Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँ शहर, अब नाइट बस चल्छ सरर…

Posted on August 16, 2012August 17, 2012 by Salokya

काठमाडौँ शहर नाममात्रको महानगरका रुपमा रहेको तपाईँ-हामी सबैले अनुभव गरेकै हो। वास्तवमा मेट्रोपोलिटन सिटी भन्ने शब्द नै आफैमा लाज मान्नुपर्ने स्थिति थियो काठमाडौँको अवस्था देख्दा। साँझ पर्न पाएको हुँदैन, सार्वजनिक सवारी साधनमा गुन्द्रुक खाँदिए झैँ मान्छे खाँदिनु पर्छ। रात परेपछि त गाडी नै चल्दैन। महँगो ट्याक्सी चढ्नु बाहेक अरु विकल्प हुँदैन आफ्नै सवारी साधन नभएकाहरुलाई।

पख्नुस्, त्यति धेरै निराश भइनहाल्नुस्, काठमाडौँको अवस्था भोलि भदौ १ गते शुक्रबारदेखि केही फरक हुँदैछ। ६ महिनादेखिको प्रयासपछि काठमाडौँ महानगरपालिकाको पहलमा यातायात व्यवसायीहरुले अब नाइट बस चलाउने भएका हुन्। कतै गएपछि गाडी राति अबेला हुन्छ र गाडी नपाइएला कि भनेर चिन्ता गर्नुपर्ने छैन। सार्वजनिक सवारी साधनको सबै जिम्मा निजी क्षेत्रलाई दिएर सरकार सर्वसाधारणको हित गर्ने कामबाट पन्छिएको भनी आलोचना भइरहेको बेला महानगरपालिकाको पहलमा नाइट बस चल्नु पक्कै पनि स्वागतयोग्य काम हो। कस्तो छ त नाइट बसको तयारी ? कहाँदेखि कहाँसम्म चल्छन् त नाइट बस? कहिलेसम्म चल्छ यो ? अनि के छ नाइट बस चलाउने यो अभियान पछाडिको वास्तविकता ? पढ्न भित्र आउनुस्।

रातभरी चल्ने हैन

नाइट बस भनिए पनि अहिलेलाई यो रातभर चल्ने सेवा भने हैन। अहिलेलाई यो रातिको ८ बजेदेखि ११ बजेसम्म अर्थात् ३ घण्टा मात्रै चल्छ। त्यसो भए पनि अँध्यारो हुने बित्तिकै सवारी साधन ग्यारेजमा थन्क्याइहाल्ने गाडी साहुहरुको प्रवृत्तिका कारण सर्वसाधारणले पाइरहेको दुःखमा यसले पक्कै राहत दिन्छ। संगठित रुपमा राति ११ बजेसम्म गाडी चलाउन गरिएको यो पहिलो प्रयास हो। यसको सफलताले भविष्यमा रातभर गाडी चल्ने अवस्था सिर्जना हुन्छ भनेर आशावादी हुन सकिन्छ।

यति चलाउन पनि निकै पापड बेल्नु परेको प्रष्ट हुन्छ। सुरुमा यो सेवा गत वर्षको फागुनदेखि नै सुरु हुने भन्ने कुरा आएको थियो। पछि वैशाख १ नयाँ वर्षदेखि सुरु हुने भनियो। त्यसपछि असार, साउन हुँदै भदौ १ को मिति तोकिएको हो। भदौ १ देखि पनि सुरु होला कि नहोला भन्ने अन्यौलबीच आज महानगरपालिकाले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको थियो। मेरो चासोको विषय हुनाले र साँच्चै चल्ला र भन्ने शंका भएकोले कस्तो रहेछ तयारी बुझ्न आज पत्रकार सम्मेलनमै सहभागी भएको थिएँ।

कस्तो छ तयारी ?

तीन घण्टे नाइट बस सञ्चालनका लागि १४ वटा बसको व्यवस्था गरिएको छ। सबै बस विभिन्न यातायात समितिका हुन्। वास्तवमा यो सेवा सुरु हुन ढिलाइ हुनुको कारण यो पनि एक हो। यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका धर्मराज रिमालका अनुसार बाग्मती अञ्चल भरी १०३ वटा यातायात समिति रहेका छन्। उनीहरुको सिन्डिकेट कस्तो छ, त्यो त तपाईँहरुलाई सुनाउनै पर्दैन। रिमालका अनुसार सबै यातायात समितिसित समन्वय गर्दा समय लागेको हो।

राति चल्ने १४ वटा बस दिउँसो प्रयोग हुने छैनन्। यी बसमा तल्लो पट्टी छुट्टै प्याजी रङ्ग लगाइएको छ। त्यसैगरी बसमा टाढैबाट देखिने गरी रात्रि सेवा लेखिएको बत्ती बल्ने डिस्प्ले पनि राखिएको हुनेछ। महासंघका कोषाध्यक्ष सरोज सिटौलाले पत्रकार सम्मेलनमा केही गाडीमा कमी कमजोरी हुनसक्छ भनेर केही गाडी थोत्रो हुनसक्ने संकेत पहिले नै दिइसके। तर यो ऐतिहासिक सुरुवात भएको र बिस्तारै सुधार गर्दै जाने उनले बताए।

हतियारसहित दुई सुरक्षाकर्मी बस्ने

राति चल्ने १४ वटै बसमा हतियार र सञ्चार सेटसहित दुई प्रहरी राखिनेछ। व्यवसायीहरुले सुरक्षाको प्रश्न उठाएपछि महानगरीय प्रहरीले प्रत्येक बसमा दुई जना सुरक्षाकर्मी राख्ने भएको हो। त्यसैगरी आवश्यक परे गाडीलाई एस्कर्टिङसमेत गरिनेछ। आयुक्त कार्यालयका एसपी विकास श्रेष्ठले बसमा मात्र नभई यात्रुले बस चढ्ने बिसौनीमा समेत स्थानीय प्रहरी परिचालन गर्ने बताए। रात्रि बसका लागि विशेष सुरक्षा रणनीति अपनाएको जिकिर गर्दै उनले निर्धक्क भई बस चढ्न सबैलाई आग्रह गरे।

सुरक्षाका लागि बसमा सीसीटीभीको समेत व्यवस्था गरिएको छ। सीसीटीभीले कसैले गैरकानुनी काम गरेर भागे पनि त्यसको रेकर्ड राख्‍ने भएकोले अपराध निरुत्साहित हुने दावी उनको दावी थियो। सीसीटीभी ड्राइभर बस्ने सिटको माथिल्लो पट्टी राखिएको हुनेछ।

महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले बसका चालक, कन्डक्टरलाई ज्याकेटको व्यवस्था गरिएको र यात्रुहरुप्रति मर्यादित रुपमा प्रस्तुत हुन तालिम दिइएको बताए। यात्रुहरुबाट पनि त्यस्तै अपेक्षा गरिएको उनले बताए।

कहाँ-कहाँबाट चल्छ त बस ?

बस चलाउनका लागि दुई वटा स्थान निर्धारण गरिएको छ। चार वटा बसले रिङरोड परिक्रमा गर्नेछ। १० वटा बसले भने काठमाडौँको भित्री सहरी रुटको यात्रा गर्नेछ।

कलंकी स्टेसनबाट ठीक ८ बजे दुई वटा बस एउटा उत्तरतर्फ र एउटा दक्षिणतर्फ लाग्नेछ। त्यसैगरी कोटेश्वर स्टेसनबाट पनि दुई वटा बस एउटा उत्तरतर्फ र एउटा दक्षिणतर्फ लाग्नेछ

१. . चक्रपथ परिक्रमा (४ वटा बस)
क) कलंकीबाट नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, सातदोबाटो हुँदै कलंकीसम्म
ख) कलंकीबाट सातदोबाटो, कोटेश्वर, चाबहिल, नयाँ बसपार्क हुँदै कलंकीसम्म
ग) कोटेश्वरबाट चाबहिल, नयाँ बसपार्क, कलंकी, सातदोबाटो हुँदै कोटेश्वरसम्म
घ) कोटेश्वरबाट सातदोबाटो, कलंकी, नयाँ बसपार्क, चाबहिल हुँदै कोटेश्वरसम्म

यो त भयो रिङरोड राउन्ड लगाउने बस। अर्को भित्री सहरी रुटमा १० बस चल्दैछन्। ती बसको केन्द्रीय स्टेसन रत्नपार्कको वीर अस्पताल अगाडि कायम गरिएको छ। त्यसको रुट यस्तो छ-

२. भित्री सहरी रुट (वीर अस्पताल अगाडिबाट)
क) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट शहिदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन, कलंकी आवत जावत- २ वटा बस
ख) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट जमल, केशरमहल, लाजिम्पाट, महाराजगञ्ज हुँदै गंगालाल ह्रदय केन्द्र आवतजावत-२ वटा बस
ग) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट भृकुटीमण्डप, कृष्ण पाउरोटी, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, गौशाला, चाबहिल हुँदै जोरपाटी आवत जावत- २ वटा बस
घ) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट सिंहदरबार, बबरमहल, तीनकुने, सिनामंगल भई तीनकुने हुँदै कोटेश्वर आवतजावत- २ वटा बस
ङ) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, पाटन अस्पताल हुँदै सातदोबाटो रुटमा आवतजावत- २ वटा

यो रुटमा राति ठीक आठ बजे एउटा बस सुरुको स्टप अर्थात् रत्‍नपार्क गुड्नेछ भने अर्को बस अन्तिमको स्टपबाट रत्‍नपार्कतिर आउनेछ। जस्तै माथिको क रुटको उदाहरण लिँदा आठ बजे एउटा बस रत्‍नपार्कबाट कलंकीतिर जानेछ भने अर्को बस कलंकीबाट रत्‍नपार्कतिर आउनेछ।

महानगर प्रमुख अधिकारीले बस बिसौनीहरुमा सोलार पावरको बत्ती राख्‍ने, निश्चित समयमा गाडी गुड्ने र कुन स्टेसन वा स्टपमा कति बजे बस ठ्याक्क आइपुग्नेछ भन्ने बारे चाँडै यात्रुहरुलाई सूचना प्रवाह गर्ने जानकारी दिए।

कसले चढ्ला बस ?

महानगर भने पनि काठमाडौँमा नाइट लाइफ खासै छैन। पसलहरु राति अबेरसम्म खुल्दैनन्। प्रहरीले नै खोल्न दिँदैनन्। त्यसो भए नाइट बस कसले चढ्छन् त ? धेरैले चढ्दैनन्, यो प्रष्ट कुरा हो। धेरैले चढ्ने र नाफा हुने भएको भए गाडी साहुहरुलाई कसैले चलाउ भनेर भन्नै पर्दैन थियो नि। यो व्यवसाय भन्दा पनि सेवाभाव बढी हुने काम हो। संभावित ग्राहक नाइट सिफ्टमा काम गर्नेहरु हुन सक्छन्। जस्तो मलाई पनि राति घर फर्कनु पर्दा सबै स्टाफको घर घर चहारेर आफ्नो घर पुग्न घण्टौँ लगाउने अफिसको गाडीको विकल्प कि पैदल यात्रा कि महँगो भाडाको ट्याक्सी मात्रै हुन्थ्यो। अब यो नाइट बस हुने भयो।

त्यसैगरी बैँक लगायत अन्य अफिसहरु पनि अहिले त राति ७ बजेसम्म चल्ने गरेको छ। सानातिना पसल र व्यवसायहरु राति ९ बजेसम्म चल्छन्। महानगरपालिकाका अनुसार राति १० बजेसम्म खुल्ने रेस्टुरेन्टहरुको संख्या हजार वटा जति छन्। ठमेलमा राति १२ बजेसम्म चल्ने व्यवसायहरुको संख्या २०० छ। रातभर चल्ने होटलसँग सम्बन्धित अन्य सेवा प्रदायक संस्थाहरुको संख्या ५ सय रहेको छ।

अब राति बस चल्ने भएपछि त्यही अनुसार नाइट लाइफलाई पनि प्रोत्साहन दिने काम सँगसँगै हुनुपर्‍यो। नत्र काठमाडौँ महानगरपालिकाको यहाँको जीवन शैलीलाई २४ सै घण्टा चलायमान बनाउने र राजधानी सहरलाई अन्तर्राष्ट्रिय स्तरको २४ सै घण्टा जागा शहरको रुपमा विकास गर्ने क्रमको पूर्वाधारको जग कहिल्यै बस्दैन।

दिनमा अफिस, स्कूल वा कलेज जानुपर्नेहरुले सपिङ गर्न, रेस्टुरेन्टमा जान वा सिनेमा हेर्न सपिङ मल, मल्टिप्लेक्सहरुको ढोका कम्तिमा अब १० बजेसम्म खुल्ला गर्नुपर्‍यो।

४५ लाखको खेल

तपाईँहरु अलि अचम्ममा पर्नुभयो कि के हो- हैन, यी सिन्डिकेटवाला गाडी साहुहरु कहाँबाट रातबिरात यात्रुहरुको सेवा गर्ने मनस्थितिमा रातारात पुगे भनेर? यहाँ भित्री कुरो र खेल अर्कै छ। गाडीवालाहरु त मानेकै थिएनन्। यो त महानगरपालिकाको विशेष पहलमा र एक किसिमले भन्ने हो भने महानगरपालिकाले नै सञ्चालन गर्न लगाएको सेवा हो। राति ३ घण्टा गाडी गुडाउन महानगरपालिकाले यातायात व्यवसायीहरुलाई तीन महिनाका लागि ४५ लाख रुपियाँ अनुदान दिएको छ। यसमा २० लाख रुपियाँ भुक्तान भइसक्यो भने २५ लाख रुपियाँ दिन बाँकी छ। खासमा सम्झौता छ महिनासम्मका लागि हो। परीक्षणका लागि छ महिना रात्रि बस चलाउने र त्यसको खर्च तीन महिना महानगरपालिकाले व्यहोर्ने र तीन महिना व्यवसायीले व्यहोर्ने सहमति भएको हो। त्यसैले छ महिनासम्म दिउँसोकै भाडा दरमा बस सञ्चालन गर्नुपर्नेछ।

दुई अर्बको बजेट चलाउने महानगरपालिकाले महानगरवासीबाट उठाउने अर्बौँको करवापत् राति अनुदानै दिएर भए पनि यस्तो सेवा सञ्चालनका लागि पहल गर्नु स्वागतयोग्य कदम हो। करदाताहरुप्रति राज्यको दायित्व पनि हो यो। बलियो स्थानीय निकाय भइदिएको भए त सबै यातायात समितिहरुलाई एउटा बस राति पनि चलाऊ नभए रुट परमिट खारेज गरिदिन्छु भनेर भन्न सक्ने स्थिति पनि हुन्थ्यो होला। तर सिन्डिकेटको दादागिरीको बीचमा फकाएर पनि यति काम लिन सक्नु ठूलो कुरा हो। बस, पैसा पचाएर सेवा नदिने वा सेवा अलपत्र पार्ने काम हुनुभएन।

तीन महिना वा छ महिनापछि व्यवसायीहरुले कुनै पनि बहानामा यो सेवा रोक्न खोजे भने महानगरपालिका कडा रुपमा उत्रनु पर्छ। त्यस्तो अवस्थामा महानगरपालिका आफैले बस खरिद गरी वा भाडामा लिई सेवा सञ्चालन गर्नुपर्ने स्थितिका लागि पनि मानसिक रुपले तयार हुनुपर्छ। बिस्तारै नाइट बसबाट दिउँसो पनि सर्वसुलभ तरिकाले सेवा दिने बस चलाउन महानगरपालिका पछि हट्नु हुन्न। यो कर लिएवापत् महानगरपालिकाले महानगरवासीहरुलाई गर्नुपर्ने कर्तव्य पनि हो। सेवा दिने मामिलामा महानगरपालिका देशकै उदाहरण बनोस्, शुभकामना!

[पाठकहरु, तपाईँहरु पनि आफू बसेको देशमा रहेको सहरी नाइट बसको सुविधा, यसको सञ्चालन, भाडा दर बारे यहाँ आफ्नो अनुभव सुनाउन सक्नुहुन्छ। अथवा महानगरपालिकालाई यस विषयमा सुझाव दिन सक्नुहुन्छ। तलको कमेन्ट बक्स तपाईँको प्रतिक्रियाका लागि खुला छ]

58 thoughts on “काठमाडौँ शहर, अब नाइट बस चल्छ सरर…”

  1. Pingback: हेल्मेट बोकेर बसमा रिङरोड परिक्रमा « Mysansar
  2. khem says:
    August 18, 2012 at 3:17 pm

    म मस्को मा पछिल्लो २२ वर्ष देखि छु , सुरु का दिनहरु (१९९०/१९९१) मा कमिनिस्ट को पतन ताका राती यातायात को केहि असुविधा हरु थिए, तर पनि यहाँ को मेट्रो बिहान ४ बजे बाट राती १:३० सम्म चलिनै रह्यो , तर अहिले भने बस सेवाहरु २४ सै घण्टा उपलब्ध छन , मेट्रो भने राती १:३० सम्म मात्रै चल्छ ! यहाँ मानिसहरु २४ सै घण्टा तेतिनै व्यस्त हुन्छन ,राती र दिउसो मा यातायात को भाडा मा कुनै फरक छैन सबै यातायात को सुबिधा यहाँ को नगरपालिका ले गरेको छ ,तर पनि रसियनहरु बढी रक्सि पिउने र हल्ला गर्ने भएकाले यहाँ बस्ने बिदेसिहरु राती मस्कोको यात्रा गर्न कमै रुचाउछन् !!!!!

    Reply
  3. Nar Bahadur Tandan/ canada says:
    August 18, 2012 at 5:55 am

    आदरणीय साथिहरु
    राम्रोकामको सर्हाना गरनुपर्छा कमसे कम केहिता देखियो यो सुरुवात धेरै राम्रोहो चाहे जो सुकैले गरोस सुरुवात को सुभकामना दिनु पर्छ अब रातभरी संचालन गर्नुपर्यो अनि नया नया काम को सिर्जना गरि सबैलाई काम को बेवस्ता गरिनु पर्यो अनि चोर नेता को पछाडी हिड्नु भन्दा आफ्नो काम मा लगनसिलता मा लगियो भने चोर नेता को भरपर्नु पर्ने छैन / सबै युवा मित्रहरुलाई काम को बेवस्ता भए कातिराम्रो हुने थियो के गर्ने भएको पनि बन्द छन्

    गल्ति भए माफ गरिदिनु है
    नर बहादुर तन्दन
    हलवार गाउ विकास समिती ओडा ७
    लामिदमार, डाँग

    Reply
  4. Pingback: यस्तो रह्यो नाइट बसको पहिलो यात्रा « Mysansar
  5. Resham says:
    August 17, 2012 at 11:30 pm

    होइन सरकारले नै गाडी किनेर रात्री बस सेवा संचालन गरे पो हुन्छ / यातायात बेबसयिलाई पैसा दियर बस चलाउन त लगायो? भोलि यिनीहरुले अरु भिविन्ना माग राखेर बन्द हड्ताल गरेर जनतालाई दुख नदेलान भन्ने के छ र? तेही माथि त यिनीहरुको सिन्डिकेट ले गर्दा यात्रुले सकस भोगेकै छन् /

    Reply
  6. मन says:
    August 17, 2012 at 9:25 pm

    कन्डक्टर र सन्चालकहरुले चोरेर खाने बाटो पहिले बाटै बन्द गरिदिन पर्छ|
    तर यति हुँदा पनि बाटो निलाकर चोरी खानेलाई यात्रुहरुले पनि निगरानी
    राखेर कारवाही गरिन तिर ध्यान दिए कसो होला?
    एउटा उदाहरण:
    पाकिस्तानको राजधानी इस्लामाबाद देखि लाहोर सम्मको करिब ४०० कि. मि.
    को एक्सप्रेस वे मा कोरियन कम्पनीले बस संचालन गरेर जनतालाई सेवा, सुबिधा र राहत उपलब्धी गराएको छ| कामदारीहरु सबै स्थानीय नै छन्, खालि व्यवस्थापन मात्र कोरियन कम्पनीको हो, एक दुई व्यवस्थापनका कोरियन कर्मचारी बाहेक|

    सरकारले सुरक्षाको व्यवस्था गर्यो भने मल्टी नेशनल कम्पनीहरु वा एनजीओहरु ले पनि संचालन गर्न सक्छन| अथवा पुर्ब प्रहरी वा पुर्ब सैनिक संगठनहरुलाई चलाउन दिए हुन्छ| शुरुमा बिदेशी व्यस्थापन राखेर भए पनि पछीलाई स्थानीय हस्तान्तरण गर्ने गरेर चलाए रार्मो हुने थियो|
    सरकारी स्तरमा नेपालीले ब्यस्व्स्थापन, सफाई र अनुशासन संग संचालन गर्न नसक्ने भन्ने एयरपोर्टको अनुभव र भोगाईबाट सिद्ध भैसकेको छ| चोरेर खान पल्केकाहरुले आज नभए पनि भोलि कम्पनी खत्तम पार्छन| काम नपाएको का.म.न.पा., माल पाएर चाल नपाएको मालपोत, आफ्नो भान्सा मात्र तयार गर्ने भन्सार, आधा भन्दा बढी गुमिसकेको अध्यागमन, लेब्राउने गरेर नापेको नापी बिभाग र करको रहर ले सिर्जेको कर बिभाग अनि एयरपोर्ट सबै उस्तै उस्तै हुन्| जति भने नी सुध्रिने सम्भावना छैन| हावा सेवा निगम पनि त्यही द्यांगको मुला हो|
    तीन महिना पछी फेरी बस सेवाको मुल्यांकन गरौ| किन हो भरोसा गर्ने गाह्रो छ|

    Reply
  7. Limbu nYn (Brunei) says:
    August 17, 2012 at 8:27 pm

    धेरै ढिलो भए पनि शुरु गर्ने लागेको मेट्रोपोलिटन सिटि भनाउदो नयाँ खबरले जानी नजानी परिबर्तन चै ल्याएको लाग्यो/ ३ घण्टाको लागि व्यक्तिगत संस्थाहरुले, नगरपालिकाले सेकुरिटी स्वरूप राखेको निश्चित नियम, गार्ड, नोटिस बोर्ड, टाईम टेबल निक्कै सर्हानिय छन् / सके त २४ घण्टा नै खोलिने औषदी-खुद्रा पसल, केहि रेस्टुरेन्टहरु, पब्लिक प्लेस भए दिउसोको ब्यस्त अफिस, काम, धुलो, सडक, पढाई, जागिर, घाम आदिलाई केहि सहयोग मिल्थ्यो/ अनि पो सिटी! सरकारले एउटा (राजधानी)लाई मात्रै भए पनि अहिले व्यापार गर्न र सर्बसाधारण सेवा-सुबिधा दिन अबको थालनी कन्टिन्यु गरे निम्न स्तरकालाई बिशेसत फाइदा नै हुनेछ, होइन र ???

    Reply
  8. binod says:
    August 17, 2012 at 8:23 pm

    महानगर पालिकाले २०/२५ करोड रुपैया खर्च गरेर ४०/५० वटा सुबिधा युक्त बस किनी रात्री सेवा थाल्ने हो भने उत्तम होला !!! भविष्यमा सबै सार्बजनिक सवारी सेवालाई सरकारीकरण गर्ने हो भने मात्र देश उभो लाग्ला !!!!!!!!!

    Reply
    1. गगने says:
      August 18, 2012 at 3:54 am

      कुरा त हो तर,
      एउटा शशक्त पद्दतिय स्थिर र स्थाई शाशन शैली अनि बिबेकशील राजनीतिक र कार्यकर्ता नहुन्जेल सम्म यस कुरालाई यत्तिकै सोचैमाइ थाति राख्दा हुन्छ!
      करोडौ खर्चेर महानगरपालिकाले वा सरकारले यस्ता बस चलायो भने बक्सिंग र तेक्वान्दो को किट ब्याग भन्दा पनि बेजोग हुने कुरा निश्चित छ!
      बाबुराम संगको रिस डाह औडाह छटपटी पनि तेही बस हुनेछ, ओली प्रम हुन नपायको झोक पनि तेही बस! खुम बादुर र गोबिन्देको भ्रस्टाचार सजाय र जरिवानाको भागेदार पनि तेही बस हुनेछ! शेर बादुर र शुशिलाको को प्रम बन्ने भन्ने पौठे जोरी पनि तेही बस हुनेछ! बैद्यको प्रमा अबन्ने तुनाको गाठो पनि तेही बस हुने छ ज्ञानेन्द्रको पश्चिमकाली पुजा गर्न नपाको झोक पनि तेही बसमा उत्रिने छ!
      छोरी पोइल भागेपानी तेही बसलाई मार स्वास्नीले कुखुराको माशुमा नुन बढी हालेर खाना नसके पनि तेही बस!
      अब आफै बिचार गर्नुस तेसरी बस चलायमा त्यो बसको हालात के होला त्!

      Reply
  9. Jitman Rai 'Sabin' says:
    August 17, 2012 at 8:20 pm

    म मलेसियाको पेनांग राज्यमा बिगत ६ वर्ष देखि कार्यरत छु । यो यहाको एउटा क्षेत्रीय प्रान्त हो । यहाँ हरेक दिन बिहान ५ बजेबाट साँझ ११ बजे सम्म नियमित बस सेवा उपलब्ध छ । यहाँ सरकारले नै बस सेवा संचालन गरेकोले यात्रुहरुले कुनै किसिमको समस्या भोग्नु पर्दैन । अपांग र असक्तहरुको लागि बेग्लै कार्डको व्यवस्था गरेको छ । हरेक यात्रुहरुले तोकिएको भाडा दर तिर्नु पर्छ, जस्तो आर.एम. २ हो भने त्यति नै दिनु पर्छ, ठुलो पैसा दिएमा फिर्ता हुदैन किनकि सबै यात्रुले भाडा बापतको पैसा एउटा प्वालमा छिराउने हो…त्यो खोल्ने अधिकार चालकलाई हुन्न । यहाँ एकजना चालक मात्रै हुन्छ, कहिले कहिँ छड्केमा चेक हुन्छ, चालकले पैसा लिएर टिकेट दिएन कि भनेर । सानो सानो बाटोहरुमा पनि यो बस कुदिरहेको हुन्छ, गाउको कुना कुनामा पनि यो बस सेवा पुगेको छ । चाह्यो भने र गर्यो भने नेपालमा पनि यो सम्भव हुने देख्छु..मात्रै यसको लागि देशको जिम्मेवार तहमा बसेका मान्छेहरुले सकारात्मक सोच र आट गर्न सक्नुपर्यो…।

    Reply
  10. Sheela says:
    August 17, 2012 at 8:06 pm

    सालोक्य जी:
    सार्वजनिक सवारी साधनको सबै जिम्मा निजी क्षेत्रलाई दिएर सरकार सर्वसाधारणको हित गर्ने कामबाट पन्छिएको करिब २ दसक भैसकेको यो दर्दनाक बेलामा यस्तो ‘जन-भलो’ हुने काम कसरी सुरु भाको होला…!!!! कांग्रेस-एमाले र राजाको बिगतको लूटतन्त्रलाई समेत बिर्साउने प्रचण्ड-बाबुरामको आजकों स्थितिमा यो त झन् असम्भब…

    यो ४५ न्लाख को खेल मात्र होइन, अझ रहस्य अर्कै छ/

    * काठमाडौँ उपत्यका का केहि इलीट resturant का मालिकहरुले बुनेको जालो हो यो/ मा.प.से. ले गर्दा रक्सि पिलाउने रेस्टुरेन्ट हरुको मिलोमतो मा नगरपालिकाको पैसामा यो खतरनाक काम हुन लाग्या छ/
    * ११ बजे सम्म मात्र संचालन गर्नु को कारण पनि यहो हो, अब तेहरो-चउरो मालामाल —१) भट्टी र दोहोरी साँझ चल्ने, २) बस संचालान बाट मनग्गे आम्दानी हुने, ३) यो सब काममा नगरपालिकाले लगानी गरिदिने (बिना लगानी फाइदा), र ४) सर्वसाधारणको हित गरेको ‘जस’ पनि मिल्ने …
    वाहा क्या काइदा… यसमा अरु क-कसको मिलोमतो होला, अनुसन्धान को बिसय…!

    Reply
    1. गगने says:
      August 18, 2012 at 4:04 am

      यतिसारो नकारात्मक पनि नहुनुनै उत्तम होला!
      आखिर जसरि सुरु भयपनी एउटा राम्रो कामको सुरु भयको छ!
      परिक्षण कालमा अब राती भरि दशैँ घण्टा चलाउने कुरापनि त भयानानी, तेस्को उपयोगिता, प्रयोजन आबस्यकता र तेस्ले पुर्याउने सेवा र तेसबात कति व्यक्तिले कतिको कसरि लाभ गर्छ भन्ने कुरा पनि त बुझ्नूपर्योनि!
      बिस्तारै प्रयोग बढ्दै जान्छ अनि माग बढ्दै जान्छ सेवा बढाउला!
      रक्सीले मात्तिने हरुत भन्नेनै हो भने एघार बजे पछिनै बढी होलानी!
      तेसरी राति आधारात सम्म रक्सीले मातिने हरु र सक्नेहरुलाई के मापासे तेस्ता एलियत हरु ट्याक्सी समातेर वा आफ्नै गाडीको ड्राइभर राखेर भनेपनि आफ्नो काम पुरा गर्छन तिनीहरु के रात्र बस चद्लान र!
      केहि हुने गर्ने छाताकात आयोकी गर्न खोज्यो कि यस्ता बेतुकको कुरा खोजि खोजि उछित्तो काड्नु पर्ने क्या हामीलाई!
      केहि हुनलागेको कुराहरुको समर्थन गरौ नभय आलोचनात्मक समर्थन वा रचनात्मक बिरोध गरौ !

      Reply
  11. Pradeep says:
    August 17, 2012 at 6:20 pm

    खोइ मलाई त यो कार्य दिगो होला जस्तो लाग्दैन किन कि मैले नगरपालिका अनि यातायात ब्यबशाही दुवै को क्रिया कालाप भोगेको छु ! एउटा भ्रस्टाचार को अखडा हो भने अर्को पैसा कमौन मानिस को ज्यान को प्रबाह नगर्नेहरु को अखडा हो ! के यिनीहरु ले पुण्य कमाउने काम गर्न लागेका हुनत ?

    Reply
  12. Bala Ram Thapa says:
    August 17, 2012 at 6:02 pm

    रात्री बस सेवा स्वागत योग्य कदम हो | महानगर पालिका र सरकारको समेत सहभागिता मा यो सेवा महानगर क्षेत्र भित्र सर्ब सुलब भाडा दरमा रात्री तथा दिवा सेवा संचालन हुन सक्दा सुनमा सुगन्ध हुने थियो | जनता बाट नगरपालीका ले उठाएको कर जनताकै निम्ति खर्च गर्ने परिपाटी ले जनता हर्ष साथ कर तिर्न अरु बढी उत्साहित हुने थिए |
    अहिले रारती बस सेवा को निम्ति बस ब्यबसाही संग सहयोग मागी परिक्षण को रुपमा छ महिना को लागि रात्री सेवा संचालन गर्न लागेको बुझिन्छ र तिन महिना को लागि मात्र १४ वोटा बस चलाउन महानगर पालिका ले ४५ लाख रुपया ब्यबसाही लाइ दिनु पर्ने छ जस मध्ये २० लाख अग्रिम भुक्तानी दीइ सकेको र २५ लाख दिनै बाँकि छ |
    महानगरपालिका ले यसरि दिएको अनुदान बाट ब्यब्साही हरु लाइ मुनाफा हुन छोडेको दिन बाट रात्री सेवा बन्द हुने हो कि ? त्यस्तो अवस्था आउन नदिन महानगरपालिका ज्यादै सचेत हुन आब्सेक देखिन्छ | किन भने हाल दिवा सेवा बस संचालन गर्ने बस ब्यब्सहिहरुको निर्णय र हस्ताक्षेर का आधारमा निउनतम बस भाडा कति हो ? र प्रति किलोमिटर कतिले बढ्दै जाने हो सेवा ग्रहिले जान्नु नितान्त आब्सेक छ र सोहि अनुसार भाडा दिन पाए सेवा ग्राही सन्तुस्टी हुने थिए | यहात जसले जति पायो जति सक्यो उति भाडा उठाउने गरेको कुरा म मात्र होइन धेरै यात्रु बाट गुनासो हुनेगरेको कुरा कसै बाट छिपेको छैन होला !
    यदि प्रतेक बस स्टप कति कति किमी म़ा छ सोकुरा उल्लेख भए देखि निउनतम र अधिकतम तिर्नुपर्ने भाडा दर यात्रुले थाहापाई भाडा तिर्न पाई सन्तुस्टी हुने थिए | तेस्तो दिन कहिले आउने हो ? यस तर्फ महानगरपालिका तथा सरकारको ध्यान जाओस |

    Reply
  13. om says:
    August 17, 2012 at 4:32 pm

    It is a good start, however , rateher than keeping two armed force can we have securities in civil dress so passengers will have no stress in travelling.

    Reply
  14. dhan says:
    August 17, 2012 at 2:23 pm

    मो ता डार्विन तिरा छु कि तोरा पहिले सिड्नी हुदा weekend मा कहिले कहिँ city तिरा गायु भोने फर्किदा खेरि खैरे हरु बसै भरि झ्याप भएरा हल्लेको खुब याद आउचा. जे होस् बस् सुबिधा चै राती भरि भएरा सजिलो थियो किनकि जाड खायेरा गाडी हाक्नु भोंदा सार्बजनिक यातायात प्रयोग गरिकु राम्रो कि कासो हाउ?

    Reply
  15. Prakash Rayamajhi , boston USA says:
    August 17, 2012 at 1:47 pm

    कामनपा ले रात्री बस सुरु गर्न लागेको मा सार्है खुसि लाग्यो र त्यो महानगरपालिका को आधारभूत आवस्यकता पनि हो जस्तो लाग्छ , मा बसेको USA को Massachussets राज्य को बोस्टन शहर मा पनि लगभग रातभरी जस्तो नै रात्री सेवा चल्छ , मेट्रो र night बस . यहा पनि मासिक वा साप्ताहिक पास बनाउन पनि मिल्छ र ट्रेन मै पैसा तिर्न पनि मिल्छ तर पास मा थोरै पैसा लाग्छ भने ट्रेन मा चाहि धेरै तिर्नु पर्छ अनि पास प्रयोग गर्दा सार्है सहुलियत पर्न जान्छ र एक पटक पास प्रयोग गरेपछि २ घण्टा सम्म त्यसैले काम गर्छा फेरी फेरी तिरी रहनु पर्दैन र बस मा प्रयोग गरेर मेट्रो ट्रेन पनि चढ्न मिल्छ भने मेट्रो ट्रेनमा प्रयोग गरेर बस मा पनि चढ्न मिल्छ , दिउसो को बस राति को २:३० बजे सम्म चल्छ भने बिहान ३: ३० बजे बाट बिहान दिउसो को बस सुरु हुन्छ , बस मा बुढा बुढी , केटा केटि र असक्त हरु को लागि प्राथमिकता दिईन्छ , बस आउने जाने र रोक्ने समय को तालिका पनि बस मै उपलब्ध हुन्छ र यात्रुहरुलाइ फ्री मा वितरण गरिन्छ, बस मा यात्रुहरुलाई चढ्न सजिलो को लागि अग्लो होचो बनाएर फूटपाथ को लेवल मा बराबर पनि गरिदिन्छन द्रैवर हरुले तर बस मा cctv राखेको भने देखिएन तर जे होस् प्राय सबै बस स्टप हरु मा cctv जडान भैराखेको हुन्छ तेसैले तेती डराउनु पर्दैन . साथै नेपाल को अरु सहरहरुमा पनि येस्तई हिसाबले रात्री मा पनि नगर बस चलोस् भन्ने सुभकामना को साथ मा नेपाली दाजु भाई हरुलाई बधाई छ

    Reply
  16. Kul Raj Neupane says:
    August 17, 2012 at 11:38 am

    CCTV राखेको राम्रो कुरा हो तर मेरो प्रश्न एउटा मात्रै के भने नि तो CCTV को backup कतै हुन्छ कि हुन्न?? किन भने मैले देखे अनुसार त त्यो भ्याकुम suction सहित सबै उठाएर लागे त कसै को केहि लागेन नि?? त्यो चिज मा इन्भेस्ट गरिसकेपछि कम से कम हार्ड-drive र क्यामेरा छुट्टै unit वाला पो ल्याउनु पर्छ त??? कि कसो??

    Reply
    1. pradip nepali says:
      August 17, 2012 at 6:46 pm

      पहिला त मैले पनि येही सोच्दै थिए तर हतियारसहित दुई सुरक्षाकर्मी बस्ने भए पछि के को चिन्ता? यी दुइ सुरक्षाकर्मी लाइ ढाल्न सक्ने ठुलै डाका हरु आए भने त्यो cctv को त के कुरा, पुरै बस नै उडाएर लान्छ होइन र ?

      Reply
  17. मदन says:
    August 17, 2012 at 11:16 am

    सिण्डिकेटका नाममा सार्वजनिक यातायात सञ्चालन गर्ने जनतामारा साहुजीहरुलाई त फाइदै हुनेछ तर जसका नाममा र जसले तिरेको तिरोबाट रात्रीसेवा सञ्चालन गरिँदैछ उनीहरुले केही फाइदा पाउने छैनन् । किनभने साना तथा थोत्रा गाडीमा कोचामकोच यात्रा अनि यात्रुलाई भेडाबाख्रा सम्झने सवारी चालक र खलासीबाट हुने दुर्व्यवहारको शिकार यी रात्रीबसमा नि पक्कैहुनुपर्नेछ । साझा यातायात चलाउने भनेर तीनवर्ष अघिदेखि गुड्डी हाँक्ने कनक दिक्षितहरु पिन कता हराए कुन्नी ? जनताको सेवालाई मुलमन्त्र नमानुञ्जेल सेवा दिएका छौँ भने जतिसुकै गफ दिएपिन केही हुनेवाला छैन ।

    Reply
  18. Sabina says:
    August 17, 2012 at 10:50 am

    एकदम नै सर्हनिये काम गरेको छ महानगरपालिकाले ..अब बिस्तारै बिस्तारै २४ *७ को सेवा प्रधान गर्नु पर्छ /

    Reply
  19. सुमित says:
    August 17, 2012 at 10:46 am

    अचम्म छ !!!! रात्रि ब्यबशाय को मुख्य हिस्सा ठमेल ले ओगट्छ तर ठमेल /सोरखुट्टे तिर बस चल्ने रुट नै पर्दैन ! ठमेल तिर ट्याक्सी ब्यबशायी ले बिरोध गरे कि के हो ?

    Reply
  20. Pramod says:
    August 17, 2012 at 10:36 am

    यो आत्यंत राम्रो कदम हो,
    यस को सुरुवात को पछाडी जे जस्ता नराम्रा चलखेल भएपनि राम्रो काम को निरन्तरता र नराम्रा काम को आन्त्य एकदिन हुनेछ .

    Reply
  21. dipak shrestha says:
    August 17, 2012 at 9:36 am

    घाटा नाफा को हिसाब किताब भन्दा पनि महानगरपालिका ले ढीलाई भय पनि महानगार्बासी प्रति आफ्नो दायित्त्व सम्झेर यातायात सेवा सुचारु गर्न खोजेको छ जसको लागि धन्न्यबाद दिनै पर्दछ साथै यो सेवाले निरन्तरता पाओस भनि सुभकामना बेक्त गर्दछु |

    Reply
  22. मणि says:
    August 17, 2012 at 9:30 am

    एकदम स्वागतयोग्य कुरा हो |
    महानगरपालिका भएपनि भौतिक सुबिधा चाई काठमाडौँमा खासै छैन, लाजै लाग्ने| अब यति पनि हुन् थालेकोमा खुशीनै हुनुपर्छ|

    एउटा कुरो – हथियार सहित सुरक्ष्याकर्मी बस्ने भन्दा कस्तो कस्तो लाग्यो, हामी कति असुरक्षित् छौ त? अनि यति गर्न नि साहुहरुको खुट्टा मोल्नु पर्ने? अब ६ महिना लोकप्रिय भयो भने गाडी भाडा ४ गुणा हुन बेर छैन, कारण – अनुदान सकियो, रातिको बेला, के गर्नु तेलको भाउ बढ्या बढ्यै छ अनि सुरख्क्ष्या कर्मीलाई पनि चिसो मा निदाउन नदिन ४-५ कप चिया (कुरो बुझ्नुस है ….. ) बरु बेलायत को लन्डन शहर जस्तो सरकारले नै गरे ….. हैन मैले साझा बस बिर्से छु धत्तेरिका बरु सैनिक अथवा प्रहरीको गाडीले नै सेवा दिए हुन्न र? थोरै भाडा मा धेरैले सेवा पाउने अनि खर्च कटाएर भएको नाफाले बृद्ध-बेरोजगार-बिद्यालयलाइ अनुदान दिने (च्यारिटी जस्तो)!
    यसो गरे कसो होला?
    भोलेनाथले रात्री बस को रक्ष्या गरुन, दिर्घायु को कामना!

    Reply
  23. Rajendra Prasad Bhusal says:
    August 17, 2012 at 9:15 am

    यो राम्रो शुरुवात हो | तर कमिशनको खेल मात्र हुने भएकोले गर्दा कार्यान्वायन हेर्न बाँकी छ | जय होस् काठ्मान्दुलाई

    Reply
  24. Gemmi says:
    August 17, 2012 at 9:05 am

    राति जाम नहुने हुनाले बस आउने टाईमिंग त्यति फरक पर्दैन होला | अनुदानमा चलाएकोले एकै ठाउँमा त्यति कुर्दैन पनि होला | जे होस् केही नहुनु भन्दा यो राम्रै सुरुवात हो | तर दिउसोको लागि अब मेट्रो ट्रेन नभई खासै राम्रो ट्रान्सपोर्ट सुबिधा हुन काठमाडौँमा साँघुरा सडकको कारण त्यति सम्भव छैन | काठमाडौँको यातायात त कुनै सरकारी संयन्त्र मार्फत नै चलाउनु पर्ने हो, यस्तो व्यवसायीहरुलाई दिएर कहिले राम्रो व्यवस्था हुन सक्दैन | सहरी यातायातमा स्मार्ट कार्डको प्रयोग, निरन्तर एकीकृत भाडादर आदि नया अवधाराना हाम्रो देशमा आउन अझै कति दशक कुर्नु पर्ने हो |

    Reply
  25. Roshan says:
    August 17, 2012 at 8:45 am

    यो एकदम राम्रो कुरा को सुरुवात हो, किन भने नेपाल को कुनै पनि सहर मा रात्रि बस हरु नभएको ले धेरै लाइ दुख परेको छ/ संसार का धेरै बिकसित देस हरुमा नाईट बस हरु को फसिलीटी हुन्छ/ द कोरिया का सबै सिटी हरुमा राति को १२ बजे सम्म पब्लिक बस, मेट्रो को सुबिधा छ जसको कारण कसैलाई पनि केइ कुरा को समस्येया छैन/ हाम्रो काठमाडौँ मा एसको सुरुवात भएको छ तिओ राम्रो कुरा हो, तर बिडम्बना १ बस मा २ जना पुलिस राख्नु हाम्रो सव्यता अजै पनि पुरानै छ जहाँ सेकुरिटी धेरै नै कम छ, तर हामि सबै जना ले आफ्नु आफ्नु ठाउँ बाट आफु सुदरिनु अति नै जरुली छ/

    Reply
  26. मन says:
    August 17, 2012 at 8:38 am

    राम्रो शुरुआत हो र यसलाई सफल बनाउन र दीगो राख्न सबैले सहयोग गरौ|
    मदपान गरेर बसमा हल्ला मचाउने, अभद्र व्यवहार गर्ने र अरु जोकोही पनि सामान्य व्यवहार देखि बाहिर गएर अशान्त मचाउने, नियम पालन नगर्ने र असभ्य तरिकाले प्रस्तुत हुने, भाडा नतिर्नेहरुलाई कडा कारवाही गरिन पर्छ र संचार माध्यममा पनि देखाईनु पर्छ|
    कुनै पनि पार्टी वा पार्टीका कार्यकर्ताहरुले कुनै पनि बिरोधमा बस नष्ट गरे वा गर्ने प्रयास गरे त्यस पार्टीका नेता पक्षलाई कठघरामा उभ्याइनु पर्छ|
    साथसाथै यात्रुहरुको सुझाव पनि संग्रह गरेर मिल्ने जति सुझाव हरुलाई कार्यान्वायन गरेदेखि सांचै जनताको समर्थन हुने थियो|
    हाम्रा संचार माध्यम मार्फत पनि यो जनताका सुविधाका लागि हो| यो सफा, सुरक्षित र सुव्यवस्थित राखौ, दीगो बनाऔ, सबै संग राम्रो व्यवहार गरेर बस संचालनलाई स्थायित्व दिऔ, इत्यादि भनेर फुक्न्पर्यो|
    बसका चालक, कन्डक्टर र संचालकहरुले पनि यात्रुहरुको सेफ्टी सुरक्षालाइ मध्यनजर दिएर कस्टमर सर्भिसको नमुना प्रस्तुत गर्न सक्नु पर्छ| नभए कंहा फोन गरेर गुनासो र सुझाव राख्नपर्ने हो त्यो पनि सबै बसमा सो बसको नम्बर सहित र चालक दलको नाउ सहित सबैले देख्ने गरेर खुलाएर लेख्नुपर्छ|
    केवल गुनासो र सुझाव मात्र होइन, चालक दलले राम्रो सेवा पुर्याएको भए यात्रुले फोन गरेर वा लेखेर सेवा प्रति सन्तुष्टता व्यक्त गर्न सक्ने हुनपर्छ जसले काम गर्ने लाई पनि अझ हौसला मिलोस|
    दीगो सम्म स र र …चलोस्, ग ड ड …धप नहोस| (ट्रली बस समझदा एकादेशको कथा जस्तो नहोस)
    जे होस्, सफलताको कामना गर्दछु|

    Reply
  27. Suman, NYC says:
    August 17, 2012 at 8:34 am

    Thanx to KTM metropolitan office ,,,,, government agency ले जानताको लागी गरेको पहिलो कदम स्वागत योग्य छ । यो कदम लाई सबै जनताले सहयोग गरनु परछ ।

    Reply
  28. ardniban says:
    August 17, 2012 at 8:29 am

    यो पक्कै पनि सराहना योग्य बिसय हो.काठमाडौँ को रात्री जीवन अलिक चहल पहल गर्न पनि आवस्यक छ .अनि मात्र यो सेवा दिगो हुन सक्छ.मा लामो समय देखी melboure मा छु यहाको यातायात एकदम बिस्वसिलो छ भनौ भने रेल सेवा चाही २/३ मिनेट तलमाथि हुन्छ तर बस र ट्राम चाही time मै आउछ. प्रतेयक स्टोप्स अनि स्टेशन मा आउने तथा छुट्ने समय हुन्छ.केहि गरि बस ट्राम छिटो स्टप मा आयो भने कुरेर आफ्नो समय मा मात्र छुट्छ/ ढिला भएमा स्पीड बडी गरेर समय को ताल मेल गरिहाल्छन.प्रेपैड टिकेट हुनेहुदा चालक संग लफडा हुदैन.गाडी तथा ट्राम मा चालक मात्र हुन्छ अनि २/२ वटा cctv हुन्छ.अनि फोहोर फ्याक्ने बकस नि हुन्छ !!!!!! स्टोप्स भन्दा बाहिर यात्री लाई चढाउने झार्ने काम हुदैन
    आशा गर्दछु नेपाल मा पनि एस्तो दिन छिट्टै आवोस.

    Reply
    1. ardniban says:
      August 17, 2012 at 8:34 am

      एउटा कुरो अर्को नि cctv लाई तेसरी खुल्ला राखिन्न एस्लाई कालो reflectic dome मा rakhinaछ एसले cctv कोनि सुरक्छा गर्छ अनि camera कता पट्टि खिचिरहेको छ थाहा हुन्न येसो हुदा संकास्पद मानिस भ्रमित हुन्छ ….

      Reply
  29. Surendra says:
    August 17, 2012 at 8:10 am

    अत्यन्तै सर्हानिय सुरुवात ! सिड्नीमा प्राय रातभरी रात्री सेवा चल्छ / यो देखेर काठमाडौँ मा कहिले यस्तो होला भन्ने लाग्थ्यो – सुरु त भए छ त ! जनताले अनुशाशित भएर सेवा को प्रयोग गर्नु पर्छ र संचालकले पूर्ण सुरक्षा दिनु पर्छ भन्ने मलाई लाग्छ !

    Reply
  30. bkpandey says:
    August 17, 2012 at 6:43 am

    कुनै पनि सहरमा सार्बजनिक यातायात को ब्यबस्था अत्यन्तै जरुरि छ.म लामो समय लण्डन बसेको व्यक्ति जुन२०१२ मा atlanta ,georgia मा छोरीको बिबाहमा गएको थिए, तर त्यहाँ सार्बजनिक यातायात नभएकोले मेरो स्वाधीनता नै हनन भएको जस्तो लग्यो .मैले ए बाट बि जान आफन्त का अनुयायी बन्नु परेको कारण ले गर्दा म भन्छु यो बस सेबा धेरै राम्रो सेबा हो काठमाडौँ को लागि.सररर night bus मा ?????

    Reply
    1. Kul Raj Neupane says:
      August 17, 2012 at 11:29 am

      धेरै समय लण्डन बसेको धनी मानी मान्छे अनि ट्याक्सी चढ्न किन लोभी गरेको त?

      Reply
      1. deepak says:
        August 17, 2012 at 1:13 pm

        कुल राज जी लण्डन बस्दै मा मान्छे धनी हुन्छ या उसलाई समस्या नै हुदैन भन्न त होइन नि

        Reply
      2. mahesh says:
        August 17, 2012 at 5:40 pm

        मितव्ययी बन्नु लोभ होइन कुल राज जी

        Reply
      3. CHIRAN says:
        August 17, 2012 at 8:05 pm

        साथी चस्मा लगाएर हेर्नुस त bkpandey को कमेन्ट मा ‘ धनि मानी मान्छे ‘ लेखेको छैन त |

        Reply
  31. bishal , sydney says:
    August 17, 2012 at 6:09 am

    आर्थिक वर्ष २०६९/७० बाट राम्रो कामको सुरुवात भएकोमा खुसि लागेको छ ! पहिलो कुरा बर्षौ लाएर भएपनि भ्रस्टचारीलाइ कारबाही गर्न सुरु गरियो ! यो हामी नेपालीहरुको लागि खुशी को कुरो हो ! यसै गरि देसको सबै कुपुत भ्रस्टचारी नेता तथा कर्मचारी हरु लै धमाधम जेल मा हाल्नु पर्यो ! दोस्रो कुरा , ठिलेई भए पनि सुरुवात मा काठमाडौँ मा रात्री बस केहि घण्टा को लागि खुलेको मा उपलब्दी मान्नु पर्चा र बिस्तारै थोरै बस भएपनि रात भर चल्ने बेवास्ता मिलाउनु पर्छ !

    Reply
  32. Suman Gurung (UK) says:
    August 17, 2012 at 5:52 am

    लण्डन मा राति अबेर करिब १२.४० सम्म दिउसो को बस ले नै सेवा दिन्छ, तेस्पछी भने केहि कम रात्रि बस संचालित हुन्छ बिहान करिब ६बजे सम्म,लण्डन मा रात र दिन उस्तै यात्री को चाप हुन्छ किनकि दिनरात काम उस्तै हुन्छ , मानौ येहा रात हुदैन, रात्रि बस मात्र नभएर दिउसो को बस मा पनि ड्राइभर को लागि छुट्टै क्याबिन हुन्छ, र सिशा ले बारिएको क्याबिन फुटाउन लगभग असम्भव हुन्छा कुनै उपकरण बिना, प्राय बस स्टप मा बस आउने समय जानकारी दियिएको हुन्छा र तेही समय मा बस औछा पनि.. येहा को ड्राइभर हरु को आफ्नो ड्रेस हुन्छ, यात्री संग झर्किने स्वभाव लगभग सुन्य हुन्छ, रह्यो भाडा को कुरा, भाडामा फरक हुदैन, बिद्यार्थी ले छुट पाएकै हुन्छन, हरेक बस मा cctv जडान गरिएको हुन्छ, सब भन्दा राम्रो कुरा येहा हरेक चालकहरु अरु लाइ प्राथमिकता दिन सिपालु हुन्छन, आफ्नो अधिकार को लागि कर्तब्य जानेका हुन्छन र पालन गर्छन. आसा गर्छु नेपाल मा पनि कर्तब्य जानुन सबैले र पालन गरुन.

    Reply
  33. Kandel says:
    August 17, 2012 at 5:47 am

    डेनमार्क मा यहाँ रात भरि नई पुब्लिक बस पाहिन छ र यहाँ कुनई सेकुरिटी र पुलिस बस मा हुन्न हामी सबई लेट night काम फिनिश गरेर घर pariknchu ल ढिलाई bhaee पनि नेपाल मा राम्रो काम को सुरुवात भएछ खुसि लगेओ र सबई तिर बाट प्रयास भेओ भने यो कार्य पनि सफल हुनछ धन्यवाद काठमाडौँ महानगर पालिका

    Reply
  34. उपासक उदास says:
    August 17, 2012 at 5:38 am

    नमस्कार र वधाई !का.म.पा.बाट नगरवासीको लागि बस सेवा ! अग्रिम शुभकामना !!
    यस नगर का सबै जसो मुख्य सडक हरुमा प्रतेक ५-७ मिनेट मा सार्वजनिक सेवा का बस व्यवस्था गर्दिनु शहरकै स्वास्स्थ्य र सौन्दर्यको लागि अति सहायक हुनेछ ./
    यसले हाल गुडिरहेका २ पांग्रे ७० देखि ८०% सम्म कमि आउनेछ .अनावश्यक सडक जाम हुने ९०% ले र सवारी दुर्घटना ६०-७०% कमी हुनेछ . रात्री-बस चलाउन कडा अनुशासनको जरुरत पर्छ -यात्री र चालकलाई मात्र होइन , यिनीहरुलाई तह लाउने ट्राफिक दाजुलाई पनि /.

    Reply
  35. kranti says:
    August 17, 2012 at 5:26 am

    यो राम्रो कदम को सुरुवात लाइ सफलताको शुभकामना दिदै मलाई लागेको एउटा जिज्ञाशा –
    ३ घण्टासम्म बस चल्ने त थाहा भयो तर कति कति मिनेटमा पाइन्छ त बस ? जस्तो कि कलंकी बाट चक्रपथ हुदै कोटेश्वर जानुपर्यो भने २ वटा बस चल्छन भन्ने त थाहा भयो | तर एउटा बसले सो ३ घन्टामा कति पटक चक्रपथको परिक्रमा गर्छ ? अनि कुनै पनि रुटमा एउटा बस छुट्यो भने अर्को बस पाउन सामान्यतया कति समय कुर्नुपर्ने हुन्छ ? यात्रुहरुलाई कतिवटा बस चल्छन भन्दा पनि कति छिटो छिटो बस पाइन्छ भन्ने महत्वपूर्ण हुन्छ जस्तो लाग्छ |

    Reply
  36. साक्ष्यात सुशिल says:
    August 17, 2012 at 5:20 am

    फिनल्याण्डको हेल्सिन्कीको बारेमा भन्दा, यहां सार्वजनिक सवारी साधन प्रयोग गर्न एउटा ‘ट्राभल कार्ड’ दिईएको हुन्छ । प्रत्येक महिना त्यसकार्डमा पैसा भरेपछी मेसिनमा रिड गराएर जति पनि यात्रा गर्न सकिन्छ । हेल्सिन्कीमा राती दुई बजेदेखी चार बजे सम्म सार्वजनिक बस चल्दैनन । तर सप्ताह्न्तमा रात भरी चल्छन । राती दुई बजे पछि ‘ट्राभल कार्ड’ चल्दैन, पैसै तिर्नुपर्छ । काठमाडौंमा चल्न लागेको बसमा एउटा अती राम्रो पक्ष पाए जुन हेल्सिन्कीमा अस्ति भर्खर् मात्र सुरु भएको थियो – सेक्युरिटी क्यामेरा । चालकमाथी आक्रमण भएपछी सुरक्षाको नीम्ति सेक्युरिटी क्यामेरा जडानको माग गर्दै यहाका चालक हड्तालमा उत्रिएपछी माग पूरा भएको थियो तर काठमाडौंमा सुरुदेखी नै बिचार गरिएछ । खुशि लाग्यो ।

    Reply
  37. niraj says:
    August 17, 2012 at 5:12 am

    यो राम्रो सुरुवात हो.
    सुरक्षा को पनि राम्रो व्यवस्था गरिएको रहेछ.
    CCTV को प्रयोग गर्नु अति उत्तम तरिका हो security को लागि.
    आशा गरौ हाम्रो देश मा पनि कुनै दिन Pre paid Card चलाउने दिन आवोस भनेर.

    Reply
  38. Dinesh says:
    August 17, 2012 at 4:25 am

    म बसेको क्यानाडाको क्यालगरी न. पा. ले क्यालगरी ट्रान्जिट नामको रेल तथा बस सेवा चलाउछ जुन बिहान ५ बजे बाट राती १२:३० सम्म चल्छन / तत्काल पैसा तिरी टिकट काटेर वा महिना भरिको पास पनि प्रयोग गर्न सकिन्छ / एक पल्ट काटेको टिकटले ९० मिनेट सम्म जतिसुकै चड्न पाइन्छ / गुणस्तर भनेजस्तो गज्जबको छ /

    Reply
    1. deepak says:
      August 17, 2012 at 9:20 am

      ल बधाई छ तपाइलाई / तपाइको क्यालगरी जस्तो त नेपालमा असम्भावनै छ, तर
      सुरुवात को लागि न.पा को प्रसंसा गर्ने पर्छ /

      Reply
  39. Kopila, Espoo, FInland says:
    August 17, 2012 at 3:51 am

    यहाँ फिन्ल्यान्डको राजधानी हेल्सिन्किमा चौबिसै घण्टा यातायातको राम्रो सुबिधा छ । मध्य राती झन्डै १२ बजे सम्म त मेट्रो रेल नै गूड्छ । त्यसैगरी दिउँसो १०-१० मिनेटमा गूड्ने कम्युटर रेल राती हुँदै गर्दा बिस्तारै २० मिनेट, आधी घण्टा र एक घण्टाको अन्तरालमा रातभरी जसो नै गूड्छ । शहरको कुना कुना सम्म पुग्ने बस पनि प्राय रात भरी नै चलिरहन्छ । टिकटको कुरा गर्नुपर्दा यहाँ प्राय: सबैले मासिक ट्राभल पास बनाउने चलन हुन्छ जस्ले गर्दा टिकट काटिरहनु पर्दैन । महिनाको एकपटक वा दुई महिना, तीन महिना, छ महिनाको एकै पटक बनाए पछी बस, रेल, मेट्रो रेल वा फेरी (डुङ्गा) जती चढे पनि टिकट काटिरहनु पर्दैन तर बसमा भने बिहान २ बजे देखी ४ बजे सम्म ट्राभल पास भएपनी टिकट काट्नुपर्छ । सामान्यत: अरुबेला १ घण्टाको लागि ड्राइभरसँगबाट किन्दा २.७० युरो र अटोमेटिक मेसिनबाट किन्दा २.२० युरो पर्ने टिकट बिहान २ बजेदेखी ४ बजे सम्म ४ युरोमा किन्नु पर्छ ।

    Reply
  40. Mahendra Gorkhali says:
    August 17, 2012 at 3:35 am

    राम्रो कामको शुरुवातको भव्य स्वागत गरौँ | जसरि बिज्ञापन गरे पछी मात्र सामान बिक्रि हुन्छ, त्यसरीनै यो सेवा शुरु भएपछी बिस्तारै मानिसलाई पनि राति यात्रा गर्ने बानि पर्दै जान्छ | अँ साँची, नाइट लाइफले यस्ता सेवाको बिकास पनि हुन्छ, बैंकक चलेकै नाइट लाइफले हो | नाइटमा हुने सबै खाले सु / कू कृत्य काठमाडौँमा दिउँसै भै राखेकै छ, अब रात्री बस सेवा शुरु भैगो, हेर्दै जानुस दिउँसो भन्दा राती मानिसहरु काठमाडौँ डुल्ने गर्छन | तर पुलिसले हस्तछेप नगरोस, खान, पिउन, नाच्न, रमाइलो गर्न, मोज मस्ती गर्न, मनोरंजन गर्न त हो नाइट लाइफ | डोमेस्टिक र बिदेशी टूरिस्टलाइ पनि सहज हुनेछ तर सुरक्षाको कुनै ग्यारेन्टी छैन, त्यो सी सी टिभी अलिक दिनमा काम नलाग्ने नहोस | अन्तमा, समाचार पढेर खुशी लाग्यो, हाम्रो नेपालमा पनि सेवा र सूचना प्रविधिले निकै फड्को मार्दैछ, स्वागत गरौँ |

    Reply
  41. jitendra says:
    August 17, 2012 at 3:28 am

    USA को शिकागो शहर मा धेरै रुटमा २४ घण्टा बस तथा ट्रेन सुबिधा छ. बस र ट्रेन CTA भन्ने अर्ध सरकारी निकायले संचालन गर्छ . बस चढ्न १, ३, ७ वा ३० दिने पास कार्ड किन्नु पर्छ र बस को अगाडी बाट चढ्दा मेसिनमा कार्ड छिरौउनु पर्छ. बसका चालकले भाडा लिंदैनन तर कार्ड नभयमा ठिक्क भाडा मेसिनमा हाल्न मिल्छ तर मेसिनले फिर्ता दिंदैन. बस बाट ओर्लंदा पछाडिको धोका बाट निस्कनु पर्छ. बसमा चालक मात्र हुन्छन कन्डक्टर, खलासी हुँदैनन् , बस निश्चित स्टपमा रोक्छ, यात्रुले रोक भनेर रोक्दैन. बस लामा हुन्छन, बुडा बुडी, केटा केटि, अपाङ्गलाई छुट्टै सिट हुन्छ, wheelchair चढाउन बस होंचो पार्न मिल्छ. नेपाल मा यस्तो हामीले कहिले आशा गर्ने .

    Reply
  42. anmol piya says:
    August 17, 2012 at 2:27 am

    नेपालको संदर्बमा यो निकै सराहनीय काम हो र अब येसरी नै यो रात्री बस बिहान ५ बजे सम्म चलोस् येही छ मेरो सुभकामना . म बस्ने देश डेनमार्कको राजधानी कोपेनहेगनमा सार्बजनिक यातायात को निकै नै राम्रो बेबस्ता छ . यहाँ २४ घण्टानै सार्बजनिक यातायात उपलब्ध हुन्छ.दिनमा दिवा यातायात र रातमा रात्री बस र यहाको सार्बजनिक यातायात सबै यहाँ को नगपालिकाको मातहतमा हुन्छ .तेय्सैले मासिक बस कार्ड बनाएर एक महिना यात्रा गर्न पाइन्छ.

    Reply
  43. Birendra says:
    August 17, 2012 at 2:11 am

    अाहा !! ल केही चैँ हुन लाग्यो है नेपालमा !! प्रगतिका खबर पढ्न/सुन्न पाउँदा त मन नै निकै प्रसन्न पो भएर अाँउछ। यस्तै खबर सुन्दै जान पाइयोस्, जय नेपाल !!

    Reply
  44. saroj shahi says:
    August 17, 2012 at 2:04 am

    म चीन मा बस्छु . येहको सहरको नाम इछांग हो. येह रति नौ बजे पछी रात्री बस चल्दैन.दिउसो बस मा यात्रा गर्दा एक आर यम बि लाग्छ राति ट्याक्सी मा जान्छ्म . ट्याक्सी नीकै सस्तो छ . नेपाल को जस्तो ठग हुँदैन. रात मा डिस्को , खोला छेउमा मेला , र रात भरि होटेल चलिरहन्छ

    Reply
  45. अनुराधा पौडेल पेरिसबाट says:
    August 17, 2012 at 1:59 am

    फ्रान्समा सार्वजनिक यातायातका साधनहरु रेल बस मेट्रो सबै सरकारी हो । सरकारले नै चलाउँछ र नीजीको कतै भूमिका छैन । त्यसैले सेबा पनि उच्च प्रकारको छ । अनि रात्रिकालिन बसहरु रातैभरी चल्छन् तर दिउसो हरेक ५ मीनेटमा एउटा बस चल्थ्यो भने राती चल्ने बसहरु हरेक २० देखि आधा घन्टा फरकमा चल्छन् तर सबै रुटमा होइन । मेट्रो र रेलवे सेबा भने रातीको १ देखि ५ बजेसम्म बन्द हुन्छन् । कानपाको यो प्रयास निकै राम्रो प्रयास हो । सबै ठाउँमा पैसा मात्र हेर्नुहुदैँन । कहिलेकाँही ३० जना अटाउने बसले ५ जना पनि बोक्न सक्नुपर्छ । हामिले नेपालमा सेवा भाव भन्ने कुरा भुल्न थाल्यौँ त्यसैले यस्तो कामनपालिकालाई पापड मोल्न परेको हो । म यदि कामनपाको प्रमुख हुन्थेँ भने कामनपाले नै २० वटा गाडी खरिद गरेर चलाउने उपाय सुझाउँथे । व्यापारीहरुलाई अनुदान दिनुभन्दा ।

    Reply
  46. Sunil, London says:
    August 17, 2012 at 1:50 am

    … धेरै समय पछि देश मा एउटा राम्रो कामको शुरुवात हुन लागेको समाचार सुन्न पाइयो, खुशी लाग्यो, सुरक्षामा विशेस ध्यान दिन सके यसको प्रभावकारिता दिनदिनै बढ्दै जाने छ, यस्ता सार्बजनिक हितका कुरामा कसैले पनि राजनीति नमिसाईदिए कति राम्रो हुन्थ्यो

    Reply
  47. योगेश खपाङगी, हाल: अबु धाबी, यूएई. says:
    August 17, 2012 at 1:43 am

    स्वागतयोग्य कदम ! अत्ती खुशी लाग्यो ! धन्यवाद छ काठमान्डु महानगर पालिकालाई ! अब सम्साँझै अरुलाई जबर्जस्ती पसल बन्द गर्न लगाइ मस्त सुत्ने नेपाल प्रहरीले अली चनाखो भएर सुरक्षा दिये रात्री यातायातले निरन्तरता पाउने कुरामा आशाबादी बन्न सकिन्छ ! रात्री चहलपहल बढेमा अँध्यारोको फाईदा उठाएर लुट्पाट गर्ने तत्वहरु निस्तेज होलान् भन्ने ठानेको छु !
    जय नेपाल !

    Reply
  48. kabita says:
    August 17, 2012 at 1:31 am

    राम्रो पहल हो तर एस्लाई मर्यादित् राख्न यात्रु र यातायात संचारकर्मीहरुको अनुशासन भने अपरिहार्य छ | नेपालीहरुमा अहिले अनुशासन दुर्लभ भै सकेको छ |

    Reply
  49. bibekanand pandey says:
    August 17, 2012 at 1:23 am

    धेरै राम्रो काम को सुरुवात हो /सरकार वा भनौ महानगर पालिका ले बस व्यवशायी हरु को मनोमानी लाई कानुन को सहारा लिएर आफ्नो अस्थित्व कायम गरेर भए पनि आफु आफ्नै भरमा हिड्न सक्ने बनेर यो काम लाइ अझै बढाउदै लैजानु पर्छ / नाईट लाइफ त बिस्तारै सुरु भैहल्छा नि सुबिधा र सुरक्छ्या हुन थाले पछी त /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme