा / काठमाडौँ लाइ ३० वर्ष अघि र अहिले हेरौं हामि सबैको खोज को भोक ले बिकराल भैसक्यो /पुराना सामाजिक मुल्य मान्यता हरु हराउदै गैसक्यो / विकृत संस्कृति हरु भित्रिदै छन् , विकास का नाममा / हो छोरा छोरि हरु उच्च सिक्षा को लागि भनेर विदेश पढ्न पठायो कि त उतै बस्छन आइ हाले पनि ठुलो मुख र भोको पेट लिएर फर्कन्छन जति ठुलो गास दिए पनि नअगाउने हुन्छ/

    मेरो आफ्नो स्वभाब अलि नकारत्मक बढी छ / मान्छे आफु जस्तो छ तेस्तै भएर पनि होला सायद / कर्ण जी माथिका कुराहरु मैले तपाईं व्यक्ति बिसेस विचार लाइ लिएर कदापि भन्न खोजेको होइन एस्लाई अन्यथा नलिनु हुन अनुरोध गर्दछु/ तपाइंको प्रयास प्रति मेरो सदा सुभकामना रहिरहने छ/ मैले, तपाइंको यो लेख बाट समाजमा एक नया खाले बहस को सुभारम्भ हुनु पर्ने धेखेको छु ,कि कतै आधुनिक विकासका को भ्रम मा हामी बिनास तिर पो लागेका छौं कि ?

    हामीले गरेका काम हरु ले आउदो पुस्ता लाइ समस्या मा पर्ने पो हो कि / जुन खाले भोगी सिक्छा हामी सन्तति लाइ दिदै छौँ तेस्ले वाताबरनिया समस्या देखि लिएर सामाजिक रुपमा नै स्खलित हुदै जाने हो कि / किन कि अहिले को सिच्क्छा प्रणाली ले सेवाइलाल थारू, दिलसोभा श्रेष्ठ जस्ता त्यागि एबम सकारत्मक सोच भएकाहरु उत्पादन गर्दैन यसले त खोज को भोका हरु कसरि उमार्ने भन्ने मा केन्द्रित छ /

    Reply
  10. तेजप्रसाद अधिकारी says:
    September 10, 2012 at 12:48 am

    हृदय मात्र होइन अन्तरात्मा नै छुने लेख…. पछिल्ला दुइ वटै भाग पनि तारिफ गर्न शब्द नै भेटिन । कर्ण शाक्य ज्यु साच्ची नै मार्ग दर्शक हुनुहुन्छ । हरेक शब्द अर्थपूर्ण छन् । पढ्दा पढ्दै कहाँ हराए आफैलाई पत्तो भएन । अमुल्य बिचारहरुको संगालो यो/यी लेखहरु को तारिफ गर्न म जस्तो साधारण व्यक्ति संग औकात र योग्यता नै छैन । अहो भाग्य मेरो यी स्वर्णिम शब्दहरु मेरो मानसपटल म उतार्ने शौभाग्य प्राप्त भो । कर्ण शाक्य ज्यु सहित सालोक्य( उमेश श्रेष्ठ ) ज्यु प्रति पनि कृतज्ञता ब्यक्त गर्दै मेरो अतिनै मन छोएको यो चार हरफ….वाह, क्या बात….
    …..जन्म दिने आमाबाबुले जिन्दगीभर आशीर्वादको हात बढाउँछन्, सम्झौतामा हात बढाउने पालो सन्तानको हुन्छ। यो मानिस मात्रको जन्मसिद्ध कर्तव्य हो। आमाको दूध पचाउने र बाबुको गुण चपाउनेलाई पशुसमेत भन्न मिल्दैन। त्यो त मात्र बिच्छी हो। जन्माउनेको छाती सधैँ सागर हुन्छ, जहाँ सबै छोराछोरीका फोहोर थुपारिन्छन्। सन्तान पानीका बाफ हुन्, उनीहरू कसिँगर र फोहोर सागरमा थुपार्दै आफू बादल बनी आकाशमा उडिरहन्छन्। तसर्थ बादलरूपी सन्तानसँग सागररूपी आमाबाबुलाई गाली गर्ने अधिकार छैन।….

    Reply
  11. Shiva Raj Bhattarai says:
    September 9, 2012 at 10:36 pm

    मेरो देश को बिकाश का सम्भाबनाहरु प्रति नकारात्मक सोच बदल्न सहयोग पुराउने कर्ण शाक्य जी लाई मुरी मुरी धन्यवाद , विदेश गएका हरु उता पनि राम्ररी सफल नभएका र फर्कन पनि नसक्ने र बाबु आमा को अबस्थालाई बिर्सने भन्ने शब्दले साचिकै मनमा ज्वारभाटा निकाल्यो . लेख पड्दा पदै काममा जना ढिला भएकै हो खैर जेसुकै होस् यसले म मा सकारत्मक सोच लाएकै छ.

    Reply
  12. Shambhu grg says:
    September 9, 2012 at 9:04 pm

    Beautiful…so heart touchy….words…..oh i got tears on my eyes… thanx to karna shakya…..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme