Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खरेलले ‘मानसिक दास’ हुनुपरेको भने, उनी मातहतका प्रहरी त ‘शारीरिक दास’ नै थिए

Posted on July 26, 2012July 27, 2012 by Salokya

फोटोमा देखिएका व्यक्ति पूर्व प्रहरी प्रमुख अच्युतकृष्ण खरेल हुन्। उनको टाउकोमा तेर्सिएको बन्दूक ‘कागजी’ हो। साथी केपी ढुंगानाको किताब ‘ओपन सेक्रेट’को विमोचन पुलिस क्लबको हलमा आज गरिएको थियो। त्यसैमा प्रमुख अतिथि थिए पूर्व आइजीपी खरेल।

पछाडि राखिएको किताबको फ्लेक्समा देखिएको बन्दूकको चित्रले अतिथिलाई नै ताकेको भ्रम फोटोमा देखिए पनि वास्तवमा सत्य यही त हो! तपाईँ-हामी सबैको टाउकोमा यसरी नै त बन्दूक तेर्सिएको छ। हाम्रो देशको सुरक्षाका कारणले हामी बाँच्न पाएका छैनौँ, ती अपराधीहरुले हामीलाई मार्न नचाहेर हामी बचेका हौँ। दिनदहाडै जमिम शाहको बीच सडकमा हत्या भयो, फैजान अहमदलाई दिउँसै गोली हानी हत्या गरियो। केन्द्रीय कारागारमा युनुस अन्सारीमाथि गोली हानी मार्ने प्रयास भयो।

शायद् यस्तै बन्दूक तेर्सिएको हुनाले केही कुरा यत्तिकै बदलियो। केपीले यो किताब प्रधानमन्त्रीको हातबाट विमोचन गर्न चाहेका थिए। प्रधानमन्त्रीले हुन्छ पनि भनेका थिए। तर पछि आउन अस्वीकार गरे। किताबको एउटा पेजमा ‘औँला भारततिरै’ भन्दै भारतको नक्सासहितको ठूल्ठूलो हेडलाइनै छापिएको रहेछ। मिर्जा दिलसाद बेगदेखि लिएर पछिल्लो पटक फैजान अहमदको हत्यासम्मका घटनाहरुको तार भारतमा गएर जोडिएको यसमा खुलाइएको छ। भारतका खुफिया अधिकारीहरुसमेत हत्यामा परिचालित भएको तथ्य यसमा खोलिएको छ। यहीँकै प्रहरी र कर्मचारीहरुको मिलेमतोको सेक्रेट पनि ओपन गरिएको छ।

त्यसैले प्रकाशकदेखि लेखक केपीसम्म यो किताब सार्वजनिक हुनुअघिसम्म एक किसिमको डरमा थिए। उही फोटोमा जस्तै अज्ञात मान्छेले तेर्साउन सक्ने बन्दूकको डरमा। सस्तो र स्तरीय प्रिन्टिङका लागि भारतमा छापेर उतैबाट ल्याउनु पर्ने थियो किताब। त्यताको प्रशासनले थाहा पाएर भारतमै सिज गरिदेला भन्ने डरले पुस्तक नेपाल नभित्रिउन्जेल फेसबुकमा विज्ञापन गर्न समेत डराउनु परेको थियो केपीलाई।

वचन दिएर पनि प्रधानमन्त्री विमोचनमा नआउने भएपछि एक पटक फेरि झस्किए केपी। त्यतिविधि के लेखेको छु जस्तो लाग्यो उनलाई। आज विमोचनको दिन पनि त्यस्तै भयो। पूर्व आइजीपी खरेलले उपस्थित त हुने, किताबमाथि कमेन्ट पनि गर्ने, तर विमोचन भने नगर्ने अडान लिए। कार्यक्रम सञ्चालकले खरेलसहित वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपाल र पत्रकार महासंघका सभापति शिव गाउँलेको नाम विमोचन गर्न माइकबाट फुकिसकेका थिए। हतार हतार केपीले माइक खोसे, र विमोचन गर्नेको नामको सूचीबाट खरेललाई हटाइदिन सञ्चालकलाई अनुरोध गरे। सञ्चालकले त्यसपछि सच्याएर फेरि माइकमा फुके- विमोचन नेपाल, गाउँले र लेखकले संयुक्त रुपमा गर्नेछन्।

खरेलको गफै बढी !

पुस्तकबारे कमेन्ट गर्न बोलाइएका खरेलले पुस्तकमाथि हैन, प्रहरीको डिफेन्समा शब्द खर्चिए, प्रहरीमा राजनीतिकरण गरिएको र त्यसको शिकार आफै भएको भन्दै खनिए। स्वर सुक्ने गरी उनको आक्रोशपूर्ण अभिव्यक्तिको गफ सुन्न झ्याउ लागेर केही सहभागी बाहिरिन पुगेका थिए। उनले एक जना इन्सपेक्टर पनि सरुवा गर्न नसक्ने स्थितिमा आइजीपी पुगिसकेको दुखेसो पोखे। हामी मानसिक दास बनेर काम गर्न बाध्य छौँ, उनले भने। स्रोतसाधनका हिसाबले नेपालको प्रहरी विश्वकै सबैभन्दा कमजोर भएको उनले बताए।

त्यसरी सबै कुरामा ‌‌औँला तेर्स्याउनुअघि उनले आफैतिर पनि एक पटक हेरे हुन्थ्यो। हो, अख्तियारले उनीविरुद्ध लगाएको झण्डै २ करोड बराबरको भ्रष्टाचारको अभियोग पुष्टि हुन सकेन। गोविन्दराज जोशीको जस्तै हदम्यादको कारण खारेज भएको यो मुद्दा सर्वोच्चले ब्युँताएर विशेष अदालतमा फर्काइदिएको थियो। तर गत अप्रिलमा विशेषले फेरि यो मुद्दाको फैसला गर्दै अख्तियारलाई हराइदिएको थियो। अख्तियार यो फैसलाको विरोधमा सर्वोच्च गएको खबर मैले भेट्टाइनँ। त्यसैले कानुनी रुपमा उनलाई भ्रष्टाचारको अभियोग लागेको भन्न मिल्दैन।

तर यो मुद्दाको क्रममा उनी आफैले पेश गरेका कतिपय कुराहरुले उनीप्रति नैतिक प्रश्न उठाउन सक्ने स्थिति छ। उनले आफूहरु मानसिक दासको रुपमा काम गरिरहनु परेको बताए। तर उनकै नेतृत्वमा रहेका बेला तल्ला तहका प्रहरी कर्मचारीहरुले त मानसिक मात्र हैन, शारीरिक रुपमा पनि दासको रुपमा काम गरिरहनुपरेको थियो। यो उनैले अदालतमा प्रस्तुत गरेको प्रमाणले देखाउँछ।

खरेलले आफ्नो घर बनाउँदा कामदार, ज्यामी, मजदूर प्रहरीबाट लगेकाले आफ्नो रकम खर्च गर्न नपरेको भनेर अदालतमा भनेका छन्। प्रहरी कामदार पठाउने गरेको छ भनी प्रहरी प्रधान कार्यालयबाट सिफारिश समेत ल्याएका छन्। घरको लागतमा कामदार र ज्यामी खर्च २०।२५ प्रतिशत लाग्ने भएकाले सो रकम छुट हुनु पर्दछ भनी खरेलले माग गरेका थिए तर प्रहरीलाई निजी काममा लगाउने कार्य कानून अनुरुप नभएको भन्दै विशेष अदालतले त्यसलाई मान्यता दिएको छैन। मान्यता नदिए पनि आखिर उनले निजी काममा त लगाएका रहेछन् नि। प्रहरीलाई हाकिमहरुले कति शोषण गर्दा रहेछन् भन्ने प्रमाण हो यो। विस्तृत पढ्नुस् यहाँ


केपीले चाहिँ अन्तरदेशीय अपराधका विषयमा लेख्दा केही लिमिटेसन हुने बताए। कतिपय कुरा आफूले थाहा पाएर पनि तत्काल लेख्‍न सक्ने स्थिति नरहेको उनले खुलाए। दिनदहाडै हत्या हुँदा काठमाडौँका सबै नाका ‘सिज’ गरेको भनेर प्रहरीले हामीलाई बताउँछ, तर कसरी अपराधी काठमाडौँभित्रै मोज गरेर बसेको हुन्छ र सुटुक्क नाकाबाट बाहिरिन्छ ? उनले प्रश्न गरे।

केपीले किताब लेख्दा मेहनत पनि गरेका छन्। स्रोतहरुसँग कुरा गर्दा उनी नोट टिप्न सक्दैन थिए। अनि सुटुक्क ट्वाइलेट जान्छु भनी निसकन्थे र न्यापकिन पेपरमा कुराहरु बिर्सेला भनेर टिपिहाल्थे। सँगै उनले जोखिम पनि मोलेका छन्। किताबका लागि सामाग्री जुटाउँदै गर्दा नै उनले सुरक्षा अधिकारीहरुबाट खतरा हुनसक्ने चेतावनी पाइसकेका थिए। विमोचन समारोहमा नै पनि उनले किताब लेख्न बस्दा आफ्नी आमा, बुबा र जीवन साथी अनि २ वर्षकी छोरीको अनुहार झल्झली सम्झेको बताएका थिए।

जोखिम मोलेरै पनि उनले उच्च तहका नेता र प्रशासकहरुका लागि ओपन तर हामी जस्ता सर्वसाधारणका लागि सेक्रेट भएका तथ्यहरु छताछुल्ल पारिदिएका छन्। ‘मैले मेरो काम आफूले जानेसम्म इमान्दारीका साथ गरिसकेको छु। अब मेरो हातमा केही छैन। म आफ्नो पुस्तकलाई कोसेढुंगा, ऐतिहासिक जस्ता गह्रुँगा शब्दाडम्बरले थिचाउन चाहन्न; जानी-नजानी पहिलो प्रयास गरेको हुँ, इमान्दारीका साथ प्रतिक्रिया दिइदिनुहोला, म व्यग्रताका साथ त्यसको प्रतीक्षामा छु’, केपीले भने।

फिक्सन शैलीमा लेखिएको यो नन फिक्सन किताबको प्रतिक्रिया कस्तो आउने हो, हेर्न बाँकी छ। अलिकति डर भने लागेको छ साथीको सुरक्षाप्रति, त्यो डर गलत साबित भइदियोस्!

16 thoughts on “खरेलले ‘मानसिक दास’ हुनुपरेको भने, उनी मातहतका प्रहरी त ‘शारीरिक दास’ नै थिए”

  1. Mystic Sharma says:
    July 30, 2012 at 12:15 pm

    कलम को मर्यादा कायम राख्ने हजुर लाइ स-धन्यबाद का साथै शुभकामना

    Reply
  2. cRIS says:
    July 29, 2012 at 6:59 am

    लेखकलाई शुभकामना. प्रमको निर्णय पनि सहि नै हो, उक्त पद्कालाई यस्तामा बिबाद गराउन नल्याएकै ठिक.

    Reply
  3. som says:
    July 28, 2012 at 7:52 pm

    हाम्रो एती सुन्दर नेपाल मा येस्ता डरपोक नेता र हाकिम भए पछी कसरि देश र जनताले निकाश पाउछ होला ? ( केपिजी) ओपन सेक्रेट नेपाल को गद्दारी नेता र भ्रस्टचारी हाकिम हरुको सबै पोल खोलि दिनु भए झनै राम्रो हुनेथियो ?

    Reply
  4. laxmi says:
    July 28, 2012 at 5:21 pm

    के पी धन्यवाद केहि वास्तबिकतालाई पानामा उतारी दिनु भएको मा यो सत्य हो कि हाम्रो देसको विकास नहुनुमा भारत को कति हात ६ भनेर त्यो कुरा को जसले बिरोध गर्छ त्यस को सुरक्षा मा खतरा हुन्छ . किंग बिरेन्द्र को परिवार को कुरा होस् वा गिरिजा प्रसाद कोइराला ले उपल्लो कोशी तटबन्द को कुरा नमिल्दा पार्टीको अवस्थाको कुरहोस (यो धेरैलाई विस्वास लाग्दैन तर अब बाबुराम ले र बिजय मिलेर गर्छन) के हुन्छ मा बहुलवाद मा विश्वास गर्छु तर पंचायत १००० गुना बेस्ट देश जनताको लागि (विकास केहि कम गति मा हुन्त्यो होला त शान्तिले जिउन त सकिन्त्यो

    Reply
  5. मन says:
    July 27, 2012 at 6:25 pm

    लेखक (केपीजी) द्वारा व्यक्त उद्गार जेनुइन लाग्यो| humbleness र humility
    भन्ने सोचको भीषण खडेरीमा उँहाको अभिव्यक्ति पानीका थोपाहरु सरह हुन्|
    पुस्तक पढ्न आतुर छु|
    केहि समय अघि यस्तै बिषयको पुस्तक पढ्न पाएको थिए|
    नाउ बिर्से| नया कुरो केही पाईंन खालि कट एंड पेस्ट र पूर्वाग्रह मिसिएको पाएँ|
    मलाई लाग्छ, हाम्रा नेपालमा औंलामा गन्न सकिने क्राइम रिपोर्टरमा केपीजी एक हुन्|
    बेला बेलामा उनको ब्लग (हाम्रोब्लग डट कम) पढ्ने गरेको छु जसको म प्रशंसक हु|
    फिक्सन कै शैलीमा भए पनि विद्यमान घटना, प्रबित्ती र खेलाडीहरुलाई संकेत गरेर क्राइम जस्तो बिषयमा पुस्तक लेख्नु र प्रकाश गर्नु कम साहसिलो काम होइन| आजभोलिको जमानामा पब्लिसिटी नगरे नी नहुने| यो पब्लिसिटीले पुस्तक प्रति पाठकको अपेक्षा अझ वृद्धि गराएको छ| सुक्ष्म अनुसन्धान र रेफरेन्स अनि अन्तर्वार्ता आदि सहित पुस्तामा केपीजीको तीर यसपाला पनि टार्गेटमै परेको होला भन्ने यो मनले ठानेको छ|
    पुस्तक पढेर मन्तब्य व्यक्त गरमला|

    Reply
  6. Resham says:
    July 27, 2012 at 4:56 pm

    अपराधको जालो कहाँदेखि कहाँसम्म जेलियाको छ भन्ने भन्ने चाही थाहा भो तर अब प्रहरी नै राजनीतिक दाउपेजमा फसे पछी चुनौती धेरै छ / केपी जी को किताबले केहि सकारात्मक कुरा लिउला /

    Reply
  7. के.पी.अविश्रान्त,प्रगतिनगर,नवलपरासी says:
    July 27, 2012 at 3:28 pm

    फ्लेक्स ब्यानर र अतिथि आसनका कुर्सीहरूको तालमेल बडो सान्दर्भिक लाग्यो/ सायद कामरेड डा. भट्टराईले पहिले यो सेक्रेट नबुझेर आतित्थ्यता स्विकार्ने बचन दिए तर पछी फ्लेक्स बोर्डमा इंगित कागजी बन्दुकबाट तर्सिएछ्न क्यारे महान क्रान्तिकारी कमरेड र त सेक्रेटरीको मुख माध्यमबाट पुस्तक बिमोचन कार्यक्रममा उपस्थित हुन असमर्थताको संदेश पठाइदिए / कि कसो?

    Reply
  8. Bino, Italy says:
    July 27, 2012 at 2:32 pm

    सत्यबादी लेखक के पी जी लाई सलाम! सत्य-तथ्य कुरा हरु लेखिएको पुस्तक बिमोचन गर्न डराउने देशका शक्तिशाली व्यक्ति बाबुराम भट्टराई प्रधानमन्त्री अनि अच्युत कृष्ण खरेल जस्ता सुरक्षा प्रमुख त थिए / छन् देशमा भने तिनीहरु बाट के सुरक्षाको आशा गर्नु ? देशमा यस्ता मान्छे हरु को हालीमुहाली देशमा भईरहदा सम्म के पी ढुंगाना जस्ता सहासी लेखक को पनि जरुरी भैरख्छ हामीलाई, तपाईको हिम्मतलाई फेरी पनि सलाम अनि शुभकामना l

    Reply
  9. Sisir says:
    July 27, 2012 at 2:08 pm

    मैले चाही यो किताब किन्ने विचार गरे …
    किताब जस्तो भए पनि नेपाल जस्तो असुरचित र भारतीय क्रिडाइस्तल बनेको देशमा लेखकले सहस गरेकै हुन् जस्तो लग्यो …
    अहिले लै सुभकामना केपी जी …

    Reply
  10. HARKANAMAN SHAHI says:
    July 27, 2012 at 10:38 am

    हार्दिक मंगलमय सुभकामना हृदय देखिने नेपाल प्रतिको आस्थालाई बलियो पारेकोमा.. अब त चिप्ले जनता र पांग्रे नेता हरुको बुद्धि आउछ कि?

    Reply
  11. बलराम says:
    July 27, 2012 at 5:24 am

    नेपालका सबै लेखक हरुको कलम KP जी को दिशामा चलोस, इन्डियन दुताबाश को १-२ हजारमा नाबिक्नुस ,सहि कुरा लेख्नुस ! येही छ सुभकामना!

    Reply
  12. योगेश आदी, न्यूयोर्क says:
    July 27, 2012 at 4:39 am

    यस्ता साहसी लेखकलाइ सलाम गर्दछु…!! बोलेकोमा लेखेकोमा मृत्युवरण गर्नुपर्ने नियति थियो कथित जनयुद्ध ताका नेपालमा… आज सर्वसाधारणले देशको आवरण मात्र होइन कि, धेर-थोर एक्स-रे पनि अवलोकन गर्न पाएका छन् /
    आज सत्य-तथ्य उजागर गर्ने पुस्तकसंग आफुलाई जोड्न धेरै कायरहरुले औकात देखाएछन… तर लेख्नेको साहसलाई फेरिपनि; क्या बात३ !!!

    Reply
  13. Shankar says:
    July 27, 2012 at 3:51 am

    किताब को मूल्य कति छ ,र कहा पाइन्छ किन्न ?
    बुझ्ने लाइ सिधा न बुझ्नेलाई पत्यारै गर्न पनि गाह्रो अरु ओपन सेक्रेट
    १) देश को प्रधान मन्त्रि भएको बेला माधब कुमार लाइ टाइम्स अफ इन्डिया ले भारतीय मुलको
    भनेर लेखिदियो |बिहार को पनि लेखिदियो |
    हामीले आफ्नै मुख मा उल्टो लप्पू ख्वाएको महसुस भयो तर कहिँ ,कतै बाट र माकुने ले समेत प्रतिकार गरेंन | आज गिरिजा पछी को ठुलो र धुर्त खुरापाती भन्दा हुन्छ |

    २) आर्को माहान मानिएका बाबुराम ,बिप्पा देखि एअरपोर्ट सम्म जे चाहिन्छ लैजा को सैलिमा छन् | आफु मित्ब्यतिता को नाटक गर्ने भू पु हरुलाई करोडौ को ढुकुटी लुटाउने ,
    प्रचण्ड पुत्रलाई आर्को ल्याउनु र ताल मेल मिलाउन २ करोड ढुकुटी ( सायद लेन देन मा उनि एक खोखा भन्दा कम मा बिस्वास गर्दैनन् ) बाटै दिने , अब आएर उनले छोडे देश
    नै टुहुरो हुने भन्दै छ |
    कति धुर्त बाहुन हरु ! यी दुवै बाहुन साउथ ब्लक को इसारामा काम गर्छ |
    यिनीहरुलाई देस को माया कत्ति छ ,भगवान जाने |
    बिस्वास न लागे झलनाथ ,गजुरेल को इन्टर व्युव हेर्नुस |

    Reply
  14. manish says:
    July 27, 2012 at 3:50 am

    यो पुस्तक “ओपन सेक्रेट” http://www.bhatbhatenionline.com बाट अनलाईन मार्फत खरिद गर्न सक्नु हुन्छ । सन्सारका ५० भन्दा बढी मुलुकमा डेलिभरिको ब्यबस्था छ ।

    Reply
  15. HIMAL says:
    July 27, 2012 at 1:54 am

    राम्रो अनि फरक काम भए प्रसंसा हुने नै छ /
    किताब पढ्ने हरुले आफ्नो अनुभब साट्ने नै छन् /

    अहिलेलाइ ऑल द बेस्ट /

    Reply
  16. pravin khadka says:
    July 27, 2012 at 1:51 am

    साधुबाद लेखकलाइ..हिम्मत र इमान्दारीकोलागि.. अनि सफलताको शुभकामना…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme